Websoft University

www.radiomakalu.com || 021-522512


November 2018



काठमाडौं , कार्तिक २५ गते । सरकारले प्रजनन् स्वास्थ्य सेवालाई गुणस्तरीय, सर्वसुलभ तथा पहुँचयोग्य बनाउन ‘सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५’ ल्याएको छ।

ऐनले पहिलोपटक कामकाजी महिलालाई सुत्केरी भएपछि तीन महिनासम्म तलबसहितको प्रसूति बिदाको व्यवस्था गरेको छ। प्रसूति बिदा अपुग भएमा वा चिकित्सकको सल्लाहमा थप एक वर्ष बेतलबी बिदा बस्न पाउने व्यवस्था पनि ऐनले गरेको छ।

प्रत्येक कार्यालयमा काम गर्ने पुरुष कर्मचारीका लागि श्रीमती सुत्केरी हुनुअघि वा पछि सुत्केरी स्याहारका लागि १५ दिनसम्मको तलबसहित प्रसूति स्याहार बिदाको व्यवस्था गरिएको छ।

प्रत्येक सरकारी, गैरसरकारी र निजी संघसंस्थाले महिलाले प्रजनन् शारीरिक रुग्णताका कारण जटिल शल्यक्रिया गर्नुपर्ने भएमा ३० दिनसम्मको तलबसहितको व्यवस्था ऐनमा गरिएको छ।

यस्तै, हरेक सरकारी तथा गैरसरकारी, निजी कार्यालयहरुमा दुई वर्षसम्म बच्चालाई स्तनपानका लागि स्तनपान कक्षको अनिवार्य व्यवस्था गर्नुपर्ने व्यवस्था गरिएको छ।

लामो समयको कसरतपछि आएको सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकारसम्बन्धी ऐनले कसैले पनि महिलाको प्रजनन् शारीरिक रुग्णताको कारण देखाई सम्बन्धविच्छेद, घरनिकाला वा विस्थापन गर्न नपाइएने व्यवस्था गरिएको छ।

प्रजनन् स्वास्थ्य समन्वय समिति गठन हुने

समितिले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य सेवा सेवासम्बन्धी नीति, योजना तथा कार्यक्रम तयार गर्नका लागि नेपाल सरकारलाई आवश्यक सुझाव दिन स्वास्थ्य मन्त्रालयको सचिवको अध्यक्षतामा १० सदस्यीय समिति रहने उल्लेख गरिएको छ।

उक्त समितिमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, शिक्षा मन्त्रालयका सहसचिव, स्वास्थ्य सेवा विभागका महानिर्देशक, नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद् र स्वास्थ्य मन्त्रालयका कानुन अधिकृत सदस्य रहने व्यवस्था गरिएको छ। त्यसबाहेक मन्त्रालयले तोकेको नेपाल स्वास्थ्य स्वयंसेविका संघको प्रतिनिधि एकजना पनि रहनेछन्। परिवार कल्याण महाशाखाका निर्देशक उक्त समितिको सदस्यसचिव रहनेछन्।

समितिले सो समन्वय समितिलाई प्रजनन् स्वास्थ्य तथा अधिकारको क्षेत्रमा कार्यरत विशेषज्ञलाई आवश्यकताअनुसार बैठकमा बोलाउने, बैठकसम्बन्धी कार्यविधि बनाउने अधिकार दिइएको छ।

संरक्षण गृहको व्यवस्था
मानसिक रुपमा अशक्त, घरपरिवार वा आफन्तबाट तिरस्कृत, बलात्कृत महिलाको प्रजनन् स्वास्थ्य समस्या लागि त्यस्ता महिलालाई संरक्षण गृहमा राख्नेगरी संघ, प्रदेश र स्थानीय तहले पारस्पारिक समन्वयमा व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ।

अपांगमैत्री सेवा
यस ऐन अन्तर्गत  परिवार नियोजन, प्रजनन् स्वास्थ्य, सुरक्षित मातृत्व, आकस्मिक प्रसूति सेवा, नवजात शिशु, प्रजनन् स्वास्थ्य रुग्णतासम्बन्धी सेवा प्रदान गर्दा किशोरी तथा अपांगमैत्री हुनुपर्ने व्यवस्था गरेको छ।

अधिकार सुनिश्चित

ऐनले मातृत्व तथा प्रजनन् स्वास्थ्यमा नयाँ आयाम ल्याउने अपेक्षा गरिएको छ। लामो छलफलपछि आएको ऐनमा महिलाका केही ठोस अधिकार सुनिश्चित गरिएको छ।

मातृत्व तथा प्रजनन् स्वास्थ्य सेवालाई सुरक्षित, गुणस्तरीय, सर्वसुलभ बनाउन प्रजनन् अधिकारसम्बन्धी ऐनबारे बहस चलेको थियो।

ऐनमा प्रजनन् स्वास्थ्य अधिकारसम्बन्धी व्यवस्थामा प्रजनन् स्वास्थ्य अधिकारमा प्रत्येक महिला तथा किशोरीलाई यौन तथा प्रजनन्सम्बन्धी शिक्षा, सूचना, परामर्श तथा सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको छ।

प्रत्येक व्यक्तिलाई प्रजनन् स्वास्थ्य सम्बन्धी सेवा परामर्श तथा सूचना प्राप्त गर्ने अधिकार हुनेछ भने प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्यसम्बन्धी हक हुनेछ।

हरेक महिलालाई गर्भान्तर वा सन्तानको संख्या निर्धारण गर्ने अधिकार, गर्भनिरोधक साधन प्रयोग गर्न पाउने, ऐनबमोजिम गर्भपतन गर्न, गर्भवती, सुत्केरी र प्रजनन् स्वास्थ्यमा रुग्णताको अवस्थामा पोषणयुक्त, सन्तुलित आहार तथा शारीरिक आराम पाउने अधिकार सुनिश्चित गरिएको छ। महिलाको प्रजनन् स्वास्थ्य सेवा र सूचना गोप्य रहने पनि ऐनले व्यवस्था गरेको छ।

सुरक्षित मातृत्व तथा नवजात शिशुसम्बन्धी व्यवस्था
आर्थिक रुपले अति विपन्न महिलाको मातृत्व तथा प्रजनन् स्वास्थ्यका लागि तोकिएबमोजिम खर्च गर्नुपर्ने व्यवस्था गरेको छ।

मानसिक रुपले अशक्त, घर परिवार वा आफन्तबाट तिरस्कृत, बलात्कृत महिलाको प्रजनन् स्वास्थ्य संरक्षणका लागि त्यस्ता महिलालाई संरक्षण गृहमा राख्नेगरी संघ, प्रदेश र स्थानीय तहले पारस्पारिक समन्वयमा आवश्यक व्यवस्था मिलाउने उल्लेख व्यवस्था गरिएको छ।

सुत्केरी भत्तासम्बन्धी व्यवस्था गर्दै नेपाल सरकारले अतिविपन्न सुत्केरीलाई तोकेबमोजिमको भत्ता उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।

सुरक्षित गर्भपतन गर्न पाउने
ऐनले गर्भवतीले चाहेमा १२ हप्तासम्मको गर्भ सुरक्षित गर्भपतन गर्न पाउने व्यवस्था गरेको छ। गर्भवतीले विशेष अवस्थामा २८ हप्तासम्मको गर्भपतन गर्न सक्ने व्यवस्था ऐनले गरेको छ। गर्भवतीको शारीरिक, मानसिक स्वास्थ्य खतरामा रहेमा, जन्मिने बच्चा विकलाङ्ग जन्मने अवस्थाको भएमा चिकित्सकको रायसहित महिलाले २८ हप्तासम्म गर्भपतन गर्नसक्ने ऐनमा व्यवस्था छ।

उक्त व्यवस्थामा जबरजस्ती करणी, हाडनाताबाट रहन गएको गर्भ गर्भवतीको मञ्जुरीमा २८ हप्तासम्मको गर्भ, रोग प्रतिरोधात्मक क्षमतामा कमी ल्याउने जीवाणु जस्तो एचआइभी÷एड्स वा अन्य कुनै प्रकृतिको निको नहुने रोग लागेमा, भ्रूणमा कमीकमजोरी भएको कारण गर्भमै नष्ट हुनसक्ने वा जन्मेर पनि बाँच्न नसक्नेगरी भू्रणमा खराबी, वंशाणुगत खराबी वा अन्य कारण भ्रूणमा अशक्तता हुने देखिएमा चिकित्सकको रायसहित महिलाको मन्जुरीमा २८ हप्तासम्मको गर्भपतन गर्नसक्ने व्यवस्था पनि ऐनमा गरिएको छ।

माथि उल्लेख गरिएको अवस्थामा बाहेक अन्य कुनै कारण, बलपूर्वक, जानीजानी, करकाप, धम्की, ललाइफकाई वा प्रलोभनमा पारी गर्भपतन गर्न नपाउने व्यवस्था पनि ऐनले गरेको छ।

गर्भपतन गराउने काम गर्दा तत्काल गर्भपतन नभई बच्चा जिउँदो जन्मी यस्तो कामको परिणामस्वरुप जन्मिएको बच्चा तत्काल मरयो भने त्यसलाई पनि गर्भपतन गरिएको मानिने ऐनमा उल्लेख छ।

लिङ्ग पहिचान गरी गर्भपतन गराउन, उत्पे्ररित गर्ने, प्रलोभन, धम्की, डरत्रास देखाई, प्रभाव, झुक्यानमा पारी पनि गर्भपतन गर्न बाध्य पार्न नहुने व्यवस्था पनि ऐनले गरेको छ।

गर्भपतन गर्नुपर्ने अवस्थामा ऐनले इजाजतप्राप्त स्वास्थ्य संस्थाबाट इजाजतप्राप्त स्वास्थ्यकर्मीले मात्र सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ। ऐनमा सुरक्षित गर्भपतनका समयमा गर्भवतीका सबै जानकारी, सूचना गोप्य रहने व्यवस्था छ।

आकस्मिक प्रसूति तथा नवजात शिशु सेवा
उक्त ऐनले प्रसूति सेवा प्रदान गर्ने सबै स्वास्थ्य संस्थाले आकस्मिक प्रसूति तथा नवजात शिशु सेवा प्रदान गर्नुपर्ने व्यवस्था गर्दै नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेको गैरसरकारी तथा निजी स्वास्थ्य संस्थाले पनि आकस्मिक तथा नवजात शिशु सेवा प्रदान गर्नुपर्ने व्यवस्था गरेको छ।

ती स्वास्थ्य संस्थाले सेवा प्रदान गर्दा आइपर्ने जटिलता व्यवस्थापन गर्न नसकेमा सम्भव भएमा सरकारी वा सामुदायिक स्वास्थ्य संस्था वा सम्भव नभएमा गैरसरकारी अथवा निजी स्वास्थ्य संस्थामा रिफर गर्न पाउने व्यवस्था पनि ऐनले गरेको छ।

रेफर भइआएका गर्भवती, सुत्केरी तथा नवजात शिशुको सम्बन्धित स्वास्थ्य जटिलताको व्यवस्थापन गर्नु सम्बन्धित स्वास्थ्य संस्थाको कर्तव्य हुने बताइएको छ। हरेक स्वास्थ्य संस्थाले गर्भवतीका लागि आरामस्थलको व्यवस्था गर्न पनि ऐनले भनेको छ।

शिशुको जन्म अभिलेख राख्नुपर्ने
ऐनले प्रत्येक स्वास्थ्य संस्थाले आफ्नो स्वास्थ्य सस्थामा जन्मेका शिशुको अभिलेख राख्नुपर्ने व्यवस्था गर्दै शिशुको बाबु वा आमाको नाम राखी शिशु जन्मेको प्रमाणपत्र बाबु वा आमालाई अनिवार्य दिनुपर्ने व्यवस्था पनि ऐनमा छ।

मृतक शिशु, गर्भपतन भएका तथा गराएका महिलाको समेत संख्या खुल्नेगरी अभिलेख राख्नुपर्ने ऐनमा छ। प्रसूति सेवाका लागि आएका गर्भवती महिलाको मृत्यु भएमा त्यस्ता पनि स्पष्ट अभिलेख राख्नुपर्र्ने व्यवस्था गरिएको छ।

मातृत्व तथा प्रजनन् स्वास्थ्यको लागि बजेट विनियोजन तथा अनुदान
नेपाल सरकारले प्रत्येक वर्ष आफ्नो बजेटमार्फत प्रत्येक स्थानीय तहलाई मातृत्व तथा प्रजनन् स्वास्थ्यको सेवाको प्रयोजनको लागि बजेट विनियोजन तथा अनुदान गर्नुपर्ने व्यवस्था गरिएको छ। यस्तै बजेट विनियोजन प्रदेश र स्थानीय तहले पनि गर्न ऐनले आदेश दिएको छ।

मन्त्रालयले विशेष परिस्थितिमा निर्देशन दिनसक्ने, असल नियतले प्रजनन् स्वास्थ्य सेवा उपलब्ध गराएको विषयलाई लिएर कुनै पनि स्वास्थ्य संस्था, स्वास्थ्यकर्मीविरुद्ध ऐनमा जे लेखिए पनि कारबाही नचलाइने कुरा ऐनले स्पष्ट व्यवस्था गरेको छ।

कसुर र सजाय
गर्भवतीलाई सेवा लिनबाट बञ्चित गरेमा, जानीजानी स्वास्थ्य संस्थाले प्रसुति सेवा प्रदान गर्न इन्कार गरेमा, वा उपचार सम्भव हुदाँहुदैँ अन्यत्र रिफर गरेमा, स्वास्थ्य संस्थाले जन्म प्रमाणपत्र नदिएमा, बलपूर्वक परिवार नियोजन गराएमा, बलपूर्वक गर्भनिरोधक साधन प्रयोग गराएमा, लिङ्ग पहिचान गर्ने, सोही आधारमा गर्भपतन गराएमा, गोपनीयता भङ्ग गराएमा, भेदभाव गरेमा ६ महिना कैददेखि ५० हजारसम्म जरिवानाको व्यवस्था ऐनले गरेको छ।

विभिन्न कारण महिलालाई विस्थापन गराएमा एक वर्ष कैद, एक लाख जरिवाना वा दुवै सजाय हुन सक्नेछ।
- कल्पना पौडेल , स्वास्थ्य खबर पत्रिकाबाट 





एउटा नयाँ अनुसन्धान अनुसार बितेको चार दशकमा बालबालिका र किशोरकिशोरीमा मोटोपनाको मात्रा दश गुणाले बढेको छ जसको अर्थ हुन्छ विश्वभर १२ करोड ४० लाख केटाकेटीहरु असाध्यै मोटा छन्।

'द ल्यान्सेट' भन्ने जर्नलमा प्रकाशित विश्लेषण यस प्रकारको सबैभन्दा ठूलो हो र यसले २०० भन्दा बढी देशहरुमा मोटोपनाको अध्ययन गरेको थियो।

ब्रिटेनमा ५ देखि १९ उमेर समूहका केटाकेटीमा प्रत्येक १०मा एकजनामा मोटोपना देखियो।

मोटोपना भएका बच्चाहरु वयस्क हुँदा पनि मोटा नै हुने सम्भावना हुन्छ र उनीहरुमा गम्भीर खालका स्वास्थ्य समस्या देखिने विज्ञहरुले बताएका छन्।

'वर्ल्ड ओबेसिटी फेडेरेसन'का अनुसन्धाताहरुले मोटोपनाका कारण लागेको स्वस्थ्य समस्या समाधानकालागि सन् २०२५ बाट प्रत्येक वर्ष ९ सय २० अर्ब पाउण्ड बढ्ने भन्दै सतर्क गराएका छन्।

उच्च आम्दानी भएका ब्रिटेनसहितका युरोपेली मुलुकहरुमा बाल मोटोपना दर स्थापित हुन थालेको देखिएपनि विश्वका अन्य देशहरुमा पनि सतर्क हुनुपर्ने गरी मोटोपना बढिरहेको उक्त अनुसन्धानका प्रमुख अनुसन्धानकर्ता तथा इम्पेरियल कलेज लण्डनका प्राध्यापक मजिद इज्जतीले बताए।

मोटो बनाउने सस्ता खानाहरु जताततै पाइनु नै मोटोपनाको एक प्रमुख कारण भएको अनुसन्धानकर्ताहरुको ठम्याइ छ।

पूर्वी एशियाका बालबालिका र किशोरकिशोरीमा धेरै संख्यामा मोटोपना बढेको देखिएको छ।

चीन र भारतमा हालैका वर्षहरुमा मोटोपनाको दर उल्लेख्य मात्रामा बढेको छ।

पोलिनेसिया र माइक्रोनेसियामा जनसंख्यामध्य करिब आधा बालबालिका र किशोरकिशोरीमा बढी तौल वा मोटोपना देखिएको छ जुन विश्वको सबैभन्दा उच्च दर हो।

अनुसन्धाताहरुले यदि यही प्रवृत्तिले निरन्तरता पाए मोटोपना कम वजन भन्दा छिट्टै बढी सामान्य हुनेछ।

कम वजन भएका बालबालिकाहरुको संख्या सन् २००० यता क्रमश घट्दै गइरहेको छ।

सन् २०१६ मा १९ करोड २ लाख बालबालिकाहरुमा कम वजन देखिएको थियो जुन अझै पनि मोटोपना भएका बालबालिकाहरुभन्दा उल्लेख्य रुपमा बढी हो।

तर अब त्यो प्रवृत्तिमा परिवर्तन हुने देखिएको छ।

पूर्वी एशिया, ल्याटिन अमेरिका र क्यारेबियन देशहरुले केही दशकको अवधीमा कमवजनबाट मोटोपनामा परिवर्तन भएको देखेका छन्।

विश्वभर, सन् २०१६ मा थप २१ करोड ३ लाख बालबालिकाहरुमा ज्यादा तौल देखियो तर त्यो मोटोपनाका लागि तोकिएको सीमाभन्दा कम नै हो।

सहायक अनुसन्धाता तथा लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनका डाक्टर ह्यारी रटरले यो ठूलो समस्या भएको र थप खराब हुने बताए।

"दुब्ला व्यक्तिहरु पनि १० वर्ष पहिला भन्दा बढी तौलका हुन थालेका छन्।"

"हामी थप कमजोर मनोबलका, अल्छी वा लोभी भएका होइनौं। सत्य के हो भने हामी वरपरको विश्व परिवर्तन हुँदैछ।"

विश्व स्वास्थ्य संगठनकी डाक्टर फियोना बुलले क्यालोरी धेरै भएको र पोषण कम भएको खानामा कमी ल्याउने कदम चाल्न र शारिरिक व्यायमलाई थप प्रोत्साहन गर्न आह्वान गरेकी छन्।

अहिलेसम्म विश्वभर जम्मा २० वटा देशहरुले मात्रै चिनीको मात्रा बढी भएको पेय पदार्थमा थप कर लगाएका छन्।

ब्रिटेनको जन स्वास्थ्यकी प्रमुख पोषणविद् डा. एलिसन टेडस्टोनले भनिन्, "हाम्रो चिनीको मात्रा कम गर्ने कार्यक्रम र सरकारको चिनीबाट उठाउने कर विश्वभर बढीरहेको छ। तर एउटा पुस्ताको चुनौतीसँग झुध्ने लामो यात्राकालागि यो एउटा शुरुवात मात्रै हो।"

"प्रमाण स्पष्ट छ, मानिसहरुलाई के गर्नुपर्छ भनेर मात्रै काम बन्दैन। शिक्षा र सूचना महत्वपूर्ण हो र कम क्यालोरी भएका स्वस्थ खानेकुराहरु खानका लागि गहिरा कदमहरु आवश्यक छन्।"




विराटनगर, कात्तिक २५ गते । मेची भन्सार भएर यो वर्षदेखि गोलभेँडा भारततर्फ निर्यात हुन थालेको छ । अघिल्लो आर्थिक वर्षमा एक हजार चार सय किलोग्राम गोलभेँडा भारत निर्यात गरेको मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा तीन लाख चार हजार किलोग्राम गोलभेँडा भारत निर्यात भएको जनाएको छ ।
नेपालमा व्यावसायिक खेतीको प्रचलन बढेसँगै उत्पादन वृद्धि भएका कारण पूर्वी नेपालबाट चालु आर्थिक वर्षको तीन महिनामा झण्डै ३० लाख रुपियाँ मूल्य बराबरको गोलभेँडा भारत निर्यात भएको हो । नेपालबाट भारततर्फ गोलभेँडा निर्यात हुन थालेपछि भदौ अन्तिमतिर निर्यातजन्य सूचीमा सूचीकृत नभएको भन्दै रोकसमेत लगाएको थियो । प्रदेश सरकारको प्रयत्नबाट तत्कालका लागि गोलभेँडा निकासी खुले पनि दीर्घकालीन रूपमा भने समस्या समाधान भइसकेको छैन ।
नेपालमा उत्पादन भएको गोलभेँडा पहिलोपटक मेची भन्सार भएर भारत निर्यात भए पनि उत्साहित हुनुपर्ने अवस्था भने छैन । काँचो गोलभेँडा उत्पादन र उपभोगमा प्रदेश १ आत्मनिर्भर भए पनि गोलभेँडाजन्य अन्य खाद्यवस्तुमा भने आत्मनिर्भर हुन सकेको छैन । अहिले पनि भारतलगायत अन्य तेस्रो मुलुकबाट ठूलो परिमाणमा ‘टोम्याटो पेस्ट र टोम्याटो सस्’ को आयात भइरहेको छ ।
नेपालमा गोलभेँडाबाट सस् बनाउने उद्योग स्थापना भए पनि उनीहरूले अर्धप्रशोधित टोम्याटो डस्ट, पेस्ट र सस् नै आयात गरेर बजारमा बिक्री वितरण गरिरहेका छन् । यसले गर्दा किसानले उत्पादन गरेको गोलभेँडाले बजार नपाएका कारण भारतमा निकासी गर्ने विकल्प तयार भएको हो ।
कृषि उत्पादनमा भारत निकै शक्तिशाली रहेका कारण नेपालबाट निर्यात गर्ने विकल्प दीर्घकालीन समाधान भने नभएको बताइएको छ । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले विदेशबाट आयात हुने सस्को परिमाण घटाउन आन्तरिक उद्योग स्थापना र उत्पादनमा जोड दिएर गोलभेँडा नेपाली बजारमा नै खपत गर्ने तर्फ सरकारको ध्यान रहेको बताउनुभएको छ ।
अघिल्लो वर्ष वीरगञ्ज भन्सार नाकाबाट २३ करोड रुपियाँ बराबरको गोलभेँडा पाउडर आयात भएको वीरगञ्ज भन्सारका सूचना अधिकृत सन्तोष यादवले जानकारी दिनुभयो । यस्तै, मेची भन्सार कार्यालय भएर अघिल्लो आर्थिक वर्ष छ करोड ४५ लाख रुपियाँ बराबरको १० लाख ३२ हजार किलो टोम्याटो पाउडर आयात भएको थियो । तयारी सस् चार हजार पाँच सय किलो आयात भएको भन्सार कार्यालयका अधिकृत किरण अर्यालले जानकारी दिनुभयो ।
यस्तै, विराटनगर भन्सार कार्यालय भएर अघिल्लो आर्थिक वर्षमा चार करोड ७२ लाख रुपियाँ बराबरको चार लाख ९८ हजार ३२७ किलो टोम्याटो पाउडर आयात भएको थियो ।
पछिल्लो तीन महिनामा मेची भन्सारबाट चार करोड ९३ लाख रुपियाँ बराबरको १९ लाख ५४ हजार किलोग्राम टोम्याटो पाउडर आयात भएको छ भने विराटनगर भन्सार भएर ६८ लाख ५७ हजार रुपियाँ बराबरको ६३ हजार ८४८ किलोग्राम पाउडर आयात भएको सूचना अधिकृत मणिराम पौडेलले जानकारी दिनुभयो । ठूलो परिमाणमा गोलभेँडाको पाउडर र तयारी सस् भारत, भुटान र अन्य तेस्रो मुलुकबाट आयात गर्ने कार्यमा सस् उत्पादनका लागि भनेर खोलिएका उद्योग नै छन् । स्थानीय कृषि उत्पादनमा आधारित भनेर खोलिएका त्यस्ता उद्योगले स्थानीय उत्पादन खरिद नगरेपछि किसानले उचित बजार पाउन सकेका छैनन् ।
अचार र सस् उत्पादनमा नेपालमै नाम चलेको उद्योग रिजाल टासीका व्यवस्थापक खेलनारायण पराजुलीले मूल्य अन्तरका कारण भारतबाट गोलभेँडाको पाउडर तथा अर्ध प्रशोधित सस् आयात गर्नुपरेको बताउनुभयो । रिजाल टासीले वार्षिक ७० हजार किलो टमाटरको सस् बजारमा खपत गर्दै आएको छ ।
नेपाली किसानले उत्पादन गरेको गोलभेँडा पनि खरिद गर्ने गरेको दाबी गर्नुहुँदै पराजुलीले भन्नुभयो ‘पहिले यहाँका किसानलाई प्रोत्साहन गर्न ५० पैसादेखि ७५ पैसा प्रतिकिलो महँगोमा हामीले गोलभेँडा किन्यौँ तर अहिले भारत र नेपालमा मूल्यान्तर धेरै भयो, त्यसैले सबैले उतैबाट ल्याउन थाले । ’ उहाँले भारतबाट गोलभेँडा नल्याई अर्ध प्रशोधित सामग्री ल्याउने गरेको जानकारी दिनुभयो ।
नेपालका प्रमुख तीन भन्सार नाकाबाट एक वर्षमा झण्डै ३० लाख किलो टमाटरको पाउडर र सस् आयात भइसकेको हुँदा पाउडर उत्पादन उद्योगको राम्रो सम्भावना रहेको बताइएको छ । सस् तथा पाउडर उत्पादन गर्ने उद्योग स्थापना गर्न सके गोलभेँडाको व्यावसायिक खेती प्रवद्र्धन गरी किसानको जीवनस्तर उकास्न सहयोग पुग्ने प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बताउनुभयो । उहाँले यहाँका सस् उद्योगले आफ्नै कच्चापदार्थ प्रयोग गर्ने वातावरण तयार पार्न सरकारले गृहकार्य गरिरहेको पनि बताउनुभयो ।
- शशिधर पराजुली , गोरखापत्र दैनिकबाट 

Image result for उपत्यकामा पुनःनिर्माण सुस्त



काठमाडौंँ, कात्तिक २५ गते । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास पुनःनिर्माण प्रमुख प्राथमिकता दिएको भने पनि काठमाडौँ उपत्यका शहरी क्षेत्रको पुनःनिर्माण भने सुस्त छ । उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरका शहरी क्षेत्रमा निजी आवास निर्माणको काम एकतिहाईसम्म पनि हुन सकेको छैन ।
उपत्यकाको काठमाडौंँ, ललितपुर र भक्तपुरका एक लाख तीन हजार ६१६ लाभग्राहीमध्ये हालसम्म जम्मा १८ हजार ४०२ लाभग्राहीको मात्र निजी आवास निर्माण सम्पन्न भएको छ । उपत्यकाका तीन जिल्लामा ८७ हजार ५६९ लाभग्राहीले पहिलो किस्ता लिए पनि घर निर्माण सुरु गरेर अन्तिम चरणको किस्ता बुझ्नेको सङ्ख्या १८ हजार ७२७ मात्र पुगेको छ ।
पहिलो किस्ताको रकम बुझेर पनि घर निर्माण सुरु नगर्नेको सङ्ख्या अधिक भए पछि प्राधिकरणले विभिन्न योजना ल्याए पनि ती योजना सफल हुन सकेका छैनन् । शहरी क्षेत्रमा आवास निर्माण अत्यन्तै महँगो भएका कारणले पनि कतिपयले आवास निर्माणको आँट गर्न सकिरहेका छैनन् ।
प्राधिकरणले सहरी क्षेत्रको लागि सहुलियत ब्याजदरमा २५ लाख रुपियाँसम्मको ऋण उपलब्ध गराउने नीति ल्याए पनि त्यो कार्यान्वयमा आउन सकेको छैन ।
सहरका भित्री बस्तीमा थोरै क्षेत्रफल भएका घर, एकै घरमा धेरैको स्वामित्व रहेको, क्षतिग्रस्त घर भत्काउँदा सँगै रहेको घरलाई समेत क्षति पुग्ने भएकाले त्यस्ता घरलाई के गर्ने भन्ने स्पष्ट नीति प्राधिकरण बनाउन नसकेका कारण पनि समस्या समाधान हुन नसकिरहेको प्राधिकरणका सह प्रवक्ता मनोहर घिमिरेले बताउनुभयो ।
पछिल्लो पटक प्राधिकरणले पाँच वर्षको तीन लाख रुपियाँसम्मको निब्र्याजी ऋण उपलब्ध गराउने योजना ल्याएको छ । त्यस्तै, सम्पदा क्षेत्रमा घर बनाउँदा ५० हजार रुपियाँसम्म थप उपलब्ध गराउने निर्णय प्राधिकरणले गरेको छ ।
सहरी क्षेत्रमा हाउस पुलिङका योजना लागू गर्न सकिन्छ कि भन्ने विषयमा पनि विभिन्न निकायसँग छलफल भइरहेको सहप्रवक्ता घिमिरेले बताउनुभयो ।
त्यस्तै, प्राधिकरणले स्थानीय निकायहरुसँग पनि पुनःनिर्माणको कार्ययोजना मागेको बताउँदै छिटै ठोस निर्माणमा पुग्ने सहप्रवक्ता घिमिरेले बताउनुभयो ।
- गोरखापत्र समाचारदाता , गोरखापत्र दैनिकबाट 








जनकपुरधाम, कात्तिक २५ गते । आस्थाको महापर्व छठअन्तर्गत आज पहिलो दिन नहाय–खाय विधि गरिँदैछ । चार दिनसम्म मनाइने छठ पर्वअन्तर्गत पहिलो दिनमा नहाय–खाय विधि गरिन्छ । आजको दिनलाई अरबा–अरबाइन पनि भनिन्छ ।व्रतीले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर वस्तु परित्याग गरी आजकै दिनदेखि व्रत बस्ने परम्परा छ । छठ पर्व अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइन्छ । यसका लागि कात्तिक शुक्लपक्ष लाग्ने बित्तिकै व्रतीहरूले सात्विक भोजनका साथै अपवित्र मानिने दाल, तरकारी र सागपात आदि खाँदैनन् ।

यस पर्वमा नैवेद्यका लागि आवश्यक गहुँ र गम्हरी (धानको एक प्रकार, कालो रङ्गको गर्भमै पाक्ने पवित्र अन्न)को व्यवस्था केही दिन पहिलेदेखि नै गरिएको हुन्छ । गम्हरीलाई साठी पनि भनिन्छ । छठ पर्वमा साठी प्रकारको वस्तु चाहिने भनिन्छ, तिनमा केही कमी रहन गएमा गम्हरीको प्रयोगले त्यसको पूर्ति भइहाल्ने लोकविश्वास रहेको छ ।

गम्हरीलाई कुटेर त्यसको चामललाई पर्वका अवसरमा बनाइने नैवेद्यका लागि उपयोग गरिन्छ । आरोग्य लाभ मुख्य उद्देश्य भएको छठ पर्व उत्सवको रूपमा मात्र नभइ कठिन व्रत र उपवास गरिने तपस्याको रूपमा देखिन्छ । चोखोपना, संयम र पूर्ण ब्रह्मचर्यसाथ छठी माताको भक्तिपूर्ण आराधना गर्दा मात्र छठ पूजाको फल प्राप्ति हुने जनविश्वास रहेको पाइन्छ ।

छठ पर्वको पूजन एवं तयारीका क्रममा छठ सामग्रीलाई जुठो गर्न नहुने र कुनै प्रकारको व्यवधान जानी वा नजानी गरिएमा अनिष्ट हुने निश्चित मानिएको छ । छठ पर्व विशुद्ध रूपमा प्रकति र पुरूषको पूजा हो । सन्तान प्राप्तिका लागि दैवी कृपाको अपेक्षा यस व्रतले गरेको छ । झट्ट हेर्दा यो सूर्यको पूजाझैँ देखिए पनि पुराणअनुसार यो मूल प्रकृतिको छैँठौ अंशबाट उत्पन्न भएकी भगवती देवीको पूजा हो ।

देवी भागवत्मा षष्ठी देवीले पुत्रहीनलाई पुत्र प्रदान, पत्नीहीनलाई पत्नी प्रदान, धनहीनलाई धन र कर्मवानलाई उत्तम फल प्रदान गर्ने उल्लेख गरिएको छ । यसै कारण यो पर्व साझा समानताको पर्वका रूपमा लोककरण भएको पाइन्छ । - रासस

Image result for sherdhan rai

काठमाडौँ, कात्तिक २५ गते । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकार र प्रदेश मन्त्रिपरिषदमा  जानकारी दिएरै थाइल्याण्डमा उपचार र संयुक्त राज्य अमेरिकाको निजी भ्रमणमा जानुभएको बताइएको छ ।

उहाँ सुटुक्क अमेरिका जानुभएको भनी आलोचना भएकामा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले राससलाई प्रतिक्रिया दिँदै लामो समयदेखि घाँटीको समस्याबाट पीडित मुख्य मन्त्री राईको नेपालमा रोग पत्ता लगाउन नसकेपछि बैंककस्थित बुम्रुनग्राड इन्टरनेशनल अस्पतालमा परीक्षणका लागि जानुभएको हो भन्नुभयो । उहाँ यही कात्तिक १६ गते बैंकक प्रस्थान गर्नुभएको र स्वास्थ्य परीक्षणको प्रतिवेदन केहीदिनमै आएपछि स्वदेश फर्कने कार्यक्रम छ ।

मन्त्री कार्कीका अनुसार मुख्यमन्त्री राईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आफ्नो भ्रमणबारे जानकारी गराउनुभएको तर उपचार तथा निजी भ्रमणबारे सङ्घीय सरकारको अनुमति लिनुपर्ने अनिवार्य व्यवस्था छैन । मन्त्री कार्कीले मुख्यमन्त्री राईको भ्रमणका विषयमा अमेरिकामा पत्रकारलाई कुटपिट गरिएको सन्दर्भ जोड्न आवश्यक नभएको पनि जिकीर गर्नुभयो । - रासस





हामी सुन्दर बन्न चाहन्छौं। अरुले राम्रो भनेको वा सुन्दरताको वर्णन गरेको सुन्दा रमाइलो लाग्छ।

प्राकृतिक रुपमा हामी सवै सुन्दर छौँ । अझ बढी सुन्दर देखिने चाहना वा उमेरसँगै सुन्दरताको व्यवस्थापन गर्न विभिन्न सौन्दर्य उत्पादन पनि बजारमा छ्यापछ्याती छन् । कुनै न कुनै रुपमा महिला पुरुष दुबैले ती कस्मेटिक साधन प्रायेग गर्दै आएका छन्।

तर सुुन्दर बन्न प्रयोग गरिने कस्मेटिक सामाग्रीले हानी गरिरहेको हुन सक्छ । महङ्गो र नाम चलेको क्रिम लगाउँदैमा सुन्दर बन्ने भ्रम पनि छ । तर, हाम्रो छालासँग मिल्ने कस्मेटिक प्रयोग गर्न जानिएन भने सुन्दर बन्ने नाममा कुरुप बनाउन बेर लाग्दैन।

कसैले हामीलाई यो क्रिम लगाए राम्रो देखिन्छ वा छिटो गोरो÷गोरी भइन्छ भन्यो भने हामी अरु केही नसोची क्रिम किनेर प्रयोग गर्छौं।



राम्रा ब्राण्ड वा कम्पनीले बनाएका क्रिमलगायतका सौन्दर्य उत्पादन पनि सबैलाई एकै खालको प्रयोग गर्न मिल्ने खालका हुँदैन।

छालाका विभिन्न प्रकृति अनुसार कस्मेटिक साधन उत्पादन गरिएका हुन्छन् । जस्तो, चिल्लो, फुस्रो, सामान्य, मिश्रित छालालगायतका छालाका प्रकृतिअनुसारका छुट्टाछुट्टै कस्मेटिक साधन बनाइएका हुन्छन् । त्यसैले आफ्नो छालासँग मिल्ने कस्मेटिक प्रयोग गरिएन भने समस्या सिर्जना हुन्छ।

आफ्नो छालाको प्रकृति थाहा नपाइ अरुको सिफारिस अनुसार क्रिम प्रयोग गर्ने र पछुताउने धेरै देखिएका छन्।

अर्कातिर बजारमा सक्कली ब्राण्डका नाममा थुप्रै कमसल उत्पादन पाइन्छन् । नेपालमा पाइने केही सौन्दर्य प्रसाधन कमसल खालका छन्। जसले हाम्रो अनुसारको छाला बिगारिहेका छन् ।
नेपालमा पाउने सबै सौंदर्य  प्रसाधन नक्कली मात्र छैनन् । राम्रा कम्पनीका साधन पनि छन् । तर कमसलका नआउने भन्ने होइन।

सौंदर्य साधन प्रयोग गर्नै हुँदैन  भन्ने धारणा पनि गलत हो । पहिले महिलाले मात्र राम्री हुन कस्मेटिक लगाउँछन् भनिन्थ्यो । तर आजकल पुरुषले पनि धेरै कस्मेटिक प्रयोग गर्छन् । त्यसैले कस्मेटिक हाम्रो जनजीवनमा चाहिने कुरा हो चाहे कम वा बढी प्रयोग गरौँ । तर यसमा कम वा बढी प्रयोग गर्ने भन्दा पनि आफ्नो छाला अनुसारको कस्मेटिक प्रयोग गरियो भने त्यसको कुप्रभावबाट बच्न सकिन्छ।

दोस्रो कुरा हामी कुनै पनि कस्मेटिक खरीद गर्न जाँदा हामी‘ फलानो कम्पनी क्रिम’ भन्छौँ, किन्छौँ र लगाउँछौँ तर यतिले पुग्दैन । एउटै कम्पनीको धेरै थरीका क्रिम हुन्छन् । हामीले आफ्नो छालाको प्रकार अनुसार मिल्ने कस्मेटिक लिनुपर्छ । त्यो गरेमा कमसेकम त्यसको दुष्प्रभावबाट धेरै हद सम्म बच्न सक्छौँ।

आवश्यकताभन्दा बढी कस्मेटिक प्रयोग गरयो भने छालामा कुप्रभाव पर्छ । त्यसले एक्जिमा वा एलर्जी सबैभन्दा बढी देखिने कुप्रभाव हुन्।

एलर्जी पनि दुई किसिमको हुन्छ । एउटा भागमा कस्मेटिक प्रयोग गर्दा शरीरभरी एलर्जी हुन्छ भने अर्को जुन भागमा लगाएको हो त्यो भागमा एलर्जी हुन्छ।

कहिलेकाहिँ शरीरका एक भागमा कस्मेटिक लगाउँदा इमर्जेन्सी हुन्छ जसले पूरै शरीर सुन्निन पनि सक्छ । त्यो कस्मेटिकको दोष होइन । के हुन्छ भने एउटै खाले कस्मेटिक हजाराँै व्यक्तिले प्रयोग गरिरहेका हुन्छन् तर कुनै एक व्यक्तिको छालाले त्यो कस्मेटिकमा भएको केमिकललाई पचाउन नसकेको कारण त्यस्तो हुन्छ।

यस्तो खालको समस्या हुँदा चिकित्सकलाई देखाउन जरुरी हुन्छ। साथै कुन क्रिम लगाउँदा समस्या भएको हो, त्यो कस्मेटिक पनि सँगै लिएर आइयो भने चिकित्सकलाई बुझ्न र समस्या समाधान गर्न सहज हुन्छ।

कुनै पनि कस्मेटिकले एलर्जी भयो भने त्यो कस्मेटिकको नामले एलर्जी भएको होइन । त्यसमा प्रयोग गरिएका थुप्रै केमिकलमध्ये एक केमिकलले असर गरेको हुन्छ । त्यसैले चिकित्सकलाई  देखाउन आउँदा आफूले प्रयोग गरिरहेको क्रिम लिएर आउनुपर्छ।

मुख्य गरी मानिसहरुको सामान्य छाला, चिल्लो छाला, सुक्खा छाला र मिश्रित छाला हुन्छ । त्यसैले सोही अनुसारको कस्मेटिक प्रयोग गर्नुपर्छ । त्यसका लागि छाला वा सौन्दर्य विशेषज्ञसँग रायसल्लाह लिन सकिन्छ।

कस्मेटिक एलर्जीको समस्या लिएर हामीकहाँ हरेक दिन एक, दुईजना मानिस आउनुहुन्छ।

हामीकहाँ कस्मेटिकको गुणस्तरमापन गर्ने छुट्टै निकाय छैन । औषधि व्यवस्था विभागमा यसको गुणस्तर मापन गर्न छुट्टै शाखा भए धेरै राम्रो हुन्थ्यो । जसले कमसल खालका कस्मेटिक भित्रन वा उत्पादनमा निगरानी राख्न सकोस्।  - डा अनिलकुमार झा, छालारोग विशेषज्ञ , स्वास्थ्य खबर पत्रिकाबाट 



बिबिसी , कार्तिक १७ गते ।  विश्व स्वास्थ्य सङ्गठनले सन् २०१५ देखि 'प्राथमिकता' दिइएका घातक सङ्क्रामक रोगहरूको सूची प्रकाशित गर्दै आएको छ। ती रोगबारे थप अनुसन्धान आवश्यक रहेको बताइन्छ।

महामारीको रूपमा फैलिने सक्ने तिनको क्षमताका कारण र रोकथाम गर्न औषधि र खोप नभएकाले गर्दा ती रोगले जनस्वास्थ्यमा ठूलो जोखिम पार्ने मानिएको छ।

संगठनको सूचीमा केही समयअघि अफ्रिका र भारतमा फैलिएका इबोला र निपा भाइरस पनि परेका छन्। सूचीमा ११ रोगहरू समाविष्ट छन्।

निपा भाइरस


निपा भाइरस फ्रूट ब्याट भनिने एक किसिमको चमेरोबाट घरपालुवा जनावर र मानिसमा सर्छ। निपा भाइरसको सङ्क्रमण हुँदा ज्वरो आउने, बान्ता हुने, टाउको दुख्ने जस्ता लक्षण देखिन्छ। त्यसपछि मस्तिष्क सुन्निन्छ।



निपा भाइरसविरुद्ध कुनै खोप बनेको छैन। सङ्क्रमित व्यक्तिमा ७० प्रतिशत मृत्युदर देखिएको छ। सन् १९९८ मा मलेशियाली नगर निपामा पालिएका सुँगुरहरूमा यो भाइरस पहिलो चोटि भेटिएको थियो। त्यसैले यसको नाम नै निपा भाइरस राखियो।

सङ्क्रमित पशुबाट झन्डै तीन सय मानिसहरूमा यो भाइरस सरेको पाइएको छ। रोग फैलिएपछि एक सयभन्दा बढी मानिसको मृत्यु भएको विवरण प्राप्त भएको छ।

हेनिपाभाइरल डिजिजेज
निपा भाइरस चमेरोबाट सर्ने रोगहरूको वर्ग 'हेनिपाभाइरल डिजिजेज' अन्तर्गत पर्छ। पहिलो चोटि अस्ट्रेलियामा पत्ता लागेको हेन्ड्रा भाइरसलाई पनि यही वर्गमा राखिएको छ।

यो फ्रूट ब्याटमा पाइन्छ। यसको सङ्क्रमण हुँदा घोडा र मानिसहरूको मृत्यु हुनसक्छ। सन् १९९४ मा पहिलो चोटि ब्रिस्बेनको हेन्ड्रास्थित एउटा तबेलामा यसको महामारी फैलिएको थियो।

यसबाट ७० वटा घोडाको मृत्यु भइसकेको छ भने रोग सरेका सातमध्ये चार मानिसको पनि ज्यान गएको छ।

सीसीएचएफ
क्राइमिएन-कङ्गो हेमर्‍याजिक फिभर (सीसीएचएफ) किर्नाबाट सर्छ। यसले मानिसमा गम्भीर महामारी फैलाउन सक्छ। यसबाट मृत्यु हुने अनुपात ४० प्रतिशतसम्म छ।

सन् १९४४ मा पहिलो चोटि क्राइमियामा र पछि कङ्गोमा पनि भेटिएको यो भाइरस पूरै अफ्रिका, बाल्कन प्राय:द्वीप र मध्यपूर्व एवम् एशियाका केही भागमा पाइन्छ। यो रोग अकस्मात् सुरु हुन्छ। टाउको दुख्ने, धेरै ज्वरो आउने, ढाड दुख्ने, जोर्नी दुख्ने, पेट दुख्ने र बान्ता हुने जस्ता लक्षण देखिन्छ।

यो भाइरस मुख्यत: किर्नाले टोक्दा वा सङ्क्रमित गाईवस्तुबाट मानिसमा सर्छ। सङ्क्रमित मानिसको रगत वा शरीरबाट उत्पन्न हुने अन्य तरल पदार्थबाट पनि अर्को मानिसमा सर्छ।

मानिस वा पशु कसैका लागि पनि यो रोगको उपचार गर्न खोप उपलब्ध छैन।

इबोला भाइरस
इबोला भाइरस पनि फ्रूट ब्याटबाट नै उत्पन्न भएको विश्वास गरिन्छ। सन् १९७६ मा प्रजातान्त्रिक गणतन्त्र कङ्गोको इबोला नदीनजिकै फैलिएको महामारीमा यो भाइरस पत्ता लागेको थियो।

इबोला भाइरस जङ्गली जनावरबाट मानिसमा सर्छ। मानिसबाट मानिसमा पनि सर्नसक्छ। इबोला भएको मानिसको घाउ भएको छाला, मुख वा नाकबाट अथवा रगत, बान्ता, मल र शरीरको तरल पदार्थ छोइँदा पनि सङ्क्रमण सर्छ। यो भाइरस मू्त्र र वीर्यमा पनि हुनसक्छ।

इबोलाको औसत मृत्युदर ५० प्रतिशत रहेको छ। त्यसैले यसलाई गम्भीर रोगका रूपमा लिइन्छ। यसले पश्चिम अफ्रिकामा सन् २०१४ देखि २०१६ सम्म भएको महामारीमा ११ हजार मानिसको ज्यान लियो।

अकस्मात् ज्वरो आउने र थकाइ लाग्ने, त्यसपछि झाडापखाला हुने, डाबर आउने एवम् मिर्गौला र कलेजोले राम्ररी काम नगर्ने जस्ता इबोलाका लक्षण हुन्। कसैकसैमा आँखा, कान, नाक र मुखमा आन्तरिक र बाह्य रक्तस्राव पनि हुनसक्छ।

मार्बर्ग भाइरस


मार्बर्ग भाइरसलाई इबोलाको नजिकैको नातेदार मानिन्छ। सङ्क्रमित मानिसको शरीरको तरल पदार्थसँग सम्पर्क हुँदा अन्य मानिसमा यो भाइरस सर्छ। यो पनि चमेरामा पाइन्छ। यसका कारण हुने मृत्युको दर २४ देखि ८८ प्रतिशतसम्म छ।

रोगका लक्षणहरू देखा परेको प्राय: आठ र नौ दिनको बीचमा उच्चरक्तस्राव भएर सङ्क्रमित व्यक्तिको मृत्यु हुनसक्छ। जर्मनीको मार्बर्गमा सन् १९६७ मा यो भारइस पहिलो चोटि पत्ता लागेको थियो। त्यतिबेला फ्रान्कफर्ट र सर्बियाको राजधानी बेल्ग्रेडमा पनि यो रोगको महामारी फैलिएको थियो।

सार्स
सिभिअर अक्युट रेस्परटरी सिन्ड्रोम (सार्स) भाइरसले गराउने श्वासप्रश्वाससँग सम्बन्धित रोग हो। यो रोग 'सिभिट क्याट' भनिने वनबिरालोबाट मानिसमा सरेको हुनसक्ने वैज्ञानिकहरूको मान्यता छ। सिभिट क्याटको मासु दक्षिण चीनमा स्वादिलो मानेर खाने प्रचलन छ।

तर यो रोगको सम्बन्ध चमेरोसँग पनि छ। हालसम्म सार्सको महामारी सन् २००२ देखि २००४ सम्म दुई चोटि फैलिएको छ।

यूकेको न्याश्नल हेल्थ सर्भिसका अनुसार सार्सका ८,०९८ केसहरू दर्ता भएका थिए। तिनमध्ये ७७४ व्यक्तिको मृत्यु भएको थियो। अर्थात् गम्भीर खालको न्युमोनिया गराउने यो भाइरसले दश सङ्क्रमित व्यक्तिमध्ये झन्डै एक जनाको ज्यान लिनसक्छ।

सार्स हावाबाट पनि सर्छ। रुघामा जस्तै सङ्क्रमित व्यक्तिले खोक्दा वा छ्युँ गर्दा थुकको सूक्ष्म थोपाबाट यो फैलिन्छ। सन् २००४ पछि सार्सको केस कतै पनि भेटिएको छैन।

मेर्स
मिडल इस्ट रेस्परटरी सिन्ड्रोम (मेर्स) पनि सार्स भाइरसकै परिवारको सदस्य हो। यो सन् २०१२ मा साउदी अरेबियामा पहिलो चोटि भेटिएको थियो।

यसको सङ्क्रमण भएका झन्डै ३५ प्रतिशत बिरामीको मृत्यु भएको छ। सङ्‍क्रमण हुँदा मेर्स सार्सभन्दा बढी घातक हुन्छ। तर यो कम सरुवा भएको देखिन्छ।

पर्याप्त सुरक्षाविनै बिरामीको स्याहार गर्दा वा अरू किसिमको संसर्गबाट मानिसबाट मानिसमा यो रोग सर्नसक्छ। वैज्ञानिकहरू ऊँटमा मेर्स भाइरस पाइने बताउँछन्। तर मानिसमा कसरी यो सर्‍यो भन्ने स्पष्ट छैन।

मेर्सका कुल केसहरूमध्ये ८० प्रतिशत साउदी अरेबियामा भेटिएका छन्।

रिफ्ट भ्याली फिभर


लामखुट्टे र रगत चुस्ने झिँगाले रिफ्ट भ्याली फिभर (आरभीएफ) गराउने भाइरस सार्छन्। यसबाट प्राय: गाईवस्तु र भेडा प्रभावित हुन्छन्।

तर यो रोग मानिसमा पनि सर्नसक्छ। मानिसमा यसबाट सामान्य रुघाजस्तो स्थितिदेखि गम्भीर समस्यासम्म देखिन सक्छ। रक्तनली बिग्रिने र अङ्गले काम नगर्ने भएर मृत्यु हुनसक्छ।

मानिसमा अधिकांश सङ्क्रमणहरू, सङ्क्रमित वस्तुभाउ जनावरको रगत वा मासुसँग प्रत्यक्ष वा परोक्ष सम्पर्क भएका कारणले हुने गरेका छन्। सङ्क्रमित गाईवस्तुको दूध राम्ररी नउमाली सेवन गर्दा पनि यो भाइरस सरेको हुनसक्ने केही प्रमाण भेटिएका छन्।

लामखुट्टे र रगत चुस्ने झिँगाबाट पनि मानिसमा सङ्क्रमण भएको भेटिएको छ। केन्याको रिफ्ट उपत्यकामा सन् १९३१ मा पहिलो चोटि यो भाइरसको सङ्क्रमण भेटिएको थियो।

जिका



जिका रोग मूलत: जिका भाइरसबाट सङ्क्रमित लामखुट्टेबाट मानिसमा सर्छ। तर यौनसम्पर्क गर्दा पनि मानिसबाट मानिसमा सर्नसक्छ।

ज्वरो आउने, छालामा डाबर देखिने, मांसपेशीमा पीडा हुने र टाउको दुख्ने यसका लक्षणहरू हुन्।

जिकाकै कारणले अस्वाभाविक रूपमा 'माइक्रोसेफली' अर्थात् असामान्य किसिमले सानो शिर भएका शिशुको जन्मको सङ्ख्यामा वृद्धि भएको विश्वास वैज्ञानिकहरू गर्छन्।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार जिका भाइरसले गुइलाएन-बारे सिन्ड्रोम भनिने स्नायुप्रणालीमा हुने दुर्लभ खालको समस्या उत्पन्न गराउनसक्छ, जसबाट युवाहरूमा पक्षाघात हुन्छ।

यो भाइरसविरुद्ध कुनै खोप बनेको छैन।

जिका भाइरस पहिलो चोटो युगान्डाको जिका वनमा बस्ने बाँदरहरूमा सन् १९४७ मा पत्ता लागेको थियो।

लास्सा फिभरसङ्क्रमित मूसाको मलमूत्रका कारणले प्राय: मानिसहरूमा लास्सा भाइरस सर्छ। मानिसबाट मानिसमा सर्न चाहिँ सङ्क्रमित व्यक्तिको रगत, मलमू्त्र अथवा शरीरमा हुने अन्य तरल पदार्थसँग प्रत्यक्ष सम्पर्क हुनुपर्छ।

अङ्गले काम गर्न छोडेर र रक्तनलीमा क्षति भएर रोग लागेको १४ दिनभित्र बिरामीको मृत्यु हुनसक्छ। तर यसबाट हुने मृत्युदर एक प्रतिशत मात्रै छ।

लास्सा फिभर भएका अधिकांश व्यक्तिमा ज्वरो आउने , टाउको दुख्ने र थकाइ लाग्ने भएको पाइन्छ।

तर गत मार्चमा नाइजिरियामा यो रोग फैलिँदा झन्डै ९० जनाको मृत्यु भयो। त्यतिबेला यसको मृत्युदर रोग निदान गरिएका र भएको आशङ्का गरिएका केसहरूमा २० प्रतिशत थियो।

सन् १९६९ मा नाइजिरियाको लास्सा नगरमा पहिलो चोटि यो भारइस भेटिएको थियो।

डिजिज एक्स



विश्व स्वास्थ्य सङ्गठनले डिजिज एक्स नामकरण गरेर महामारीको रूपमा फैलिन सक्ने 'अज्ञात रोग'लाई विशेष ध्यान दिनुपर्ने रोगको सूचीमा राखेको छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार हाल मानिसमा हुने रोगको कारक भनेर नचिनिएको जीवाणुले कुनै बेला विश्वव्यापी रूपमा गम्भीर महामारी फैलाउनसक्छ। यसैलाई डिजिज एक्स भनिएको हो।



विश्व स्वास्थ्य सङ्गठनसँग आबद्ध वैज्ञानिकहरूले संसारमा जुनसुकै बेला पनि घातक भाइरस उत्पन्न हुनसक्ने र त्यसका लागि हामी तयार रहनुपर्ने बताउने गरेका छन्। त्यसैले डिजिज एक्स हाल थाहा नभएको कुराको प्रतिनिधि हो। - स्वास्थ्य खबर पत्रिकाबाट 

महानगरले फोहोर व्यवस्थापनमा परिचालन हुने गाडीका पार्टपुर्जा ‘सिन्डिकेट’ मा खरीद गरेको छ भने शहर प्रभावकारी सफाइ हुन नसके पनि कर्मचारीलाई अतिरिक्त भत्ता दिंदै आएको छ ।




काठमाडौं महानगरपालिकाले फोहोर संकलन तथा व्यवस्थापनमा खटिने कर्मचारीलाई बाँडेको अतिरिक्त भत्ताबापतको खर्च हेर्दा लाग्छ, महानगरका कर्मचारी अहोरात्र सरसफाइको काममा खटिरहेका छन् र महानगर सफा छ । तर, जताततै थुपारिएका फोहोर, धुलो आदिले महानगरको सच्चा रूप बोल्छ ।

सरसफाइको काम गर्दै आएको महानगरको वातावरण व्यवस्था विभागका कर्मचारीको अतिरिक्त भत्ताका लागि २०७३ साउनदेखि चैतसम्म रु.२ करोड ६६ लाख २८ हजार ७८६ खर्च भएको छ । जसमध्ये साउनमा रु.३२ लाख ९७ हजार ९२१, भदौमा रु.३३ लाख ४७ हजार ८४८, असोजमा रु. ३२ लाख ५० हजार २६५, कात्तिकमा रु.३० लाख ८९ हजार ६४९, मंसीरमा रु.३० लाख ७१ हजार ३४, पुसमा रु.३२ लाख १६ हजार ९०६, माघमा रु.२८ लाख ७१ हजार २४, फागुनमा रु.१३ लाख २५ हजार १५० र चैतमा ३१ लाख ५८ हजार ९८९ खर्चेको छ ।

२८ चैत २०७३ देखि ३० असार २०७४ सम्म मात्रै महानगरले सफाइको काम गर्ने कर्मचारीका लागि ‘अन्य सुविधा’ का नाममा रु.१ करोड ५२ लाख २८ हजार खर्चेको छ । सोही तीन महीनाको अवधिमा सफाइको कामका लागि इन्धन खर्च भनेर रु.२ करोड ६५ लाख ८१ हजार खर्चेको छ ।

असुहाउँदो अतिरिक्त भत्ता
महालेखा परीक्षकको कार्यालयका निर्देशक शंकर पन्थी महानगरले फोहोर व्यवस्थापन गर्ने नाममा कर्मचारीहरूलाई अतिरिक्त भत्ता दिए पनि फोहोरको उचित व्यवस्थापन हुन नसकेको बताउँछन् । उनी भन्छन्, “भत्ता अनावश्यक देखिन्छ । महानगरले अनुगमन गर्न नसक्दा जथाभावी फालिएको फोहोरले शहर दुर्गन्धित बनेको छ ।”

वातावरण व्यवस्था विभाग प्रमुख हरिबहादुर कुँवर भने सरसफाइको क्षेत्रमा अपर्झट काम आइपर्ने भएकाले कर्मचारीलाई भत्ता दिएर खटाउनुपरेको बताउँछन् । “सकेसम्म नागरिक स्तरबाट फोहोर नगर्ने बानी बसाल्नुपर्छ” उनी भन्छन्, “भएको फोहोर व्यवस्थापन गर्न कर्मचारीलाई भत्ता दिएरै भए पनि काममा खटाउनुको विकल्प छैन ।”

महानगरको वातावरण व्यवस्था विभाग मार्फत सरसफाइका लागि ९६३ कर्मचारी खट्ने गर्छन् । प्रमुख कुँवर फोहोर व्यवस्थापनको काम प्रभावकारी बनाउन महानगरलाई ३००० कर्मचारी चाहिने बताउँछन् । उनका अनुसार २०५४ सालमा सरसफाइको क्षेत्रमा खटिने कर्मचारीको संख्या १६०० थियो । २०६३ सालदेखि सरकारले निजी क्षेत्रको सहकार्यमा फोहोर व्यवस्थापन गर्न थालेपछि फोहोर व्यवस्थापनमा खटिने कर्मचारी संख्या घट्दै गएको हो ।

पार्टपुर्जा खरीदमा अनियमितता
महानगरको वातावरण विभागले २८ चैत २०७३ देखि ३० असार २०७४ सम्म गाडी मर्मत, लुब्रिकेन्ट्स लगायत सामान खरीदका लागि रु.१ करोड ६७ लाख १९ हजार र ल्याण्डफिल्ड ट्रान्सफर्मर स्टेसन व्यवस्थापनका लागि रु.८५ लाख ४३ हजार रकम खर्चेको छ ।

महानगरले फोहोर व्यवस्थापनका लागि परिचालन गर्ने सवारी साधनको मर्मतका लागि हुने पार्टपुर्जाको खरीद ‘सिन्डिकेट’ मा गरेको भेटिएको छ । महानगरले एक वर्षभित्र रु.५ लाख भन्दा बढीको सामान एकै कम्पनीबाट खरीद गर्नुपरे टेन्डर आह्वान गर्नुपर्ने नियम छ ।

सार्वजनिक खरीद नियमावली, २०६४ को नियम ८४ का अनुसार, पटक–पटक वा एकैपटक रु.५ लाखभन्दा बढीको सामान खरीद गर्नुपरे बोलपत्र आह्वान गरी प्रतिस्पर्धा मार्फत छानिएका कम्पनी मार्फत खरीद गर्नुपर्छ । तर, महानगरको वातावरण विभागले आर्थिक वर्ष २०७३/७४ का लागि बोलपत्र आह्वान नगरी सीमित ठेकेदार कम्पनीबाट रु.१ करोड ३५ लाख मूल्य बराबरको पार्टपुर्जा खरीद गरेको छ ।

महानगरले २८ चैत २०७३ देखि २१ जेठ २०७४ सम्म विना प्रतिस्पर्धा न्यू अन्नपूर्ण इन्टरप्राइजेज, ए एण्ड एल टे«डर्स, कल्पना अटो बक्र्स प्रालि, रेक्लोड टे«डर्स, कन्टिनेन्टल टे«डिङ इन्टरप्राइजेज प्रालि, इस्टर्न मोटर्स प्रालि, प्रविधि इन्टरनेशनल प्रालि लगायत सीमित कम्पनीबाट मात्र गाडीका पार्टपुर्जा खरीद गरेको छ । महानगरले आर्थिक वर्ष २०७३÷७४ मा एउटै कम्पनी कल्पना अटो बक्र्स प्रालिबाट बोलपत्र आह्वान नगरी १३ पटकसम्म पार्टपुर्जा खरीद गरेको छ ।

टेन्डर मार्फत प्रतिस्पर्धालाई छलेर सामान खरीद गर्ने रोग महानगर लगायत अन्य सरकारी निकायमा पनि व्याप्त छ । किन सरकारी निकायहरू टेन्डर छलेर सीमित कम्पनीबाट सामान खरीद गर्छन् ? महालेखा परीक्षकको कार्यालयका महालेखा परीक्षक टंकमणि शर्मा प्रतिस्पर्धा छलेर टेन्डर विना सामान खरीद गर्नु कमिशनको खेल भएको बताउँछन् । “सधैंभरि एउटै कम्पनीबाट मात्र सामान खरीद गर्न पाइँदैन” शर्मा भन्छन्, “यदि सीमित कम्पनीबाट टेन्डर विना सामान खरीद गरिन्छ भने त्यसमा कमिशनको खेल छ ।”

त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगाल कानून मिचेर अनियमित तरिकाले सामग्री खरीद गरेको भेटिए अनुसन्धान गरेर मुद्दा चलाउने बताउँछन् ।

दंगालको भनाइसँग सहमत हुँदै काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्की भन्छन्, “अनियमित रुपमा सामग्री खरिद गरेको भए कारबाही हुन्छ ।”


- रामु सापकोटा , हिमाल खबरबाट 

Related image

बर्दिया, कात्तिक १७ गते । बारबर्दिया नगरपालिका–१० बैदीका ७१ वर्षीय सुब्बा थारुले क्यान्सर रोगपीडित ४३ वर्षीया महिलालाई निको पारिदिन्छु भन्दै घरमै आएर पटकपटक बलात्कार गरेका छन् । गुरुवा (धामीझाँक्री) रहेका सुब्बाले गत माघ देखि उपचारको नाममा बलात्कार गर्ने गरेको पीडित महिलाले बताउनुभयो ।

पीडित महिलाका अनुसार सुब्बा थारुले राति फोन गरेर यौन सम्बन्ध राख्न दिए झारफूक गरी निको गराइदिने भन्दै पटकपटक बलात्कार गर्ने गरेका थिए । गुरुवाले झारफुक गरेर निको भइहाल्छ की भनेर शुरुवातमा भएको यौन दुव्र्यवहारपछि बलात्कार पनि सहेर बसेको पीडित महिलाको भनाइ छ ।

उहाँले भन्नुभयो, “रोग निको भइहाल्छ की भनेर गुरुवाले आफूमाथि गरेको बलात्कारको घटना बाहिर कसैलाई भनेको थिइन । तर मनमा अति पीडा भएपछि कानूनी न्यायको लागि प्रहरीमा गएको हुँ ।” पीडितले कात्तिक १६ गते इलाका प्रहरी कार्यालय बाँसगढीमा आफूलाई बलात्कार गर्ने सुब्बा थारुविरुद्ध बलात्कार गरेको आरोपमा जाहेरी दिनुभएको छ ।

पीडितले जाहेरी दिएको स्वीकार गर्दै थप अनुसन्धान गरी जाहेरी दर्ता गरी कानूनी कारवाही अगाडि बढाउने इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक वसन्त गौतमले बताउनुभयो । निरीक्षक गौतमका अनुसार घटनाका आरोपित सुब्बा थारुलाई कात्तिक १६ गते नै पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा लिइएको छ ।

रोग ठीक हुनुभन्दा दिनानुदिन बढ्दै गएर थला पार्न थालेपछि भने चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा परीक्षण गराउँदा डाक्टरले क्यान्सर भएको भनेपछि सोही अनुसार उपचार गराइरहेकी छिन् । पीडित महिलाको श्रीमान् वैदेशिक रोजगारमा गएका छन् भने दुई छोरा पनि घर बाहिर कमाउन जाने गरेका छन् । - रासस

Image result for महिला आयोगमा उजुरी बढ्दै

काठमाडौँ, कात्तिक १७ गते । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राष्ट्रिय महिला आयोगमा दर्ता हुने उजुरीमा करीब ५०० ले वृद्धि भएको छ । आयोगले शुक्रबार यहाँ आयोजना गरेको सञ्चारमाध्यमसँगको अन्तरक्रिया कार्यक्रममा प्रतिवेदनमार्फत आयोगले उक्त जानकारी गराएको हो ।

आर्थिक वर्ष २०७३÷७४ मा ३४१ महिलासम्बन्धी घटनाको दर्ता भएको थियो । आर्थिक वर्ष २०७४÷७५ मा भने आठ ८३८ महिलासम्बन्धी घटना दर्ता भएको प्रतिवेदनमा उल्लेख छ ।

आयोगका सचिव अनिलकुमार झाका अनुसार गत आर्थिक वर्षदेखि आयोगले हेल्पलाइन शुरु गरेपछि घटना दर्ता बढी हुन थालेको हो । दर्ता हुने घटनामा सबैभन्दा बढी टेलिफोन र हेल्पलाइनबाट घटना दर्ता हुने गरेको पनि सचिव झाले जानकारी गराउनुभयो ।

गत वर्ष दर्ता भएको जम्मा घटनामध्ये सबैभन्दा बढी मानसिक तथा शारीरिक हिंसाका कारण घटेका घरेलु हिंसाका दर्ता भएका छन् । गत आवमा आयोगमा परेको उजुरीको घटनामम्धे २१५ कानूनी कारवाहीको लागि सम्बन्धित निकायमा सिफारिश गरिएको छ । त्यसैगरी १६६ घटनाको लागि मनोसामाजिक परामर्शका लागि सिफारिश गरिएको छ । १३४ कारवाहीको लागि पत्राचार गरिएको छ, ८३ घटनामा मिलापत्र सिफारिश गरिएको र ४७ घटना सेल्टरको लागि सिफारिश गरिएको बताइएको छ ।

हाल आयोगमा आउने उजुरीमा सबैभन्दा बढी काठमाडौँ उपत्यकाबाट हिंसाका घटना दर्ता हुने गरेको छ । पहिलेको भन्दा पछिल्लो समय हिंसाको स्वरुपमा परिवर्तन पनि भएको छ । अहिले हाडनाता करणी, सामूहिक बलात्कार, यौन व्यापारका लागि विभिन्न देशमा मानव तस्करी, विदेशी नागरिकबाट बालयौन शोषण र बोक्सीको आरोपमा मानसिक र शारीरिक यातनाजस्ता घटना दर्ताका लागि आउने गरेको छ । - रासस

       वित्तीय हतियारको प्रयोग गर्दै युरोपमा राजनीतिक प्रभाव बढाउँदै चीन, युरोपियनहरु सशंकित



काठमाडौं , कार्तिक १७ गते । अहिले युरोप चीनको आँखामा परेको छ। सन् २०१६ मा युरोपमा चीनको लागानी करिब ३६ अर्ब युरो पुगेको थियो। उक्त लगानी अघिल्लो वर्षको तुलनामा झण्डै दोब्बर रहेको थियो। सन् २०१७ मा युरोपमा चीनको प्रत्यक्ष लगानी घटेको थियो तर चीनको सेयरको लगानी भने बढेको थियो। यसले युरोपलाई केही फाइदा पुगेको थियो। युरोपको चीनसँगको व्यापारिक सम्झौताले दुवैपक्षलाई सम्पन्न बनाउँदै गरेको छ।

यद्यपि चीनले आर्थिक हतियारको प्रयोग गर्दै युरोपमा राजनीतिक प्रभाव विस्तारको योजना अघि सारेको छ। चेक गणतन्त्रका राष्ट्रपति मिलोस जेमानले आफ्नो मुलुकले चीनलाई सदैव सहयोगका लागि तयार रहेको बताएका थिए। ग्रिसले पनि गत वर्ष संयुक्त राष्ट्रसंघमा चीनको मानव अधिकारको विषयमा आलोचनाको लागि युरोपियन युनियन (ईयू)लाई रोकेको थियो। यसले चेक गणतन्त्र र ग्रिस विस्तारै चीनको पक्षमा ढल्किएको देखिन्छ। यसले समग्र युरोपमाथिको चीनको प्रभाव बढ्दै जानसक्ने आशंका बढाएको छ। चीनको यस किसिमको लगानीको विषयमा अमेरिकाले भने आपत्ति जनाउँदै आएको छ। चीनबाट व्यावसायिक तथा सैन्य जोखिम रहेको अमेरिकाले बताउँदै आएको छ।

युरोपमा लगानीको विषय धेरैले चीनको अर्थतन्त्रमा विस्तार भइरहेको बताएका छन्। केही लगानी निजी क्षेत्रको, नाफामूलक र कुनै नोक्सानी नहुने किसिमको रहेको छ। चिनियाँ कम्पनीहरुबाट केही कम्पनीहरुले प्रविधिको खरिद गरिरहनुले आगामी दिनमा सुरक्षाको जोखिम बढ्नसक्ने बताइन थालेको छ।

रुसभन्दा चीनको नीति अलिक फरक किसिमको छ। उसले ईयूलाई अवमूल्यन गर्ने काम गर्दै ईयूमा आफ्नो उपस्थिति कमजोर बनाउने गतिविधि गर्दैन। जसको कारण युरोपसँगको उसको सम्बन्ध स्थिर रहेको देखिन्छ। साथै उसले सधैं युरोपको लागि आफ्नो बजार खुला राखेको छ। अहिले जलवायु परिवर्तन र व्यापारको मामिलामा अमेरिकाले भन्दा धेरै जिम्मेवारी चीनले लिएको भान गराइरहेको छ। यसबाट चीन विश्वको सहानुभूति बढुल्ने योजनामा रहेको देखिन्छ।

केही युरोपियन मुलुकरुले चीन केही महत्वपूर्ण समस्याहरुबाट बाहिरिने मामिलामा सहयोगी रहेको बताउँदै आएका छन्। उनीहरु भ्रममा छन्। युरोपको लागि चीनको तुलनामा धेरै कुरा अमेरिकासँग मिल्दोजुल्दो किसिमको रहेको छ। यद्यपि धेरै युरोपियनहरु भने अमेरिकाको नीतिलाई खासै मन पराउँदैनन्। चीन भने युरोपमा आफ्नो प्रभाव बढाउँदै आफ्नो निहित स्वार्थ पूरा गराउने योजनामा देखिन्छ। जसमध्येको एक मानवअधिकारको मुद्दा पनि हो। केही युरोपियन मुलुकहरु भने अहिलेको अवस्थामा चीन अघि बढिरहने हो भने आगामी दिनमा अमेरिकाको सैन्य सहकार्य गरिरहेका युरोपियन मुलुकहरु पनि उसको कब्जामा पर्नसक्ने भन्दै आशंका व्यक्त गर्दै आएका छन्।

तर केही युरोपियन राष्ट्रहरु जस्तै फ्रान्स र बेलायतले जापानसँग मिलेर दक्षिण चीन सागरको चुनौती सामना गर्न प्रयास गरिरहेका छन्। चीन पूर्णरुपमा प्रजातान्त्रिक नहुञ्जेलसम्मका लागि युरोपले निकै नजिकको सम्बन्ध विस्तारको सम्भावना निकै कम रहेको छ। यस्तोमा चीनले फरक किसिमको नीति अपनाउँदै युरोपलाई आफ्नो पक्षमा पार्न प्रयास गरिरहेको स्पष्ट देखिन्छ। अहिले युरोपमा चिनियाँ कम्पनीहरुले कुनै अवरोध विना आफ्नो व्यापार गर्दै आएका छन् तर चीनले भने युरोपियन कम्पनीहरुलाई निकै कडा किसिमको व्यवस्था लागू गरेको छ।

यसका लागि युरोपले प्रभावकारी कानुन अघि सार्नु जरुरी रहेको केही सिमित यूरोपीयन राष्ट्रहरुबाट आवाज उठ्न थालेका छन्। युरोपले अघि सारेको खुलापनको फाइदा चीनले उठाइरहेको उनीहरुको भनाइ छ। त्यसैले युरोपको लागि प्रत्येक लगानीहरुमा निकै सोचेर मात्र कदम अघि बढाउनु जरुरी हुने देखिन्छ।

चीनले मोन्टेनेग्रोमा गरेको लगानीले आगामी दिनमा उक्त मुलुकलाई चिनियाँ ऋणबाट पार पाउनु निकै कठिन हुने बताइन्छ। हंगेरी र पोल्याण्ड पनि केही चिनियाँ संरचना निर्माणको योजनामा अघि बढिरहेका छन्। उक्त योजनाहरुको प्रकृति हेर्दा ती मुलुकहरुको सो योजना पूरा हुने सम्भावना कमजोर रहेको छ। अहिलेको अवस्था हेर्दा युरोपियन मुलुकरुको बीचमा चीनको ऋणको विषयमा थप सहकार्य तथा वार्ता गरेर अघि बढ्नुपर्ने आवश्यकता रकेको विषयमा ईयूमा चर्चा शुरु हुन थालेको छ। तर पनि ठोस कदम भने चालेको देखिदैन।

युरोपको कुनै पनि एउटा मुलुकको प्रयासले चीनलाई पाखा लगाउन सक्दैनन्। यद्यपि उनीहरुले साथै मिलेर अघि बढ्ने निर्णय गरेको खण्डमा भने यो समस्या समाधान हुन सक्छ। त्यसका लाथि सबैभन्दा पहिला ईयूले चीनको संवेदनशील विषयहरुमा स्पष्ट धारणा लिएर अघि बढ्नु जरुरी छ।

अमेरिकाको भूमिका पनि यो विषयमा महत्वपूर्ण हुनसक्छ। त्यसका लागि अमेरिका आफ्नो नीतिहरुमा केही परिवर्तन गर्नु जरुरी छ। विशेषगरी व्यापारिक हिसाबमा पछिल्लो समय अमेरिकाले अघि सारेको योजनाले अमेरिकालाई युरोपभन्दा पर लगिरहेको छ। प्रविधि तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विषयमा अमेरिका र चीनले आ–आफ्नो नीति अघि बढाएकोमा युरोपले भने मध्यमार्गी नीति लिनु सन्दर्भिक हुन्। चीनको विस्तारसँगै विश्वको निष्पक्ष, खुला र निःशुल्क युरोप मात्र विस्तार हुनेछ। त्यसको बदलामा युरोप भने थप कमजोर र विभाजित हुँदै जानसक्छ।

 - दि इकोनमिस्टबाट साभार , हाम्राकुराबाट 




नयाँ दिल्ली , कार्तिक १७ गते  । वेद पूर्वीय साहित्यको मेरुदण्ड मात्रै होईन की यो त सर्व दर्शन र सर्ब विज्ञानहरुको मार्गदर्शक पनि हो । ऋग्वेदले नै विश्वलाई साहित्य रचनाको कखरा सिकायो। यही वेदले नै मानिसलाई संस्कार सिकायो । खराब काममा नलगाउनको लागि धर्मको व्यवस्था गरेर मानिसलाई सधैं सत्कर्ममा डोर्याईरह्यो । यही कारणले नै विश्वमा वेदको महत्व सबैसामु घटित भएको छ ।

वेदको यो महत्व बढाउनको लागि स्वयं वेदले भन्दा पनि यसका ६ अंगले महत्वपूर्ण भूमिका निभाएका छन् । जसरी कुनै पनि देशको संविधानले लेखेका विषयलाई विस्तृत र स्पष्ट गराउनको लागि अन्य कानून र नियमावलीहरु बनाईन्छ । त्यसैगरी यो संसार चलाउनको लागि अपौरुषेय वेदले संविधानको काम गरिरहेको छ भने कानूनका काम गरिरहेका छन् वेदका यी अंगहरुले

के के हुन् वेदका ६ अंगहरु ?शिक्षां कल्पो व्याकरणम् निरुक्तं छन्दसां च यः।
ज्योतिषामयनं चैव वेदाङ्गानि षडेव तु।।

१. शिक्षा - शास्त्र, २. कल्प- शास्त्र ३. व्याकरण- शास्त्र, ४. निरुक्त- शास्त्र ५ छन्दः- शास्त्र, ६ ज्योतिष- शास्त्र, यिनीहरु छ वेदाङ्ग हुन्।

यिनै ६ वेदाङ्गहरु वेदार्थबाधादिविधिमा प्रयोग हुन्छन् भन्ने विषयमा निरुपण रिँदै आएको पाईन्छ  । यिनै ६ वेदाङ्गहरुको महत्वलाई वर्णन गर्दै पाणिनी शिक्षामा महर्षि पाणीनीले लेखेका छन् कि -

''छन्दः पादौ तु वेदस्य हस्तौ कल्पो{थ पठ्यते।।
ज्योतिषामयनं चक्षुः निरुक्तं श्रोत्रमुच्यते।
शिक्षा घ्राणं तु वेदस्य मुखं व्याकरणं स्मृतम्।
तस्मात्साङ्गमधित्यैव ब्रह्मलोकमहीयते।।''

अर्थ- वेदको पादस्वरूप छन्दःशास्त्र हो, हस्तस्वरूप कल्पशास्त्र हो, चक्षुस्वरूप ज्योतिषशास्त्र हो, श्रोत्र स्वरूप निरुक्त हो, घ्राणस्वरूप शिक्षाशास्त्र हो, मुखस्वरूप व्याकरण हो अतः अध्येता साङ्गवेदाध्यन गरेर मात्र ब्रह्मलोक मा जान्छ।

१- शिक्षा-शिक्षाको व्युत्पत्ति यस प्रकार छ -शिक्षयतीति या सा शिक्षा शिक्ष शिक्षणे धातुदेखि भाव अर्थ मा अजाद्यष्टाप् सूत्रले टाप् प्रत्यय भएर शिक्षा शब्द निष्पन्न हुन्छ। वेद मा स्वर को प्राधान्य छ, र स्वरज्ञान शिक्षायत्त छ। अत एव शिक्षाशास्त्र वेदाङ्ग हो। शिक्षाशास्त्रको प्रयोजन तैत्तिरीयोपनिषद्मा पनि वर्णित छ। यथा- अथ शिक्षां व्याख्यास्यामः- वर्णः स्वरः मात्र बलम् साम सन्तान इत्युक्त शिक्षाध्यायः। यहाँ वर्णपदले अकारादिको ग्रहण हुन्छ, स्वरपदले उदात्तादि ग्रहण हुन्छ, मात्र पदले ”स्व दीर्घ प्लुत को ग्रहण हुन्छ, बल पदले स्थानप्रयत्न गृहीत हुन्छ। साम पदले निषादादिको ग्रहण हुन्छ। सन्तान पदले विकर्षणादिको ग्रहण हुन्छ।

शिक्षाग्रन्थहरु वर्णोच्चारणविधिलाई विशेषतः वर्णन गर्दछन्। कसरी वर्ण उच्चारण गर्नु पर्छ, तिनीहरुको स्थान के हो, कुन वर्ण को यत्न हो, कण्ठ तालु आदिमा के महत्त्व छ, कति वर्णहरु छन्, कति स्थान हुन्छन्, कति स्वर हुन्छन्, कसरी तिनीहरुलाई प्रयोग गर्ने इत्यादि विषयलाई शिक्षाग्रन्थमा विवेचन गरिएको छ। हाम्रा प्राचीन चार वेदहरु मा पनि ऋग्वेदको- पाणिनीयशिक्षा, शुक्लयजुर्वेदको- याज्ञवल्क्यशिक्षा, कृष्णयजुर्वेद को- व्यासशिक्षा, सामवेदको- नारदीयशिक्षा, अथर्ववेदको माण्डूकीशिक्षा इत्यादि शिक्षा छन्।

२- कल्पः-
कल्पको वैदिकसाहित्य मा अतिशय महत्वपूर्ण स्थान छ। शास्त्र मा भनिएको पनि छ- कल्पो वेदविहितानां कर्मणामानुपूर्व्येण कल्पनाशास्त्रम्। अर्थात्- वेद मा विस्तीर्ण कर्म को व्यवस्थापक शास्त्र नै कल्प हो।

कल्पशास्त्र मा विविध मार्ग तथा संस्कारादि वर्णनं पाईन्छ। मन्त्रहरुको विविधकर्ममा विनियोग त्यसमा प्रतिपादन गरिएको छ। कल्पसूत्र चार प्रकार ले विभाजन गरिएको छ- (क) श्रौतसूत्रम्, (ख) गृह्यसूत्रम्, (ग) धर्मसूत्रम्, (घ) शुल्बसूत्र। यस प्रकार ले यिनीहरु वेदाङ्गहरु वेदार्थबोध तथा तत्क्रियाकलापवर्णन मा उपयुक्त हुन्छन्।

३- व्याकरणम्-
व्याकरणको लक्षण हो- व्याक्रियन्ते व्युत्पाद्यन्ते शब्दा अनेन इति व्याकरणम्। अर्थात्- जसदेखि संस्कृतको शब्दबोध हुन्छ अशुद्ध र शुद्ध शब्द छुट्याउन सकिने नै व्याकरणको लक्षण हो। व्याकरणमा प्रकृति प्रत्ययको विचार, उदात्तादिस्वरविचार, उदात्तादि स्वरहरुको स्वरसंचारनियम, सन्धिको नियम, शब्दरूपधातु-रूपादिनिर्माण को नियमहरु, प्रकृति र प्रत्ययको स्वरूपावधारण, तदर्थ निर्धारण इत्यादि विविधविषय विवेचन गरिएको छ। अतः हामीहरुले प्राचीन शास्त्र वचाउनका लागि व्याकरण पढ्न अत्यन्त आवश्यक छ। व्याकरण पढ्नुको विषयमा एउटा उक्ति धेरै प्रचलित छ-
यद्यपि बहु नाधीषे तथापि पठ पुत्र व्याकरणम्।
स्वजनः श्वजनो मा भूत् शकलं सकलं सकृच्छकृत्।।
अतः हामीहरुका लागि शुद्ध शब्दबोधका लागि व्याकरण पढ्न आवश्यक छ।

४- निरुक्तम्-

शास्त्रमा निरुक्तको लक्षण यस प्रकार छ। अर्थावबोधे निरपेक्षतया पदजालं यत्र तद् निरुक्तम्- अर्थात्- अर्थज्ञानका लागि स्वन्तत्रता रूपले जुन पदार्थको संग्रह छ, त्यसलाई निरुक्त भनिन्छ। जस्तो प्रकार ले शब्दलक्षण परिज्ञान को लागि सर्वशास्त्रहरुमध्ये व्याकरणले हुन्छ, तद्वत् शब्दार्थ निर्वचनपरिज्ञान पनि निरुक्तबाट हुन्छ। यसप्रकारले वेदार्थ ज्ञानको लागि निरुक्त नितान्त आवश्यक छ। निरुक्तमा वैदिक शब्दको निरुक्ति छ। प्रत्येक शब्द कुनैपनि धातुसँग अवश्य सम्बद्ध हुन्छ। अतः निरुक्तकार पनि शब्दहरुको व्युत्पत्ति देखाऊँदै धातुसँग विभिन्नप्रत्ययको निर्देश बन्छन्। यथा- सः पितुः सकाशात् दूरे स्थिातायामेव तस्य हितं करोति। (दुहिता (छोरी)= दूरे-दूरदेशस्थितायामेव, हिता= (हितकारिणी)। यसैको नाम हो भाषाविज्ञान। निरुक्तमा क्लिष्टवैदिकशब्दहरुको निर्वचन प्राप्त हुन्छ। यस विषयमा यास्कमुनिप्रणीत- निरुक्त ग्रन्थ प्रमुख ग्रन्थ हो। वैदिकशब्दहरुको संग्रहात्मकग्रन्थ नै निघण्टु नामले चिनिन्छ। त्यसैको व्याख्यानभूत यो निरुक्त हो।

५‍. छन्द
छन्द वेदको अर्को अङ्ग हो । वर्णहरू र मात्राहरूको गेय व्यवस्थालाई छन्द भनिन्छ । संस्कृतमा यो छन्दस् शब्द नपुंसक लिङ्गमा प्रयोग हुनाले यसको छन्दः, छन्दसी, छन्दांसि प्रकारले एक बचन द्विवचन र बहुबचनको रुपमा प्रयोग गरिन्छ । यहि अर्थमा पद्य शब्दको प्रयोग पनि गरिन्छ। भाषामा शब्द र शब्दहरूमा वर्ण र स्वर रहन्छ। निश्चित विधानबाट सुव्यवस्थित गर्दा छन्दको नाम दिइन्छ।
छन्दलार्इ पनि लौकिक र वैदिक गरी दुर्इ भागमा विभाजन गर्ने गरिएको छ ।

१.‍ वैदिक छन्द: जस्को प्रयोंग वेदहरूमा गरिएको छ। यसमा ह्रस्व, दीर्घ, प्लुत र स्वरित, यो चार प्रकारको स्वरहरूको विचार गरिन्छ। र "अनुष्टुप" इत्यादि। वैदिक छन्द "अपौरुषेय"मानिन्छ।

२. लौकिक छन्द: यस्को प्रयोग वेदमा नगरेर सामान्य लोक वा जनसमुदायमा गरिन्छ। यो छन्द कुनै निश्चित नियममा आधारित नभएर ताल र लयमा आधारित रहन्छ।

६- ज्योतिषम्-
कालदेखि उत्पन्न भएको जगत् कालमा नै परिवर्द्धित तथा परिचालित छ। काललाई छोडेर कोई पनि जीव जगतमा बस्न सक्दैन, त्यस कालको ज्ञान ज्योतिषशास्त्रको विना अन्यशास्त्रदेखि हुन सक्दैन। वेदाङ्ग ज्योतिषमा आचार्यहरुले पनि भनेका छन् कि वेदाः यज्ञार्थमभिप्रयुक्ताः यज्ञादयः कालमपेक्षन्ते, कालो ज्योतिषशास्त्रस्य विषयः। अर्थात्- वेद यज्ञादिमा प्रयुक्त छन्, यज्ञादि कालमा प्रयुक्त छन् र त्यही काल ज्योतिषशास्त्रको विषय हो। ज्योतिषशास्त्र को महत्ता वेदाङ्ग ज्योतिषमा यस प्रकारले वर्णन गरिएको छ-
यथा शिखा मयूराणां नागानां मणयो यथा।
तद्वद्वेदाङ्ग शास्त्रणां ज्योतिषं मूर्धनि स्थितम्।।

ज्योतिषशास्त्र को वैदिकभेद पनि छन्-
१- ऋग्वेदको ज्योतिषशास्त्र- आचार्यज्योतिषम्, षट्त्रिंशत्पद्यात्मकम्।
२- यजुर्वेद को ज्योतिषशास्त्र-याजुषज्योतिषम्, उनचत्वारिंशत् पद्यात्मकम्।
३- सामवेद को ज्योतिषशास्त्र-
४- अथर्ववेद को ज्योतिषशास्त्र-आथर्वणज्योतिषम्, द्विषष्टड्ढत्तरपद्यात्कम्। यिनी तिनैको ज्योतिषग्रन्थ को प्रणेता आचार्य लगध हुन्।

जुन शुभ मुहूर्तलाई आश्रित मानेर विशिष्ट यज्ञादि शुरु गरिन्छ त्यसलाई ज्योतिषशास्त्र भनिन्छ। शुभमुहूर्तको आकलन का लागि ज्योतिषशास्त्र को उदय भएको हो। यसमा सूर्य, चन्द्रमा, भौम, मंगल, बुध, वृस्पिति, शुक्र, शनि, राहु, तथा केतु यिनी नवग्रहहरुको तथा नक्षत्रहरुको गति निरीक्षण गरिन्छ तथा विवेचन गरिन्छ। यस विषयमा आचार्यलगधप्रणीत‘वेदाङ्ग ज्योतिषम्’ नामक ग्रन्थ सम्प्रति उपलब्ध छ।
-दण्डपाणि आचार्य, हाम्रा क़ुरबाट



काठमाडौं , कार्तिक १७ गते  । एउटा यस्तो पनि देश छ जहाँ जुनसुकै काम पनि ठट्टै ठट्टमा गरिन्छ । झण्डै २३ वर्ष अघिदेखि सञ्चालनमा आएको एउटा यस्तो मुलुकमा कुनैपनि नेताहरु र राष्ट्रप्रमुखले पनि गम्भीर भएर कुनै पनि निर्णय गर्ने गरेका छैनन् । झण्डै सात हजार बासिन्दा रहेको सो मुलुकमा एक हजार भन्दा बढी कलाकार रहेका छन् ।

उज़ुपियाइसमा सोवियत संघको आर्किटेक्चर पनि देख्न पाईन्छ र यस्तै रमाईला कलाकारहरु पनि देख्न सकिन्छ । १९९० को दशकमा सोवियत संघको विघटनपछि त्यस्ता तमाम नायकहरुको मूर्ति त हटाईयो तर, उनीहरुको प्रवृत्तिको कलाकारहरुको भने खाँचो रहेको पाईँदैन ।

यो मुलुकको सुरुवात सन् १९९५ को अप्रिल १ तारिकबाट सुरु भएको थियो । त्यसको दुई वर्ष पछि सन् १९९७ सालमा यो मुलुक स्वतन्त्र घोषणा गरिएको थियो । यो मुलुकलाई विश्वले भने अझै पनि स्वतन्त्र मुलुकको रुपमा मानेको छैन । उज़ुपियाइसलाई कलाकारहरुले लिथुआनियाबाट अलग गर्दै एक स्वतन्त्र गणराज्य घोषित गरिदिएका थिए । अरु देशले यसलाई स्वतन्त्र नमानेको भएपनि यसलाई स्वतन्त्रमान्नेको हौसलाको अगाडि अरु कसैको पनि केही लागेको छैन ।

आज लिथुआनियाको राजधानी विलिनियसमा बहुत मानिस उज़ुपियाइसको अस्तित्वको प्रशंसा गर्दैगरेको भेटिन्छ । यो देशले आफ्नो छुट्टै पासपोर्टको व्यवस्था समेत गरेको छ । यो देशमा आउनको लागि एउटा नदीको सीमाना छ । सोही सीमानाको रुपमा रहेको पुलमा नै पासपोर्ट वितरण गरिन्छ । यो देशको संविधान  आज कैयौं भाषामा अनुवाद भएको छ ।

देशको झण्डा पनि उस्तै भिन्न

उज़ुपियाइसका विदेश मन्त्री टोमास सेपाइटियास पनि यो देशको संस्थापक सदस्यहरु मध्ये एक हुन् । टोमास भन्छन् कि उनको देशको जन्म ग्रीकका दार्शनिक अरस्तुको सोचमा आधारित रहेको छ । टोमास भन्छन् कि, 'हामी एक यस्तो सानो देश बनाउन चाहन्थ्यौं । जसमा ५ हजार भन्दा बढी मानिस नहोस् । यसको कारण यो हो कि धेरै मानिस भयो भने आफ्ना जनताहरुको अनुहार दिमागमा याद हुँदैन । यो देशमा कुनै पनि जनताले अर्का नागरिक प्रति बेईमानी र बेवकुफी गर्न नपाउने व्यवस्था गरिएको छ ।'

उज़ुपियाइसको झण्डामा एक पवित्र हात बनाईएको छ । जसको बीचमा प्वाल पारिएको छ । यसको तात्पर्य यो हो कि यो कसैको पनि घुस लिँदैन । उज़ुपियाइसका पर्यटन मन्त्री केस्टास ल्यूकोस्किनास भन्छन्, "यो झण्डाको तात्पर्य यो हो कि हाम्रो साथमा लुकाउने कुरा केही पनि छैन ।"

विदेशमन्त्री टोमास भन्छन् । 'पुल पार गर्ने वित्तिकै तपाई सबै आफैंसँग मिल्नुहुनेछ । तपाईँको यहाँ कुनैपनि सामाजिक जिम्मेवारी हुने छैन र यहाँ कोही पनि तनाव र दबाब रहने छैन । यहाँ तपाई पागल जस्तै गरी हिँड्न पनि सक्नुहुनेछ र जसरी खुशी हुन चाहनु हुन्छ त्यसैगरी खुशी हुन सक्नुहुनेछ ।'

यो मुलुक २० औं शताब्दीमा सोवियत संघको हिस्सा थियो । यो क्षेत्रको हालत त्यतिबेलासम्म एकदमै नाजुक रहेको थियो । यो एकदमै खतरनाक ठाउँ मानिन्थ्यो । यहाँको एउटा मशहूर सडक उज़ुपियाइस स्ट्रीटलाई स्ट्रीट अफ डेथ भनिन्थ्यो । मुहल्लाको यहूदी स्वतन्त्रताको अलग पहिचान मिलेको थियो । दोस्रो विश्वयुद्धको दौरानमा यहूदिहरुलाइ  जर्मन सेनाहरुले मारिदिएका थिए । त्यसको कलाकृति आज पनि यो देशका केही भित्ताहरुमा देख्न सकिन्छ ।

३ घण्टामा लेखिएको थियो संविधान

१९९७ सालमा उज़ुपियाइसलार्इ स्वतन्त्र घोषणा गरिएपछि १९९७ सालमा त्यहाँ नयाँ संविधान लेखिएको थियो । विदेशमन्त्री टोमास र राष्ट्रपति रोमनले मिलेर ३ घण्टामा सो संविधान लेखेका थिए । सो समय राष्ट्रपति रोमनको घरमा तातो पानी नभएकोले उनी टोमसको घरमा आएका थिए । उनीहरुले त्यसैले संविधानमा नै सबैलाई तातो पानीले नुहाउन पाउने व्यवस्था गरिदिए ।

टोमस भन्छन् 'जब रोमनले तातो पानीले नुहाए त्यसपछि नयाँ देशको स्वतन्त्रताको विषयमा सोच आयो । त्यहीँ बसेर उनीहरुले ३ घण्टामा संविधान लेखे । सो संविधानमा अहिले ४१ धाराहरु रहेका छन् । यो संविधानमा सबैलाई मृत्युको अधिकार दिईएको छ । तर यो जवरजस्ती भने हुनु हुँदैन । सबैको कुनै कुरा सम्झने अधिकार छ भने नसम्झनेको पनि अधिकार छ ।

यो संविधानमा जनावरको पनि अधिकारको विषयमा उल्लेख गरिएकोछ । जस्तै, कुकुरको यो हक छ कि उ कुकुर नै बनिरहोस् । उसले विरालोसँग जवर्जस्ती भने गर्न सक्दैन । कुकुर र विरालोले पनि मालिकलाई समस्या परेको समयमा सहयोग गर्नै पर्छ ।

यो देशको मन्त्रिपरिषद्को बैठक कुनै क्याफेमा बस्ने गर्दछ भने जो धेरै चर्चित छ उनी सो मुलुकको मन्त्री बन्न सक्छन् । २१ सालदेखि यस्तै रमाईलै रमाईलोका बीच चलिरहेको सो मुलुक चलिरहेको छ ।

- एजेन्सीको सहयोगमा , हाम्रा क़ुराबाट 




काठमाडौं , कार्तिक १६ गते । सरकारले विराट र देवदह मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने तयारी गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख आयुक्त लोकमान सिंह कार्कीको दवावमा गैरकानुनी रुपमा यी दुई कलेजले स्विकृती पाएका थिए।

काठमाडौं विश्वविद्यालयले विस्तारित कार्यक्रममा नाममा कार्कीको दवावमा सम्बन्धन दिएको यी दुई कलेजको सम्बन्धन खारेज गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सकारात्मक रहेको स्रोतले जानकारी दिए।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले यी दुई कलेजका विषयमा आवश्यक जानकारी संकलन गरिसकेका छन्। ‘लोकमान सिंह कार्कीले कसरी पदको दुरुपयोग गरेर यी कलेजलाई सम्बन्धन दिए ?  कलेजको मापदण्ड, पूर्वाधार, कानुनी प्रक्रिया लगायतका विषयमा छलफल भइसकेको छ,’ स्रोतले भन्यो, ‘सम्भवत छिट्टै यो विषयमा निर्णय हुनेछ।’

विराट मेडिकल कलेजका सञ्चालक डा ज्ञानेन्द्र कार्की हुन्। उनी लोकमानसिंह कार्कीका भाई हुन्।

तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले देवदहलाई सम्बन्धन दिन केयूका उपकुलपति सुरेशराज शर्मालाई दबाब दिएका थिए। शर्माले नमानेपछि भट्टराईले शर्मालाई हटाएर डा रामकण्ठ मकाजुलाई उपकुलपति बनाएका थिए। तर, सरकार परिवर्तन भएपछि सम्बन्धन रोकिएको थियो।

यही बिचमा विराटलाई सम्बन्धन दिने प्रक्रिया अगाडी बढेको थियो। लोकमानले भाईको कलेजलाई मात्र सम्बन्धन दिँदा विवाद आउने भएपछि देवदहलाई पनि आर्थिक चलखेलका आधारमा सम्बन्धन दिन लगाएका थिए।

२०७१ सालमा तत्कालिन प्रधानमन्त्री सुशिल कोइराला विदेश गएको समयमा सिनेट बैठक बसी काठमाडौं विश्वविद्यालयले लोकमानको दवावमा विस्तारित कार्यक्रममा नाममा यी दुई कलेजलाई मेडिकल कलेज सञ्चालनको स्विकृती दिएको थियो।

तत्कालिन समयकी सहकुलपति तथा शिक्षा मन्त्री चित्रलेखा यादव पनि कलेजलाई सम्बन्धन दिने खेलमा थिइन्।

यो विषयमा डाक्टर गोविन्द केसीले समेत विरोध गर्दै अनसन बसेका थिए। सरकारले उनको माग पुरा गर्ने सम्झौता गरे पनि यो विषयमा कुनै कारबाही हुन सकेको छैन।

डा केसीको माग अनुसार गठन भएको चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगले यी दुइ कलेजको सम्बन्धन प्रकरणमा दोषी देखिएकालाई कारबाही सिफारिस गरेको छ।

विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले सम्बन्धन दिने समयमा खटिएका टोलीले झुटो विवरण दिएर मेडिकल कलेज सञ्चालनका लागि सिफारिस गरेका कारण उनीहरु सबैलाई कारबाही सिफारिस गरेको छ।

आयोगले सम्बन्धनका लागि निरीक्षण गरी पूर्वाधार पुगेको भनी सम्बन्धन दिन सकिने राय सहितको प्रतिवेदन दिने सबै पदाधिकारीलाई आगामी ५ वर्षसम्म सरकारी र अर्धसरकारी निकायका पदमा नियुक्ति नगर्न सरकारलाई सुझाव दिएको छ।

‘पूर्वाधार नपुगेको कलेजलाई पनि पुगेको भनी विश्वविद्यालयलाई सम्बन्धन दिनका लागि बाटो खुला गरिदिने निरीक्षणकर्ताहरूले कानुन विपरीतको काम गरेको देखिन आएको छ’, प्रतिवेदनमा भनिएको छ।

प्रतिवेदन अनुसार, देवदह मेडिकल कलेजको एमबिबिएस कार्यक्रम सञ्चालनका लागि सम्भाव्यता निरीक्षण गर्नेमा डा सिडी चावला र प्रा श्यामसुन्दर मल्लले कलेज सञ्चालन गर्न मिल्ने सिफारिस गरेका थिए।

सम्भाव्यता निरीक्षण टोलीपछि २०७१ साउन ११ को पत्र अनुसार निरीक्षण गरेको टोलीले पनि कलेज चलाउन मिल्ने प्रतिवेदन दिएको थियो। उक्त टोलीमा प्रा डा पन्ना थापा, प्रा डा रमेशप्रसाद सिंह, डा जगदीश चटौत र श्री प्रद्युम्न श्रेष्ठ थिए।

यसैगरी, विराट मेडिकल कलेल एन्ड टिचिङ अस्पतालको निरीक्षण गरी प्रतिवेदन पेश गर्न खटाइएका निरीक्षण दलका सदस्यहरू डा रमेशकुमार अधिकारी, डा रोहित श्रेष्ठ, डा सिडी चावला र डा ओजस्वी नेपाल छन्। उनीहरुले पूर्वाधार नै नपुगेको कलेजलाई ७५ जना विद्यार्थीलाई भर्ना गर्नेगरी अनुमति दिन सिफारिस गरेका थिए।

आयोगले गुणस्तरीय चिकित्सा शिक्षाका लागि विशेष ध्यान दिई सक्षम, सबल र दक्ष जनशक्ति उत्पादनमा जोड दिन सक्रिय रहनुपर्नेमा केयूका उपकुलपति डा रामकण्ठ माकाजुले भौतिक पूर्वाधार, फ्याकल्टी लगायतका पक्षमा ख्याल नगरी नियमावली नै संशोधन गरी सम्बन्धन दिने नियतले विस्तारित कार्यक्रमका नाममा सञ्चालन अनुमति दिएको भन्दै उनलाई पनि कारबाही गर्न सिफारिस गरेको छ।

‘सक्षम र प्रभावकारी प्रशासनिक नेतृत्वका हैसियतले जिम्मेवारी र उत्तरदायित्व वहन गर्नुपर्नेमा सो गर्नमा उदासीन भएकाले उपकुलपति डा रामकण्ठ माकाजुलाई प्रचलित कानुन बमोजिम सचेत गराउने’, प्रतिवेदनमा भनिएको छ।
- प्रवीण ढकाल , स्वास्थ्य खबर पत्रिकाबाट 



काठमाडौं , कार्तिक १६ गते । नेपाल मेडिकल काउन्सिलले स्वदेश र विदेशमा अध्ययन गरेका डाक्टरी विद्यार्थीहरुको लाइसेन्सिङ परीक्षामा सहभागिताका लागि लागू गर्न लागेको फरक फरक व्यवस्था कार्यान्वयनमा नल्याउने भएको छ।

काउन्सिलले अबदेखि नेपालमा एमबिबिएस वा बिडिएस गरेका विद्यार्थीले ६ महिना इन्टर्नसिप र विदेशमा अध्ययन गरेको हकमा १ वर्ष इन्टर्नसिप गरेपछि मात्र लाइसेन्सिङ परीक्षामा सहभागि हुन पाउने व्यवस्था लागू गर्न लागेको थियो। तर, यो विषयमा विरोध आएपछि काउन्सिलले पुरानै व्यवस्था अनुसार जाने निर्णय गरेको हो।

काउन्सिलले स्वदेश र विदेशमा अध्ययन गरेका विद्यार्थीहरुलाई समान मापदण्ड नै लागू गर्ने निर्णय गरेको काउन्सिलका रजिष्ट्रार डा दिलिप शर्माले जानकारी दिए। उनका अनुसार अब स्वदेश र विदेशमा पढेकाले ६ महिना इन्टर्नसिप गरेपछि काउन्सिलको लाइसेन्स परीक्षामा सहभागि हुन पाउने छन्। ‘बिहीबार बसेको बैठकले फरक फरक मापदण्ड लागू नगर्ने निर्णय गरेको हो,’ उनले भने, ‘यो निर्णय स्विकृतीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउन लागिएको छ।’

मन्त्रालयबाट स्विकृती भएर आएसँगै काउन्सिलले स्वदेश र विदेशमा अध्ययन गरेका विद्यार्थीलाई समान मापदण्ड अनुसार नै लाइसेन्सिङ परीक्षा लिने छ। - स्वास्थ्य खबर पत्रिकाबाट 

Image result for स्वरोजगार कोषको कर्जा नतिर्नेलाई कालो सूचीमा राखिने

काठमाडौँ, कात्तिक १६ गते । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भाका नाघेका कर्जा नतिर्नेलाई कानूनी कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । कोषले आज पत्रकार सम्मेलनको आयोजना गरी भाखा नाघेको कर्जा नतिर्नेलाई अचल सम्पत्ति रोक्का गर्ने, सरकारी सेवा सुविधाबाट बञ्चित गर्ने, कालोसूचीमा राख्ने र पासपोर्ट रोक्का गर्नेलगायत कानूनी कारवाही गर्ने तयारी गरेको छ ।

कोषको भाखा नाघेको कर्जा उठन बाँकी रु २७ करोड पाँच लाख ६४ हजार ५७९ रहेको छ । सो कर्जा नतिर्नेलाई सो कानूनी गर्ने प्रक्रिया अगाडि बढाएको कोषका कार्यकारी निर्देशक डा विष्णुप्रसाद गौतमले बताउनुभयो ।
कोषले हालसम्म रु तीन अर्ब ५९ करोड ३१ लाख ३३ हजार ८९६ लगानी गरेको छ । त्यसमध्ये रु चार अरब २२ करोड सात लाख ४१ हजार १०४ लगानीमा रहेको छ ।

नेपालका १८ देखि ५० वर्षका बेरोजगार युवालाई स्वरोजगार बनाई तिनमा रहेको सीप, प्रतिभा र जाँगरलाई देशभित्रै प्रस्फुटित हुने अवसर प्रदान गर्ने लक्ष्यका साथ सरकारले २०६५ सालमा सो कोष स्थापना गरेको हो ।

आर्थिकरूपले पिछडिएका विपन्न वर्ग, महिला, दलित, आदिवासी, जनजाति, अपाङ्गता, घाइते तथा शहीद परिवार एवं परम्परागतरूपबाट पिछडिएका जातजाति र वर्गलाई तालीम र कर्जाको पहुँचमा विशेष प्राथमिकता दिई स्वरोजगार हुने अवसर प्रदान गर्ने कोषको प्रमुख लक्ष्य रहेको छ ।

कोषले व्यावसायिक खेती, कृषिजन्य उद्योग वा सेवामूलक कार्यक्रममा उद्यमशीलता विकास गरी स्वरोजगार बन्न व्यक्तिलाई प्रतिव्यक्ति रु दुई लाखसम्म र समूहमा काम गर्न चाहेमा बढीमा २५ जनाको समूहलाई अधिकतम रु ५० लाखसम्म आवधिक ऋण बैंक, वित्तीय संस्था र सहकारी संस्थामार्फत प्रदान गर्ने गरेको छ ।

युवालाई स्वरोजगार बन्न तथा उद्यमशीलतालाई दिगो र सफल बनाउन आवश्यक व्यावसायिक तालीम निःशुल्क प्रदान गर्ने, स्वरोजगार बन्न आवश्यक पूँजी उपलब्ध गराएर विदेश पलायन हुने प्रवृत्तिलाई क्रमिकरुपमा घटाउँदै देश विकासमा टेवा पु¥याउने लक्ष्य रहेको छ । कोषको उद्देश्य र लक्षित कार्यक्रममा लगानी गरे÷नगरेको पनि अनुगमन गरिरहेको र कर्जा भूक्तानीका लागिसमेत ताकेता गरिरहेको कोषका कार्यकारी निर्देशक डा गौतमले जानकारी दिनुभयो । - रासस

Image result for राष्टिय परिचयपत्र छपाइ सुरु

काठमाडौँ, कात्तिक १६ गते । हरेक नेपालीको जैविक तथा व्यक्तिगत विवरणलाई सुरक्षितरुपमा भण्डारण गरी सरकारी सेवालाई छिटो छरितो र प्रभावकारी बनाउने उद्देश्यसहित ल्याउन लगिएको राष्ट्रिय परिचयपत्र छपाईको काम विहीबारबाट सुरु भएको छ ।
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले विहीबारदेखि परिचयपत्र छपाईको काम सुरु भएको जानकारी दिनुभयो । जैविक र व्यक्तिगत विवरण तथा देखिन सकिने र नदेखिन सकिने सुरक्षण चिह्न सहितको राष्ट्रिय परिचयपत्रको नमूना पहिलोपटक छापिएको उहाँले बताउनुभयो ।
नमूनाको रुपमा छाएिको परिचयपत्र सबै किसिमले चुस्तदुरुस्त देखिएमा परिचयपत्र छपाईको कामलाई अगाडि बढाइने उहाँले बताउनुभयो । चुस्तदुरुस्त नदेखिएको अवस्थामा परिचयपत्रमा आवश्यक सुधार गरी छपाईको कामलाई अगाडि बढाइने छ ।
नेपाली नागरिकताको प्रमाणपत्रका कमीकमजोरी हटाउन तथा मुलुकको सुरक्षा व्यवस्थालाई चुस्तद ुरुस्त बनाउने उद्देश्यसहित नेपाल सरकारको आर्थिक वर्ष २०६६÷६७ को वार्षिक नीति तथा कार्यक्रममा नेपाली नागरिकलाई बहुउपयोगी राष्ट्रिय परिचय–पत्र (वायोमेट्रिक स्मार्टकार्ड) उपलब्ध गराउने अवधारणा ल्याइएको थियो । त्यसपछि, मन्त्रिपरिषद्को २०६७ असार १६ गतेको निर्णयानुसार छुट्टै निकायको रुपमा राष्ट्रिय राष्ट्रिय परिचय–पत्र व्यवस्थापन केन्द्रको स्थापना भएको हो । - गोरखापत्र दैनिकबाट 

Image result for keshav sthapit

हेटौँडा, कात्तिक १६ गते । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक योजना तथा पूर्वाधारमन्त्री केशव स्थापितलाई पदमुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा १६७ को उपधारा ६९ को अधिकार प्रयोग गरी मुख्यमन्त्री पौडेलले स्थापितलाई आज पदमुक्त गर्नुभएको हो ।

प्रदेश मन्त्रिपरिषद् बैठकमा पदीय मर्यादाविपरीत अभद्रता र असक्षमता प्रदर्शनका साथै अनियमितता गरेको आरोपसहित मन्त्री स्थापितलाई पदमुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री पौडेल र मन्त्री स्थापितबीच पछिल्लो समयमा प्रदेशको राजधानी तोक्ने र प्रदेशको पूर्वाधार विकासका विषयमा विवाद उत्पन्न हुँदै आएको थियो । - रासस


चौतारा, कात्तिक १६ गते । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी नाका झण्डै साढे तीन वर्षपछि खुल्ने सङ्केत मिलेपछि त्यस क्षेत्रमा चहलपहल बढ्न थालेको छ ।

भूकम्प र विसं २०७३ असारको बाढीले बस्ती तथा सडक क्षतविक्षत भई पैदल हिँडनसमेत कठिनाइ परेको अवस्थामा चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी
(१४) फोर्टिन व्यूरो सिआरसिसीले हालै तातोपानी बजारदेखि लिपिङ खोलासम्मको क्षतिग्रस्त स्थानको करीब २३० मिटर सडकको नयांँ ट्र्याक खोलेको छ ।

भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष दीपेन्द्र क्षेष्ठका अनुसार तातोपानी धाराभन्दा माथि २०० मिटर र कोदारीको कोप्लाङमा ३० मिटर ट्र्याक खोलिएको छ । त्यस्तै लिपिङ खोला नजिक सडकको तल्लो भागमा सिमेण्टेड टेवा पर्खाल लगाउने काम भइरहेको हँुदा लिपिङको बसपार्कसम्म साना गाडी सञ्चालन भएका छन् ।

सडक निर्माणका साथै नाका सञ्चालन गर्न गत भदौ १७ गते तिब्बत स्वशासित प्रदेशकी उपसचिव छुयाङलुको नेतृत्वमा आएको प्रतिनिधिमण्डल र नेपाल सरकारका विभिन मन्त्रालयका अधिकारी सम्मिलित टोलीले बाह्रबिसेदेखि तातोपानी सडकका साथै खासा क्षेत्रको समेत स्थलगत निरीक्षण गरेका थिए ।

उक्त सडक खण्डको साविक चौडाइ वृद्धि गरी १२ मिटर फराकिलो पारिने भएको छ । सडक चौडा गर्दा कसैको पूरै र कसैको आधा घर पर्ने सशस्त्र प्रहरी सीमा सुरक्षा बलका प्रहरी नायब उपरीक्षक कृष्णगोपाल गुरुङले बताउनुभयो ।

सडक निर्माणका लागि आवश्यक ठूला निर्माण सामग्री आइसकेको बताइएको छ । चीन सरकारले बनाइदिने मितेरी पुल पनि खासापट्टिको भागमा काम भइरहेको स्थानीयले बताएका छन् । राजधानीबाट छोटो दूरीमा रहेको सो नाका बन्द हँुदा वार्षिक रु छ अर्ब राजस्व गुम्नुका साथै हजाराँैको रोजीरोटी गुमेको छ ।

सोही कम्पनीले निर्माण गरिरहेको सुख्खा बन्दरगाहको काम पनि तीव्रगतिमा भइरहेको छ । गत वैशाख २० गते सम्झौता भएको उक्त बन्दरगाह आगामी मे महीनामा सम्पन्न गर्ने लक्ष्य रहेको भए पनि छ महीनाकै अवधिमा हालसम्म ८० प्रतिशत काम सम्पन्न भएको छ । भोटेकोशीमा बनाइने ११२ मिटर पक्की पुलको काम अबको तीन÷चार महीनामा सम्पन्न हुने बन्दरगाहमा कार्यरत मिलन शेर्पाले जानकारी दिनुभयो । (रासस)

Image result for वायु प्रदूषण घटाउन औद्योगिक राष्ट्र बढी क्रियाशील हुनुपर्ने

काठमाडौँ, कात्तिक १६ गते । नेपालले वायु प्रदूषण घटाउन औद्योगिक राष्ट्र बढी क्रियाशील हुनुपर्नेमा जोड दिँदै त्यसका लागि ती राष्ट्रले वित्तीय सहायता बढाउनुपर्ने आवश्यकता औँल्याएको छ ।

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले वायु प्रदूषण तथा स्वास्थ्यसम्बन्धी विश्व स्वास्थ्य सङ्गठनको जेनेभामा भएको प्रथम सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै अल्पविकसित, भूपरिवेष्टित विकासोन्मुख तथा विकासोन्मुख साना टापु मुलुकलाई औद्योगिक राष्ट्रले ज्ञान, सीप र प्रविधिका माध्यमबाट सघाउनुपर्ने बताउनुभयो ।

हावाको गुणस्तर सुधार, जलवायु परिवर्तन प्रतिरोध र जीवन जोगाउने विषयमा केन्द्रित रहेर मन्तव्य व्यक्त गर्दै उहाँले हरितगृह ग्यास उत्सर्जनमा नेपालको नगण्य भूमिका रहेको स्पष्ट गर्दै त्यसको विषम प्रभावबाट नेपाल पनि अछुतो नरहेको बताउनुभयो । जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालय तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनका लागि स्थायी नेपाली नियोगका अनुसार मन्त्री यादवले वायु प्रदूषण नियन्त्रणमा नेपालको अनुभव, वायु प्रदूषण हुन नदिन नेपाल सरकारले अवलम्बन गरेका नीति तथा कार्यक्रमबारे जानकारी दिनुभयो ।

स्वच्छ वायुमण्डल र पर्यावरणको सुनिश्चितताका निम्ति जलविद्युत् उत्पादन एवं आपूर्ति, विद्युतीय सवारी साधनको थालनी, डिजेलबाट सञ्चालन हुने यन्त्रको अति कम प्रयोग, सौर्य ऊर्जाको उपयोग, सवारी साधनको वायु प्रदूषणस्तर मापन अनिवार्य गर्नुका साथै फोहरमैलाको उचित व्यवस्थापनलाई प्राथमिकतासाथ कार्यान्वयन गरिएको उहाँले बताउनुभयो । - रासस



काठमाडौं ,  कार्तिक १५ गते  । रियल मड्रिडले प्रशिक्षक परिर्वतन गरेपछिको आफ्नो पहिलो खेलमा शानदार जित हात पारेको छ ।

रियलले स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम ३२ अन्तर्गत पहिलो लेगमा मेलिल्लालाई ४–० गोलअन्तरले पराजित गरेको हो । यसअघि प्रशिक्षक जुलेन लुपेटेगुईले रियल मड्रिड सम्हाल्दा ला लिगा फुटबलमा अन्तिम ५ खेलमा ४ खेलमा हार र १ खेलमा मात्रै बराबरी खेलेको थियो । प्रशिक्षक लुपेटेगुईलाई रियलले यसै साता मात्रै बर्खास्त गरेको थियो ।

बुधबार राति भएको पहिलो लेगमा रियलले मेलिल्लालाई ४–० गोलअन्तरले पराजित गर्ने क्रममा करिम बेन्जिमा, मार्को एसेन्सियो, अल्भोरो ओड्रिओजोला र क्रिस्टो गोन्जालेजले गोल गरे ।

खेलको २८ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । एसेन्सियोले खेलको ४५ औं मिनेटमा गोल गर्दै रियल मड्रिडलाई दोब्बर अग्रता दिलाएका थिए ।

पहिलो हाफमा २–० गोलले अग्रता बनाएको रियलले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो । रियलका लागि खेलको ७९ औं मिनेटमा ओड्रिओजोलाले गोल गर्दै तेब्बर अग्रता दिलाएका थिए । त्यस्तै, खेलको अतिरिक्त समयमा गोन्जालेजले गोल गरेपछि रियलले खेल ४–० गोलअन्तरले जितेको हो । - अनलाइन खबरबाट 


              'हामीलाई ठगको बिल्ला भिराइएको छ, अब तीन महिना हेरौं- रोहन गुरुङ



काठमाडौं , कार्तिक १५ गते  । नेपाली कामदार मलेसिया जान थालेको १७ वर्षपछि सरकारले मलेसियासँग शून्य लागतको श्रम समझदारी गरेको छ । यसलाई विज्ञहरुले ऐतिहासिक उपलब्धी भनेका छन् । श्रममन्त्री गोकर्ण बिष्टले मानव तस्करको ठूलो जालो तोड्ने र कामदारको हित सुरक्षण गर्ने गरी यो समझदारी गरेका छन् । तर, कामदार पठाउने मूल जिम्मेवार म्यानपावर व्यवसायी भने यो समझदारीबाट खुसी छैनन् ।

म्यानपावर व्यवसायीहरुले यो समझदारी मन्त्री गोकर्ण बिष्टको लोकपि्रय बन्ने हतियार मात्रै भएको टिप्पणी गरेका छन् । उनीहरुले १४ हजार रुपैयाँ सेवाशुल्क लिएर मलेसिया पठाउन नसकिने भन्दै कम्तिमा एक महिनाको तलब बराबरको सेवा शुल्क लिइनुपर्ने बताएका छन् ।

आखिर म्यानपावर व्यवसायीहरु किन यस्तो ऐतिहासिक श्रम समझदारीको विरोधमा उभिए त ? हामीले म्यानपावरवालाहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङसँग यसबारे सोध्यौं–

सरकारले नेपाली कामदारको हितमा हुने गरी मलेसियासँग श्रम समझदारी गर्‍यो । तपाईंहरु त यस्तो ऐतिहासिक समझदारीविरुद्ध सार्वजनिकरुपमै प्रस्तुत हुन थाल्नुभयो नि ? यसमा म्यानपावर व्यवसायीको टाउको किन दुखेको ?

हामीले गन्तव्य श्रम सम्झौता या सरकारी स्तरमा समझदारी गर्नुपर्छ भनेर वर्षौंदेखि भनिरहेका हौं । अहिले मलेसियासँग एमओयू भएको छ । कामदारको हितमा यस्ता सम्झौता र समझदारी हुनुपर्छ भन्ने संघको पनि भनाइ हो, माग हो । हामीले वर्षौंदेखि यिनै विषय उठाउँदै आयौं ।

उसोभए विरोध किन त ?

मलेसियासँग गरिएको श्रम समझदारी अग्रगामी र दूरदर्शी छैन । मलेसियाले नेपालबाट लिने कामदारको कोटाको सुनिश्चितता नगरी समझदारी भएको छ । यसले मलेसियालाई नेपालबाट कामदार लिनैपर्छ भन्ने बाध्यता छैन । अन्य देशका कामदार नमिलेको खण्डमा मात्रै नेपाल विकल्प बन्ने डर यसले पैदा गरेको छ ।

हामीले पहिल्यैदेखि कोटाको सुनिश्चितता गरेर मात्रै श्रम समझदारी हुनुपर्छ भनेका हौं । तर, हामीसँग केही पनि छलफल नगरी समझदारी भएको छ । यो स्वागतयोग्य विषय हो कि सरकारीस्तरमा कामदार लैजाने समझदारी भयो । तर, कोटा तोकिएन ।

यसले नेपालबाहेक अन्य १० भन्दा बढी देशबाट नेपाली कामदारको विकल्पमा मलेसियाले कामदार लिन सक्छ । समझदारीमा मलेसियाले लैजाने कामदारको संख्या सुनिश्चित नगर्दा हामीलाई दुःख लागेको छ ।

मलेसियाजस्तो प्रमुख श्रम गन्तब्य मुलुकसँग गरिएको समझदारीमा नेपाली कामदारको मागलाई टिकाइराख्ने रणनीति सरकारले लिन सकेन ।

त्यसैले यो हतारमा गरिएको समझदारी हो कि भन्ने हामीलाई लागेको छ । पर्याप्त गृहकार्य र मुख्य सरोकारवालासँग छलफलविना यस्तो समझदारी गर्दा भोलि जोखिम निम्तिने खतरा हुन्छ । त्यसैले हामीले सरोकारका विषय राखेका हौं ।

म्यानपावर व्यवसायीलाई मलेसियाकोे रोजगारी गुम्ने डर त बाहना मात्रै हो कि ? कामदारसँग कुस्त असुल्न नपाउँदाको छटपटी मात्रै होइन र यो ?

सेवाशुल्कबारे पनि पनि हाम्रो ध्यानाकर्षण भएको छ । सरकारले हामीसँग यसबारे छलफल गरेन । हामीले कम्तिमा कामदारको एक महिना बराबरको तलव सेवा शुल्कबापत राख्नुपर्छ भनिरहेका थियौं ।

तर, समझदारीमा आधा महिनाको भनेर लेखिएको छ । यसले गर्दा यो समझदारी कार्यान्वयनमा पहिल्यै आशंका उब्जिन पुग्यो । किनभने, १४ हजार सेवा शुल्क रोजगारदाताबाट पाउने गरी हामीले कामदार पठाउनै सक्दैनौं । त्यसले हाम्रो डिमान्ड ल्याउँदाको खर्च र यहाँ कार्यालय सञ्चालन खर्च लगायतलाई कत्ति पनि समेट्दैन ।

सरकारले हामीसँग कुन-कुन शीर्षकमा कसरी खर्च हुन्छ, कति सेवा शुल्क तोक्दा राम्रो हुन्छ भन्नेबारे पनि छलफल गरेन । मन्त्रीज्यूले केका आधारमा आधा महिनाको तलव बराबरको सेवा शुल्कमा सहमति गर्नुभयो, त्यो हामीले बुझेका छैनौं । तर, यो वैज्ञानिक र व्यवहारिक छैन । कम्तिमा एक महिनाको तलव बराबरको खर्च पाएको भए व्यवसाय जेनतेन चल्न सक्थ्यो । यो समझदारीले त हामीलाई झनै अन्योलमा पुर्‍यायो ।

कामदार विदेश पठाउने मुख्य सरोकारवाला हामीलाई नै अप्ठेरोमा पार्ने गरी समझदारी गर्दा परिणाम के आउँछ भनेर सरकारले विचार नै गरेन । हामीजति प्रतिवद्ध हुँदा पनि यो सेवा शुल्कका आधारमा सेवा व्यवसाय चल्नै सक्दैन ।

यसै पनि कामदारसँग ठगी गर्ने काममा तपाईंहरु बदनाम नै हुनुहुन्छ । विगतमा सरकारले ल्याएको फ्री भिसा र टिकटको निर्णयमा पनि विरोधमा उत्रिनुभयो । सरकारले गरेका कामदारमैत्री निर्णयमा व्यवसायीहरु सधैं विपक्षमा किन ?

सरकारी स्तरमा जे-जस्तो समझदारी र निर्णय भए पनि विदेशमा कामदारको माग खोज्ने हामीले नै हो । मागपत्र ल्याउने हामीले नै हो । समझदारीअनुसार त अब कामदार लिने कम्पनीले भिसामा लाग्ने सबै खर्च बेहोनुपर्ने भयो ।

हवाइ टिकट पनि उसैले काट्नुपर्‍यो । हामी म्यानपावरलाई सेवा शुल्क पनि उसैले दिनुपर्‍यो । यति धेरै शर्तमा मलेसियाली कम्पनीले नेपाली कामदार लिन्छन् ? हामीले यति धेरै शर्त पूरा गर्ने कम्पनी भेट्टाउँछौं ? यति धेरै शर्तहरु मानेर मलेसियाली कम्पनीले किन नेपाली कामदार नै लैजाने ? यस्तो सबै खर्च आफैंले गरेर नेपालीको माग गर्ने कम्पनी हामीले किन भेट्टाउँछौं ? हामी स्पष्ट छौं । निकै थोरै त्यस्ता कम्पनी छन्, जसले म्यानपावरलाई पनि सेवा शुल्क दिन सक्छन् । धेरै त कामदारलाई हवाई टिकट पनि दिन मान्दैनन् ।

त्यसैले यो समझदारी पनि कागजको मात्रै हो । यो टेकबहादुर गुरुङले गरेको फ्री भिसा र टिकट’को निर्णय जस्तै हो । यसले मन्त्रीलाई लोकिप्रयता त दिन्छ, तर कामदारले लाभ पाउन कठिन छ । व्यवसायी त अझै धेरै मर्कामा पार्छ । हाम्रा धेरै म्यानपावरले अझैसम्म पनि सीधै कम्पनीबाट मागपत्र ल्याउन नसक्ने अवस्थामा एजेन्सीहरुमा निर्भर हुनुपर्ने कुरा सत्य हो । यस्तो अवस्थालाई मध्यनजर गरेर निर्णयहरु गरिनुपर्थ्याे ।

अबको ६ महिना सरकारले कडाईपूर्वक समझदारी कार्यान्वनयन गरेर हेरोस् । कतै पनि म्यानपावरलाई एक रुपैयाँ शुल्क लिन नदेओस् । अनि थाहा हुन्छ, यो निर्णय कति प्रभावग्राही छ । निर्णय मात्रै गरेर राख्निे र लोकप्रिय बन्ने ध्येय मन्त्रीको होइन भने ६ महिना यो निर्णयको पूर्ण कार्यान्वयन गरेर हेरौं ।

के अबको ६ महिनामै सरकारको यो निर्णय असफल हुन्छ, भन्न खोज्नुभएको हो ?

अहिले पनि लाखौं युवा कामको खोजीमा भौैंतारिरहेका छन् । सरकारले निशुल्क भिसा र टिकटको व्यवस्था त गरेकै छ । व्यवसायीले फ्री टिकट ल्याउन सकेका छैनन् । युवा आफैं टिकट काटेर विदेश जान तयार छन् । विदेशमा कम्पनीहरु निःशुल्क टिकट दिन मान्दैनन् ।

यस्तो बीचमा सरकारी नियम छ, भिसा र टिकटको खर्च रोजगारदाताले बेहोर्नुपर्ने । यस्तो अवस्थामा हामीलाई बीचमा राखेर बलीको बोको बनाइएको छ ।

कामदार आफैं टिकट काटेर विदेश जाँदा हामीलाई ठगको बिल्ला भिराइएको छ । अब धेरै हैन, ३ महिना हेरौं । हामीले भनेका यति कुरा कति सही छन् भन्ने कुरा आफैं प्रमाणित हुन्छ । सरकारले पनि यसबाट केही अवश्य नै सिक्ला । हिजो गरिएको निर्णय घाँडो भइरहेको सरकारलाई यस्तो लोकपि्रयखालका समझदारीले कस्तो परिणाम दिन्छ भन्ने बुझ्न धेरै समय त लाग्दैन ।

तर, समस्या तपाईंहरुको नियत र इमान्दारितामाथि नै होइन र ? व्यवसायिक इमान्दार भइदिने हो भने सरकारी स्तरमा भएको समझदारी कार्यान्वयन गर्न के समस्या पर्ला र ?

देशभित्र रोजगारको अवसर छैन । विदेश जानेका लागि सरकारले फ्री भिसा र फ्री टिकटको नियम लगाएको छ । विदेशका कम्पनीहरु कामदार आपूर्ति गर्दा टिकट दिन मान्दैनन् । सरकारले तोकेको सुविधा दिने कम्पनी विदेशमा न्यून छन् । यसले असन्तुलन भयो । कामदारले निःशुल्क भिसा र टिकटको अफर खासै पाएनन् ।

त्यस्ता माग नै कम आउँछन् । विदेश जानैपर्ने कामदार टिकट शुल्क बेहोर्न तयार नै छ । कतिपय म्यानपावर व्यवसायीले ४०/५० हजार रुपैयाँ लिएका पनि छन् । टिकट नै ३५-४० हजारको काट्नुपर्छ । १०-१५ हजार मध्ये आधा जति एजेन्टले लैजान्छ । ५-६ हजार बचाएर व्यवसायीले कसरी व्यवसाय चलाउँछ ?

अनि व्यवहारिकरुपमा लिइएको शुल्क पनि कानुनी रुपमा ठगीकै रुपमा देखिन्छ । हामीलाई ठग्नु नै छैन । तर, नठग्ने वातावरण सिर्जना गर्ने काम पनि सरकारकै हो नि ।
बुझ्नुपर्ने कुरा के छ भने गाउँघरबाट कामदारहरु काठमाडौंमा एजेन्टमार्फत आउँछन् । त्यसबापत एजेन्टले म्यानपावरसाग पैसा मागिहाल्छ । एजेन्टविना सीधै कामदार म्यानपावर नै आइपुग्दैनन् । व्यवसायीलाई पनि एजेन्टलाई दिन्न भनेर सुखै छैन

अन्तर्राष्ट्रिय श्रम बजारलाई हेरेर उचित निर्णय गरेको भए यस्तो अवस्था आउँदैनथ्यो । कामदारको माग, आपूर्तिको खर्च, रोजगारदाताको प्रतिवद्धता र श्रम बजारको अवस्थालाई हेरेर निर्णय भएको भए यति धेरै असन्तुलन हुँदैनथ्यो ।

हामीले त वर्षैंदेखि यो कामलाई पारदर्शी बनाऔं भनिरहेका छौं । यो समझदारीपछि पनि मलेसियाको कम्पनीहरुले हामीलाई सरकारले भने बमोजिमको सुविधा दिन्छन् भन्ने ग्यारेन्टी छैन ।

हामीलाई उपलब्ध गराउने भनिएको सेवा शुल्क पनि पर्याप्त छैन । कामदार आपूर्ति प्रक्रिया खर्चिलो हुँदा बढी समस्या छ । व्यवसायी यस्तै कारणले फर्जी काम गर्न बाध्य बनेका छन् ।

यसलाई पारदर्शी गर्न त दूरगामी सोचसहितको व्यवहारिक नीति आवश्यक पर्छ । वाहवाहीका लागि जे पनि निर्णय गरिदिने परिपाटीले कसरी कामदारको भलो हुन्छ र ?

तपाईंले कम्तिमा एक महिनाको तलब बराबरको सेवा शुल्क हुनुपर्ने भन्नुभयो । तर, ५ महिनाकै सेवा शुल्क दिए पनि तपाईंहरु नसच्चिएसम्म त ठगी रोकिँदैन नि हैन ?

पहिलो कुरा त समझदारीलाई केही समय कार्यान्वयन गरेर हेरौं । कसरी यो सफल हुन्छ भन्ने कुरा व्यवहारमा नै देखिएला । बुझ्नुपर्ने कुरा के छ भने गाउँघरबाट कामदारहरु काठमाडौंमा एजेन्टमार्फत आउँछन् । त्यसबापत एजेन्टले म्यानपावरसँग पैसा मागिहाल्छ ।

एजेन्टविना सीधै कामदार म्यानपावर नै आइपुग्दैनन् । व्यवसायीलाई पनि एजेन्टलाई दिन्न भनेर सुखै छैन । एउटाले नदिए अर्कोमा लिएर जान्छ । यसले गर्दा म्यानपावरको खर्च बढेको नै छ । हामीले डिमान्ड ल्याउन पनि ठूलो मिहिनेत गर्नुपर्छ । यसमा पनि खर्च हुन्छ ।

कामदार राखेर कार्यालय चलाउनैपर्छ । यस्तो अवस्थामा १४ हजार रुपैयाँ लिएर मलेसियामा कामदार पठाउने कुरा व्यवहारमा सम्भव नै छैन । यदि सरकारले व्यवहारिक रुपमा कम्तिमा एक महिनाको तलव बराबरको सेवा शुल्क दिन मलेसियाँसँग अडान दिनुपथ्र्यो । तर, मन्त्रालयले यसबारे के कस्ता कुरा भए भन्ने कुरा हामीसँग सेयर गरेको छैन ।

विनाकुनै आधार सेवा शुल्क तोकिएको छ । यसले गर्दा व्यवसायीलाई परादर्शी बनेर सरकारले तोकेको सेवा शुल्क लिनुस् भनेर संघले भन्ने अवस्था नै छैन । एक महिना बराबरको सेवा शुल्क दिएको भए पनि कम्तिमा साथीहरु सरकारको निर्णय कार्यान्वयन गर्नुस् है भनेर हामीले भन्न सक्थ्यौं । तर, व्यवसाय नै नबाँच्ने गरी भएको समझदारीमा टेकेर संघले कसरी आफ्ना सदस्यलाई काम गर्नुस् भन्न सक्छ ?

यो अवस्थामा सरकारले यस्तो समझदारी भयो भनेर भन्नु एक ठाउँमा छ । यसको चर्चा हुनु पनि स्वभाविक छ । तर, यसले युवालाई कागलाई बेल पाक्यो हर्ष न विस्मात भन्ने जस्तो अवस्था आयो भने समझदारीको के अर्थ ?

सरकारको आधा महिने सेवा शुल्कको निर्णयले व्यवसायीले विगतमा पाउँदै आएको सुविधा पनि खोसेको छ । हाल केही इलेक्टि्रक कम्पनीले एक महिनको सेवा शुल्क रोजगारदाताबाट ल्याउँथे । यसले त्यहाा जाने कामदारमाथिको आर्थिक भार हटेको थियो । तर, अब त सरकारी स्तरमै आधा महिना तोकिएपछि ती कम्पनीले पनि सेवा शुल्क घटाउने भए । यस्तो महत्वपूर्ण विषयमा सरकारले हामीसँग छलफल नै गरेन । चलीआएकै व्यवस्था भत्किने गरी थप अन्योल सिर्जना गरियो । त्यसैले अव्यवहारिक कुरा रहेसम्म व्यवसाय पारदर्शी बन्न गाह्रो हुन्छ । संघलाई त्यसका लागि पहल लिन पनि नैतिक संकट पर्छ ।

त्यसोभए तपाईंहरु सरकार र कामदारको हितका विरुद्ध आन्दोलनमा जाने मुडमा हुनुहुन्छ ?

सरकारले जस्तो व्यवहार गरे पनि हामी सरकारको निर्णयलाई अहिले धैर्यतापूर्वक ग्रहण गरिरहेका छौं । किनभने वैदेशिक रोजगारको मुख्य सरोकारवाला हामी नै हौं ।

जे-जस्ता सहमति, असहमति छन्, हामी सरकारसँगै राख्छौं । हाम्रो अभिभावक सरकार नै हो । समस्या पनि सरकारसँगै राख्ने हो, समाधानको उपाय पनि सरकारलाई हामी नै दिन्छौं । यो समझदारी परिमार्जन गर्न आवश्यक छ । यसका लागि हामी सरकारलाई घच्घचाउँछौं ।

सरकारले सुन्छ कि सुन्दैन, त्यो उसैको कुरा हो । हामी त्यसका लागि पहल त गर्छौं, सरकारले गर्ने व्यवहारअनुरुप हेरेर निर्णय लिन्छौं ।

उसोभए सरकारलाई सहयोग गर्ने गरी मलेसियामा कामदार पठाउने काममा लाग्नुहुन्छ ?

रोजगारदाताले सरकारले तोकेअनुसार नै निःशुल्क पठाउन सकिने गरी डिमान्ड दिए पठाउँला । यहाँ बेरोजार युवाहरुको लाइन छ । अहिले सरकारले बेरोजारलाई भत्ता दिने कुरा गरेको छ ।



हाम्रो लाइनमा लाग्नेलाई सहज तरिकाले पठाउन सके विदेश नै पठाउँछौं, सकेनौं भने बेरोजगार युवालाई सरकारबाट भत्ता लिने फारम भर्न सघाउँछौं । कहाँ जाने, के गर्ने र कसरी सरकारबाट काम पाउने भनेर युवालाई सिकाउँछौं । सरकारलाई सघाउन त हामी तयार नै छौं ।
 - अनलाइन खबरबाट 



काठमाडौं , कार्तिक १५ गते । चिकित्सा शिक्षा अभियन्ता डाक्टर गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो स्वास्थ्यस्थिति बारे जानकारी लिएका छन्। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत प्रधानमन्त्री ओलीसँग भेट गरी केसीले उनको अवस्थाबारे जानकारी लिएका हुन्। केसीले अोलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए।

भेटमा प्रधानमन्त्री ओली र केसीबीच करीब १० मिनेट संक्षिप्त कुराकानी भएको थियो। प्रधानमन्त्रीेले अस्पतालको सेवाबाट आफू सन्तुष्ट रहेको केसीसमक्ष बताएका थिए। भेटमा स्वास्थ्य अवस्था बारे जानकारी लिइसकेपछि बिदा माग्न खोज्दा प्रधानमन्त्रीले ‘तपाईंसँग केही समय कुराकानी गर्नु छ, बस्नुहोस्’ भन्दै आग्रह गरेको केसीले स्वास्थ्य खबरलाई बताए।

प्रधानमन्त्रीले आफू स्वस्थ्य भएपछि विधेयक पास गर्ने बताएका थिए। जवाफमा गोविन्द केसीले ‘अहिले आमी तपाईको स्वास्थ्य अवस्था बुझ्न मात्र आएका हौं। पहिले तपाई ठीक हुनुहोस्। बाँकी कुरा पछि गरौंला’ भन्ने उत्तर दिएका थिए।

भेटमा केही अनौपचारिक कुराकानी पनि भएको थियो। प्रधानमन्त्रीकी निजी स्वास्थ्य चिकित्सक डा दिव्या सिंहले नै आफू अनशन बस्दा बचाएको गोविन्द केसीले बताएका थिए। प्रत्युत्तरमा प्रधानमन्त्रीले भने ‘ए अँ त है! हामी दुवैलाई बचाउने एकै जना पो हुनुहुँदोरहेछ।’

भेटमा डा अभिषेक राज सि‌ंहका साथै पूर्व प्रधानन्यायाधीश सुशीला कार्की पनि सहभागी थिए।
- प्रवीण ढकाल , स्वास्थ्य खबर पत्रिकाबाट 

Image result for khop khuwaune

बाजुरा, कात्तिक १५ गते । जिल्लामा ६ महीनादेखि पाँच वर्षमुनिका २१ हजार बालबालिकालाई बुधबार र बिहीबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । यसका साथै बालबालिकाको पाखुराको नाप लिइने र बालभिटासमेत वितरण गरिने जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

छ महीनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ को क्याप्सुल र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । सोका लागि जिल्लामा २६७ महिला स्वास्थ्य स्वयंसेविका र ११० स्वास्थ्यकर्मी परिचालन गरिएको छ । भिटामिन ‘ए’ र जुकाको औषधिसँगै पाँच वर्षमुनिका बालबालिकाको पोषणको अवस्था थाहा पाउन पाखुराको पनि नाप लिइने जिल्ला स्वास्थ्य कार्यालय बाजुराका अहेव रामचन्द्र यादवले बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ को कमीले बालबालिकालाई रतन्धो, कुपोषण हुने, दीर्घकालीन झाडापखाला लाग्ने, दादुरालगायतका रोग लाग्न नदिन कार्यक्रम सञ्चालन गरिएको हो ।

सरसफाइको कमीले बालबालिकालाई संक्रमण भई जुका पर्ने भएकाले जुका पर्न नदिन जुकाको औषधि खुवाइँदैछ । भिटामिन ‘ए’ को कमीका कारण हुने बाल मृत्यु रोक्न सरकारले विसं २०५० देखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सरकारले छ÷छ महीनामा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ । - रासस





भक्तपुर, कात्तिक १५ गते । मौसमी फूलभन्दा बेमौसमी फूलबाट राम्रो आम्दानी भएपछि भक्तपुरका किसान बेमौसमी फूलखेतीतर्फ आकर्षित भएका छन् । बेमौसमी फूलखेतीबाट किसानले प्रतिबोट एक हजार रुपियाँसम्म आम्दानी गरेपछि भक्तपुरका किसान बेमौसमी फूलखेतीतर्फ आकर्षित भएका हुन् ।
सूर्यविनायक नगरपालिकाले विगत एक दशकअघिदेखि व्यावसायिक फूलखेती हुँदै आएको वडा नं. ७ गुण्डुमा फूलखेतीको पकेट क्षेत्रका रूपमा विकास गर्ने तयारी गरेको छ । नगरपालिकाले गत वर्ष बेमौसमी थुङ्गे फूलको बेर्ना उत्पादन गरी ४५६ जना किसानलाई फूलको बेर्ना वितरण गरी किसानलाई बेमौसमी फूलखेतीतर्फ आकर्षित गरेको छ ।
राष्ट्रिय कृषक महासङ्घ भक्तपुरका कोषाध्यक्ष एवं सूर्यविनायक नगरपालिका वडा नं. ७ का किसान अनिता बस्नेतले अहिले मौसमी फूलभन्दा बेमौसमी फूलबाट राम्रो आम्दानी भएपछि किसान बेमौसमी फूलखेतीतर्फ आकर्षित भएको बताउनुभयो । उहाँका अनुसार असारमा रोपेको फूलले भदौको पहिलो हप्तादेखि नै आम्दानी दिने र किसानले भदौदेखि अहिलेसम्म फूल टिपिरहेकाले किसान बेमौसमी सयपत्री फूलको खेतीतर्फ आकर्षित भएका हुन् ।
परम्परागतरूपमा रोपिँदै आएको मौसमी सयपत्री, थुङ्गे र मखमली फूलमा ढुसी, डडुवा र डाँठ कुहिने रोग लाग्ने र उत्पादन पनि क्रमिकरूपमा कम हुँदै गएपछि किसान बेमौसमी फूलखेतीतर्फ आकर्षित भएको बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, यस वर्षदेखि किसानले मौसमी सयपत्री फूल व्यक्तिगत प्रयोजनाका लागि मात्र लगाएको र व्यावसायिक खेतीका लागि भने बेमौसमी सयपत्री र थुङ्गे फूल नै लगाइएको छ ।
फूलबाट राम्रो आम्दानी हुने भए पनि बजारको अभावमा बिचौलिया हाबी हुँदा किसानले मेहेनत अनुसारको आम्दानी प्राप्त गर्न नसकेको गुनासो उहाँको छ । नगरपालिकाले बजारको व्यवस्थापन गर्नुपर्ने, फूल खेतीको पकेट क्षेत्र घोषणा गरी त्यस्ता पकेट क्षेत्रमा नगरपालिकाले थप अनुदान दिएर किसानलाई फूलखेतीतर्फ आकर्षित गर्नुपर्ने सुझाव उहाँको छ ।
सूर्यविनायक नगरपालिका कृषि शाखा प्रमुख रामचन्द्र सापकोटाले नगरपालिकाले बेमौसमी सयपत्री फूलका लागि दुई लाख रुपियाँ अनुदान दिएर किसानलाई बेमौसमी फूलखेतीतर्फ आकर्षित गरेको बताउनुभयो । उहाँका अनुसार व्यावसायिक फूल खेती हुँदै आएका गुण्डुका ४५६ जना किसानलाई नगरपालिकाले फूलको बिरुवा अनुदान दिएको छ । गत सोमबारसम्मको तथ्याङ्क अनुसार किसानले करिब दुई करोड रुपियाँ आम्दानी गरेका छन् । नगरपालिकाले गुण्डुलाई पुष्प पकेट क्षेत्र घोषणा गरी व्यावसायिक फूलखेतीको रूपमा विकास गर्ने योजना बनाएको उहाँले बताउनुभयो ।
सूर्यविनायक नगरपालिकाको वडा नंं. ७ गुण्डुसँगै वडा नं. १ को सिरुटार, वडा नं. ४ को दधिकोट, ५ र ६ (कटुञ्जे), र वडा नं. ८ सिपाडोल, चाँगुनारायण नगरपालिकाको वडा नं. ६ नगरकोटलगायतका स्थानमा व्यावसायिक फूलखेती गर्न थालिएको छ ।
जिल्ला समन्वय समिति भक्तपुरले भने सूर्यविनायक नगरपालिकाका अन्य थप वडामा व्यावसायिक फूलखेती हुँदै आएको र जिल्लाका अन्य नगरपालिकामा विभिन्न स्थानमा फूलखेतीको सम्भाव्यता अध्ययन गरी किसानलाई व्यावसायिक फूलखेतीतर्फ आकर्षित गर्नुपर्ने जनाएको छ । - नगेन्द्र सापकोटा , - गोरखापत्र दैनिकबाट 

Image result for नेपालतर्फ १९ किलोमिटरमा पेट्रोलियम पाइप

वीरगञ्ज, कात्तिक १५ गते । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तार परियोजनाअन्तर्गत हालसम्म नेपालतर्फको १९ किलोमिटर क्षेत्रमा जमीनमुनि पाइप ओछ्याउने काम सम्पन्न भएकोे छ । परियोजना कार्यालय सिमराका अनुुसार नेपालतर्फको ३९ दशमलव २ किलोमिटर भू–भागमध्ये अब १७ दशमलव २ किलोमिटर पाइप ओछ्याउन बाँकी छ ।

तीव्रगतिमा बाँकी काम भइरहेकाले बढीमा तीन महीनाभित्र काम सम्पन्न भई भारत बिहारको राजधानी पटनाबाट पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ आउने सो कार्यालय सिमराका इञ्जिनीयर शरदप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार अन्य बाधा अवरोध नभए तीन महिनाभित्र नेपालमा पेट्रोलियम पदार्थ आउनेछ ।

बाँकी रहेको भू–भागमध्ये पर्सा राष्ट्रिय निकुञ्जमा नौ किलोमिटर, नाला, स–साना पुलपुलेसा, नदी, क्रसिङ सडक, गण्डक क्षेत्रमा पाइपलाइन ओछ्याउन बाँकीे छ भने भारतको मोतिहारीदेखि रक्सौलसम्म ३३ दशमलव ७ किमीमध्ये घना बस्ती भएका कारण रक्सौल क्षेत्रमा केही भागमा पाइप ओछ्याउने काम बाँकी छ ।

नेपालको लाइफलाइनको रुपमा रहेको भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म ७० किलोमिटर लम्बाइको सो पाइपलाइन निर्माणका लागि भारत सरकारले रु ३५० करोड भारतीय लगानी गरेको बताइएको छ ।

गत चैतको अन्तिम साता भारत भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीको हैदरावाद हाउसबाट संयुक्तरूपमा मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेपछि यसले तीव्रता पाएको हो ।

पथलैयादेखि अमलेखगञ्जसम्म आठ किमी क्षेत्रमा पर्सा राष्ट्रिय निकुञ्ज भएर पाइपलाइन जाने भएकाले निकुन्जभित्रका पाँच हजार रुख काट्नुपर्ने देखिन्छ । यसका लागि सङ्घीय सरकारले स्वीकृति दिइसकेकाले वातावरण मूल्याङ्कन प्रभावबारे सूचना समेत प्रकाशित गरिएको छ ।

वन तथा वातावरण मन्त्रालयले वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदनलाई स्वीकृति दिएपछि रुख काट्ने अनुमति मन्त्रिपरिषद्ले पारित गरेपछि मात्र रुख काट्ने काम अघि बढ्ने पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख हरिभक्त आचार्यले बताउनुभयो ।

पाइपलाइन बिछ्याउने काम सम्पन्न भएपछि पेट्रोलियम पदार्थ भण्डारण गर्न अमलेखगञ्ज आयल निगमको डिपोमा ३९ सय किलोलिटर क्षमता भएका दुई तथा ४१ सय किलोलिटर क्षमता भएको दुई गरी चार ट्याङ्करको मर्मतसम्भार द्रूतगतिमा भइरहेको छ, जसमध्ये एउटा तयार भइसकेको छ भने तीन ट्याङ्कर बनाउने काम भइरहेको छ ।

तीन महीनाभित्र निर्माण सकी सञ्चालनमा ल्याउने लक्ष्य लिएको सो पाइपलाइन निर्माण सम्पन्नपछि पटनाबाट प्रतिघण्टा २५० लिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट भित्रिने छन् ।
जमीनमुनि साढे दुई मिटर तल तथा पौने ११ इन्चको माइल स्टिल भन्ने कालो रङ्गको पाइप राखिएकोले खिया लाग्दैन । यो परियोजना सञ्चालमा आएपछि नेपाल–भारतको रक्सौल नाकामा देखिने जामको समस्या हट्नाका साथै पेट्रोलियम पदार्थमा हुने चोरी तथा अनियमितता हटेर अपेक्षा गरिएको छ । - रासस

Image result for तीन जनाको शव बरामद

गौशाला, कार्तिक १५ गते । महोत्तरी जिल्लाको छुट्टाछुट्टै स्थानमा बुधबार तीन जनाको शव बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार महोत्तरीको विभिन्न तीन स्थानमा विभिन्न घटनामा बुधबार तीन जनाको मृत्यु भएको अवस्थामा शव बरामद भएको हो ।

उहाँका अनुसार जिल्लाको लोहारपट्टि नगरपालिका–३ महदैया गाउँमा स्थानीय रामसोगारथ यादवको भुस राख्ने घरको बरण्डामा जनकपुर उपमहानगरपालिका–२१ बस्ने महाजन मण्डलका छोरा ३९ वर्षीय मखन मण्डलको शव बरामद भएको हो ।

त्यस्तै जिल्लाको महोत्तरी गाउँपालिका–१ पर्सा टोलस्थित बाँसघारीमा स्थानीय ८० वर्षीय तपसी ठाकुर बरहीको शव डोरीको पासो लगाई झुण्डिरहेको अवस्थामा फेला परेको हो ।

त्यसैगरी जिल्लाको गौशाला नगरपालिका–११ मा ढोलन खोला किनारमा रहेको आँप बगैँचामा स्थानीय भोला महतोको छोरा १६ वर्षीय सचिनकुमार महतोको आँपको रुखमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डिरहेको अवस्थामा शव फेला परेको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।

मृतक तीनै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ ।

भारतबाट ल्याउँदै गरेको ९२ प्याकेट पटाका बरामद

भारतबाट लुकाइछिपाइ नेपाल ल्याउँदै गरेको ९२ प्याकेट पटाका गए राति महोत्तरी प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जलेश्वर नगरपालिका–३ मलिवारास्थित बस बिसौनीमा भारतबाट भन्सार छली लुकाइछिपाइ ल्याएको विभिन्न ब्राण्डका ९२ प्याकेट पटाका प्रहरीले बरामद गरेको हो ।

प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार प्रहरीले गस्तीको क्रममा बस बिसौनीबाट ५० प्याकेट नागिन ब्राण्ड, ३५ प्याकेट फुलझरी ब्राण्ड र सात प्याकेट आलुबम ब्राण्डका गरी जम्मा ९२ प्याकेट पटाका बरामद गरेको छ । - रासस

Related image



कतार, कार्तिक १५ गते । राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने औपचारिक भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्कदै हुनुहुन्छ ।
मित्र राष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी सोमबार कतार भ्रमणमा आउनु भएको हो। कतारमा रहदा राष्ट्रपति भण्डारीसँग कतारका अमिर लगायत यहाँका सरकारी उच्च अधिकारीहरूको भेटवार्ता भएको थियो।
साथै उहाँले यहाँका विभिन्न स्थान र सम्पदाको भ्रमण समेत गर्नु भएको थियो । राष्ट्रपति भण्डारीका साथ उहाँसँग सम्मिलित उच्चस्तरीय सरकारी टोली पनि आजै स्वदेश फर्कदै छ।
राष्ट्रपति भण्डारीलाई कतारका मन्त्री र कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइराला लगायत दूतावासका अधिकारीहरूले हमाद अन्तरराष्ट्रिय विमानस्थलमा विदाइ गर्नुहुने कार्यक्रम रहेको यहाँस्थित दूतावासले जनाएको छ । - दीपेन्द्र अधिकारी , रासस

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget