Websoft University

www.radiomakalu.com || 021-522512


May 2016

                                 सन्दर्भ धूम्रपान रहित दिवस 
काठमाडौं , जेष्ठ १८ गते ।  नेपालमा बर्सेनि सात हजारलाई क्षयरोगी र २७ हजारलाई अर्वुद रोगी बनाउने सुुर्ती र धूमपानकै कारण प्रत्येक वर्ष १५ हजार नेपालीको मृत्यु हुने गरेको छ ।
सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण ऐन कार्यान्वयनमा सरकारी उदासिनता र सेवनकर्ताको हेलचेक््रयाइँका कारण बर्सेनि  १० अर्बभन्दा बढी धुवाँमा उड्ने गरेको तथ्याङ्क छ ।
आन्तरिक राजस्व कार्यालयका अनुसार सरकारले सालाखाला बर्सेनि रु पाँच अर्ब सुर्तीबाट कर उठाउने गर्दछ । एक अध्ययनअनुसार सुर्तीकै कारण हुने नसर्ने रोगको उपचारमा  १५ अर्बभन्दा बढी खर्च हुने गर्छ । सरकारले गत शनिबार घोषणा गरेको आव २०७३/७४ को बजेट वक्तव्यले चुरोटमा आठ देखि १५ प्रतिशतसम्म कर वृद्धि गरेको छ भने बिँडी र सुर्तीमा १२ प्रतिशत कर वृद्धि गरेको छ ।
डेमोग्राफिक हेल्थ सर्भे २०११ अनुसार ५२ प्रतिशत पुरुष र १३.३ प्रतिशत महिला सुर्तीजन्य पदार्थ सेवन गर्दछन् । पुरुषमध्ये ३० प्रतिशतले चुरोट र ३८ प्रतिशतले सुर्ती (खैनी, पानपराग, गुट्खा) सेवन गर्दछन् भने महिलामध्ये नौ प्रतिशतले चुरोट र छ प्रतिशतले सुर्ती (गुुट्खा, पानपराग, खैनी) सेवन गर्दछन् ।
स्वास्थ्य अधिकार तथा सुुर्ती नियन्त्रण जिल्ला सञ्जाल भक्तपुरका संयोजक रत्नश्वरी चवालले नेपालका पाँच प्रतिशत गर्भवती महिला र सात प्रतिशत सुत्केरी महिलाले चुरोट पिउने गर्दछन् भने चार प्रतिशत गर्भवती महिला र छ प्रतिशत सुत्केरी महिलाले सुर्तीजन्य पदार्थ सेवन गर्ने तथ्याङ्क रहेको जानकारी दिए ।
उनले नेपालमा विभिन्न रोगबाट मृत्यु हुने मानिसमध्ये ५१ प्रतिशतभन्दा बढीको मृत्यु सुुुर्ती सेवनका कारण उत्पन्न हुने नसर्ने रोगबाट हुने गरेको बताए ।  दम, खोकी, क्यान्सर, मुुटुरोग जस्ता नसर्ने रोगको कारण सुुर्ती सेवन भएकाले यसलाई न्यूनीकरण गर्न सरकारी र जनस्तरबाट अभियान चलाउनुुपर्ने उनको ठम्याइ छ ।
विश्व सुर्तीरहित दिवसको सन्दर्भमा आज भक्तपुरको कमलविनायकमा जनजागरण अभियान चलाउँदै गरेकी संयोजक चवालले सुर्तीले जनस्वास्थ्यमा पार्ने नकारात्मक असरकाबारेमा जनचेतना अभिवृद्धि गर्ने, पाठ्यपुस्तकमा सुर्तीजन्य पदार्थले क्षयरोग, क्यान्सरलगायत रोग लाग्दछ भन्ने सचेतनामूलक पाठलाई निरन्तरता दिई विद्यालय तहमा नै व्यवहार परिवर्तन गराउने रणनीति बनाइनुपर्ने बताए ।
अप्रत्यक्ष धूमपान अर्थात अरुले गर्ने धूमपानबाट पनि १०० मि वरपरसम्म उत्तिकै असर गर्ने भएकाले धूमपान नगर्नेको अधिकार रक्षा गर्न जनजागरण अभियान आवश्यक रहेको उनको भनाइ छ ।
नेपाल अर्वुद रोग निवारण संस्था भक्तपुरका उपाध्यक्ष विवेकमान कर्माचार्यले ९८ प्रतिशत युवालाई र सालाखाला ९५ प्रतिशतलाई धूमपानबाट हुने हानीबारे जानकारी भए पनि उनीहरुले नै सार्वजनिक स्थलमा धूमपान गरी सबैलाई रोगी बनाइरहेकामा चिन्ता व्यक्त गरे उनले भने  “त्यसैले सार्वजनिक स्थलमा धूमपान गर्नेलाई सरकारले प्रहरी खटाएर कानुनबमोजिम दण्ड सजाय गर्नुपर्दछ ।”
जनजागरण अभियानमा सरिक नेपाल स्काउटका पूर्वसचिव रामगोपाल कर्माचार्यले जुन देशमा लागु पदार्थ, मादक पदार्थका दुव्र्यसनी वढी हुन्छन् त्यो देशले प्रगति गर्न नसक्ने बताउँदै देशको कर्णधार र देश विकासका साझेदार युवा नै बढी लागु पदार्थको दुव्र्यसनी भइदिएपछि उनीहरुको कार्य क्षमतामा ह्रास आउने भएकाले जागरण र कारबाही अभियान सँगसँगै लानुपर्ने खाँचो औँल्याए ।
स्वास्थ्यकर्मी धनमान श्रेष्ठले सुर्ती सेवनले प्रजनन् स्वास्थ्यमा समेत असर गर्ने, शरीरको स्वरुप बिग्रिने, छालामा चमकता हट्दै गई चाउरीपर्नेलगायत कुरा जनतालाई थाहा दिएको खण्डमा भविष्यका कर्णधार युवाको भविष्य राम्रो भई देशलाई योगदान पुग्ने बताए ।
निष्कृय र अप्रत्यक्ष धूमपानबाट चाँडो–चाँडो सर्दी लाग्ने, मध्यकानमा सङ्क्रमण र कानेगुजी जम्ने, खोकी र श्वास बढ्ने, नाक बजाएर सास फेर्ने, निमोनिया र ब्रोङ्काइटीसको जोखिम बढ्ने, फोक्सो कमजोर हुने, दम बढ्ने भएकाले आफ्नो वरपर धूमपान गर्न दिन नहुने उनको सुुझाव रहेको छ । 
- अनलाइन खबरबाट 

काठमाडौँ, जेष्ठ १८ गते संसदमा पेस गर्नु अगावै बजेटको सूचना चुहावट भएकोबारे संसदीय छानवीन हुनुपर्ने प्रमुख विपक्षी कांग्रेसको मागलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका छन् ।


चुहावटको विरोधमा कांग्रेसले सोमबार एकै दिन ४ पटक सदन अवरुद्ध बनाएपछि ओलीले प्रमुख विपक्षी नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका थिए । देउवाले बजेटको सूचना लिक हुनु संसदीय अपमान भन्दै छानवीन गर्न माग गरेका थिए । प्रधानमन्त्री ओलीले भने बजेट हुबहु सार्वजनिक नभएको र करको दर समेत गोप्य रहेकाले यस्ता विषय उठाएर सदन अवरुद्ध नबनाउन आग्रह गरेका थिए ।

ओलीले यसअघि पनि बजेट अघि नै मिडियामा सार्वजनिक हुने गरेको दृष्टान्त राखेका थिए । 'पोहोर पनि एक अनलाइनले हुबहु सार्वजनिक गरेको थियो । त्यसअघि पनि दैनिक पत्रिकामै आएको थियो', व्यवस्थापिका-संसदस्थित आफ्नै कक्षमा प्रधानमन्त्री ओलीले भनेका थिए-'यसपटक त्यस्तो गम्भीर असर हुने खालको केही चुहावट भएको छैन ।'

देउवाले भने गत शनिवार बजेट अर्थ मन्त्री विष्णु पौडेलले संसदमा पेस गर्नु अघि नै मिडियामा आएको भन्दै त्यसमा आफ्नो पार्टीको गम्भीर असहमति रहेको बताएका थिए ।

'ओली, देउवासहितका नेताबीच करिब आधा घण्टा छलफल भयो । तर, केही सहमति बनेन', सहभागी स्रोतले कान्तिपुरलाई बतायो । देउवाले उक्त घट्नाको छानवीन नभएसम्म सदन चल्न नसक्ने चेतावनी समेत दिएका थिए । ओलीले भने मिडियामा आएको मात्र विषयलाई लिएर सदन अवरुद्ध गर्दा हरेक वर्ष समस्या दोहोरिरहने भन्दै देउवाको प्रस्तावलाई अस्वीकार गरेका थिए ।

'मिडियाले आफ्नै स्रोतले थाहा पाएर बजेटका केही कुरा बाहिर ल्याउलान् । त्यसमै टेकेर विरोध गर्न थालियो भने कुन अर्थ मन्त्रीले बजेट ल्याउन सक्लान ?' ओलीले प्रश्न गरेका थिए ।
कांग्रेसका सांसदहरुले लगातार सदन अवरुद्ध गरेपछि नयाँ बानेश्वस्थित संसद भवनमै ओलीले देउवालाई भेटेका थिए ।

सोमबार विहान ११ बजे बोलाइएको बजेटबारे छलफलको सुरुमै कांग्रेसका सांसदहरु उठेर विरोध जनाएपछि सभामुख ओनसरी घर्तीले पूर्व अर्थ मन्त्री समेत रहेका नेता रामशरण महतलाई बोल्न समय दिएकी थिइन । महतले संसदमा बजेट आउनुपूर्व सरकारले लिक गरी संसदको मानहानी गरेकाले छानवीन हुनुपर्ने बताएका थिए । 'यो संसदको अवमूल्यन हो । यसको छानवीन नभएसम्म संसदको कारवाही अघि नबढाइयोस्', उनको भनाई थियो ।

त्यसपछि सभामुख घर्तीले ३० मिनेटका लागि बैठक स्थगित गरेकी थिइन् । उक्त समयपछि बसेको बैठकमा पनि कांग्रेसका सांसदहरुले उठेरले विरोध जनाए । त्यसपछि बोल्दै कांग्रेस नेता एवं सांसद रमेश लेखकले सरकारले गम्भीर अपराध गरेको भन्दै संसदीय छानवीन गर्न माग गरे । यसअघि पनि बजेट पहिले नै सार्वजनिक हुदा विरोध भई छानवीन भएको दृष्टान्त लेखकले राखेका थिए ।

उक्त छानवीन समितिले बुझाएको प्रतिवेदनले दिएका सुझावलाई सरकारले उल्लंघन गरेकोमा उनको आपत्ति थियो । 'बजेट पहिले नै लिक भई विभिन्न व्यापारीकहाँ पुगेको छ । त्यसको असर शेयर बजारमै समेत पुगेको छ', उनको भनाई सँगै सांसदहरुले विरोध यथावत राखेपछि बैठक साँढे १ बजेसम्मलाई दोस्रोपल्ट स्थगित गरिएको थियो ।

त्यसपछि बसेको तेस्रो बैठकमा पनि कांग्रेस सांसदहरु उभिएर विरोध गरेपछि पूर्व अर्थ मन्त्री महेश आचार्यलाई बोल्न दिइएको थियो । उनले संसदको विशेषाधिकार उल्लंघन हुने गरी सूचनाहरु लिक भएकाले छानवीन नगरी बैठकको प्रक्रिया अघि बढाउन नहुने बताएका थिए । सभामुख घर्तीले 'बसौं माननीय ज्यूहरु' भन्दै आग्रह गरेकी थिइन । विरोध जारी रहेपछि बैठक दिउसो ३ बजे पुन बस्ने गरी स्थगित भएको थियो ।
चौथो पटक बसेको बैठकमा पनि अवरोध कायमै रह्यो । कांग्रेसकी संसदीय दलकी सचेतक इश्वरी न्यौपानेले बजेट पहिले सार्वजनिक गर्दा अर्थतन्त्रमा गम्भीर असर परेको भन्दै त्यसबारे छानवीन हुनुपर्ने अडान दोहोर्‍याएकी थिइन । सभामुखले पुन  बस्न आग्रह गर्दा पनि विरोध जारी रहेपछि बैठक मंगलवार ११ बजेसम्मका लागि स्थगित भएको थियो ।

  • कान्तिपुर समाचार बाट 

 अनुज सापकोटाबाट


बिराटनगर,जेष्ठ १७ गते । आज विराटनगरमा तराई मधेश लोकतान्त्रीक  पार्टीको जिल्ला कार्यलय मोरंगले अषाढ ६, ७, ८ गते रामग्राम नगरपालिका,नवलपरासीमा हुन गइरहेको प्रथम राष्टिय महाधिवेशनको सम्बन्धमा जानकारी गराउने उद्देश्यले पत्रकार सम्मेलनको आयोजना गरेको छ ।



 उक्त सम्मेलनमा तमलोपा पार्टिका मोरगं जिल्ला अध्यक्ष मो.कादिरले जिल्लावासीहरुलाई महाधिवेशनको जानकारी पत्रकारमार्फत दिनकालागि यो पत्रकार सम्मेलनको आयोजना  गरेको बताउनु भयो । यस अधिवेशनले देश र मधेशलाई नया दिशा दिने जिकिर गर्नुभयो ।

 जिल्ला अध्यक्ष मो. कादिरले मोरगंको ९ निर्वाचन क्षेत्रबबाट अनिवार्य २ महिला सहित प्रत्येक क्षेत्रबाट ७ जनाको प्रतिनिधित्व हुनेगरी दुइ महिना अघि सम्पन्न जिल्ला अधिवेशनबाट ६३ जना महाधिवेशन प्रतिनिधि चुनेको बताउनु भयो । उक्त अधिवेशनमा मधेशको २२ र पहाडको १० गरी जम्मा ३२ जिल्लाबाट प्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ  ।

सो महाधिवेशनमा लाखौको सहभागिता रहने तमलोपाका मोरगं जिल्ला अध्यक्ष मो. कादिरले दावी गर्नुभयो ।


अनुज सापकोटाबाट 

बिराटनगर,जेष्ठ १७ गते। विगत २ वर्षदेखि विराटनगर उपमहानगरपालिका भित्र चल्दै आइरहेको सिटी सफारीलाई पटक पटक राज्यको तर्फबाट दुख दिई हतोत्साही पार्ने काम भैरहेको संयुक्त सिटी सफारी चालक युनियनद्धारा वितरीत प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।





 विज्ञप्तीमा विराटनगर उपमहानगरपालिकाले लिने दर्ता सिफारीस रु ३१०० बन्द गर्नुपर्ने, समातिएका सिटी रिक्साहरुलाई तुरन्तै छाडनुपर्ने, विराटनगर उपमहानगरपालिकाले यथासिघ्र सिटी रिक्साको नम्वर सिफारिस गरिनुपर्ने, रु ५०० देखि १५०० सम्मको जरीवानाको प्रावधान खारेज हुनुपर्ने, तत्कालका लागि रुट परमिट खारीज हुनुपर्ने माग गरिएको छ ।


काठमाडौं , जेष्ठ १७ गते  । बजेटको सूचना चुहिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार एकै दिन चार पटक संसद अवरुद्ध पारेको छ ।
बजेटमाथि छलफलका लागि सोमबार संसदको बैठक बोलाइएको थियो ।  तर, प्रमुख विपक्षी कांग्रेसले संसदमा पेश गर्नु अघि नै बजेट सार्वजनिक भएको भन्दै अवरुद्ध पारे ।
बैठक सुरू हुनासनथ कांग्रेस सांसदहरु उठेर विरोध गरेपछि सभामुख ओनसरी घर्ती मगरले पूर्वअर्थमन्त्री डा. रामशरण महतलाई समय दिए । उनले पत्रिका देखाउँदै भने, ‘जुन फिगर बजेट भाषणमा आएको छ । त्यो भन्दा अगाडि अखबारमा आइसकेको छ । यसले यो संसदमा मानहानी भएको हो कि होइन ?’
कांग्रेसले छानविन समिति गठनको माग गरेको छ । यसअघि पनि बजेट पढ्नु अघि नै अर्थ मन्त्रालयको वेबसाइटमा अपलोड भएको र त्यसबेला पनि संसदमा हंगामा भएपछि छानविन समिति गठन भएको थियो ।
प्रमुख प्रतिपक्षी कांग्रेसको विरोधपछि संसद आधा घन्टाका लागि स्थगित भयो । त्यसपछि बसेको बैठकमा पनि कांग्रेसले आफ्नो अडान दोहोर्‍यायो ।
सांसद रमेश लेखकले संसदीय समिति गठन नभएसम्म सदनको काम कारबाही अघि बढ्न नसक्ने बताए । यसअघि बजेटको सूचना चुहिँदा र अहिले एउटै पार्टीको अर्थमन्त्री रहनु गजबको संयोग भएको उनले बताए ।
कांग्रेसको विरोधपछि बैठक आधा घन्टाका लागि स्थगित भयो । फेरि बसेको बैठक पनि कांग्रेसले अवरुद्ध पार्‍यो र, दिउँसो साढे १ बजेसम्म स्थगित भयो ।
करिव १५ मिनेट ढिलो बसेको बैठक पनि कांग्रेस सांसदहरुको अवरोधका कारण चल्न सकेन । तेस्रोपटक बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद महेश आचार्यले सार्वभौम संसद्को विशेषाधिकारमा आघात पुग्ने गरी बजेटका सूचना चुहिनु गम्भीर भएको भन्दै छानबिन गर्न सरकार अग्रसर हुनुपर्ने  बताए ।
कांग्रेसको विरोधपछि बैठक साढे ३ बजे बस्ने गरी स्थगित भएको छ । तर, कांग्रेसले यो बैठक पनि चल्न दिएन ।  चौथो पटक बसेको बैठकमा कांग्रेस सांसद ईश्वरी न्यौपानेले सार्वभौम संसद्को विशेषाधिकारमा आघात पुग्ने गरी बजेटका सूचना चुहाइएको घटनाको छानबिन नभएसम्म सदनको कारबाही अगाडि बढ्न नसक्ने बताइन् ।
सत्तापक्षसँग मिलेर काम गर्न कांग्रेस तयार रहेको तर, संसद्को गरिमामा आँच आउने यस्ता गतिविधि फेरि हुन नदिन वार्ताका माध्यमबाटै समस्याको समाधान खोज्नुपर्ने उनको भनाइ थियो । बेलायतमा बजेट प्रस्तुत हुनु २० मिनेटअघि बजेट सार्वजनिक हुँदा अर्थमन्त्रीले राजीनामा दिनुपरेको तथ्य पेस गर्दै उनले हामीकहाँ सरकारको लापर्बाहीका कारण पत्रपत्रिकामा बजेटमा परेका विषय सार्वजनिक भएको घटना गम्भीर भएको बताए ।
सांसद न्यौपानेले बजेटका महत्वपूर्ण सूचना चुहिनाका कारणबारे चित्त बुझ्दो जवाफ नआएसम्म संसद्को प्रक्रिया अघि बढाउन नहुने बताइन् । सभामुख ओनसरी घर्तिले बारम्बर आग्रह गरेपनि त्यसको सुनुवाइ नभएपछि मङ्गलबार ११ बजेसम्मका लागि संसद् स्थगन गरेको घोषणा गरिन् । - अनलाइन खबरबाट  


काठमाडौं , जेष्ठ १७ गते  । गत बिहीबार साँझ करिब साढे पाँच बजे सुरेश केडिया आफ्ना व्यापारिक साथी परमात्मा साहको बारास्थित घरमा गएर फर्किएका थिए ।
केही वर्षदेखि परमात्माले उत्पादन गरेको गहुँ, मकै लगायतका खाद्यान्न खरिद गर्दै आएका केडिया तीन-चार दिनदेखि उनकै घरमा गैरहेका थिए । बिहीबार पनि केहीबेर साहको घरमा बसेर फर्किँदै गर्दा भारतीय अपहरणकारीले उनलाई अपहरण गरेका थिए ।
यसरी भयो अपहरण
वरियापुरबाट फर्किने क्रममा केडियाको ड्राइभर श्याम उनेश कानुले पसाह पुलमा बीआर ०५ ३२३९ नंम्बरको स्कार्पियो गाडी रोकिराखको देखे ।
पुलमा रोकिराखिएको गाडी केडिया भएतिर नै आयो । बाटो नै रोकेर ठोक्किएला झैं गरी भारतीय गाडी आफूतिर आइरहेको देखेपछि चालकले केडिया सवार गाडी रोक्न बाध्य भए । त्यसलगत्तै चालक कानु माथि गोली बर्सियो । उनी गोली लागेर घाइते भए । केही व्यक्तिहरु भारतीय नम्बरको स्कार्पियो गाडीबाट ओर्लिए र केडियालाई गाडीबाट थुतेर स्कार्पियोमा हालेर गए ।
गोली चलाएर मान्छे अपहरण गरेको देखेलगत्तै स्थानीयले ढुंगा पनि हानेका थिए । ढुंगाले गाडीका सिसाहरु पनि फुटे तर तिव्र गतिमा कुदेको गाडी रोकिएन बरु भारतीय सीमा क्षेत्रतर्फ अघि बढ्यो । केडियालाई अपहरण गरेर कुदेको गाडीको गति यति तीव्र थियो कि सीमा क्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मीले समेत रोक्न सकेनन् । अन्ततः गाडी भारत छिर्‍यो ।
घटना भएको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी विनोद शर्माको टोली अपहरणकारीको पिछा गर्दैगयो । हतियारसहित भारत प्रवेश गरेपछि डिएसपी शर्माले मोतिहारीका एसपी जितेन्द्र रानालाई घटनाबारे जानकारी गराए ।
अपहरणकारीले प्रयोग गरेको गाडीबारे नेपाल प्रहरीले नै भारतीय प्रहरीलाई जानकारी गराएका थिए । त्यही सूचनाको आधारमा भारतीय प्रहरीले अपहरणकारीले प्रयोग गरेको गाडीको खोजी गर्‍यो । मोतिहारी प्रहरीले मोतिहारीकै छतिवन भन्ने स्थानमा अपहरणकारीले प्रयोग गरेको स्कार्पियो गाडी ग्यारेजमा फेला पार्‍यो । त्यसकै आधारमा गरिएको अनुसन्धानबाट भारतीय प्रहरीले शुक्रबार ड्राइभरलाई पक्राउ गरेका थिए ।
जेल भित्रैबाट अपहरणको योजना
यता बिहीबार केडिया अपहरण भएको खबर पाएलगत्तै केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)बाट एसएसपी मनोज केसी र इन्सपेक्टर रुगम कुँबरको टोली पनि शुक्रबार बारा पुगेको थियो ।
सीआइबीको टोलीले घटनाको सूचना संकलन गरे । केडियाको गाडी चालक कानुले दिएको बयान र अन्य सूचनाको आधारमा सीआइबीको टोलीले स्थानीय प्रहरीको सहयोगमा दुई नेपालीलाई पनि पक्राउ गरेपछि केडिया अपहरणको कनेक्सन भारतीय जेलमा रहेका सिरियल किलर बब्लु दुबेसम्म जोडिएको खुलेको हो ।
सीआइबीले अपहरणकारीको बारेमा प्राप्त सूचना भारतीय प्रहरीलाई दियो । त्यसैको आधारमा कारबाही सुरु गरेको भारतीय प्रहरीले सुरुमै बब्लुको भाइलाई भारतमा पक्रन सफल भएको थियो । बब्लुको भाइ पक्राउ परेको थाहा पाएलगत्तै भारतीय प्रहरीबाट बँच्न अपहरणकारीहरु केडियालाई छाडेर फरार भएका थिए । केडियालाई अपहरणकारीले छाडेर भागेपछि भारतीय प्रहरीले मोतिहारीको कटवाबाट केडियाको उद्धार गरेको थियो ।
नेपालीकै सहयोगमा नेपालीको अपहरण
अपहरणको आरोपमा पक्राउ परेका बारा कवैका चञ्चल पाण्डे र इनरुवाका जियालाल प्रसाद यादवले नै केडियाको बारेमा बब्लुलाई सूचना दिएको खुलेको छ ।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार पाण्डे र यादवको विगत डेढ वर्षदेखि बब्लुसँग सम्बन्ध जोडिएको छ । उनीहरु बेला- बेलामा जेलमा रहेका बब्लुलाई भेट्न जाने गरेको पनि प्रहरी अनुसन्धानको क्रममा खुलेको छ ।
पाण्डे र यादवले करिब १ महिना अघि केडियाको सूचना दिएपछि अपहरणको योजना बनेको थियो । एक महिनाको योजना पछि केडियाको अपहरण भएको अनुसन्धान संलग्न एक अधिकृतले बताए । उनले भने, ‘यादव र पाण्डेले नै केडियाको बारेमा रेकी गर्ने, कहाँ जान्छ कति बेला आउँछ ? लगायतका सूचना दिने गरेको खुलेको छ ।’
बब्लुले भाइको संयोजनमा चार जना भारतीय र पाँच जना नेपालीलाई केडियाको अपहरण गर्न खटाएका थिए । अपहरणमा संलग्न दुई भारतीय र दुई नेपाली पक्राउ परे पनि अन्य फरार छन् ।
नेपालले बुझाएको थियो बब्लुलाई
सिसुवाथान मोतिहारीका ३२ वर्षीय बब्लु दुवे भारतीय प्रहरीको मोष्ट वान्टेड सूचीमा थिए । अपहरण, हत्या, फिरौती असुली लगायतको धन्दामा सक्रिय दुबेको मोतिहारी र विहारमा आतंक थियो ।
भारतमा दुबेविरुद्ध ३६ जनाको हत्या गरेको आरोप छ । भारतीय प्रहरीका अनुसार ३६ जनामा ६ जनालाई दुबेले आफ्नै हातले मारेका छन् भने उनको समूहका मान्छेले ३० जनाको ज्यान लिएका थिए ।
तिनै कुख्यात अपहरणकारी र सिरियल किलर दुबे २०७० सालमा नेपाल छिरेका थिए । दुबे नेपाल छिरेको सूचना भारतीय प्रहरीले अञ्चल प्रहरी कार्यालय नारायणीका तत्कालीन एसएसपी सर्वेन्द्र खनाललाई दिएका थिए । तराइ क्षेत्रका जिल्लाहरुमा नेपाल प्रहरीले दुबेको खोजीलाई तिव्रता दियो तर, उनी प्रहरीको आँखा छल्दै राजधानी काठमाडौं छिरे ।
पिपुल्स रिभोलुसन आर्मीको नाममा आपराधीक गतिविधि चलाउँदै आएका दुबेलाई अन्ततः नारायणी अञ्चलका तत्कालीन एसएसपी सर्वेन्द्र खनाल आफैंले २०७० साल जेठ १३ गते राति १ बजे काठमाडौंको सितापाइलाबाट पक्राउ गरेका थिए । नेपाल-भारत सीमा क्षेत्रमा बसेर पनि अवैध असुलीको आतंक चलाइरहेका दुबे यसपटक भने जोगिन सकेनन् र नेपाल प्रहरीले दुबेलाई भारतको जिम्मा लगाइदियो ।
दुबे पक्राउ परे पनि हत्या, अपहरण, फिरौती असुलीको आतंक रोकिएन । आफू जेलमा बसे पनि उनले आफ्ना सहयोगीहरुलाई परिचालन गरिरहे । नेपाली उद्योगपति सुरेश केडियाको अपहरणमा संलग्न बब्लुका सहयोगीलाई भारतीय प्रहरीले पक्राउ गर्दा पाँच वटा मोबाइल सेट, नेपाली रुपैयाँ १ लाख ७३ हजार, भारतीय रुपैयाँ ६० हजार, पाँच वटा सीमकार्ड समेत बरामद भएको थियो ।
केडिया अपहरणले सिकाएको पाठ
बब्लुको समूहले भारतको पूर्वी चम्पारन, पश्चिम चम्पारन, मोतिहारी लगायत विभिन्न जिल्लामा अवैध असुली गरिरहेको छ । व्यापारी, डाक्टर, पछिल्लो समय प्रहरीका उच्च अधिकारी र सभासद बब्लुका समूहको निशानामा पर्ने गरेका थिए ।
आफ्नो धन्धा चलाउन उनी आठ महिनासम्म नेपालको पर्सा, चितवन, काठमाडौंलगायत स्थानमा सेल्टर जमाएर बसेका थिए । बब्लुका सहयोगीहरु नेपाली पनि रहेको त्यतिबेलै खुलेको थियो । तिनैहरुमध्येका हुन् केडिया अपहरणको आरोपमा पक्राउ परेका चञ्चल पाण्डे र जियालालप्रसाद यादव पनि ।
केडिया अपहरण भएको घटनाको अनुसन्धानमा सीआइबीको सूचना नै सबैभन्दा बलियो आधार बनेको थियो । सीआइबीले उपलब्ध गराएका सूचनाकै आधारमा भारतीय प्रहरीले केडियालाई सकुशल अपहरणमुक्त गराउन सफल भयो ।
तर, भारतबाट १४ किलोमिटर भित्र नेपाली भूमिमा हतियारसहित छिरेर व्यक्ति अपहरण गरेर फर्किँदा पनि पक्राउ गर्न नसक्नु सीमा सुरक्षामा कमजोरी देखिएको छ । ‘स्थानीय प्रहरी र भारतीय सुरक्षा निकायसँगको समन्वयमा केडियालाई अपहरण मुक्त गराइयो तर यो घटनाले सीमा सुरक्षा बलियो बनाउनुपर्ने पाठ पनि सिकाएको छ,’ डिआइजी सिलवालले भने । - अनलाइन खबरबाट 

काठमाडौँ, १७ जेष्ठ गते । नेकपा ९एमाले० का महासचिव ईश्वर पोखरेलले सञ्चारकर्मीले राष्ट्रिय स्वाधीनताको पक्षपोषण गर्नुपर्ने बताउनुभएको छ । 



युवा सङ्घ नेपालद्वारा प्रेस चौतारी नेपालको नयाँ कार्य समितिलाई स्वागतका लागि आयोजित कार्यक्रममा उहाँले पत्रकारले व्यावसायिक दक्षता हासिल गर्नुपर्नेमा जोड दिँदै संविधानको रक्षा र त्यसको कार्यान्वयनका लागि सक्रिय रहन आग्रह गर्नुभयो ।

महासचिव पोखरेलले मुलुकको स्वाभिमानको शिरलाई दुई शताव्दी अगाडि भएको असमान सुगौली सन्धिबाट झुकाइएको बताउँदै अहिले सरकारको दृढताका कारण त्यसलाई उठाउने काम भएको विचार व्यक्त गर्नुभयो ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले आफ्नो संस्थाको सिफारिसमा सरकारले बजेटमा पत्रकारलाई सरकारी अस्पतालमा ५० प्रतिशत छुटको व्यवस्था गरेकोमा त्यसको सराहना गर्नुभयो ।

युवा सङ्घ नेपालका अध्यक्ष राजीव पहारीले श्रमजीवी पत्रकारले न्यूनतम पारिश्रमिक प्राप्त गर्न नसकेको अवस्थामा त्यसलाई चौतारीको नयाँ कार्यसमितिले कार्यान्वयनका लागि भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

सङ्घका प्रवक्ता प्रभात विक्रम कटुवालले समाजमा भए गरेका विभिन्न घटनालाई यथार्थ चित्रण गरी समाजलाई सुसुचित गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । रासस

पोखरा १७ जेष्ठ गते  । ,  पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले माओवादीसँगको सहमति राष्ट्रिय सहमतिका लागि भएको बताउनुभएको छ ।


प्रेस चौतारी नेपालद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले संविधानको कार्यान्वयन, राष्ट्रिय आवश्यकता एवम् चुनौतीको सामना गर्न राष्ट्रिय सहमतिको विकल्प नभएको र त्यसका लागि नेकपा (एमाले) तयार रहेको बताउनुभयो ।

सङ्क्रमणकालीन अवस्थामा राष्ट्रिय सहमतिबाटै अघि बढ्नुपर्नेमा उहाँको जोड थियो ।

सरकारले प्रस्तुत गरेको बजेट जनमुखी भएको उल्लेख गर्दै उहाँले यसले नेपाली जनतामा आशा जगाएको बताउनुभयो । कृषि, ऊर्जा र औषधोपचारलाई बजेटमा प्राथमिकता दिइएको बताउँदै पूर्व प्रधानमन्त्री नेपालले देशको समग्र विकासका लागि एकद्वार नीतिलाई अवलम्बन गरी अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

सांसद विकास कोषका लागि विनियोजित रकम भने आवश्यक नभएको उहाँको तर्क छ । राष्ट्रिय परिचयपत्र र गरिब पहिचान परिचयपत्र वितरण कार्यलाई अघि बढाउन सके त्यसले राष्ट्रियतालाई थप मजबुत बनाउने र नागरिकताको विवाद अन्त्य गर्ने उहाँको भनाइ छ ।

सरकारलाई स्वतन्त्र रुपमा काम गर्ने वातावरण तयार गरिनुपर्ने बताउँदै उहाँले काममा कसैले बदमासी गर्छ भने त्यसलाई कारबाहीको दायरामा ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

राजनीतिक क्रान्तिको अगुवाइ गरेको नेकपा (एमाले)ले आर्थिक क्रान्तिको पनि अगुवाइ गर्नसक्ने बताउँदै उहाँले योग्यता क्षमताको मूल्याङ्कन गर्दै पार्टीमा अधिकतम सल्लाह गरी अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष रामजी लम्साल, सचिव अर्जुन गिरीलगायतले बोल्नुभएको थियो । रासस

काठमाडौँ, १७ जेष्ठ गते । सत्ता साझेदार प्रमुख दुई दल नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रका अध्यक्षहरुबीच सरकारले ल्याएको नयाँ बजेटमा व्यवस्थापिका–संसद्मा मिलेर विपक्षीको सामना गर्ने सहमति भएको छ ।



एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केर प्रमोद दाहालले दिनुभएको जानकारीअनुसार शीर्ष नेताहरुबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा सघन रुपमा कुराकानी भएको थियो ।

सरकारले यही १५ गते नयाँ बजेट सार्वजानिक गरेको थियो । बजेट हावादारीमा आएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकाले यसलाई व्यवस्थापिका–संपी ओली र केन्द्रका अध्यक्ष पुसपकमल दाहालबीच आज प्रम निवास बालुवाटारमा भएको भेटवार्तामा नयाँ बजेटले जनतामा नयाँ उत्साह ल्याएको हुँदा बजेटको कार्यान्वयनमा कुराकानी भएको थियो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकासद्मा कडा रुपमा विरोध गर्ने जनाएको छ । सदनमा बजेटमाथिको छलफल आजदेखि सुरु हुँदैछ ।

“प्रतिपक्षीले सदनमा बजेटका विषयमा राख्ने विरोधलाई सत्ता साझेदार दुई दल मिलेर संयुक्त रुपमा सामना गर्ने विषयमा उहाँहरुबीच कुराकानी भयो”, उहाँले भन्नुभयो । बजेटमा समावेश विषय समग्रमा राम्रो भएको सत्ता साझेदार ती दुई दलको आइतबार बसेको छुट्टाछुट्टै संसदीय दलको बैठकले निष्कर्षसमेत निकालेको थियो । रासस

डोटी, १७ जेष्ठ गते । डोटीको सदरमुकाम सिलगढीमा अवस्थित जिल्ला कारागार जीर्ण बन्दा कैदीलाई समस्या हुने गरेको छ ।




जीर्ण बनेको कारागारमा वर्षा हुँदा चुहिने, ओश आउने समस्या रहेको छ ।

जिल्ला कारागारमा कर्तव्य ज्यान मुद्दामा कैद भोगिरहेका घाँगल गाविसका कैदी दीपेन्द्र जेठाराका अनुसार वर्षात्को समयमा कैदीलाई बस्न निकै समस्या हुने गरेको छ । उहाँले भन्नुभयो – “पुरानो भवन भएकै कारण कैदीलाई फराकिलो वातावरणमा बस्ने समस्या छ, एकातिर पानी आएपछि चुहिन्छ” – धेरैपटक कारागारलाई आग्रह गर्दासमेत मागको सुनुवाइ नभएको उहाँले गुनासो गर्नुभयो ।

राणा शासनकालमा निर्मित यस कारागारमा कैदीलाई बस्ने कोठासमेत स–साना रहेको तथा कैदीलाई खेल्न र रमाइलो गर्नलाई एकदमै थोरै क्षेत्रफल रहेको कारागारको स्थापना भएको कारागारका जेलर यज्ञराज पाठकले बताउनुभयो ।

जम्मा १२ आनामात्रै क्षेत्रफल भएको कारागारमा ४५ जना कैदी बस्ने क्षमता भएकामा हाल आठजना थुनुवा, दुई महिला र २३ जना कैदीबन्दी रहेका छन् ।

कारागारसँगै जोडिएको खाद्य संस्थानको खाली जग्गालाई खरिद गरी आवश्यक संरचना निर्माण गर्ने प्रक्रिया अगाडि बढाइएको भएपनि सफल हुन नसकेको पाठकको भनाइ छ ।

हाल गणतन्त्र दिवसका अवसरमा यस कारागारबाट नौ कैदी रिहा भएपछि जिल्ला कारागार डोटीमा ३३ जना कैदीबन्दी रहेका छन् ।



चेपुवा (संखुवासभा):, १७ जेष्ठ गते   किमाथांका क्षेत्रका अधिकांश गर्भवतीले चाहेर पनि स्वास्थ्य परीक्षण गर्न पाएका छैनन् । गाउँमा प्रसूति सम्बन्धी सेवा नहुँदा गर्भवतीले स्वास्थ्य परीक्षण गर्न नपाएका हुन् । किमाथांका –१ की २१ वर्षीया लाक्पा शेर्पाले घरमै मृत शिशु जन्माएकि छन् । गर्भावस्थाको सुरुवातदेखिनै स्वास्थ्य संस्थामा जाने सल्लाह पाए पनि सेवा नपाउँदा उनले जिवित सन्तान जन्माउन नसकेको स्थानीयको भनाइ छ ।

 
राज्यले गर्भावस्थाको परीक्षण प्रोत्साहित भत्ताको समेत व्यवस्था गरेको छ । दुर्गमका गर्भवतीले चाहेर पनि गर्भावस्थाको परीक्षण गर्न पाएका छैनन् । चेपुवा गाविसकी सामाजिक परिचालक आङचिप्पा भोटेले पनि गर्भावस्थाको जाँच गर्न नपाएको गुनासो पोखिन् । घरभन्दा ५० मिटर टाढा रहेको स्वास्थ्यचौकीमा प्रसूति सेवा नभएकाले पाँच दिन पैदल हिँडेर खाँदबारी जानुपर्ने बाध्यता भएको उनले बताइन् । उनीजस्तै यस क्षेत्रका ५० भन्दा बढी गर्भवतीले आफ्नो गर्भको अवस्था परीक्षण गर्न पाएका छैनन् । जाँचको अभावमा निर्दोष आमा र बच्चाको मृत्यु हुने गरेको सामाजिक परिचालक आङचिप्पाले बताइन् ।
 
दुर्गम मानिने भोटखोलाका किमाथांका, पावाखोला र चेपुवा गाविसमा बर्थिङ सेन्टर स्थापना गरिएको छैन । बर्थिङ सेन्टरको अभावले यहाँका ५० भन्दा बढी आमाले गर्भावस्थाको जाँच गर्न पाउँदैनन् । केहीले अकालमै ज्यान गुमाउनु परेको छ । पहुँच हुनेहरू सुविधा सम्पन्न स्थानमा जाने गर्छन् भने गरिब आमाहरूले स्वास्थ्य जाँचसँगै नियमित स्वास्थ्य र गर्भ जाँच गर्न नपाएको चेपुवाका गाविस सचिव तारिणी घिमिरेले बताए ।
 
गर्भवतीलाई प्रसूति सेवाका लागि कहिलेकाहीँ सदरमुकाम खाँदबारी लेजाँदालैजाँदै बाटोमा नै मृत्यु हुने किमाथांकाका सामाजिक परिचालक कामी नावाले बताए । किमाथांकाका दुई दर्जन गर्भवतीले चाहेर पनि स्वास्थ्य परीक्षण गर्न नपाएँदा मुत्यु भएको उनको भनाइ छ ।
 
भोटखोलावासीले प्रमुख जिल्ला अधिकारीसँग पटकपटक बर्थिङ सेन्टर स्थापनाका लागि माग गरे पनि बेवास्ता गरिएको स्थानीय तेन्छेवी शेर्पाले बताए । राज्यले दुर्गम गाउँका गर्भवतीलाई बेतास्ता गर्ने गरेको स्थानीयको गुनासो छ ।
 
राज्यले ४, ८ र ९ महिनामा गर्भवतीले स्वास्थ्य परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ । आमा सुरक्षा कार्याक्रमअन्तर्गत स्वास्थ्य संस्थाले नियमित गर्भ जाँच गराएबापत एक हजार नौ सय प्रोत्साहन भत्ता पाउने र स्वास्थ्य संस्थामा सुत्केरी गराए एक हजार पाँच सय रुपैयाँ प्रोत्साहन भत्ता दिँदै आएको छ ।
 
किमाथांका स्वास्थ्य संस्थामा दुई महिनाअघि अनमी करारमा पठाइएको छ, त्यो पनि स्किल बर्थ एटेन्डेन्ट तालिम लिइएको छैन । गर्भवतीलाई सुत्केरी गराउँदा स्वास्थ्य संस्थामा बत्ती र भौतिक सामग्री अभावले सुत्केरी र बिरामीलाई समस्या हुने स्वास्थ्यचौकीका इन्चार्ज निमाछेदर शेर्पाले बताए ।
 
चेपुवा स्वास्थ्यचौकी प्रमुख नोर्चे भोटेले चार सय ४६ परिवार रहेको गाविसमा गर्भवती आमाको संख्या बढी आउने गरेको र परीक्षण प्रविधि र भौतिक संरचनाको समस्या भएको बताए । अनमी इन्द्रकुमारी भोटे र एक अनमी करारमा राखेर काम गर्दै आए पनि दक्ष कर्मचारी अभावले समस्या भोग्नु परेको भोटेले बताए ।
 
९० दिनको स्किल बर्थ एटेन्डेन्ट तालिम लिएका अनमीको व्यवस्था गरेर सेवा बिस्तार गरेका स्वास्थ्य संस्था पनि प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको माङ्तेवाका गंगाबहादुर राईले बताए । जिल्ला अस्पताल खाँदबारी, प्राथमिक स्वास्थ्य केन्द्र ताम्कु र चैनपुर, स्वास्थ्यचौकी ३६, सामुदायिक स्वास्थ्य इकाई केन्द्र ७ वटा गरी जम्मा ४६ वटा स्वास्थ्य संस्था छन् ।
 
जिल्ला स्वास्थ्य कार्यालयका आमा सुरक्षा कार्यक्रम शाखा प्रमुख भवनी तिम्सिनाले २८ स्वास्थ्य संस्थामा प्रसूति सेवा बिस्तार गरी सकिएको बताइन् । दुर्गमका स्वास्थ्य संस्थामा पनि प्रसूति सेवा बिस्तारको तयारीमा रहेको उनले बताइन ।



  • अन्नपुर्ण पोस्ट बाट 

हेटौँडा, १७ जेष्ठ गते ।'  टिस्टुङ–५ का रामकृष्ण गोले आफ्ना २१ वटा बाख्रा मरेपछि चिन्तित छन् । भूकम्पपछि उनलाई एक गैरसरकारी संस्थाले चारवटा बाख्रा राहत स्वरूप सहयोग गरेको थियो । ‘त्यही राहतमा पाएका बाख्रा बिरामी पर्न थालेपछि घरका बाख्रा पनि बिरामी हुन थाले, अहिले खोरै नै रित्तो भएको छ', रामकृष्णका छोरा सुजनले भने, ‘भूकम्पले घर भत्कायो, राहतमा पाएका बाख्राले गोठै रित्यायो ।'

 
भूकम्पपीडितलाई बाहिरी जिल्लाबाट स्वास्थ्य चेकजाँच नगरी आफूखुसी ल्याएर बाँडेको राहतका बाख्राबाट पीपीआर रोग फैलिएको जिल्ला पशुसेवा कार्यालयको अनुमान छ । भेडा बाख्रको हैजासमेत भनेर चिनिने पीपीआर रोग नियन्त्रणका लागि कार्यालयले जिल्लाभरका बाख्रालाई पीपीआरविरुद्धको भ्याक्सिन लगाउन सुरु गरेको छ । पशुसेवा केन्द्र पालुङ (क) का पशु विकास अधिकृत महेन्द्रप्रसाद भण्डारीले भने, ‘छ हजार भ्याक्सिन आएको छ, सबै क्षेत्रमा पुर्‌याउन सकिएको छैन ।' पालुङ केन्द्रअन्तगर्तका क्षेत्रमा मात्र ७८ हजार बाख्रा रहेको उनले बताए ।
 
टिस्टुङसँगै हेटौँडाको पदमपोखरी, हटिया, आमभञ्ज्याङ, सुकौरा र हाँडीखोला गाविसमा धमाधम बाख्रा मर्न थालेपछि पशुसेवा कार्यालयले जिल्लाभरका १६ वटा सेवा केन्द्रमार्फत् पीपीआरविरुद्ध भ्याक्सिन लगाइरहेको कार्यालय प्रमुख डा.रामप्रकाश प्रधानले बताए । एक महिनाअघि पदमपोखरीका किसानले पालेका बाख्रामा पीपीआर रोगको लक्षण देखिएको उनले बताए । ‘पदमपोखरीमा धमाधन बाख्रा मर्न थालेपछि हामीले तत्कालै पीपीआरविरुद्ध भ्याक्सिन लगाउन सुरु गर्‌यौं, त्यस क्षेत्रमा रोग नियन्त्रणमा आइसकेको छ', प्रधानले भने, ‘तर अन्य क्षेत्रमा पनि रोग फैलिएकाले नियन्त्रणमा लिन समस्या परेको छ ।'
 
बाख्रा मर्नुको कारण पत्ता लगाउन रोगी बाख्राको रगत परीक्षणका लागि केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशाला काठमाडौं पठाइएको जिल्ला पशुसेवा कार्यालयका डा.सञ्जिवकुमार ठाकुरले बताए । पीपीआर रोग लागेपछि बाख्रामा कडा ज्वरो, पखाला, मुखमा घाउ, सिंगान बग्ने र झोक्राएर मर्ने उनले बताए । ‘रोग लागिसकेका बाख्रा भ्याक्सिन लगाए पनि १० प्रतिशत मात्र बाँच्ने सम्भावना हुन्छ', उनले भने ।


  • अन्नपुर्ण पोस्ट बाट 

काठमाडौँ,जेष्ठ १७ गते ।माओवादी केन्द्रले बजेटमा आफ्ना सुझाव नपरेको भन्दै आलोचना गरेको छ ।




सिंहदरबारस्थित संसदीय दलमा बसेको माओवादी हेडक्वार्टरका ९ सदस्यसहितको संसदीय दल बैठकले प्रधानमन्त्री ओलीसँग अध्यक्ष पुष्पकमल दाहालले गरेको ९ बुँदे सहमतिको प्रतिविम्ब बजेटमा नआएको, शान्ति प्रक्रियाका बाँकी कार्यभार पुरा गर्ने, युद्धकालका सहिदका परिवार, घाइते र बेपत्ता परिवारलाई १० लाख दिने आश्वासन दिइए पनि बजेटमा त्यो नआएको भन्दै नेताहरुले आलोचना गरे ।

बैठकमा बोल्दै दाहालले सहमतिको भावनाअनुरुप सरकारले चल्न नखोजेको, प्रधानमन्त्री र अर्थमन्त्री विष्णु पौडेलले एमालेकै मात्र सरकार बनेको जस्तो शैली देखाएको भन्दै आपत्ति जनाएका थिए । ‘माओवादीले पाएका कृषि, ऊर्जा, शिक्षा मन्त्रालय अन्तर्गत योजना पारिएका छैनन, परेका मध्येमा पनि बजेट कम छ,’ दाहाललाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘समग्रमा बजेट सकारात्मक त छ, तर उहाहरुको शैली ठिक हुँदै भएन । यो त पूरै एकलौटी भयो ।’

बैठकमा माओवादी केन्द्रको आर्थिक विभागमा रहेका सदस्य तथा आर्थिक विज्ञसमेत उपस्थित थिए । पूर्वअर्थसचिव रणबहादुर श्रेष्ठ, योजना आयोगका सदस्यहरु चन्द्रकान्त पौडेल, सुनिल श्रेष्ठलगायतले धारणा राखे । त्यसपछि पार्टी नेताहरु रामबहादुर थापा, पूर्वअर्थमन्त्रीसमेत रहेका नेता वर्षमान पुनलगायतले भनाई राखेको प्रवक्ता पम्फा भूसालले जानकारी दिइन । ‘संसदमा बजेटबारे बोल्ने सांसदहरुलाई विस्तृतमा जानकारी गराइएको छ, आजको बैठकका आधारमा उहाँहरुलाई धारणा राख्न सजिलो हुने पार्टीको अपेक्षा छ,’ भूसालले भनिन्, ‘संसदीय दलको कार्यालयमा नाम टिप्ने काम चलिरहेको छ ।’













  • कान्तिपुर समाचार बाट


काठमाडौँ,जेष्ठ १७ गते ।  ६ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाएर आलोचित नेकपा (माओवादी केन्द्र) ले ३ सय केन्द्रीय सदस्य थप्दै हजार बनाउने तयारी गरेको छ । सोमबार पेरिसडाँडास्थित पार्टी मूख्यालयमा बस्ने बैठकले त्यसको निर्णय लिनेछ ।





माओवादी केन्द्रको संगठनात्मक विधि र नेतृत्व प्रणालीबारे टुंगो लगाउन वर्षमान पुनको नेतृत्वमा गठित उच्चस्तरीय कार्यदलले यसको तयारी गरेको हो । जेठ ६ गते १० माओवादी समूह मिलेर बनेको माओवादी केन्द्रको केन्द्रीय समितिमा पर्नेमा अधिकांश कनिष्ठ नेता रहेको भन्दै एकीकृत माओवादीबाट आएको पक्षले आक्रोश पोखेपछि पुनको कार्यदल दबाबमा परेको हो । उच्च स्रोतका अनुसार पुन स्वयंले एकता प्रक्रियामा आउदा अरु दलले केन्द्रीय समिति बढाएको तर एकीकृत माओवादीले नबढाएकोमा अध्यक्ष पुष्पकमल दाहालसग असन्तुष्टि जनाएका छन् । अहिल्यै सदस्य नथपिए दीर्घकालीन रुपमा आफ्नो पक्षको शक्ति कमजोर हुन जाने माओवादी केन्द्रको संस्थापन वृत्तको बुझाई छ ।

पुन कार्यदलले शनिबार र आइतबार यसको तयारी टुंग्याएको छ । कार्यदलले सोमबार बिहान अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा केही उच्च नेतासग यसबारे अनौपचारिक परामर्श लिने कार्यदल सदस्य जनार्दन शर्माले जानकारी दिए । ‘कति सदस्य बनाउने भन्ने अहिले निर्णय भइसकेको छैन, कार्यदलमा छलफल जारी छ,’ शर्माले भने, ‘हामीले सुझाव दिने हो, निर्णय हेडक्वार्टरले गर्छ । त्यसका लागि भोलि बिहान लाजिम्पाटमा बस्दैछौं ।’

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भूसालले सोमबार दिउसो पेरिसडाडास्थित दलको मूख्यालयमा बस्ने हेडक्वार्टर र कार्यदलको बैठकले बिस्तृत छलफल गर्ने बताइन् । ‘हामीले पास गरेको त ६ सय ९९ नै हो, तर वरिष्ठता/कनिष्ठता मिलाउन बाकी छ,’ भूसालले भनिन्, ‘सदस्य त थपिन्छन् नै । भोलि पेरिसडाडामा छलफल हुन्छ । पर्सिसम्ममा कार्यदलले हेडक्वार्टरलाई अन्तिम सुझाव दिनेछ ।’ कार्यदल संयोजक पुन भने यसबारे खुल्न तयार भएनन् ।

विगतको एमाओवादीमा तल्लो तप्कामा रहेका, तर अर्को समूहमा फुटेर जादा सिधै केन्द्रीय सदस्य भएकाहरु आफ्नो नेता भएर आएको एकीकृत माओवादी पक्षकाहरुलाई मन परेको छैन । भ्रातृ संगठनको इकाईमा बसेका केही सहकर्मी फुटेर आफ्नो नेता हुन आएकोमा आपत्ति जनाउदै एमाओवादी पृष्ठभूमिका एक कार्यकर्ताले आइतबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुनाए, ‘हिजो हाम्रो इकाइमा बसेकाहरु उताबाट सिधै केन्द्रीय सदस्य भएर आउदा हामी हेरेर बस्ने कुरा आउदैन । बरु अहिले संख्या बढोस्, तर यो मिलाउनै पर्छ ।’

कार्यदलका अर्का सदस्यले नेतृत्वले भद्दा केन्द्रीय समिति बनाउने तयारी गरेर गल्ती गरेको बताए । संगठनहरुको एकता भइरहेका बेला कार्यकर्तामा यो निर्णयले एकताको सन्देश नजाने उनको भनाई थियो । ‘खासमा मैले ३ सय सदस्यीय केन्द्र बनाउँ भनेर सुरुमा प्रस्ताव राखेको थिएँ, कमरेडहरुले मानेनन्,’ ती सदस्यले कान्तिपुरसग भने, ‘३ सय नाघेपछि वरिष्ठता नमिलेर हैरान हुने पक्का थियो, त्यसेले अब २५ सय सदस्यको केन्द्रीय समिति बनाए मात्रै कुरो मिल्छ । पार्टी चाहि स्थायी समितिले चलाउछ ।’

उच्च स्रोतका अनुसार सम्भवत: सोमबार नै टुंगिने थप केन्द्रीय सदस्यमा प्रदेश नम्बर ३ बाट मात्रै १ सय ११४ नेता थपिनेछन् । भौगोलिक र गैरभौगोलिक गरी जम्मा २० जिल्ला प्रदेश नम्बर ३ मा पर्ने भएकाले हरेक जिल्लाबाट ४ वा ५ नेता केन्द्रीय समितिमा पार्ने कार्यदलको तयारी छ । गैरभौगोलिक जिल्ला कमिटीमा विद्यार्थी, मजदुर, महिला, कर्मचारीलगायत भ्रातृसंगठनको फ्रयाक्सन् पर्छन् । माओवादी केन्द्रले औपचारिक निर्णय नलिउन्जेललाई यी सबै फ्रयाक्सन् हेर्नेगरी नेता लीलामणि पोखरेल इन्चार्ज भएका छन् ।

पुनको कार्यदलमा जनार्दन शर्मा, प्रभु साह, उर्मिला अर्याल, हितमान शाक्य, कुलप्रसाद केसी, पम्फा भूसाल, विश्वभक्त दुलाल, खगराज भट्ट, इन्द्र आङ्बुहाङ, देवशरण यादव, टीकाविक्रम हमाल र वसन्त घर्ती सदस्य रहेका छन् ।

यसै वर्षभित्र एकता महाधिवेशन गर्ने निर्णय गरेको माओवादी केन्द्रको ६ सय ९९ सदस्यीय केन्द्रीय समिति एक हजार सदस्यीय भएमा सम्भवत: संसारकै सर्वाधिक ठूलो केन्द्रीय समिति हुनेछ । पार्टी एकताको उत्साहबीच संगठन भद्दा बनाएको भन्दै माओवादी केन्द्रको आलोचना भइरहेको छ ।

नेताहरुले भने केन्द्रीय समितिले महाधिवेशन आयोजक समितिको काम गर्ने भन्दै महाधिवेशनबाट चुस्त केन्द्रीय समिति आउने आश्वासन दिइरहेका छन् । माओवादी केन्द्रको जेठ १० मा सकिएको पहिलो बैठकले सचिवालयमा ४९ वा ५१ सदस्य हुने, पोलिब्युरो १ सय ५१ सदस्य हुने निर्णय गरेको थियो । केन्द्रीय समिति बढेपछि त्यो संख्या स्वत: एक तिहाईको अनुपातमा बढ्नेछ ।

ठूला तीन दलमध्ये कांग्रेसको केन्द्रीय कार्यसमिति ८५ सदस्यीय छ । एमालेको ९९ सदस्यीय केन्द्रीय कमिटी छ






  • कान्तिपुर समाचार बाट


काठमाडौँ,जेष्ठ १७ गते प्रधानमन्त्री केपी ओलीले बजेट पारित गरेलगत्तै सरकार परिवर्तन हुने ‘हल्ला’ को पछि नलाग्न एमाले सांसदहरूलाई निर्देशन दिएका छन् ।





बजेटबारे छलफल गर्न आइतबार संसद भवन बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले आगामी संसदीय निर्वाचनसम्म आफ्नो नेतृत्वको सरकार रहन्छ भन्नेमा सांसदहरूलाई आश्वस्त परेका हुन् । नीति–कार्यक्रम अघि जस्तै बजेट पछि पनि सरकारलाई ‘चक्रब्यूहमा पार्ने’ प्रयास हुने आकलन गर्दै ओलीले आफूहरूसँग त्यसको सामना गर्ने तागत भएको पनि बताए ।

‘एमालेले अप्ठ्यारा जंगरहरू छिचोलेरै यहाँसम्म आएको हो, संविधान नै बन्न नदिने, हाम्रो नेतृत्वमा सरकार बन्न नदिनेलगायतका प्रयास भएकै थिए,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले भने, ‘नीति/कार्यक्रमअघि सरकारलाई अस्थिर बनाउने काम भएको थियो । त्यतिबेला जे सहमति भएको थियो, बाहिर आएकै छ । अब हामी राजनीतिक संक्रमणकाल अन्त्यपछिको समृद्धिको यात्रामा दृढतापूर्वक लाग्नुपर्छ ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नीति–कार्यक्रमअघि एमालेसँग भएको भद्र सहमतिअनुसार नयाँ सरकार बन्ने अभिव्यक्ति दिएलगत्तै प्रधानमन्त्रीले ९ बुँदे सहमतिबाहेक अर्को कुनै गोप्य सम्झौता नभएको दाबी गरेका हुन् । बैठकका अर्का सहभागी राजन भट्टराईका अनुसार सरकारका विरुद्ध बेलाबेलामा आउने चक्रब्यूह परास्त गर्न सकिन्छ भन्नेमा आश्वस्त पार्दै प्रधानमन्त्री ओलीले अर्को निर्वाचनसम्म आफ्नो नेतृत्वको सरकार रहनेमा ढुक्क रहन सांसदहरूलाई आग्रह गरेका थिए ।

समृद्ध नेपालको आधारशिला तयार गर्नेगरी बजेट आएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बजेटको बचाउ र पारित गर्ने प्रक्रियामा एकताबद्ध हुन सांसदहरूलाई निर्देशन दिए । ‘यही बजेट र संविधानको कार्यान्वयन यही सरकारले गर्छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एमाले सांसद कृष्णभक्त पोखरेलले भने, ‘बजेट पछि सरकार फेर्ने हामीले कसैसँग कुनै अपारदर्शी सम्झौता गरेका छैनौं ।’

‘बजेट बाँड्ने हो, कुम्लो बाँधेर हुन्न’
प्रमुख प्रतिपक्षी कांग्रेसले बजेटलाई वितरणमुखी संज्ञा दिएकोतर्फ लक्षित गर्दै प्रधानमन्त्री ओलीले अर्थ मन्त्रालय र राष्ट्र बैंकमा पैसाको कुम्लो बाँधेर देशको विकास र समृद्धि सम्भव नहुने बताए । ‘बजेट विनियोजन भनेकै बाँड्ने हो,’ प्रधानमन्त्री ओलीले भने, ‘सडक, जलविद्युत्, सिँचाइ जस्ता पूर्वाधार निर्माण र शिक्षा, स्वास्थ्य, वृद्ध भत्ताजस्ता सामाजिक कार्यक्रमका लागि बजेट बाँड्नै पर्छ । त्यसो गर्नु हुँदैन भन्न खोजेको हो भने प्रतिपक्षले सोझै भन्नुपर्‍यो ।’ बीउ नबाँडी बिरुवा नउम्रने उल्लेख गर्दै ओलीले विकासका लागि बजेट वितरण आवश्यक रहेको बताए ।

बजेट वक्तव्यलाई महत्त्वांकाक्षी, वितरणमुखी र कार्यान्वयन हुन नसक्ने भन्ने प्रतिपक्षको आरोपको जवाफमा अर्थमन्त्री विष्णु पौडेलले ‘समृद्धिका लागि उच्च आकांक्षी बजेट’ ल्याएको दाबी गरे । ‘मुलुकको समृद्धिलाई दिशाबोध गर्ने उच्च आकांक्षाअनुरूपको बजेट आएको छ,’ उनले भने, ‘भूकम्पपछिको पुनर्निर्माण, सडक, जलविद्युत् जस्ता पूर्वाधार निर्माणको आवश्यकता पूरा गर्न १५ खर्बको बजेट आवश्यक थियो । सीमित स्रोत र वित्तीय अनुशासनका कारण १० खर्बको मात्रै बजेट ल्याइएको हो । कार्यान्वयनको चुनौती कति छ भन्ने कुरा इच्छाशक्तिमा भर पर्छ ।’

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडा, सदस्य सुमित्रा अमात्य र अर्थमन्त्रीका सल्लाहकार गोविन्द नेपालले बजेटका विशेषताबारे सांसदहरूलाई जानकारी दिएका थिए ।

‘पानीजहाजको उद्‍घाटन पनि यही ओलीले गर्छ’
प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम र बजेटमार्फत आएका लोकप्रिय कार्यक्रमका कारण प्रतिपक्षले विरोध गर्ने ठाउँ नपाएको दाबी गरे ।

‘प्रतिपक्षले के मा विरोध गर्ने ? खालि कृत्रिम विरोध मात्रै हो,’ उनले भने, ‘संसदीय दलमा होस् कि प्रधानमन्त्री पदमा, मलाई भोट नहाल्नेलाई पनि किन हालिनछु भनेर बाडुल्ली लाग्छ भनेकै थिएँ, अहिले त्यही भएको छ ।’

हावाबाट बिजुलीदेखि पाइपलाइनबाटै ग्यास वितरणका योजना सार्वजनिक गरेका प्रधानमन्त्री ओलीले पछिल्लो पटक पानीजहाज खरिदलाई प्रतिष्ठाको विषय बनाएका छन् । ‘त्यत्तिका भूपरिवेष्टित राष्ट्रले सञ्चालन गरिरहेको पानीजहाज हामीले किन किन्न नहुने ?’ उनको भनाइ उद्धृत गर्दै एक सांसदले भने, ‘पानीजहाजको उद्‍घाटन यही केपी ओलीले गर्छ । मिल्ने भए म तपाईंहरू सबैलाई (उद्‍घाटनमा) लैजाँन्थे ।’ पानीजहाज खरिदका लागि रकम नभए उधारोमा भए पनि किन्ने उनले बताए ।

महत्त्वाकांक्षाबिना कोही पनि सगरमाथा चढ्न नसक्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विकास र समृद्धिबारे आफ्ना अभिव्यक्तिलाई लिएर भइरहेको सार्वजनिक आलोचनाको कटाक्ष गरे ।

बजेट छलफलको तयारी
सरकारले सदनमा पेस गरेको बजेटमाथि हुने छलफलका लागि सत्तापक्ष र प्रतिपक्षले आ-आफ्नो तयारी गरेका छन् । प्रमुख सत्तारूढ घटक एमाले, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी कांग्रेसले आइतबार आ–आफ्ना संसदीय दलको बैठक गरी बजेटको समर्थन र आलोचनाका लागि सांसदहरूलाई तयार गराएका हुन् ।

संसद सचिवालयका अनुसार बजेटमाथि सोमबार सुरु हुने सैद्धान्तिक छलफल कम्तीमा चार दिन चल्ने छ । असार मसान्तभित्रै पूर्ण बजेट पारित गर्ने गृहकार्यका कारण यस पटक सरकारले पेस्की खर्च विधेयक ल्याउने छैन । यसअघि आर्थिक वर्षको अन्त्यमा मात्रै बजेट पेस गर्ने र साउने संक्रान्तिबाटै राज्यकोषबाट हुने खर्चको वैधताका लागि पेस्की खर्च विधेयक पारित गर्ने अभ्यास थियो ।

जेठ १५ मा बजेट ल्याउने संवैधानिक व्यवस्था कार्यान्वयनका लागि यस पटकबाट आर्थिक वर्ष सकिनु डेढ महिनाअगावै सदनमा बेजट पेस भएको हो ।
  • कान्तिपुर समाचार बाट 


विराटनगर, जेष्ठ १६ गते । विराटनगरबाट एक नयाँ अनलाइन समाचारको शुभारम्भ भएको छ । विराट प्रकाशन प्रालिद्वारा सञ्चालित रातो तारा डट कम ( www.ratotara.com )ले आफ्नो कार्यको शुभारम्भ गरेको हो । विराटनगरमा आज आयोजित एक कार्यक्रमका बीच रातो तारा अनलाइन पत्रिकाको रेड एफएमको स्टुडियोमा सामूहिक रुपमा शुभारम्भ गरिएको हो ।

प्रा.लि.का अध्यक्ष एवं अनलाइनका सम्पादक स्वतन्त्र पत्रकार तेजेन्द्र भण्डारीका अनुसार अनलाइन पोर्टलले समाचार, राजनीति, अर्थ, वाणिज्य, मनोरञ्जन, अन्तर्राष्ट्रिय गतिविधिलाई प्रमुखताका साथ सम्प्रेषण गर्ने बताउनु भएको छ । सो अनलाईन पत्रिकाको कार्यकारी सम्पादकमा गणेश शिवाकोटी रहनुभएको भण्डारीले जनाउनुभयो ।

कार्यक्रममा बी एण्ड बी प्रशारण प्रालिका अध्यक्ष युवराज धाडेवा, निर्देशक हरि प्रसाई, प्रमुख कार्यकारी अधिकृत गणेश शिवाकोटी, वेभसफ्ट युनिभर्सिटीका प्रवन्ध सञ्चालक भवेश मण्डल, विनोद भण्डारी, जनहितका सम्पादक सत्यनारायण शर्माशिवम मिश्रलगायतको उपस्थिति रहको थियो ।

वेभसफ्ट युनिवर्सिटी प्रालिको प्रविधि संयोजनमा निर्माण गरिएको वेभसाइटको प्राविधिक सञ्चालनको जिम्मेवारी पनि स्वयं प्रालिले लिएको कार्यक्रममा जनाइएको थियो ।




मुखबाट खाना खाएपछि मलद्वारबाट दिसाको रुपमा निस्कासन नभएसम्म पचाउने र त्यसमा भएको पोषणतत्व लिने समग्र प्रक्रियालाई पाचन प्रणाली भनेर हामी बुझ्छौं । हामीले खाना चपाएर मसिनो बनाएको अन्न निलेपछि अन्न नली हुँदै आमासयमा पुग्छ । आमासयले केही क्षणका लागि त्यो खानालाई भण्डारण गर्ने काम गर्छ । सानो आन्द्रामा पुग्नुअघि नै आमाशयले अन्नलाई अझै साना टुक्रा बनाउने काम पनि गर्छ ।

खानालाई टुक्रा पारेर पच्न सजिलो हुने बनाउनु आमासयको काम हो । आमासयले नै अन्नमा भएका कतिपय पोषण ग्रहण गर्छ । खानामा भएको पोषण र उर्जा लिने सानोआन्द्रा तथा त्यसको पनि माथिल्लो भागको काम हो । काब्रोहाइड्रेट, प्रोटिन, चिल्लोपदार्थ, भिटामिन, क्याल्सियम, आइरन लगायतका खानामा रहेका पोषण पचाउने काम सानो आन्द्राको माथिल्लो भागले गर्छ । सानो आन्द्राको तल्लो भागले भिटामिन बी १२ जस्ता केही निश्चित खालका पोषण पचाउने काम गर्छ ।

ठूलो आन्द्राले भने खाना पचाउने काम खासै गर्दैन । सानो आन्द्राले पचाउन नसकेको पोषण ठूलो आन्द्राले ग्रहण गर्छ । तर त्यसको मात्रा निकै कम हुन्छ । पानी, नुनको मात्रा शोषण गरेर दिसालाई केही कडापन दिनुमा ठूलो आन्द्राको भूमिका हुन्छ । ठूलो आन्द्राको दायाँ भागको काम दिसा आएपछि त्यसलाई केहीबेर होल्ड गरेर राख्नु हो । निस्कासनको अनुकुल वातावरण नभएसम्म होल्ड गर्न ठूलो आन्द्राकै दाया भागको भूमिका हुन्छ ।
पाचन समस्या

पाचन प्रणाली गडवड भएर आउने समस्याको मुख्य लक्षण दिसा पटक–पटक लाग्ने, पेट ढाडिने, फुलिने र कराउने आदि हुन्छ । यो लक्षणले खाना पच्न नसकेको संकेत गर्छ । त्यसमा पनि आन्द्राले कुन खालको खाना पचाउन गाह्रो भएको छ ? प्रोटिन, फ्याट, काब्रोहाइड्रेड लगायत कुन गाह्रो भएको छ ? गडवडीकोे थप विशेष लक्षण देखिन्छ । कुन चिज पचाउन गाह्रो भएको हो ? त्यसको सुनिश्चितताका लागि हामीले दिसा परीक्षण गर्ने, रगतको जाँच, सासको माध्यमबाट हेर्ने र इण्डोस्कोपीबाट सानो आन्द्राको झिल्ली निकालेर पनि पत्ता लगाउन सकिन्छ । कतिपय अवस्थामा हाम्रो पाचन प्रणालीले खानामा रहेका सबै पोषण नभई कुनै एउटा पक्षमात्रै पचाउन गाह्रो भएको पनि हुनसक्छ ।


किन आउछ अमिलो पानी ?



मानिसलाई खाना खाएपछि मुखमा अमिलो पानी आउने, छाती तथा घाँटी पोल्ने हुनसक्छ, जसलाई ‘हार्ट बर्न’ भनिन्छ । हार्ट बर्न भन्ने चलन भएपनि मुटु पोलेको होइन । यी लक्षणलाई मेडिकल शब्दाबलीमा जी.ई.आर.डी (ग्यास्ट्रो इसोफेजियल रिफ्लक्स डिजिज) भनिन्छ । अन्ननली र आमासयको बीचमा एउटा भल्भ हुन्छ । अन्न नलीबाट खाना जाने बेलामा केही खुकुलो हुने यो मासंपेशी अरु बेलामा साँघुरिएर बस्छ । यसको विशेषता भनेकै खाना एकतर्फी रुपमा पास गर्ने हो । तर कतिपयको अन्ननली र आमासयको बीचमा हुने भाग सामान्य अवस्थाभन्दा बढी खुकुलो भएकाले यस्तो समस्या हुन्छ । हर्निया भएका मानिसहरूको पनि आमासयको माथिल्लो भल्भ खुकुलो भएर अमिलो पानी आउने समस्या हुनसक्छ ।

कुनै विशेष कारणले आमासयको भल्भ केही समयका लागि खुकुलो भएर पनि अमिलो पानी या डकार आउने समस्या रहनसक्छ । गर्भवती अवस्था अर्को उदाहरण हो । उनीहरूको पेटको आकार बढेर आमासयमा दवाव पर्छ । त्यसले गर्दा भल्भ खुकुलो भएर अमिलो पानी आउने लक्षण बढ्छ । अर्को कारण गर्भवती अवस्थामा हुने हर्मोनको गडबड हो । त्यसले पनि अमिलो पानी आउने, वाकवाकी लाग्ने बनाइदिन्छ । कसैलाई पहिलो ३ महिना हुन्छ भने कसैको अवधि ९ महिनासम्म पनि जानसक्छ । यस्तो लक्षणले आत्तिनुपर्ने कुनै कारण त छैन । तर कतिपय महिलाहरूलाई भने कुनै खानेकुरा नखाने, पानी पनि नरहने भएकाले जलविनियोजन डिहाइड्रेसन भएर अस्पताल भर्ना गर्नेसम्म पनि हुनसक्छ । तर अधिकांशको पहिलो ३÷४ महिनापछि कम हुँदै जान्छ । त्यस क्रममै कतिपयलाई यति धेरै अमिलो पानी आइदिन्छ कि कुनै औषधिले पनि छुँदैंन ।

अन्य कतिपय कारणले पनि अन्ननली र आमासयको जङसनमा असर परेर अमिलो पानी आउछ । मानिसको आमाशयमा अम्ल हुन्छ । त्यो अम्ल फर्केर अन्ननलीमा वा मुखमै पनि आउन सक्छ, जसलाई हामीले अमिलो महसुस गर्छौं । आमाशयमा अम्ल बस्न नै अनुकुल संरचना हुने भएकाले त्यहाँ अम्ल रहँदा हामीले असजिलो महसुस गर्दैनौं । तर अन्ननली, मुख आदि अंग त्यस्तो अंम्लसँग सम्पर्क नहुने भएकाले त्यससँग लड्ने संरचना हँुदैन र अम्ल ती अंगमा पर्नासाथ हामीले पोलेको महसुस गर्छौं ।

हामीले खाएको खाना अन्ननली, आमासय, सानो÷ठूलो आन्द्रा हँुदै निस्कासन हुने निश्चित अवधि हुन्छ । हरेक अंगमा खाना केही समय भण्डारण हुन्छ । खानाको स्वरुप र प्रकृति हेरेर एउटा अंगबाट अर्कोमा जाने अवधि फरक पर्छ । झोल र पानी छिटो जान्छ भने ठोस पदार्थले केही समय लिन्छ । बोसो र चिल्लोयुक्त खाना खादा आमासयदेखि सानो आन्द्रामा जाने अवधि लम्बिन्छ । लामो अवधि आमासयमा रहने भएकाले बोसो र चिल्लोयुक्त खानाले अन्ननली र आमासयको जङ्सनलाई केही खुकुलो बनाइदिन्छ । फलस्वरुप हामीले अमिलो पानी आएको महसुस गछौं । गुलियो वा फलफूल खाँदा छिटो भोक लाग्छ । तर बोसो र चिल्लोयुक्त खाना खाएपनि अन्यको तुलनामा हामीलाई भोक पनि अलि ढिलो नै लाग्छ । आमासयबाट सानो आन्द्रामा खाना जान समय लाग्ने र पच्ने अवधि पनि लम्बिने भएकाले भोक ढिलो लाग्ने गरेको हो ।

डकार किन ?

डकार आउनु कुनै समस्या होइन र रोगपनि होइन । सामान्य अवस्थामा पनि हाम्रो शरीरमा दिनमा ४/५ लिटर ग्याँस बनिरहेको हुन्छ । हामी बोल्दाबोल्दै पनि अन्ननलीभित्र ग्याँस गइरहेको हुन्छ । थुक निल्दापनि ग्याँस गइरहेको हुन्छ । साथै खाना पचाउने क्रममा पनि मिथेन, कार्वनडाइअक्साईड लगायतका ग्याँस निस्कन्छ । कतिपय ग्याँस मलद्वारबाट निस्कासन हुन्छ । केही ग्याँस हामीलाई थाहा नै नभई अन्ननलीबाट मुख हुदै निस्कासन भएको हुन्छ । तर कतिपयले ग्याँस गएको बढी थाहा भएर ढ्याउ–ढ्याउ भएको अनुभव गर्छन् । कुनै–कुनै रोगका कारण पनि बढी ग्याँस उत्पादन हुन्छ । दुध वा दुधजन्य परिकार खाएमा पचाउन नसक्दा बढी ग्यास आउने हुन्छ । डकार आउनु सामान्य प्रक्रिया हो भने कतिपय अवस्था यो रोगको लक्षण पनि हुनसक्छ ।

पाचन प्रक्रियाका क्रममा आमासयदेखि सानो आन्द्रा, ठूलो आन्दामा समेत ग्याँस बन्छ । सानो आन्द्राले समेत पचाउन नसकेका खाद्यान्न ठूलो आन्द्राले पचाउन खोज्ने क्रममा त्यहाँ बढी ग्यास बन्छ र तल्लो भागबाट जान्छ । तर खाना पचाउने क्रममा बढी ग्याँस भने सानो आन्द्रामा नै बनेको हुन्छ । सागपात लगायतका खानेकुरा भने सहजै नपच्ने भएकाले ठूलो आन्द्रामा पचाउने प्रयास हुन्छ । त्यसक्रममै ग्याँस बन्छ । डकार जस्तै ग्याँस पनि कतिपय अवस्थामा सामान्य प्रक्रिया हो भने कतिपय अवस्थामा पेटसम्बन्धी रोगको लक्षण पनि हुनसक्छ ।

अल्सर के हो ?

आमाशय वा आन्द्राको भित्री भागमा कोतरिनु वा ब्रेक हुनु अल्सर हो । ती अंगको भित्री भागको छाला एकनासले गएको हुन्छ । त्यसमा चोट लागे, घाउ भए अल्सर हुन्छ । अल्सरका तत्कालिक र दीर्घकालिन असर हुन्छन् । अल्सरले विरामीको रक्तस्राव हुने, वाकवाकी लाग्ने, वान्ता हुने लक्षण हुन्छ । उपचार नभए लामो समयमा ती घाउमा प्वाल पनि पर्न सक्छन् । तर सुरुको मुख्य लक्षण रक्तस्राव नै हो ।

अनुसन्धानकर्ताहरूका अनुसार, अल्सरको मुख्य कारण एक प्रकारको जीवाणु हो, जसलाई ‘हेल्कोब्याक्टर पाइलोरी’ भनिन्छ । यस्तो जीवाणु सर्ने तरिकावारे उनीहरूको फरक–फरक मत छ । तर यो मानिसबाट मानिसमा सर्ने पुष्टि भइसकेको छ । सर्ने माध्यम र प्रक्रिया स्पष्ट हुन सकेको छैन । सानो शिशुको हेरचाहका क्रममा र कुवाको पानी लगायतबाट यो जीवाणु सर्नसक्ने भनेर उनीहरूले औल्याएका छन् । त्यो जीवाणु रहने मानव अंग आमासय नै हो । अल्सरको प्रमुख कारण ‘एच–पाइलोरी’ जीवाणु हो भनेर पत्ता लागेको पनि धेरै समय भएको छैन । सन् १९९० को दशकको अन्त्यतिर यो पत्ता लागेको हो । त्यसभन्दा अघि अल्सरको कारण धेरैलाई थाहा थिएन । यही अनुसन्धानका लागि सन् २००५ मा अष्ट्रेलियाका बैंज्ञानिकले नोबेल पुरस्कार पनि पाएका थिए । औषधि सेवनको असरस्वरुप पनि अल्सर हुने गरेको भेटिएको छ । एस्पिरिन, पेनकिलर खाइरहनुपर्ने बिरामीलाई अल्सरको समस्या देखिनसक्छ । क्यान्सर पनि ग्यास्टिकको अर्को कारण हुनसक्छ । खाना नपच्ने, नरुच्ने, पेट ढाडिएको जस्तो हुने आदि लक्षण देखिनसक्छ ।

पाचन रोगका कारणहरू

खानपानकै कारण ग्याष्ट्रिक हुन्छ भन्ने कुनै बैज्ञानिक कारण छैन । पीरो वा मसालेदार खानाका कारण अल्सर हुन्छ भन्ने कतिपयमा धारणा छ । बिरामीले पनि कुनै विशेष खानाले कम हुने र कुनै खानाले समस्या आउने अनुभव बताउछन् । तर त्यसमा कुनै बैज्ञानिक आधार र सत्यता छैन । स्वस्थ खाना अपरिहार्य छ । मुख्यतः सफा र सुघ्घर पानी नियमित रुपमा निकै पिउनुपर्छ । मानव शरीरको दुई तिहाइ भाग पानीले बनेको हुन्छ । हरेक कोषहरूमा पानीको मात्रा अत्यधिक हुन्छ, त्यसलाई कायम राख्न पानी आवश्यक पर्छ । हरेक अंग स्वभाविक रुपले सञ्चालन गर्न पानी आवश्यक पर्छ ।

लामो समय भोकै रहनु उचित होइन । लामो समय खाना नखाएमा आमासय र सानो आन्द्रामा पुग्ने अम्लले ज्यादा सक्रियता देखाउने स्थिति बन्छ । हामीले नियमित खाना खाए अम्ल खानासँग मिसिएर जान्छ भने खाना नहुँदा आमासयमा अम्लले सक्रिय हुने अवसर पाउछ । त्यसले अल्सरको सम्भावना बढ्छ भनिन्छ, यद्यपि यसमा पनि बैज्ञानिक पुष्टियुक्त आधार भने छैन ।

खाना आमासयदेखि सानो आन्द्रामा जान २ देखि ४ घण्टा लाग्छ । त्यसैले छिटो छिटो थोरै खाना खानु र पेट खाली नराख्नु राम्रो हो । त्यसमा पनि हामीले कुन खालको खाना खाएका छौं, त्यसले अवधि निर्धारण गर्छ । हामीले बोसोयुक्त खाना खाएको भए अली बढी समय पेटमा रहन्छ भोक पनि ढिलो लाग्छ भने कार्बोहाइड्रेट खालको खाना खाएमा कम समय रहन्छ र भोक छिटो लाग्छ । मानिसले खानासँगै पानी खानु हुँदैन भन्ने चलन छ, त्यसले शरीरमा हित गर्दैन भन्ने कुनै बैज्ञानिक कारण छैन ।

नियमित पानी पिउने गरेमा कब्जियत भएको बिरामीलाई अझै फाइदा हुन्छ । कतिपय औषधि सेवन गर्दा भने खाना र पानी खाने निश्चित तौरतरिका हुन्छ । कतिपय औषधि अन्ननलीमा लामो समय नरहोस् भन्ने उद्देश्यले त्यसो गरिएको हो । हामीले खाना खाँदा हतार नगरी चपाएर र सानो सानो टुक्रा पारेर खाएमा शरीरले पचाउन सजिलो हुन्छ । हाम्रो घाटीको संरचना नै ठोस खाना सजिलो छ । किनकि झोलका लागि निल्नुपर्छ । तर ठोसका लागि सहजै घाटीको संरचनाले सजिलो बनाइदिन्छ ।
कब्जियत

पेटसम्बन्धी देखिने धेरै समस्यामध्ये कब्जियत पनि एक हो । बुढ्यौली लागेको व्यक्तिमा अचानक कब्जियत देखियो भने कुनै रोगको कारण हुनसक्छ । पहिले समस्या नभएको तर उमेर ढल्किनासाथ अचानक कब्जियत देखियो भने क्यान्सरको लक्षण पनि हुनसक्छ । त्यस्तो विरामीले तत्काल जचाइहाल्नुपर्छ ।

खानाको प्रकार र स्वभावले पनि शौच गर्ने अवधि निर्धारण हुन्छ । खानामा फाइवरको मात्रा ज्यादा भएमा कब्जियतको समस्या नदेखिन पनि सक्छ । कोहीकोहीमा भने सानो उमेरदेखि नै शौचालयमा लामो समय लगाउने आदत हुन्छ । हामीले बालबालिकालाई कसरी शौचालयको आदत सिकाएका हुन्छौं, त्यसका आधारमा पनि उसले शौच बस्ने तौरतरिका र आदत निर्धारण हुन्छ । कब्जियतको समस्या हुनेले रोटी, सागपात जस्ता फाइवरयुक्त खानामा ज्यादा जोड दिनुपर्छ । फाइवर नहुने भएकाले जंकफुडमा जोड नदिँदा नै उचित हुन्छ ।

सानै उमेरदेखि शौचालयमा लामो समय लगाउनेहरूको भने आदत नै भइसकेको हुनाले कुनै रोगको लक्षण हो कि भनेर आत्तिनुपर्ने अवस्था रहँदैन । आजभोलिका बालबालिकामा कब्जियतको समस्या बढेको नै देखिन्छ । शौचालयमा जादा भिडियो गेम खेल्ने, मोवाइल चलाउने बानी बढ्दो छ । त्यसले गर्दा दिसा गर्ने क्रममा प्राकृतिक रुपले नै बल लगाउनुपर्ने मनस्थिति अन्यत्र मोडिएर जान्छ । र शौचालयमा उसले लामो समय लगाउँछ । यो आदतबाट कालान्तरमा कब्जियत देखिनसक्छ । कसैको भने जन्मजात नै कब्जियत हुनसक्छ । - डा. दीपेश गुर्वाचार्य
(ग्यास्टोइन्ट्रोलोजिष्ट गुर्वाचार्य पुल्चोकको निदान अस्पतालमा कार्यरत छन् ।)


                 'अब महंगी बढ्छ, तयार भएर बस्नुहोला'

काठमाडौं , जेष्ठ १६ गते । तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चाका नेताहरुले सरकारले ल्याएको बजेटलाई हावादारीको संज्ञा दिएका छन् ।
अर्थमन्त्री विष्णु पौडेलले संसदमा बजेट पेश गर्दा मोर्चाका सांसदहरु अनुपस्थित थिए । उनीहरुले बजेट भाषणा बहिस्कार गरेका हुन् । बजेट प्रस्तुत भएपछि प्रतिक्रिया दिँदै मधेसी मोर्चाका शीर्ष नेताहरुले बजेटको आलोचना गरेका छन् ।
साथै संविधान निर्माणका क्रममा सरकार र नेतृत्वकर्ता दल एमालेको मधेसमा शाख गुमेको भन्दै उनीहरुले त्यसलाई फर्काउने प्रयासमा वितरणमुखी कार्यक्रम ल्याएको बताएका छन् ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले महंगी बढाउने बजेट भनेका छन् । बजेटबारे अनलाइनखबरलाई प्रतिक्रिया दिँदै यादवले भने, ‘महंगी बढ्छ । तयार भएर बस्नुहोला ।’
कृषिलाई आवश्यकता अनुसार ध्यान दिन नसकेको र बन्द रहेका सरकारी उद्योग धन्दा सञ्चालन गर्नेबारे कुनै योजना नआएको भन्दै उनले भने, ‘अनि कसरी देशको विकास हुन्छ ? मुलुकको आर्थिक बृद्धिदर नकारात्मक विन्दुमा पुग्न लागेको बेला वितरणमुखी बजेट आएको भन्दै उनले भने, जनतालाई बेवकुफ बनाउने बजेट आएको छ । हावादारी प्रधानमन्त्रीको हावादारी बजेट ।’
तर, तराई मधेसका विकासका राम्रो योजनाहरु परेको छ होइन र भन्ने प्रश्नमा संघीय समाजवादी फोरमका अध्यक्ष यादवले भने, ‘हुलाकी सडकको कुरा गरेको ३०/४० वर्ष भइसक्या, फास्ट ट्र्याकको कुरा गरेको छ, फास्ट ट्र्याक बनाउने क्षमता छ यो सरकारसँग ?’
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बजेट हेर्दा सानदार देखिने तर, केही नभएको बताएका छन् । वितरणमुखी बजेट आएको भन्दै उनले भने, ‘मधेसमा पनि चकलेट बाँडिएको छ ।’ तराई मधेसमा गुमेको शाख फर्काउने सरकार र एमालेेले यस्ता कार्यक्रम ल्याएको उनले बताए ।
हुलाकी सडकलाई ४ अर्ब छुट्याइएको भन्दै उनले भने, चार अर्बले हुलाकी सडक बन्छ ? यो बजेट देखाउन मात्र राम्रो छ । कार्यान्वयन हुन सक्दैन र मधेसलाई पनि धोका दिइएको छ । - अनलाइन खबरबाट 

      

 जनताको करबाट एक वर्षमा राष्ट्रसेवकले कति खान्छन् ?

काठमाडौँ , जेष्ठ १६ गते । राष्ट्रसेवक कर्मचारीको तलब २५ प्रतिशतले वृद्धि भएसँगै राष्ट्रिय ढुकुटीमा करिब २६ अर्ब ६ करोड १५ लाख ४० हजार रुपैयाँको भार थपिएको छ ।
तलब बढ्नुअघि राज्यले कर्मचारीहरुको पारिश्रमिकमा वार्षिक रुपमा कुल १ खर्ब ४ अर्ब २४ करोड ६१ लाख ६० हजार खर्च गर्दै आएको थियो । अब यो खर्चको भार बढेर १ खर्ब ३० अर्ब, ३० करोड ७७ लाख पुगेको छ । तलब वृद्धिबाट हुने यो भार बहालवाला नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिक्षक र निजामती कर्मचारीको तलब वापत हो ।
नेपाल सरकारले हालसम्म करिब ३ लाख कर्मचारीलाई तलब खुवाउँदै आएको छ भने करिब लाखको संख्यामा अवकाशप्राप्त कर्मचारीहरुलाई पेन्सन खुवाउँदै आइरहेको छ ।
हाल देशमा र विदेशका नेपाली दुतावासमा समेत गरी निजामती सेवामा कार्यरत कर्मचारीहरुको दरबन्दी संख्या १ लाख २ हजार छ ।
त्यसैगरी विभिन्न तहमा देशभर १ लाख ७ हजार ८ सय ६० जना शिक्षकहरु कार्यरत छन् । सुरक्षातर्फ नेपाली सेनाको कुल दरबन्दी ९५ हजार छ । त्यसैगरी नेपाल प्रहरीमा ६० हजार कार्यरत छन् भने सशस्त्र प्रहरीतर्फ ४० हजारको दरबन्दी रहेको छ ।
राजनीतिक नियुक्ति मानिने सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति लगायतको तलब भत्तामा राज्यले ठूलो धनराशी खर्चिँदै आइरहेको छ । नयाँ संविधानले सानो व्यवस्थापिका संसदको परिकल्पना गरे पनि अहिलेसम्म सांसदहरुको जम्बो टोलीको भार राज्यले खेपिरहेको छ ।
राज्यबाट तलब खाने र बहालवाला कर्मचारी, शिक्षक एवं सुरक्षाकर्मीहरुको संख्या तीन लाखभन्दा बढी छ । नयाँ तलब वृद्धिसँगै यति ठूलो संख्यालाई तलब भत्ता उपलब्ध गराउँदै आएको राज्यलाई २६ अर्बभन्दा बढीको थप भार पर्ने भएको हो ।
पेन्सनमा पनि भार बढ्यो
कर्मचारीहरुको तलब बढेसँगै सेना, प्रहरी, शिक्षक र निजामती सेवाबाट अवकाश पाएकाहरुको सेवानिवृत्ति (पेन्सन)मा समेत स्वाभाविक वृद्धि भएको छ ।
तर, पेन्सनमा भने बृद्धि भएको पुरै २५ प्रतिशत लागु हुँदैन । बृद्धि भएको २५ प्रतिशतलाई एक सय प्रतिशत मान्दा त्यसको ६७ प्रतिशत मात्रै पेन्सनमा वृद्धि हुन्छ । तथापि तलब वृद्धिको भार पेन्सनमा पनि थपिएको छ ।
हाल देशमा पेन्सन थाप्ने अवकाश प्राप्त निजामती कर्मचारीहरूको संख्या ६५ हजार छ ।
त्यसैगरी शिक्षा सेवाबाट अवकाश पाएका २ हजार ४ सय ७० जनाले पेन्सन बुझ्छन् । धेरै शिक्षकहरुले राज्यबाट उपदान लिने भएकाले पेन्सन बुझ्ने शिक्षकको संख्या कम देखिएको हो ।
२६ अर्ब बाँड्ने, ७ अर्ब उठाउने ?
भूकम्प, नाकाबन्दी लगायतको पीडाबाट जनता छटपटाइरहेका बेला गरीब देशका कर्मचारीका लागि राज्यले २६ अर्बको भार बोकेको छ ।
उता सरकारले बूढीगण्डकी जलविद्युत परियोजनालाई ७ अर्ब जुटाउने उद्देश्यले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्ने र पाँच प्रतिशत कर लगाउने अलोकप्रिय निर्णय गरेको छ ।
पेट्रोलियम पदार्थको मूल्य बढाएर महंगीलाई निम्तो दिनुको साटो सरकारले कर्मचारीको तलब २० प्रतिशतमात्रै बढाउने निर्णय गरेको भए राज्यकोषमा करिब ७ अर्ब बचत हुन सक्थ्यो । र, त्यही रकम बूढीगण्डकीमा खर्चिन सक्ने थियो । यो बाटो लिइएको भए महंगी बढ्ने थिएन कि ? - अनलाइन खबरबाट 


 पोखरा , जेष्ठ १७ गते । पोखरा १४ रातो डाँडास्थित एक घरमा आमा छोरीको हत्या भएको छ। हत्याको आरोपमा श्रीमान् विमल पुन पक्राउ परेका छन्। 




पुनले श्रीमती र छोरीको हत्या गरेको प्रहरीले दाबी गरेको छ। शुक्रबार दिउँसो ४ बजे तिर रडले प्रहार गरेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ। घटनाको बारेमा थप जानकारी आउन बाकी छ।


दाङ, जेष्ठ १७ गते  । दाङमा दुर्लभ वन्यजन्तु चितुवाको छालासहित तीन जना युवा पक्राउ परेका छन्। दाङको त्रिपुर नगरपालिका वडा नम्बर ३ अन्तर्गत सौडीकुला भन्ने स्थानबाट एउटा मोटरसाइकलसहित तीन जनालाई शुक्रबार राति प्रक्राउ गरिएको प्रहरीले बताएको छ। 

 
पक्राउ पर्नेमा दाङ सौडियार गाविस वडा नम्बर ९ निवासी ४८ वर्षीय मीनबहादुर चौधरी, २४ वर्षीय सगुनलाल चौधरी र वर्षीय २३ महेन्द्र चौधरी रहेको प्रहरीले जनाएको छ। उनीले प्रयोग गरेको रा. २ प. ३९२५ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।
 
रातको समयमा शंकास्पद अवस्थामा देखेपछि पक्राउ गरिएको इलाका प्रहरी कार्र्यालय तुलसीपुरका प्रमुख कृष्ण प्रसार्इंले जानकारी दिए। इलाका प्रहरी कार्यालय तुलसीपुरबाट साधा पोशाकमा खटिएको हरि थापा र मधु केसीको विषेश टोलीले सुराकीको आधारमा उनीहरूलाई पक्राउ गरेको हो। 
 
उनीहरूले उक्त बाघको छाला सल्यानबाट बेच्नका लागि दाङ ल्याएको वयान दिएको प्रहरीले बताएको छ। उनीहरूको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। एक महिना अघिमात्रै नेपाल प्रहरीको मध्यपश्चिम क्षेत्रीय ब्युरोको विषेश टोलीले सल्यानबाट बाघको छालाको केही कारोबारीलाई नियन्त्रणमा लिएको थियो।

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget