प्रायः सबै किराना पसलमा पाइने, पकाउन पनि सजिलो, पोषण भएको, स्वास्थ्यका लागि फाइदाजनक, स्वादिलो पनि, खाना÷खाजा दुवैमा मिल्ने भएकाले अन्डा धेरैको भान्सामा पाकिरहने परिकार हो । मिठो बनाएर खाने योजनासहित मुख रसाउँदै अन्डा फुटाउँदा कुहिएको गन्धले धेरैलाई सताएको होला । उचित भण्डारण र उपभोग्य मितिको ज्ञान नहुँदा नेपाली बजारमा अन्डा हुनुपर्ने जति स्वच्छ छैनन् । पसलबाट अन्डा किनेर ल्यायो, फुटाउँदा कुहिएको हुन्छ, फिर्ता गर्ने कुरा पनि भएन, खाने कुरा पनि भएन । यस्तो समस्यामा धेरै उपभोक्ता परिरहन्छन् । अन्डा उत्पादनमा आत्मनिर्भर बन्दै गएको मुलुकमा अब स्वच्छताका बारेमा पनि सोच्न आवश्यक छ । अन्डाको उपभोग्य मिति अर्थात् डेट अफ एक्स्पाएर राखेरमात्र बजार ल्याउने प्रबन्ध गर्न जरुरी छ ।
अन्डाको पोषण महत्व
अन्डा पोषणका दृष्टिले महत्ववपूर्ण मानिन्छ । विशेषगरी यसमा पाइने प्रोटिन शरीरका लागि उपयोगीमात्र हैन सजिलै पच्न सक्ने हुन्छ । बालबालिकादेखि युवा, वृद्धासम्मको प्रोटिन तथा पोषक आवश्यकता पूर्तिका लागि अन्डा फाइदाकर छ । विभिन्न अनुसन्धानहरूले अन्डाले मांसपेशी मजबुत बनाउनुका साथै तौल व्यवस्थापनमा पनि सहयोग पुर्याउने प्रमाणित गरेका छन् । अन्डा गर्भावस्थामा आमा तथा गर्भमा रहेको बच्चाको स्वास्थ्यका लागि फाइदाकर मानिन्छ । अन्डाले मस्तिष्कको विकास, आँखाको स्वास्थ्य, भिटामिन ई उपलब्ध गराएर कोषको क्षयीकरणमा कमी गर्छ ।
एउटा अन्डामा करिब ७० ग्राम क्यालोरी शक्ति, शरीरलाई अत्यावश्यक १३ प्रकारका भिटामिन तथा खनिज र ६ ग्रामभन्दा बढी उच्च गुणस्तरको प्रोटिन पाइन्छ । अन्डामा शरीरले उत्पादन गर्न नसकी खानाबाटै पूर्ति गर्नुपर्ने नौ प्रकार अत्यावश्यक एमिनो एसिड पाइने भएकाले यसलाई पूर्ण प्रोटियुक्त खाना पनि भनिन्छ । अन्डामा प्रशस्त पाइने लुसिननामक एमिनो एसिड मांसपेशीको स्वास्थ्यका लागि वरदान हो । अन्डा कोलिन, सेलेनियम, भिटामिन डी, भिटामिन बी १२, बी २, भिटामिन ए, जिंक, आइरन, फस्फोरस आदिको स्रोत हो । अन्डाको पहँेलो भागमा कोलेस्टेरोलको मात्रा धेरै हुन्छ, जसले चिल्लोमा घुल्ने भिटामिनहरू बोकेको हुन्छ ।
सन् २००३ मा हावर्ड विश्वविद्यालय र सन् २००८ मा नर्थ क्यारोलिना विश्वविद्यालयमा गरिएको अनुसन्धानले अन्डाले स्तन क्यान्सरको खतरा कम गर्न सहयोग गर्ने आैंल्याएको छ । प्रतिअन्डाबाट औसतमा दैनिक रूपमा आवश्यक भिटामिन एको ६ प्रतिशत, फोलेट ५ प्रतिशत, भिटामिन बी ५.७ प्रतिशत, बी २ १५ प्रतिशत, फस्फोरस ९ प्रतिशत, सेलेनियम २२ प्रतिशतसम्म प्राप्त हुन्छ । एउटा अन्डामा पाइने कोलेस्टेरोलको मात्रा दैनिक खानुपर्ने मात्राको झन्डै आधा हुन्छ । अन्डामा पाइने कोलिन मस्तिष्क र कोषको स्वास्थ्यका लागि उत्तम मानिन्छ । कसैकसैलाई अन्डा खाँदा छाला चिलाउने, आँखा धुमिल हुने, रिंगटा लाग्नेजस्ता असर देखिन सक्छ । त्यो व्यक्तिको अन्डाप्रतिको एलर्जीका कारण भएको हो । यस्तो एलर्जी खाना र व्यक्तिअनुसार फरक पर्दछ ।
पकाउन सजिलो ।
पोसिलो र स्वास्थ्यका लागि लाभदायक ।
उचित भण्डारण र उपभोग्य मितिको ज्ञानको अभाव ।
स्वच्छताका बारेमा सोच्न आवश्यक ।
उपभोग्य मिति राखेर बजारमा ल्याउनुपर्छ ।
शरीरलाई चाहिने प्रोटिन तथा पोषकका लागि अन्डा फाइदाकर छ ।
अन्डाले मांसपेशी मजबुत बनाउँछ, तौल व्यवस्थापन गर्छ ।
अन्डाको उपभोग्य मिति
खानेकुराहरू कति समयमा बिग्रिन्छन ? भन्ने कुरा खानेकुराको प्रकृति, उत्पादन तथा भण्डारण शैली, वातावरण आदिमा निर्भर हुन्छ । उत्पादन भएको कति समयसम्म अन्डा नबिग्री रहन सक्छ भन्ने कुरा भण्डारण गर्ने शैली र वातावरणमा निर्भर हुन्छ । विशेषगरी नेपालजस्ता मुलुकमा ओसारपसार, भण्डारण, वितरण गर्ने वैज्ञानिक तरिका नअपनाउँदा अन्डा छिट्टै बिग्रिन्छ । तापक्रम र सापेक्षित आद्रता अनुकूल कायम नगरी कोठाको सामान्य तापक्रममा राख्दा अन्डामा जीवाणुहरूको संक्रमण छिटो हुन गई चाँडो कुहिन्छ । बिग्रिएको अन्डा खाँदा साल्मोनेल्ला फुड पोइजनिंग हुन सक्छ ।
अन्डालाई कुनै पनि प्रशोधन नगरी सामान्य अवस्थामै सामान्य तापक्रममा राख्दा ७ देखि १० दिनमै बिग्रिन सुरु हुन्छ । तर तापक्रम, सापेक्षित आद्रता उचित कायम गरी भण्डारण गरेमा ४५ दिनभन्दा बढी स्वच्छ रहन्छ । उचित तापक्रम निरन्तर कायम गरी रेफ्रिजेरेटरमा दुई महिनासम्म पनि कुनै पोषणतत्वव नष्ट नभई राख्न सकिन्छ । अन्डालाई कम तापक्रममा राख्दा साल्मोनेला ब्याक्टेरियाको संक्रमणबाट पनि जोगिन्छ ।
कसरी चिन्ने बिग्रेको अन्डा
-अन्डा बिग्रेको छ वा छैन भन्ने कुरा केही हदसम्म चिन्न सकिन्छ ।
-अन्डा विस्तारै हल्लाउँदा आवाज निस्किने गरी हल्लिन्छ भने बिग्रिएको हुन सक्छ ।
-अन्डालाई विस्तारै फुटाएर हेर्दा पहेँलो भाग एकै ठाउँमा नभई छरिएको, धेरै तरल भएको, सेतो भागमा कालो धब्बा छ भने पनि बिग्रिएको संकेत हो ।
-उसिनेको अन्डाको सेतो भागमा धेरै कालो भएको, पहेँलो भाग छरिएर रहेको, कुहिएको गन्ध आउने भएमा बिग्रिएको हो ।
- सिसाको गिलासमा आधा पानी राखेर अन्डा डुबाउँदा तैरियो भने त्यो बिग्रिएको हो ।
अन्डा बिग्रिएको छ वा छैन भन्ने अर्को सजिलो हरेलु जाँच तैरिने जाँच पनि हो । अन्डा सग्लै छिर्न सक्ने खालको सिसाको गिलास वा भाडामा आधा भन्दा बढी चिसो पानी राखी अन्डा डुबाउँदा भाडाको पिँधमै पुगेर बस्यो भने उपभोग्य मानिन्छ । तर माथि नै तैरिएर रह्यो भने उपभोग्य मिति सकिएको वा बिग्रिएको मानिन्छ । तैरिने परीक्षण गर्दा अन्डा जति माथि तैरिन्छ त्यति नै पुरानो हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ । अन्डाको बाहिरी भागमा (बोक्रा) साना मसिना प्वालहरू हुन्छन जहाँबाट हावा छिर्न सक्दछ । अन्डा जति पुरानो बन्दै गयो हावा छिर्ने निस्किने क्रम पनि उत्ति नै बढी हुन्छ । यसले अन्डाको घनत्वमा कमी आई पानीमा तैरिन्छ । यसरी हावाको चलखेलका कारण बाहिरी वातावरणमा भएका जीवाणुहरू अन्डाभित्र पसी संक्रमण गर्ने खतरा उच्च हुन्छ ।
अन्डा गर्भावस्थामा आमा तथा गर्भमा रहेको बच्चाको स्वास्थ्यका लागि फाइदाकर मानिन्छ । अन्डाले मस्तिष्कको विकास, आँखाको स्वास्थ्य, भिटामिन ई उपलब्ध गराएर कोषको क्षयीकरणमा कमी गर्छ ।
अन्डा उत्पादनको अवस्था
नेपाल अन्डा उत्पादनका हिसाबले आत्मनिर्भर बन्दै गइरहेको अवस्थामा यसलाई कसरी जनस्वास्थ्यमा असर नपर्ने गरी उत्पादन, बिक्री वितरण, भण्डारण गर्न सकिन्छ भन्नेतिर ध्यान दिन जरुरी छ । यसका लागि उत्पादकदेखि वितरकसम्म जिम्मेवार बन्ने र उपभोक्ता सचेत बन्न जरुरी छ । उत्पादकहरूले अन्डाको कार्टुनमा उत्पादन तथा उपभोग्य मिति लेख्न जरुरी छ । पछिल्लो समय अन्डामै पनि प्रिन्ट गर्न सकिने प्रविधिको विकास भइसकेको हुनाले प्रत्येक अन्डामा उपभोग्य मिति राख्न सकिन्छ ।
व्यावहारिकताका दृष्टिले यो अलि झन्झटिलो र महँगो हुने हुनाले ब्याचअनुसार प्याकिङ गरिएको कार्टुन वा क्यारेटमा उपभोग्य मिति राख्न सकिन्छ । खुद्रा व्यापारीहरूले उपभोक्ताले देख्ने गरी उक्त उपभोग्य मिति राख्ने चलनको विकास गर्न जरुरी छ । पोषणका दृष्टिले महत्ववपूर्ण मानिने अन्डाको स्वच्छता कायम गर्न सके यसबाट उपभोक्तालाई मात्र नभई उत्पादक र विक्रेतालाई पनि फाइदा पुग्नेछ ।-अन्नपूर्ण बाट ,केपी लम्साल