Websoft University

www.radiomakalu.com || 021-522512


March 2020



चीनको युहान प्रान्तमा फैलिएको कोरोना भाइरसको संक्रमण थाइल्याण्ड, दक्षिण कोरिया र अमेरिकामा पनि देखिएको छ। कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या नौ पुगेको छ भने ४ सय ४० जना यसबाट संक्रमित भएका छन्।

कोरोना भाइरसको जोखिममा नेपाल पनि रहेको छ। जेखिम बढेसंगै सरकारले सर्तकता बढाएको बताएको छ। श्वासप्रश्वासको माध्यमबाट सर्ने कोरोना भाइरसको संक्रमण नेपालमा हालसम्म देखिएको पुष्टि भएको छैन।

हाल चीनमा देखिएको कोरोना भारस कस्तो हो? यसका लक्षण र बच्ने उपायबारे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनीकल रिसर्च युनिटका संयोजक डा शेरबहादुर पुनसंग गरिएको भिडियो कुराकानीः
-
<iframe width="680" height="383" src="https://www.youtube.com/embed/BIQqConRfJ8" frameborder="0" allow="accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>
स्वास्थ्य खबर पत्रिकाबाट 



- सतह (टेवल‚ डेस्क) र अन्य वस्तुहरूको किटाणुनाशक औषधिको प्रयोगद्वारा निरन्तर सफाइ गर्ने।

- टेलिवर्क (इन्टरनेटको माध्यम)बाट काम गर्नका लागि प्रोत्साहित गर्ने। यदि तपाईको समुदायमा कोभिड-१९ (कोरोना भाइरस)को संक्रमण देखिएमा सार्जनिक स्थानका भीडमा नजाने। टेलिवर्क गर्नाले तपाईंका कर्मचारीहरू सुरक्षित स्थानमा रहेर पनि बिजनेस राम्रोसँग सञ्चालन हुन सक्छ।

- तपाईंका कर्मचारीलाई भीडले भरिएका सवारी यात्रा‚ भीडमा नजानका लागि अनुरोध गर्ने।

- यदि समुदाय वरिपरी कोभिड-१९ को संक्रमण फैलन थालेको थाहा भएमा‚ सामान्य रुघा‚ खोकी र ज्वरो आएमा पनि घरमा एक्लै बस्ने।

- कुनै व्यवसायिक यात्रामा निस्किनुअघि यात्रासम्बन्धी सरसल्लाह लिन सुझाउने

- श्वासप्रश्वासका लागि उचित वातावरणको व्यवस्था गर्ने। रुघाखोकी लगेका कर्मचारीहरूका लागि सर्जिकल मास्क र टिस्यू पेपरहरू कार्यालयमा उपलब्ध छन्/छैनन् भन्नेबारे सचेत हुने।

- निरन्तर हात धुनका लागि प्रोत्साहन गर्ने। कार्यालयमा सबैले देख्ने ठाउँमा स्यानिटाइजरजस्ता वस्तुहरू राख्ने। सबै कर्मचारी‚ ग्राहकहरूले देख्ने र प्रयोग गर्न मिल्ने ठाउँमा साबुन र पानी राख्ने।

- कार्यालय सफासुग्घर राख्ने‚ निरन्तर हात धुनका लागि सबैलाई सचेत बनाउने‚ श्वासप्रश्वासका लागि उचित वातावरणको व्यवस्था गर्ने‚ कुनै व्यवसायिक यात्रामा निस्किनुअघि यात्रासम्बन्धी सरसल्लाह लिने‚ जो बिरामी भएका छन् उनीहरूलाई घरमै बस्न सुझाव दिने।

(विश्व स्वास्थ्य संगठन)


2020-03-08-9810


काठमाडौँ, फागुन २५ गते । २०४५ सालताका नर्वदा थापाले नर्सिङमा स्नातक सक्नुभयो । बुबा भारतीय सेनामा रहेकै कारण उहाँभित्र नेपाली सेनामा जाने उत्कट चाहना बढ्यो । सेनाको बहादुरीको कथा सानैदेखि सुन्दै, देख्दै आउनुभएको थियो तर देशभित्र युद्धरत सेनामा जाने अवसर थिएन ।
प्राविधिकबाटै भए पनि सेनामा प्रवेश गर्ने अवसर भने उहाँले चुकाउनुभएन । अन्य कसैले आवेदन नदिएपछि उहाँ एक मात्र महिला अधिकृतका रूपमा प्रवेश गर्दै सेनाको उच्च पद ब्रिगेडियर जनरल अर्थात् सहायक रथी सम्मको यात्रा तय गर्नुभयो । केटाको हुलमा एक्ली केटी बस्नुपर्दा कहिलेकाँही कमजोर महसुस हुन्थ्यो तर म पनि उही सरहको पदमा छु, के फरक छु र भनेर आँटिली बन्थे –उहाँले विगत सम्झनुभयो । त्यही हौसलाले उहाँ प्राविधिकमा महिलातर्फ पहिलो सहायक रथी बन्ने अवसर पाउनुभयो । नेपाली सेनामा महिला पुगेको यो नै हाल सम्मको उच्च पद हो । त्यसमाथि उपरथी, रथी हुँदै प्रधान सेनापतिको पद हुन्छ ।
सेनामै रहेर उहाँले सशस्त्र द्वन्द्वका बेला द्वन्द्वरत क्षेत्रमै पुगेर उपचार व्यवस्थापनको अनुभव सँगाल्नुभयो । सेनामै रहेर जनस्वास्थ्यमा पीएचडी सक्नुभयो । त्यसैले सेनाको प्राविधिक क्षेत्रमा नयाँ पुस्ताका महिलालाई राम्रो अवसर रहेको बताउनुहुन्छ । युद्धतर्फको सैनिकमा भने केही अप्ठेरो अझै रहेको ठान्नुहुन्छ । जसमा महिलाको शारीरिक अवस्था, सेनाको दुर्गममा राम्रो व्यवस्थापन नहुनु आदि कारण हुन् । दुई वर्षअघि रिटायर हुनुभयो । उहाँको पालामा करिब दस मात्र महिला प्राविधिकमा थिए ।

युद्धतर्फ पनि अब्बल
युद्ध तर्फको सामान्य सेवामा पनि महिला सैनिक अब्बल नै ठहरिएका छन् । जतिबेला मुलुकमा सशस्त्र द्वन्द्वको राप चर्को थियो । त्यही बेला २०६१ सालमा नेपाली सेनाले पहिलोपल्ट सामान्यतर्फ महिला अधिकृत क्याडेटको भर्ना खोल्यो । सशस्त्र द्वन्द्वका बेला सेनामा जाउँ कि नजाउँ भन्ने दोहोरो मनस्थितिसँगै रेखा खत्रीले आवेदन भर्नुभयो । उहाँको ब्याच पासआउट हुँदा सशस्त्र द्वन्द्व रोकिएर जनआन्दोलन चल्दै थियो । त्यसैले युद्धमा जानुपरेन । खत्रीले पुरुष सरहको युद्धका हरेक तालिम ग¥यौँ, अझै गर्दैछौँ । शारीरिक रूपमा केही फरक रहे पनि कामको मामलामा कहिल्यै सक्दिन भनिन भन्नुभयो ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सेनामा जाने महिलाका लागि तालिम दिँदा पुरुषको तुलनामा केही सहुलियत छन् । जस अनुसार पुरुषले ११ मिनेटमा दौड पूरा गर्दा महिलाले १४ मिनेटमा पूरा गरे हुन्छ । त्यस्तै पुरुषले १८ किलो तौल उठाउँदा महिलाले १२ किलो उठाए हुन्छ तर चेन अफ कमान्ड, अनुशासन र जिम्मेवारीको मामलामा कुनै सहुलियत छैन । पुरुषसँग प्रतिस्पर्धा गर्दै उहाँ सेनानी बन्नुभयो । उहाँ महिलाको एउटा छुट्टै गुल्मको प्रमुख हुनुहुन्छ । उहाँले नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रहेको गुल्ममा १७८ जनाको नेतृत्व गर्नुहुन्छ ।
सेवा प्रवेशको लामो प्रक्रियाबाहेक धेरै अवसर महिलाका लागि नेपाली सेनामा छन् । शान्ति सेनामा जान पाउने, भित्रै पढ्न पाउने, विदेशमा तालिम, पालोमा बिदाको सुविधासहित अनेक सहुलियत रहेको खत्री बताउनुहुन्छ ।
 - चाँदनी हमाल, गोरखापत्र अनलाइनबाट 

2020-03-08-9816


कलैया, फागनु २५ गते । पत्रकार वीरेन्द्र साहको हत्यारालाई बारा प्रहरीले १२ बर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा साविक गाविस–गडहल हाल बारागढी गाउँपालिका वडढा नम्बर–६ गडहलटोलका कुन्दन फौजदारलाई उनकै निवासमा सुतिरहेको अवस्थामा प्रहरीले घेराहाली आइतबार राती २ बजे पक्राउ गरेको बाराका प्रहरी उपरीक्षक कृष्णप्रसाद पगेनीले बताउनुभयो ।

पत्रकार साहको हत्या भएको १२ वर्ष पछि प्रहरीले पक्राउ गर्न सफल भएको हो । फौजदारलाई नियन्त्रणमा लिनु भन्दा अगाडी प्रहरीलाई देखेर स्थानीयहरुले उनलाई भगाउन प्रयासगर्दा चार राउन्ड हवाई फायर गर्नु परेको प्रहरी उपरीक्षक पगेनीले जानकारी दिनुभयो ।
तत्कालिन नेकपा माओवादीका कार्यकर्ता समेत रहेका फौजदारलाई बारा जिल्ला अदालतबाट दोषी ठहर भई लामो समयदेखी फरार भई जिल्लामै लुकीछिपी बस्दै आएका थिए ।

पत्रकार साहलाई तत्कालिन नेकपा माओवादीका बारा जनसरकार प्रमुख लालबहादुर चौधरी, कुन्दन फौजदार, हरेराम पटेल सहितका नेताले २०६४ असोज १८ गते पिपरा बजारबाट अपहरण गरेर हत्या गरेका थिए । हत्या पछि पत्रकार साहको शव ३४ दिन पछि टाँगिया बस्तीको जङ्गलमा गाडिएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

पत्रकार साहको हत्या अभियोगमा रामएकबाल सहनी वीरगंजमा कारागार जीवन बिताई रहेका छन् भने तत्कालिन जनसरकार बारा प्रमुख लालबहादुर चौधरी, हरेराम पटेल फरार रहेका छन् ।
साह एभी न्यूज, हिमाल पार्थी, नेपाल खबर पत्रिका, दृष्टि साप्ताहिक, रेडियो नेपाल, मनोकामना एफएम, लगायत आधा दर्जनबढी मिडियामा काम गर्दै आएका थिए । - शिवशङ्कर मिश्र, गोरखापत्र अनलाइनबाट 

2020-03-01-9485

काठमाडौं, फागुन १८ गते । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुनुहुने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको आज बसेको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा बुधबार प्रत्यारोपणलगायत आफ्नो स्वास्थ्योपचार योजनाबारे बताउनुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकारलाई जानकारी दिनुभयो ।

राष्ट्रियसभा सदस्यमा हुने मनोनयनबारे सोधिएको प्रश्नमा प्रवक्ता श्रेष्ठले भन्नुभयो, “यस विषयमा पहिले नै निर्णय भइसकेकाले फेरि बोलिरहनुपरेन ।” - रासस 


2020-03-01-9484
चितवन, फागुन १८ गते । नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाइरहेका बेला पर्यापर्यटनको राम्रो सम्भावना रहेको बाँके राष्ट्रिय निकुञ्जमा भने पर्यटकको चहलपहल खासै बढ्न सकेको छैन ।

बाघको वासस्थान र जैविक मार्ग संरक्षणको उद्देश्यले २०६७ सालमा स्थापना भएको यस निकुञ्ज जैविक विविधता, दुर्लभ वन्यजन्तुको वासस्थान र बर्दिया राष्ट्रिय निकुञ्ज तथा नेपालगञ्जसँग जोडिएको छ । नेपालको यो कान्छो राष्ट्रिय निकुञ्ज आवश्यक प्रचारको अभावमा ओझेलमा परेकोजस्तो देखिन्छ । यद्यपि यस निकुञ्जलाई सरकारले १०० वटा पर्यटकीय गन्तव्यको सूचीमा ५७ औँ स्थानमा राखेको छ ।

सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धताअनुरुप बाघको सङ्ख्या बढाउन यसको वासस्थानको उचित व्यवस्थापन गर्ने उद्देश्यले बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग किमी कोर र ३४३ वर्ग कि।मि। मध्यवर्ती क्षेत्र गरी जम्मा ८९३ वर्ग कि।मि।क्षेत्र समेटी नेपालको दशौँ राष्ट्रिय निकुञ्जको रुपमा यो निकुञ्ज घोषणा गरेको थियो । विसं २०५७ मा पृथ्वीलाई उपहार भनी यस क्षेत्रलाई सरकारले बर्दिया राष्ट्रिय निकुञ्जको पूर्व विस्तारित क्षेत्रको रुपमा घोषणा गरेको थियो । त्यसको १० वर्षपछि २०६७ वैशाख ३० मा सगरमाथा राष्ट्रिय निकुञ्जको कालापत्थरमा बसेको मन्त्रिपरिषद्को बैठकले यस निकुञ्ज स्थापनाको निर्णय गरेको र २०६७ असार २८ गते राजपत्रमा सूचना प्रकाशित गरी यसको औपचारिक स्थापना गरिएको थियो ।

निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम बर्दिया राष्ट्रिय निकुञ्ज, खाता जैविक मार्ग तथा राष्ट्रिय र सामुदायिक वन हुँदै भारतको कतर्नियाघाट वाइल्ड लाइफ सेन्चरीसँग जोडिएको छ । उत्तरतर्फ चुरे पर्वत र दक्षिणमा पूर्व–पश्चिम राजमार्ग रहेको छ भने दक्षिणमा कम्दी जैविक मार्ग हुँदै भारतको सलेहवा वाइल्डलाइफ सेन्चरी क्षेत्रसँग समेत जोडिएको छ । निकुञ्जमा आवतजावतमा अप्ठेरो पर्ने महोदेवपुरी बोटल नेट क्षेत्र पनि पर्दछ ।

निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि आवशयक पूर्वाधारसहित वन्यजन्तु विचरण भइरहेको दृश्यावलोकनका लागि विभिन्न स्थानमा टावर निर्माण, जिप सफारी, पैदलयात्रा, हात्ती सफारी आदि सेवा उपलब्ध छन् । बाँके राष्ट्रिय निकुञ्जमा बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले गत पुसको दोस्रो सातादेखि हात्ती सफारी शुरु गरिएको छ । नेपाल भ्रमण वर्ष शुभारम्भको अवसरमा प्रदेश नं– ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले आन्तरिक पर्यटक बढाउन र विदेशी पर्यटकलाई आकर्षित गर्न हात्ती सफारीले सहयोग पुग्ने बताउनुभएको थियो ।

मध्यवर्ती क्षेत्रको विभिन्न क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्य गरी बालापुर, खड्गबार र गाभरमा होमस्टे (घरवास पर्यटन) सञ्चालनमा ल्याइएको छ । निकुञ्जको ओभरी, खड्गबार, बुच्चापुर, गाभर र अगैयाबाट पर्यटकलाई निकुञ्जभित्र प्रवेश गर्ने सुविधा उपलब्ध छ ।

निकुञ्जमा बाघ र हात्तीसहित चित्तल, जरायो, लगुना, बँदेल, नीलगाई, चितुवा, भालुलगायतका जनावर छन् । यहाँ जैविक विविधताको दृष्टिले आठवटा पारिस्थितिकीय प्रणाली, १२४ वनस्पति प्रजाति, ३२ प्रजातिका स्तनधारी, ३०० भन्दा बढी प्रजातिका पन्छी, ५८ प्रजातिका माछा, ३२ प्रजातिका स्तनधारी, २२ प्रजातिका सरीसृप तथा छ प्रजातिका उपयचरहरु पाइन्छन् । सालक, हुँडार, चौका, जङ्गली हात्ती र पाटेबाघजस्ता संरक्षित स्तनधारी वन्यजन्तु, कालो गरुड र राजधनेशजस्ता पन्छी र अजिङ्गर, सुनगोहोरोजस्ता संरक्षित घस्रने वन्यजन्तु रहेका छन् । यस क्षेत्रमा ११ प्रजातिका दुर्लभ तथा सङ्कटापन्न स्तनधारी र ५० प्रजातिका अन्तर्राष्ट्रियस्तरमै दुर्लभ मानिएका पन्छी अभिलेख गरिएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जसँग पनि जोडिएको हुँदा ठूला वन्यजन्तुका लागि यो महत्वपूर्ण वासस्थान पनि हो ।

बाँके राष्ट्रिय निकुञ्ज बाघका लागि उपयुक्त थलो बन्दै गएको छ । निकुञ्जमा खानेपानी, उचित व्यवस्थापन भएपछि बाघको सङ्ख्या बढेको निकुञ्जले जनाएको छ । निकुञ्ज कार्यालयका अनुसार सन् २०१३ मा चारवटा बाघ रहेकामा सन् २०१८ मा २१ वटा वयस्क बाघ पुगेको छ । “बाघका लागि आहारविहार, बस्ने ठाउँ आदिको व्यवस्था गरेपछि बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ”, निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले भन्नुभयो ।

नेपालले व्यक्त गरेको प्रतिबद्धताअनुसार बाघको सङ्ख्या सन् २०२२ सम्ममा २५० पु¥याउन सकिने उहाँ बताउनुहुन्छ । पछिल्लो आँकडाअनुसार नेपालमा बाघको सङ्ख्या २३५ छ । यस निकुञ्जभित्र पूर्व–पश्चिम क्षेत्रमा ७२ किलोमिटर र कोहलपुर–बबई रत्न राजमार्गमा ३० किलोमिटर पर्ने हुँदा वन्यजन्तु सडक वारपार गर्ने क्रममा दुर्घटनामा पर्ने समस्या रहेको छ । सुक्खा क्षेत्र भएका कारण निकुञ्जका जनावर पानी पिउन राप्ती नदी किनारामा पुग्ने गर्दछन् । रातको समयमा राजमार्ग पार गर्ने क्रममा उनीहरु सडक दुर्घटनामा पर्ने गरेका छन् । “सडकमा जथाभावी फ्याँकिएका खानेकुरा खान जाँदा पनि केही जनावर गाडीको ठक्करले मारिएका छन्”, संरक्षण अधिकृत भट्टराईले भन्नुभयो । निकुञ्जमा विगत पाँच वर्षको अवधिमा २६४ जनावर सडक दुर्घटनामा परेर मरेका छन् ।

निकुञ्जको तथ्याङ्कअनुसार आव २०७५/७६ मा ४५ वटा, आव २०७४/७५ मा ७२ वटा, आव २०७३/७४ मा ८३, आव २०७२/७३ मा ५०, आव २०७१/७२ मा २४ वटा वन्यजन्तुको मृत्यु दुर्घटनाबाट भएको छ । मृत्यु हुनेमा बँदेल, मृग, खरायो आदि छन् । दुर्घटना मुख्य गरेर सुक्खायाममा बढी हुने गरेको पाइएको छ । गत वर्ष दुर्घटनाको जोखिममा परेका ४३१ वन्यजन्तुको उद्धार गरिएको थियो ।

राष्ट्रिय निकुञ्जको सुरक्षा व्यवस्थाको लागि २०६७ सालदेखि नेपाली सेनाको गोरखदल गणको एक टोलीले सुरक्षा प्रदान गरेको थियो । सोही साल उक्त गण नै यस निकुञ्जमा स्थानान्तरण भई सुरक्षा प्रदान गरेको थियो । २०७४ साउन ७ गतेदेखि श्रीमेहर गण यसको सुरक्षार्थ तैनाथ रहेको छ । हाल करिब ६०० सैनिकले निकुञ्जको सुरक्षा गरिरहेको छ । बांके राष्ट्रिय निकुञ्ज कान्छो निकुञ्ज भएकाले भौतिक पूर्वाधार निर्माण गर्नेदेखि सेनाले चौबिसै घण्टा सेनाको साइकल गस्ती, गाडीबाट पट्रोलिङ गरिरहेको श्रीमेहर गणका प्रमुख सेनानी जीवन शर्मा बताउनुहुन्छ । नेपाली सेना, निकुञ्ज र स्थानीयवासीको सहकार्य र समन्वयमा निकुञ्जको सुरक्षा, चोरी शिकारी नियन्त्रणका कार्य सफल भएको उहाँको भनाइ छ ।

हाल १५ वटा पोष्टबाट संरक्षण तथा व्यवस्थापनको काम भएको छ । पर्या–पर्यटन प्रवद्र्धनका लागि एउटा पक्की मचान, वन्यजन्तुका लागि ६७ वटा पानीपोखरी निर्माण, आगोलागी नियन्त्रणका लागि पाँचवटा पोखरी निर्माण र हात्तीको सेडघर दुईवटा निर्माण गरिएको छ । चोरी शिकारी हुन नदिन र जनावरको गतिविधि बुझ्न जङ्गलभित्र ठाउँठाउँमा आधुनिक ‘क्यामरा ट्रयापिङ्ग’ प्रविधि जडान गरी मोबाइल एप्सको माध्यमबाट तुरुन्तै जानकारी लिन सकिने उहाँ बताउनुहुन्छ ।

केही वर्षअघिसम्म मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने समुदायमा निकुञ्जप्रति सकारात्मक दृष्टिकोण नभए पनि अहिले यसको संरक्षणप्रति निकै चनाखो र सहयोगी रहेको पाइन्छ । बर्दिया निकुञ्जमा घुम्न आउने पर्यटकका कारण त्यहाँका मध्यवर्ती क्षेत्रका बासिन्दाको जीवनस्तरमा आएको सकारात्मक परिवर्तनबाट प्रेरित भएकाले यहाँका बासिन्दा पनि संरक्षणको अभियानमा सक्रियरुपमा लागेको कोहलपुर मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष सावित्रा पुन बताउनुहुन्छ । हालसम्म निकुञ्जमा विदेशी पर्यटकको सङ्ख्या उल्लेख्य नभए पनि विस्तारै आन्तरिक पर्यटक बढेसँगै विदेशी पर्यटकलाई पनि आकर्षित गर्न सकिने उहाँको भनाइ छ । हाल यस निकुञ्जअन्तर्गत नौवटा मध्यवर्ती क्षेत्र उपभोक्ता समिति रहेका छन् । - रासस 


2020-03-01-9480


सल्यान, फागुन १८ गते । सल्यान अस्पताल सल्यानमा दरबन्दी अनुसारको स्वास्थ्यकर्मी पदपुर्ति नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । कार्यालय सहयोगी सहित ३२ जनाको दरवन्दी रहेको अस्पतालमा लामो समयदेखि पदपुर्ति हुन सकेको छैन ।

जिल्ला अस्पताल सल्यानका डाक्टर प्रदिप शर्माले कर्मचारी समायोजन पछि रिक्त भएको स्थायी र करारमा राखिएका कर्मचारीको करार समाप्तीपछि अस्पतालमा स्वास्थ्यकर्मीको समस्या भएका बताउनुभयो । उहाँका अनुसार अस्पतालमा १ डाक्टर, १० जना नर्स र पारामेडिक्स पद पुर्ति हुन सकको छैन ।

सल्यान अस्पतालमा प्रत्येक दिन साना ठुला शल्यक्रिया सेवा समेत उपलब्ध हुने गरेको छ । आवश्यक जनशक्ति नहुँदा इमर्जेन्सीमा एक जनाले १२ देखि १४ घण्टासम्म ड्युटी दिनु पर्ने बाध्यता रहेको अहेव जीवन पुनले बताउनुभयो ।

अस्पतालमा कार्यरत नर्स कोपिला रानाले कर्मचारीको अभावमा दैनिक १० देखि १२ जनासम्म सुत्केरी हुने र दुई नर्शले एक सिफ्टमा २० देखि २५ जनासम्म विरामी हेर्नु पर्ने बाध्यता रहेको गुनासो गर्नु भयो । उहाले भन्नुभयो सुत्केरी हुन आउनेको संख्या धेरै हुन्छ । अन्य विरामी पनि आउने हुदा काम गर्न अप्ठेरो रहेको छ ।अस्पतालमा एनएसआई नामक एक संस्थाका चार चिकित्सकको टोलीले सेवा प्रदान गर्दै आइरहेको छ ।

अस्पताल विकास समिति गठन भएन

अस्पताल समिति एक वर्ष विते पनि गठन हुन स केको छैन । कर्णाली प्रदेश माताहतमा रहेको सल्यानमा अस्पताल ब्यवस्थापन समिति गठन नहुदा समिति मार्फत निणर्य भएर गरिने पदपुर्ति, सामान्य खरिद जस्ता कार्यमा समस्या भएको छ ।

जिल्ला अस्पताल सल्याका प्रमुख अर्जुन वुढाले अस्पतालमा रिक्त अध्यक्ष,स्वास्थ्यकर्मी र आवश्यक वजेट प्रदेश सरकारसंग माग गर्दा पनि अहिले सम्म सुनुवाई नगरेको वताउनुभयो । उहाले भ न्नुभयो अस्पताले गर्नु पर्ने नियमित काममा समेत अप्ठेरो परेको छ ।

नगरपालिकाले राखेका स्वास्थ्यकर्मीको निरन्तरता भएन

सल्यान अस्पतालमा अघिन्नो वर्ष शारदा नगरपालिकाले अस्पतालमा आवश्यक पर्ने स्वास्थ्यकर्मी र अस्पतालमा आवश्यक समान खरिदका लागि बजेट समेत ब्यवस्था गरेको थियो । प्रदेश सरकार माताहतमा अस्पताल गएपछि नगरपालिकाले सहयोग निरन्तरता दिएको छैन ।

दरवन्दी कम हुँदा धेरै समय ड्यूटी

जिल्लाअस्पतालका डाक्टर भीम कान्त जैसीले आवश्यक जनशक्तिको अभावले एक नर्सले २५ जना विरामी हेर्नु पर्ने रडाक्टरले इमेरजेन्सीमा वाह्र घण्टा ड्युटी गर्नु परेको बताउनुभयो । उहाँका अनुसार सल्यान, रुकुम र रोल्पाबाट सल्यान अस्पतालमा सेवाग्राही आउने गरेका छन् । अस्पतालले विशेषज्ञ सुविधा सहित हाइड्रोसिल, हर्निया, सिएस लगायतका शल्यक्रिया र दन्त सेवा पनि दिदै आएको छ ।- प्रतिक शर्मा, गोरखापत्र अनलाइनबाट 

2020-03-01-9461



काठमाडौँ, फागुन १८ गते । नेपालमा औपचारिक रूपमा संरक्षण थालिएको साढे चार दशक बितेको छ । यो अवधिमा संरक्षित क्षेत्रमा वन्यजन्तुको संरक्षणसँगै पर्यटकको आवागमन व्यवस्थित तुल्याउने पहल भयो, हुँदैछ । प्रारम्भिक दशकमा अध्ययन अनुसन्धानका लागि न्यून पर्यटक आउँथे । अचेल नेपालको प्राकृतिक सुन्दरता, हिमाल पर्वतमाला, जैविक विविधता र वन्यजन्तु हेर्ने पर्यटक बढ्दैछन् तैपनि नेपालको संरक्षित क्षेत्रलाई विदेशी पर्यटकको अझ सहज पहुँच बनाउने वा नबनाउने भन्ने विवाद कायमै छ ।
केही विज्ञ संरक्षित क्षेत्रमा पर्यटकको आवागमन कम गर्नुपर्ने धारणा राख्छन् । एउटा धार भने वन्यजन्तुलाई असर नगरी संरक्षित क्षेत्रलाई पर्यटनको मुख्य माध्यम बनाउनुपर्नेमा जोड दिन्छन् । अर्कोतर्फ ‘समृद्ध नेपाल, सुखी नेपाली’ को खाकामा अटाउँदै संरक्षित क्षेत्र, वन्यजन्तुलाई पर्यटन र आर्थिक समृद्धिसँग जोडेर लैजान वन तथा वातावरण मन्त्रालय र अन्य निकाय सहमत हुँदै अगाडि बढिरहेका छन् ।

विविधतामा रमेका वन्यजन्तु


नेपालमा उपलब्ध ११८ किसिमका पारिस्थितिक प्रणालीमध्ये ८० किसिमका प्रणाली संरक्षित क्षेत्रमा पाइन्छन् । नेपालको कुल भूभागको २९.३९ प्रतिशत भूभाग संरक्षित क्षेत्रमा पर्छ । विश्वमै दुर्लभ एकसिङे गैँडा ६४५ वटा छन् भने दुर्लभ पाटेबाघ २३५ वटा छन् ।
त्यसैगरी हिउँचितुवा, ध्वाँसेचितुवा, अर्ना, गौरीगाई सहितका स्तनधारी पाइन्छन् । सुन्दर डाँफे र मयूर जस्ता ८८८ प्रजातिका चरा, पुतलीका धेरै प्रजातिको संसार यही छ । त्यस्तै कछुवा, घडियाल गोही, अजङ्गका हात्ती र थुप्रै संरक्षित वन्यजन्तुको बासस्थान नेपालमा छ । विश्वको सर्वोच्च शिखर, तिलिचो, रारासँगै अनेकन पहाडी छहरामा रम्दै हिमाली यात्राको मजा नेपालमै लिन पाइन्छ । वन्यजन्तु कूटनीति मार्फत सरकारले नेपालको पर्यापर्यटनको क्षेत्रलाई आर्थिक कूटनीतिसँग जोडेर आर्थिक वृद्धिको लक्ष्यमा समाहित गरेको छ । यसले देशमा अत्यधिक पर्यटक भिœयाउँदै विदेशी मुद्रा आर्जन नेपालमै गर्ने दिगो रणनीतिसमेत बनेका छन् ।
नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य अनुसार धेरैभन्दा धेरै पर्यटक ल्याउन सरकारले कसरत गरिरहेको छ । नेपालको संरक्षित क्षेत्रको प्रचारप्रसार तीव्र पार्न पर्यटन मन्त्रालयले जोड दिनुपर्ने विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठ औँल्याउनुहुन्छ ।

बढ्दै पर्यटक


विगत छ वर्षमा ३२ लाख ७८ हजार ७४३ पर्यटकले नेपालको वाइल्ड लाइफ र साहसी पर्यटनको मजा लिए । देशभर कुल १२ राष्ट्रिय निकुञ्ज, दुई आरक्ष र छ संरक्षण क्षेत्र र १३ वटा मध्यवर्ती क्षेत्र छन् । जसमध्ये पर्यटकले ‘वाइल्ड लाइफ’ पर्यटनको मजा लिएका हुन् । वन्यजन्तुमा आधारित आर्थिक वर्ष २०६९÷७० मा पाँच लाख १० हजार २०५ पर्यटक आएका थिए । त्यसपछि छ वर्षको अन्तरालमा त्यो सङ्ख्या बढेर छ लाख ९९ हजार ५५२ पुगेको छ ।

स्वदेशी र विदेशीको अलग रुचि


राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्याङ्क अनुसार सबैभन्दा बढी उपत्यकास्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा १० लाख ६२ हजार २९४ पर्यटक पुगेका छन् र त्यसमा स्वदेशी पर्यटककै बाहुल्य छ । त्यस्तै विगत छ वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा आठ लाख ८४ हजार ६१८ पर्यटक पुगेका छन् । यस हिसाबले शिवपुरीपछि सबैभन्दा बढी पर्यटकको आकर्षण चितवनमा रहेको देखिन्छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र सात लाख ५३ हजार १७७ पर्यटक पुगेर तेस्रो बढी पर्यटक पुग्ने स्थान बन्न सफल भएको छ । चौथोमा भने बल्ल सर्वोच्च शिखर सगरमाथा रहेको क्षेत्रमा पर्यटक पुग्ने गरेका छन् । कठिन भौगोलिक अवस्था र महंँगो पर्यटन रहेकाले पर्यटकले चाहँदा चाहँदै पनि त्यहाँ पुग्न सकेका छैनन् । यस क्षेत्रमा विगत छ वर्षमा दुई लाख ३५ हजार ३२८ पर्यटक पुगेका छन् तर बढी पैसा खर्च गर्ने गुणस्तरीय पर्यटकको त्यहाँ आकर्षण रहेको छ ।
सबै संरक्षित क्षेत्रको वार्षिक पर्यटक आवतजावत विश्लेषण गर्दा छ वर्षमध्ये आर्थिक वर्ष २०७४÷७५ मा सबैभन्दा बढी पर्यटकले संरक्षित क्षेत्र भ्रमण गरेका छन् । जस अनुसार यस वर्ष छ लाख ९९ हजार ५५२ पर्यटक संरक्षित क्षेत्रमा प्रवेश गरेका छन् । यस अवधिमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज

दुई लाख २८ हजार ७४३ पर्यटकले हेरे । त्यस्तै एक लाख ७२ हजार ७२० पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरे । तेस्रोमा चितवन राष्ट्रिय निकुञ्जमा एक लाख ५२ हजार ६६१ पर्यटक पुगेर एकसिङे गैँडा हेरे ।
निकुञ्जमा यस अवधिमा ९८ हजार विदेशी, १९ हजार ६९६ सार्क र ३४ हजार ५० आन्तरिक पर्यटकले भ्रमण गरे । शिवपुरी नागार्जुनमा भने दुई लाख ११ हजार ९३० आन्तरिक पर्यटक पुगे । विदेशीतर्फ १५ हजार ४०२ र सार्क क्षेत्रका एक हजार ४११ पर्यटक पुगे । सगरमाथा राष्ट्रिय निकुञ्जमा भने सार्कका चार हजार ३६५ र अन्य देशका ५१ हजार ९३८ विदेशी पर्यटक मात्र पुगे । आन्तरिक पर्यटकको आगमन शून्य रहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पनि गएको वर्ष सार्क र अन्य विदेशी मुलुकका पर्यटकको बढी आकर्षण रह्यो । सार्क क्षेत्रका ४२ हजार ९०६ जना र अन्य विदेशी पर्यटक एक लाख २९ हजार ९१४ पुग्न सफल रहे ।
यो क्रम अघिल्लो वर्ष २०७३÷७४ मा नै सुरु भएको देखिन्छ । जस अनुसार त्यस वर्ष छ लाख ४० हजार ९१ पर्यटकले संरक्षण क्षेत्रमा पाइला टेकेका थिए । योसँगै विभिन्न आरक्षमा सिकार गर्ने पर्यटकको आकर्षण पनि बढ्दो छ ।

सरकारको आम्दानीको स्रोत


वाइल्ड लाइफ पर्यटनले केही विदेशी मुद्रा मात्र आम्दानी हुने होइन । देशकै कुल गार्हस्थ्य उत्पादनमा समेत टेवा दिनेगरी राजस्व सङ्कलन हुने गरेको छ । आर्थिक वर्ष २०७४÷७५ मा मात्र ६४ करोड ६९ लाख १७ हजार ८६१ रुपियाँ संरक्षण क्षेत्र मार्फत सरकारले आय प्राप्त गरेको छ । विभिन्न संरक्षण क्षेत्रमा आएका पर्यटकबाट भएको आम्दानी तथा अन्य गतिविधि मार्फत सङ्कलित राजस्वको अंश हो ।

छायाङ्कनमा आकर्षण


संरक्षित क्षेत्रमा फिल्म चलचित्र निर्माण गर्न पाइने भएकाले पनि विदेशीको आकर्षण बढ्दै गएको छ । खिच्न चाहने व्यक्ति वा संस्थाले प्रचलित नियम कानुनको अधीनमा रही तोकिएको शुल्क बुझाउनुपर्ने हुन्छ । आर्थिक वर्ष २०७४÷७५ मा २७ वटा फिल्म छायाङ्कन भए । जसमा नौ स्वदेशी फिल्म तथा डकुमेन्ट्री निर्माण भए । त्यस्तै सार्क क्षेत्रका एक राष्ट्रले र विदेशी १७ जनाले फिल्म तथा डकुमेन्ट्री र फिल्म छायाङ्कन गरेका छन् ।

आरक्षमा सिकार


वन्यजन्तुको दिगो संरक्षण र व्यवस्थापन गर्दै सरकारले केही संरक्षित क्षेत्रमा सिकार गर्न पाउने रोमाञ्चक सुविधा उपलब्ध गराएको छ । ढोरपाटन सिकार आरक्ष नेपालको एक मात्र सिकार गर्न पाइने संरक्षित क्षेत्र हो । विदेशी पर्यटक धेरैलाई सिकार गर्न पाइने पर्यटन क्षेत्रका बारेमा जानकारी नै छैन ।
कुल एक हजार ३२५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यस आरक्षमा रुकुम, बाग्लुङ र म्याग्दी जिल्लाको केही भाग समावेश गरिएको छ । सिकार व्यवस्थापन गर्न सुन दह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ र धुस्तुङ गरी सातवटा ब्लकमा विभाजन गरिएको निकुञ्ज विभागले जनाएको छ । विभागका महानिर्देशक गोपालप्रकाश भट्टराई सिकार गर्न सोख राख्ने जति सबै यो ठाउँ खोजीखोजी आइपुग्छन् । त्यहाँका जनावरको सङ्ख्यालाई ध्यान दिएर सिकार गर्न दिइन्छ भन्नुहुन्छ ।
असोजदेखि मङ्सिर र फागुनदेखि वैशाखसम्म वर्षको दुई पटक यहाँ सिकार गर्न पाइन्छ । अघिल्लो वर्षको तथ्याङ्क अनुसार पहिलो सिजनमा नाउर छ वटा र झारल पाँच वटा सिकार गरिए । त्यो बेला नाउर छ र झारल सात वटा सिकारका लागि खुला गरिएको थियो । जसबापत २६ लाख पाँच सय रुपियाँ आम्दानी भएको थियो । दोस्रो सिजनमा नौ वटा नाउर र छ वटा झारल सिकारका लागि कोटा तोकिएको थियो । तीमध्ये नौ वटा नाउर र पाँच वटा झारलको सिकार भएको थियो । जसबाट २९ लाख १७ हजार रुपियाँ आम्दानी भएको थियो ।
- चाँदनी हमाल, गोरखापत्र अनलाइनबाट 

2020-03-01-9463


काठमाडौँ, फागुन १८ गते । उपत्यकाको सार्वजनिक यातायात व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी प्राधिकरणलाई दिने गरी एकीकृत यातायात प्रणालीको विकासको प्रस्तावसहित सहरी क्षेत्रको एकीकृत सार्वजनिक यातायात व्यवस्थापन विधेयकलाई राष्ट्रिय सभाको विधायन समितिले पुनर्लेखन गरेको छ ।
एकीकृत यातायात प्रणालीको विकास, रुट निर्धारण, भाडा निर्धारण लगायतका प्रबन्ध गरी यातायात सञ्चालनको सम्पूर्ण जिम्मेवारी प्राधिकरणलाई दिने गरी समितिले विधेयक परिमार्जन गरेको हो । सरोकारवालाहरूको सुझावका लागि समितिले परिमार्जित विधेयकमा सुझावसमेत लिइरहेको छ । समितिले परिमार्जन गरेको विधेयक अनुसार प्राधिकरणले नै रुट निर्धारण, समय निर्धारण तथा भाडादर निर्धारण गर्नेछ । यस्तै नगदविहीन भाडा प्रणाली लागू गरी कार्यान्वयन गराउने अधिकार पनि प्राधिकरणसँग हुनेछ ।
प्रस्तावित व्यवस्था अनुसार अधिकारसम्पन्न प्राधिकरणले निश्चित रुटमा सार्वजनिक यातायात सञ्चालक कम्पनीलाई सञ्चालन अनुमति दिनेछ । सञ्चालन लागत करार प्राधिकरण र कम्पनीबीच हुनेछ । यातायात कम्पनीले करार बमोजिमको रकम पाउने छ । नाफा वा घाटाको सम्पूर्ण लाभ र दायित्व प्राधिकरणसँग रहनेछ । विधायन समितिका सभापति पर्शुराम मेघी गुरुङले समितिले नयाँ ढङ्गबाट विधेयकलाई परिमार्जन गर्न चाहेको र सरोकारवालासँग परामर्श भइरहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले नयाँ स्वरूपमा विधेयकलाई परिमार्जन गरेका छौँ । पुनर्लेखन नै गरेका छौँ । हाम्रो प्रस्ताव अनुसार विधेयक अघि बढेमा सार्वजनिक यातायात सञ्चालन, व्यवस्थापन सबै प्राधिकरणले पाउने छ । यातायात कम्पनीसँग निश्चित सम्झौता हुनेछ । त्यस्ता कम्पनीले सम्झौता बमोजिमको रकम प्राधिकरणबाट लिएर सेवा दिनुपर्नेछ ।”
प्राधिकरण मोडलमा सार्वजनिक यातायात सञ्चालनका लागि प्रदेश र स्थानीय सरकार दुवैलाई जिम्मेवार बनाइएको छ । निश्चित रकम प्राधिकरणलाई दुवै तहका सरकारले दिने व्यवस्था पनि विधेयकमा प्रस्ताव गरिएको छ । सहरी क्षेत्रको एकीकृत सार्वजनिक यातायात व्यवस्थापन विधेयकलाई छाता कानुनका रूपमा परिमार्जन गर्न लागिएको हो ।
प्रस्ताव अनुसार प्राधिकरणलाई सहरी क्षेत्रको यातायात नीति तर्जुमा, रणनीति निर्माण र व्यवस्थापनको जिम्मेवारी हुनेछ । प्राधिकरण स्वायत्त संस्था हुनेछ । रुट निर्धारण, अनुगमन तथा यातायात सञ्चालन लगायतका सम्पूर्ण पूर्वाधार निर्माणको दायित्व पनि प्राधिकरणमा रहनेछ । यातायात सेवा व्यवस्थापनको ‘ओभरहेड’ खर्चको परिणाम निर्धारण गर्ने अधिकार पनि प्राधिकरणलाई नै हुनेछ । सङ्घीय राजधानीको यातायात क्षेत्र व्यवस्थापनका लागि विशेष प्राधिकरण गठन हुनेछ । यस्तो प्राधिकरणमा काठमाडौँ महानगरपालिकाका प्रमुख अध्यक्ष रहने प्रस्ताव विधेयकमा छ भने ललितपुर महानगरपालिकाका प्रमुख उपाध्यक्ष रहने प्रस्ताव छ । सडक विभाग, यातायात व्यवस्था विभाग लगायतका महानिर्देशक सदस्य रहनेछन् ।
प्रस्तावित विधेयकले ऐन लागू भएपछि प्राधिकरणको कार्यक्षेत्रभित्र यातायात सञ्चालन गर्न चाहने सेवा प्रदायकले प्राधिकरणको स्वीकृति लिनुपर्नेछ । ऐन प्रारम्भ हुनुअघिका सेवा प्रदायकले छ महिनाभित्र प्राधिकरणबाट अनुमति लिनुपर्ने व्यवस्था प्रस्तावित छ । ऐन प्रारम्भ भएको पाँच वर्षभित्र सम्बन्धित मन्त्रालयले कार्यान्वयनको प्रभाव मापन गर्नुपर्ने व्यवस्था पनि विधेयकमा प्रस्तावित छ । उत्तरविधायिकी चरणका रूपमा उक्त व्यवस्थालाई विधेयकमा प्रस्ताव गरिएको हो । नारायण काफ्ले, गोरखापत्र अनलाइनबाट 

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget