Websoft University

www.radiomakalu.com || 021-522512


सरकारविरुद्ध कांग्रेस आक्रामक, एकैदिन चार पटक संसद अवरुद्ध


काठमाडौं , जेष्ठ १७ गते  । बजेटको सूचना चुहिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार एकै दिन चार पटक संसद अवरुद्ध पारेको छ ।
बजेटमाथि छलफलका लागि सोमबार संसदको बैठक बोलाइएको थियो ।  तर, प्रमुख विपक्षी कांग्रेसले संसदमा पेश गर्नु अघि नै बजेट सार्वजनिक भएको भन्दै अवरुद्ध पारे ।
बैठक सुरू हुनासनथ कांग्रेस सांसदहरु उठेर विरोध गरेपछि सभामुख ओनसरी घर्ती मगरले पूर्वअर्थमन्त्री डा. रामशरण महतलाई समय दिए । उनले पत्रिका देखाउँदै भने, ‘जुन फिगर बजेट भाषणमा आएको छ । त्यो भन्दा अगाडि अखबारमा आइसकेको छ । यसले यो संसदमा मानहानी भएको हो कि होइन ?’
कांग्रेसले छानविन समिति गठनको माग गरेको छ । यसअघि पनि बजेट पढ्नु अघि नै अर्थ मन्त्रालयको वेबसाइटमा अपलोड भएको र त्यसबेला पनि संसदमा हंगामा भएपछि छानविन समिति गठन भएको थियो ।
प्रमुख प्रतिपक्षी कांग्रेसको विरोधपछि संसद आधा घन्टाका लागि स्थगित भयो । त्यसपछि बसेको बैठकमा पनि कांग्रेसले आफ्नो अडान दोहोर्‍यायो ।
सांसद रमेश लेखकले संसदीय समिति गठन नभएसम्म सदनको काम कारबाही अघि बढ्न नसक्ने बताए । यसअघि बजेटको सूचना चुहिँदा र अहिले एउटै पार्टीको अर्थमन्त्री रहनु गजबको संयोग भएको उनले बताए ।
कांग्रेसको विरोधपछि बैठक आधा घन्टाका लागि स्थगित भयो । फेरि बसेको बैठक पनि कांग्रेसले अवरुद्ध पार्‍यो र, दिउँसो साढे १ बजेसम्म स्थगित भयो ।
करिव १५ मिनेट ढिलो बसेको बैठक पनि कांग्रेस सांसदहरुको अवरोधका कारण चल्न सकेन । तेस्रोपटक बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद महेश आचार्यले सार्वभौम संसद्को विशेषाधिकारमा आघात पुग्ने गरी बजेटका सूचना चुहिनु गम्भीर भएको भन्दै छानबिन गर्न सरकार अग्रसर हुनुपर्ने  बताए ।
कांग्रेसको विरोधपछि बैठक साढे ३ बजे बस्ने गरी स्थगित भएको छ । तर, कांग्रेसले यो बैठक पनि चल्न दिएन ।  चौथो पटक बसेको बैठकमा कांग्रेस सांसद ईश्वरी न्यौपानेले सार्वभौम संसद्को विशेषाधिकारमा आघात पुग्ने गरी बजेटका सूचना चुहाइएको घटनाको छानबिन नभएसम्म सदनको कारबाही अगाडि बढ्न नसक्ने बताइन् ।
सत्तापक्षसँग मिलेर काम गर्न कांग्रेस तयार रहेको तर, संसद्को गरिमामा आँच आउने यस्ता गतिविधि फेरि हुन नदिन वार्ताका माध्यमबाटै समस्याको समाधान खोज्नुपर्ने उनको भनाइ थियो । बेलायतमा बजेट प्रस्तुत हुनु २० मिनेटअघि बजेट सार्वजनिक हुँदा अर्थमन्त्रीले राजीनामा दिनुपरेको तथ्य पेस गर्दै उनले हामीकहाँ सरकारको लापर्बाहीका कारण पत्रपत्रिकामा बजेटमा परेका विषय सार्वजनिक भएको घटना गम्भीर भएको बताए ।
सांसद न्यौपानेले बजेटका महत्वपूर्ण सूचना चुहिनाका कारणबारे चित्त बुझ्दो जवाफ नआएसम्म संसद्को प्रक्रिया अघि बढाउन नहुने बताइन् । सभामुख ओनसरी घर्तिले बारम्बर आग्रह गरेपनि त्यसको सुनुवाइ नभएपछि मङ्गलबार ११ बजेसम्मका लागि संसद् स्थगन गरेको घोषणा गरिन् । - अनलाइन खबरबाट  

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget