Websoft University

www.radiomakalu.com || 021-522512


January 2017




काठमाडौं,माघ १८ गते । सर्वोच्च अदालतमा दुई न्यायाधीश थपिएका छन् । यससँगै सर्वोच्चमा प्रधानन्यायाधीश सुशीला कार्कीसहित २० न्यायाधीश भएका छन् ।

न्याय परिषदको सिफारिस संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपति विद्या भण्डारीले तेजबहादुर केसी र पुरुषोतम भण्डारीलाई सर्वोच्चको न्यायाधीश नियुक्त गरेकी हुन् ।

केसी र भण्डारीले मंगलबार नै राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीश कार्कीसमक्ष सपथ लिएका छन् । यसअघि केसी उच्च अदालत विराटनगर र भण्डारी पोखराका मुख्य न्यायाधीश थिए ।

एक पद अझै रिक्त

नयाँ संविधान अनुसार सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित २१ स्थायी न्यायाधीश हुनुपर्छ । तर, मंगलबार दुई न्यायाधीश थपिएपछि पनि यो संख्या पुग्दैन । एक पद रिक्त छ ।

न्याय परिषदले केसी र भण्डारीको नाम सिफारिस गरेपछि वरिष्ठ न्यायाधीश वैजनाथ उपाध्यायले उमेर हदका कारण अवकास पाएकाले यो पद रिक्त भएको हो ।-अनलाइनखबर




काठमाडौं,माघ १८ गते । सद्भावना पार्टीका राजेन्द्र महतोले संविधान संशोधन नगरी चुनावको मिति घोषणा गरे सरकारसँगको सम्बन्धविच्छेद गर्ने र आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

मधेसी मोर्चाका नेता समेत रहेका महतोले भने, ‘संविधान संशोधन नभई चुनावको मिति घोषणा गरे, हामी कुनै हालतमा मान्दैनौं, प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जान्छौं, सरकारसँग सम्बन्धविच्छेद गर्छौं ।’

उनले अघि भने, ‘अब नो लटरपटर, पहिला परिमार्जनसहित संशोधन पास हुनुपर्छ ।’

प्रमुख दलहरु अन्तरिम संविधानबाट पनि पछि हटेको भन्दै उनले अब बेइमानी नचल्ने बताए । उनले अघि भने, यो चुनाव/सुनाव देखाएर केही हुनेवाला छैन, चुनावको नाम जोडेर हामीलाई कसैलेपनि लोकतन्त्रको पाठ नपढाए हुन्छ ।’

सद्भावना अध्यक्ष महतोले संविधान संशोधनमार्फत जनताका अधिकार स्थापित गर्ने कुरामा एमालेले बेइमानी गरेको आरोप लगाए । ‘एमालेले धेरै बेईमानी गर्‍या तर, यसको हिसाबकिताब जनताले दिन्छन्, त्यसैको तयारी स्वरुप अहिले एमालेमुक्त मधेश बनाउने कुरा पनि भइरहेको छ’ उनले भनेका छन् ।

स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन कुनै हालतमा पनि मान्य नभएको उनले बताए ।

स्थानीय तह पुनर्संरचना भद्रगोल रहेको कुरा नुवाकोटको आन्दोलनले नै पुष्टि गरिसकेको उनको महतोको दाबी छ । उनले भने, ‘हेर्दै जानुहोस्, यस्तै हो भने नुवाकोटको जस्तो घटना ७५ जिल्लामै दोहोरिन्छ, नुवाकोटमा त गोली नै चल्यो, अब त्यो गोली कहाँ कहाँ चलाउने हो ?’-अनलाइनखबर



इस्लामाबाद, माघ १८ गते । प्यालेटाइनी राष्ट्रपति महमुद अब्बास तीन दिन भ्रमणको क्रममा पाकिस्तान आउनु भएको छ ।
इस्लामाबादमा बनेको प्यालेटाइनको नयाँ राजदूतावास भवन उदघाटन गर्नको लागि उहाँ त्यहाँ पुग्नु भएको अधिकारीहरुले जानकारी दिएका छन्. ।
पाकिस्तानको राजधानीमा सोमबार आइपुग्नु भएको राष्ट्रपति अब्बासको साथमा पाँच मन्त्रीसहित १७ सदस्यीय प्रतिनिधि मण्डल रहेका जनाइएको छ । पाकिस्तानका राष्ट्रपनि मम्नून हुसैनले प्यालेटाइनी राष्ट्रपतिलाई स्वागत गर्नु भएको थियो ।

अब्बासको यो तेस्रो पाकिस्तान भ्रमण हो । यस अघि उहाँले २००५ र २०१३ मा पाकिास्तानको भ्रमण गर्नु भएको थियो ।
प्यालेटाइनी राष्ट्रपतिको पाकिस्तानका प्रधानमन्त्रीसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको पाकिस्तानी विदेश मन्त्रालयद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
प्यालेटाइनी राष्ट्रपतिका साथैमा रहेका प्रतिनिधि मण्डलले पाकिस्तानी राष्ट्रपतिसँग भेटवार्ता गर्ने र दुई देशका नेताहरुबीच द्विपक्षीय हितका विषयमा वार्ता हुने बताइएको छ । रासस ÷सिन्ह्वा




काठमाडौं,माघ १८ गते । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) कार्यक्रम समितिको ५३औँ बैठक बुधबार सुरू हुँदैछ ।
सार्क अध्यक्षका नाताले नेपालले कार्यक्रम समितिको बैठक आयोजना गर्न लागेको हो । सार्क सचिवालयको सक्रियतामा हुन लागेको उक्त बैठकमा आठ वटै सदस्य मुलुकका परराष्ट्र, विदेश-बाह्य मामिला मन्त्रालयमा क्षेत्रीय सङ्गठनको जिम्मेवारी पाएका सहसचिवले भाग लिनेछन् ।

गत चैतदेखि हालसम्म भएका सार्कका गतिविधि, सार्क सचिवालय सञ्चालनका साथै आगामी वर्षको बजेटलगायत विषयमा बैठकमा छलफल हुने परराष्ट्र मन्त्रालय, क्षेत्रीय सङ्गठन महाशाखा प्रमुख मणिप्रसाद भट्टराईले बताए ।

पाकिस्तानमा आयोजना हुने सार्क शिखर सम्मेलन स्थगन भएकाले अध्यक्षता हस्तान्तरण नभएको नेपालले उक्त बैठक आयोजना गर्नुपरेको हो । रासस







भोजपुरमा दुईहजार भन्दा बढीले नाम दर्ता गरे
भोजपुर माघ १८ गते । फोटोसहितको मतादाता नामावली सङ्कलनमा भोजपुरका दुई हजार तीनजना मतदाताले हालसम्म नाम दर्ता गराएका छन् ।
जिल्ला निर्वाचन कार्यालय भोजपुरले निर्धारण गरेको ७५ दर्ता स्थलमा नाम दर्ता गराएकामध्ये ७९७ महिला र एकहजार २०३ पुरुषले नाम दर्ता गराएको निर्वाचन कार्यालयका सूचना अधिकारी दिव्यश्वरी जोशीले बताउनुभयो ।
मतदाता नामावलीसम्बन्धी ऐन, २०६३ को दफा ५ बमोजिम मतदाता हुन योग्यता पुगेका व्यक्तिको फोटोसहितको नामावली समावेश गर्ने, नाम हटाउने, सार्ने र सङ्कलन भएको नामावलीमा भएको त्रुटि सच्याउनेलगायतको कार्य भइरहेको कार्यालयले जनाएको छ ।
नामावली सङ्कलन र अध्यावधिकका लागि निर्वाचन कार्यालयले छवटा टोलीलाई परिचालन गरेको छ । गत पुस १० गतेदेखि यही माघ २० गतेसम्म नामावली सङ्कलन तथा अध्यावधिकको कार्य गरिनेछ । रासस




काठमाडौं,माघ १८ गते । साना दलहरुले थ्रेस होल्ड नराख्न माग गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् ।

नेकपा माले, नेमकिपा लगायतका साना दलका सांसदहरुले मंगलबार बिहान देउवालाई भेटेका हुन् । समानुपातिक निर्वाचन प्रणालीमा निश्चित मत नल्याएसम्म सांसद नपाउने व्यवस्था भएको र यो नै एक प्रकारको थ्रेस होल्ड भएको भन्दै उनीहरुले अर्को व्यवस्था नगर्न माग गरे ।

पहिलो र दोस्रो संविधानसभामा झण्डै २० हजार मत ल्याएका दलले एक सभासद पाएका थिए । अब झण्डै ९० हजारदेखि १ लाखसम्म मत ल्याउनेले मात्र सांसद पाउने भन्दै साना दलले अर्को छुट्टै व्यवस्था नगर्न आग्रह गरे ।

गृह मन्त्रालयले ल्याएको राजनीतिक दलसम्वन्धी विधेयकमा थ्रेस होल्डको प्रस्ताव नभएको भन्दै नेमकिपाका सांसद प्रेम सुवालले भने, ‘अहिले संशोधन हालेर थ्रेस होल्ड राख्न खोजिएको छ । यो निर्दलीय व्यवस्था फर्काउने प्रयास हो ।’

जवाफमा देउवाले यसबारे छलफल गर्ने आश्वासन दिएका छन् ।-अनलाइनखबर





मुम्बई – सचिन तेन्दुल्कर करोडौँ क्रिकेट प्रेमीका लागि प्रेरणा छन् । उनको विश्व किर्तिमानहरु त छँदै छन्, भारतीय क्रिकेट टोलीका पूर्व कप्तानको ब्याटिङ गर्ने शैली र अनुशासन धेरै युवा खेलाडीहरुका लागि शिक्षा हुने गरेको छ ।

भारतका वर्तमान कप्तान र सम्भवतः अहिलेका सबैभन्दा उत्कृष्ट ब्याटसम्यान विराट कोहलीले पनि धेरै पटक कसरी इंग्ल्याण्डको भ्रमणको क्रममा पटक–पटक आफू असफल हुँदा सचिनले ब्याटिङ शैली सुधार्न मद्दत गरेको कुरा सुनाएका छन् ।

यस्ता महान् ब्याटसम्यानलाई पनि एक सामान्य वेटरले ब्याटिङ सुधार्न मद्दत गरेको कुरा भने धेरैले नपत्याउन सक्छन् ।


तर, एकपटक जब सचिन चेन्नाइको एक होटलमा थिए, एक वेटर आएर उनलाई उनको ब्याटको स्वीङ सुधार्न सुझाव दिएका थिए । जुन तेन्दुलरको भनाईमा काम पनि गर्यो ।

‘यदी तपाइँ खुला दिमागले सोच्नुभयो भने तपाइँ धेरै कुरा विकास गर्न सक्नुहुन्छ । एकपटक चेन्नाईमा एक वेटर आएर मलाई भने – यदी तपाइँ रिसाउनुहुन्न भने म एउटा कुरा भनुँ । मैले हुन्छ भने । उले मलाई मेरो एल्बो गार्डले मेरो ब्याटको स्विङमा असर गरिरहेको बताए । ऊ शत प्रतिशत सही थियो,’ तेन्दुल्करले भने ।

तेन्दुल्करले उनको सुझावलाई ध्यानमा राख्दै आफ्नो एल्बो गार्डको डिजाइन परिवर्तन गर्न लगाए । ‘मलाई केही असहज त मुस हुन्थ्यो । तर, मैले कहिले पनि के कारणले भन्ने सोचिन । जब बलले गार्डमा लाग्थ्यो मलाई निकै दुख्थ्यो । त्यसपछि मैले त्यहाँ राखिने प्याडिङ थप गर्नु पर्ने आवश्यकता महसुस गरेँ,’ उनले भने ।

‘मैले तत्कालै त्यसको डिजाइन परिवर्तन गर्न लगाए । र, त्यसले फाइदमा पनि गर्यो । हाम्रो देशमा पानवालादेखि कम्पनीका सिइओले तपाइँलाई सुझाव दिन्छन् । त्यसता सुझाव प्रति आफू सँधै खुला रहनुपर्छ,’ तेन्दुलकरले भने ।-एजेन्सी



अघि-अघि बिजुली चोर, पछि-पछि प्रहरी !

काठमाडौं,माघ १८ गते । गत साता प्रहरीले विद्युत प्राधिकरणकै एक दर्जन कर्मचारीहरुलाई विद्युत चोरीको आरोपमा समात्यो । अहिले उनीहरु थुनामै छन् । आखिर कसको सुराकीका आधारमा प्रहरीले ‘बिजुली चोर’ समात्यो ? यसको भित्री रहस्य भने निकै रोचक रहेछ ।

भ्रष्टाचार एवं चोरीचकारी नियन्त्रण गर्न एउटा बेनामे चिठी नै पर्याप्त हुने यो घटनाले स्पष्ट पारेको छ ।

बेनामे चिठीले चिनायो बिजुली चोर

दशैंअघिको घटना हो, विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङको कार्यकक्षको टेबलमा एक पत्र भेटियो । पत्रमा विभिन्न व्यक्तिमाथि विद्युत चोरी गरी कमिसन खाने गरेको आरोप थियो । पत्र लेख्ने मान्छेको नाम थिएन । पत्र बेनामे थियो ।

कसैले राखिदिएको बेनामे पत्रमा कैयन खोज्न लायक तथ्यहरु थिए । पत्रको निष्कर्ष थियो- विद्युत चोरीमा प्राधिकरणकै कर्मचारीको पनि संलग्नता छ । पत्र बेनामे नै भए पनि त्यसमा केही ‘बिजुली चोर’ हरूको नाम खुलाइएको थियो ।

उता एसएसपी सर्वेन्द्र खनाललाई पनि दिनदिनै विभिन्न सूचनाहरु आइ रहेका थिए । धाराका मिटर र विद्युतका मिटरहरुमा हुने बदमासीका बारेमा उनलाई धेरैले सुनाएका थिए । तर, चोर समात्न यथेष्ट प्रमाण उनीसँग थिएन ।

बेला-बेलामा एसएसपी खनाल र प्राधिकरणका घिसिङबीच भेट हुँदै आएको थियो ।


कुलमानले सर्प पनि मर्ने, लठ्ठी पनि नभाँचिने नयाँ जुक्ति निकाले । र, सो बेनामे पत्र एसएसपी खनालकहाँ पुग्यो

करिब एक महिना अघि घिसिङले आफ्नो टेबलमा भेटिएको बेनामे पत्र एसएसपी खनाललाई बुझाइदिए । एसएसपी खनालको हातमा परेको बेनामे पत्रमा विभिन्न स्थानमा विद्युत चोरीमा संलग्न प्राधिकरणका कर्मचारीहरुको नामसमेत उल्लेख गरिएको थियो ।

यो पत्र एसएसपी खनाललाई बुझाउनुअघि कुलमान घिसिङले ऊर्जा मन्त्री जनार्दन शर्मालाई पनि पत्रका बारेमा जानकारी गराएका थिए । ऊर्जा मन्त्रीले पनि घिसिङलाई यसमा तत्काल अनुसन्धान गरी कार्वाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए ।

तर कुलमानलाई त्यसो गर्न सहज थिएन । किनभने सो पत्रमा उल्लेख गरिएको बिजुली चोरको सूचीमा मन्त्रीका आफ्नै पार्टीका कर्मचारी युनियनका व्यक्तिहरु पनि थिए । कांग्रेस र एमाले निकट ट्रेड युनियनका नेताहरुको नाम त्यसमा थियो । घिसिङका त कर्मचारीहरु नै यसमा थिए । त्यसैले उनीहरुमाथि कारवाही गर्दा घिसिङमाथि चर्को बिरोध हुने खतरा थियो ।

अन्ततः कुलमानले सर्प पनि मर्ने, लठ्ठी पनि नभाँचिने नयाँ जुक्ति निकाले । र, सो बेनामे पत्र एसएसपी खनालकहाँ पुग्यो ।

बिजुली चोरको गाडी अघि-अघि, प्रहरी पछि-पछि

बेनामे पत्र हात परेपछि एसएसपी खनालले त्यसमा उल्लेख भएका ब्यक्तिहरुको निगरानी गर्ने योजना बनाए । र, यसैअनुरुप उनले सुरक्षाकर्मीहरुलाई छद्म भेषमा फिल्डमा पठाएर पत्रमा उल्लेखित कर्मचारीमाथि निगरानी सुरु गरे ।


निगरानी राख्दै गर्दा बा ५ च ३४५१ को गाडी राति ओहोर- दोहोर गरेको भेटियो । खोज्दै जाँदा उक्त गाडीमा प्राधिकरणको बालाजुस्थित कार्यालयका सुपरभाइजर सुमन श्रेष्ठ चढ्दा रहेछन्

विद्युत प्राधिकरणको बालाजुस्थित कार्यालयका कर्मचारी गाडी लिएर मिटर बिगार्न हिँड्ने गरेको पत्रमा उल्लेख थियो ।

तीन साताअघि एसएसपी खनालले पठाएको टोली विद्युत प्राधिकरणको बालाजुस्थित कार्यालयमा छद्म भेषमा पुग्यो । त्यहाँ अबेरसम्म कर्मचारीको आवत-जावत हुने र कार्यालय समय नभएपनि कर्मचारीहरु आउने-जाने गरेको देखिएपछि प्रहरीले थप चासो बढायो ।

राति रातिसमेत कर्मचारीहरुको गाडी कार्यालयमा आउने गरेको देखेपछि ती व्यक्तिहरु कहाँ-कहाँ जान्छन् भनेर प्रहरीले निगरानी गर्‍यो । र, त्यही प्रयासबाट प्रहरीले बिद्युत चोरीमा संलग्नहरुलाई पत्ता लगायो ।

प्रहरीले निगरानी राख्दै गर्दा बा ५ च ३४५१ को गाडी राति ओहोर- दोहोर गरेको भेटियो । खोज्दै जाँदा उक्त गाडीमा प्राधिकरणको बालाजुस्थित कार्यालयका सुपरभाइजर सुमन श्रेष्ठ चढ्दा रहेछन् ।

प्रहरीले श्रेष्ठलाई पछ्यायो । उनी मिटर बिगारेर कुम्ल्याएको कमिसनको पैसाले किनेको निजी गाडी लिएर बौद्ध, जोरपाटी, कोटेश्वर, बानेश्वर जस्ता स्थानमा सञ्चालित साना-साना उद्योग धन्दामा जाने गरेका रहेछन् ।

यही क्रममा अघिल्लो बिहीबार बिहान ९ बजे श्रेष्ठ इमाडोल पुगे । जहाँ उनलाई प्रहरीले पछ्याइरहेको थियो । उनले आफ्नो गाडीमा रहेका सामानहरु बोकेर इमाडोलको पुल नजिकैको एउटा घरमा छिरे । त्यहाँ विद्युत मिटरमा के के काम गरे, प्रहरीले भित्रको गतिविधि देख्न सकेन । तर, मिटर बक्समा उनले काम गरिरहेको भने देखियो । सुरक्षाकर्मीले तस्वीर लिन खोजे । तर, श्रेष्ठको पछाडिको भाग मात्रै देखियो र टाढा भएकाले स्पष्ट पनि आएन । यस्तो तस्वीर दसी प्रमाणका लागि खासै काम लाग्ने भएन ।



विहीबार असफल भएपछि शुक्रबार पनि प्रहरीले श्रेष्ठलाई ‘फलो’ गर्‍यो । श्रेष्ठ अघिल्लो दिनजस्तै बिहान ९ बजे नै अनामगरको रामेश्वर मिठाई पसलमा छिरे । त्यहाँ उनले मिटर खोले र उल्टो घुमाइदिए अनि फेरि सिल लगाए ।

मिठाइ पसलको यो दृश्य भने प्रहरीले क्यामेरामा भिजुलका रुपमा कैद गरिसकेको थियो । र, त्यही प्रमाणका आधारमा अहिले श्रेष्ठसहित यस्तै धन्दामा संलग्न कैयन कर्मचारीहरु प्रहरीको नियन्त्रणमा छन् । मिठाइ पसले पनि समातिएका छन् ।

यसरी एउटा बेनामे चिठीकै आधारमा यति ठूलो बिजुली तस्करीको जालो तोड्न सम्भव भयो । हामीले पनि आफूले देखेको बेथितिबारे यसैगरी बेनामे पत्र लेखेर भए पनि प्रहरी प्रशासनलाई सघाउने पो हो कि ? जसको सहायताले राज्यको करोडौं रकम नोक्सानी हुनबाट बचोस् ।-सुदिल पोखरेल




काठमाडौं,माघ १८ गते । संविधान जारी भएको करिब साढे एक बर्षपछि संविधानले व्यवस्था गरेको संघ, प्रदेश र स्थानीय तह बीचको अधिकार बाँडफाँडको कार्यसूची पारित भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गतको आर्थिक पूर्वाधार समितिले हिजो कार्यसूचीलाई स्वीकृत गरेको हो ।

मुख्य सचिव सोमलाल सुवेदीको अध्यक्षतामा गठन भएको निर्देशक समन्वयन समितिले तीन तहको कार्यसूची बनाएर मन्त्रिपरिषदमा पेश गरेको थियो । मन्त्रिपरिषदले त्यसलाई थप अध्ययन गरेर स्वीकृत गर्न आर्थिक पूर्वाधार समितिलाई जिम्मा दिएको थियो ।

सोमबार स्वीकृत प्रतिवेदनले स्थानीय तह, प्रदेश र संघको एकल र संयुक्त अधिकारका कार्यसूचीहरु छुट्याएको छ ।

अनलाइनखबरसँग कुरा गर्दै मुख्य सचिव सोमलाल सुवेदीले भने, ‘अब संविधान कार्यान्वयनका लागि पहिलो आधार बनेको छ । मुख्य सचिवको बिशेष सक्रियतामा अधिकारको कार्यसूचीले अन्तिम रुप लिएको हो ।’

के छ सूचीमा ?

सूचीमा राज्यका तीन तहले गर्नुपर्ने काम र अधिकारको व्याख्या तथा विश्लेषण भएको छ । जस्तै नयाँ संविधान बमोजिम स्थानीय तहले दिने सेवाहरुको ब्याख्या गरिएको छ भने एउटै विषयमा स्थानीय तह, प्रदेश र केन्द्र सरकारबीचको अधिकार सीमा तोकिएको छ ।

विकास आयोजना सञ्चालन र छनौट गर्दा कुन तहले कुन स्तरको अधिकार र सीमाभित्र रहने जस्ता विषय समेटेर संविधानले दिएको अधिकारलाई थप प्रष्ट्याउने काम गरेको हो ।

मुख्यसचिवले सुवेदीले यो कामसँगै संघीयता कार्यान्वयनको आधार निर्माण भएको बताएका छन् ।-अनलाइनखबर





लाहोर – भारतको मुम्बईमा भएको आतंकवादी हमलाका मास्टर माइन्ड मानिएका हाफिज सइदलाई हिरासत राख्न पाकिस्तानी अधिकारीहरुले निर्देशन दिएका छन् ।

सन् २००८ मा भएको उक्त आतंकवादी हमलामा १६६ जना मारिएका थिए ।

लस्कर ए ताइबा (एलइटी) नामक प्रतिबन्धित विद्रोही समूहको नेतृत्व गरेका सइदमाथि १ करोड अमेरिकी डलरको इनाम राखिएको थियो । उनी हाल लाहोरस्थित घरमै हिरासतमा रहेका छन् ।


उनले भने उक्त घटनामा आफ्नो संलग्नता नभएको बताउँदै आएका छन् ।

तर, नयाँ दिल्ली र वासिङटनले भने सइद नै उक्त घटनाको मास्टरमाइन्ड भएको भएको बताउँदै आएका छन् ।

सइदका प्रवक्ताले अमेरिकाले दबाब दिएपछि पाकिस्तानी सरकार उनलाई हिरासतमा राख्न बाध्य भएको दाबी गरे ।

सइदले जमाद उद दावा नामक परोपकारी संस्था नेतृत्व गर्छन् जसलाई भारत र अमेरिका एलइटीको संरक्षक मान्छन् ।


एलइटीलाई संयुक्त राष्ट्रसंघले आतंकवादी संगठनको रुपमा पहिचान गरेको छ भने सन् २०१५ मा पाकिस्तानले पनि यसलाई आतंकवादीको सूचीमा रहेको थियो ।

सइद खुल्लमखुल्ला पाकिस्तानमा हिँडिरहेको कारण नै दिल्ली र इस्लामाबादबीच लामो समयदेखि कटु सम्बन्ध रहँदै आएको थियो । अहिले आएर किन पाकिस्तानले यस्तो निर्णय लियो भन्ने कुरा अझै यकिन भएको छैन ।

सन् २००८ मा भएको हमला पछि पनि उनलाई ६ महिना घरमा नै हिरासतमा राखिएको थियो । तर ६ महिनापछि उनलाई रिहा गरिएको थियो ।

पाकिस्तानले उनीमाथि मुद्दा चलाउन वा भारतलाई हस्तान्तरण गर्न आवश्यक प्रमाण नभएको बताएको थियो ।

सन् २००८ को नोभेम्बर ६ मा भएको उक्त हमलामा पाकिस्तानबाट आएका १० जना आतंकवादीले मुम्बाईका विभिन्न स्थानमा बम हमला तथा गोलिबारी गरेको थियो ।

सहरलाई पूर्ण नियन्त्रणमा लिन भारतीय अधिकारीहरुलाई ३ दिन लागेको थियो ।-एजेन्सी




नेपालका करिब ७ प्रतिशत स्वास्थ्य संस्थाहरुमा ज्वरो नाप्नको लागि आवश्यक पर्ने थर्मोमिटर समेत उपलब्ध नभएको एक अध्ययनले देखाएको छ ।

अध्ययन अनुसार मानिसको हृदयको गति, स्वास प्रस्वासको अवस्था जाच्ने उपकरण (स्थेटेस्कोप) २ प्रतिशत स्वास्थ्य संस्थाहरुमा छैन । रक्तचाप जाच्ने यन्त्र ६ प्रतिशत स्वास्थ्य संस्थाहरुमा नरहेको स्वास्थ्य मन्त्रालयद्धारा नेपालमै पहिलो पटक गरिएको स्वास्थ्य संस्था सम्बन्धी विस्तृत अध्ययन ‘नेपाल स्वास्थ्य सेवा सर्वेक्षण २०१५’ मा उल्लेख गरिएको छ ।

सर्वेक्षण अनुसार नेपालका कमै स्वास्थ्य संस्थाहरुमध्य परिक्षण गर्ने स्थलमा बच्चा (३९ प्रतिशत) वा शिशु (५५ प्रतिशत) को तौल मापन गर्ने स्केल वा प्रकाशको उचित श्रोत उपलब्ध रहेको पाइएको छ । ती स्वास्थ्य संस्थाहरुमा अत्यावश्यक पर्ने उपकरण तथा औषधिको उपलब्धतामा समेत निकै फरक रहेको पाइएको छ ।

जस अनुसार नेपालका स्वास्थ्य संस्थाहरुमा आवश्यक पर्ने अलबेण्डाजोल (९७ प्रतिशत), जिंक चक्की (९५ प्रतिशत), पुर्नजलिय झोल (९२ प्रतिशत), आइरन चक्की वा फोलिक एसिड (९१ प्रतिशत) प्रशस्त मात्रामा रहेको छ । तर ती औषधिहरु अधिकांश सबै संस्थाहरुमा उपलब्ध छैन ।

त्यस्तै, नेपालका करिब ५१ प्रतिशत स्वास्थ्य संस्थाहरुमा नियमित विद्युत सेवा उपलब्ध छैन भने करिब २० प्रतिशत स्वास्थ्य संस्थाहरुमा मात्र सञ्चारका उपकरणहरु उपलब्ध छ ।

आधारभूत सुविधाहरुमध्य नेपालका ८० प्रतिशत स्वास्थ्य संस्थाहरुमा सेवाग्राहीको लागि चर्पी तथा पानीको श्रोतमा सुधार भएको पाइए पनि विजुली, बत्ती, टेलिफोन (२० प्रतिशत), इमर्जेन्सी यातायात (५९ प्रतिशत) तथा इन्टरनेट सेवा (जम्मा ११ प्रतिशत) लगायतका सुविधामा भने कमी रहेको स्वास्थ्य सेवा विभाग, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा प्रमुख मुक्तिनाथ खनालले बताए ।

‘नेपालको स्वास्थ्य संस्थाहरुमा उपलब्ध औषधीहरु तथा अन्य सुविधा हेर्ने हो भने त्यसको अवस्था राम्रो छ’ खनालले भने, ‘तर त्यसलाई सम्रगमा हेर्ने हो भने नेपालमा एक प्रतिशत अस्पतालहरुमा मात्र सरकारले निशुल्क दिने भनेको ७० प्रकारका औषधीहरु मध्य १८ प्रकारका औषधीहरु उपलब्ध रहेको पाइएको छ ।’

उपलब्ध औषधिमा अल्बेण्डाजोल, एमोक्सिलिन, बेन्जोइक, क्लोरम्फेनिकोल, फोलिक एसिड तथा आइरन, भिटामिन ए क्याप्सुल, जेन्टामाइसिन इन्जेक्सन, मेट्रोनिडाजोल ट्याब्लेट लगायत छन् ।

त्यसैगरी, स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखा प्रमुख पर्शुराम श्रेष्ठले स्वास्थ्य मन्त्रालयलाई काम नगर्ने आरोप लाग्ने गरेकोमा यो सर्वेक्षण सार्वजनिकीकरण भए सँगै मन्त्रालयले गरेका काम कारवाही देखिन थालेको बताए ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. राजेन्द्र पन्तले यो अध्ययनमा उल्लेख गरिएका थुप्रै विषय ४० देखि ६० प्रतिशतमा सिमित रहेको बताउदै यसलाई विभागले गम्भीरतापूर्वक लिने बताए ।

चार हजार स्वास्थ्य संस्थामध्ये करिब ९६३ स्वास्थ्य संस्थाहरुमा गरिएको सर्वेक्षणमा मन्त्रालयले सेवाको उपलब्धता, सेवाको अवस्था तथा गुणस्तरीय सेवालाई आधार मानेको थियो । जसमा मन्त्रालयले नेपालका सम्पूर्ण जिल्ला लगायत भुकम्प प्रभावित १४ जिल्लालाई समेत समेटेको थियो ।



इटहरी, माघ १८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कोशीका एक कर्मचारीलाई घुससहित मंगलबार पक्राउ गरेको छ ।

लेखापाल भुपेन्द्र कटुवाल घुससहित रंगेहात पक्राउ परेका हुन् । उनको साथबाट ४० हजार रुपैयाँ घुस बरामद भएको छ ।

इटहरीस्थित कार्यालय छेउँको एक होटलबाट उनलाई मंगलबार बिहान आठ बजे नियन्त्रणमा लिइएको हो ।

लाइसेन्स बनाइदिने भनेर कटुवालले सुनसरीका दुईजना सेवाग्राहीबाट २०-२० हजारको दरले ४० हजार रुपैयाँ घुस लिएको र गोप्य सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिइएको अख्तियार सम्पर्क कार्यालय इटहरीका प्रमुख प्रेमप्रसाद भट्टराईले अनलाइनखबरलाई जानकारी दिए ।

मुचुल्का उठाउने काम भइरहेको र उनीमाथि थप अनुसन्धान भइरहेको भट्टराईले बताए ।-अनलाइनखबर

Jhalanath Khanal Chairman CPN UML

इलाम, माघ १८ गते । पूर्वप्रधानमन्त्री झलनाथ खनालले आवश्यक परे मात्र तीनतहको निर्वाचन पछि मात्रै संविधान संशोधन गर्न सकिने बताउनुभएको छ । संविधान कार्यान्वयनका लागि जनपरिचालनअन्तर्गत चार महिने अभियानको क्रममा सोमबार इलामको लक्ष्मीपुर गाउँ कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले आगामी २०७४ माघ ७ गतेसम्ममा तीनै तहको निर्वाचन सम्पन्न गरेर मात्रै संविधान संशोधन गर्न सकिने बताउनुभएको हो ।

नेपाली काँग्रेस र नेकपा (माओवादी (केन्द्र) सँग देश विकास गर्ने कुनै नयाँ भिजन नभएको बताउँदै उहाँले सरकारले खुट्टा कमाएकाले अझै पनि निर्वाचनको मिति घोषणा गर्न नसकेको हो, भन्नुभयो ।

“अब हुने निर्वाचनपछि काँग्रेस र माओवादीलाई बत्ती बालेर खोज्नुपर्छ”, उहाँले भन्नुभयो, “निर्वाचनपछि एमाले देशकै ठूलो पार्टी हुने र मुलुकलाई सफल तरिकाले हाक्नेछ ।”

सरकारले छिट्टै निर्वाचन मिति घोषणा नगरे निर्वाचनको मिति घोषणा गर्न एमालेले देशव्यापी रूपमा आन्दोलन सुरू गर्ने बताउँदै निर्वाचन नहुँदा मुलुकमा बेथिती बढेको उहाँले उल्लेख गर्नुभयो ।

अङ्गीकृत नागरिकलाई देशको प्रमुख पद दिन नसकिने बताउँदै उहाँले संविधान संशोधनको प्रस्ताव विदेशीको दबाबमा संसद्मा दर्ता भए पनि कुनैपनि हालतमा पास हुन नदिने विचार व्यक्त गर्नुभयो ।

सोही अवसरमा विभिन्न पार्टी परित्याग गर्ने ८६ घरका १७५ जनाभन्दा बढीलाई उहाँले आफ्नो पार्टीमा स्वागत गर्नुभयो । रासस

Shakti-Basnet-

जाजरकोट, माघ १८ गते । निर्माणाधीन जाजरकोट—जुम्ला सडकको खलङ्गा—पाँचकाटिया सडकखण्डमा स्तरोन्नतिको काम सुरु भएको छ । नेकपा (माओवादी केन्द्र)का नेता पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले काम छिटो गर्नुहोस् बजेट अभाव हुँदैन भनेपछि स्तरोन्नतिको काम सुरु गरिएको हो । जिल्लाका दर्जनौँ सडकमा अहिले थप बजेटको व्यवस्था समेत गरिएको छ ।

सडक डिभिजनको रु एक करोड ९८ लाख लागतमा सडक निर्माण कार्य सुरु गरिएको छ । सडक निर्माणको जिम्मा मृत सन्जिवनी खड्का कृष्ण जेभी कन्स्ट्रक्सनले लिएको छ । दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी काम सुरु गरिएको हो ।

खलङ्गा—पाँचकाटिया सडकखण्डभित्र रहेको २१ किलोमिटर दूरीमा एक लाख ३६ हजार घनमिटर माटो कटिङ, माटो फिलिङलगायतको काम गरिने ठेकेदार रत्न खड्काले बताउनुभयो ।

यो सडकमा जिप र ट्र्याक्टर हिउँदको समयमा गुड्ने गर्दछन् । सडकको स्तर वृद्धि गर्न थालेपछि स्थानीय खुसी भएका छन् । यो सडकमा ट्र्याक ओपन गर्दा २१ किलोमिटरमा रु सात करोडभन्दा बढी खर्च भइसकेको छ । अहिले सडकको स्तर वृद्धि नभएका कारण बर्सेनि स्थानीय समस्या भोग्दै आएका थिए । रासस



मनिला, माघ १७ गते । यस वर्ष फिलिपिन्सको राजधानी मनिलामा आयोजित ६५ औं विश्व सुन्दरी प्रतियोगीतामा फ्रान्सकी युवती आइरिस मित्तेराँ विजयी भएकी छिन् । सो प्रतियोगीतामा विश्वका छयासी देशका सुन्दरीहरु सहभागी थिए ।

दन्त चिकित्सा विषयमा अध्ययनरत २३ वर्षिया विद्यार्थी तथा मोडेल मित्तेराँले ८५ जना सुन्दरी प्रतिद्वन्दीहरुलाई पछि पार्दै सन् २०१७ को विश्व सुन्दरी (मिस युनिभर्स) उपाधि हात पार्न सफल भएकी हुन् ।


६५ औं विश्व सुन्दरी प्रतियोगीता जितेपछि फ्रान्सकी सुन्दरी मित्तेराँ ( ताज लगाएकी ) ।

राजधानी मनिलाको एसिया एरिना मलमा आयोजित उक्त प्रतियोगीताको अन्तिम दिन उनलाई गत वर्षकी विश्व सुन्दरी, फिलिपिन्सकै पिया उर्जब्याचले मिस युनिभर्सको शिरताज पहिराइ दिइन् ।

उत्तरी फ्रान्सको एउटा सानो नगर – लिली निवासी सुन्दरी मित्तेराँले आयोजकका तर्फबाट स्टिभ हार्भेले सोधेका एक सामान्य प्रश्नको उत्तरमा यस प्रतियोगीतामा आफू प्रथम वा द्वितिय वा तृतिय जुनसुकै स्थानमा पर्न पाए पनि हर्षले गद्गद् हुने बताएकी थिइन्, तर प्रथम स्थान नै उनको पोल्टामा प¥यो ।

सो प्रतियोगीतामा हैटिकी पच्चीस वर्षीया सुन्दरी राकेल पेलिसियर दोश्रो स्थान (फस्र्ट रनर–अप) मा र कोलम्बियाकी तेइस वर्षीया सुन्दरी एन्ड्रिया टोभार तेश्रो स्थान (सेकेण्ड रनर–अप) मा विजयी हुन सफल रहे ।

द्वितीय स्थानमा रहन सफल सुन्दरी राकेलको गृह नगर सन् २०१० मा हैटिमा आएको महाभूकम्पमा परेर ध्वस्त भए तापनि उनी जीवित रहन सफल रहेकी थिइन् । रासस ÷एपी



काठमाडौँ, माघ १७ गते । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यवस्थापिका–संसद्बाट स्थानीय निर्वाचनका लागि आवश्यक सबै कानुन पारित गराई यही माघ २५ भित्र निर्वाचनको मिति घोषणा गरिसक्नुपर्नेमा जोड दिनुभएको छ ।

काँग्रेसको भ्रातृ सङ्घ जनसम्पर्क समिति दक्षिण कोरियाको कार्यक्रममा सहभागी भई आज स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसित कुराकानी गर्दै अगामी जेठभित्र स्थानीय निकायको निर्वाचन भएमा मङ्सिरमा प्रदेशसभा र संसद्को निर्वाचन सम्पन्न हुनसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – “संविधानलाई कार्यान्वयन गर्न निर्वाचनको अर्काे विकल्प छैन, यसमा दलहरु गम्भीर बन्नुपर्छ ।”

नेता पौडेलले संविधान संशोधन नभई चुनाव हुन सक्दैन भन्ने मधेसी मोर्चाको भनाइ, संशोधन नगरी निर्वाचनमा जानुपर्छ भन्ने एमालेको हठ र दुवैलाई मिलाएपछि मात्र निर्वाचन भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको भनाइले कसरी निर्वाचन हुन्छ भन्ने प्रश्न गर्नुभयो ।

स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदनबारेमा मधेसी मोर्चाले भनाइ सार्वजनिक गर्न माग गर्दै उहाँले सबै दल मिलेर निर्वाचन जानुपर्छ भन्नुभयो । रासस



काठमाडौँ, माघ १७ गते। व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा(माओवादी केन्द्र)का सांसद डोरप्रसाद उपाध्याय निर्वाचित हुनुभएको छ ।
समितिको सभापति चयनका लागि आज भएको निर्वाचनमा उपाध्यायले २३ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का सांसद पशुपति चौलागाईले १६ मत प्राप्त गर्नुभयो । नौ जना सांसद भने अनुपस्थित हुनुहुन्थ्यो ।

समितिमा आवद्ध रहनु भएका ५० सांसदहरुमध्ये जेष्ठ सदस्य रहनु भएका सांसद सवेन्द्रनाथ शुक्लले मतदान गर्न नपाउने व्यवस्थाअनुसार कुल मतदाता ४९ थियो ।
तत्कालीन सभापति जनार्दन शर्मा ऊर्जा मन्त्री हुनुभएपछि ६ महिनादेखि समितिको सभापति पद खाली रहेको थियो ।

सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र)लगायतका दलले संयुक्त उम्मेदवारको रुपमा उपाध्यायलाई अगाडि सारेको थियो । नवनिर्वाचित सभापतिलाई बधाइ दिन मङ्गलबार बिहान ११.०० बजे समितिको बैठक राखिएको जेष्ठ सदस्य शुक्लले जानकारी दिनुभयो ।

उपाध्याय नेकपा(माओवादी केन्द्र)का तर्फबाट तत्कालीन संविधानसभामा समानुपातिक तर्फबाट सांसद बन्नुभएको हो । रासस

Image result for jail custody

काठमाडौं , माघ १७ गते । एक दम्पतिले ठगी गर्नकै लागि काठमाडौंमा कम्पनी खोले । उनीहरूले खोलेको कम्पनी, कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता छ । कम्पनीको उद्देश्यमा राखिएको छ, ‘विदेशमा भएको विभिन्न डकुमेन्ट तथा अनुवादको काम अनलाइनमार्फत गर्ने ।’ त्यतिमात्र नभएर उक्त दम्पतिले शाखा कार्यालय खोल्न दिनेसमेत उद्देश्यमा उल्लेख गरेका छन् ।

ठग्ने उद्देश्यले कम्पनी खोलिएको थियो । शाखा कार्यालय खोल्न लगाइयो, ८ जनाबाट करोड रकम उठाएर दम्पति सानदार तरिकाले अपार्टमेन्टमा बस्न थाले । शाखा कार्यालय खोलेका पीडितहरू कार्यालयको भाडा तिर्न नसकेर प्रहरीमा पुगे ।

प्रहरीले सर्लाही हरिवन नगरपालिका–४ सासापुर घर भई काठमाडौंको सनसिटी आपर्टमेन्टमा बस्ने २० वर्षीया अस्मिता घिमिरे र उनका पति भारतीय नागरिक ३४ वर्षीय विकास द्विवेदीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा यो तथ्य खुलेको हो ।

यो दम्पतिले ठगी गर्नकै लागि आईटी कम्पनी खोलेर राष्ट्रिय स्तरमा दैनिक पत्रिकामा विज्ञापन गर्ने गरेको थियो । महिनाको ६ लाख रुपैयाँ कमाइ हुने आश्वासनका साथ पत्रिकामा विज्ञापन छपाएर उनीहरूले ८ जनाबाट १ करोड ३५ लाख ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

‘भि इन्फोटेक प्रालि’ नामक कम्पनी खोलेर घिमिरे दम्पतिले महिनाको ६ लाख कमाउन शाखा खोलेर आफैं काम गर्नुपर्ने विज्ञापन गरेका थिए । ११ महिनाको बैंक ग्यारेन्टी भन्दै उनीहरूले पैसा उठाएका थिए । प्रहरीका अनुसार धरौटी भन्दै उनीहरुले एउटा शाखा खोलेको ५ लाख ६० हजार रुपैयाँ लिएका थिए ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डीएसपी ईश्वर कार्कीका अनुसार पीडितको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन् । “असोजमा विज्ञापन गरेर त्यति बेलादेखि नै ठगी गर्न थालेछन्,” डीएसपी कार्कीले थपे, “पीडितलाई काठमाडौं र ललितपुरमा कार्यालय खोल्न लगाए, कार्यालय खोलियो, कर्मचारी पनि राखियो । तर काम भने दिइएन । लामो समयसम्म काम नपाएपछि पीडितहरू प्रहरीमा आए ।”

महिनाको ६ लाख कमाइ हुने भन्दै आश्वासन देखाएर ८ जनालाई ठगी गर्दै भव्य अपार्टमेन्टमा बस्ने घिमिरे दम्पति अहिले महानगरीय प्रहरी परिसर ललितपुरको प्रहरी हिरासत कक्षमा छन् । प्रहरीले उनीहरूविरुद्ध ठगी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ । - डिल्ली पाण्डे , बाह्रखरी




काठमाडौं , माघ १७ गते । संविधान संशोधन विधेयक, निर्वाचन घोषणालगायत विषयमा छलफल गर्न सोमबार बसेको सत्तारुढ दल र मधेशी मोर्चाका नेताहरूको बैठक बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सत्तारुढ नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्रका नेताहरू र मधेशी मोर्चाको सहभागिता थियो ।

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले बैठकपछि दिएको जानकारीअनुसार बैठकमा मोर्चाको तर्फबाट स्पष्ट धारणा आएन । “पुरानै कुराहरू दोहोरिए । प्रधानमन्त्रीले संविधान संशोधन विधेयक र स्थानीय तहको चुनाव सँगसँगै लैजानुपर्छ भन्नुभयो, मोर्चाले पहिला संशोधन प्रस्ताव टुंग्याएर मात्र चुनावमा जानुपर्ने कुरा राख्यो,” श्रेष्ठले भने ।

बैठकमा प्रधानमन्त्रीले स्थानीय तहकै चुनावमा जानुपर्नेमा जोड दिएको उनले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल अहिलेको गठबन्धन टुटाउनु हुँदैन भन्ने पक्षमा छन् ।

सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले पहिला संधोशन प्रस्ताव टुंग्याएर मात्र चुनावमा जानुपर्नेमा मोर्चा दृढ रहेको बताए । मोर्चा र सत्तारुढ दल फेरि बसेर छलफल गरी सबै विषय टुंग्याउने कुरा भएको उनले जानकारी दिए ।



बेलायती राजदुत र सभामुखबीच भेटवार्ता

काठमाडौ माघ १७ गते सभामुख ओनसरी घर्तीले नेपाल र बेलायतबीचको द्धिपक्षीय सम्बन्ध अझै सुदृढ हुने विश्वास व्यक्त गरेकी छन् । सभामुख घर्तीले नेपालका लागि बेलायति राजदुत रिचार्ड मोरिससँग भएको भेटमा द्धिपक्षीय सम्बन्ध अझै सुदृढ हुने विश्वास व्यक्त गरेकी हुन् ।

राजदुतसँगको भेटपछि संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै सभामुख घर्तीले दुवै देशको संसदका गतिविधि र आपसीहितका विषयमा छलफल भएको जानकारी पनि दिइन् । भेटमा राजदुत मोरिसले नेपालको दिगो विकासमा सघाउन बेलायत सधैं तयार रहेको बताएका थिए ।
बेलायतले नेपालको क्षमता विकासका विभिन्न योजनाहरुको आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ ।



काठमाडौं, माघ १७ गते । नेपाल बायुसेवा निगमले नयाँ जहाज खरिदका लागि अमेरिकी कम्पनी एएआर कर्पाेरेसनलाई १० करोड रुपैयाँ बैना दिने भएको छ ।



शुक्रबार जहाज खरिदका लागि एएआर कम्पनी र बायु सेवा निगमबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार दुई वटा विमान खरिदको लागि बायुसेवा निगमले तत्काल १० करोड रुपैयाँ बैना दिँदैछ ।

बायुसेवा निगमका सहायक प्रवक्ता शैलेश कंसकारले भने ‘शुक्रबार दुई नयाँ जहाज खरिदका लागि हामीले एएआर कर्पाेरेसनसँग सम्झौता गरेका छौ, यसै अनुरुप तत्काल १० करोड रुपैयाँ बैनाको रुपमा दिदैँछौ ।’

बायु सेवा निगमले यसरी बैना दिनको लागि यसवर्षको बजेटमा १२ करोड रुपैयाँ व्यवस्था गरेको थियो ।

निगमले दुबै जहाज २०७४ भित्रै ल्याउने तयारी गरेको छ । सहायक प्रवक्ता कंसकार भन्छन् ‘२०७४ को अन्तसम्ममा दुबै जहाज ल्याउने सोचमा छौ, एउटा जहाज २०१७ को सेप्टेम्बर र अर्काे २०१८ को मार्चसम्ममा ल्याउँछौ ।’

यसरी जुटाउँदैछ स्रोत

जहाज खरिदका लागि निगमले विभिन्न बित्तीय सस्थासँग ऋण लिने भएको छ । सञ्चय कोषसंग भने निगमले २५ अर्ब ऋण सम्झौता गरिसकेको छ । कोषसँग निगमले यो सम्झौताका लागि अर्थ मन्त्रालयले जमानत बस्ने सहमति पनि दिइसकेको छ ।

दुइटा वाइडबडी विमान खरिदका लागि निगमले असोज पहिलो साता आह्वान गरेको खरिद प्रक्रियामा सहभागी भएका ११ वटा कम्पनीमध्येबाट माघ १ गते एएआर करर्पोरेसन छानिएको थियो ।

अहिले निगमसँग वाइडबडी जहाज छैन । वाइडबडी ल्याएर लामो दूरीमा उडाउने निगमको योजना छ ।-अनलाइनखबर



नायिका रेखा थापाले बिहे गरेकी छिन् । उनले कलाकार दिल श्रेष्ठसँग बिहे गरेकी हुन् । रियल लाइफमा निर्माता छविराज ओझासँग डिभोर्स गरेपछि एक्लै बस्दै आएकी रेखाले रील लाइफमा भने बिहे गरेकी हुन् ।

दोश्रो सेड्यूलमा छायांकन भैरहेको चलचित्र ‘हिरो रिटन्र्स’मा रेखा र नायक दिल श्रेष्ठले बिहे गरेका हुन् । चलचित्रका निर्देशक आशिष भेटवालले फेसबुकमा तस्बिर पोष्ट गर्दै लेखेका छन्-‘आज त भगाउने नै हो ।’



नायक सविन श्रेष्ठको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा सविनाका साथमा रेखा र दिलको मुख्य भूमिका छ । रेखा र दिलको बिहेको प्रसंगलाई निर्देशकले चलचित्रमा कसरि उतारेका छन्, त्यो भने चलचित्र रिलिज भएपछि नै थाहा हुनेछ । तर, रियल लाइफमा बिहे गर्छु मात्र भन्दै आएकी रेखाले रिल लाइफमा भने बिहे गरेकी छिन् ।-अनलाइनखबर



काठमाडौं,माघ १७ गते । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणलाई टेलिकमसम्बद्ध सेवा प्रदायक कम्पनीको खरिद बिक्री गर्दा सरकारको अनिवार्य स्वीकृति लिनुपर्ने ब्यवस्था गर्न निर्देशन दिएको छ ।

यस्ता सेवा प्रदायकको सेयर तथा कम्पनी खरिद बिक्री प्रक्रियामा कर छलीको विवाद आएपछि सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति लिएरमात्रै प्रक्रिया अघि बढाउन सक्ने प्रावधान राख्ने निर्णय गरेको छ । त्यसैअनुसार कानुन बनाएर लागू गर्न सञ्चार मन्त्रालयले प्राधिकरणलाई निर्देशन दिएको छ ।

दूरसञ्चार नीतिको समीक्षा गर्न बसेको बैठकमा सञ्चारमन्त्री राम कार्कीले एनसेलको सेयर स्वामित्व परिवर्तनको कारण उत्पन्न समस्यालाई ध्यानमा राखेर नयाँ नियम बनाउन निर्देशन दिएका हुन् ।

अपरेटरहरुले आफ्नो कम्पनीको स्वामित्व परिवर्तन गर्दा प्राधिकरणलाई जानकारी गराउने गरेका छैनन् । यससम्बन्धी कानुन बनेपछि नेपाल टेलिकम र एनएसेलको सेयर स्वामित्व परिवर्तन गर्नुपरेमा सरकारलाई औपचारिक जानकारी गराउनुपर्नेछ ।

यसबाट करसम्बन्धी विवाद अनत्य हुने विश्वास सरकारको रहेको मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले बताए । प्राधिकरणले युटीएल र स्मार्टलाई युनिफाइड लाइसेन्स दिँदा स्वामित्व परिवर्तनको लागि सहमति लिनैपर्ने शर्त राखेको छ ।

अब टेलिकम र एनसेलको अनुमतिपत्रमा पनि यस्तो शर्त उल्लेख गर्ने प्राधिकरणको योजना छ । यसका लागि कानुन संशोधन गरेर छुट्टै प्रावधान नै राख्नुपर्नेछ ।-अनलाइनखबर



ओखलढुंगा, माघ १७ गते । सत्य निरुपण तथा मेलमिलाप आयोगले माओवादी सशस्त्र द्वन्द्वका बेलामा राज्य र विद्रोही दुवै पक्षबाट भएका ज्यादतीका घटनाको छानविन गर्ने भनिएको थियो । तर यही प्रकृतिका घटनामा ओखलढुंगा जिल्लामा भने सत्तारुढ माओवादी केन्द्रको सिंगो जिल्ला र केन्द्रीय नेतृत्व अहिलेसम्म फौजदारी मुद्दा खेप्न बाध्य छ ।

माओवादी अध्यक्ष तथा जनयुद्धका कमाण्डर प्रचण्ड प्रधानमन्त्री र सोही पार्टीका नेता अजयशंकर नायक कानुनमन्त्री भएका बेला सर्वोच्च अदालतले एक महिनाअघि गरेको परिपत्रले माओवादीका पोलिटव्यूरो सदस्यदेखि वैद्य माओवादीका जिल्ला नेतासम्म हैरानीमा परेका छन् ।

के हो अदालतको परिपत्र ?

माओवादी युद्ध कालमा ओखलढुंगामा भएका तीनवटा छुट्टाछुट्टै व्यक्ति हत्याका मुद्दा सर्वोच्च अदालतको ०७२ चैत १२ गतेको आदेशले ब्यूँतिएका छन् । ओखलढुंगा जिल्ला अदालतमा ०६७ सालमा अभियोग दर्ता भएका गुरु लुइटेल, मस्त तामाङ र नेपाल प्रहरीका हबल्दार मदन तामाङको हत्या सम्बन्धी मुद्दा सर्वोच्चले यसअघि जारी भएको परमादेश खारेज गरेपछि ब्यूतिएका हुन् ।

सर्वोच्चले यस अघि अदालती बन्दोबस्तीको १२ नम्बर अन्र्तगत परेको रिट निवेदनमा सुनुवाइ गर्दै युद्धकालीन मुद्दा तत्काल अघि नबढाउन अन्तरिम आदेश दिएसँगै ०६८ जेठ १७ गतेबाट ती मुद्दा जिल्ला अदालत ओखलढुंगामा मुल्तविमा थिए ।

तीनवटै मुद्दामा २४ जना माओवादी नेता, कार्यकर्ताहरु प्रतिवादी छन् । पोलिटब्यूरो सदस्यदेखी कार्यकर्तासम्मलाई लगाइएका मुद्दा सक्रिय भएपछि नेकपा माओवादी केन्द्रभित्र खैलाबैला मच्चिएको छ ।

सर्वोच्चले ०७३ मंसिर १४ गते ओखलढुंगा जिल्ला अदालतलाई परिपत्र गर्दै मुद्दा ब्यूँत्याउन भनेको छ । मुल्तवीमा रहेका मुद्दा सर्वोच्चकोे आदेशले अघि बढाउन बाटो खुलेसँगै जिल्ला अदालतले मुद्दा अघि बढाएमा माओवादी केन्द्रका तीन जना पोलिटब्यूरो सदस्य, जिल्ला संयोजकसहितका १५ जना माओवादी नेताहरु जेल समेत जानुपर्ने हुन सक्छ ।

पोकली गाविसका उज्जनकुमार श्रेष्ठ र गणेश श्रेष्ठको हत्याको अभियोगमा जन्मकैदको सजाय तोकिएका पूर्वसांसद तथा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेलको गिरफ्तारीको विषय चर्चामै रहेको समयमा अदालतमा युद्धकालीन मुद्दा सक्रिय हुने भएपछि माओवादी नेतृत्व सशंकित बनेको छ । सोही मुद्दामा अर्का पूर्व माओवादी नेता पुष्कर गौतम अहिले पनि जेल जीवन विताइरहेका छन् ।

(यो पनि पढ्नुहोस्- उज्जन श्रेष्ठ हत्याको रिपोर्ट: गाउँले के भन्छन् ?)

विस्तृत शान्ति सम्झौतापछि माओवादीको नेतृत्वमा तीनपटक सरकार बने पनि उनीहरुका मुद्दा नियमित फौज्दारी कानुन अनुसार नै चलरहेका छन् । सर्बोच्चले ०७२ चैत १२ गतेको आदेशमा ओखलढुंगा जिल्ला अदालतले अभियुक्तहरुलाई जारी गरेको वारेन्टका विषयमा कानुनसम्मत भएका कामकारवाही बदर गर्नु औचित्य पूर्ण नहुने भनेको छ ।

सर्वोच्चको आदेशमा भनिएको छ- ‘यो वा त्यो कारण देखाएर फौजदारी न्याय प्रणालीकै समुच्च विकल्प खोज्नु न्याय तथा कानुन सम्मत हुँदैन ।’

प्रतिवादीहरुले उत्प्रेषणको आदेशबाट जिल्ला अदालतको निर्णय बदर गर्न माग गर्दै दायर रिट सर्वोच्चले खारेज गरेपछि ०७३ मंसिर १४ गते ओखलढुंगा जिल्ला अदालतलाई परिपत्र समेत गरेको छ ।

जिल्ला नेता भन्छन्- प्रचण्ड शासन गर्ने हामी जेल जाने ?

युद्धकालका मुद्दाहरु संक्रमणकालीन न्यायको सिद्धान्त अनुसार छुट्टै संयन्त्र बनाएर टुङ्ग्याउने द्वन्द्वरत पक्षका बीचमा भई विस्तृत शान्ति सम्झौता भएको थियो । लामो सयम यस्तो संयन्त्र नबने पनि हाल द्वन्द्वकालीन मुद्दा हेर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग बनेर क्रियाशील छन् ।



शान्ति सम्झौता अनुसार नै यी मुद्दाहरु पनि सत्य निरुपण तथा मेलमिलाप आयोगबाट टुङ्ग्याउनु पर्ने ती मुद्दाका आरोपित माओवादी नेताहरुले बताउँदै आएका छन् । तीन ओटै हत्याका घटनामा प्रतिवादी बनाइएका माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा ओखलढुंगाका संयोजक मोहन खड्काले नियमित फौज्दारी कानुन अनुसार मुद्दा चलाए युद्धकालका जनअदालत ब्यूताउने चेतावनी दिए ।

उनले ती घटना पार्टीको अदेशमा भएले प्रतिवादी बनाइएका नेताहरु कसैको पनि प्रत्यक्ष संलग्नता नरहेको दावी गरे । शान्ति सम्झौता अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगबाट ती मुद्दा नटुङ्ग्याए द्वन्द्व चर्किने खड्काले बताए ।

प्रचण्ड, बादल र गोपाल किरातीको नाम

मुद्दामा बयान दिएका माओवादी कार्यकर्ताहरुले यी सबै घटनामा माओवादी अध्यक्ष प्रचण्ड र नेता बादलको नाम मुछेका छन् । बयानमा उनीहरुको आदेशमा पार्टीले सफाया गरेको बताएका छन् । त्योबेला पार्टी नेतृत्वलेनै नैतिक जिम्मेवारी लिने भनेकाले यसरी बयान दिइएको एक नेताले बताए ।

एमाले नेता छविलाल कार्कीको हत्याको घटनाका प्रतिवादी माओवादी नेता नवराज वस्नेतले कार्कीको हत्या प्रचण्ड, बाबुराम र गोपाल किरातीको सल्लाहमा गरेको र घटनापछि उनीहरुले लामो समय सेल्टर दिएको बताएका थिए ।

ओखलढुंगाका उज्जन-गणेश, शिक्षक गुरु लुईटेल, प्रहरी हबल्दार पदम तामाङ र छविलाल कार्कीको हत्याका सबै घटनामा प्रतिवादीहरुले अध्यक्ष प्रचण्डलाई मुख्य दोषी भएको बयान गरेको विषय भने रहस्यमय छ ।

गुरु लुइटेलको हत्याको मुद्दामा प्रतिवादी रहेका पोलिटव्यूरो सदस्य बाबुराम गौतमले भने-पार्टीको आदेशमा द्वन्द्वकालका सबै घटना भएका हुन् । त्यसका कमाण्डर अध्यक्ष प्रचण्ड सत्तामा शासन गर्ने अनि हामी युद्ध गर्ने कार्यकर्ता जेल जाने ? यो हुन सक्दैन ।

गौतमले आफूहरु जेल जानुपर्ने भए पहिले केपी ओली देउवा, प्रचण्ड जेल जानु पर्ने तर्क गरे । गौतमले आफुहरु जनयुद्धकालीन मुद्दामा जेल जानु पर्ने भए अर्को घटना घटाएर मात्र जेल जान तयार रहेको सार्वजनिक कार्यक्रममा बताउँदै आएका छन् ।

बन्यो अदालत पीडित संघ

ओखलढुंगाका अधिकांश नेताहरु विरुद्ध मुद्दा चल्न थालेपछि गौतमले आफ्नै नेतृत्वमा अदालत पीडित संघ समेत बनाएका छन् । तीन ओटै मुद्दा सर्वोच्चको आदेशपछि ओखलढुंगा जिल्ला अदालतले ०६८ जेठ १७ गते मुल्तवीमा राखेको थियो ।

०७२ चैत १२ मा सर्वोच्चले कानुनसम्मत भएका कामकारवाही बदर गर्नु औचित्य पूर्ण नहुने फैसला गरेपछि मुद्दा पुनः ब्यूतिने भएकाले युद्धकालीन मुद्दाका प्रतिवादीहरुले गौतमको नेतृत्वमा अदालत पीडित संघ बनाए । संघको अगुवाइमा देशभर माओवादीको नेतृत्वमा विरोध प्रर्दशन र अदालत अगाडी नाराबाजी गरेको थियो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डलाई पटक-पटक ध्यानाकर्षण गराउँदै आएका उनीहरुले मुद्दा अदालतमा अगाडी नबढ्ने आश्वास पाएका छन् । अदालतका एक अधिकृतले तत्काल यो प्रक्रिया अघि नबढ्ने बताए ।

संविधानसभाको पहिलो निर्वाचनमा ओखलढुंगाका दुवै निर्वाचन क्षेत्रमा माओवादीले जितेको थियो । क्षेत्र नम्बर १ बाट केशव राई र २ बाट बालकृष्ण ढुंगेल निर्वाचित भएका थिए । सांसद भएकै बेला उनीहरुको मुद्दा अघि बढाइएको थियो ।

संविधानसभाको दोस्रो निर्वाचनमा दुवै क्षेत्रमा माओवादी पराजित भयो । अहिले दुवै पूर्व सांसद जिल्लामा सक्रिय छैनन् । जिल्लामा पार्टीको नेतृत्व पूर्व मजदूर नेता बाबुराम गौतमले गरि रहेका छन् । उनी आफैं पनि मुद्दा खेपिरहेका छन् । पार्टी नेतृत्वले ओखलढुंगाको सन्दर्भमा नियोजित रुपमा ब्युँताइएको मुद्दा किनारा लगाउन पहल गर्नुपर्ने उनी बताउँछन् ।-अनलाइनखबर



चितवन, माघ १७ गते । सूर्योदय र सूर्यास्त हेर्नका लागि चितवनको सौराह पुग्ने धेरै छन् । तर, नाराणगढसँगैको नारायणी नदी क्षेत्रबाट पनि सूर्योदय र सूर्यास्त कम्ति मनोरम देखिँदैन ।

यो समयमा रंगीन किरणले नारायणी नदीलाई यति सुन्दर बनाइदिन्छ कि मानौं त्यहाँ कलाकारले सुनौलो रंग छरिदिएका छन् । यो समय प्रकृतिलाई सूर्यको किरणले लाली लगाएर सजाएजस्तै गरिदिन्छ ।

नारायणी नदी किनारबाट विहान र बेलुका देखिने यस्तो दृश्यले जो कोहीको मन लोभ्याउनेमा आशंका रहँदैन । प्रकृतिको अनुपम छटालाई नियालेर शान्त भएर बगेको नदीमा समय बिचरण गर्न चाहानेका लागि एउटा खास पल यहाँ जन्मन सक्छ ।

नदीको छेवैबाट बहने चिसो बताससँगै शान्त वातावरणमा रमाउनेहरुका लागि नारायणी किनार उत्तम विकल्प बन्दैछ ।


यहाँ आजभोलि बिहान र बेलुकीको लोभलाग्दो सूर्योदय र सूर्यास्त हेर्नेहरुको भीड पनि देखिन्छ । नदी किनारमा मात्रै होइन, नारायणी पुलमै बसेर पनि नदीमा छल्किएको सुनौलो किरणको मज्जा लुट्नेहरु प्रशस्तै देखिन थालेका छन् ।

प्रकृतिको एउटा उत्कृष्ट बनोटको नमूना नदी किनारबाटै देखिन्छ । अब सूर्योदय र सूर्यास्त हेर्न सौराह पुग्नेले एक साँझ नारायणी किनारमा बिताएर हेर्ने कि ?






नारायणी नदी किनारबाट देखिएको सूर्योदय




नारायणी नदी किनारबाट देखिएको सूर्यास्त



















श्रीधर पौडेल,अनलाइनखबर




थाइल्याण्ड,माघ १७ गते । बैंककस्थित नेपाली दूताबास आफ्नै भवनमा सरेको छ । सोमबार विहान थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले नयाँ भबनमा नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरे ।

दूताबासले गत वर्ष जग्गा र नयाँ भवन किनेको थियो । र, त्यहाँ भिसा र कन्सुलर अफिससहितका केही संरचना थपेको छ ।

दूताबास भवन झण्डै चार रोपनी जग्गामा छ ।-अनलाइनखबर





काठमाडौं, माघ १७ गते। कुलेश्वरको मिनी मार्केटमा आइतबार राती आगलागी हुदा करोडौंको क्षति भएको छ । मिनी मार्केट रहेको एउटा होटलमा बिजुलीको तार सर्ट भइ आगलागी हुदा होटलमा रहेको ग्यासमा आगो सल्केपछि भीषण रुप लिएको थियो ।

घना बस्तीको बाीचमा रहेको उक्त मार्केटमा आगलागी सुरु भएपछि सो क्षेत्रमा कोलाहल मच्चिएको थियो । आगलागीसँगै चारवटा सिलिन्डर एकसाथ विस्फोटन हुदा सो क्षेत्रमा रहेका विभिन्न किसिमका १० वटा पसलमा एकसाथ आगालागी भएको थियो । आगलागी भएको क्षेत्रमा सवारी साधनमा प्रयोग हुने टायरहरु घरम प्रयोग हुने कपडाहरु, सवारी साधनका पाटपुर्जाहरु तथा तीन वटा होटल अनि रेस्टुरेन्टहरु जलेर नष्ट भएका छन् ।

आगलागी नियन्त्रणका लागि जुद्ध बारुण यनत्र, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका १० वटा दमकल प्रयोग गरिएको थियो । आगो नियन्त्रण गर्न झन्डै दुई घण्टा लागेको थियो । आगालागीबाट मानवीय क्षति भने भएको छैन । करौडौंको भौतिक क्षति भएको र क्षतिको विवरण यकिन हुन नसकेको प्रहरीले जनाएको छ । यो आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।-

नेपाल समाचारपत्र


औषधिको अभावमा स्वास्थ्य संस्थाहरू सुनसान
गौशाला- महोत्तरी जिल्लाका स्वास्थ्य संस्था औषधि अभावमा सुनसान देखिन थालेका छन् ।

सरकारले स्वास्थ्य संस्थामा नियमित स्वास्थ्यकर्मी बस्ने र निःशुल्क औषधि पाइने प्रचार गरिरहे पनि जिल्लाको अवस्था त्यस्तो छैन ।

गाउँका स्वास्थ्य संस्थामा न औषधि पाइन्छ, न सल्लाह दिने स्वास्थ्यकर्मी नै भेटिन्छन् । नियमित अनुगमन नहुँदा स्वास्थ्य संस्था बेकामेजस्ता भएका छन् ।

केन्द्र र क्षेत्रबाट औषधि नआएको स्थानीयस्तरमा खरिद गर्नुपर्ने औषधिको बोलपत्र पनि समयमा नगरेका कारण जिल्लामा तीन महिनादेखि औषधि अभावमा जिल्लाभरका ७६ स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा चहलपहल देखिँदैन ।

औषधि हुँदा दिनहुँ तीे स्वास्थ्य संस्थामा बिरामीको भीड लाग्ने गर्दथ्यो । तर औषधि अभाव र स्वास्थ्यकर्मीको अनुपस्थितिका कारण यहाँका स्वास्थ्य संस्थाबाट उपचार सेवा पाउन सर्वसाधारणलाई मुस्किल भएको छ ।

दैनिक सरदर ३०० भन्दा बढी बिरामी आउने जिल्लाभरका स्वास्थ्य संस्थामा औषधि अभावसँगै बिरामीको सङ्ख्या पनि घट्दो छ । रासस





नजिकको सम्बन्ध वा कजन (काकाको, मामाको, फूपूको छोराछोरी) सँग गरिने विवाह स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिँदैन । अनुसन्धानका अनुसार यसले जेनेटिक रोगका साथै स्वास्थ्यमा पनि निकै खतरा निम्त्याउँछ । अमेरिकामा ५२ मध्ये करिब २४ स्टेट्समा कजनसँगको विवाहमा प्रतिबन्ध लगाइएको छ । यता, पाकिस्तानको ट्रिब्यून एक्सप्रेस पत्रिका अनुसार पाकिस्तानका युवायुवतीले अब कजनसँगको विवाहमा विरोध गर्न थालेका छन् ।

यति हुँदा हुँदै पनि साधारण मानिसका साथै ठूला सेलिब्रिटीले पनि आफ्नो कजनसँग विवाह गरेका छन् ।

कजनसँग किन गर्छन् विवाह ?

विरोधका बिच पाकिस्तानमा कजन म्यारिज जारी छ । तर शहरी इलाकामा भने तीव्र परिवर्तन भइरहेको छ ।

– थुप्रै पाकिस्तानी परिवारको मान्यता अनुसार बच्चाको विवाहका लागि यताउता धाउनुभन्दा आफ्नो सन्तानका लागि कजनसँगको विवाह सबैभन्दा राम्रो हो ।

– यस्तै धेरै मानिसहरु आफ्नो सन्तानबाहिर विवाह गर्दा मानिसहरु रिसाउने हो कि भन्ने डरले यसो गर्ने गर्दछन् ।

कति पाकिस्तानीले कजनसँग विवाह गर्छन् ?

लाहोर युनिभर्सिटीका डिपार्टमेन्ट अफ ह्यूमन जेनेटिक्सका डा. मुहम्मद असलमखानले सन् २०१४ को आँकडा जारी गरेका थिए ।

– अनुसन्धानको आधारमा पाकिस्तानमा ८२.५ प्रतिशत अभिभावक तेस्रो पीढिसम्म रगतको नाता हुन्छ भन्ने मान्यता राख्छन् ।

– ६.८ प्रतिशत मानिसहरु कजन हुने गर्दछन् । ६.३ मानिसहरु छरिएका परिवार र थरबाट आउँछन् ।

– यस्तै, ४.४ प्रतिशत जोडीले मात्र कजनसँग विवाह गर्न अस्विकार गरेका छन् ।

– यो अनुसन्धान ९ हजार ५ सय ३ परिवारको गरिएको अनुसन्धानपछि जारी गरियो ।

यी सेलिब्रिटीले कजनसँग गरे विवाहः

शाहिद आफरिदी, क्रिकेटरः

क्रिकेटर शाहिद आफरिदीले आफ्नो काकाको छोरी नादियासँग विवाह गरे । यो जोडीका चार छोरी छन् ।

टेलिभिजन अभिनेता बाबर खानः

पाकिस्तानी टेलिभिजन अभिनेता बाबर खानकी पहिलो श्रीमतीको मृत्यु एक दुर्घटनामा भएपछि उनले सन् २०१५ मा ९ कक्षामा पढ्ने आफ्नी कजन बिस्मा खानसँग विवाह गरेका थिए । श्रीमतीको विवाह भएको १ वर्ष नबित्दै ९ कक्षामा पढ्ने बहिनी पर्नेसँग विवाह गरेको भनी उनको चौतफी विरोधसमेत भएको थियो ।

रेहम खान, टेलिभिजन प्रस्तोता

सन् २०१५ मा रेहम खानले क्रिकेटर इमरान खानसँग विवाह र सम्बन्धविच्छेद गरेका कारण चर्चामा थिइन् । इमरानसँग विवाह गर्नु पहिले उनी आफ्ना कजन एजाज उल रहमानकी श्रीमती थिइन् ।

शाइस्ता लोधी, टेलिभिजन कार्यक्रम प्रस्तोता

प्रस्तोता शाइस्ता लोधी पाकिस्तानको एक बिहानी कार्यक्रम प्रस्तोता हुन् । उनले पहिलो श्रीमान् वाहिदीसँग सन् २०१२ मा सम्बन्ध विच्छेद गरेकी थिइन् । सन् २०१५ मा उनले आफ्ना कजन र व्यापारी अदनानसँग विवाह गरेका थिए ।

नुसरत फतेह अली खानः

पाकिस्तानका चर्चित कव्वाह गायत उस्ताद नुसरत फतेह अली खाले आफ्ना काकाकी छोरीसँग विवाह गरेका थिए ।

पाकिस्तानी क्रिकेटर सइद अनवरले कजन बहिनी लुबनासँग विवाह गरेका छन् ।

सनम मारवी पाकिस्तानकी लोक गायिका हुन् । उनका श्रीमान् हम्मिद पनि उनका काकाका छोरा हुन् ।-एजेन्सी

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget