2020-07-30-19487

काठमाडौँ, साउन १५ गते । राजधानीको मुख्य क्षेत्र कमलादीमा प्रहरीकै अगाडि हातहतियार र सुनचाँदी (धातु) फ्याँकेर भागेको घटना शङ्कास्पद देखिएको छ ।

मङ्गलबार प्रहरीकै अगाडि काठमाडौँको कमलादीमा त्यसरी सामान फ्याँक्ने व्यक्तिको अझै पहिचान हुनसकेको छैन । सवारी जाँच गर्ने क्रममा काठमाडौँको कमलादीमा बा ६ च ५५१९ नं को स्कारपियो गाडी रोक्न खोज्दा नरोकी गति बढाएपछि प्रहरीले गाडीको पिछा गरेको महानगरीय प्रहरी परिसरले पत्रकार सम्मेलन नै गरेर जानकारी गराएको थियो ।

त्यसपछि बाटामै कपडाको झोला फ्याँकेर गाडी भागेको थियो । प्रहरीले पिछा गरे पनि गाडी कता गयो भनेर प्रहरीले पत्ता लगाउन सकेको छैन । घटनाको अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरिएको छ । अझै केही व्यक्तिलाई नियन्त्रणमा लिन बाँकी रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

घटना अनुसन्धानकै घेरामा रहेकाले अहिले नै घटना यसकारण भएको हो भनेर भन्न नसकिने कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो । उहाँले छानबिन समिति गठन गरिएकाले समितिको प्रतिवेदन आएपछि यकिन भन्न सकिने बताउनुभयो । गाडीको भने पहिचान भइसकेको उहाँले बताउनुभयो ।

उनीहरुले फ्याँकेको झोला हेर्दा दुई थान म्याग्जिनसहित पेस्तोल र एक किलोका आठ थान, २५० ग्राम लेखिएका २६ थान र ५०० ग्राम लेखिएको एक थान धातु प्रहरीले बरामद गरेको थियो । उक्त धातु धेरै चाँदी र केही सुन रहेको जनाइएको छ ।

महानगरीय प्रहरी कार्यालय स्रोतका अनुसार उक्त घटनामा प्रहरीको पनि संलग्नताको आशङ्कामा त्यसतर्फ पनि अनुसन्धान अघि बढाइएको छ । उक्त घटनाको छानबिनका लागि महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो । दोस्रो दिनमै त्यस समितिको संयोजक परिवर्तन गरी महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक सुशील यादवलाई जिल्मेवारी दिइएको छ ।