Websoft University

www.radiomakalu.com || 021-522512


August 2017


Single-Phase-Electricity-Meter

काठमाडौँ,  भदौ १० गते । नेपाल विद्युत् प्राधिकरणको मिटर सात दिनभित्र ग्राहकलाई उपलब्ध नगराइए सम्बन्धित वितरण केन्द्रका प्रमुखलाई कारबाही हुने भएको छ ।


ऊर्जा मन्त्रालयले प्राधिकरण र मुलुकभरका प्राधिकरणका सबै शाखा कार्यालयलाई यही भदौ ८ गते एक निर्देशनात्मक परिपत्रमार्फत साधारण मिटर माग गर्ने ग्राहकलाई सात दिनभित्र मिटर उपलब्ध गराउन निर्देशन दिएको छ ।

मिटर नपाएका कारण ग्राहकले विद्युत् बाल्नकै लागि हुकिङ गर्ने गरेको भन्ने चर्को गुनासो आएपछि ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले ग्राहकले माग गर्ने बित्तिकै मिटर उपलब्ध गराउन र उपलब्ध हुन नसके चित्त बुझ्दो कारणसहित प्राधिकरणलाई जानकारी गराउन तथा त्यसको सूचना मन्त्रालयलाई समेत उपलब्ध गराउन निर्देशन दिनुभएको छ ।

ग्राहकले मिटर पाए÷नपाएको जानकारी लिन मन्त्रालयले इञ्जिनियर आकाश शाहको संयोजकत्वमा एक अनुगमन समितिसमेत बनाएको छ । मन्त्रालयको पछिल्लो निर्देशनअनुसार साधारण मिटर सात दिनभित्र, थ्री फेज मिटर १५ दिन भित्र र उद्योगमा जडान हुने ‘टिओडी मिटर’ ३० दिनभित्र ग्राहकलाई उपलब्ध गराउनैपर्नेछ । सो अवधिभित्र उपलब्ध नगराइए तथा चिक्त बुझ्दो कारण पेश नगरे सम्बन्धित वितरण केन्द्रका प्रमुखलाई कारबाहीको दायरामा ल्याइनेछ ।

प्राधिकरणकाअनुसार काठमाडौँ उपत्यकामा सबैभन्दा बढी मिटर माग हुनेमा कुलेश्वर वितरण केन्द्र, बालाजु वितरण केन्द्र, महराजगञ्ज वितरण केन्द्र र बानेश्वर वितरण केन्द्र रहेका छन् ।

यस्तै बारा, पर्सा, रौतहट, सप्तरी, सर्लाहीजस्ता जिल्लामा पनि बढी मात्रामा मिटरको माग हुने गरेको छ । प्राधिकरणको क्षेत्रीय कार्यालयले मिटर परीक्षण नभएको भन्दै समयमा नै वितरण केन्द्रलाई उपलब्ध नगराउने र उपभोक्तालाई हुकिङ गर्न मद्दत गर्ने गरेको गुनासो बढी आएपछि मन्त्रालयले कडाइका साथ निर्देशन दिएको ऊर्जामन्त्री शाहीको भनाइ छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै पनि वितरण केन्द्रमा मिटर अभाव हुन नदिइएको माग आउने बित्तिकै उपलब्ध गराउने व्यवस्था मिलाइएको बताउनुहुन्छ । कुनै ग्राहकले मिटर पाइन भनेर खबर मात्रै ग¥यो भने सम्बन्धित वितरण केन्द्रका कर्मचारी कारबाहीको दायरामा आउने कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

प्राधिकरणको जिन्सी व्यवस्था महाशाखाका प्रमुख नुतनदेव भट्टराईका अनुसार साधारण मिटर दुई लाख थान मौज्दात रहेको छ । उहाँका अनुसार विराटनगर क्षेत्रीय कार्यालयमा २८ हजार ५००, जनकपुर २८ हजार ५००, हेटौँडा १५ हजार, बुटवल १५ हजार, पोखरा १५ हजार, नेपालगञ्ज २० हजार, अत्तरिया क्षेत्रीय कार्यालयमा १५ हजार थान मिटर उपलब्ध छन् ।

यस्तै काठमाडौँका लागि मात्रै २३ हजार मिटर उपलब्ध गराइएको छ । यस्तै केन्द्रीय कार्यालय मातहत ४० हजार मिटर मौज्दात छ । प्राधिकरणका अनुसार थ्री फेज मिटर १३ हजार ५०० र ‘टिओडी मिटर’ तीन हजार ३०० मौज्दात छ ।

बालाजु वितरण केन्द्रका प्रमुख किरणराज तिमल्सेनाका अनुसार दैनिक दश वटासम्म मिटरको माग हुने गरेको जानकारी दिनुभयो । ग्राहकले माग गर्ने बित्तिकै कागजात पुगेका ग्राहकलाई तत्काल नै मिटर दिने गरिएको र कुनै गुनासो नरहेको बताउनुभयो । मन्त्रालयले मिटर उपलब्ध गराउन प्रभावकारी कदम चाले पनि प्राधिकरणका कर्मचारीले दुःख दिएको र घूस मागेको भन्ने गुनासो पनि आउने गरेको इञ्जिनियर शाहले बताउनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको हेल्लो सरकार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत मिटर नपाएको र कर्मचारीले घूस मागेको भन्दै दैनिक सरदर तीनवटा उजुरी पर्ने गरेका छन् । ग्राहकको उजुरीलाई लिएर सम्बन्धित कर्मचारीलाई कडा कारबाही नहुँदा समस्या जहाँको तही रहनेछ । उर्जा मन्त्रालयले नै मिटर नदिए सम्बन्धित कर्मचारी कारबाहीको भागिदार हुने भन्दै कडा निर्देशन दिएपछि मिटर वितरणमा सुधार आउने विश्वास लिइएको छ ।

चौबिसै घण्टा कर्मचारी राख्न निर्देशन

ऊर्जामन्त्री शाहीले प्राधिकरणका सबै कार्यालयमा चौबिसै घण्टा कर्मचारी रहने व्यवस्था गर्नसमेत निर्देशन दिनुभएको छ । नो लाइटमा फोन नउठेको, ग्राहकले फोन गर्दा राम्रोसँग सम्बोधन गरेको नपाइए समेत सम्बन्धित कर्मचारी कारबाहीको भागिदार बन्नेछन् । रासस


काठमाडौँ, भदौ १० गते । राष्ट्रिय जनता पार्टी नेपालले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा आज दल दर्ता गराएको छ ।




उक्त पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको नेतृत्वको टोलीले निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएको हो । राजपाको दल दर्ता नम्बर ५५ रहेको छ ।

सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिर १० गतेका लागि घोषणा गरिसकेको छ भने स्थानीय तहको निर्वाचन प्रदेश नम्बर २ मा आगामी असोज २ गते हुदैछ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले भदौ ११ गते आइतबारसम्मको समय तोकेको छ । आजसम्म आयोगमा ५६ वटा दलको दर्ता भइसकेका छन् ।

दल दर्ता गराउने क्रममा राजपाको टोलीले प्रमुख निर्वाचन आयुक्त र आयुक्तसँग समेत भेटवार्ता गरी स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको बारेमा केन्द्रीत रहेर छलफल गरेको छ ।

छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपाको जनताबीचमा जाने निर्णयअनुरुप दलदर्ताको लागि आयोगमा आएको बताउनुभयो ।

उक्त पार्टीले स्थानीय तहको निर्वाचनमा साइकल चिन्हमा चुनाव लडेपनि निर्वाचन आयोगसँग पार्टीको चुनाव चिन्ह छाताको लागि प्रयास गरिरहेको बताइएको छ । टोलीमा अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादव, शरदसिंह भण्डारीलगायतका नेता सहभागी हुनुहुन्थ्यो । रासस


prachand
धनगढी, भदौ १० गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल भएको देखिएको बताउनुभएको छ ।
प्रेस सेन्टरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्रीको भ्रमणका क्रममा भारतले नेपालमा स्थानीय तहको चुनाव सम्पन्न भई प्रदेश र केन्द्रको चुनाव गराउन शुरु भएको प्रक्रियालाई समर्थन गर्नु सकारात्मक भएको टिप्पणी गर्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले भन्नुभयो, “प्रधानमन्त्रीले पुराना सहमति कार्यान्वयन र केही हाम्रा अत्यावश्यक विषय बाहेक कुनै पनि विषयमा नपसेको कुरा तपाईंहरुले थाहा पाइसक्नु्भएको छ ।”

अन्ततः राजपा पनि चुनावमा भाग लिन सहमत हुँदा संविधान कार्यान्वयनका लागि खुशीको विषय भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “अब सबैको सहभागितामा संविधान कार्यान्वयनको प्रक्रियालाई अगाडि बढाएर देशलाई राजनैतिक स्थिरता र आर्थिक समृद्धिमा लैजानु पर्छ ।”

नेकपा माओवादी केन्द्रले २ नम्बर प्रदेशमा हुन लागेको स्थानीय तहको चुनावमा तालमेल गर्छ कि गर्दैन भन्ने प्रश्नमा अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर र त्यसमा पनि मधेश केन्द्रित दलसँग तालमेल हुने स्पष्ट पार्नुभयो ।

नीतिगत रुपमा काँग्रेस र एमालेसँग पनि तालमेल गर्न सकिने उहाँले भन्नुभयो ।

एक अर्को प्रश्नमा अध्यक्ष दाहालले मङ्सिरमा चुनाव हुनेमा शंका नगर्न आग्रह गर्नुभयो । आज यहाँ शुरु भएको नेकपा माओवादी केन्द्रको ७ नम्बर प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षणमा सहभागी हुन अध्यक्ष पुष्पकमल दाहाल सहितका नेताहरु आज यहाँ आई पुग्नुभएको छ । रासस

election_1

काठमाडौँ, भदौ १० गते । नेपाल सरकार, राजनीतिक दल र निर्वाचन आयोगलगायत सम्पूर्ण राज्यशक्तिको ध्यान अहिले प्रदेश नं २ को स्थानीय तहको निर्वाचनमा केन्द्रित रहेको छ ।

नेपालको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा तेस्रो चरणमा १३६ स्थानीय तहमा आगामी असोज २ मा निर्वाचन हुन लागेको हो । प्रदेश नं २ का आठ जिल्लामा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तह कायम भएका छन् ।

मुलुकमा हाल ७५३ स्थानीय तह कायम रहेकामा त्यसमध्ये महानगरपालिका छ, उपमहानगरपालिका ११, नगरपालिका २७६ हाल मुलुकमा छ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ र गाउँपालिकाको संख्या ४६० रहेको छ ।

उक्त निर्वाचनमा २६ लाख ६४ हजार ७९२ मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्ने अधिकार रहेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

छ हजार ६२७ जनप्रतिनिधि
स्थानीय तहको तेस्रो चरणको निर्वाचनबाट ७७–७७ प्रमुख र उपप्रमुख, ५९–५९ अध्यक्ष र उपाध्यक्ष, एक हजार २७१ वडाध्यक्ष तथा महिला, दलित र खुला गरी पाँच हजार ८४ वडा सदस्य निर्वाचित हुनेछन् ।

निर्वाचनको परिणाममा कसले बाजी मार्ने भन्ने विषयमा चुनावी रणनीति बनाउन अहिले राजनीतिक दल अत्यन्तै व्यस्त छन् । स्थानीय तहको निर्वाचनका सन्दर्भमा त्यस क्षेत्रका जिल्लामा यही भदौ ७ गतेदेखि मुख्य निर्वाचन अधिकृतको कार्यालय खुलिसकेको छ भने निर्वाचन अधिकृतको कार्यालय सोमबारदेखि खुल्नेछ ।

भदौ २१ मा मनोनयन दर्ता

निर्वाचनका लागि आयोगले भदौ २१ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने तथा भदौ २४ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम बनाएको छ ।

नेपालको संविधानका केही अन्तरवस्तुप्रति विमति जनाउँदै आन्दोलन चलाउँदै आएको राष्ट्रिय जनता पार्टीले पनि आफ्नो सम्पूर्ण साधन, स्रोत र शक्ति अब स्थानीय तहको निर्वाचनमा केन्द्रित गर्ने निर्णय गरिसकेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन सरकारले त्यस क्षेत्रको शान्ति सुरक्षाको व्यवस्थालाई चुस्त तुल्याउन नेपाली सेनाको समेत संलग्नता रहने व्यवस्था मिलाएको छ ।

निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन अघिल्ला निर्वाचन जस्तै प्रदेश नं २ मा पनि प्रमुख राजनीति दलबीचमै चुनावी तालमेल हुन सक्ने संकेत देखिएको छ । संविधानसँग जोडेर भएको आन्दोलन, त्यससँगै भएको नाकाबन्दी तथा बाढी र डुबानको चपेटा खेपिरहेका त्यस क्षेत्रका मतदातालाई आफ्नो पक्षमा ल्याउने रणनीति बनाएर सबै राजनीतिक दल अहिले प्रदेश नं २ का गाउँगाउँमा पुगिसकेको त्यस क्षेत्रका जिल्ला निर्वाचन कार्यालयबाट थाहा भएको छ ।

मुलुकका प्रदेश नं ३, ४ र ६ का ३४ जिल्लाका २८३ मा वैशाख ३१ तथा प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा असार १४ गते भएको निर्वाचनबाट १७५ स्वतन्त्रसहित १४ राजनीतिक दलका २८ हजार ४२३ उम्मेदवार विजयी भएका थिए । तीमध्ये पुरुष १६ हजार ७९३ र महिला ११ हजार ६३० रहेको आयोगले जनाएको छ ।

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले बदर मत प्रतिशत घटाउन २ नं प्रदेशमा सडक नाटकसहित मतदाता शिक्षाका कार्यक्रम तथा सञ्चारकर्मीका लागि आचारसंहिताको पालनासम्बन्धी कार्यक्रम शुरु गरिसकिएको जानकारी दिनुभयो ।

‘भय र त्रास समाप्त भइसकेको छ’

राजपाका महासचिव केशव झाले भय र त्रासको स्थिति समाप्त भएकाले शान्तिपूर्ण र व्यापक मतदाताको सहभागितामा २ नं प्रदेशमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीले निकै स्थानमा राम्रो विजयी हासिल गर्ने विश्वास लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रचारप्रसार र उम्मेदवार छनोट प्रक्रिया शुरु भइसकेको छ, घोषणापत्र बनाउने कार्यलाई अहिले तीव्र तुल्याइएको छ ।”

स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा नेपाली नेकपा ९एमाले०का १२ हजार ८४८, नेपाली काँग्रेसका नौ हजार ७१९, नेकपा९माओवादी केन्द्र०का चार हजार ३१३, संघीय समाजवादी फोरम नेपालका ३८२, नेपाल लोकतान्त्रिक फोरमका २९५, राप्रपाका २५७, राष्ट्रिय जनमोर्चाका १८६, नेपाल मजदुर किसान पार्टीका ९९, नयाँ शक्ति पार्टीका ८८, बहुजन शक्ति पार्टीका ३७, राष्ट्रिय जनमुक्ति पार्टीका १२, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सात, नेकपा ९माले०का चार र नेपाल परिवार दलका एक उम्मेदवार विजयी भएका थिए ।

बाढीपहिराको दुःख बिर्सँदै
एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको सम्पूर्ण शक्ति प्रदेश नं २ को निर्वाचनमा केन्द्रित भइसकेको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “नेकपा ९एमाले०ले लिएको अडान र अघि सारेको सोचलाई आम मतदाताले राम्ररी बुझिसकेका छन् ।”

समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले बाढीपहिराको पीडा खेप्नु परे पनि स्थानीय सरकार गठनका लागि हुन लागेको निर्वाचनप्रति मतदाता सकारात्मक र उत्सुक देखिएकाले निर्वाचनको वातावरण विस्तारै बन्दै गएको प्रतिक्रिया दिनुभयो । मुलुकभर एकै पटक निर्वाचन गर्नुपर्नेमा २ नं प्रदेशमा तेस्रो चरणमा पु¥याइएको प्रति भने मतदाताको असन्तुष्टि रहेको उहाँको भनाइ थियो ।

काँग्रेसका नेता रमेश लेखकले पार्टीका तर्फबाट त्यस क्षेत्रको निर्वाचनका लागि सबै तयारी भएको तथा अधिकांश जिल्लामा उम्मेदवारी मिलेको हुँदा घोषणा गर्न मात्र बाँकी रहेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “पार्टीको पक्षमा राम्रो वातावरण बनेको छ, विस्तारै सबै नेता तथा कार्यकर्ताको त्यस क्षेत्रममा पुगेपछि चुनाव प्रचारप्रसार व्यापक हुनेछ ।”

माओवादी केन्द्रका नेता एवं सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले निर्वाचनका लागि चाहिने आवश्यक जनशक्तिको व्यवस्था मिलाइएको जनाउँदै त्यस क्षेत्रमा निर्वाचनका लागि प्रचारप्रसार शुरु भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो समस्या, भावना र मर्म माओवादी केन्द्रले बुझ्छ भन्ने मनोवैज्ञानिक प्रभाव मतदातामा देखिएकाले हाम्रा लागि ठूलोखाले हराभराको माहोल छ ।” रासस



काठमाडौँ, भदौ १० गते । मानव बेचबिखन तथा अवैध ओसारपसारका घटना अन्तर्राष्ट्रिय तहमा नै अपराधको घटनामा लिने गरिएको छ ।

यस्ता घटनाको उजुरी दर्ता नै नहुने गरेकाले वर्षेनी के कति जोखिममा छन् भन्ने विषयमा वास्तविक तथ्य पत्ता लगाउन जटिल हुने कानून व्यवसायीको भनाइ छ ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले पछिल्लो वर्ष मानव बेचबिखनमा आधाभन्दा बढीले कमी आएको जनाएको छ । मन्त्रालयका अनुसार आव २०७२÷७३ मा एक हजार ६९७ जना बेचबिखनमा परेको अभिलेख रहेकामा आव २०७३÷७४ मा सो संख्या घटेर ७२२ मा ओर्लिएको पाइएको छ । मुलुकमा पर्याप्त आर्थिक गतिविधि नहुँदा गरिबी, पछौटेपन तथा सामाजिक परिवेशका कारण करिब ५० लाख युवा जनशक्ति विदेशमा कामदारका रुपमा जान बाध्य छन् ।

अधिवक्ता सुनिल खरेलका अनुसार मुलुकमा प्रत्येक वर्ष सात आठ हजार मानिस कुनै न कुनै रुपमा बेचिने गरेको भए पनि प्रहरी प्रशासनमा सबै घटना दर्ता नहुने गरेको पाइएको छ । विदेशका विमानस्थल प्रयोग गरी विदेश जाने कामदार जोखिममा परेका विभिन्न अध्ययन तथा अनुसन्धानले देखाएका छन् ।

नेपालबाट भारतमा जान राहदानी नचाहिने हुँदा त्यहाँ विभिन्न प्रलोभनमा पारेर मानिसहरुलाई यौनधन्दा, सर्कस तथा अन्य जोखिममा लगाइने गरिन्छ । त्यसैगरी खाडी मुलुकमा नेपाली महिला घरेलु कामदारका रुपमा जान थालेपछि उनीहरुलाई अनेकौँ हिंसाजन्य कार्यको शिकार बनाइने गरेको समाचार सार्वजनिक हुँदै आएका छन् ।

कानून अन्वेषण तथा स्रोत विकास केन्द्र ९सेलर्ड० का सचिव अञ्जनकुमार दाहालले गरेको अनुसन्धानमा मुलुकमा करिब ६० प्रतिशत युवा वैदेशिक रोजगारमा जाने चाहना गर्ने गरेको पाइएको छ । बेचबिखनको जोखिममा पनि विदेशमा जानेहरु नै परेका छन् ।

विशेष गरी वैदेशिक रोजगारको सिलसिलामा मानव बेचबिखन भएका घटना आए पनि कानूनी झण्झटका कारण प्रहरीसम्म जान पीडितहरु डराउने गरेका छन् । मानव बेचबिखनका गतिविधि सञ्चालन गर्ने गिरोहको सञ्जाल अन्तर्राष्ट्रिय तहसम्म फैलिएको छ । एउटा तह र तप्काका मानिसले अर्कालाई नचिन्ने समस्याले गर्दा वास्तविक अपराधीसम्म पुग्न जटिल हुने प्रहरी उपरीक्षक किरण वज्राचार्यले बताउनुभयो । यस्ता घटनामा आवश्यक प्रमाणको अभाव हुने हुँदा प्रहरीले उजुरी नै दर्ता गर्न नमान्ने गरेको यस क्षेत्रमा क्रियाशील संस्थाका प्रतिनिधिको भनाइ छ ।

दैनिक रुपमा यस्ता घटना भए पनि घटनामा संलग्न दलालले विभिन्न प्रक्रिया मिलाई पीडितका आफन्तलाई खर्च दिएर सीमा पार गराउने हुँदा सो घटनापछि बाहिर ल्याउन खोजेमा पीडित पक्षलाई धम्काउने र फसाउने गरेका कारण पनि कतिपय पीडित डर र त्रासमा छन् । समस्या समाधानमा कतिपय सरकारी अधिकारीकै साथ नपाएको सम्बद्ध व्यक्तिले गुनासो गरेका पनि छन् ।

अपराधीलाई विभिन्न राजनीतिक दलका केही बदमासले साथ सहयोग गर्दा पनि समस्या समाधानमा कठिन हुने गरेको छ । कानून भए पनि प्रभावकारी कार्यान्वयन गर्न केही समस्या भएकाले यस्ता कार्य सञ्चालन गर्ने गिरोहहरु संगठित रुपमा सक्रिय हुने गरेका छन् । रासस



सुर्खेत, भदौ १० गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रदेश र केन्द्रको चुनाव मङ्सिर १० गते एकैपटक हुने बताउनुभएको छ ।
निर्वाचन आयोगले दुई चरणमा पनि हुनसक्ने बताइरहेका बेला अध्यक्ष दाहालले सुर्खेतमा शुक्रबार आयोजित पार्टीको प्रदेशस्तरीय नेता कार्यकर्ता प्रशिक्षणअघि पत्रकारसँग कुराकानी गर्दै तोकिएकै मितिमा एकैपटक दुवै निर्वाचन हुने बताउनुभएको हो ।
असोज २ गते प्रदेश नं. २ मा हुने स्थानीय तहको निर्वाचनप्रति पनि कुनै शङ्का नगर्न उहाँले आग्रह गर्नुभयो । “मधेशवादी दलहरू पनि चुनावमा सहभागी हुने भएपछि अब स्थानीय तहको चुनाव शान्तिपूर्ण र भव्य रूपमा सम्पन्न हुनेछ”, अध्यक्ष दाहालले भन्नुभयो । प्रदेश र केन्द्रको निर्वाचनमा जुनसुकै दलसँग पनि तालमेल हुनसक्ने भन्दै अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र पक्षधर जुनसुकै दलसँग पनि तालमेल गर्न सकिने बताउनुभयो । उहाँले आफ्नो पार्टीले हार्ने जति ठाउँमा हारिसकेको हुँदा अब हार्ने ठाउँ नै नभएको जिकिर गर्दै पार्टी एकताको पहल पनि भइरहेकाले अब माओवादी केन्द्र हार्ने नभई पहिलो पार्टी हुने दाबी गर्नुभयो ।
नेपालको राजनीतिमा ठूलाठूला परिवर्तन भए पनि राजनीतिक अस्थिरता भने कायमै रहेको चर्चा गर्दै उहाँले राजनीतिक अस्थिरताको न्यूनतम आधार खोज्न आफ्नो पार्टीले प्रत्यक्ष कार्यकारी प्रमुखको माग राखेको जनाउनुभयो । हुनेखाने पँुजीपतिले मात्र चुनाव लड्ने परिपाटी भएकाले सामान्य आयस्तर भएका गरिबले पनि चुनाव लड्न पाउनुपर्ने अधिकारका लागि पार्टीले पूर्ण सामानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्ने नीति ल्याउन लागेको अध्यक्ष दाहालले प्रस्ट पार्नुभयो ।
अध्यक्ष दाहालले माओवादी केन्द्रको प्रयासले मात्रै प्रदेश ६ बनेको दाबी गर्नुभयो । उहाँले यो प्रदेश विकासमा पछि परेको स्वीकार गर्दै अभाव जहाँ हुन्छ त्यहाँ माओवादी केन्द्रको प्रभाव राम्रो हुनु स्वाभाविक रहेकाले यस प्रदेशमा ठूला परियोजना केन्द्रित गरेर विकास गर्ने प्रतिबद्धता जनाउनुभयो ।
पार्टीको बैठक तथा प्रशिक्षणमा अध्यक्ष दाहालसँगै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’, नेताहरू शक्ति बस्नेत, कालीबहादुर मल्ल, मायाप्रसाद शर्मा, टेकबहादुर बस्नेत लगायतको उपस्थिति छ । प्रशिक्षणमा माओवादी केन्द्रका प्रदेशस्तरीय कार्यकर्ताको उपस्थिति छ ।- ललित बसेल




पेरिस सेन्ट जर्मेइनका स्ट्राइकर नेइमारले आफ्नो पूर्वक्लव बार्सिलोनाले दायर गरेको मुद्दाको सामना गर्ने भएका छन् ।


बार्सिलोनाले नेइमारसँग ८.५ मिलियन युरो दावी गरेको छ जुन उनले ९ महिनाअघि ५ वर्षको सम्झौता गरेबापत पाएका थिए ।

ब्राजिलियन स्ट्राइकर नेइमारले यसै महिनाको सुरुमा पिएसजीसँग २२२ मिलियन युरोको कीर्तिमानी सम्झौता गरेका थिए ।

२५ वर्षीय नेइमार र उनका वकिलले भनेका छन् कि खेलाडीको रक्षाका कारण उचित समयमा आरोपको डटेर सामना गरनेछ ।

उनको बिज्ञप्तिमा भनिएको छ, ‘२०१६ को बोनस फिर्ताबारे कानूनी प्रक्रियामा जानुभन्दा पहिले खेलाडीसँग पनि परामर्श लिनु आवश्यक हुने थियो ।’

गत मंगलबार बार्सिलोनाले नेइमारलाई पहिल्यै भुक्तान गरिएको बोनसका साथै ढिला भएवापतको अतिरिक्त १० प्रतिशत रकम दावी गरी अदालतमा मुद्दा दायर गरेको थियो । उसले अनुबन्ध पूरा नगरेको बन्दै पहिले दिइएको बोनस फिर्ता लिने माग गरेको छ ।-अनलाइनखबर


फेरि २२ सीडीओसहित ३१ जनाको सरुवा

काठमाडौं, भदौ ८ गते  ।   गृह मन्त्रालयले फेरि २२ प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित ३१ जनाको सरुवा गरेको छ । सरुवा हुनेमा १० सहसचिव र १२ उपसचिव छन्।
गृह मन्त्रालयले यसअघि साउन २६ गते १० सहसचिव र २१ उपसचिवसहित ३१ जनाको सरुवा गरेको थियो। सरकारले निर्वाचन घोषणा गरेलगत्तै गृहले ठूलो संख्यामा सीडीओ हेरफेर गरेको हो।
गृहमन्त्री जनार्दन शर्माले आफू निकटलाई विभिन्न जिल्लामा सीडीओ बनाएको गृहनिकट स्रोतले जानकारी दिएको छ। निर्वाचनलाई प्रभाव पार्न उनले खोजी–खोजी आफूनिकट व्यक्तिलाई महत्वपूर्ण जिल्लामा खटाएको स्रोतको दाबी छ।
गृह मन्त्रालयका सहसचिव चक्रबहादुर बुढालाई मकवानपुरको सीडीओ बनाइएको छ भने मन्त्रालयकै आसमान तामाङलाई सिन्धुपाल्चोक पठाइएको छ। गृहका सहसचिव सीताराम कार्कीलाई सुर्खेत, नारायणप्रसाद भट्टराईलाई बर्दिया, सुर्खेतका महादेव पन्तलाई ललितपुर, क्षेत्रीय प्रशासन कार्यालय कास्कीका विष्णु पोखरेललाई इलाम, बर्दियाका विष्णुबहादुर थापालाई बाग्लुङ, गृहका चन्द्रमान श्रेष्ठलाई उदयपुर र गृहकै लोकनाथ पौडेललाई गुल्मीको सीडीओ बनाइएको छ।
त्यसैगरी, गृहकै उपसचिव विष्णु पौडेललाई जुम्ला, दिलीप लामिछानेलाई रामेछाप, विश्वराज न्यौपानेलाई दैलेख, बद्रिनाथ गैरेलाई कालिकोट, सिद्धराज जोशीलाई बैतडी, अध्यागमनका चेतराज बराललाई भोजपुर, भक्तपुरकी सहायक सीडीओ लक्ष्मीदेवी हुमागाईंलाई पाँचथर, मकवानपुरका सहायक सीडीओ हरि पन्तलाई मनाङ, अध्यागमनका पुष्पराज शाहीलाई जाजरकोट, अध्यागमनकै एकदेव अधिकारीलाई खोटाङ र धनुषाका सहायक सीडीओ किशोर चौधरीलाई अछामको सीडीओ बनाएर पठाइएको गृह मन्त्रालयले जनाएको छ।- अन्नपूर्ण बाट



दर्ता भयो राप्रपा (प्रजातान्त्रिक)
काठमाडौं, भदौ ८ गते  ।  निर्वाचन आयोगले बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) लाई छुुट्टै दलको मान्यता दिएको छ।
सर्वोच्च अदालतको अन्तरिम आदेशअनुसार आयोगले दल दर्ता गरेको हो। आयोगका प्रवक्ता सूर्य शर्माले राप्रपा प्रजातान्त्रिक आयोगमा दर्ता भएको जानकारी दिए। प्रस्तावित राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणासहितले दिएको रिटमाथि न्यायाधीश तेजबहादुर केसीको इजलासले सोमबार दल दर्ता गर्न आदेश दिएको थियो।
आदेशमा २२ साउनमा राणाले बुझाएको हस्ताक्षरलाई नै आधिकारिक मानेर अन्य कानुनी प्रक्रिया अपनाई दल दर्ता र चुनाव चिह्न सम्बन्धमा आवश्यक निर्णय गर्न भनिएको थियो।
साउन २२ गते राष्ट्रिय प्रजातन्त्र पार्टी फुटाएर राप्रपा (प्रजातान्त्रिक) दर्ता गर्न राणाले आयोगमा ६४ केन्द्रीय सदस्यको हस्ताक्षरसहित निवेदन दिएका थिए। तर, आयोगले ती हस्ताक्षर सनाखत गर्नुपर्ने भन्दै भदौ ४ गतेसम्मको अवधि दिएपछि राणासहित नेताले सर्वोच्च गुहारेका थिए।- अन्नपूर्ण बाट


कोरियाली पूर्वप्रधानमन्त्री जेलमुक्त

सोल: दक्षिण कोरियाकी प्रथम महिला प्रधानमन्त्री हान म्योन सुकले सजाय भुक्तान गरी बुधबार रिहा भएकी छन्।
त्रिहत्तर वर्षीया नेतृ सुकलाई गैरकानुनी राजनीतिक कोष स्वीकार गरेको अभियोगमा दुई वर्ष लामो जेल सजाय तोकिएको थियो। उनले सन् २००६ को अप्रिलदेखि एक वर्ष दक्षिण कोरियाको प्रथम प्रधानमन्त्रीका रूपमा तत्कालीन राष्ट्रपतिको रोह मु ह्युनको मातहतमा रहेर काम गरेकी थिइन्।
उनी दक्षिण कोरियाको इतिहासमा जेल जाने पहिलो पूर्वप्रधानमन्त्री हुन्। हानमाथि सन् २०१५ मा ७ लाख ६० हजार अमेरिकी डलर बराबरको रकम आफ्नो दलको राष्ट्रपतीय निर्वाचनको मनोनयनका लागि एक व्यापारीबाट सन् २००७ मा गैरकानुनी रूपमा लिएको अभियोगमा अदालतले दुई वर्षको जेल सजाय सुनाएको थियो।
हानले भने आफू निर्दोष रहेको र झूटो आरोपमा फसाइएको दाबी गर्दै आएकी छन्। तत्कालीन अनुदारवादी सरकारले सरकारी अभियोजक (कानुनी अधिकारीलाई) प्रयोग गरी आफ्नो ख्यातिलाई बदनाम गराउन दोषी ठहर गराएको उनको भनाइ छ। आफ्नो राजनीति नष्ट गर्न फसाइएको भन्दै उनले आफू निर्दोष रहेको बताउँदै आएकी छन्। बुधबार बिहान जेलमुक्त हुँदा नेतृ सुकको स्वागत गर्न उनका हजारौँ समर्थक तथा दर्जनौं राजनीतिक सहकर्मी सोलको बाहिरी क्षेत्रमा रहेको जेल परिसर बाहिर भेला भएका थिए।
कोरियाली समाचार संस्था योन्हापले सुकको भनाइ उद्धृत गर्दै भनेको छ, ‘दुई वर्ष जेल रहँदा कठीन पीडाको सामना गर्नुपरेको थियो। अन्ततः नयाँ संसार पाएकी छु। म यसप्रति आभारी छु।' दक्षिण कोरियामा सुक बाहेक पनि विभिन्न भ्रष्टाचार अभियोगमा पूर्व नेता तथा राष्ट्रपतिहरू पनि जेल परेका छन्।
न दु ह्वान, रोह ताए उ जस्ता शक्तिशाली नेतालाई भ्रष्टाचार तथा राष्ट्रघात अभियोगमा र पूर्वराष्ट्रपति रोह मु ह्युन लगायतका अन्य नेताहरूलाई पनि कारावास सजाय दिइएको थियो। दक्षिण कोरियामा भ्रष्टाचार आरोपमा संसद्बाट महाभियोग लगाइएपछि अदालतको फैसलाद्वारा पदबाट हटाइएकी पूर्व राष्ट्रपति पार्क ग्युन हे पहिलो महिला राष्ट्रपति हुन्। रासस/एएफपी



एकराज पाठक, नयाँदिल्ली, भदौ ८ गते । भारतको राजकीय औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय राष्ट्रपति भवनमा आज बिहान आयोजित विशेष समारोहमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ ।

विशेष समारोहमा सरिक हुने क्रममा प्रधानमन्त्री देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गर्नुभएको थियो ।

सो अवसरमा सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री देउवाले नेपाल–भारत सम्बन्ध ऐतिहासिक र विशेष किसिमको रहेको बताउँदै भन्नुभयो, “खुला सिमाना र अरू विशिष्ट सम्बन्धका कारण नेपाल–भारत सम्बन्ध महत्वपूर्ण रहिआएको छ ।”

प्रधानमन्त्री देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिजो भारतको औपचारिक राजकीय भ्रमणमा यहाँ आउनुभएको छ ।
उक्त समारोहमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मा, पर्यटन नागरिक उड्डयन तथा संस्कृति मन्त्री जितेन्द्र देव समेतका नेपाली प्रतिनिधिमण्डलका उच्चपदस्थ व्यक्तिहरुको उपस्थिति थियो ।

प्रधानमन्त्री देउवाले आजै बिहान राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर पुष्पहार अर्पण गरी अहिंसाका पुजारी गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

प्रम देउवासँग विदेशमन्त्री स्वराजको भेट

प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रपति भवनमा आजै शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा उहाँहरुबीच नेपाल र भारतको बीचमा विगतमा भएका सन्धि सम्झौताहरुको कार्यान्वयनका लागि कार्यान्वयनको तहमा ल्याउने विषयमा छलफल भएको भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले बताउनुभयो ।

राजदूत उपाध्यायले विगतमा देखिएका समस्याको समाधानका लागि के कसरी अगाडि बढ्नुपर्छ र राजनीतिक इच्छाशक्ति कसरी कायम गर्ने भन्ने बारेमा पनि भेटमा छलफल भएको जानकारी दिनुभयो । रासस



भक्तपुर, भदौ ८ गते । हरितालिका (तीज) पर्वका अवसरमा आज भक्तपुरका प्रमुख शिवालयहरुमा बिहानैदेखि महिलाहरुको भीड लागेको छ ।

ब्रम्हा, बिष्णु र महादेवको त्रिमूर्तिका रुपमा मानिने भक्तपुरको प्रसिद्ध दत्तात्रय मन्दिर, केदारनाथको शिर मानिएको सिपाडोलको डोलेश्वर महादेव मन्दिर, आशापुरी महादेव मन्दिर, चित्तपोलको कैलाशनाथ महादेव मन्दिर, सिरुटारको सोमलिङ्गेश्वर, गुप्तेश्वर महादेव, कटुञ्जेको सुवर्णेश्वर महादेव मन्दिर, गुण्डुको अनन्तलिङ्गेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।

मन्दिरमा महिला दर्शनार्थीको भीड लागेपछि सहजरुपमा दर्शनार्थीलाई दर्शन गर्ने व्यवस्था एवं स्वास्थ्य शिविरको समेत आयोजना गरिएको छ । भक्तपुरको दत्तात्रय मन्दिर, डोलेश्वर महादेव मन्दिर, आशापुरी मन्दिरमा महिलाको अत्यधिक घुइँचो लागेकाले सुरक्षा व्यवस्थाका साथै स्वयंसेवक परिचालन गरिएको छ ।

महिलाहरु भोकै बसेर ब्रत बस्ने भएकाले सम्भावित दुर्घटनालाई ध्यानमा राखेर दत्तात्रय र डोलेश्वर मन्दिरमा स्वास्थ्य शिविरको समेत व्यवस्था गरिएको छ । रासस



काठमाडौँ, भदौ ८ गते । हरितालिका (तीज) का अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । भक्तजन बिहान २ बजेदेखि नै लाममा बसेपछि नै ३ बजे पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पशुपति मन्दिरभित्र प्रवेशका लागि तीनवटा लाइनको व्यवस्था गरिएको कोषका निर्देशक एवं मन्दिर तथा गुठी शाखा प्रमुख भोला सिटौलाले बताउनुभयो । पहिलो लाम बनकाली–पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट, दोस्रो लाम जयवागेश्वरी–भुवनेश्वरी मन्दिर हुँदै पश्चिम मूलढोकाबाट र तेस्रो लाम गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

लाम व्यवस्थित गरिएकाले गौशाला–चाबहिल सडक खुला रहेको छ । बिहान ८ बजेसम्म करिब एकलाख ५० हजार दर्शनार्थीले मन्दिर दर्शन गरिसकेका छन् । आज पशुपतिमा विशेष पूजाको कार्यक्रम राखिएको छैन । पशुपति प्रवेशमा कुनै पनि पासको पनि व्यवस्था नगरिएको निर्देशक सिटौलाले बताउनुभयो ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ६ बजे पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम रहेको कोषले जनाएको छ । रासस



 नेपाल क्रिकेट संघको प्रस्तावित विधानबारे छलफल गर्न मंगलबारदेखि नेपाल क्रिकेट संघ क्यानको बिशेष साधारणसभा सुरु भएको छ ।


आन्तरिक विवाद चरमोत्कर्षमा पुगेसँगै डेढ वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले क्यान निलम्बन गरेपछि गठन गरिएको सल्लाहकार समूहले तयार पारेको बिधान पारित गराउनका लागि आजको साधारणसभा आयोजना गरिएको हो ।

क्यानको निर्वाचित कार्यसमितिलाई बहिस्कार गर्दै राष्ट्रिय खेलकुद परिषदले नयाँ समन्वय समिति गठन गरेपछि क्रिकेट विवाद उत्कर्षमा पुगेको थियो, फलस्वरुप नेपाली क्रिकेट निलम्बनमा परेको थियो ।

आईसीसीले बिधानबारे छलफल गर्न भदौ १० गतेसम्मको अवधी दिएको थियो । समयसीमाभित्रै क्यानले बिधान स्वीकार गरेपनि साधारणसभाले बिधान पारित गराउने सम्भावना न्यून छ ।

किनभने आईसीसीलाई विधान ड्राफ्ट गर्दा नै निर्वाचित कमिटीका पदाधिकारीले असन्तुष्टी राखेका थिए । अहिले जिल्ला र क्षेत्रका पदाधिकारीले पनि विधानको २३ नम्वर बूँदामा असन्तुष्टी जनाएका छन् ।

यस बुँदामा संघको सदस्यताबारे उल्लेख छ । जहाँ क्रिकेट खेलाडीलाई सदस्यता दिन तीन वर्षको बीचमा क्यान तथा राखेपले आयोजना गरेको कम्तिमा तीन राष्ट्रिय प्रतियोगिता खेलेको हुनुपर्ने, रेफ्रीको हकमा एसीसी र आईसीसीको एक श्रेणीको प्रमाणपत्र हुनुपर्ने उल्लेख छ । त्यस्तै सदस्यता शुल्कमा पनि व्यक्तिगततर्फ १ हजार र संंस्थागत तर्फ ५ हजार तोकिएकोमा पनि प्रतिनिधिले बिरोध जनाएका छन् ।

केन्द्रीय कार्यसमितीले बढीमा तीन संस्थागत प्रतिनिधिलाई केन्द्रीय साधारण सभामा मताधिकार विना परिवक्षेकका रुपमा भाग लिन पाउने विषयमा राष्ट्रिय खेलकुद परिषदका साथै कार्यसमितीका केहि पदाधिकारी असन्तुष्ट छन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले साधारणसभाले विवाद समाधानसँगै क्यानको गठन गरेेर क्रिकेट विकासमा लाग्न आहृवान गरे ।




काठमाडौँ,  भदौ ६ गते । नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले महासंघलाई सबैको साझा संस्थाकारुपमा अगाडि बढाउने बताउनुभएको छ ।

महासंघको २५ औँ महाधिवेशनबाट निर्वाचित भएपछि आज यहाँ आयोजित बधाई ज्ञापन कार्यक्रममा अध्यक्ष आचार्यले कार्ययोजना बनाएर महासंघ सबैको साझा संस्था हो भन्ने अनुभूति दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नवनिर्वाचित उपाध्यक्ष विपुल पोखरेलले महासंघलाई सबैको साझा चौतारीका रुपमा लैजान आफूले काम गर्ने बताउनुभयो । उहाँले श्रमजीवी पत्रकारका समस्या समाधान गर्न सदैव प्रतिबद्ध रहने धारणा पनि व्यक्त गर्नुभयो ।

महासंघका पूर्व अध्यक्ष डा सुरेश आचार्य, तारानाथ दाहाल, सल्लाहकार पोषण केसी, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहाल, प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्मालगायतले महासंघलाई सबैको साझा संस्था बनाएर श्रमजीवी पत्रकारको हकहितका लागि काम गर्न नवनिर्वाचित कार्यसमितिलाई आग्रह गर्नुभयो ।

सोमबार भएको निर्वाचनको मतपरिणामअनुसार आचार्य ७३२ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गर्नुभएको थियो ।

अन्य पदाधिकारीमा पनि आचार्य नेतृत्वकै प्रेस युनियन, प्रेस सेन्टर र प्रगतिशील पत्रकार संघको संयुक्त समूह विजयी भएको छ भने केही सदस्यमा प्रेस चौतारी नेपाल समूहका प्रतिनिधि विजयी भएका छन् । कुल एक हजार ५०८ मतदाता रहेको निर्वाचनमा एक हजार ४४९ मत खसेको थियो ।

निर्वाचित पदाधिकारीमा खुला उपाध्यक्षमा विपुल पोख्रेल, समावेशी उपाध्यक्षमा दिलीप थापामगर, महासचिवमा रमेश विष्ट, खुला सचिवमा रामप्रसाद दाहाल, महिला सचिवमा लक्ष्मी पुन, आदिवासी जनजाति सचिवमा उदय जिएम, मधेशी सचिबमा शीतलप्रसाद महतो, दलित सचिवमा रेमबहादुर विश्वकर्मा, एशोसिएट सचिवमा प्रकाश थापा र कोषाध्यक्षमा राजेश मिश्र हुनुहुन्छ ।

यस्तै, लेखा समितिको संयोजकमा रोशन पुरी र लेखा सदस्यमा मीरा राजभण्डारी र भूपेन्द्र आचार्य विजयी हुनुभएको छ । खुला केन्द्रीय सदस्यमा जन्मदेव जैसी, टेकराज शाही, नकुल अर्याल, लक्ष्मण कार्की र हरिहरसिंह राठौर विजयी हुनुभएको छ ।

महिला केन्द्रीय सदस्य जानुका बराल, श्वेता सिह्ना र सृजना अर्याल, दलित केन्द्रीय सदस्यमा गोपाल बराइली र मधु शाही, उपत्यका केन्द्रीय सदस्यमा गोविन्दप्रसाद चौलागाईं र लेखनाथ न्यौपाने, आदिवासी जनजाति केन्द्रीय सदस्यमा टेकराज थामी र राजेश चाम्लिङ राई, मधेशी केन्द्रीय सदस्यमा अवधेशकुमार झा र सुरेशकुमार यादव, केन्द्रीय सदस्य अपांगता माधव चम्लागाई, केन्द्रीय सदस्य अल्पसंख्यकमा छेटु शेर्पा, केन्द्रीय सदस्य प्रतिष्ठानमा टीकाराम प्रधान र यम विरही, केन्द्रीय सदस्य एशोसिएटमा पवन आचार्य र राधेश्याम दाहाल विजयी हुनुभएको छ ।

यस्तै प्रादेशिक केन्द्रीय सदस्यमा प्रदेश नं १बाट उद्धव तिम्सिना र सटेन्द्र जवेगु, प्रदेश २ बाट देवकुमार यादव र शैलेन्द्र झा, प्रदेश नं ३ बाट कृष्ण गिरी र द्धारीका काफ्ले, प्रदेश ४ बाट नवीनराज कुइँकेल र रामकृष्ण ज्ञवाली, प्रदेश नं ५बाट पुरुषोत्तम सुवेदी र वसन्त गिरी, प्रदेश नं ६ बाट पूर्णप्रसाद चौलागाईं र कलेन्द्र सेजुवाल र प्रदेश नं ७ बाट मीन बम, उत्तरसिंह विष्ट र श्यामदत्त भट्टले बराबर मत प्राप्त गर्नुभएको छ । रासस



काठमाडौँ, भदौ ६ गते । नेकपा (एमाले) निकट युवा सङ्घ नेपालको केन्द्रीय कमिटीको बैठक यही भदौ १६ र १७ गते काठमाडौँमा हुने भएको छ ।

उक्त बैठकले संगठनको स्थायी समितिले आगामी असोज २२ देखि २४ गतेसम्म नवाँै महाधिवेशन काठमाडौँमा गर्नका लागि गरेको निर्णयलाई अनुमोदन गर्नेछ ।

यसअघि सङ्घले महाधिवेशनलाई भव्य तथा मर्यादित बनाउन मूल समारोह समिति गठन गरी अध्यक्ष राजीव पहारीलाई संयोजक तथा उपाध्यक्ष दिलु पन्तलाई उपसंयोजक जिम्मेवारी प्रदान गरेको छ ।

आसन्न महाधिवेशन सम्पन्न गर्न लाग्ने खर्च तथा स्रोत व्यवस्थापनका लागि बैठकले छलफल गर्नेछ । प्रतिनिधि छनोटका आधार तथा मापदण्ड तयार गर्नेछ । विभिन्न उपसमिति गठन गरी विभिन्न नेतालाई जिम्मेवारी प्रदान गर्ने उपाध्यक्ष पन्तले जानकारी दिनुभयो ।

केन्द्रीय कमिटीका पदाधिकारी तथा केन्द्रीय सदस्य, विभिन्न ३१ विभागका सचिव तथा प्रदेश नं ३ का नगर समितिका अध्यक्षलगायतको सहभागितामा हुने उक्त महाधिवेशनले केन्द्रीय नेतृत्वसमेत छनोट गर्नेछ ।

यसपटक महाधिवेशनमा ‘सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि अबको युवा अभियान’ भन्ने मूलनारा तय गरिएको छ । राष्ट्रिय स्वाभिमान र संविधान पूर्ण कार्यान्वयन नै संगठनको मूल कार्यदिशा बनाइएको छ । रासस



राजविराज, भदौ ६ गते । बाढीबाट अति प्रभावित मैनाकडेरीका छ सय घरपरिवारलाई डिजिकन कन्सल्टेण्ट प्रालि काठमाडौँले सोमबार राहत वितरण गरेको छ ।

संस्थाले चाउचाउ, चिउरा, बिस्कुट, पानी, दालमोठलगायत सामग्री वितरण गरेको बताइएको छ । बाढीका कारण सडक बिग्रेकाले मैनाकडेरीको बस्तीसम्म सवारी साधन पुग्न सहज नभएका कारण काठमाडौँबाट ल्याइएको राहत सामग्री बयल गाडामा राखेर तथा टाउकामा बोकेर बाढीपीडितलाई दिइएको प्रालिका प्रबन्ध निर्देशक रामउदार यादवले जानकारी दिनुभयो ।

यस्तै मोहुली नदीको बाढीबाट प्रभावित हनुमाननगर कंकालनी नगरपालिका–२ स्थित नहरमा पाल टाँगेर बस्दैआएका सकरदहीका ४० परिवारलाई समेत राहत उपलब्ध गराइएको बताइएको छ ।
करिब दुई साता अगाडि अविरल वर्षासँगै आएको बाढीका कारण सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिकाको सकरपुरा बस्तीमा घरविहीन भएका बाढीपिडितका लागि पनि एक सामाजिक संस्थाले राहत वितरण गरेको छ । भइरोचना फाउण्डेशन काठमाडौँले सो ठाउँका ९८२ घरपरिवारका लागि तीन हजार केजी चामल, दुई सय केजी मुसुरो दाल, दुई सय लिटर खाने तेल, ५० केजी सोयाबिन मस्यौरा र ५० केजी नुन उपलब्ध गराएको बताइएको छ ।

अहिले पनि बाढीका कारण घरघरमा पानी रहेकाले सो बस्तीका बाढीपीडित तीन ठाउँमा पाल बनाएर बस्न बाध्य भएको बाढीपीडितले बताएका छन् । रासस



काठमाडौँ, भदौ ६ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी ह्विप उल्लंघन गर्ने सांसदलाई कारबाही गर्ने भएको छ ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको पदाधिकारी तथा सांसदको संयुक्त बैठकले व्यवस्थापिका–संसद्मा सोमबार संविधान संशोधनको प्रक्रियामा सहभागी नभएका १८ सांसदले पार्टी हित विपरीत काम गरेको ठहर गर्दै उनीहरुमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।

बैठकमा प्रमुख सचेतक कुन्तीकुमारी शाहीले संविधान संशोधनको विपक्षमा मतदान गर्न सम्पूर्ण सांसदलाई पार्टी ह्विप जारी गरिएकामा अनुपस्थित रहेका सांसदबारे जानकारी दिनुभएको थियो ।

पार्टी विभाजनको प्रयत्न गरेका नेता पशुपतिशम्शेर जबरा समूहको दललाई कानुनी मान्यता दिन सोमबार सर्वोच्च अदालतले गरेको निर्णयका सम्बन्धमा पार्टीले कानून व्यवसायीसँग परामर्श गरी उपचारका लागि अदालतमा जाने निर्णय गरेको छ । काठमाडौँमा चाँडै काठमाडौँ उपत्यकास्तरीय कार्यकर्ता भेला गर्ने निर्णय पनि भएको छ । रासस

संशोधनमा दुई तिहाइका लागि ४८ मत पुगेन
व्यवस्थापिका संसदबाट संविधानको दोस्रो संशोधन प्रस्ताव अस्वीकृत भएको घोषणा गर्दै सभामुख ओनसरी घर्ती। तस्बिर: अन्‍नपूर्ण


काठमाडौं, भदौ ६ गते ।  सत्तारुढ र विपक्षी दलबीच लामो खिचातानीपछि सोमबार संसद्मा मतदान प्रक्रियामा गएको संविधान संशोधन विधेयक अस्वीकृत भएको छ ।संसद्मा सोमबार साँझ भएको मतदानमा विधेयकको पक्षमा ३४७ मत मात्रै परेको थियो । विधेयक पारित गर्न आवश्यक पर्ने दुई तिहाइ मतका लागि ४८ मत नपुगेपछि सभामुख ओनसरी घर्तीमगरले अस्वीकृत भएको घोषणा गरेकी थिइन् । विधेयकको विपक्षमा २०६ मत पर्‍यो । कुल ५९२ सांसदमध्ये मतदानको समयमा ५५३ जना मात्रै उपस्थित भएका थिए ।
सभामुखले संशोधन विधेयक अस्वीकृत भएको घोषणा गर्दा प्रमुख प्रतिपक्षी दल एमाले र राप्रपाका सांसदले लामो समयसम्म टेबुल ठोकेर स्वागत गरेका थिए । संशोधन विधेयकमा सत्ता गठबन्धनका चीनकाजी श्रेष्ठको मूल संशोधनसहित कुल ५० वटा संशोधन परेकोमा ४९ वटा संशोधनलाई ध्वनिमतका आधारमा बुहमतले अस्वीकृत गरिएको थियो । उक्त प्रस्ताव साउन ३२ गते बसेको संसद् बैठकमा पेस भएको थियो ।
मधेसकेन्द्रित दलको माग सम्बोधनका लागि भन्दै सरकारले चैत २३ गते संशोधन विधेयक दर्ता गरेको थियो । तर, दुई तिहाइ नपुग्ने भएपछि लामो समयसम्म विचाराधीन रहेको विधेयक 'पास-फेल जे भए पनि चुनावमा सहभागी हुन राजपा सहमत' र प्रमुख प्रतिपक्षी दल एमालेले पनि मतदान प्रक्रिया नरोक्ने सहमति गरेपछि मतदानमा लगिएको थियो ।
जेठ २३ गते प्रधानमन्त्रीको पदमा शेरबहादुर देउवालाई निर्वाचित हुँदा ३३८ मत पाएका थिए । त्यसबेला संसद्को कुल संख्या ५५८ थियो । राप्रपा (थापा) का पक्षबाट १९ जना सांसदले मतदान गरेका थिए । संशोधन विधेयकका पक्षमा कांग्रेसका २०७, माओवादी ८२, राजपाका २५, संघीय समाजवादी फोरम नेपालका १५, नेपाल फोरम लोकतान्त्रिकका १७, नेकपा संयुक्तका तीन र केही साना दलका सांसदले मतदान गरेका थिए । संशोधनको विपक्षमा एमालेका १८०, राप्रपाका १९, नेमकिपाका ४, राजमोका तीन र साना दलका केही मत परेको थियो ।
एमाले परिवर्तनविरोधी : राजपा
राजपाका नेता लक्ष्मणलाल कर्णले संविधान संशोधनको विपक्षमा मतदान गरेर एमालेले आफूलाई मधेसविरोधी मात्रै होइन, परिवर्तन र राष्ट्रिय एकताकै विरोधी भएको बताएका छन् । राजपाको मंगलबार बस्ने पदाधिकारी बैठकले संविधान संशोधनबारे समीक्षा गर्दै आगामी रणनीति तय गर्ने उनले जानकारी दिए । अध्यक्ष मण्डलका सदस्य अनिल झाले भने बाढीबाट पीडित मधेसी जनतामाथि अर्को पीडा थपिएको बताए ।
संघीय समाजवादी फोरम संसदीय दलका प्रमुख सचेतक शिवजी यादवले कांग्रेसलाई आफ्नो स्वार्थ सिद्ध हुन्छ भन्ने लागेको र अरू दलको पनि स्वास्र्थ मिलेकाले विधेयक अस्वीकृत भएको तर्क गरे । 'मधेसको मुद्दा कमजोर पार्न सकिन्छ भनेर यसो गरिएको हो तर मधेसमा यो मुद्दा अझ मुखरित भएर आउँछ । यो आगामी चुनावले देखाउँछ', उनले भने ।
सरकार नैतिक र गम्भीर हुनुपर्छ : नेम्वाङ
प्रमुख प्रतिपक्षी दल एमालेका उपनेता सुवास नेम्वाङले संविधान संशोधन फेल भएपछि सरकार नैतिक र गम्भीर बन्नुपर्ने बताए । सरकारले राजीनामा दिनुपर्ने÷नपर्ने भन्ने स्वयं सरकारले जान्ने विषय भएको उनको भनाइ छ । एमालेले यस्तै परिणाम आउँछ भनेरै संसद्मा मतदान होइन, विशेष समिति गठन गरी अघि बढौं भन्ने आग्रह सत्ता र राजपालगायतसँग गरेको उनले जानकारी दिए ।
राप्रपा नेता दिलनाथ गिरीले सरकारले आफ्नो दल विभाजन गराएको बदला आज संसद्मा सरकारद्वारा प्रस्तुत विधेयक फेल गराएर लिएको धारणा व्यक्त गरे । संसद्मा प्रस्तुत हुने अन्य सामान्य विधेयकका रूपमा संशोधन विधेयकलाई लिन नहुने उनको तर्क छ । 'विधेयक फेल भएकोमा सरकारले नैतिक जिम्मेवारी लिनुपर्छ', उनले भने । राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्य किरण गिरीले आफ्नो पार्टीले सोमबार मात्रै सर्वोच्च अदालतबाट वैधानिकता पाएकाले संसद्मा आउन प्राविधक कठिनाइ परेको बताए।
कांग्रेस नेता डा. प्रकाशरण महतले राजपासँगको सहकार्यले नै मतदान भएकाले उनीहरूले आगामी दिनमा राष्ट्रको मुद्दा अघि सार्दै असोज २ गते हुने स्थानीय निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे । 'अब आन्दोनल होइन, सहमति र सहकार्यबाट प्रदेश र केन्द्रको चुनावमा सबै संसदवादी शक्ति सहभागी हुने हो', उनले भने ।

मतदानमा अनुपस्थित सांसद
कांग्रेस - गीता वाग्ले, कविताकुमारी सरदारसहित -५ जना
एमाले - राज्यलक्ष्मी गोल्छा, नेजमा आलम, बलबहादुर महत, दिनेश यादवसहित - ६ जना
राप्रपा (प्रजातान्त्रिक) - आनन्दीदेवी पन्त, इस्तिहाक अहमद खान, गीता सिंह, दीपक बोहरा, विक्रम पाण्डे, रमेशकुमार लामा, राज्यलक्ष्मी श्रेष्ठ (नुवाकोट), लक्ष्मी थापा पासवान, सरोज शर्मा, सुनलीबहादुर थापा, सीता लुइँटेल ज्ञवाली, शयन्द्र वान्तवा, विराज बिष्ट, वविना मोक्तान लावती, रेशमबहादुर लामा, रामकुमार सुब्बा धानो महरा सिरहा, कमलदादलेवी शर्मा -१८
माओवादी केन्द्र -रविन्द्रप्रताप शाह, योगेन्द्रमान घिसिङ र कृष्ण धिताल- ३ जना
बहिष्कार माले -५, परिवार दल -२
जम्मा ४८ जना अनुपस्थित

earth

बाजुरा,  भदौ ६ गते । बाजुरामा भूकम्पको धक्का महसुस भएको छ । छिमेकी जिल्ला बझाङ केन्द्रविन्दु बनाएर आज राति १२ः५० बजे ४.९ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र, काठमाडाँैले जनाएको छ ।

भूकम्पले जिल्लामा कुनै क्षति नभएको प्रहरी नायब उपरीक्षक राजेन्द्र पोख्रेलले बताउनुभएको छ । भूकम्प गएपछि स्थानीयवासी त्रसित बनेका छन् । रासस



काठमाडौँ, भदौ ६ गते । साफ यु–१५ च्याम्पियनसिपमा आयोजक नेपालले सोमबार माल्दिभ्सलाई ६–० ले नराम्ररी हराएर प्रभावशाली सुरुवात गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पहिलो जित लगत्तै नेपालको सेमिफाइनल स्थान पक्का भएको छ । समूह ‘बी’ अन्तर्गत यसअघि भारतसँग पनि माल्दिभ्स ९–० ले पराजित भएको थियो । माल्दिभ्स लगातार हारसँगै प्रतियोगिताबाट बिदा भयो । एक दिनअघि श्रीलङ्का प्रतियोगिताबाट बाहिरिने पहिलो टिम बनेको छ ।
आजको खेलसँगै सेमिफाइनलमा पुग्ने चारै टिमको छिनोफानो भएको छ । समूह ‘ए’बाट भुटान र बङ्गलादेशको सेमिफाइनल स्थान पक्का भइसकेको छ । समूह ‘बी’बाट भारत र नेपाल अन्तिम चारमा पुगेका छन् । भारत गोल औसतमा नेपालभन्दा माथि छ । अब बुधबार भारत र नेपालबीच हुने खेलले समूह ‘बी’ विजेताको छिनोफानो गर्नेछ ।
नेपालकोे प्रभावशाली जितमा ब्रिजेश चौधरीका दुई गोल महìवपूर्ण रहे । कप्तान रोशन रानामगर, स्थानापन्न खेलाडी आकाश बुढामगर, रोशन दोङ र दर्शन गुरुङले पनि एक÷एक गोल गर्नुभयो । खेलको दोस्रो मिनेटमा नै कार्लोस बखारियाको प्रहार माल्दिभ्सका गोलरक्षक मोहम्मद रइफले जोगाउनुभएको थियो । सो प्रहारले नै आफ्नो आक्रमण खेलको झनक दिइसकेको नेपालले १४औँ मिनेटमा गोलको खाता खोल्यो । दर्शनले डिबक्समा क्रस गरेको बललाई ब्रिजेशले ‘फ्लिक’ हेडरमार्फत गोलपोस्टमा छिराउनुभएको थियो ।
२१औँ मिनेटमा दर्शन स्वयम्ले गोल गरी नेपालको अग्रता दोब्बर बनाउनुभयो । उहाँले रञ्जन पुनको पास सदुपयोग गर्नुभएको हो । खेलको ३८औँ मिनेटमा कप्तान रोशनले पेनाल्टीमा गोल गरी स्कोर ३–० पार्नुभयो । सो पेनाल्टी जित्ने भने दर्शन हुनुहुन्थ्यो । माल्दिभ्सका तीन डिफेन्डरलाई छलाएर डिबक्समा पुग्नुभएका दर्शनलाई लडाइदिएपछि नेपालले १२ गजबाट गोल गर्ने अवसर पाएको थियो । त्यसपछि पूर्वाद्र्धको इन्जुरी समयमा आकाशले सटीक प्रहारद्वारा गोल गरेपछि नेपाल मध्यान्तरमा जाँदा चार गोलले अगाडि भएको थियो ।
खेलको ३२औँ मिनेटमा आकाश रञ्जन घाइते भएपछि मैदानमा प्रवेश गर्नुभएको थियो । उत्तराद्र्धको दोस्रो मिनेटमा रोशनले गोल गरी खेलको दोस्रो भागमा पनि माल्दिभ्सलाई कठिन हुने
सङ्केत दिनुभएको थियो तर त्यसपछि नेपालले एक गोलमात्र थप्यो । खेलको ७३औँ मिनेटमा ब्रिजेशले सशक्त प्रहारमार्फत अन्तिम गोल गर्नुभएको हो ।
यद्यपि खेलको ८८औँ मिनेटमा रोशनले दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिनुपरेपछि नेपालको जित अलि खल्लो बनेको थियो । नेपालका प्रशिक्षक सुनील श्रेष्ठले माल्दिभ्सविरुद्ध पूरा आक्रामक रणनीति अपनाएकाले यस्तो नतिजा आएको बताउनुभयो । आधा दर्जन गोल गरेर जितेपछि खुसी देखिनुभएका प्रशिक्षक सुनीलले टिममा भने अझै सुधारको आवश्यकता रहेको भनाइ राख्नुभयो ।
माल्दिभ्सका प्रशिक्षक मोहम्मद साज्लीले नेपालको टिम उत्कृष्ट भएको भन्दै अब भारतविरुद्ध घरेलु टिमको वास्तविक परीक्षा हुने बताउनुभयो ।


pull

बाजुरा,  भदौ ६ गते  । साँफे–मार्तडी जोड्ने राजमार्गअन्तर्गतको गुइगाड खोलाको पुल सात वर्षसम्म निर्माणाधीन अवस्थामा रहेको छ । पुल निर्माणका लागि जिम्मा लिएको राजेन्द्र ठेगिम कम्पनीले तीन वर्षभित्र निर्माण गर्ने गरी सम्झौता गरेको भए पनि अहिलेसम्म पुल निर्माण हुन सकेको छैन ।

पुल निर्माण नहुँदा गुइगाड खोलाको बाटोमा साना तथा ठूला सवारी साधन र मानिसलाई आवतजावत गर्न कठिन भएको स्थानीय मंगल सेरालाले बताउनुभएको छ । पुल निर्माणका लागि २०६८ मा ठेक्का सम्झौता भई २०७० असार मसान्तसम्म सक्नुपर्ने सम्झौता भएपनि एक वर्ष अर्थात् २०७२ असारसम्मको म्याद थपिएको थियो । वर्षायाममा अत्यधिक वर्षा भएपछि खोलामा पानीको बहाव बढेको छ । पानीको बहावले गर्दा बडीमालिका नगरपालिकाको रापकसम्म चल्ने सवारी साधन बुढीगंगा नगरपालिकाको बाम्कासम्म मात्र जाने गरेका छन् ।

विसं २०७० साउन मसान्तभित्र काम पूरा नभएपछि सडक विभागले पुनः काम गर्ने गरी सोही रकममा कम्पनीलाई म्याद थप गरेको थियो । तर २०७१ मा समेत पुल निर्माण गर्न नसक्दा कम्पनीले पुनः तेस्रोपटक म्याद थप गराएर काम गरेको हो । तर पनि हालसम्म गुइगाडको पुल बन्न सकेको छैन ।

ठेकेदारले सम्झौतापत्रको शर्तअनुसार काम गरेको भए साँफे –मार्तडी सडकमा पर्ने गुइगाडमा डेढ वर्षअघि नै पुल बनिसक्ने थियो । ठेकेदारले काम गरेनन्, म्याद भने पटक–पटक थपिइरहेको छ स्थानीयवासी जयराज उपाध्यायले भन्नुभयो ।

गएको असार मसान्तभित्र काम पूरा गर्ने भन्दै कम्पनीले चौथोपटक म्याद थप गराएको हो । अहिलेसम्म काम भने बीचमै रोकिएको छ । उक्त पुल निर्माणका लागि करिब रु साढे पाँच करोडमा ठेक्का सम्झौता भएको सवडिभिजन साँफेबगरले जनाएको छ ।

कम्पनीले २०७३ को असारमै पुल बनाइसक्नुपर्ने थियो । तर अकस्मात् भूकम्पले गर्दा पुल नबनेको कम्पनीले बताएको छ । पुल निर्माणको काम गर्ने मजदुर भूकम्पले घर भत्काएको भन्दै आ–आफ्नो घर फर्किएपछि पुल निर्माण हुन नसकेको बताइएको छ । ६० मिटर लम्बाइको ट्रस ब्रिज निर्माणका लागि आवश्यक ट्रस निर्माणका लागि जिम्मेवारी दिएको कम्पनीले आफ्नो काम नगरेकाले निर्धारित समयमा पुल निर्माण भएको छैन ।

सदरमुकामदेखि करिब २४ किमी दूरीको गुइगाडमै यातायात र ढुवानीका साधन रोकिन्छन् । बाटो खोलिएको कच्ची सडकमा जोखिम मोलेर व्यवसायीले हिउँदमा मात्रै मार्तडीसम्म जिप तथा ढुवानीका लागि ट्र्याक्टर चलाउने र बाजुराका सडक वर्षात्को अवधिमा बन्द हुने गरेका छन् । रासस

sher bdr deuwa

काठमाडौँ, भदौ ६ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा यही भदौ ७ देखि ११ गतेसम्म भारतको राजकीय भ्रमण गर्दै हुनुहुन्छ । प्रधानमन्त्री देउवाका साथमा उहाँकी धर्मपत्नी डा. आरजु राणा, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, मन्त्री, सांसद, सचिव तथा उच्च सरकारी अधिकारी रहनुहुने परराष्ट्र मन्त्रालयले सोमबार जनाएको छ । प्रधानमन्त्री देउवा भारत सरकारको विशिष्ट पाहुनाका रूपमा भारतीय राष्ट्रपति भवनमा बस्नुहुनेछ ।

प्रधानमन्त्री देउवाको भदौ ८ गते भारतीय राष्ट्रपति भवनमा औपचारिक स्वागत हुनाका साथै उहाँले ‘गार्ड अफ अनर’ पनि ग्रहण गर्नुहुनेछ । त्यसलगत्तै प्रधानमन्त्री देउवाले महात्मा गान्धीको समाधिस्थल राजघाट गई श्रद्धाञ्जलि अर्पण गर्नुुहुनेछ । सोही दिन प्रधानमन्त्री देउवाले भारतीय राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति एम वेंकैया नायडुसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुहुनेछ ।
त्यसैगरी प्रधानमन्त्री देउवाले आफ्ना भारतीय समकक्षी मोदीसँग औपचारिक बैठक गर्नुहुनेछ । भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवा र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज आयोजना गर्नुहुनेछ । भ्रमणका दौरानमा प्रधानमन्त्री देउवासँग भारतका केही वरिष्ठ मन्त्रीले शिष्टाचार भेटवार्ता गर्नुहुनेछ ।
प्रधानमन्त्री देउवाले आफ्नो सम्मानमा भारतस्थित नेपाली राजदूतावासले आयोजना गर्ने स्वागत कार्यक्रममा पनि सहभागी हुनाका साथै त्यहाँस्थित नेपाली समुदायसँग छुट्टै अन्तरक्रिया गर्नुहुनेछ । त्यहाँ रहँँँदा उहाँले नेपाल–भारत विषयका जानकार तथा भारतीय व्यवसायीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
भ्रमणकै अवसरमा नेपाली प्रतिनिधिमण्डलका नेता प्रधानमन्त्री देउवाले भारतको तेलाङ्गना, आन्ध्रप्रदेश र बिहार राज्यको भ्रमणसमेत गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँ भदौ ११ गते स्वदेश फर्कनुहुने कार्यक्रम छ ।

काठमाडौँ, भदौ ६ गते । नेपाल पत्रकार महासङ्घको २५औँ महाधिवेशनबाट अध्यक्षमा गोविन्द आचार्यसहित ४७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । मतगणनाको परिणामअनुसार आचार्यले ७३२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गर्नुभयो ।

पदाधिकारीहरुमा पनि आचार्य नेतृत्वकै प्रेस सेन्टर र नेपाल प्रेस युनियनको संयुक्त समूह विजयी भएको छ भने केही सदस्यहरुमा प्रेस चौतारी नेपालको समूह विजयी भएको छ । कूल एक हजार ५०८ मतदाता रहेको निर्वाचनमा एक हजार ४४९ मत खसेको थियो ।govinda acharya

निर्वाचित पदाधिकारीहरुमा खुला उपाध्यक्षतर्फ विपुल पोख्रेल, समावेशी उपाध्यक्ष दिलीप थापामगर, महासचिव रमेश विष्ट, खुला सचिव रामप्रसाद दाहाल, महिला सचिव लक्ष्मी पुन, आदिवासी जनजाति सचिव उदय जिएम, मधेशी सचिव शीतलप्रसाद महतो, दलित सचिव रेमबहादुर विश्वकर्मा, एशोसिएट सचिव प्रकाश थापा र कोषाध्यक्ष राजेश मिश्र हुनुहुन्छ ।

यस्तै, लेखा समितिको संयोजकमा रोशन पुरी विजयी हुनुभएको छ । रासस

राणा अदालतको आदेश पर्खंदै, थापा ह्वीप लगाउने रणनीतिमा


काठमाडौं, भदौ ५ गते  । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवाद निकै रोचक चरणमा प्रवेश गरेको छ । पशुपतिसमशेर राणा पक्षले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा दिएको निवेदन अस्वीकृत हुने सम्भावना बढेको छ । राणा पक्षले सर्वोच्च अदालतमा हालेको रिट निवेदन भने ‘हेर्दाहेर्दै’ को अवस्थामा छ ।

संविधान संशोधन प्रस्ताव व्यवस्थापिका संसदमा आजै निर्णयार्थ प्रस्तुत हुन लागेका बेलामा राप्रपाभित्रको विवादलाई थप अर्थपूर्णरुपमा हेरिएको छ ।


कमल थापा नेतृत्वको राप्रपाले संविधान संशोधनको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ भने पशुपतिसमशेर नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) ले संशोधनको पक्षमा मतदान गर्ने बताउँदै आएको छ ।

राप्रपाका ३७ मध्ये राणाको पक्षमा १९ सांसद र थापाको पक्षमा १८ सांंसद रहेको बताइँदै आएको छ ।

तर, संसदमा भोटिङ हुने दिन नै निर्वाचन आयोगले गोरखापत्रमा सूचना प्रकाशित गरेर पशुपति समशेरको निवेदन अनुसार सदस्यहरुको सनाखत नभएको स्पष्ट पारेको छ ।

निर्वाचन आयोगमा राणा समूहले दल दर्ताको मान्यताका लागि सनाखत नगराए पनि उसलाई सर्वोच्च अदालतको आश भने अझै बाँकी नै छ ।

पशुपतिसमशेर राणाले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आइतबार सुनुवाइ सुरु भएको थियो, तर वकिलहरुको बहस नसकिएकाले ‘हेर्दाहेर्दै’ को अवस्थामा छ ।

आज संसदमा संविधान संशोधन विधेयकमाथि मतदान हुनुअघि नै सर्वोच्चले निर्वाचन आयोगको निर्णयमाथि प्रतिघात हुने कुनै निर्णय सुनाएन भने राणा समूहले दल दर्ताको वैधानिकता प्राप्त गर्ने बाटो बन्द हुने सम्भावना छ । त्यसपछि कमल थापालाई आफ्ना विद्रोही सांसदहरुमाथि कारवाही चलाउने बाटो खुल्नेछ ।

कथंकाल सर्वोच्च अदालतले संवैधानिक अंगका रुपमा रहेको निर्वाचन आयोगको निर्णयलाई पुनर्विचार गर्न भन्यो भने वा अझ अगाडि बढेर राणा समूहलाई दलको मान्यता दिनू भनिदियो भने राप्रपा प्रजातान्त्रिकले दलको मान्यता पाउने बाटो खुल्नेछ ।

आयोगमा बहुमत देखाउन राणा असफल ?

कानूनतः पार्टी राप्रपा विभाजनमा राणा पक्षले वैधानिकता पाउनका लागि निर्वाचन आयोगमा केन्द्रीय समितिका ४० प्रतिशत सदस्यहरुको सनाखत गरिनुपर्छ । पहिले पार्टी फुटाउन सांसदहरु मात्रै ४० प्रतिशत बनाउँदा हुन्थ्यो, नयाँ संविधान आएपछि यसले पार्टी चोइट्याउने प्रवृत्तिलाई निरुत्साहित गर्दै सांसद र केन्द्रीय सदस्यहरुको संख्या ४० प्रतिशत पुर्‍याउनुपर्ने भनेको छ ।

यसै अनुसार आफूसँग ४० प्रतिशत केन्द्रीय सदस्यहरु रहेको दाबी गर्दै राप्रपा नेता पशुपतिसमशेर राणाले गत साउन २२ गते निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

सो निवेदन दर्ता स्वीकार गरेको निर्वाचन आयोगले राणा पक्षलाई आयोगमा उपस्थित भई भदौ ४ गते बेलुका ५ बजेसम्म हस्ताक्षर सनाखतका लागि उपस्थित हुन भनेको भनेको थियो ।

तर, राणाले सर्वोच्च अदालतमा दिएको निवेेदनमा भनिएको छ कि साउन २२ गते आवेदन दर्ताका बेलामा नै निर्वाचन आयोगले हस्ताक्षरहरुको सनाखत गरिसकेको हुनाले त्यसैलाई सदर गरियोस् ।

आइतबार अदालतमा बसह गर्ने क्रममा राणा पक्षका वकिलहरुको तर्क के थियो भने एउटै विषयमा पटक-पटक हस्ताक्षर सनाखत गर्न आऊ भन्नु भनेको प्राकृतिक न्यायको सिद्धान्त विपरीत छ ।

संविधानले नै राजनीतिक दल खोल्न नागरिकलाई अधिकार दिएको हुनाले राप्रपा प्रजातान्त्रिकले ४० प्रतिशत हस्ताक्षर सहित निर्वाचन आयोगमा निवदेन दिइसकेपछि आयोगले यसलाई रोक्न नमिल्ने राणा पक्षका नेताहरुको तर्क छ ।

निर्वाचन आयोग पनि विवादमा तानियो

राप्रपाको विवादलाई लिएर निर्वाचन आयोगसमेत विवादमा तानिएको छ । साउन २२ मा आयोगले राणाको निवदेन बुझ्दाखेरि कमल थापा पक्षले आयोग पूर्वाग्रहरी भएको आरोप लगाएको थियो । आज राणा समूहको हस्ताक्षर सनाखत नभएको सूचना आएपछि राणा समूहले निर्वाचन आयोग पूर्वाग्रही बनेको आरोप लगाएको छ ।

निर्वाचन आयोगले सोमबार गोरखापत्रमा निकालेको सूचनामा भनिएको छ- ‘सनाखतको लागि उपस्थित हुन तोकिएको मिति र। समयमा कुनै पनि सदस्य आयोगमा उपस्थित नभएकाले आयोगको मिति ०७४/५/४ को निर्णय अनुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

यसको अर्थ अब राप्रपा प्रजातान्त्रिक नामको दल दर्ता गर्ने सम्भावना सकिएको हो कि भनेजस्तो देखिन्छ ।

तर, यसबारे अझै आयोगले अन्तिम निर्णय गर्न बाँकी रहेको स्रोत बताउँछ । राणा पक्षका एक नेताले अनलाइनखबरसँग भने- ‘सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भइरहेका बेलामा आयोगले यसबारे निर्णय गर्न सक्दैन । सोमबारको सूचना जारी गर्ने निर्णय दुईजना आयुक्तहरुले मात्रै गरेका छन्, अरु आयुक्त र प्रमुख आयुक्तको निर्णयविनै यस्तो सूचना जारी भएको छ ।’

अब राणाको ध्यान सर्वोच्च अदालततिर

निर्वाचन आयोगले आफ्नो दललाई मान्यता नदिनेजस्तो संकेत देखेपछि अब राणा पक्षको ध्यान सर्वोच्च अदालततिर खिचिएको छ । आयोगले आफ्नो दललाई मान्यता नदिने छनक पाएरै पशुपति समशेर अदालत पुगेका हुन् ।

सर्वोच्च अदालतमा आइतबार राप्रपा विवादबारे सुनुवाई प्रारम्भ भए पनि वकिलहरुले बोल्ने क्रम नसकिएकाले यो रिट ‘हेर्दाहेर्दै’ को अवस्थामा छ ।

आइतबार न्यायाधीश तेजबहादुर केसीको एकल बेञ्चमा यो मुद्दामाथि सुनुवाई भएको थियो । पशुपति समशेर राणाका तर्फबाट बरिष्ठ अधिवक्ताहरु हरिहर दाहाल, बद्रीबहादुर कार्की लगायतले बहस गरेका थिए भने कमल थापाका पक्षबाट बरिष्ठ अधिवक्ता शम्भु थापा र टीकाराम भट्टराई लगायत सहभागी थिए । तर, थापा पक्षका वकिलहरुको बहस नसकिएकाले मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो ।

तर, यसमा कमल थापा पक्षका वकिलहरुले नियतबस बहस लम्व्याएको आरोप राणा पक्षले लगाएको छ ।

कमल थापाको रणनीतिः ह्वीप र कारबाही

यसैवीच हेटौडामा केही दिनको केन्द्रीय समिति बैठक सकेर कमल थापाको टोली राजधानी फर्केको छ । राजधानी फर्केलगत्तै राप्रपाले संसदीय दलको बैठक डाकेको छ ।

संविधान संशोधनको विषयमा सांसदहरुलाई निर्देशन दिनका लागि दलको बैठक बोलाइएको राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

‘संविधान संशोधनको विपक्षमा मतदान गर्न पार्टीले ह्वीप जारी गर्न सक्छ,’श्रेष्ठले भने- ‘जसले ह्वीप उल्लंघन गर्छन्, ती सांसदलाई पार्टीले कारबाही गर्न सक्छ ।’- अनलाइनखबर



पुरुष फुटबलकी  महिला रेफ्री

शुक्रबारदेखि सुरु भएको जर्मन बुन्डेस लिगाको नयाँ सिजनको आगामी खेलहरूमा महिला रेफ्रीले पुरुष टोलीलाई खेलाइरहेको दुर्लभ दृश्य देख्न पाइने भएको छ । जर्मनीको दोस्रो डिभिजनमा एक दशक बिताएपछि बिबियाना स्टेनहस युरोपकै प्रतिष्ठित लिगमध्येको एक बुन्डेस लिगामा पुरुषको खेल सञ्चालन गर्ने पहिलो महिला रेफ्री बनेकी हुन् ।
पहिलो खेल खेलाएसँगै बिबियानाले बुन्डेस लिगामा पुरुषको खेल खेलाउने पहिलो महिला रेफ्रीको इतिहास पनि रच्नेछिन् । बिबियानालाई जर्मन फुटबल महासंघले हालै बुन्डेस लिगाको २४ जनाको रेफ्री इलाइट प्यानलमा बढुवा गरेको थियो । ‘रेफ्री महिला वा पुरुष जे भए पनि उसको एकमात्र उद्देश्य बुन्डेस लिगाका खेल सफलतापूर्वक सञ्चालन गर्नु नै हो । मैले पनि त्यही उद्देश्य पूरा गर्न धेरै मेहनत गरेकी छु । यसका लागि मैले थुप्रै अवरोधहरू पनि पार गरेकी छु’, गत मेमा बुन्डेस लिगाको इलाइट रेफ्री प्यानलमा बढुवा भएपछि ३८ वर्षीया बिबियानाले भनेकी थिइन्, ‘मप्रति विश्वास देखाएकोमा रेफ्री कमिसनलाई धन्यवाद पनि दिन चाहन्छु ।’
बिबियानाका पिता पनि रेफ्री नै हुन् । बिबियानाले सन् १९९९ मा महिलाको खेलमार्फत रेफ्रीको भूमिका निर्वाह गर्न थालेकी हुन् । उनी सन् २००५ मा फिफा रेफ्री बनेकी थिइन् भने त्यसको दुई वर्षपछि जर्मनीको दोस्रो डिभिजनको लिगका लागि छनोट भएकी थिइन् । उनी त्यसबेला जर्मनीको व्यावसायिक फुटबलमा पहिलो महिला रेफ्री बनेकी थिइन् । त्यसयता बिबियानाले महिला विश्वकप र युरोपियन च्याम्पियनसिपका खेलहरू पनि खेलाइसकेकी छिन् ।
बिबियानाले सन् २०१२ मा भएको लन्डन ओलम्पिकअन्तर्गत महिलातर्फको स्वर्ण पदकका लागि भएको अमेरिका र जापानबीचको फाइनल खेलमा पनि रेफ्रीको भूमिका निर्वाह गरेकी थिइन् । यसैगरी उनले गत जुनमा सम्पन्न महिलाको च्याम्पियन्स लिगअन्तर्गत लियोन र पेरिस सेन्ट जर्मन (पीएसजी) बीचको खेल पनि खेलाएकी थिइन् ।
जर्मनीको प्रहरी अधिकृतसमेत रहेकी बिबियानाले पुरुषको खेल भने यसअघि नै खेलाइसकेकी छिन् । गत शनिबार जर्मन कपअन्तर्गत बार्यन म्युनिखले चेम्निजर एफसीविरुद्ध खेल्दा उनी रेफ्रीको भूमिकामा थिइन् ।- अन्नपूर्ण बाट

प्रदेश र संघीय चुनाव मंसिर १० गते


काठमाडौं, भदौ ५ गते । सरकारले प्रदेश र संघीय चुनाव एकै दिन गर्ने गरी मिति घोषणा गरेको छ।
आज विहान बसेको मन्त्रिपरिषदको बैठकले आगामी मंसिर १० गतेका लागि चुनावको मिति घोषणा गरेको हो।
यसअघि प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकले पनि दुबै चुनाव एकै चरणमा गर्नुपर्ने निर्णय गरेका थिए।- अन्नपूर्ण बाट



काठमाडौँ, भदौ ५ गते । नेपाल पत्रकार महासङ्घको २५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ ।

आज बिहान १० बजेबाट मतदान शुरु भएको निर्वाचन समितिका संयोजक चिरञ्जीवी खनालले जानकारी दिनुभयो ।

महासङ्घको नयाँ नेतृत्वका लागि तीर्थ कोइराला, गोविन्द आचार्य, उजिर मगर, इन्द्र राउत र भावना (विद्रोही) बीच नेतृत्व हत्याउने रस्साकस्सी छ । प्रत्येक प्रदेशको छुट्टाछुट्टै ठाउँमा मतदान भइरहेको छ ।

पैंतालीस सदस्यीय कार्यसमितिका लागि आज दिउँसो ३ बजेसम्म निर्वाचन हुनेछ । कूल मतदाता एक हजार ५१६ जनाले मतदान गर्नेछन् ।

मतगणना नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालय सञ्चारग्राममा गरिने कुरा समितिका संयोजक खनालले जानकारी दिनुभयो । रासस


देश निर्माणमा सञ्चार क्षेत्रले योगदान गर्नुपर्छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवा राजधानीमा आइतबार आयोजित नेपाल पत्रकार महासंघको २५औं महाधिवेशनको उद्घाटन गर्नुहुँदै । 

                           ‘पत्रकारितामा दुःख छ भन्ने मैले राम्ररी बुझेको छु’

 
काठमाडौँ,  भदौ ४ गते  ।  ।  प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्।
‘व्यावसायिक पत्रकारिताको आधार-प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा आइतबारदेखि सुरू भएको नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशनको उद्घाटन गर्दै उनले मुलुकका विभिन्न समयमा भएका परिवर्तनमा पत्रकारिता जगतको अत्यन्त महत्वपूर्ण योगदान रहेको र अब देश निर्माणमा समेत सञ्चार क्षेत्रबाट अझ बढी योगदान हुनुपर्नेमा जोड दिए।
एक प्रसङ्गमा देउवाले भने, ‘नेपालमा मिडिया धेरै छन्, ती आर्थिक रुपमा कमजोर छन्, पत्रकारितामा दुःख छ भन्ने मैले राम्ररी बुझेको छु।’ अभिव्यक्ति र पूर्ण प्रेस स्वतन्त्रताको हक संविधानले प्रत्याभूत गरेको उल्लेख गर्दै उनले संविधान कार्यान्वयनका लागि निर्धारित समयभित्रै सबै निर्वाचन गर्नुपर्ने बताए।   - तस्बिर : रोशन सापकोटा, रासस

फेरि सरकार विस्तार हुँदै,  माओवादीबाट ८ राज्यमन्त्री थपिदै
काठमाडौं,  भदौ ४ गते  ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार सरकार विस्तार गर्दैछन्। सत्तारुढ माओवादीले राज्यमन्त्रीमा आठ जनाको नाम सिफारिस गरेपछि सरकार तेस्रो पटक विस्तार हुन लागेको हो।
माओवादीले पार्टीका तर्फबाट राज्यमन्त्रीमा सिफारिस भएका आठ जनाको नाम प्रधानमन्त्रीलाई बुझाइसकेको छ।
माओवादीबाट जाकिर हुसैन (उmर्जा), श्यामकुमार श्रेष्ठ (गृह), रामा सिंह यादव (परराष्ट्र), शम्भुलाल श्रेष्ठ (स्वास्थ्य), कर्णबहादुर विक (आपूर्ति), छमबहादुर गरुङ (सहरी), गोमा कुँवर (पशुपन्छी), ओङ्दी शेर्पा (सामान्य प्रशासन) को नाम राज्यमन्त्रीका लागि सिफारिस गरिएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार आज साँझसम्म राज्यमन्त्रीको सपथ हुने कार्यक्रम छ।
मन्त्रिमण्डलमा कांग्रेसबाट १० र फोरम लोकतान्त्रिकबाट तीन राज्यमन्त्री थप गर्न लागिएको पनि बताइएको छ तर कांग्रेसले भने राज्यमन्त्रीको नाम अझै टुंगो लगाउन सकेको छैन। भदौ ७ गते प्रधानमन्त्री देउवा भारतभ्रमण जानुअघिसम्म कांग्रेसका तर्फबाट पनि राज्यमन्त्रीको सपथ हुन सक्ने कांग्रेसका एक नेताले बताए।- अन्नपूर्ण बाट



चरिकोट, भदौ ४ गते । चारसय पैसठ्ठी मेगावाट क्षमताको दोलखाको लामाबगरमा निर्माण भइरहेको बहुचर्चित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य वर्षाका कारण ढिलाइ हुने भएकोे छ ।

डलरको भाउमा आएको उत्तारचडाव, वर्षा र लामोसाँघु जिरी सडकको स्तरोन्नतिका कारण भएको ढिलाइले आयोजनाको लागत झण्डै सात अर्ब बढ्ने समेत अनुमान गरिएको छ ।

गत आव ०७३÷ ७४को असार मसान्तसम्ममा आयोजनाले ९४ प्रतिशत काम सम्पन्न गरिसक्नुपर्ने लक्ष्य राखे पनि साउन मसान्तसम्म आइपुग्दा ९१ प्रतिशत पनि काम सम्पन्न गर्न सकेको छैन । डलरको मूल्यमा उतारचडाव आउनु लक्ष्यअनुसार निर्माण कार्य अगाडि नबड्नु र भूकम्पका कारण आयोजनाको समयसीमा लम्बिदै जानुका कारण रु ३५ अर्ब २९ करोडमा सम्पन्न गर्ने अनुमान गरिएको आयोजनाको लागत बढेर ४१ अर्ब ७२ करोड पुग्ने अनुमान गरिएको प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिनुभयो ।

विदेशी विनिमय दरमा भएको वृद्धि, बजार मूल्य, भूकम्पले क्षति पु¥याउँदाको दुई वर्ष ढिलाइलगायतका कारण आयोजनाको लागत करिब रु सात अर्ब ४३ करोड बढ्ने अनुमान गरिएको छ । रु ३५ अर्ब २९ करोड लागत अनुमान हुँदा डलरको भाउ करिब रु ८० को प्रक्षेपण गरिएको थियो तर अहिले डलरको भाउ ११० पुगेको छ । आयोजनामा अहिलेसम्म रु ३४ अर्ब ६४ करोड खर्च भइसकेको छ ।

आयोजनाले हालसम्म ९०.५ प्रतिशतमात्र निर्माण कार्य गरेको छ । वर्षा र सडक मर्मतले सामग्री ढुवानीले काममा सुस्तता आएको प्रवक्ता न्यौपानेले बताउनुभयो ।

निर्माणाधीन लामोसाँघु जिरी सडक खण्ड अन्तर्गतको खाडिचौर चरिकोट खण्डमा सडक चौँडासहित स्तरोन्नतीको काम भइरहेकाले सामग्री ढुवानीमा समस्या भएको हो । प्रवक्ता न्यौपानेले उक्त सडकको विकल्पमा खुर्कोट र खिम्ती हुँदै आयोजनास्थलसम्म ढुवानीको व्यवस्था मिलाइएको बताउनु भयो ।

उहाँकाअनुसार आयोजनाका लागि आवश्यकपर्ने ठूला उपकरण र पेनस्टक पाइप सिन्धुपाल्चोकको सुनकोशी जलविद्युत् आयोजनामा भण्डारण गरिएको छ ।

आयोजनाले मुख्य संरचना अन्तर्गत टेलरेस सुरुङ खन्ने कार्य, विद्युत गृह र ट्रान्सफर्मर क्याभर्न खन्ने कार्य भने गरिसकेको छ । आयोजनाको मुख्य सुरुङ खन्ने काम ९३ प्रतिशत, हेडवक्स कंक्रिट कार्य ८९.५ प्रतिशत सम्पन्न भएको जनाएको छ ।

यस्तै, अडिटलगायत अन्य सुरुङ खन्ने कार्य ८५.३ प्रतिशत, विद्युत गृह र ट्रान्सफर्मर र कंक्रिटको काम ८४ प्रतिशत सम्पन्न गरिसकेको छ ।

आयोजनाले २०७५ असार मसान्तभित्र विद्युत् उत्पादन गरिसक्ने लक्ष्य लिएपनि उक्त समयभित्र निर्माणकार्य सम्पन्न हुननसक्ने जनाएकोे छ । गृहमन्त्री जर्नादन शर्माले आयोजनास्थलमा पटक ÷पटक पुगरे सरकारले गर्ने सहयोगमा कुनै कन्जुस््याई नगर्ने तर आयोजनाको काम दू्रत गतिमा समपन्न गर्न निर्देशन दिए पनि प्राकृतिक विपत्तिका कारणले पनि डिलाइ भएको आयोजनाका कर्मचारीले बताए । रासस



काठमाडौँ, भदौ ४ गते । निर्वाचन आयोगले मतदाता नामावली संकलनका क्रममा नेकपा (एमाले) का निर्वाचित जनप्रतिनिधिसँग मिलेर कार्यालय समयपछि आफूखुशी काम गरेको भनिएको विषयले सदनमा प्रवेश पाएको छ ।

व्यवस्थापिका– संसद्को आजको बैठकमा सभामुखसँग समय लिएर सदन र सरकारको ध्यानाकर्षण गराउँदै नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले बूढानीलकण्ठ नगरपालिकाका एमालेका निर्वाचित एक सदस्यका घरमा आयोगका कर्मचारीको मिलेमतोमा नामावली संकलन गरेको पाइएको र आयोगका ल्यापटपलगायत उपकरण प्रहरीले बरामद गरेको जानकारी सदनलाई गराउनुभयो ।

त्यसबारे आयोगले दोषीमाथि कारबाही गर्न नसक्नु लाचारीबाहेक केही होइन भन्दै उहाँले निर्वाचनको पवित्रता र निष्पक्षतालाई हाँक दिनेलाई कारबाहीको माग गर्नुभयो । “एमालेले निर्वाचन आयोगले तोकेको समयभित्र कार्यालयमा भीड जम्मा गराउने अनि मध्यरात आफ्नो निवासमा कर्मचारीलाई लगेर मतदाता परिचयपत्र बनाउने काम ग¥यो”, उहाँले भन्नुभयो, “निर्वाचन आयोगमाथि यस्ता कार्यले प्रश्न उब्जिएको छ । निर्वाचनलाई अपवित्र बनाउने आयोग र कर्मचारीमा प्रश्न उब्जिएको छ ।”

शनिबार राति बूढानीलकण्ठमा स्थानीयवासीले एमालेबाट निर्वाचित वडाध्यक्ष र निर्वाचन कार्यालयका कर्मचारीलाई मतदाता परिचयपत्र धमाधम भरिरहेका अवस्थामा नियन्त्रणमा लिएर आयोगमा बुझाएका थिए । उनीहरूलाई कारबाही गर्न सांसद थापाको माग थियो ।

बैठकमा एमालेका शेरबहादुर तामाङ र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले प्रधानमन्त्रीबाट यसै साता हुनलागेको भारत भ्रमणका बेला उताबाट एकतर्फी रुपमा बनेका बाँध र तटबन्धका कारण नेपाली भूमी डुबानमा परेकाले त्यसको दीर्घकालीन समाधानका निम्ति भारतीय पक्षसँग गम्भीर वार्ता गर्नुपर्नेमा जोड दिनुभयो । रासस

 manchester

इङ्लिस प्रिमियर लिगमा सुरुका लगातार दुई खेलमा जित हात पार्ने क्रममा म्यानचेस्टर युनाइटेडले शनिबार स्वान्सीलाई उनीहरूकै मैदानमा ४–० ले हराएको छ ।  म्यानचेस्टरले पहिलो खेलमा वेस्ट ह्यामलाई पनि ४–० ले नै हराएको थियो ।  म्यानचेस्टरका लागि आज इरिक बेली, रोमेलु लुकाकु, पल पोग्बा र एन्थोनी मार्सियलले गोल गर्नुभयो ।  लुकाकु, पोग्बा र मार्सियलले वेस्ट ह्यामविरुद्ध पनि सफलता पाउनुभएको थियो ।
स्वान्सीबाट कडा टक्कर पाए पनि म्यानचेस्टर युनाइटेडले अन्तिम समयमा चार मिनेटको अवधिमा तीन गोल गरेर स्कोर फराकिलो पारेको हो ।  पूर्वाद्र्धको अन्तिम मिनेटमा बेलीले गोल गरी मध्यान्तरमा जानुअघि म्यानचेस्टर युनाइटेडलाई फाइदामा पु¥याउनुभएको थियो ।
उत्तराद्र्धमा पनि अन्तिम दस मिनेट अघिसम्म स्वान्सीले म्यानचेस्टरलाई रोकेको थियो ।  यद्यपि आज स्वान्सीलाई उसका प्रेरणादायी खेलाडी जिल्फी सिगर्डसनको अभाव खड् कियो ।  पछिल्लो सत्रमा सिगर्डसनले नौ गोल गर्नुका साथै १३ गोलमा सहयोगीको भूमिका निर्वाह गर्नुभएको थियो ।  गत बुधबार मात्र सिगर्डसन इभर्टनमा स्थानान्तर हुनुभएको हो ।
खेलको ८०औँ मिनेटमा लुकाकुले डिबक्समा गोल प्रहार गर्ने खुला अवसर पाउनुभयो र उहाँले सो मौकामा बल गोलपोस्टमा छिराएर म्यानचेस्टरलाई ढुक्क पार्नुभयो ।  पूर्वाद्र्धमा दोस्रो पहेँलो कार्ड बेहोर्नबाट जोगिनुभएका पोग्बाले दुई मिनेटपछि नै उत्कृष्ट ‘चिप’ प्रहारमार्फत दर्शनीय ढङ् गले गोल गर्नुभयो ।  ८४औँ मिनेटमा भएको चौथो तथा अन्तिम गोल मार्सियलको नाममा रह्यो ।
पछिल्ला तीन वर्षमा स्वान्सीले म्यानचेस्टर युनाइटेडलाई दुईपटक हराएको थियो ।  यसपालि पनि खेलको तेस्रो मिनेटमा नै जोर्डन एयुको प्रहार गोलपोस्टमा लागेर फर्केपछि मात्र स्वान्सी अग्रता बनाउनबाट वञ्चित भएको थियो ।  त्यसपछि भने स्वान्सीबाट डरलाग्दो आक्रमण भएन ।  एजेन्सी

maldivas

 रविबहादुर रानाले ह्याट्रिक गरेपछि भारतले शनिबार माल्दिभ्सलाई ९–० ले हराएर साफ यु–१५ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको प्रतियोगिता अन्तर्गत समूह ‘बी’को खेलमा रविले खेलको २१औँ मिनेटमा पहिलो गोल गर्नुभएको थियो ।  रविले गोल गरेको एक मिनेट बित्न नपाउँदै माल्दिभ्सका डिफेन्डर मोहम्मद फइहान इमरानले आत्मघाती गोल गरी भारतलाई दुई गोलले अगाडि पार्नुभयो ।  इमरानका लागि आजको खेल बिर्सनुपर्ने नै रह्यो ।  उहाँले खेलको ८७औँ मिनेटमा पनि बल आफ्नै गोलपोस्टमा छिराउनुभएको थियो ।
यसअघि रविले खेलको २६औँ मिनेटमा माल्दिभ्सको कमजोर डिफेन्सको फाइदा उठाउँदै दोस्रो र ४८औँ मिनेटमा तेस्रो गोल गरी आफ्नो ह्याट्रिक पूरा गर्नुभएको थियो ।
भारतका लागि मोइराङ् थेम थोइबा सिंह, रिकी जोन साबोङ, विक्रमप्रताप सिंह र लालरोइमाले पनि क्रमशः ४१, ५७, ७१ र ८०औँ मिनेटमा गोल गर्नुभएको थियो ।  माल्दिभ्सका प्रशिक्षक मोहम्मद साज्लीले फराकिलो अन्तरले हारे पनि बलियो टिमविरुद्ध आफ्ना खेलाडीले अन्तिम समयसम्म डटेर खेलेको भनाइ राख्नुभयो ।
भारतका प्रशिक्षक बिबियानो फर्नान्डेजले नतिजा उत्कृष्ट देखिए पनि आफ्नो टिममा अझै केही कमजोरी रहेको प्रतिक्रिया दिनुभयो ।  दोस्रो खेलअघि हामीले आफ्नो कमजोरी सुधार्न आवश्यक छ –उहाँले भन्नुभयो ।



राजविराज, भदौ ४ गते । एक साता अगाडि विभिन्न खोला तथा नदीमा आएको बाढीबाट प्रभावित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– १५ रमपुरा मल्हनीयाको डलबास्थित कोशी पलारमा पशु चौपाया धमाधम मर्न थालेका छन् ।

दूध र दहीका लागि प्रख्यात सो क्षेत्रमा बाढीसँगै पशु चौपायामा विभिन्न रोगका प्रकोप देखा परेपछि त्यहाँका सयाँैं पशु चौपाया मरेको स्थानीयवासी चन्दन यादवले जनाकारी दिनुभयो ।

लगातारको वर्षापछि आएको बाढीले कोशी नदीको छेउमै रहेका बासिन्दा डुबानमा परेपछि पशु चौपाया लिएर एक सातादेखि सो कोशी बाँधमा बस्दै आएका छन् । बाढीबाट पीडा झेलिरहेका उनीहरु अहिले पशु चौपाया एक्कासि मर्न थालेपछि झन् चिन्तित बनेका छन् ।

स्थानीयवासी राजेन्द्र यादवका १५ गाई, बाच्छाबाच्छीसहित चन्दन यादव, सुरज यादव, कारी यादव, फकलेश्वर यादव, रामनाथ यादव, महादेव यादव, बालेश्वर यादवलगायतका पशुचौपाया मरेको बताइएको छ । चौपाया मरेपछि लाखौँ मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ ।
लगातारको वर्षापछि पशु चौपाया लिएर एक सातादेखि बाँधमा बस्दा चौपायाका केही खानेकुरा घरमै छुटेको र केही बगाएपछि खाना नपाएर कतिपय पशु चौपाया मरिसकेका छन् भने कतिपय मर्ने अवस्थामा रहेको स्थानीयवासी किसान बताउँछन् ।

खाँडो नदीमा आएको बाढीका कारण जिल्लाका दक्षिण भेगका रम्पुरा मल्हनिया, सकरपुरा, लौनिया, तिलाठी, हनुमाननगर, इनर्वा, कोइलाडीसहितका गाविसका दर्जनौं पशु चौपाया अहिले पनि खाना नपाएर मर्ने अवस्थामा रहेको बताइएको छ । पशु चौपाया मरे पनि अहिलेसम्म आवश्यक औषधि तथा अन्य कुनै सेवा सुविधा सरकार तथा पशुसेवा कार्यालय एवं सम्बन्धित निकायबाट नपाएको कृषकको गुनासो छ ।

सो क्षेत्रमा चौपाया मरेपछि महामारी फैलिनसक्ने सम्भावनासमेत बढेको छ । बाढीग्रस्त क्षेत्रमा अहिले पानी सुक्दै गएको अवस्थामा घाम लागेसँगै मरेका चौपाया गनाउन थालेपछि स्थानीयवासी त्रसित छन् । साथै बाँधका चारैतिर पानी नै पानी भएकाले कतै बाहिर जान नसकेका कारण त्यहाँ बस्ने मानिसमा महामारी फैलिने सम्भावना देखिएको बताइएको छ ।

सरसफाइ

बाढीका कारण जताततै फोहोर बढेपछि युवाले थालेको सरसफाइ अभियानअन्तर्गत राजविराज वडा नं १ डुमरी शिवस्थानमा थुपारिएको फोहोर शनिबार सफाइ गरेको छ ।

सप्तरी युथ नेपालले आफ्नो ५० औँं हप्ते सरसफाइ अभियानअन्तर्गत बस्तीमा रहेको अत्यधिक फोहोर हटाउनाका साथै बाढीमा परी मृत्यु भएर थुपारिएका केही चौपायालाई पनि खाल्डो खनी पुरेको छ । बाढीका कारण क्षतिग्रस्त बाटाघाटालाई समेत युवाले मर्मत एवं पुनःनिर्माण गरेको युथका उपाध्यक्ष मोहन यादवले जानकारी दिनुभयो । रासस



धनगढी, भदौ ४ गते । फोटोसहितको मतदाता नामावली संकलनका क्रममा कैलाली जिल्लामा ६० हजार १२ जना नयाँ मतदाता थपिएका छन् ।

थपिएका मतदातामा ३३ हजार १८० महिला र २६ हजार ८३२ पुरुष रहेको धनगढीस्थित क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख मोहनप्रसाद अर्यालले बताउनुभयो ।

यी मतदातामध्ये क्षेत्रीय निर्वाचन कार्यालयमार्फत सबैभन्दा बढी मतदाताको नाम संकलन भएको छ ।

साउन १ गतेबेखि शुरु भएको मतदाता नामावली संकलन कार्य भदौ ३ गतेसम्म जारी रहेको थियो । कैलाली जिल्लाको एक उपमहानगरपालिका (धनगढी), छ वटा नगरपालिका र छ वटा गाउँपालिकासमेत १३ स्थानीय तहका कार्यालयमार्फत समेत फोटोसहितको मतदाता नामावली संकलन कार्य गरिएको थियो ।

यसबाहेक क्षेत्रीय निर्वाचन कार्यालयले पनि मतदाता नामावली संकलन गर्दै आएको थियो ।

कैलाली जिल्लामा बसाइँ सराइ गरेर आउनेहरुको चाप बढी भएकाले मतदाता नामावलीमा नाम दर्ता गराउनेहरुको संख्या पनि बढेको कार्यालयले जनाएको छ ।

स्थानीय तहका कार्यालयका साथै निर्वाचन कार्यालयमा नामावली संकलन, अध्यावधिक गर्ने, त्रुटि सच्याउने, नामावली सार्नेलगायतका काम गरिएको थियो । पहिलो पटक आफ्नो गाउँठाउँमा नै मतदाता नामावलीमा नाम दर्ता गराउन पाएकामा स्थानीयवासी खुशी देखिएका छन् । जिल्ला सदरमुकाम पुगेर नाम दर्ता गराउनु पर्ने पहिलेको जस्तो बाध्यता हटेपछि स्थानीयवासी खुशी भएको नाम दर्ता गराउन आउनुभएका जंगबहादुर चौधरीले बताउनुभयो ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कैलाली जिल्लामा चार लाख तीन हजार २८० मतदाता थिए । नयाँ थपिएका मतदातासमेत जिल्लाको कूल मतदाता संख्या चार लाख ६३ हजार २९२ पुगेको छ । रासस



इलाम, भदौ ३ गते । आमाको उपचारमा भारत गएका नेपाली युवकलाई भारतीय प्रहरीले पक्राउ गरेपछि पूर्वप्रधानमन्त्री झलनाथ खनालले तत्काल रिहाइको माग गर्नुभएको छ ।

नेकपा(एमाले)का वरिष्ठ नेता पूर्वप्रधानमन्त्री खनालले पक्राउ परेका इलाम सूर्योदय नगरपालिका–१० का २७ वर्षीय उदयहाङ फागो निर्दोष रहेकाले रिहाइको पहल गरिदिन भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँग शुक्रबार टेलिफोन वार्ता गर्नुभएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो । भारतको केन्द्रीय सरकार र सम्बन्धित अधिकारीसँग कुराकानी गरी रिहाइको प्रयत्न गर्ने राजदूत उपाध्यायले बताउनुभयो । यसैगरी खनालले नेपालको परराष्ट्र मन्त्रालयमा पनि कुराकानी गरी तत्काल भारतको सम्बन्धित निकायसँग कुराकानी गरी तत्काल रिहाइको पहल गर्न अनुरोध गर्नुभएको छ ।
आमाको उपचार गराउन भारतको सिलिगुडीस्थित फ्यामिली क्लिनिकमा गएका बेला उदयलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो । रासस

Rajendra Mahato
महेन्द्रनगर (धनुषा), भदौ ३ गते   । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले निर्वाचनका लागि सकारात्मक वातावरण बनिरहेको बताउनुभएको छ । बाढी प्रभावित मधेशका जिल्लामा राहत वितरण गर्न आउनुभएका नेता महतोले शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै मधेशी समस्या समाधानका लागि यही भदौ ५ गते हुने मतदानमा सम्पूर्ण दललाई सहभागी हुन गर्नुभयो ।

उहाँले मधेशका जिल्लामा राहतको कार्यक्रम प्रभावकारी हुन नसकेको गुनासो गर्दै राजपाले राहतका लागि रु २६ अर्बको माग गरेकामा सरकारले रु एक अर्ब निकासा गरे पनि सम्बन्धित जिल्लामा पुग्न नसकेको बताउँदै राहत वितरणका लागि प्राधिकरण नै गठन हुनुपर्ने माग गर्नुभयो । रासस



थरी (मोरङ), भदौ ३ गते । बाढी र डुबानका कारण धावनमार्गमा पानी र हिलो जमेपछि एक सातादेखि बन्द रहेको विराटनगर विमानस्थल आज आंशिक रुपमा सञ्चालन भएको छ ।

धावनमार्गको हिलो र पानीको सरसफाइ सकिएपछि विमानस्थल आजदेखि उडान गर्न योग्य भएको नेपाल नागरिक उड्ड्यन प्राधिकरण विराटनगरका प्रमुख सुरेशमान सिंहले बताउनुभयो ।

सिंहका अनुसार विमानस्थल क्षेत्रका विद्युतीय उपकरणहरुको मर्मत र परीक्षण गर्न बांकी रहेकाले पूर्ण रुपमा सञ्चालनमा आउन अझै एक महिना लाग्ने छ । आज यती र सौर्य एयरलायन्सले उडान भर्ने छन । बुद्धले आईतबार नेपाल वायुसेवा निगमले सोमबार देखि उडान भर्ने कार्यलय प्रमुख सिंहको भनाई छ । रासस

nepal_earthquake

काठमाडौँ, भदौ ३ गते । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विभिन्न कारणले सर्वेक्षणमा छुट भएर लाभग्राहीको सूचीमा नपरेका भूकम्प पीडितको पुनः सर्वेक्षणका लागि अति प्रभावित १४ जिल्लामा इन्जिनियरलाई पुनः खटाएको छ । ती जिल्लामा ३३२ जना इन्जिनियरले शुक्रबारदेखि प्राधिकरणमा प्राप्त गुनासाका आधारमा सर्वेक्षण सुरु गरेका हुन् ।

यसरी खटाइएका इन्जिनियरलाई राजधानीमा तीन दिनको प्रशिक्षण दिइएको थियो । उनीहरूले प्राधिकरण केन्द्रमा दर्ता भएका करिब एक लाख २८ हजारवटा गुनासाका आधारमा पुनः सर्वेक्षण गर्नेछन् । गुनासो फस्र्योट भएर लाभग्राही तथा प्रबलीकरणको सूचीमा परेका घरधुरीको भने पुनः सर्वेक्षण नहुने प्राधिकरणले स्पष्ट पारेको छ ।
प्राधिकरणको केन्द्रसम्म आएका दुई लाख सात हजार ८६१ गुनासामध्ये ३९ हजार ९७ लाभग्राही सूचीमा परेका छन् भने १३ हजार ५६५ प्रबलीकरण सूचीमा परेका छन् । प्राधिकरणले पुनः सर्वेक्षण भदौ मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
अझैसम्म गुनासो दर्ता नगराएकाले भने स्थानीय वडा तहमा गुनासो दर्ता गराउन सक्ने छन् । उनीहरूको गुनासोलाई वडा गुनासो व्यवस्थापन समितिले सिफारिस गरी इन्जिनियरलाई दिएमा उनीहरूको समेत तत्काल सर्वेक्षण गर्न प्राधिकरणले इन्जिनियरहरूलाई निर्देशन दिएको छ ।
सिन्धुली, मकवानपुर, काभ्रेपलान्चोक, दोलखामा सर्वेक्षण गर्नुपर्ने सङ्ख्या बढी छ भने रसुवा, ललितपुर, भक्तपुरमा कम छ । प्राधिकरणले गुनासोको सङ्ख्याको अनुपातमा इन्जिनियर परिचालन गरेको छ । प्राधिकरणले सबैभन्दा बढी सिन्धुलीमा ६० जना र मकवानपुरमा ४८ जना इन्जिनियर खटाएको छ ।

राप्रपा

काठमाडौँ, भदौ ३ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनका विषयमा पुनःविचार गर्ने भएको छ । परिमार्जनसहितको संशोधनलाई समर्थन गर्ने निर्णय गरिसकेको सो पार्टीले संशोधनको प्रस्तावका कारण पार्टी विभाजनका क्रममा रहेकाले सो प्रस्तावको समर्थन नगर्ने सम्भावना बढेको प्रवक्ता भुवन पाठकले प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुभयो । अधिकांश नेताले अहिले पार्टीको एकताका लागि प्रस्तावको विपक्षमा रहन नेतृत्वलाई सुझाएको बताइएको छ ।

यही भदौ ४ गते निर्वाचन आयोगले पार्टी विभाजनको विषयमा गर्ने निर्णयपछि बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकले संशोधनको विपक्षमा निर्णय लिने बताइएको छ । पार्टी विभाजनको प्रक्रियामा लागेका नेतालाई सो प्रक्रिया छाडेर मूलधारको पार्टीमा फर्कन आग्रह गरिएको प्रवक्ता पाठकले बताउनुभयो । उहाँका अनुसार त्यसरी फर्कने नेता तथा पदाधिकारीलाई कारबाही नगरी पूर्ववत् स्थानमा जिम्मेवारी दिइनेछ ।

आगामी असोज २ गते हुने प्रदेश नं २ को स्थानीय तहको तेस्रो चरणमा विभिन्न पार्टीसँग तालमेल गरी आफ्नो सम्भावना नरहेका ठाउँमा अन्य दललाई सहयोग गर्ने तथा सम्भावना भएका स्थानमा अरू दलको सहयोग लिने रणनीति पनि लिइने बताइएको छ ।
राणालाई सत्तारुढ दलले फसाएको आरोप
हेटौँडा–राप्रपाका अध्यक्ष कमल थापाले राप्रपाका केन्द्रीय सदस्यलाई बन्धक बनाइएको भन्ने आरोपको खण्डन गर्दै पार्टी केन्द्रीय समितिको बैठक जहाँ पनि राख्न सकिने बताउनुभएको छ ।

पार्टी केन्द्रीय समितिको बैठकमा अध्यक्ष थापाले पशुपतिशम्शेर जस्ता पुरानो राजनीतिज्ञलाई गलत कार्य र गतिविधि गर्न नसुहाउँदो विषय हो भन्दै उहाँलाई सत्तारुढ दलले फसाउने काम गरिरहेको आरोप लगाउनुभयो । केन्द्रीय समितिका निर्णय यही भदौ ४ गते सार्वजनिक गरिने जनाइएको छ । रासस



काठमाडौँ, भदौ २ गते । भूकम्प अति प्रभावित १४ जिल्लामा छुट तथा पुनः सर्वेक्षणका लागि ३३२ इन्जिनियरले काम शुरु गरेका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार अति प्रभावित १४ जिल्लामा खटिने इन्जिनियरलाई तीन समूह बनाएर राजधानीमा तीन दिनको प्रशिक्षण दिइएको थियो । यसअघि दुई समूह प्रभावित जिल्लामा परिचालन भएर काम शुरु गरिसकेको र तेस्रो समूह आजदेखि काठमाडौँ, भक्तपुर, ललितपुर र सिन्धुलीमा परिचालित भएको हो ।
इन्जिनियरले प्राधिकरण केन्द्रमा दर्ता भएका करिब एक लाख २८ हजार वटा गुनासा पुनः सर्वेक्षण गर्ने छन् । गुनासा फस्र्योट भएर लाभग्राही तथा प्रवलीकरणको सूचीमा परेका घरधुरीको भने पुनः सर्वेक्षण हुने छैन ।

प्राधिकरणको केन्द्रीय कार्यालयमा दर्ता भएका दुई लाख सात हजार ८६१ गुनासामध्ये ३९ हजार ९७ लाभग्राही सूचीमा परेका छन् भने १३ हजार ५६५ प्रवलीकरण सूचीमा परेको प्रवक्ता यमलाल भुसालले जानकारी दिनुभयो ।

जिपिएस प्रविधिमा आधारित भएर ट्याब्लेटमार्फत गरिने पुनः सर्वेक्षणमा इञ्जिनियरले संकलन गरेका तथ्यांक सिधै केन्द्रीय सर्भरमा जम्मा हुनेछन् ।

पुनः सर्वेक्षणका लागि दोलखामा २७, गोरखामा २८, नुवाकोटमा १६, रामेछापमा २४, रसुवामा चार, धादिङमा २९, सिन्धुपाल्चोकमा १२, काभ्रेपलाञ्चोकमा ४१, ओखलढुंगामा १६, सिन्धुलीमा ६०, मकवानपुरमा ४८, काठमाडौँमा ११, ललितपुरमा आठ र भक्तपुरमा सातजना इन्जिनियर खटाइएको प्राधिकरणले जनाएको छ ।

पुनः सर्वेक्षण भदौ ३१ सम्म सक्ने प्राधिकरणको लक्ष्य छ । गुनासो दर्ता गराएका भूकम्प प्रभावितलाई आफ्नो क्षेत्रमा खटिएका इन्जिनियरबाट आफ्नो भत्केको घरको पुनः सर्वेक्षण गराई अनुदान पाउने प्रक्रियाबाट विमुख नहुन प्राधिकरणले अनुरोध गरेको छ ।

गुनासो दर्ता नगराएकाले भने स्थानीय वडा तहमा गुनासो दर्ता गराउन सक्ने छन् । पीडितको गुनासोलाई वडा गुनासो व्यवस्थापन समितिले सिफारिस गरी इञ्जिनियरलाई दिएमा तत्काल सर्वेक्षण गर्न प्राधिकरणले निर्देशन दिएको छ ।
सिन्धुली, मकवानपुर, काभ्रेपलान्चोक, दोलखामा सर्वेक्षण गर्नु पर्ने संख्या बढी छ भने रसुवा, ललितपुर, भक्तपुरमा कम छ । प्राधिकरणले गुनासो संख्याको अनुपातमा इञ्जिनियर परिचालन गरेको जनाएको छ । १४ जिल्लाका दुई लाख सात हजार ५०० ले केन्द्रीय कार्यालयमा गुनासो दर्ता गराएका थिए ।
सर्वेक्षण भएका घरधुरीको असोज मसान्तसम्ममा फर्छयौट गरी लाभग्राही पर्ने नपर्ने छनौट गरिसक्ने प्राधिकरणको लक्ष्य छ ।
प्राधिकरणले भूकम्प अति प्रभावित क्षेत्रका वासिन्दा, स्थानीय तहका जनप्रतिनिधि, राजनैतिक दल र अन्य सम्बद्ध सबैमा पुनःसर्वेक्षणलाई सफल पार्न सहयोग पु¥याउन आह्वान गरेको छ ।
यस सम्बन्धी थप जानकारीका लागि पीडितले प्राधिकरणको टोल फ्रि नम्वर १६६००१७२००० वा मोबाइल नं ९८०१५७२१११ मा सम्पर्क गर्न सक्ने छन् । रासस



वीरगञ्ज, भदौ २ गते । पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु ज्वरोको कारण पर्सा जिल्लामा हालसम्म चार महिलासहित १२ जना प्रभावित भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

रोगबाट प्रभावित हुनेमा बारा प्रसौनीका २५ वर्षीया सलिमा खातुन, वीरगञ्जका २४ वर्षीया सुधा कुमारी, विरुवागुठी पकडियाका ३५ वर्षीया छटिया देवी र २१ वर्षीया पूजा कुमारी रहेका छन् भने पर्सा कटिबलुवाका १८ वषपर््य ज्ञानप्रकाश गुप्ता, सर्लाहीका २७ वर्षीय अर्नुज श्रेष्ठ, वीरगञ्जका ३५ वर्षीय रसिद आलम, ७२ वर्षीय कमल पटेल, २७ वर्षीय असलम, विराटनगरका १८ वर्षीय मन्सा साह, लालबन्दीका १५ वर्षीय अरुणकुमार साह र वीरगञ्ज नगवाका सात वर्षीय हरिनारायण चौधरी रहेका छन् ।

सो रोगबाट प्रभावितको नारायणी अञ्चल उपक्षेत्रीय अस्पताल, भवानी अस्पताल, नेशनल मेडिकल कलेज लगायतका स्वास्थ्य संस्था उपचार भइरहेको जनस्वास्थ्य अधिकृत राजकिशोर प्रसादले राससलाई जनाएको छ । सो रोग नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले वीरगञ्ज–१ देखि १९ सम्म वडामा लामखुट्टेको बासस्थान खोजी सो रोग सार्ने लामखुट्टे नष्ट गर्ने अभियान सञ्चालनमा ल्याएको छ । रासस



काठमाडौं, भदौ १ गते  । प्रदेश २ मा हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ ।

आयोगका अनुसार सरकार र मन्त्रीहरु, राजनीतिक दल, सम्वन्धित स्थानीय तह, सार्वजनिक संस्था, सुरक्षा निकाय, निर्वाचनमा संलग्न कर्मचारीलाई आचारसंहिता लागू हुनेछ । यस्तै सञ्चारमाध्यम, निजी तथा गैरसरकारी संस्था, सार्वजनिक पद धारण गरेका व्यक्तिलाई पनि आचारसंहिता लागू हुनेछ ।


उम्मेदवारको हकमा २१ गतेबाट आचारसंहिता लागू हुनेछ ।

आचारसंहिता लागू भएपछि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति, अनुदान, सर्वेक्षण लगायत गतिविधि गर्न रोक लागेको छ । यस्तै विकास निर्माणका लागि भन्दै आकर्षक नयाँ कार्यक्रम थप गर्न, नयाँ बजेट बाँडफाँड र रकमान्तरमा समेत पाइने छैन ।

निर्वाचन आचारसंहिता उल्लंघन गरेमा निर्वाचन आयोगले मन्त्रीलाई कालोसूचीमा राख्नेदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ । लगातार आचारसंहिता उल्लंघन गर्ने मन्त्रीलाई आगामी ५ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने गरी कालोसूचीमा राख्न सक्ने व्यवस्था पनि गरिएको छ ।- अनलाइनखबर




बार्सिलोनाका स्टार डिफेण्डर जेरार्ड पिकेले यस सिजन आफ्नो टोली बार्सिलोनाभन्दा एक कमद पछि परेको महशुस गरेका छन्, जुन उनको ९ वर्षे खेल जीवनमा पहिलो पटक भइरहेको छ ।


स्पेनिस सुपर कपमा ५-१ को गोलअन्तर पछिल्ला केहि वर्षको तथ्यांकको तुलनामा निक्कै धेरै हो । र, बार्सिलोना नयाँ सिजनको तयारीमा समेत छ ।

‘सिजन निक्कै लामो छ र सुधारका लागि पनि समय पर्याप्त छ’ पिकेले भने, ‘तर बार्सिलोनामा पछिल्लो नौ वर्षमा यो पहिलो पटक भइरहेको छ कि हामी मडि्रड भन्दा पछि परेका छौं ।’

‘यो सत्य हो कि उसले गत सिजन च्याम्पियन्स लिग जितेको थियो, तर, हामी यहाँ आएका छौं कि त्यसअघि हामीले जितेका थियौं ।’

‘हामी एक टिम वा क्लवको रुपमा सबैभन्दा उत्कृष्ट क्षणमा छैनौं’ उनले भने, ‘हामी जति सम्भव हुन्छ त्यतिमै रहनुपर्छ र अगाडि बढ्ने प्रयास गरिरहनुपर्छ ।’

‘महत्वपूर्ण कुरा यो हो कि हामी हार्दाहार्दै पनि जितेका छौं र स्वीकार पनि गछौं मडि्रड हामीभन्दा राम्रो थियो ।’

पहिलो लेगमा पराजित भएपछि यी डिफेण्डर आफैं बार्सिलोनाका डाइरेक्टर पेप सेगुराको अलोचनामा उत्रिएका थिए ।

‘कुनै समस्या छैन’ उनले भने, ‘हामी एकसाथ बलियो र सुरक्षित हुन्छौं र कहिले काहीँ मेरो कुरालाई गलत सम्झाइन्छ ।’



काठमाडौं, भदौ १ गते । विद्युत उत्पादन, प्रसारण र वितरणको एकाधिकारप्राप्त पूर्ण सरकारी स्वामित्वको नेपाल विद्युत प्राधिकरण १५ वर्षपछि सञ्चालन मुनाफामा गएको छ । नयाँ नेतृत्वले नयाँ ढंगबाट विजुलीको ब्यवस्थापन र चुहावट नियन्त्रण गर्दै काम गरेपछि प्राधिकरण १५ वर्षपछि सञ्चालन नाफामा फर्किएको हो ।

तर, अझै पनि प्राधिकरण खुद घाटाबाट बाहिर निस्किन सकेको छैन । ०५९देखि विद्युत प्राधिकरण निरन्तर घाटामा थियो ।


प्राधिकरणले गत आर्थिक वर्ष ०७३/७४मा दुई अर्ब ४० करोड ७३ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको हो । प्राधिकरण आर्थिक वर्ष ०७२/७३मा तीन अर्ब ६ करोड ३९ लाख रुपैयाँ सञ्चालन नोक्सानीमा थियो ।

तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले गत वर्षको वाषिर्कोत्सवमा प्राधिकरणलाई नाफामा लैजाने घोषणा गरेका थिए, त्यसपछि प्राधिकरणको व्यवस्थापकीय सुधारको प्रतिबद्धता सहित कुलमान घिसिङ कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । घिसिङले घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजान आफ्नो व्यवस्थापकीय कुशलता देखाएका छन् ।

प्राधिकरणको खूद नोक्सानी पनि एक अर्बभन्दा कम भएको छ । आव ०७२/७३मा ८ अर्ब ८९ करोट खूद घाटामा रहेको प्राधिकरणको नाफा आव ०७३/७४मा उलेख्खरुपमा घटेर ९७ करोड ८९ लाख रुपैयाँमा सीमित हुन पुगेको छ ।

विद्युत चुहावट नूनीकरण, आयातित विद्युतको औसत खरिद दरमा कमी, विद्युत महसुलमा समायोजन, प्रमुख शहरमा नियमित विद्युत आपूर्ति र आशिंकरुपमा भएको वित्तीय पुर्नसंरचना लगायतका संस्थागत सुधारले खुद नोक्सानी न्यून गर्न सकिएको घिसिङले बताए ।

अघिल्लो अावमा विद्युत बिक्री तथा अन्य आम्दानीबाट ३५ अर्ब सात करोड ३५ लाख आम्दानी गरेको प्राधिकरणले गत आबमा बढाएर ५० अर्ब २२ करोड ९४ लाख रुपैयाँ पुर्‍याएको छ । प्राधिकरणको अघिल्लो वर्षको तुलनामा प्राधिकरणको समग्र आम्दानी करिव ४३.२१ प्रतिशतले बढेको छ ।

प्राधिकरणले गत आर्थिक वर्षमा निजी जलविद्युत उत्पादक र भारतसँग ४५ अर्ब ५७ करोड २० लाख रुपैयाँको खरिद गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २६.२८ प्रतिशतले बृद्धि भएको हो ।

घिसिङले आगामी दिनमा सक्षम र सुदृढ प्राधिकरण निर्माणका लागि समग्र प्रयास केन्दि्रत गर्ने बताएका छन् ।

ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले प्राधिकरणले विद्युत उत्पादन, प्रसारण र वितरणको काम गर्ने, सरकार तथा निजी क्षेत्र समेतले परस्पर सहयोग, समन्वय र लगानी गरी अनुकूल वातावरण सिर्जना गर्न सकेमा ऊर्जा क्षेत्रको समग्र विकास हुने बताए ।

‘परम्परागत ठेक्का व्यवस्थापन, सेवा प्रवाह व्यवस्थापन सुधार गरी परिणाममूखी र जवाफदेही कार्यसञ्चालन व्यवस्थापनको अभ्यास गर्न ढिलाइ भइसकेको छ’ उनले भने,’यसतर्फ प्राधिकरण क्रियाशील हुनुपर्छ ।’- अनलाइनखबर




महोत्तरी, भदौ १ गते । महोत्तरीमा अहिलेसम्म बाढीमा परी पाँच जनाको मृत्यु भएको छ ।

बुधबार मनरा गाउँपालिकामा ५० वर्षीय एक पुरुषको शव फेला परेसँगै बाढीमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको हो । सो पुरुषको शव अहिलेसम्म सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यसभन्दा अगाडि जिल्लाको भंगहा गाउँपालिका–७ मा बाढीको पानीमा करेन्ट लागेर अन्दाजी ४० वर्षीय महेश सिंह, धनुषा घर भई जलेश्वर–८ बजराहीमा छोरीको घर आएका ६५ वर्षीय शिव महरा, लोहारपट्टी–१ मा बाढीमा बेपत्ता भएका इन्दल महरा र जलेश्वर–२ खैराचोकका १५ वर्षीय विक्कीकुमार ठाकुरको मृत्यु भइसकेको छ ।

त्यस्तै, बाढीमा बगेर बेपत्ता भएका थप एकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । महोत्तरीमा बाढी आएपछि सयाँै घर पूर्ण क्षतिग्रस्त भएको प्रहरीको प्रारम्भिक तथ्याँकले देखाएको छ ।

क्षतिबारे विवरण संकलन गर्न खटिएको प्रहरीको पहिलो दिनको युनिटले महोत्तरीमा हालसम्म ५६८ घर पूर्ण क्षतिग्रस्त भएकोे जनाएको छ । त्यस्तै, ३८२ घरमा आंशिक क्षति पुगेको प्रहरीको प्रारम्भिक तथ्याँक छ । तथ्याँक संकलन कार्य विभिन्न युनिटले द्रुतगतिमा गरिरहेकाले एक दुई दिनभित्र नै महोत्तरीमा बाढीपीडितको पूर्ण विवरण संकलन भइसक्ने महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतले बताउनुभयो ।

महोत्तरीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले विभिन्न युनिट बनाई जिल्लाका बाढी प्रभावित क्षेत्रमा बचाउ र उद्धार कार्य गरिरहेको दैवी प्रकोप उद्धार समितिले जनाएको छ । रासस



नेपालगञ्ज, भदौ १ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीका कारण मृत्यु भएका बाँके जिल्लाका राप्ती–सोनारी गाउँपालिका–४ लालपुरका तीनजना बालिकाका परिवारलाई आज नगद सहयोग वितरण गर्नु भएको छ ।

जिल्लाको सो गाउँपालिकाको कमैया डाँडामा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले मृतक तीनजना बालिकाका बुबा कमिलाल थारुलाई रु छ लाखको चेक हस्तान्तरण गर्नुभयो । सरकारले बाढीपहिरोमा मृत्यु भएका प्रत्येक परिवारका सदस्यलाई रु दुई लाख दिने निर्णय गरेको छ ।

गत साउन २८ गते राति राप्ती नदीमा आएको बाढीका कारण सो गाउँपालिका–४ लालपुरका एकै परिवारका १२ वर्षीया अञ्जु थारु, नौ वर्षीया सरिता थारु र सात वर्षीया सुस्मिता थारु दिदीबहिनीको मृत्यु भएको थियो ।

सोही कार्यक्रममा प्रधानमन्त्री देउवाले त्यहाँ उपस्थित त्यस क्षेत्रका बाढीपीडित परिवारका सदस्यलाई तयारी खाद्यान्न चिउरा, चाउचाउ, दालमोठ, नून, खाने तेल, पिउने पानी र त्रिपाल प्रदान गर्नुभएको थियो ।

त्यस अवसरमा उहाँले बाढीपीडितलाई सम्बोधन गर्दै यस क्षेत्रमा पुनः बाढी आउन नदिने उपायको खोजी सरकारले गर्ने आश्वासन दिनुभयो ।

प्रधानमन्त्री देउवाले मुलुकका बाढीपीडितको उचित बसोबास, जीविकोपार्जनका लागि सरकारका तर्पmबाट कुनै कसर बाँकी नराखिने बताउँदै दैवी विपत्तिका बेला सबैले आ–आफ्नो तहबाट सहयोग गर्नु पर्नेमा जोड दिनुभयो ।

यसअघि नेपालगञ्ज राझास्थित नेपाली सेनाको चार नं बाहिनी अड्डामा प्रधानमन्त्री देउवालाई मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासक महेन्द्रप्रसाद गुरागार्इं र नेपाली सेनाका पृतनापति कर्मेन्द्र लिम्बूले बाँके, बर्दिया, दाङ र सुर्खेतका बाढीपीडितको हालको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

यसैगरी, प्रधानमन्त्री देउवाले बाँके जिल्लाका बाढी प्रभावित क्षेत्रको हवाई र स्थलगत अवलोकन पनि गर्नुभयो । बाँके जिल्लाको कार्यक्रम सकेर उहाँ बर्दिया र कैलाली जिल्ला तर्फ प्रस्थान गर्नु भएको छ ।

प्रधानमन्त्री देउवाले बर्दियाको भादापुलस्थित गोलपार्क र कैलाली जिल्लाको टीकापुर भजनीमा त्यस क्षेत्रका बाढीपीडितसँग भेटघाट गर्ने र राहत उपलब्ध गराउने कार्यक्रम रहेको बाँकेका प्रजिअ रमेशकुमार केसीले जानकारी गराउनुभएको छ । रासस



धनुषा,भदौ १ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २ नं प्रदेशमा बाढीका कारण निकै नै क्षति भएकाले सबै दलले संकल्प लिई राहत र उद्धारमा जुट्न आह्वान गर्नुभएको छ ।

आज धनुषाको मिथिलेश्वर मौवाहीमा हुन लागेको शहीद चन्देश्वर मण्डलको स्मृति दिवसका अवसरमा शालिक अनावरण कार्यक्रममा सहभागी हुन आउनुभएका पूर्व प्रधानमन्त्रीसमेत रहनुभएको अध्यक्ष प्रचण्डले जनकपुर विमानस्थलमा संक्षिप्त कुराकानी गर्दै यस्तो समयमा कुनै पनि दलले प्रतिपक्षीको भूमिका निर्वाह नगरी सबै मिलेर बाढीपीडितको उद्धारमा लाग्नुपर्नेमा जोड दिनुभयो । बुधबार बसेको सर्वदलीय बैठकमा पनि आफूले उनीहरुको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कार्य गर्न आग्रह गरेको जानकारी गराउँदै प्रचण्डले पहाडका जनता पनि सहयोग गर्न आतुर रहेको बताउनुभयो ।

पहाडमा भूकम्प जाँदा भूकम्पपीडितलाई तराई मधेशका जनताले दिल खोलेर सहयोग गरेको स्मरण गराउँदै उहाँले तराई मधेशका जनतालाई परेको विपद्को परिस्थितिमा सहयोग गर्नका लागि आह्वान गर्नुभयो ।

एक अर्को प्रश्नमा अध्यक्ष प्रचण्डले संविधान संशोधन विधेयक आउँदो ५ गते पारित हुने विश्वास व्यक्त गर्नुभयो । नेकपा (एमाले)ले संविधान संशोधनमा समर्थन नजनाए पनि संविधान संशोधन विधेयकलाई निष्कर्षसम्म पु¥याउन सकारात्मक रहेको उहाँको भनाइ थियो ।

उहाँले दलहरु आफ्नो पछिल्लो पोजिसनबाट पछि हटेनन् भने संविधान संशोधन विधेयक पारित हुने दाबी गर्नुभयो । रासस



काठमाडौँ, भदौ १ गते । व्यवस्थापिका संसद्मा चार महिनादेखि विचाराधीन संविधान संशोधन प्रस्ताव भदौ ५ गते निर्णयार्थ पेस हुने भएको छ । चैत २९ गते संसद्मा दर्ता भएपछि राजनीतिक विवादमा फसेको यस विधेयकमा बुधबार दफावार छलफल सुरु भएको हो । संशोधन दर्ता गर्ने सांसदले विधेयकमाथि धारणा राख्ने क्रम सुरु भएको छ । भदौ ४ गतेको बैठकमा पनि संशोधनकर्ताले धारणा राख्ने क्रम जारी रहनेछ । सरकारले दर्ता गरेको संविधान संशोधन विधेयकमाथि ५० संशोधन दर्ता भएका छन् । प्रतिपक्षी दल एमालेका सांसदका ३१ वटा संशोधन छन् । सत्तारुढ दल र असन्तुष्ट मधेसी दलको संयुक्त संशोधन पनि दर्ता भएको छ । सत्तारुढ दलका सांसदहरूको फरक फरक संशोधन पनि छन् ।
सरकारले सीमाङ्कन हेरफेरसहित गत वर्ष मङ्सिर १४ गते संसद्मा दर्ता गरेको प्रस्ताव फिर्ता लिँदै चैत २९ गते संसद्मा नयाँ प्रस्ताव दर्ता गरेको थियो । दर्ता भएको चार महिनापछि प्रस्ताव पारित प्रक्रिया अघि बढाइएको हो । तर, प्रस्ताव दर्तादेखि नै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले प्रस्तावको विपक्षमा छ । एमालेसहितका दल विपक्षमा रहेका कारण प्रस्ताव पारित हुने निश्चित भने छैन ।
दफावार छलफलमा भाग लिँदै एमाले सांसद रेवतीरमण भण्डारीले संविधानको आधारभूत सिद्धान्तविपरीत प्रस्ताव दर्ता भएकाले सरकारको विधेयक फिर्ता हुनुपर्ने धारणा राख्नुभयो । भण्डारीेले संशोधन विधेयक पारित आवश्यक भए विपक्षी दलले पेस गरेको संशोधनअनुसार पारित गर्न माग गर्नुभयो । सरकारले पेस गरेको प्रस्तावले अधिकार दिनेभन्दा खोस्ने काम गरेको उहाँको दाबी छ ।
के छ संशोधन प्रस्तावमा ?
सरकारले संविधानका विभिन्न ११ धारा र ती सम्बद्ध उपधारामा संशोधन प्रस्ताव गरेको छ । मधेस केन्द्रित असन्तुष्ट राजनीतिक दलको माग सम्बोधनका लागि भन्दै सरकारले प्रस्ताव दर्ता गरेको हो । तर, लामो समयसम्म असन्तुष्ट दलले प्रस्तावको स्वामित्व लिएको छैन । आन्दोलनरत दलहरूले प्रस्तावको स्वामित्वका सम्बन्धमा अझै पनि स्पष्ट धारणा सार्वजनिक गरेका छैनन् । सरकारले संविधानको धारा ६ मा रहेको भाषासम्बन्धी विषय संशोधन प्रस्ताव गरेको छ । भाषा आयोगको सिफारिसमा सरकारी कामकाजका भाषा तय गरी संविधानको अनुसूचीमा सामेल गर्ने गरी संविधानको धारा ७ (२) पछि खण्ड (क) थप गरिएको छ ।
यस्तै वैवाहिक अङ्गीकृत नागरिकताको व्यवस्था रहेको धारा ११ को व्यवस्था पूर्ण हेरफेर गरिएको छ । नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले आफ्नो देशको नागरिकता त्यागेको कारबाही चलाउनासाथ वैवाहिक अङ्गीकृत नागरिकता दिने प्रस्ताव संशोधनमा छ ।
यस्तै, राष्ट्रिय सभामा प्रतिनिधित्वसम्बन्धी धारा ८६ को व्यवस्था पनि हेरफेर गर्ने सरकारको प्रस्ताव छ । प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१ जना र ३५ जना जनसङ्ख्याका आधारमा प्रतिनिधित्व हुनेछन् । ५९ सदस्यीय सभाका बाँकी तीन सदस्य मनोनीत हुनेछन् । राष्ट्रिय सभाको निर्वाचक मण्डलबाट स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई हटाउने प्रस्ताव सरकारले गरेको छ । सरकारको यो प्रस्ताव पारित भएमा गाउँपालिका र नगरपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले राष्ट्रियसभा सदस्य छनोटमा मतदान गर्न पाउनेछैनन् । निर्वाचक मण्डलबाट प्रमुख उपप्रमुखको मतभार हटाइएको छ ।
सरकारले संविधान संशोधनसम्बन्धी संविधानको धारा २७४ को व्यवस्था संशोधनको प्रस्ताव गरेको छ । प्रदेशको सीमा हेरफेर गर्नुपर्ने भएमा सम्बन्धित प्रदेश सभाको स्वीकृतिका लागि पठाउनुपर्ने व्यवस्था छ । प्रदेशको अधिकारको विषय भएमा सबै प्रदेशमा पठाउनुपर्ने व्यवस्था थप गरिएको छ ।
विधेयक सदनमा पेस भएको ३० दिनभित्र सहमतिका लागि पठाउनुपर्ने व्यवस्था संशोधनमा छ । तर, प्रदेश सभा गठन नभएसम्मका लागि हालको रूपान्तरित संसद्ले नै सम्बन्धित प्रदेशको सहमति नभए पनि सीमा हेरफेरको अधिकार पाएको छ । संविधानको धारा २९६ संशोधन गरी सरकारले रूपान्तरित संसद्ले सङ्घीय संसद्को पनि काम गर्ने अधिकारलाई थप स्पष्ट पारेको छ ।
यस्ता छन् संशोधन
विचाराधीन विधेयकमा सत्तारुढ दलको संयुक्त संशोधनले हाल संविधानको धारा २७४(४) रहेको प्रदेशको सीमा हेरफेरका लागि सम्वनिधत प्रदेश सभाको स्वीकृति लिनुपर्ने व्यवस्थालाई परामर्श मात्र गरे पुग्ने बनाउन प्रस्ताव गरेको छ ।
यस्तै, प्रतिपक्ष गठबन्धनले सरकारले प्रस्ताव गरेको भाषाको विषय संविधानको आधारभूत संरचनाविपरीत भएकाले साबिककै व्यवस्था राख्न माग गरेका छन् । यस्तै, धारा ७ को व्यवस्थाले तराई मधेस र मुलुकका अन्य भागमा प्रचलित स्थानीय भाषालाई विस्थापित गर्ने नियतबाट ल्याइएको भन्दै त्यो व्यवस्था हटाउन माग गरिएको छ ।
यस्तो छ अङ्कगणित
संशोधन विधेयक निणयार्थ पेस गर्ने तयारी भइरहँदा संसद्को अङ्कगणित समेत चर्चामा छ । हालको अङ्कगणित अनुसार विधेयक संसद्बाट पारित गराउन सरकारसामु चुनौती छ । हाल संसद्मा ५९२ सदस्य कायम छन् । कायम सङ्ख्याअनुसार सरकारलाई विधेयक पारित गराउन संवैधानिक प्रावधानअनुसार ३९५ सांसद आवश्यक पर्छन् ।
तर, संशोधन प्रस्तावको पक्षमा एमालेसहितका केही साना दल एक ठाउँमा छन् । एमालेका संसद्मा १८० सांसद छन् । यस्तै, नेकपा माले ५, राष्ट्रिय जनमोर्चा ३, नेमकिपा ४, परिवार दल २, नेपाः राष्ट्रिय पार्टी १, मधेस समता पार्टी १, बहुजन शक्ति पार्टीको १ सिट पनि एमालेको पक्षमा छ । प्रतिपक्ष मोर्चामा १९७ सिट छ । भर्खर विभाजन भएको राप्रपा संसद्का छुट्टिने प्रक्रियामा रहेको भए पनि अहिलेसम्म संशोधनको पक्ष वा विपक्ष स्पष्ट छैन । राप्रपाका ३७ सांसद छन् ।
तर, राप्रपाले पक्षमा मतदान गरे पनि सत्तारुढ दलसँग पारित गर्न आवश्यक सङ्ख्या पुग्दैन । कायम रहेको सङ्ख्या ५९२ मध्ये सभामुख र सद्भावनाका सञ्जय साहको मताधिकार रहन्न । राप्रपा मतदानका क्रममा पक्षमा सामेल भए पनि सरकारलाई २ मतको खाँचो पर्छ । राप्रपाले साथ नदिएको र सत्तापक्षका कुनै एक सांसद पनि अनुपस्थित रहेको अवस्थामा सरकारको प्रस्ताव असफल हुने निश्चितप्राय छ ।-गोरखापत्रबाट  ,नारायण काफ्ले

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget