Websoft University

www.radiomakalu.com || 021-522512


Articles by "स्वास्थ्य"



- सतह (टेवल‚ डेस्क) र अन्य वस्तुहरूको किटाणुनाशक औषधिको प्रयोगद्वारा निरन्तर सफाइ गर्ने।

- टेलिवर्क (इन्टरनेटको माध्यम)बाट काम गर्नका लागि प्रोत्साहित गर्ने। यदि तपाईको समुदायमा कोभिड-१९ (कोरोना भाइरस)को संक्रमण देखिएमा सार्जनिक स्थानका भीडमा नजाने। टेलिवर्क गर्नाले तपाईंका कर्मचारीहरू सुरक्षित स्थानमा रहेर पनि बिजनेस राम्रोसँग सञ्चालन हुन सक्छ।

- तपाईंका कर्मचारीलाई भीडले भरिएका सवारी यात्रा‚ भीडमा नजानका लागि अनुरोध गर्ने।

- यदि समुदाय वरिपरी कोभिड-१९ को संक्रमण फैलन थालेको थाहा भएमा‚ सामान्य रुघा‚ खोकी र ज्वरो आएमा पनि घरमा एक्लै बस्ने।

- कुनै व्यवसायिक यात्रामा निस्किनुअघि यात्रासम्बन्धी सरसल्लाह लिन सुझाउने

- श्वासप्रश्वासका लागि उचित वातावरणको व्यवस्था गर्ने। रुघाखोकी लगेका कर्मचारीहरूका लागि सर्जिकल मास्क र टिस्यू पेपरहरू कार्यालयमा उपलब्ध छन्/छैनन् भन्नेबारे सचेत हुने।

- निरन्तर हात धुनका लागि प्रोत्साहन गर्ने। कार्यालयमा सबैले देख्ने ठाउँमा स्यानिटाइजरजस्ता वस्तुहरू राख्ने। सबै कर्मचारी‚ ग्राहकहरूले देख्ने र प्रयोग गर्न मिल्ने ठाउँमा साबुन र पानी राख्ने।

- कार्यालय सफासुग्घर राख्ने‚ निरन्तर हात धुनका लागि सबैलाई सचेत बनाउने‚ श्वासप्रश्वासका लागि उचित वातावरणको व्यवस्था गर्ने‚ कुनै व्यवसायिक यात्रामा निस्किनुअघि यात्रासम्बन्धी सरसल्लाह लिने‚ जो बिरामी भएका छन् उनीहरूलाई घरमै बस्न सुझाव दिने।

(विश्व स्वास्थ्य संगठन)


2020-03-01-9480


सल्यान, फागुन १८ गते । सल्यान अस्पताल सल्यानमा दरबन्दी अनुसारको स्वास्थ्यकर्मी पदपुर्ति नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । कार्यालय सहयोगी सहित ३२ जनाको दरवन्दी रहेको अस्पतालमा लामो समयदेखि पदपुर्ति हुन सकेको छैन ।

जिल्ला अस्पताल सल्यानका डाक्टर प्रदिप शर्माले कर्मचारी समायोजन पछि रिक्त भएको स्थायी र करारमा राखिएका कर्मचारीको करार समाप्तीपछि अस्पतालमा स्वास्थ्यकर्मीको समस्या भएका बताउनुभयो । उहाँका अनुसार अस्पतालमा १ डाक्टर, १० जना नर्स र पारामेडिक्स पद पुर्ति हुन सकको छैन ।

सल्यान अस्पतालमा प्रत्येक दिन साना ठुला शल्यक्रिया सेवा समेत उपलब्ध हुने गरेको छ । आवश्यक जनशक्ति नहुँदा इमर्जेन्सीमा एक जनाले १२ देखि १४ घण्टासम्म ड्युटी दिनु पर्ने बाध्यता रहेको अहेव जीवन पुनले बताउनुभयो ।

अस्पतालमा कार्यरत नर्स कोपिला रानाले कर्मचारीको अभावमा दैनिक १० देखि १२ जनासम्म सुत्केरी हुने र दुई नर्शले एक सिफ्टमा २० देखि २५ जनासम्म विरामी हेर्नु पर्ने बाध्यता रहेको गुनासो गर्नु भयो । उहाले भन्नुभयो सुत्केरी हुन आउनेको संख्या धेरै हुन्छ । अन्य विरामी पनि आउने हुदा काम गर्न अप्ठेरो रहेको छ ।अस्पतालमा एनएसआई नामक एक संस्थाका चार चिकित्सकको टोलीले सेवा प्रदान गर्दै आइरहेको छ ।

अस्पताल विकास समिति गठन भएन

अस्पताल समिति एक वर्ष विते पनि गठन हुन स केको छैन । कर्णाली प्रदेश माताहतमा रहेको सल्यानमा अस्पताल ब्यवस्थापन समिति गठन नहुदा समिति मार्फत निणर्य भएर गरिने पदपुर्ति, सामान्य खरिद जस्ता कार्यमा समस्या भएको छ ।

जिल्ला अस्पताल सल्याका प्रमुख अर्जुन वुढाले अस्पतालमा रिक्त अध्यक्ष,स्वास्थ्यकर्मी र आवश्यक वजेट प्रदेश सरकारसंग माग गर्दा पनि अहिले सम्म सुनुवाई नगरेको वताउनुभयो । उहाले भ न्नुभयो अस्पताले गर्नु पर्ने नियमित काममा समेत अप्ठेरो परेको छ ।

नगरपालिकाले राखेका स्वास्थ्यकर्मीको निरन्तरता भएन

सल्यान अस्पतालमा अघिन्नो वर्ष शारदा नगरपालिकाले अस्पतालमा आवश्यक पर्ने स्वास्थ्यकर्मी र अस्पतालमा आवश्यक समान खरिदका लागि बजेट समेत ब्यवस्था गरेको थियो । प्रदेश सरकार माताहतमा अस्पताल गएपछि नगरपालिकाले सहयोग निरन्तरता दिएको छैन ।

दरवन्दी कम हुँदा धेरै समय ड्यूटी

जिल्लाअस्पतालका डाक्टर भीम कान्त जैसीले आवश्यक जनशक्तिको अभावले एक नर्सले २५ जना विरामी हेर्नु पर्ने रडाक्टरले इमेरजेन्सीमा वाह्र घण्टा ड्युटी गर्नु परेको बताउनुभयो । उहाँका अनुसार सल्यान, रुकुम र रोल्पाबाट सल्यान अस्पतालमा सेवाग्राही आउने गरेका छन् । अस्पतालले विशेषज्ञ सुविधा सहित हाइड्रोसिल, हर्निया, सिएस लगायतका शल्यक्रिया र दन्त सेवा पनि दिदै आएको छ ।- प्रतिक शर्मा, गोरखापत्र अनलाइनबाट 

2020-02-26-9285



काठमाडौँ, फागुन १४ गते । चीनको हुबेई प्रान्तबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९)को त्रास पछिल्लो समय विश्वभर फैलिएपछि नेपालमा पनि थप सतर्कता अपनाउन थालिएको छ । नेपाल आवतजावत गर्ने क्रममा रोग भित्रिन सक्ने भएकाले नेपाल जोखिममा रहेको भन्दै सतर्कता अपनाउन थालिएको हो । विमानस्थलमा उच्च सतर्कता अपनाइएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले दक्षिण कोरिया र नेपालबीच हवाई आवतजावत भएकाले नेपाल पनि जोखिममा रहेकाले सतर्कता अपनाउन थालिएको जानकारी दिनुभयो । हाल नेपालमा कोरोना सङ्क्रमण नभएको उहाँले स्पष्ट पार्नुभयो ।
पछिल्ला दिनमा दक्षिण कोरियामा फैलिएको कोरोनाबाट नौ जनाको मृत्यु भएको छ भने सयौँ जना सङ्क्रमित भइसकेका छन् । दक्षिण कोरिया र नेपालबीच हवाई आवतजावत भइरहने हुनाले नेपाल उच्च जोखिममा रहेको छ । नेपालीको ठूलो सङ्ख्या दक्षिण कोरियामा रहेका छन् । आफू महानिर्देशक भइसकेपछिको मुख्य काम पनि कोरोना भाइरसलाई नेपाल छिर्न नदिन उच्च कदम चाल्नु रहेको भन्दै उहाँले विमानस्थलमा सरकारले उच्च सतर्कता अपनाएको जानकारी दिनुभयो । दक्षिण कोरियामा पनि व्यापक मात्रामा फैलिएको हुँदा नेपालमा समेत उच्च सतर्कता अपनाउनुपर्ने स्पष्ट पार्नुभयो ।
यता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता सागर दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ
कोरोनाविरुद्ध विमानस्थलमा...
डेस्क राखेर कोरोना भाइरस प्रभावित देशबाट आएका व्यक्तिहरूको स्क्रिनिङ गरिरहेको जानकारी दिनुभयो । उहाँले निरन्तर १० जना स्वास्थ्यकर्मीहरूको टोली खटिएर स्क्रिनिङ गरिरहेको जानकारी दिँदै कोरोना भाइरस प्रभावित देशबाट आएका व्यक्तिहरूको तापक्रम परीक्षणपछि मात्र विमानस्थलबाट छाड्ने गरिएको जानकारी दिनुभयो ।
चीनसहित ३८ देशमा कोरोना सङ्क्रमणको पुष्टि भइसकेको छ । हालसम्म विश्वभर ८० हजारभन्दा बढी मानिस सङ्क्रमित भइसकेका छन्  । कोरोनाकै कारण दुई हजार सात सय जनाको मृत्यु भइसकेको छ । सङ्क्रमण देखिएका देशहरूले अतिप्रभावित क्षेत्रका मानिसलाई घरैमा क्वारेन्टाइनमा बस्न अनुरोध गरिसकेका छन् । दक्षिण कोरियामा फैलिएको कोरोनाका कारण ईपीएसमार्फत कोरिया उडान भएका ४० जना नेपालीको उडान स्थगित गरिएको छ । - सरोज ढुङ्गेल, गोरखापत्र दैनिकबाट 



काठमाडौं,फागुन ९ गते । नोवेल कोरोना (कोभिड-१९) भाइरसको संकेत देखिएका नेपालसहित नौ देशका विरामी स्वास्थ्य लाभ गरेर घर फर्किएका छन् । नेपाल, श्रीलंका, फिनल्याण्ड, इजिप्ट, कम्बोडिया र बेल्जियममा एक/ एक जनामा कोभिड-१९ को संकेत देखा परेको थियो ।

यस्तै, भारतमा तीन तथा स्पेन र रसियामा दुई/दुई जनामा कोभिड-१९ को लक्षण देखिएको थियो । शुक्रबार विहानसम्म यी ९ वटै देशका सबै बिरामी घर फर्किसकेका छन् ।

१८ हजारलाई स्वास्थ्य लाभ

कोभिड-१९ देखिएका मध्ये १८ हजार ५८० जनालाई स्वास्थ्य लाभ भइसकेको छ ।

चीनसहित २० देशमा भने अझै पनि यो भाइरसको संकेत देखिएका छन् । यस्ता बिरामी चीनमा सबैभन्दा बढी ७५ हजार ४६५ जना छन् ।

सबै देशमा गरेर ७६ हजार ७३८ जनामा कोभिड-१९ को संकेत देखा परेको छ । त्यसमध्ये ५५ हजार ९११ जनामा मात्रै यो भाइरस सक्रिय रहेको एजेन्सीहरूले जनाएका छन् । उनीहरू मध्ये ४३ हजार ८४६ जनामा यसको हल्का असर मात्रै देखिन्छ ।

साढे २२ सयको मृत्यु

कोभिड-१९ को संकेत देखिएका मध्ये १२ हजार ६५ विरामी गम्भिर अवस्थामा छन् । नौ देशमा गरेर जम्मा दुई हजार २४७ जनाको मृत्य भएको छ । गम्भीर बिरामी मध्ये ११ प्रतिशतको ज्यान गएको देखिन्छ ।

चीनमा दुई २३६, इरान, हङकङ र डाइमन्ड पि्रन्सेसमा दुई/दुई जनता तथा दक्षिण कोरिया, जापान, ताइवान, फ्रान्स र फिलीपिन्समा एक/एक जनाको ज्यान गएको हो ।

पछिल्लो पटक चार देशमा मात्रै थप संक्रमित देखिएका छन् । चीनमा ८८९, दक्षिण कोरियामा ४५, अमेरिकामा १२, जापानमा ३ र क्यानडामा एक जनामा नयाँ संक्रमित देखिएका हुन ।

केही महिनामै भ्याक्सिन बन्न सक्ने

विश्वको ध्यान तानेको कोरोना भाइरसको उपचार अझै पत्ता लागिसकेको छैन । कोभिड-१९ विरुद्धको भ्याक्सिन पत्ता लगाउन विभिन्न पहल भइरहेका छन् ।

अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरुले भने केही महिनाभित्र कोभिड-१९ विरुद्धको भ्याक्सिन उपलब्ध हुन सक्ने दाबी गरेका छन् । प्रोफेसर सराह गिलबर्ट नेतृत्वको टिमले कोभिड -२०१९ लाई थप फैलिनबाट रोक्न भ्याक्सिनको विकास अन्तिम चरणमा पुर्‍याएको हो ।

सुरुमा ट्रायलका लागि एक हजार डोज उत्पादन गरिने उनीहरुले बताएका छन् । यसअघि विश्व स्वास्थ्य संगठन (डब्लुएचओले) यस्तो भ्याक्सिन विकास हुन १८ महिना लाग्ने अनुमान गरेको थियो । यही टिमले कोरोना भाइरससँगै सम्बन्धी ‘मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम’ विरुद्धको खोपमा पनि काम गरिरहेको छ ।

प्रोफेसर गिलबर्टका अनुसार विकास भइरहेको भ्याक्सिनको नाम ChAdOx1 nCoV-19 हो ।

– एजेन्सीहरूको सहयोगमा - 



काठमाडौं , कार्तिक २५ गते । सरकारले प्रजनन् स्वास्थ्य सेवालाई गुणस्तरीय, सर्वसुलभ तथा पहुँचयोग्य बनाउन ‘सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५’ ल्याएको छ।

ऐनले पहिलोपटक कामकाजी महिलालाई सुत्केरी भएपछि तीन महिनासम्म तलबसहितको प्रसूति बिदाको व्यवस्था गरेको छ। प्रसूति बिदा अपुग भएमा वा चिकित्सकको सल्लाहमा थप एक वर्ष बेतलबी बिदा बस्न पाउने व्यवस्था पनि ऐनले गरेको छ।

प्रत्येक कार्यालयमा काम गर्ने पुरुष कर्मचारीका लागि श्रीमती सुत्केरी हुनुअघि वा पछि सुत्केरी स्याहारका लागि १५ दिनसम्मको तलबसहित प्रसूति स्याहार बिदाको व्यवस्था गरिएको छ।

प्रत्येक सरकारी, गैरसरकारी र निजी संघसंस्थाले महिलाले प्रजनन् शारीरिक रुग्णताका कारण जटिल शल्यक्रिया गर्नुपर्ने भएमा ३० दिनसम्मको तलबसहितको व्यवस्था ऐनमा गरिएको छ।

यस्तै, हरेक सरकारी तथा गैरसरकारी, निजी कार्यालयहरुमा दुई वर्षसम्म बच्चालाई स्तनपानका लागि स्तनपान कक्षको अनिवार्य व्यवस्था गर्नुपर्ने व्यवस्था गरिएको छ।

लामो समयको कसरतपछि आएको सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकारसम्बन्धी ऐनले कसैले पनि महिलाको प्रजनन् शारीरिक रुग्णताको कारण देखाई सम्बन्धविच्छेद, घरनिकाला वा विस्थापन गर्न नपाइएने व्यवस्था गरिएको छ।

प्रजनन् स्वास्थ्य समन्वय समिति गठन हुने

समितिले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य सेवा सेवासम्बन्धी नीति, योजना तथा कार्यक्रम तयार गर्नका लागि नेपाल सरकारलाई आवश्यक सुझाव दिन स्वास्थ्य मन्त्रालयको सचिवको अध्यक्षतामा १० सदस्यीय समिति रहने उल्लेख गरिएको छ।

उक्त समितिमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, शिक्षा मन्त्रालयका सहसचिव, स्वास्थ्य सेवा विभागका महानिर्देशक, नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद् र स्वास्थ्य मन्त्रालयका कानुन अधिकृत सदस्य रहने व्यवस्था गरिएको छ। त्यसबाहेक मन्त्रालयले तोकेको नेपाल स्वास्थ्य स्वयंसेविका संघको प्रतिनिधि एकजना पनि रहनेछन्। परिवार कल्याण महाशाखाका निर्देशक उक्त समितिको सदस्यसचिव रहनेछन्।

समितिले सो समन्वय समितिलाई प्रजनन् स्वास्थ्य तथा अधिकारको क्षेत्रमा कार्यरत विशेषज्ञलाई आवश्यकताअनुसार बैठकमा बोलाउने, बैठकसम्बन्धी कार्यविधि बनाउने अधिकार दिइएको छ।

संरक्षण गृहको व्यवस्था
मानसिक रुपमा अशक्त, घरपरिवार वा आफन्तबाट तिरस्कृत, बलात्कृत महिलाको प्रजनन् स्वास्थ्य समस्या लागि त्यस्ता महिलालाई संरक्षण गृहमा राख्नेगरी संघ, प्रदेश र स्थानीय तहले पारस्पारिक समन्वयमा व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ।

अपांगमैत्री सेवा
यस ऐन अन्तर्गत  परिवार नियोजन, प्रजनन् स्वास्थ्य, सुरक्षित मातृत्व, आकस्मिक प्रसूति सेवा, नवजात शिशु, प्रजनन् स्वास्थ्य रुग्णतासम्बन्धी सेवा प्रदान गर्दा किशोरी तथा अपांगमैत्री हुनुपर्ने व्यवस्था गरेको छ।

अधिकार सुनिश्चित

ऐनले मातृत्व तथा प्रजनन् स्वास्थ्यमा नयाँ आयाम ल्याउने अपेक्षा गरिएको छ। लामो छलफलपछि आएको ऐनमा महिलाका केही ठोस अधिकार सुनिश्चित गरिएको छ।

मातृत्व तथा प्रजनन् स्वास्थ्य सेवालाई सुरक्षित, गुणस्तरीय, सर्वसुलभ बनाउन प्रजनन् अधिकारसम्बन्धी ऐनबारे बहस चलेको थियो।

ऐनमा प्रजनन् स्वास्थ्य अधिकारसम्बन्धी व्यवस्थामा प्रजनन् स्वास्थ्य अधिकारमा प्रत्येक महिला तथा किशोरीलाई यौन तथा प्रजनन्सम्बन्धी शिक्षा, सूचना, परामर्श तथा सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको छ।

प्रत्येक व्यक्तिलाई प्रजनन् स्वास्थ्य सम्बन्धी सेवा परामर्श तथा सूचना प्राप्त गर्ने अधिकार हुनेछ भने प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्यसम्बन्धी हक हुनेछ।

हरेक महिलालाई गर्भान्तर वा सन्तानको संख्या निर्धारण गर्ने अधिकार, गर्भनिरोधक साधन प्रयोग गर्न पाउने, ऐनबमोजिम गर्भपतन गर्न, गर्भवती, सुत्केरी र प्रजनन् स्वास्थ्यमा रुग्णताको अवस्थामा पोषणयुक्त, सन्तुलित आहार तथा शारीरिक आराम पाउने अधिकार सुनिश्चित गरिएको छ। महिलाको प्रजनन् स्वास्थ्य सेवा र सूचना गोप्य रहने पनि ऐनले व्यवस्था गरेको छ।

सुरक्षित मातृत्व तथा नवजात शिशुसम्बन्धी व्यवस्था
आर्थिक रुपले अति विपन्न महिलाको मातृत्व तथा प्रजनन् स्वास्थ्यका लागि तोकिएबमोजिम खर्च गर्नुपर्ने व्यवस्था गरेको छ।

मानसिक रुपले अशक्त, घर परिवार वा आफन्तबाट तिरस्कृत, बलात्कृत महिलाको प्रजनन् स्वास्थ्य संरक्षणका लागि त्यस्ता महिलालाई संरक्षण गृहमा राख्नेगरी संघ, प्रदेश र स्थानीय तहले पारस्पारिक समन्वयमा आवश्यक व्यवस्था मिलाउने उल्लेख व्यवस्था गरिएको छ।

सुत्केरी भत्तासम्बन्धी व्यवस्था गर्दै नेपाल सरकारले अतिविपन्न सुत्केरीलाई तोकेबमोजिमको भत्ता उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।

सुरक्षित गर्भपतन गर्न पाउने
ऐनले गर्भवतीले चाहेमा १२ हप्तासम्मको गर्भ सुरक्षित गर्भपतन गर्न पाउने व्यवस्था गरेको छ। गर्भवतीले विशेष अवस्थामा २८ हप्तासम्मको गर्भपतन गर्न सक्ने व्यवस्था ऐनले गरेको छ। गर्भवतीको शारीरिक, मानसिक स्वास्थ्य खतरामा रहेमा, जन्मिने बच्चा विकलाङ्ग जन्मने अवस्थाको भएमा चिकित्सकको रायसहित महिलाले २८ हप्तासम्म गर्भपतन गर्नसक्ने ऐनमा व्यवस्था छ।

उक्त व्यवस्थामा जबरजस्ती करणी, हाडनाताबाट रहन गएको गर्भ गर्भवतीको मञ्जुरीमा २८ हप्तासम्मको गर्भ, रोग प्रतिरोधात्मक क्षमतामा कमी ल्याउने जीवाणु जस्तो एचआइभी÷एड्स वा अन्य कुनै प्रकृतिको निको नहुने रोग लागेमा, भ्रूणमा कमीकमजोरी भएको कारण गर्भमै नष्ट हुनसक्ने वा जन्मेर पनि बाँच्न नसक्नेगरी भू्रणमा खराबी, वंशाणुगत खराबी वा अन्य कारण भ्रूणमा अशक्तता हुने देखिएमा चिकित्सकको रायसहित महिलाको मन्जुरीमा २८ हप्तासम्मको गर्भपतन गर्नसक्ने व्यवस्था पनि ऐनमा गरिएको छ।

माथि उल्लेख गरिएको अवस्थामा बाहेक अन्य कुनै कारण, बलपूर्वक, जानीजानी, करकाप, धम्की, ललाइफकाई वा प्रलोभनमा पारी गर्भपतन गर्न नपाउने व्यवस्था पनि ऐनले गरेको छ।

गर्भपतन गराउने काम गर्दा तत्काल गर्भपतन नभई बच्चा जिउँदो जन्मी यस्तो कामको परिणामस्वरुप जन्मिएको बच्चा तत्काल मरयो भने त्यसलाई पनि गर्भपतन गरिएको मानिने ऐनमा उल्लेख छ।

लिङ्ग पहिचान गरी गर्भपतन गराउन, उत्पे्ररित गर्ने, प्रलोभन, धम्की, डरत्रास देखाई, प्रभाव, झुक्यानमा पारी पनि गर्भपतन गर्न बाध्य पार्न नहुने व्यवस्था पनि ऐनले गरेको छ।

गर्भपतन गर्नुपर्ने अवस्थामा ऐनले इजाजतप्राप्त स्वास्थ्य संस्थाबाट इजाजतप्राप्त स्वास्थ्यकर्मीले मात्र सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ। ऐनमा सुरक्षित गर्भपतनका समयमा गर्भवतीका सबै जानकारी, सूचना गोप्य रहने व्यवस्था छ।

आकस्मिक प्रसूति तथा नवजात शिशु सेवा
उक्त ऐनले प्रसूति सेवा प्रदान गर्ने सबै स्वास्थ्य संस्थाले आकस्मिक प्रसूति तथा नवजात शिशु सेवा प्रदान गर्नुपर्ने व्यवस्था गर्दै नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेको गैरसरकारी तथा निजी स्वास्थ्य संस्थाले पनि आकस्मिक तथा नवजात शिशु सेवा प्रदान गर्नुपर्ने व्यवस्था गरेको छ।

ती स्वास्थ्य संस्थाले सेवा प्रदान गर्दा आइपर्ने जटिलता व्यवस्थापन गर्न नसकेमा सम्भव भएमा सरकारी वा सामुदायिक स्वास्थ्य संस्था वा सम्भव नभएमा गैरसरकारी अथवा निजी स्वास्थ्य संस्थामा रिफर गर्न पाउने व्यवस्था पनि ऐनले गरेको छ।

रेफर भइआएका गर्भवती, सुत्केरी तथा नवजात शिशुको सम्बन्धित स्वास्थ्य जटिलताको व्यवस्थापन गर्नु सम्बन्धित स्वास्थ्य संस्थाको कर्तव्य हुने बताइएको छ। हरेक स्वास्थ्य संस्थाले गर्भवतीका लागि आरामस्थलको व्यवस्था गर्न पनि ऐनले भनेको छ।

शिशुको जन्म अभिलेख राख्नुपर्ने
ऐनले प्रत्येक स्वास्थ्य संस्थाले आफ्नो स्वास्थ्य सस्थामा जन्मेका शिशुको अभिलेख राख्नुपर्ने व्यवस्था गर्दै शिशुको बाबु वा आमाको नाम राखी शिशु जन्मेको प्रमाणपत्र बाबु वा आमालाई अनिवार्य दिनुपर्ने व्यवस्था पनि ऐनमा छ।

मृतक शिशु, गर्भपतन भएका तथा गराएका महिलाको समेत संख्या खुल्नेगरी अभिलेख राख्नुपर्ने ऐनमा छ। प्रसूति सेवाका लागि आएका गर्भवती महिलाको मृत्यु भएमा त्यस्ता पनि स्पष्ट अभिलेख राख्नुपर्र्ने व्यवस्था गरिएको छ।

मातृत्व तथा प्रजनन् स्वास्थ्यको लागि बजेट विनियोजन तथा अनुदान
नेपाल सरकारले प्रत्येक वर्ष आफ्नो बजेटमार्फत प्रत्येक स्थानीय तहलाई मातृत्व तथा प्रजनन् स्वास्थ्यको सेवाको प्रयोजनको लागि बजेट विनियोजन तथा अनुदान गर्नुपर्ने व्यवस्था गरिएको छ। यस्तै बजेट विनियोजन प्रदेश र स्थानीय तहले पनि गर्न ऐनले आदेश दिएको छ।

मन्त्रालयले विशेष परिस्थितिमा निर्देशन दिनसक्ने, असल नियतले प्रजनन् स्वास्थ्य सेवा उपलब्ध गराएको विषयलाई लिएर कुनै पनि स्वास्थ्य संस्था, स्वास्थ्यकर्मीविरुद्ध ऐनमा जे लेखिए पनि कारबाही नचलाइने कुरा ऐनले स्पष्ट व्यवस्था गरेको छ।

कसुर र सजाय
गर्भवतीलाई सेवा लिनबाट बञ्चित गरेमा, जानीजानी स्वास्थ्य संस्थाले प्रसुति सेवा प्रदान गर्न इन्कार गरेमा, वा उपचार सम्भव हुदाँहुदैँ अन्यत्र रिफर गरेमा, स्वास्थ्य संस्थाले जन्म प्रमाणपत्र नदिएमा, बलपूर्वक परिवार नियोजन गराएमा, बलपूर्वक गर्भनिरोधक साधन प्रयोग गराएमा, लिङ्ग पहिचान गर्ने, सोही आधारमा गर्भपतन गराएमा, गोपनीयता भङ्ग गराएमा, भेदभाव गरेमा ६ महिना कैददेखि ५० हजारसम्म जरिवानाको व्यवस्था ऐनले गरेको छ।

विभिन्न कारण महिलालाई विस्थापन गराएमा एक वर्ष कैद, एक लाख जरिवाना वा दुवै सजाय हुन सक्नेछ।
- कल्पना पौडेल , स्वास्थ्य खबर पत्रिकाबाट 





एउटा नयाँ अनुसन्धान अनुसार बितेको चार दशकमा बालबालिका र किशोरकिशोरीमा मोटोपनाको मात्रा दश गुणाले बढेको छ जसको अर्थ हुन्छ विश्वभर १२ करोड ४० लाख केटाकेटीहरु असाध्यै मोटा छन्।

'द ल्यान्सेट' भन्ने जर्नलमा प्रकाशित विश्लेषण यस प्रकारको सबैभन्दा ठूलो हो र यसले २०० भन्दा बढी देशहरुमा मोटोपनाको अध्ययन गरेको थियो।

ब्रिटेनमा ५ देखि १९ उमेर समूहका केटाकेटीमा प्रत्येक १०मा एकजनामा मोटोपना देखियो।

मोटोपना भएका बच्चाहरु वयस्क हुँदा पनि मोटा नै हुने सम्भावना हुन्छ र उनीहरुमा गम्भीर खालका स्वास्थ्य समस्या देखिने विज्ञहरुले बताएका छन्।

'वर्ल्ड ओबेसिटी फेडेरेसन'का अनुसन्धाताहरुले मोटोपनाका कारण लागेको स्वस्थ्य समस्या समाधानकालागि सन् २०२५ बाट प्रत्येक वर्ष ९ सय २० अर्ब पाउण्ड बढ्ने भन्दै सतर्क गराएका छन्।

उच्च आम्दानी भएका ब्रिटेनसहितका युरोपेली मुलुकहरुमा बाल मोटोपना दर स्थापित हुन थालेको देखिएपनि विश्वका अन्य देशहरुमा पनि सतर्क हुनुपर्ने गरी मोटोपना बढिरहेको उक्त अनुसन्धानका प्रमुख अनुसन्धानकर्ता तथा इम्पेरियल कलेज लण्डनका प्राध्यापक मजिद इज्जतीले बताए।

मोटो बनाउने सस्ता खानाहरु जताततै पाइनु नै मोटोपनाको एक प्रमुख कारण भएको अनुसन्धानकर्ताहरुको ठम्याइ छ।

पूर्वी एशियाका बालबालिका र किशोरकिशोरीमा धेरै संख्यामा मोटोपना बढेको देखिएको छ।

चीन र भारतमा हालैका वर्षहरुमा मोटोपनाको दर उल्लेख्य मात्रामा बढेको छ।

पोलिनेसिया र माइक्रोनेसियामा जनसंख्यामध्य करिब आधा बालबालिका र किशोरकिशोरीमा बढी तौल वा मोटोपना देखिएको छ जुन विश्वको सबैभन्दा उच्च दर हो।

अनुसन्धाताहरुले यदि यही प्रवृत्तिले निरन्तरता पाए मोटोपना कम वजन भन्दा छिट्टै बढी सामान्य हुनेछ।

कम वजन भएका बालबालिकाहरुको संख्या सन् २००० यता क्रमश घट्दै गइरहेको छ।

सन् २०१६ मा १९ करोड २ लाख बालबालिकाहरुमा कम वजन देखिएको थियो जुन अझै पनि मोटोपना भएका बालबालिकाहरुभन्दा उल्लेख्य रुपमा बढी हो।

तर अब त्यो प्रवृत्तिमा परिवर्तन हुने देखिएको छ।

पूर्वी एशिया, ल्याटिन अमेरिका र क्यारेबियन देशहरुले केही दशकको अवधीमा कमवजनबाट मोटोपनामा परिवर्तन भएको देखेका छन्।

विश्वभर, सन् २०१६ मा थप २१ करोड ३ लाख बालबालिकाहरुमा ज्यादा तौल देखियो तर त्यो मोटोपनाका लागि तोकिएको सीमाभन्दा कम नै हो।

सहायक अनुसन्धाता तथा लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनका डाक्टर ह्यारी रटरले यो ठूलो समस्या भएको र थप खराब हुने बताए।

"दुब्ला व्यक्तिहरु पनि १० वर्ष पहिला भन्दा बढी तौलका हुन थालेका छन्।"

"हामी थप कमजोर मनोबलका, अल्छी वा लोभी भएका होइनौं। सत्य के हो भने हामी वरपरको विश्व परिवर्तन हुँदैछ।"

विश्व स्वास्थ्य संगठनकी डाक्टर फियोना बुलले क्यालोरी धेरै भएको र पोषण कम भएको खानामा कमी ल्याउने कदम चाल्न र शारिरिक व्यायमलाई थप प्रोत्साहन गर्न आह्वान गरेकी छन्।

अहिलेसम्म विश्वभर जम्मा २० वटा देशहरुले मात्रै चिनीको मात्रा बढी भएको पेय पदार्थमा थप कर लगाएका छन्।

ब्रिटेनको जन स्वास्थ्यकी प्रमुख पोषणविद् डा. एलिसन टेडस्टोनले भनिन्, "हाम्रो चिनीको मात्रा कम गर्ने कार्यक्रम र सरकारको चिनीबाट उठाउने कर विश्वभर बढीरहेको छ। तर एउटा पुस्ताको चुनौतीसँग झुध्ने लामो यात्राकालागि यो एउटा शुरुवात मात्रै हो।"

"प्रमाण स्पष्ट छ, मानिसहरुलाई के गर्नुपर्छ भनेर मात्रै काम बन्दैन। शिक्षा र सूचना महत्वपूर्ण हो र कम क्यालोरी भएका स्वस्थ खानेकुराहरु खानका लागि गहिरा कदमहरु आवश्यक छन्।"





हामी सुन्दर बन्न चाहन्छौं। अरुले राम्रो भनेको वा सुन्दरताको वर्णन गरेको सुन्दा रमाइलो लाग्छ।

प्राकृतिक रुपमा हामी सवै सुन्दर छौँ । अझ बढी सुन्दर देखिने चाहना वा उमेरसँगै सुन्दरताको व्यवस्थापन गर्न विभिन्न सौन्दर्य उत्पादन पनि बजारमा छ्यापछ्याती छन् । कुनै न कुनै रुपमा महिला पुरुष दुबैले ती कस्मेटिक साधन प्रायेग गर्दै आएका छन्।

तर सुुन्दर बन्न प्रयोग गरिने कस्मेटिक सामाग्रीले हानी गरिरहेको हुन सक्छ । महङ्गो र नाम चलेको क्रिम लगाउँदैमा सुन्दर बन्ने भ्रम पनि छ । तर, हाम्रो छालासँग मिल्ने कस्मेटिक प्रयोग गर्न जानिएन भने सुन्दर बन्ने नाममा कुरुप बनाउन बेर लाग्दैन।

कसैले हामीलाई यो क्रिम लगाए राम्रो देखिन्छ वा छिटो गोरो÷गोरी भइन्छ भन्यो भने हामी अरु केही नसोची क्रिम किनेर प्रयोग गर्छौं।



राम्रा ब्राण्ड वा कम्पनीले बनाएका क्रिमलगायतका सौन्दर्य उत्पादन पनि सबैलाई एकै खालको प्रयोग गर्न मिल्ने खालका हुँदैन।

छालाका विभिन्न प्रकृति अनुसार कस्मेटिक साधन उत्पादन गरिएका हुन्छन् । जस्तो, चिल्लो, फुस्रो, सामान्य, मिश्रित छालालगायतका छालाका प्रकृतिअनुसारका छुट्टाछुट्टै कस्मेटिक साधन बनाइएका हुन्छन् । त्यसैले आफ्नो छालासँग मिल्ने कस्मेटिक प्रयोग गरिएन भने समस्या सिर्जना हुन्छ।

आफ्नो छालाको प्रकृति थाहा नपाइ अरुको सिफारिस अनुसार क्रिम प्रयोग गर्ने र पछुताउने धेरै देखिएका छन्।

अर्कातिर बजारमा सक्कली ब्राण्डका नाममा थुप्रै कमसल उत्पादन पाइन्छन् । नेपालमा पाइने केही सौन्दर्य प्रसाधन कमसल खालका छन्। जसले हाम्रो अनुसारको छाला बिगारिहेका छन् ।
नेपालमा पाउने सबै सौंदर्य  प्रसाधन नक्कली मात्र छैनन् । राम्रा कम्पनीका साधन पनि छन् । तर कमसलका नआउने भन्ने होइन।

सौंदर्य साधन प्रयोग गर्नै हुँदैन  भन्ने धारणा पनि गलत हो । पहिले महिलाले मात्र राम्री हुन कस्मेटिक लगाउँछन् भनिन्थ्यो । तर आजकल पुरुषले पनि धेरै कस्मेटिक प्रयोग गर्छन् । त्यसैले कस्मेटिक हाम्रो जनजीवनमा चाहिने कुरा हो चाहे कम वा बढी प्रयोग गरौँ । तर यसमा कम वा बढी प्रयोग गर्ने भन्दा पनि आफ्नो छाला अनुसारको कस्मेटिक प्रयोग गरियो भने त्यसको कुप्रभावबाट बच्न सकिन्छ।

दोस्रो कुरा हामी कुनै पनि कस्मेटिक खरीद गर्न जाँदा हामी‘ फलानो कम्पनी क्रिम’ भन्छौँ, किन्छौँ र लगाउँछौँ तर यतिले पुग्दैन । एउटै कम्पनीको धेरै थरीका क्रिम हुन्छन् । हामीले आफ्नो छालाको प्रकार अनुसार मिल्ने कस्मेटिक लिनुपर्छ । त्यो गरेमा कमसेकम त्यसको दुष्प्रभावबाट धेरै हद सम्म बच्न सक्छौँ।

आवश्यकताभन्दा बढी कस्मेटिक प्रयोग गरयो भने छालामा कुप्रभाव पर्छ । त्यसले एक्जिमा वा एलर्जी सबैभन्दा बढी देखिने कुप्रभाव हुन्।

एलर्जी पनि दुई किसिमको हुन्छ । एउटा भागमा कस्मेटिक प्रयोग गर्दा शरीरभरी एलर्जी हुन्छ भने अर्को जुन भागमा लगाएको हो त्यो भागमा एलर्जी हुन्छ।

कहिलेकाहिँ शरीरका एक भागमा कस्मेटिक लगाउँदा इमर्जेन्सी हुन्छ जसले पूरै शरीर सुन्निन पनि सक्छ । त्यो कस्मेटिकको दोष होइन । के हुन्छ भने एउटै खाले कस्मेटिक हजाराँै व्यक्तिले प्रयोग गरिरहेका हुन्छन् तर कुनै एक व्यक्तिको छालाले त्यो कस्मेटिकमा भएको केमिकललाई पचाउन नसकेको कारण त्यस्तो हुन्छ।

यस्तो खालको समस्या हुँदा चिकित्सकलाई देखाउन जरुरी हुन्छ। साथै कुन क्रिम लगाउँदा समस्या भएको हो, त्यो कस्मेटिक पनि सँगै लिएर आइयो भने चिकित्सकलाई बुझ्न र समस्या समाधान गर्न सहज हुन्छ।

कुनै पनि कस्मेटिकले एलर्जी भयो भने त्यो कस्मेटिकको नामले एलर्जी भएको होइन । त्यसमा प्रयोग गरिएका थुप्रै केमिकलमध्ये एक केमिकलले असर गरेको हुन्छ । त्यसैले चिकित्सकलाई  देखाउन आउँदा आफूले प्रयोग गरिरहेको क्रिम लिएर आउनुपर्छ।

मुख्य गरी मानिसहरुको सामान्य छाला, चिल्लो छाला, सुक्खा छाला र मिश्रित छाला हुन्छ । त्यसैले सोही अनुसारको कस्मेटिक प्रयोग गर्नुपर्छ । त्यसका लागि छाला वा सौन्दर्य विशेषज्ञसँग रायसल्लाह लिन सकिन्छ।

कस्मेटिक एलर्जीको समस्या लिएर हामीकहाँ हरेक दिन एक, दुईजना मानिस आउनुहुन्छ।

हामीकहाँ कस्मेटिकको गुणस्तरमापन गर्ने छुट्टै निकाय छैन । औषधि व्यवस्था विभागमा यसको गुणस्तर मापन गर्न छुट्टै शाखा भए धेरै राम्रो हुन्थ्यो । जसले कमसल खालका कस्मेटिक भित्रन वा उत्पादनमा निगरानी राख्न सकोस्।  - डा अनिलकुमार झा, छालारोग विशेषज्ञ , स्वास्थ्य खबर पत्रिकाबाट 



बिबिसी , कार्तिक १७ गते ।  विश्व स्वास्थ्य सङ्गठनले सन् २०१५ देखि 'प्राथमिकता' दिइएका घातक सङ्क्रामक रोगहरूको सूची प्रकाशित गर्दै आएको छ। ती रोगबारे थप अनुसन्धान आवश्यक रहेको बताइन्छ।

महामारीको रूपमा फैलिने सक्ने तिनको क्षमताका कारण र रोकथाम गर्न औषधि र खोप नभएकाले गर्दा ती रोगले जनस्वास्थ्यमा ठूलो जोखिम पार्ने मानिएको छ।

संगठनको सूचीमा केही समयअघि अफ्रिका र भारतमा फैलिएका इबोला र निपा भाइरस पनि परेका छन्। सूचीमा ११ रोगहरू समाविष्ट छन्।

निपा भाइरस


निपा भाइरस फ्रूट ब्याट भनिने एक किसिमको चमेरोबाट घरपालुवा जनावर र मानिसमा सर्छ। निपा भाइरसको सङ्क्रमण हुँदा ज्वरो आउने, बान्ता हुने, टाउको दुख्ने जस्ता लक्षण देखिन्छ। त्यसपछि मस्तिष्क सुन्निन्छ।



निपा भाइरसविरुद्ध कुनै खोप बनेको छैन। सङ्क्रमित व्यक्तिमा ७० प्रतिशत मृत्युदर देखिएको छ। सन् १९९८ मा मलेशियाली नगर निपामा पालिएका सुँगुरहरूमा यो भाइरस पहिलो चोटि भेटिएको थियो। त्यसैले यसको नाम नै निपा भाइरस राखियो।

सङ्क्रमित पशुबाट झन्डै तीन सय मानिसहरूमा यो भाइरस सरेको पाइएको छ। रोग फैलिएपछि एक सयभन्दा बढी मानिसको मृत्यु भएको विवरण प्राप्त भएको छ।

हेनिपाभाइरल डिजिजेज
निपा भाइरस चमेरोबाट सर्ने रोगहरूको वर्ग 'हेनिपाभाइरल डिजिजेज' अन्तर्गत पर्छ। पहिलो चोटि अस्ट्रेलियामा पत्ता लागेको हेन्ड्रा भाइरसलाई पनि यही वर्गमा राखिएको छ।

यो फ्रूट ब्याटमा पाइन्छ। यसको सङ्क्रमण हुँदा घोडा र मानिसहरूको मृत्यु हुनसक्छ। सन् १९९४ मा पहिलो चोटि ब्रिस्बेनको हेन्ड्रास्थित एउटा तबेलामा यसको महामारी फैलिएको थियो।

यसबाट ७० वटा घोडाको मृत्यु भइसकेको छ भने रोग सरेका सातमध्ये चार मानिसको पनि ज्यान गएको छ।

सीसीएचएफ
क्राइमिएन-कङ्गो हेमर्‍याजिक फिभर (सीसीएचएफ) किर्नाबाट सर्छ। यसले मानिसमा गम्भीर महामारी फैलाउन सक्छ। यसबाट मृत्यु हुने अनुपात ४० प्रतिशतसम्म छ।

सन् १९४४ मा पहिलो चोटि क्राइमियामा र पछि कङ्गोमा पनि भेटिएको यो भाइरस पूरै अफ्रिका, बाल्कन प्राय:द्वीप र मध्यपूर्व एवम् एशियाका केही भागमा पाइन्छ। यो रोग अकस्मात् सुरु हुन्छ। टाउको दुख्ने, धेरै ज्वरो आउने, ढाड दुख्ने, जोर्नी दुख्ने, पेट दुख्ने र बान्ता हुने जस्ता लक्षण देखिन्छ।

यो भाइरस मुख्यत: किर्नाले टोक्दा वा सङ्क्रमित गाईवस्तुबाट मानिसमा सर्छ। सङ्क्रमित मानिसको रगत वा शरीरबाट उत्पन्न हुने अन्य तरल पदार्थबाट पनि अर्को मानिसमा सर्छ।

मानिस वा पशु कसैका लागि पनि यो रोगको उपचार गर्न खोप उपलब्ध छैन।

इबोला भाइरस
इबोला भाइरस पनि फ्रूट ब्याटबाट नै उत्पन्न भएको विश्वास गरिन्छ। सन् १९७६ मा प्रजातान्त्रिक गणतन्त्र कङ्गोको इबोला नदीनजिकै फैलिएको महामारीमा यो भाइरस पत्ता लागेको थियो।

इबोला भाइरस जङ्गली जनावरबाट मानिसमा सर्छ। मानिसबाट मानिसमा पनि सर्नसक्छ। इबोला भएको मानिसको घाउ भएको छाला, मुख वा नाकबाट अथवा रगत, बान्ता, मल र शरीरको तरल पदार्थ छोइँदा पनि सङ्क्रमण सर्छ। यो भाइरस मू्त्र र वीर्यमा पनि हुनसक्छ।

इबोलाको औसत मृत्युदर ५० प्रतिशत रहेको छ। त्यसैले यसलाई गम्भीर रोगका रूपमा लिइन्छ। यसले पश्चिम अफ्रिकामा सन् २०१४ देखि २०१६ सम्म भएको महामारीमा ११ हजार मानिसको ज्यान लियो।

अकस्मात् ज्वरो आउने र थकाइ लाग्ने, त्यसपछि झाडापखाला हुने, डाबर आउने एवम् मिर्गौला र कलेजोले राम्ररी काम नगर्ने जस्ता इबोलाका लक्षण हुन्। कसैकसैमा आँखा, कान, नाक र मुखमा आन्तरिक र बाह्य रक्तस्राव पनि हुनसक्छ।

मार्बर्ग भाइरस


मार्बर्ग भाइरसलाई इबोलाको नजिकैको नातेदार मानिन्छ। सङ्क्रमित मानिसको शरीरको तरल पदार्थसँग सम्पर्क हुँदा अन्य मानिसमा यो भाइरस सर्छ। यो पनि चमेरामा पाइन्छ। यसका कारण हुने मृत्युको दर २४ देखि ८८ प्रतिशतसम्म छ।

रोगका लक्षणहरू देखा परेको प्राय: आठ र नौ दिनको बीचमा उच्चरक्तस्राव भएर सङ्क्रमित व्यक्तिको मृत्यु हुनसक्छ। जर्मनीको मार्बर्गमा सन् १९६७ मा यो भारइस पहिलो चोटि पत्ता लागेको थियो। त्यतिबेला फ्रान्कफर्ट र सर्बियाको राजधानी बेल्ग्रेडमा पनि यो रोगको महामारी फैलिएको थियो।

सार्स
सिभिअर अक्युट रेस्परटरी सिन्ड्रोम (सार्स) भाइरसले गराउने श्वासप्रश्वाससँग सम्बन्धित रोग हो। यो रोग 'सिभिट क्याट' भनिने वनबिरालोबाट मानिसमा सरेको हुनसक्ने वैज्ञानिकहरूको मान्यता छ। सिभिट क्याटको मासु दक्षिण चीनमा स्वादिलो मानेर खाने प्रचलन छ।

तर यो रोगको सम्बन्ध चमेरोसँग पनि छ। हालसम्म सार्सको महामारी सन् २००२ देखि २००४ सम्म दुई चोटि फैलिएको छ।

यूकेको न्याश्नल हेल्थ सर्भिसका अनुसार सार्सका ८,०९८ केसहरू दर्ता भएका थिए। तिनमध्ये ७७४ व्यक्तिको मृत्यु भएको थियो। अर्थात् गम्भीर खालको न्युमोनिया गराउने यो भाइरसले दश सङ्क्रमित व्यक्तिमध्ये झन्डै एक जनाको ज्यान लिनसक्छ।

सार्स हावाबाट पनि सर्छ। रुघामा जस्तै सङ्क्रमित व्यक्तिले खोक्दा वा छ्युँ गर्दा थुकको सूक्ष्म थोपाबाट यो फैलिन्छ। सन् २००४ पछि सार्सको केस कतै पनि भेटिएको छैन।

मेर्स
मिडल इस्ट रेस्परटरी सिन्ड्रोम (मेर्स) पनि सार्स भाइरसकै परिवारको सदस्य हो। यो सन् २०१२ मा साउदी अरेबियामा पहिलो चोटि भेटिएको थियो।

यसको सङ्क्रमण भएका झन्डै ३५ प्रतिशत बिरामीको मृत्यु भएको छ। सङ्‍क्रमण हुँदा मेर्स सार्सभन्दा बढी घातक हुन्छ। तर यो कम सरुवा भएको देखिन्छ।

पर्याप्त सुरक्षाविनै बिरामीको स्याहार गर्दा वा अरू किसिमको संसर्गबाट मानिसबाट मानिसमा यो रोग सर्नसक्छ। वैज्ञानिकहरू ऊँटमा मेर्स भाइरस पाइने बताउँछन्। तर मानिसमा कसरी यो सर्‍यो भन्ने स्पष्ट छैन।

मेर्सका कुल केसहरूमध्ये ८० प्रतिशत साउदी अरेबियामा भेटिएका छन्।

रिफ्ट भ्याली फिभर


लामखुट्टे र रगत चुस्ने झिँगाले रिफ्ट भ्याली फिभर (आरभीएफ) गराउने भाइरस सार्छन्। यसबाट प्राय: गाईवस्तु र भेडा प्रभावित हुन्छन्।

तर यो रोग मानिसमा पनि सर्नसक्छ। मानिसमा यसबाट सामान्य रुघाजस्तो स्थितिदेखि गम्भीर समस्यासम्म देखिन सक्छ। रक्तनली बिग्रिने र अङ्गले काम नगर्ने भएर मृत्यु हुनसक्छ।

मानिसमा अधिकांश सङ्क्रमणहरू, सङ्क्रमित वस्तुभाउ जनावरको रगत वा मासुसँग प्रत्यक्ष वा परोक्ष सम्पर्क भएका कारणले हुने गरेका छन्। सङ्क्रमित गाईवस्तुको दूध राम्ररी नउमाली सेवन गर्दा पनि यो भाइरस सरेको हुनसक्ने केही प्रमाण भेटिएका छन्।

लामखुट्टे र रगत चुस्ने झिँगाबाट पनि मानिसमा सङ्क्रमण भएको भेटिएको छ। केन्याको रिफ्ट उपत्यकामा सन् १९३१ मा पहिलो चोटि यो भाइरसको सङ्क्रमण भेटिएको थियो।

जिका



जिका रोग मूलत: जिका भाइरसबाट सङ्क्रमित लामखुट्टेबाट मानिसमा सर्छ। तर यौनसम्पर्क गर्दा पनि मानिसबाट मानिसमा सर्नसक्छ।

ज्वरो आउने, छालामा डाबर देखिने, मांसपेशीमा पीडा हुने र टाउको दुख्ने यसका लक्षणहरू हुन्।

जिकाकै कारणले अस्वाभाविक रूपमा 'माइक्रोसेफली' अर्थात् असामान्य किसिमले सानो शिर भएका शिशुको जन्मको सङ्ख्यामा वृद्धि भएको विश्वास वैज्ञानिकहरू गर्छन्।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार जिका भाइरसले गुइलाएन-बारे सिन्ड्रोम भनिने स्नायुप्रणालीमा हुने दुर्लभ खालको समस्या उत्पन्न गराउनसक्छ, जसबाट युवाहरूमा पक्षाघात हुन्छ।

यो भाइरसविरुद्ध कुनै खोप बनेको छैन।

जिका भाइरस पहिलो चोटो युगान्डाको जिका वनमा बस्ने बाँदरहरूमा सन् १९४७ मा पत्ता लागेको थियो।

लास्सा फिभरसङ्क्रमित मूसाको मलमूत्रका कारणले प्राय: मानिसहरूमा लास्सा भाइरस सर्छ। मानिसबाट मानिसमा सर्न चाहिँ सङ्क्रमित व्यक्तिको रगत, मलमू्त्र अथवा शरीरमा हुने अन्य तरल पदार्थसँग प्रत्यक्ष सम्पर्क हुनुपर्छ।

अङ्गले काम गर्न छोडेर र रक्तनलीमा क्षति भएर रोग लागेको १४ दिनभित्र बिरामीको मृत्यु हुनसक्छ। तर यसबाट हुने मृत्युदर एक प्रतिशत मात्रै छ।

लास्सा फिभर भएका अधिकांश व्यक्तिमा ज्वरो आउने , टाउको दुख्ने र थकाइ लाग्ने भएको पाइन्छ।

तर गत मार्चमा नाइजिरियामा यो रोग फैलिँदा झन्डै ९० जनाको मृत्यु भयो। त्यतिबेला यसको मृत्युदर रोग निदान गरिएका र भएको आशङ्का गरिएका केसहरूमा २० प्रतिशत थियो।

सन् १९६९ मा नाइजिरियाको लास्सा नगरमा पहिलो चोटि यो भारइस भेटिएको थियो।

डिजिज एक्स



विश्व स्वास्थ्य सङ्गठनले डिजिज एक्स नामकरण गरेर महामारीको रूपमा फैलिन सक्ने 'अज्ञात रोग'लाई विशेष ध्यान दिनुपर्ने रोगको सूचीमा राखेको छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार हाल मानिसमा हुने रोगको कारक भनेर नचिनिएको जीवाणुले कुनै बेला विश्वव्यापी रूपमा गम्भीर महामारी फैलाउनसक्छ। यसैलाई डिजिज एक्स भनिएको हो।



विश्व स्वास्थ्य सङ्गठनसँग आबद्ध वैज्ञानिकहरूले संसारमा जुनसुकै बेला पनि घातक भाइरस उत्पन्न हुनसक्ने र त्यसका लागि हामी तयार रहनुपर्ने बताउने गरेका छन्। त्यसैले डिजिज एक्स हाल थाहा नभएको कुराको प्रतिनिधि हो। - स्वास्थ्य खबर पत्रिकाबाट 



काठमाडौं , कार्तिक १६ गते । नेपाल मेडिकल काउन्सिलले स्वदेश र विदेशमा अध्ययन गरेका डाक्टरी विद्यार्थीहरुको लाइसेन्सिङ परीक्षामा सहभागिताका लागि लागू गर्न लागेको फरक फरक व्यवस्था कार्यान्वयनमा नल्याउने भएको छ।

काउन्सिलले अबदेखि नेपालमा एमबिबिएस वा बिडिएस गरेका विद्यार्थीले ६ महिना इन्टर्नसिप र विदेशमा अध्ययन गरेको हकमा १ वर्ष इन्टर्नसिप गरेपछि मात्र लाइसेन्सिङ परीक्षामा सहभागि हुन पाउने व्यवस्था लागू गर्न लागेको थियो। तर, यो विषयमा विरोध आएपछि काउन्सिलले पुरानै व्यवस्था अनुसार जाने निर्णय गरेको हो।

काउन्सिलले स्वदेश र विदेशमा अध्ययन गरेका विद्यार्थीहरुलाई समान मापदण्ड नै लागू गर्ने निर्णय गरेको काउन्सिलका रजिष्ट्रार डा दिलिप शर्माले जानकारी दिए। उनका अनुसार अब स्वदेश र विदेशमा पढेकाले ६ महिना इन्टर्नसिप गरेपछि काउन्सिलको लाइसेन्स परीक्षामा सहभागि हुन पाउने छन्। ‘बिहीबार बसेको बैठकले फरक फरक मापदण्ड लागू नगर्ने निर्णय गरेको हो,’ उनले भने, ‘यो निर्णय स्विकृतीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउन लागिएको छ।’

मन्त्रालयबाट स्विकृती भएर आएसँगै काउन्सिलले स्वदेश र विदेशमा अध्ययन गरेका विद्यार्थीलाई समान मापदण्ड अनुसार नै लाइसेन्सिङ परीक्षा लिने छ। - स्वास्थ्य खबर पत्रिकाबाट 

Image result for khop khuwaune

बाजुरा, कात्तिक १५ गते । जिल्लामा ६ महीनादेखि पाँच वर्षमुनिका २१ हजार बालबालिकालाई बुधबार र बिहीबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । यसका साथै बालबालिकाको पाखुराको नाप लिइने र बालभिटासमेत वितरण गरिने जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

छ महीनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ को क्याप्सुल र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । सोका लागि जिल्लामा २६७ महिला स्वास्थ्य स्वयंसेविका र ११० स्वास्थ्यकर्मी परिचालन गरिएको छ । भिटामिन ‘ए’ र जुकाको औषधिसँगै पाँच वर्षमुनिका बालबालिकाको पोषणको अवस्था थाहा पाउन पाखुराको पनि नाप लिइने जिल्ला स्वास्थ्य कार्यालय बाजुराका अहेव रामचन्द्र यादवले बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ को कमीले बालबालिकालाई रतन्धो, कुपोषण हुने, दीर्घकालीन झाडापखाला लाग्ने, दादुरालगायतका रोग लाग्न नदिन कार्यक्रम सञ्चालन गरिएको हो ।

सरसफाइको कमीले बालबालिकालाई संक्रमण भई जुका पर्ने भएकाले जुका पर्न नदिन जुकाको औषधि खुवाइँदैछ । भिटामिन ‘ए’ को कमीका कारण हुने बाल मृत्यु रोक्न सरकारले विसं २०५० देखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सरकारले छ÷छ महीनामा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ । - रासस



काठमाडौँ, कात्तिक १३ गते । शिशु जन्मेको छ महीना पुग्यो ? अथवा पाँच वर्षमुनिको छ ? छ भने भोलि पायक पर्ने ‘बुथ’मा लिएर जाने तयारी गर्नुहोला ।

मतदान गर्न होइन नि बुथमा ! आफ्ना शिशुलाई स्वस्थ बनाउन एकैपटक चार सेवा भिटामिन ए, जुकाको औषधि (अल्वेन्डाजोल), पाखुराको नाप र बालभिटा प्राप्त गर्न । यसका लागि देशभर ३६ हजार बुथमा ६० हजार स्वयम्सेविका÷स्वास्थ्यकर्मी जनशक्ति तयारी अवस्थामा रहेका छन् ।

कात्तिक १४ र १५ गरी दुईदिन भिटामिन ए खुवाउने कार्यक्रम सञ्चालन हुँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, संयुक्त राष्ट्र सङ्घीय बालकोष (युनिसेफ)लगायत बालबालिकाका क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय दातृ निकायको उच्च प्राथमिकता प्राप्त कार्यक्रमभित्र सो कार्यक्रम पनि रहेको छ । मन्त्रालयले एक वर्षमा वैशाख ६ र ७ तथा कात्तिक २ र ३ गते सो कार्यक्रम अभियानका रुपमा सञ्चालन गर्ने गर्दछ । यस वर्ष महान् पर्व बडादशैँ परेकाले मन्त्रालयले कात्तिक १४ र १५ गते सो अभियान सञ्चालन गर्न लागिएको हो । पहिलोचोटि यस पटक ती कार्यक्रमको नेतृत्व पालिका (गाउँपालिका÷नगरपालिका)ले गर्दैछन् । “देशभरका ७५३ पालिकामार्फत् ती चारवटै सेवा प्रदान गर्न सबै तयारी पूरा भयो”, बालस्वास्थ्य शाखाअन्तर्गतका पोषण शाखा प्रमुख केदार पराजुली भन्नुहुन्छ ।

उहाँका अनुसार भिटामिन ए क्याप्सुल छ महीनादेखि पाँच वर्षमुनिका करीब २७ लाख तथा एक वर्षदेखि पाँच वर्षमुनिका २३ लाख ५६ हजार ८५३ बालबालिकालाई अल्वेन्डाजोल एक ट्याबलेट खुवाइनेछ । अल्वेन्डाजोल चकलेट स्वादमा रहेको छ ।

“भिटामिन ए ले बालबालिकालाई रतन्धो हुनबाट जोगाउँछ, रोगसित लड्ने क्षमतामा वृद्धि हुँदा उनीहरुलाई झाडापखाला, श्वास प्रश्वासलगायतका सङ्क्रमणबाट जोगाउँछ”, बाल स्वास्थ्य महाशाखाका प्रमुख डा झलक गौतम बताउनुहुन्छ । भिटामिन ए खुवाउने कार्यक्रम शुरु भएको लामो समय बितिसके पनि अझै चार प्रतिशत बालबालिकामा भिटामिन ए अभावको समस्या रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । यसैगरी बालबालिकाका लागि अति आवश्यक सुक्ष्म पोषक तत्वका रुपमा बालभिटा खुवाइदैछ । सन् २००८ देखि छ महीनादेखि दुई वर्षमुनिका बालबालिकालाई बालभिटा खुवाउन शुरुआत गरिएको थियो ।

बालभिटाभित्र विभिन्न १५ किसिमका पोषकतत्व मिश्रण गरिएको हुन्छ जुन बिहान खानामा मिसाएर खुवाउन पर्छ । करीब छ लाख ६० हजार बालबालिकालाई सो बालभिटा वितरण गरिनेछ । विज्ञका अनुसार २३ महीनाभित्र १८० प्याकेट बालभिटा खुवाउनु पर्छ । यस पटक बालभिटाको कार्यक्रम ४१ जिल्लामा सञ्चालनमा रहेको मन्त्रालयले जनाएको छ ।

पाखुराको नाप किन ?
मन्त्रालयले छ महीनादेखि पाँच वर्षमुनिका बालबालिकाको पाखुराको नाप लिन अनिवार्य गरेको छ । “पाखुराको नापले बालालिकाको पोषणको स्थितिलाई देखाउँछ । नापले रातो, पहेँलो र हरियो अवस्था देखिन्छ । रातोले कडा कुपोषित, पहेँलोेले मध्यम र हरियोले कुपोषित अवस्था देखाउँछ”, पोषणशाखा प्रमुख पराजुली भन्नुहुन्छ । कुपोषित देखिएका बालबालिकाका अभिभावकलाई पोषण खानाको महत्व, स्थानीय तहमा अन्न तथा फलफूलमा पाइने पोषणका बारेमा जानकारी एवं लिटोका लागि पीठोसमेत वितरण गरिने कार्यक्रम रहेको छ ।

बाल स्वास्थ्य महाशाखा प्रमुख डा गौतमका अनुसार यस पटक ती कार्यक्रमका लागि ३६ हजार बुथ रहने छन् । ती बुथमा ६० हजार स्वास्थ्यका जनशक्ति परिचालन हुने छन् । पहिलो दिनमा स्वयम्सेविका÷स्वास्थ्यकर्मीले बुथमा आएका बालबालिकालाई ती सेवा प्रदान गर्नेछन् । पहिलो दिनमा छुटेका बालबालिकालाई स्वयम्सेविकाले दोस्रो दिन घर घरमा गई ती सेवा प्रदान गर्ने छन् । महिला स्वयम्सेवी तथा । - रासस



जाडो महिनामा मौसमको आद्र्रता कम हुने हुँदा छाला सुख्खा हुदै जान्छ, त्यसको फलस्वरुप हातखुट्टा फुट्न, ओठ फुट्ने छाला सुख्खा हुने कपाल सुक्खा भएर फुरुङ्ग देखिने हुन्छ।

त्यतिमात्र होइन, जाडो महिना शरीरमा विभिन्न किसिमका एलर्जीहरु पनि देखा पर्छन्। उनीको लुगा लगाउने हुँदा एलर्जी भएर शरीर चिलाउने, पोल्ने हुन्छ । चाडोमा हातखुट्टा सुनिने समस्यापनि धेरै देखिन्छ, त्यसैले पनि हामीहरु धेरै घाममा बस्ने आगो ताप्ने हिटर ताप्ने गर्दा हाम्रो छाला सुख्खा हुँदै जान्छ।

जाडोको घाम रापिलो हुने हुँदा छालामा भएको चिल्लोलाई सोचेर छालालाई सुख्खा बनाउँछ । घामले गर्दा अनुहारमा चायाँ बढ्नुको साथसाथै अनुहारमा चाउरीपन बढ्दै जान्छ । त्यसैले जाडोमा घाममा बस्दा वा घरबाहिर निस्कँदा सन्सक्रिममा बढी एसपिएफ भएको प्रयोग गर्नु पर्दछ।

जाडोमा हामीले धेरै साबुन प्रयोग गर्नाले हाम्रो छाला सुख्खा हुदैँ जान्छ, त्यसैले जाडोमा साबुनको सकेसम्म कम प्रयोग गर्दा राम्रो हुन्छ वा बच्चालाई प्रयोग गर्ने साबुन अथवा ग्लिसिरिन भएको साबुनको प्रयोग गर्न सक्छौँ।

जाडोमा हामीले फेसवासको प्रयोग गर्दा पनि माइल्ड खालको फेसवासको प्रयोग गर्ने र तुरुन्तै मोस्चराइज क्रिमको प्रयोग गर्न सक्छौं, त्यसो गर्दा जाडोमा मोस्चराइज हराउन पाउँदैन।

जाडो याममा हिटर ताप्ने, घाममा धेरै बस्दा शरीरमा पानीको मात्रापनि कम हुने हुँदा प्रशस्त मात्रामा मनतातो पानी पिउनु पर्दछ । किनभने हातखुट्टा धेरै फुट्नुको कारण पनि शरीरमा पानीको मात्रा कम भएकाले हो।

मोस्चराइजजिङ लोसनक्रिम जाडो र गर्मी महिनाको भिन्न हुन्छ । गर्मीमा प्रयोग गर्ने क्रिमले जाडोमा काम नगर्न पनि सक्छ । त्यसैले जाडोमा प्रयोग गर्ने मोस्चराइज लोसनको प्रयोग गर्नुपर्छ। किनभने जाडोमा प्रयोग गर्ने लोसनमा बढी मोस्चराइज वा चिल्लो खालको हुन्छ।

हामीले जाडो महिनाामा धेरै ग्लिसिरिन को प्रयोग गर्ने गर्दछौँ। त्यो राम्रो पनि हो ग्लिसिरिनको प्रयोग गर्दा हामीले ग्लीसिरिन मात्र प्रयोग गर्नुहुदैँन किनभने ग्लिसिरिनमा पानी सोस्ने  शक्ति हुन्छ र ग्लिसिरिनको मात्र प्रयोग गर्नाले शरीरमा भएको चिल्लो पदार्थलाई सोचेर छाला झन् सुख्खा बनाउने गर्दछ, त्यसैले ग्लिसिरिन को प्रयोग गर्दा जहिले पनि एक चम्चा ग्लिसिरिन मा दुईचम्चा पानी वा रोज वटर वा कागती मिसायर प्रयोग गर्दा उपयुक्त हुन्छ।

जाडोमा खुट्टा फुटेर हैरान भइन्छ, त्यो बेलामा खुट्टा फुट्ने समस्या भएकाहरुले खुट्टालाई बनाएको क्रिम लगाउनुपर्छ । त्यसमा धेरै मोसचराइज  केमिकल हालेर बनाइएकोले फुटेको खुट्टा छिटो निको हुन मद्दत गर्छ।

जाडोमा हामीले नुहाउँदा तातो पानीको प्रयोग गर्ने गर्दछौँ तर धेरै तातो पानीको प्रयोग गर्दा शरीर सुख्खा हुन्छ। जाडोमा नुहाँउदा जहिले पनि मनततो पानीले नुहाउने र नुहाउनासाथ अलिअलि पानी पुछेर मोस्चराइज लोसनको प्रयोग गर्नुपर्छ। त्यसो गर्नाले  शरीरको चिल्लो कम हुन पाउदैन।

जाडोमा कपाल रुखो हुने हुँदा हप्ताको एकपटक तेल लगाउनु पर्दछ र छिटो–छिटो कपालमा स्याम्फु प्रयोग गर्नु हुँदैन, धेरै स्याम्फुको प्रयोगले कपाल रुखो हुन्छ।

बच्चाहरुलाई जाडो महिनामा चिलाउने समस्या बढ्न सक्छ। त्यसैले राति सुत्नु अगाडि तेल लगाइ दिनुपर्छ बच्चालाई उनीको लुगाभित्र जहिले पनि सुतीको लुगा लगाइ दिनुपर्छ। त्यसो गर्दा चिलाउने समस्या कम हुन्छ। 

- डा सविना भट्टराई, वरिष्ठ छाला रोग विशेषज्ञ , स्वास्थ्य खबर पत्रिकाबाट

(भट्टारार्इ काठमाडौ‌‌‍‍ मेडिकल कलेजमा कार्यरत छिन्।)



मौसमले विभिन्न तरिकाबाट तपाईको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको हुन्छ।

जाडोमा आरथाइटिस रोगीहरुलाई हावाको चाप र तापक्रम घट्नाले जोर्नीहरु दुख्ने हुन्छ । त्यसैगरी मौसम परिवर्तनले माइग्रेन भएकालाई पनि सताउने गर्दछ । हिमपातले दमका बिरामीलाई धेरै दुःख दिन्छ।

‘जमा कार्डियोलोजी’मा प्रकाशित जर्नलले अनुसार जाडो महिनामा हृदयाघातलाई महत्वपूर्ण रोगमा हेरिनुपर्ने लिस्टमा राखेको छ।
स्वेडेनको लन्ड युनिभर्सिटीका डिपार्टमेन्ट अफ कार्डियोलोजी डा. डेविड एरलिन्ज भन्छन् हृदयघात घट्दो तापक्रम, चिसो सिरेटो, मन्द वायुमण्डलीय दबाब, कम सूर्योदय अवधि आदिले बढाउने सम्भावना हुन्छ।

अध्ययनमा के भटियो भने हृदयघातको उच्च जोखिम त्यस दिन थियो जुन शुन्य डिग्री(३२ डिग्री फरेनहाइट भन्दा बढी सेल्सियस थियो।

तापक्रम ३ – ४ डिग्री सेल्सियस तापमान हुँदा हृदयघातको सम्भवाना घटेको पाइयो।

जब न्यूनतम तापमान ६८ डिग्री देखि ३२ डिग्री फरेनहाइटमा घट्छ त्यतिबेला हृदयघात हुने सम्भवाना १४ प्रतिशत बढेको देखिएको डा. इरलिन्ज बताउँछन्।

अध्ययनमा के पनि भेटियो भने हावाको तापक्रम ७.४ डिग्री सेल्सियसमा वृद्धि हुनुको अर्थ २.८ प्रतिशत हृदयघातको जोखिममा कमी आउनु हो।

यो नतिजा २ लाख ७४ हजार ०२९ बिरामीहरुमा गरिएको अध्ययनबाट पत्ता लागेको थियो।

यो अध्ययन स्वेडेस रेजिस्ट्रिीको तथ्यांकबाट अध्ययन गरिएको हो।

यो अध्ययनले हृदयघात र मौसमको सम्बन्ध देखाएको छ । जाडो मौसमममा हृदयघातबाटबच्न लाई शारीरिक क्रियाकलाप कम गर्नुका साथै घरभित्र बस्न चिकित्सक सुझाव दिन्छन्। - स्वास्थ्य खबर पत्रिकाबाट 



पाइल्स, फिस्टुला र फिसर यी रोगहरुसँग प्रायः मानिसहरु परिचित हुन्छन्। किनकि धेरै मान्छेले आफू स्वयं, परिवारका सदस्य, साथीभाइ वा छर–छिमेकमा कोही न कोही यो रोगबाट आक्रान्त भएको देखेकै हुन्छन्। अझ सहरी परिवेश, अहितकर खानपान र अव्यवस्थित जीवनशैलीले यो रोग बढ्दो छ।

यी तीनवटै रोग मलद्वारसम्बन्धी रोग हुन्। हुन त धेरै मानिस यी सबैलाई पाइल्स भन्दै झुक्किरहेका पनि हुन्छन्। तर यी तीन रोगमा भिन्नता छ। आयुर्वेदमा पाइल्स वा हेमोरहोइडलाई अर्स, फिस्टुला–इन–एनोलाई भंगन्दर र फिसर–इन–एनोलाई परिकर्तिका भनिन्छ।

विभिन्न कारणले यी रोग हुने भए तापनि कब्जियत अर्थात् दिसा कडा हुनु नै यसका मुख्य कारण हुन्। रोग बल्झिने र निको नहुने कारण पनि यही हो। आम मानिसमा यी रोगसम्बन्धी व्यापक भ्रम, डर र जानकारीको कमी देखिन्छ। मानिसहरुले मलद्वारमा केही पनि समस्या हुँदा पाइल्स, क्यान्सर भयो भन्दै अस्पताल धाउँदै गरेका भेटिन्छन्।

मलद्वारभित्र र वरिपरि रक्तसिराहरु हुन्छन्। यी रक्तसिराहरु सुन्निने, मासु पलाएझैं ठूलो हुने समस्यालाई अर्स अर्थात् पाइल्स भनिन्छ। यो भित्री र बाहिरी गरी दुई प्रकारको हुन्छ। मलद्वारभित्र हुने अर्समा दिसा कडा हुँदा घाउ भई दुखाइरहित मलद्वारबाट रगत जाने हुन्छ। ठूलो हुदै जाँदा दिसा बस्दा त्यो मासु बाहिर आउने, सुरुसुरुमा आफैं भित्र जाने, पछिपछि औंलाले धकेल्नुपर्ने वा बाहिर नै बसीराख्ने पनि हुन्छ। बाहिरी अर्स-पाइल्स भने मलद्वार वरिपरिका सिराहरु सुन्निएर हुने गर्दछ।

भगन्दर अर्थात् फिस्टुला–इन–एनो भनेको दुई मुख भएको बाटो जस्तो हो, जसको भित्री मुख मलद्वार भित्र वा पक्वासयमा हुन्छ भने बाहिरी मुख मलद्वारको बाहिरी भागमा हुन्छ। पटकपटक संक्रमण भई बाहिरी मुखबाट पिप, रगत, दिसा आदि आउने हुन्छ। संक्रमण हुँदा अत्यन्त कष्टकर हुने र पिप निस्किसकेपछि केही दिन आराम हुने हुन्छ। तर पछि फेरि संक्रमण भई यो प्रक्रिया लगातार चलिरहने हुन्छ।

परिकर्तिका अर्थात् फिसर–इन–एनो भनेको दिसा कडा भई निस्किँदा मलद्वारको छाला च्यातिनु हो। यसमा अत्यन्त पीडा हुनुका साथै जलन, चिलाउने, दिसामा धर्को जस्तो रगत देखिने हुन्छ। यस्तो धेरै लामो समयसम्म भइरहँदा त्यहाँ मासु पनि पलाउने हुन्छ, जसलाई सेंटिनल टैग भनिन्छ।



नेपालको मौलिक चिकित्सा पद्धतिका रूपमा रहेको आयुर्वेद चिकित्सामा यी रोगहरुको अत्यन्त प्रभावकारी, सरल, सस्तो, भरपर्दो र उपद्रवरहित उपचार उपलब्ध छ। पेट सफा राख्ने, दिसा नरम, खुलस्त र नियमित बनाउने जड़ीबुटीयुक्त औषधिहरु एकदम प्रभावकारी र दुष्प्रभाव (साइडइफेक्ट) रहित छन्।

त्यस्तै स्नेहन, स्वेदन, लेप, विरेचन, वस्ति, घृत, लेप आदिको पनि प्रयोग गरिन्छ। आवश्यक परे शस्त्र कर्मअन्तर्गत क्षारसूत्र विधिको प्रयोग अर्स, भंगन्दर र परिकर्तिकाको सेंटिनल टैगमा गरिन्छ। रोगीलाई पूरै बेहोस गर्नु नपर्ने, घाउ कम हुने, कम दिन अस्पताल भर्ना भई बस्नुपर्ने, कम समयसम्म औषधि खानुपर्ने, फेरि बल्झिने वा रोग पुनः हुने अवस्था अत्यन्त न्यून हुने भएकाले आजकल यो विधि एकदम प्रचलित छ।

स्वस्थ मानिसलाई स्वस्थ राख्ने र रोगीको रोग समन गर्ने यी दुई मुख्य उद्देश्य रहेको आयुर्वेदमा हरेक रोगको उपचारमा कारण परित्याग प्रथम चिकित्सा सूत्र विधान रहेको छ। तसर्थ रोगको मुख्य कारणका रुपमा रहेको कब्जियत हटाउने उपाय गर्नुका साथै मलद्वारको सरसफाइमा विशेष ध्यानदिनु पर्छ।

विशेषगरी माछा, मासु, अण्डा, जाँडरक्सी, चुरोट, मर मसला, गुरु भोजनको अत्यधिक सेवनका कारण कब्जियत हुन सक्छ। त्यसैले कब्जियत गराउने यी खानेकुराका साथै मरिच, अदुवा, खुर्सानी, चिल्लो पिरो, मैदा परिकारहरु जस्तै मम, चाउमिन, बिस्कुट, दही, केरा, पिंडालु, अनार, चिउरा, कालो दाल, सुपारी, पान, बाहिरी खानेकुरा, तैलीय पदार्थ, चिसो पेय पदार्थ, चिया कफी आदिको सेवन नगर्ने वा गर्नै परे एकदम कम मात्रामा गर्नुपर्छ।

त्यस्तै प्रशस्त पानी, झोलपदार्थ, हरियो सागपात, सलाद (काँक्रो, मुला, गाजर आदि), आटाको रोटी, रहर, मुँगको दाल, तररहित दूध, फलफूल आदि सेवन गर्नुपर्छ। कदाचित कब्जियत भइहाले त्रिफला चूर्ण, पंचसकार चूर्ण, त्रिवृत्त चूर्ण, अभयारिस्ट आदि औषधिको प्रयोग अल्प समयसम्म गर्न सकिन्छ। केही समस्या भए चिकित्सकलाई देखाई अरु औषधि–उपचार गराउनुपर्छ। - स्वास्थ्यखबर पत्रिकाबाट 

(लेखक त्रिभुवन विश्वविद्यालय, आयुर्वेद शिक्षण अस्पताल, कीर्तिपुरमा इन्टर्न डाक्टरका रुपमा कार्यरत छन्)



स्तनको टिस्यूजमा असामान्य वृद्धि अथवा परिवर्तनको पहिचान गर्नको लागि विशेष प्रकारको एक्स–रे प्रयोग गरिन्छ, जसलाई मेमोग्राम भनिन्छ । यो स्तन क्यान्सरको पहिचान गर्ने उपयुक्त विधि हो । रेडियोग्राफर टेक्नोलोजिष्टले स्तन दबाएर कम से कम दुई एंगलबाट स्तनको चित्र लिने गर्दछन्। नियमित चिकित्सकीय परीक्षणद्वारा स्तन क्यान्सरको सुरुवाती निदान गर्न मेमोग्राम अति नै आवश्यक हुन्छ।

४० वर्ष पछि अथवा त्यो भन्दा पहिले यदि तपाईंलाई स्तन क्यान्सरको खतरा छ भने तपाईंले हरेक वर्ष मेमोग्राम गराउनु आवश्यक हुन्छ । यदि तपाईंको परिवारमा स्तन क्यान्सरको कुनै व्यक्तिगत अथवा पारिवारिक इतिहास छ भने डाक्टरले ४० वर्षको उमेरभन्दा पहिने नै स्क्रिनिङ्गद्वारा जाँच गर्न सुझाउनेछन्।

यदि तपार्इंको डाक्टरले स्तनको हुनसक्ने क्यान्सर अथवा परिवर्तनको जाँच गर्नको लागि एउटा नियमित जाँचको रुपमा मेमोग्राम गर्नको लागि सुझाउनेछन् भने त्यस्तो प्रकारको जाँचलाई स्क्रिनिङ्ग मेमोग्राम भनिन्छ । यस प्रकारको जाँचमा प्रत्येक स्तनको दुई तरिकाले एक्स–रे गरिन्छ।

यदि तपार्इंको स्तनमा गाँठागुठी अथवा स्तन क्यान्सरको केही अन्य लक्षण छ भने डाक्टरले डाइग्नोस्टिक मेमोग्राम गर्न सुझाउनेछन्।

यदि तपाईंको स्तन प्रत्यारोपण भएको छ भने तपाईंलाई एउटा डाइग्नोस्टिक मेमोग्रामको आवश्यकता पर्दछ । डाइग्नोष्टिक मेमोग्राम स्क्रिनिङ्ग मेमोग्राम भन्दा कयौं गुणा राम्रो हुन्छ।



लेखक राजेशकुमार दास

मेमोग्राम भन्दा पहिले
१. तपाईलाई डिओडोरेन्ट, बाँडी पाउडर, मल्हम अथवा क्रिम आप्mनो स्तनमा प्रयोग गर्न रोक लगाइन्छ । यी पदार्थहरुले गर्दा एक्स–रे चित्र खराब गर्न सक्छन्।

२. यदि तपाईं गर्भवती हुनुहुन्छ अथवा गर्भवती हुने सम्भावना छ भने जाँच गर्नु भन्दा पहिले रेडियोग्राफर टेक्नोलोजिस्टलाई बताइदिनुपर्छ।

मेमोग्रामको क्रममा
१. तपार्इंलाई छाती तिरको (स्तन वरिपरिको) कपडा हटाउन भनिनेछ र अस्पतालद्वारा तपाईंलाई लगाउनको लागि गाउन उपलब्ध गराइनेछ ।
२. तपाईंलाई मेमोग्राम मसिनको नजिक उभिन भनिनेछ।

३. प्रत्येक स्तनको कमसेकम दुई तरिकाले एक्स–रे गरी तस्वीर लिने गर्दछ।

४. रेडियोग्राफर टेक्नोलोजिस्टद्वारा तपार्इंको स्तनलाई तल–माथि अथवा दायाँ–बायाँ गर्नुपर्ने हुन्छ। ताकि एक्स–रेको लागि सही ठाउँ छान्न सकियोस्।

५. तपार्इंको स्तनलाई दुई समतल सतहबीच दबाउने गरिन्छ । जसले गर्दा तपाईलाई केही समयको लागि अप्ठ्यारो महशुस हुन सक्छ तर यसले गर्दा तपाईंलाई कुनै हानी पुग्ने छैन।

६. तपार्इंलाई गहिरो सास लिन भनिनेछ र जवसम्म एक्स–रे लिइन्छ तबसम्म सास रोक्न भनिनेछ।

७. यदि तपाईंले स्तन प्रत्यारोपण गराउनु भएको छ भने अलि बढी एक्स–रेको आवश्यकता पर्दछ र जाँच गर्न बढी समय लाग्नेछ।

८. जाँचको परिणाम एक्स–रेद्वारा लिएको स्तनको तस्वीरद्धारा तपाईको डाक्टर कहाँ पठाइन्छ र रोगको निदान गरिन्छ।

मेमोग्रामद्वारा लिएको तस्वीरले तपार्इंको स्तनमा भएको गाँठागुठी अथवा क्याल्सियमलाई खोज्न मद्दत गर्दछ । अधिकतम गाँठागुठी क्यान्सरको संकेत दिँदैन । यहाँ बीआई–आरएडीएस अथवा ब्रेस्ट इमेजिंग रिपोर्टिङ्ग र डाटाबेस सिस्टम नामक मेमोग्राम एक राष्ट्रिय निदान प्रणाली हो । यस प्रणालीमा सात श्रेणी हुन्छन् जहाँ शुन्यबाट ६ श्रेणीसम्म हुन्छन् । प्रत्येक श्रेणीमा यो बताइन्छ कि के स्तनको अतिरिक्त तस्वीर आवश्यक छ कि छैन अथवा स्तनको कुनै पनि क्षेत्र क्यान्सर मुक्त छ अथवा क्यान्सर युक्त हुने सम्भावना छ।

(दास त्रिवि शिक्षण अस्पताल महाराजगंजमा रेडियोलोजी अध्ययनरत छन् ।) - स्वास्थ्य खबर पत्रिकाबाट 



मेडिकल क्षेत्रमा भिडियो एक्स-रे को प्रयोग हुनथालेको करिब ६ दशक भइसकेको छ ! नेपालमा पनि यसको प्रयोग प्राय: सबै सानोठूलो अस्पतालमा हुन्छ । एउटा रेडियोलोजिस्टले भिडियो एक्स-रे गर्दा दैनिक जसो कानमा पर्ने प्रश्नमध्ये एउटा हो 'डाक्टर साहब, यो भिडियो एक्स-रे कति पटक गर्ने हो ? अस्ति भर्खर गरेको फेरी गर्दा बचालाई केहि असर पर्ने हो कि ?'

यो जिज्ञासा सवैजसो रेडियोलोजिस्टहरु ले पनि धेरै सुन्नु भएको होला । त्यसले आम जानकारीका लागि यही विषयमा केही कुरा प्रस्तुत गर्न खोजिएको हो।

भिडियो एक्स-रे गर्भावस्थामा कम्तिमा १ पटक (भिडियो एक्स-रे को पहुँच नभएको वा अरु कुनै कठिनाई भएकोमा ) देखि ३ पटकसम्म गरिन्छ। पहिलोपटक पहिलो त्रैमासिक अर्थात् १२ हप्ता सम्म गर्भको दिन / समय तोक्न, मुटुको धड्कन र बच्चा बस्नेघर पाठेघरमा भए नभएको हेर्न । दोस्रोपटक दोस्रो त्रैमासिकमा बच्चाको अवस्था थाहा पाउन ( अंगभंग भएको वा राम्रोसँग बनेको वा नबनेको हेर्ने ) । दोस्रो त्रैमासिकको जाँच एकदमै महत्वपूर्ण र अनिवार्य हो । अरु समयको स्क्यान भए वा नभए पनि दोस्रो त्रैमासिकमा हुन अति आवश्यक छ । तेस्रो त्रैमासिकमा बच्चाको अवस्था, साल र पमनीको अवस्था हेर्न गरिन्छ । यी उल्लेखित कारण वा समय भन्दा अरु कारण र समयमा पनि भिडियो एक्स-रे गरिन्छ र गर्नु परेमा सुत्केरीलाइ हेर्ने गाइनेक्लोजिस्ट र रेडियोलोजिस्टको सल्लाह अनुरुप गर्न सकिन्छ।

सामान्यतया भिडियो एक्स-रेले मानव सरिरलै खासै हानी पुर्यासउने गरेको पाइएको छैन। अहिलेसम्म थाहा भएको मध्ये प्रमुख नकारात्मक प्रभाव कोसिकाहरु तात्तिनु हो तर २.५ डिग्री सेन्टिग्रेड भन्दा माथि भए मात्र हानी हुन्छ, त्यसभन्दा कम भएमा खासै नकारात्मक असर हुँदैन ! प्राय डायग्नोसटिक भिडियो एक्स-रे गर्दा अधिकतम १.५ डिग्री सेन्टिग्रेड(<२.५ ) सम्म तापमान बढ्ने रिसर्चमा उल्लेखित छ । तापमान बढाउने अर्को भिन्न भिडियो एक्स–रे गर्दा लाग्ने समय हो। जति लामो समय त्यत्तिनै तापक्रम बढ्छ। कति समयसम्म गर्दा कतिसम्म तापक्रम बढ्छ भन्ने कुरा मेसिनको थर्मल इन्डेक्स (टीआर्इ) बाट थाहा हुन्छ । यही टीआइबाट कति समयसम्म भिडियो एक्स-रे गर्दा हानी हुँदैन भन्ने थाहा हुन्छ। यो फरक–फरक मेसिनको फरक फरक हुने गर्छ तर विदेशका ठूला अस्पतालहरुमा गरिएको अनुसन्धान अनुसार अहिले प्रयोगमा आइरहेका मेसिनहरुले हानिकारक मात्रामा बढाउँदैनन्।

निस्कर्षमा, भिडियो एक्स-रे प्रयोग भएको यति लामो समयमा मानव शरीरलाई नकारात्मक असर पुर्याउने कुनै ठोस प्रमाण थाहा भएको छैन। युएसजी धेरैपटक गरेर गर्भावस्थाको प्रतिफल राम्रो हुने र कम गरेर नराम्रो हुने भन्ने हुँदैन। आमा र गर्भमा रहेको शिशुको स्वास्थ्यमा भिडियो एक्स-रेबाट पत्ता लाग्ने कुनै प्रकारको समस्या छैन भनेर यकिन गर्न, गर्भको प्रतिफल राम्रो हुनका लागि, शिशुलार्इ हानी नहुने गरी वा सकेसम्म कम हुनेगरी विशेषज्ञ चिकित्सकको सल्लाह बमोजिन भिडियो एक्स-रे को प्रयोग गर्नु पर्दछ।- डा आवेश कोइराला, रेडियोलोजिस्ट ,स्वास्थ्य खबर पत्रिकाबाट 

                                      के हो थाइराइड ? किन लाग्छ यो रोग ?




थाइराइडको समस्या प्रायः वयष्क उमेरका मानिसहरुमा देखिने गर्छ । पछिल्लो समय थाइराइडसम्बन्धी समस्याबाट ग्रसित हुनेमा युवा, वयस्क र वृद्ध वृद्धामात्रै नभएर १८ वर्ष मुनिका बालबालिकासमेत रहने गरेका छन् ।

यो समस्या किन हुन्छ, धेरैलाई थाहा छैन । तथापि, नेपालमा थाइराइड सम्बन्धी समस्याबाट ग्रसित हुनेको संख्या उच्च हुने गरेको छ । अटो इम्युन समस्या तथा खानामा आयोडिनको मात्रा धेरै हुने कारणले पनि नेपालमा धेरैलाई थाइराइडको समस्या हुने गरेको चिकित्सकहरु बताउँछन् ।

पुल्चोकस्थित अल्का अस्पतालमा कार्यरत इन्डाक्राइनोलोजिस्ट डाक्टर प्रियदर्शिनी योञ्जन भन्छिन् ,‘खानामा आयोडिनको मात्रा धेरै भएमा यसले थाइराइड ग्रन्थी भत्काइदिन्छ । जसले गर्दा थाइराइडको समस्या निम्तने गर्छ’ ।

त्यसबाहेक, आयोडिनको कमी हुने ठाउँमा आयोडिनको कमी भएमा, थाइराइडको संक्रमण, विभिन्न किसिमका औषधीको प्रयोगका कारण पनि थाइराइड हुने गर्दछ ।

त्यस्तै, शरीरमा हर्मोनको उत्पादन बढी भई हाइपर थाइराइडिज्मको समस्या भएमा २० देखि ३० वर्ष उमेरका महिलाहरुमा थाइराइडको समस्या देखिन्छ भने हर्मोनको कमी भई हाइपोथाइराइडिज्मको समस्या भएमा ४०–५० वर्ष उमेर पार गरेका महिलाहरुमा पनि यो समस्या देखिने गर्छ ।

त्यसबाहेक, अटो इम्युनको समस्या भएमा पनि थाइराइडको सम्भावना उच्च हुने गर्छ ।

अटो इम्युन डिजिज भएमा शरीरको प्रतिरोधी क्षमताले शरीरको कुनै अंग (थाइरइड ग्रन्थी, मिर्गौला, छाला लगायतका अंगहरु) लाई नचिनेर उक्त अंगलाई भित्रबाटै भत्काईदिने वा उक्त अंगमा हमला गरिदिन्छ । र, थाइराइड लगायतको समस्या निम्तने गर्छ ।

अटो इम्युन समस्या हुनको लागि शरीरको संरचना त्यही तरीकाले बनेको हुनुपर्छ । तर अटो इम्युन समस्यालाई ट्रिगर गर्ने वातावरणीय समस्याहरु हुन्छ । जसमध्यको एउटा आयोडिन पनि भएकाले डाइटकै कारण अटो इम्युन समस्या भने पटक्कै हुँदैन ।

त्यसबाहेक, भाइरल रोगको संक्रमण, औषधीको सेवन, घाँटीमा रेडिएशन थेरापीको प्रयोगका कारण पनि थाइराइड हुने सम्भावना उच्च हुने गर्छ ।

नेपालमा थाइराइडबाट संक्रमित बालबालिकाको यकिन तथ्यांक छैन । तर एकदेखि दुई प्रतिशत बालबालिका तथा अठार वर्ष नाघेका करिब चार प्रतिशत वयष्कहरुमा थाइराइडको समस्या हुने गरेको विभिन्न तथ्यांकले देखाएको छ ।

के हो थाइराइड ?

समयमै उपचारद्वारा नियन्त्रण गर्न सकिने रोग भएका कारण थाइराइड हुँदैमा आत्तिहाल्नु पर्दैन । र, प्रजनन स्वास्थ्यमा पनि यसले खासै असर गर्दैन । तथापी, समयमै रोग पहिचान नभएको खण्डमा थाइराइडका कारण बाँझोपना हुने तथा गर्भ तुहिने भएकाले यसका लक्षण देखा परेमा भने एक पटक अवश्य थाइराइडको परीक्षण गराउनु पर्दछ ।

रगतमा थाइराइडको परीक्षणद्धारा थाइराइड पत्ता लाग्नुका साथै कस्तो किसिमको थाइराइड हो भन्ने समेत पत्ता लगाउन सकिने हुदाँ यो जाँचलाई निकै प्रभावकारी मानिन्छ ।

थाइराइड कुनै रोग नभएर घाँटीमा हुने एक प्रकारको ग्रन्थी हो । यो ग्रन्थीबाट थाइराइड हर्मोन उत्पादन हुन्छ, जसले शरीरलाई ताकत प्रदान गर्छ ।

कुनै कारणवस थाइराइड ग्रन्थीमा समस्या भएमा थाइराइडको समस्या हुने गर्छ । र, थाइराइडको समस्या दुई प्रकारको हुन्छ, हाइपर थाइराइडिज्म (हर्मोन कमीको समस्या) र हाइपो थाइराइडिज्म (हर्मोन बढी हुने समस्या) ।

थाइराइडको लक्षण

हाइपो थाइराइडिज्म भएमा शरीरको मेटाबोलिज्म (खानालाई शक्तिमा परिणत गर्ने ) कम हुने गर्छ । जसले गर्दा दुविधा बढ्ने, मुड ठीक नहुने, स्मरण शक्ति कमजोर हुने, चिडचिडापन हुने, अल्छी लाग्ने गर्दछ ।

थाइराइइडको लक्षण रोग अनुसार फरक हुने भएकोले यसको लक्षण पनि फरक फरक हुने गर्छ । शरीरमा हर्माेनको कमीका कारण हाइपोथाइराइडिज्म समस्या भएमा शरीरमा इनर्जी दिने हर्मोन को कमी हुने गर्छ । जसले गर्दा शरीर कमजोर हुने , थाक्ने गल्ने, काम गर्न जाँगर नचल्ने, छाला फ्रुुस्रो हुने, जीउ सुन्निने, तिव्र गतिमा तौल बढ्ने, गर्मी तथा चिसो छिट्टै महसुस हुने, कब्जियत हुने, अनिद्रा, कपाल झर्ने लगायतको समस्या निम्तने गर्छ ।

तर, यस्ता लक्षण आफैंमा वृहत भएकाले यस्ता लक्षण जोसुकैलाई देखिन सकिन्छ । विशेषगरी, महिलामा यो समस्या बढी हुन्छ ।

जब कि शरीरमा हर्मोनको मात्रा धेरै भएमा यसको लक्षण पनि ठीक उल्टो हुन्छ । जसले गर्दा शरीर दुब्लाउँदै जाने, हातखुट्टा काफ्ने, धेरै पसिना आउने, शरीर तात्ने, दिशा लाग्ने गर्दछ ।

एउटा सामान्य व्यक्तिमा थाइराइडकोे अपर रिफरेन्स रेन्ज ४.२ देखि ५.५ भएमा चिकित्सकहरु यसलाई सामान्य स्तर मान्ने गर्छन् भने बच्चाहरुमा टिएचएसको स्तर १० सम्म भएमा त्यसलाई सामान्य भन्ने गर्दछन् । बालबालिकामा यदी टिएचएसको स्तर १० भन्दा माथि भएमा त्यसलाई असामान्य भन्ने गरिन्छ । र , यस्तो अवस्थामा बालबालिकालाई तुरुन्तै औषधी सेवन गर्न सल्लाह दिइने गरिन्छ ।

थाइराइडका प्रकार

थाइराइड सामान्यतया दुई प्रकारको हुन्छ, हाइपर थाइराइडिज्म र हाइपो थाइराइडिज्म । थाइराइड ग्रन्थीले आवश्यक्ता भन्दा बढी मात्रामा थाइराइड हर्मोनको उत्पादन गरेमा त्यसलाई चिकित्सकीय भाषामा हाइपरथाइराइडिज्म भनिन्छ ।

त्यसैगरी, शरीरमा थाइराइड हर्मोनको कमी भएमा त्यसलाई हाइपोथाइराइडिज्म भनिन्छ ।

हाइपोथाइराईडिज्म र हाइपर थाइराईडिज्मको समस्या व्यक्तिपिच्छे फरक हुन्छ । तथापि, हर्मोनको उत्पादन हुने समस्याको तुलनामा हर्मोनको कमी हुने समस्या धेरै देखिने गर्छ । यो समस्या पुरुषको तुलनामा महिलामा धेरै हुन्छ ।

यो आणुवंशिक रोगसमेत भएकाले परिवारका कुनै व्यक्तिमा यो समस्या देखिएमा परिवारका अन्य सदस्यलाई पनि यो रोग लाग्ने सम्भावना उच्च हुन्छ । अझ यो रोग अटो इम्युन समस्याका कारण भएको हो भने आमाबाट छोराछोरीमा तथा दिदीबहिनीमा हुने सम्भावना उच्च हुन्छ ।

उपचार विधि


थाइराइडको उपचार रोग अनुसार फरक हुने भएकोले कुनै व्यक्तिलाई थाइराइडको समस्या भएमा सबैभन्दा पहिले कारण खोज्न जरुरी छ । त्यस पश्चात्त थाइराइडको समस्या कुन किसिमको हो ? निको हुने हो कि हैन ?

किनकि अटो इम्युनका कारण थाइराइडको समस्या भएमा यो रोग निको हुँदैन । जब कि, भाइरस संक्रमणका कारण थाइरोडाइटिस् भएमा ८० प्रतिशत व्यक्तिमा यो रोग आफंै निको हुने भएकाले रोगको पहिचान गरी उपचार छिटो गर्न जरुरी छ ।

अन्यको हकमा भने चिकित्सकको परामर्श अनुसार थाइरोक्सिन वा थाइरोनम नामक औषधीको सेवनद्वारा यो रोगलाई नियन्त्रण गर्न सकिन्छ ।

थाइरोक्सिन र थाइरोनम आफंैमा एक प्रकारको हर्मोन भएकाले यसको सेवनले शरीरलाई खासै असर गर्दैन । तथापि, हाइपर थाइराइडिज्म (थाइराइडको उत्पादन धेरै भएमा) को समस्या भएमा त्यसलाई नियन्त्रण गर्न केही समस्या हुने भएकाले यसको नियन्त्रणका लागि एन्टी थाइराइड हर्मोन दिइने गरिन्छ । त्यसका बाबजुद यदि कुनै कारणवस उक्त औषधीले काम नगरेको खण्डमा झोल आयोडिन वा रेडियो एक्टिभ आयोडिन समेत खुवाइने गरिन्छ ।

के गलत खानपानले पनि थाइराइड हुन्छ ?

यो रोग जीवनशैलीका कारण लाग्ने रोग नभएका मधुमेह, उच्च रक्तचापमा जस्तो यसमा डाइटको खासै भूमिका हँुदैन । तर, आयोडिनको मात्रा धेरै भयो भने यसले थाइराइडको समस्या निम्त्याउन सक्छ । यहाँ बुझ्न के जरुरी छ भने यो रोग जंकफुड, प्रोसेस्ड फुडकै कारण लाग्ने रोग भने पटक्कै हैन । त्यसैले, यसको प्रत्यक्ष सम्बन्ध पनि खानासित खासै हुँदैन ।

तथापि, पहाडतिर हुने गलगाँडको समस्या आयोडिनको कमीले गर्दा हुने भएकाले यो समस्या भएमा फोसिफेरस तरकारी जस्तै बन्दा, काउली लगायतका खानेकुरा नखान सल्लाह दिइने गरिन्छ । यसको कारण के हो भने यस्ता खानेकुराको सेवनले थाइराइडको फंसनमा असर गर्न सक्दछ ।

त्यो पनि शरीरमा आयोडिनको कमी छ वा गलगाँडको समस्या छ भने मात्र थाइराइडको समस्या ल्याउन सक्ने भएकाले त्यस्तो खानेकुरा नखान सल्लाह दिइने हो । तर बन्दा, काउली खाँदैमा थाइराइड हुन्छ नै भन्ने चाहिँ हुँदैन । - अनलाइन खबरबाट 

(यो सामाग्री थाइराइड तथा मधुमेह रोग विशेषज्ञ डा. प्रियदर्शनी योञ्जनसितको कुराकानीमा आधारित छ । उनी हाल पुल्चोकस्थित काठमाडौ डायविटिज एण्ड थाइराइड सेन्टरमा कार्यरत छिन् )



अल्ट्राभाइलेट किरण घामबाट निस्कने प्राकृतिक किरण हुन्। आँखाले देख्न नसकिने यी किरणले मानव शरीरमा फाइदा तथा बेफाइदा दुवै पुर्‍याउँछन्। विभिन्न किसिमका युभी किरणहरु जस्तै युभिए, युभिबी र युभिसीहरुमध्ये युभिबी छालाका विभिन्न रोगहरुमा उपयोगी हुन्छ। फोटोथेरापी भन्नाले प्रकाशको किरणद्वारा छाला रोगको उपचार गर्ने प्रविधि हो।

उपचारमा फोटोथेरापी दुई किसिमका हुन्छन्, युभिए र युभिबी। युभिए फोटोथेरापी प्रयोग गर्दा औषधिको सेवन गरेर वा लगाएर सेक्नुपर्ने हुन्छ। युभिबीको नयाँ फोटोथेरापी प्रविधिलाई न्यारो ब्रण्ड फोटोथेरापी भनिन्छ। यस्तो फोटोथेरापीमा कुनै प्रकारको औषधिको सेवन नगरिकन फोटोथेरापी मेसिनमा सेक्ने गरिन्छ।

सामान्यतयाः फोटोथेरापीको प्रयोग विभिन्न किसिमका रोगहरु जस्तै सेतो दुबी, कत्ले रोग, जीउको एलर्जी, घामको एलर्जी, जीउमा चिलाउने कालो दाग, जीउमा डाबर, जीउ चिलाउनेलगायतका रोग तथा समस्यामा प्रयोग गरिन्छ।

फोटोथेरापीले कसरी काम गर्दछ?

यसले छालाको प्रतिरोधात्मक क्षमतालाई नियन्त्रण गरेर छालाको एलर्जी, डाबर तथा सुख्खापनालाई घटाउँछ, जसले गर्दा छालाका कोषहरुलाई सुख्खा हुनबाट जोगाउँछ।

कसरी लिइन्छ फोटोथेरापी?

फोटोथरापी सुरु गर्नुभन्दा अगाडि पर्याप्त मात्रामा मोइस्चराइजर अथवा तैलीय प्रदार्थको प्रयोग गर्नुपर्दछ । यो साधारणतयाः हप्तामा ३ पटक गरिन्छ। जति सुधार हुँदै जान्छ त्यति पटक डोज घट्दै जान्छ। जस्तै हप्तामा ३ पटकबाट २ पटक, १ पटक हुँदै जान्छ।

न्यारो ब्राण्ड युभिबी फोटोथेरापी भन्नाले के बुझिन्छ?

यो फोटोथेरापी अत्याधुनिक प्रविधि हो, जसमा औषधि सेवन गर्नु पर्दैन। यो प्रविधि गर्भवती महिला, स्तनपान गराउने महिला, रक्सी सेवन गर्ने व्यक्ति, बच्चादेखि बृद्धलाई तथा मधुमेह, उच्च रक्तचाप, जीर्ण कलेजोको र मिर्गौलाको समस्या भएका बिरामीलाई दिन सकिन्छ। - स्वास्थ्य खबर पत्रिकाबाट 



उच्च रक्तचाप अथवा हाई ब्लड प्रेसर हामी सबैले सुन्दै भोग्दै आएको रोग हो। उच्च रक्तचाप विकसित, विकासोन्मुख र अविकसित देशहरु सबैमा देखिएको रोग हो र यसको उपचार सम्भव छ। एपचार गराइएन भने यसले व्यक्तिको प्राणघातक रोगजन्य अवस्थाको सिर्जना गर्दछ।

विकसित देशहरुमा स्वास्थ्यको प्रतिरोधात्मक अनुसन्धानहरुको व्यापकताले गर्दा पत्ता नलागेको र उपचार नगराइएका उच्च रक्तचापका बिरामीहरुको संख्या २० प्रतिशतमा झरिसकेको छ भने हाम्रो देशमा भएका स–साना अनुसन्धान तथा खोज एवं स्वास्थ्य परीक्षणको अभावमा कति बिरामी उच्च रक्तचापको रोगी भइकन पनि स्वास्थ्योपचारको दायरामा आउन सकिराखेका छैनन् भन्ने कुराको यकीन गर्न गाह्रो छ।

ब्लड प्रेसर भनेको के हो र उच्च रक्तचापले केके गर्छ भन्ने कुरा बुझ्नु नितान्त जरुरी छ।

ब्लड प्रेसर भनेको अथवा रक्तचाप भनेको हाम्रो शरीरमा भएका शुद्ध रगत बग्ने रक्तनलीहरु (आर्टरी)मा रगतले रक्त नलीमा पारेको चाप हो। रक्तचाप बढ्यो भने मुटुलाई जोडले रगत पम्प गर्नुपर्ने हुँदा धक्का पर्छ र मुटुलाई आफ्नै लागि चाहिने अक्सिजनको मात्रा बढ्दछ।

त्यसको साथै मुटु बाक्लिंदै जान्छ र मुटु सुन्निई आफ्नो पम्प गर्ने शक्ति क्षीण हुन्छ। त्यसपछि त ‘हार्ट फेल’ अर्थात् मुटुले आफूमा फर्कने र शुद्ध रगत पम्प गर्ने शक्ति आवश्यकता अनुसा हुँदैन। उच्च रक्तचाप यदि समयमै ठीक पारिएन भने शरीरका सबै रक्तनलीहरु बाक्लिंदै जान्छ र रक्त प्रवाहमा अवरोध उत्पन्न हुन्छ।

यसमा पनि केही गरी डिस्लाइपिडिमिया अर्थात् कोलेष्टेरोलजन्य रोगहरु भएमा आगोमा घिउ थप्ने बराबर हुन्छ। हृदयाघात ‘हार्ट एटेक’को एक प्रमुख कारण उच्च रक्तचाप हो।

उच्च रक्तचापका रोगीहरुको राम्रो औषधिको उपचारको अभाव भएको जमानामा ती रोगीहरुको औसत उमेर १० देखि २० वर्षसम्म कम हुने गर्दथे। तर अहिले पनि थोरै बढेको ब्लड प्रेसरका बिरामीहरु (जसका अरु अंगहरुमा ब्लड प्रेसरको असर भएको छैन)लाई पनि सात देखि १० वर्षसम्ममा ठूला समस्याहरु देखा पर्दछन्।

उच्च रक्तचापले देखाउने प्रमुख समस्यामध्ये हृदयाघात, मुटु फेल हुने, मिर्गौला फेल हुने, मस्तिष्कमा रक्तस्राव भएर हुने पक्षघात, आँखाको पर्दामा हुने समस्याले गर्दा आउने अन्धोपन प्रमुख छन्।

मोटोपन, मधुमेह, कोलेष्टेरोलजन्य पदार्थको रोग, धूमपान र अत्यधिक मद्यपानले त माथि उल्लिखित सबै प्राणघातक तथा दृष्टिघातक रोगहरु ल्याउनमा ठूलो मद्दत गर्दछ। रक्तचाप बढ्नु भनेको रिसाउनु होइन। साधारण किसिमको टाउको दुख्नुबाहेक यसले केही गर्दैन। तर भित्रभित्रै प्राणघातक रोगको सिर्जना गरिसकेको हुन्छ। त्यसलै यसलाई ‘मूक ज्यानमारा’ अथवा साइलेन्ट किलर भनिन्छ।

ब्लड प्रेसर कति त ?
अमेरिकाको ‘नेसनल इन्स्टिच्युट अफ हेल्थ, नेसनल हार्ट लङ एन्ड ब्लड इन्स्टिच्युट’को संयुक्त राष्ट्रिय समितिको प्रतिवेदन अनुसार सामान्य रक्तचाप माथिल्लो (सिष्टोलिक) १२० मिलिमिटर मर्करी वा त्यसभन्दा मुनि र तल्लो (डायष्टोलिक) ८० मिमि मर्करी मुनि हुनुपर्दछ। सिष्टोलिक १२०–१३९ सम्म र डायष्टोलिक ८०–८९ सम्मलाई रक्तचापपूर्वको अवस्था (प्रि–हाइपरटेन्सन)को वर्गमा राखिएको छ।

उच्च रक्तचाप अवस्था–१ चाँही १४०–१५९ र ९०–९९ र उच्च रक्तचाप अवस्था–२ चाँही १६० भन्दा माथि र १०० अथवा सो भन्दा माथिको अवस्थालाई मानिएको छ। ऋहिले अमेरिकन हार्ट एसोसिएसनले सन् २०१७ मा उच्च रक्तचापलाई नयाँ वर्गीकरण गरेको छ।

हामीकहाँ त धेरैजसो बिरामीलाई १००/७० रक्तचाप भयो भने त सबैले थाहा भएको १२०/८० रक्तचापभन्दा मुनि भएकोले धेरैले 'कम रक्तचाप' अथवा 'लो प्रेसर' भनिने गरिएको छ। त्यो सरासर गलत हो। फेरि कुनै ६० वर्ष काटिसकेको डायष्टोलिक ब्लड प्रेसर (रक्तचाप) ९० रहेछ भने यो त परिपक्व अवस्थाको देन हो भने चित्त बुझाउने गरिएको छ। त्यसो भनेर त्यस्ता बिरामीहरु ढुक्क भएर गल्ती गर्ने गर्दछन्, भने 'लो प्रेसर'का बिरामीहरु आफू 'नर्मल' (साधारण) नभएर कमजोर व्यक्ति गरेछु भन्ने गलत अवधारणाको कारण चिन्ताग्रस्त भएर क्लिनिक, अस्पताल र नर्सिङ होमहरु धाउने गर्दछन्। कतिले त लो प्रेसर भयो भनेर जीवन जल सेवन गर्छन्।

कति बिरामीहरु त उच्च रक्तचापको कारण पत्ता लाउन क्लिनिक, नर्सिङ होम र अस्पताल धाएर हजारौं रुपैयाँ खर्च गर्न मन पराउँदछन्। तैपनि पत्ता नलागेपछि आजित भएर सोध्दछन्। हैन डाक्टर साहेब, किन मेरो ब्लड प्रेसर बढेको।

ब्लड प्रेसर बढ्नाले केही निको गर्न सक्ने कारणहरुमा 'फियोक्रोमोसाइटोमा' कुसिंग सिण्ड्रोम, मिर्गौलाको रक्तनली साँघुरो हुने रोग 'रिनल आर्टरी स्टेनेसिस' हुन्। तर दुर्भाग्यवश ती कारणहरुः छ देखि आठ प्रतिशतभन्दा कम उच्च रक्तचापका रोगीहरुमा देखा पर्दछन्। यिनलाई डाक्टरी भाषामा 'सेकेण्डरी हामइपरटेन्सन्' भनिन्छ। ९२ देखि ९४ प्रतिशत उच्च रक्तचापका रोगीहरुमा जुनसुकै जाँचपड्ताल गरे पनि कारण पत्ता लाग्दैन र डाक्टरी भाषामा यस्तालाई 'इसेन्सियल हाइपरटेन्सन' भनिन्छ। 'सेकेण्डरी हाइपरटेन्सन'को कारण पत्ता लागेर अपरेसन इत्यादि गरिंदा त्यस बिरामीले जिन्दगीभर ब्लड प्रेसरको औषधि खान नपर्ने हुन्छ।

यस्ता 'सेकेण्डरी हाइपरटेन्सन' कसलाई भएको शंका गर्नुपर्छ त भन्ने कुरा उठ्छ नै। यदि कसैलाई २५ वर्षको उमेरभन्दा अघि वा ५० वर्षको उमेरभन्दा पछि उच्च रक्तचाप वा 'हाई ब्लड प्रेसर' त्यो पनि एकदमै बढी लागेको रहेछ भने 'सेकेण्डरी हाइपरटेन्सन्' हुने सम्भावना निकै धेरै हुन्छ।

अब कुरा आउँछ ब्लड प्रेसरका लागि के के गर्नुपर्दछ भन्ने माथि उल्लिखित कुराहरु ध्यान गर्दा मोटोपना घटाउने मधुमेह नियन्त्रणमा राख्ने, कोलेष्ट्रोल इत्यादि नियन्त्रणमा राख्ने, अत्याधिक मद्यपान नगर्ने, नियमित व्यायाम गर्ने, धूम्रपान पटक्कै नगर्ने र धूम्रपान गरेका व्यक्तिको छेउछाउमा पनि नबस्ने, कम नून खाने र औषधि खानुपरेमा नटुटाई खाने नै सर्वोत्तम उपाय हो।

धेरै बिरामीहरुले औषधि खानुपरेमा 'जीवनभर' खानुपर्दछ भन्ने डरले उच्च रक्तचापबाट हुने सबै खतरनाक प्राणघातक समस्या भोग्न तयार रहन्छन्। कतिपय त हृदयघात भएर, मस्तिष्कमा रक्तस्राव भएर पक्षघात भएपछि या नथ्री फुटेर नाकबाट ह्वालह्वाल्ती रगत बगाएर, किड्नी फेल भएपछि पछुताउँछन्। चुरोट, रक्सी, खैनी, जाँड, तम्बाकु इत्यादि कुलतहरु जसले हानि नोक्सानी बाहेक केही फाइदा गर्दैन भन्ने स्वयंसिद्ध कुरा थाहा भइकन पनि जिन्दगीभर खान एकपल्ट यसो फर्केर पनि हेर्दैनन् यहाँका मान्छेहरु।

तर उच्च रक्तचाप नियन्त्रणमा राखेर मुटु दिमाग, मृगौला, किड्नी, आँखा इत्यादिलाई दियोलाई दुई हातले ढाकेर निभ्न नदिन भरपूर कोसिस गर्ने जस्तो प्रयास औपधिहरुको हुन सक्ने केही 'साइड इफेक्ट'हरुको डरले नखानु ज्यादती नै हुनेछ।

त्यसैले रक्तचापको औषधि 'जीवनभर' हैन जीवनको लागि भन्ने मूल मन्त्र सबैले लिनु भएमा कल्याण होला।

रक्तचाप जँचाउन क्लीनिक या अस्पतालमा आउने बिरामीहरुले बिहान खाली पेटमा ब्लड प्रेसरको औषधि खानु हुन्न भन्ठानेर डाक्टर छेउ पुग्छन्। डाक्टरले जाँच गर्दा त ब्लड प्रेसर स्वाट्टै घटेको पाइन्छ। अब समस्या कहाँ छ भने औपधि सेवन नभएर हो कि औषधिको मात्रा कम भएर त्यसो भएको भन्न गाह्रो हुन्छ। ब्लड प्रेसरको औषधि डायबिटीजको औपधि जस्तो धेरै बेर खाना नखाने भए खान नहुने होइन। खाली पेट खान पनि हुन्छ।
- डा सुनिल चन्द्र झा , स्वास्थ्य परिकाबाट 



बाल अवस्थामा पनि मानसिक समस्या वा रोग हुन्छ भन्ने धेरैजसो मानिसलाई थाहा नै हुँदैन। तर, युवावस्था तथा त्यो भन्दा बढी उमेरका व्यक्तिमा जति प्रकारको मानसिक रोग हुन्छ, त्यति प्रकारको मानसिक रोग बच्चाहरुमा पनि हुने गर्छ।

मानिसलाई जन्मिनेबित्तिकैदेखि तनाव सुरु हुन्छ। बच्चा जन्मिसकेपछि उसको ध्यान आमाले दूध खुवाउँछिन्, खुवाउँदिनन् भन्नेमा हुन्छ। आमाले दूध दिइनन् भने बच्चालाई त्यही बेलादेखि तनाव सुरु हुन्छ। त्यस्तो बेलामा बच्चाले आफ्नो तनावलाई चिच्याएर, रोयर वा यस्तै प्रकारका अन्य क्रियाकलाप गरेर निकाल्ने गर्छ।

बच्चाको उमेरसँगै तनाव पनि बढ्दै गएको हुन्छ। घरभित्र वा बाहिर, घरपरिवारको वा साथीभाइसँगको तनावलाई बच्चाले आफ्नै तरिकाले बुझ्ने गर्छ। स्कुलमा वा घरपरिवारमा तनावजन्य वातावरण छ भने बच्चामा चिन्ता, उदासीलगायतको समस्या देखिन्छ।

बच्चाहरु चिन्तित छन् भने विद्यालय जान मन नपराउने, पेट दुख्ने, पखला भइरहने, रोग प्रतिरोधात्मक क्षमतामा कमी आउने, खान मन नगर्ने, राति तर्सिएर उठ्ने, डराउने, दुःखी भएर बस्ने, साथीसँग खेल्न मन नपराउने, सुत्न गाह्रो हुने जस्ता लक्षण देखिन्छन्। यस्तो समस्या तीन÷चार वर्षको बच्चामा पनि देखिनसक्छ भने १५/१६ वर्षको बच्चामा पनि देखिनसक्छ। बच्चामा यस्ता खालका लक्षणहरु देखापर्‍यो भने आमाबुबाले अनुशासन र राम्रो संस्कार दिन नसकेर यस्तो समस्या देखिएको भन्ने हाम्रो समाजको बुझाइ छ।

समयमा नै यस्ता समस्यालाई ध्यान नपुर्‍याएमा बच्चाहरुमा कडा खालका मानसिक रोगहरु पनि देखिने खतरा रहन्छ। ९/१० वर्षकै उमेरमा बच्चाहरुमा कडाखालका मानसिक समस्या (साइकोसिस) पनि देखिनसक्छ।

नेपालमा बालबालिकामा मास हिस्टेरिया भनेर चिनिने मास कन्भरजन डिसअर्डरको समस्या देखिने गरेको छ। यो समस्या एकैपटक धेरै बालबालिका विशेषगरी बालिकामा देखिने गर्छ। समूहमा मात्र नभई एकल बच्चामा पनि यो समस्या देखिन्छ। यो तनावसँग जोडिएको हुन्छ। तनावले गर्दा यस्ता खालका लक्षणहरु देखिइरहने हुनसक्छ। समयमा नै तनावबाट मुक्त बनाइएन भने यसले बच्चामा डिप्रेसन पनि गराउन सक्छ।

अहिले साना केटा–केटीले पनि आत्महत्या गरेको खबर आइरहेको छ। यो उमेरका बालबालिकाले चिन्ता र तनावले गर्दा आत्महत्या गरिरहेका हुन्छन् तर अभिभावकले यो कुरा बुझिरहेका हुँदैनन्। कहिलेकाहीं ६ देखि १० कक्षामा पढ्ने विद्यार्थीले लगातार रुपमा आत्महत्या गरेको सुन्ने गरिन्छ। त्यतिबेला अभिभावकले त्यो ठाउँमा भूतप्रेत छ भनेर वास्ता गर्दैनन्। त्यसैले यस्ता घटनाहरु बढ्ने सम्भावना हुन्छ। यस्ता खालका घटना बालबालिकामा हुने मानसिक रोगका कारण भइरहेको छ भन्ने बुझ्नु पर्छ।

संयुक्त राष्ट्रसंघले ‘हामीले केटाकेटीलाई सुनौं, बालबालिकाको कुरा सुनौं र बुझौं’ भन्ने एउटा नारा नै निकालेको छ। उनीहरुको कुरा राम्ररी सुन्ने, उनीहरुसँग बसिदिने गर्नाले पनि बच्चाहरुको मानसिक समस्या कम हुँदै जान्छ।

कतिपय अवस्थामा बालबालिकाका आवश्यकता सामान्य हुन्छन्। तर, त्यो कुरा विद्यालय वा घरले बुझिरहेको हुँदैन। जसले बुझेर आवश्यकता पूरा गर्छ बच्चाहरुको समस्या पनि समाधान भएर जान्छ। बच्चाहरुमा जहिले पनि आफ्ना कुरा ठूला मानिसले सुनिदिउन्, बुझिदिउन् भन्ने भावना हुन्छ। स्कुलले यस्ता कुराहरु बुझ्न जरुरी छ।

१०-११ वर्षपछि टिनएज प्रवेशको समयमा उनीहरुको मनमा विभिन्न शरीरिक परिवर्तनसँगसँगै मानसिक परिवर्तन आउने गर्छ। शारीरिक परिवर्तनसँगै बालबालिकाको मानसिक अवस्थामा परिवर्तन आउँछ। त्यो बेलामा भावनात्मक परिवर्तन, इरिटेसन, रिस जस्ता थुप्रै समस्या आएका हुन्छन्। यो समयमा उनीहरुलाई सम्झाउने, बुझाउने गर्नु आवश्यक हुन्छ।

टिनएजमा पुगेको समयमा साथी बनाउने, विपरीत लिङ्गीसँग आकर्षण बढ्ने हुन सक्छ। त्यस्ता शारीरिक विकासमा आउने परिवर्तनलाई अभिभावक र शिक्षकहरुले बच्चाको कुरा सुन्नु र बुझ्नु पर्छ। यदि त्यही समयमा उनीहरुलाई दवाव सिर्जना हुने काम गरियो र लान्छाना लगाउने गरियो भने उनीहरु अझ बढी तनाव लिने गर्छन्। त्यसले गर्दा डिप्रेसनमा जाने र आत्महत्यासम्म गर्ने समस्या आउन सक्छन्।

घरपरिवारमा हुने तनाव, चिन्ता, झैझगडा, हिंसा या दुव्र्यवहारले बच्चामा डिप्रेसन निम्त्याउने गर्छ। अहिले बालबालिकामा बलात्कारका धेरै घटना बाहिर आएका छन्। त्यस्तो अवस्थाबाट गुज्रिएका बच्चामा पनि डिप्रेसनकोे समस्या देखिन सक्छ।

बच्चाको उमेर महत्वपूर्ण हुन्छ। बच्चाले जति कुरा सिक्छन् त्यो किताबका साथसाथै अभिभावक तथा शिक्षकबाट सिक्ने गर्छन्। यदि कसैले बच्चासँग कुरा गरिरहेको छ भने त्यो बच्चाले के सिकिरहेको छ भन्ने विषयमा ध्यान दिनुपर्छ।

अभिभावक तथा शिक्षकले बच्चाहरु के गर्दैछन् हेर्ने र उनीहरुका कुरा सुन्ने गर्नुपर्छ। बालबालिकालाई ठूला मान्छेसरह व्यवहार गर्नुपर्छ। उनीहरुलाई सम्मानको अनुभुति हुनु आवश्यक छ, बालबालिकाको प्रशंसा गर्नुपर्छ। उनीहरु स्कुल वा घरका महत्वपूर्ण सदस्य हुन् भन्ने बुझाउन जरुरी हुन्छ।



बालबालिकालाई नबुझ्दा, नसुन्दा सानै उमेरदेखि तनाव सुरु हुन्छ। कति अभिभावकले बालबच्चालाई नबुझ्दा उनीहरु यौन दुरुपयोगसम्म गर्न पुग्छन्। त्यसैले बच्चालाई यौन शिक्षाको बारेमा जानकारी गराउनुपर्छ। यति गर्न सकेमा धेरै सुधार हुन्छ। - करुणा कुँवर, वरिष्ठ मनोविद् , स्वास्थ्य पत्रिकाबाट 

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget