Websoft University

www.radiomakalu.com || 021-522512


Articles by "कला /साहित्य"



काठमाडौं , असोज ११ गते। ६३ वर्ष पुगिन्, गायिका तारा थापा। हेर्दा लाग्दैन- उनलाई बुढ्यौलीले छोइसक्यो। किनकि अनुहारमा उस्तै ताजगी र उर्जा देख्न सकिन्छ। हँसिलो मुहार अनि स्वरमा उत्तिकै निखारपन।

करिब ४ वर्षअघि एकदिन आफ्ना स्तनमा गिर्खा आएको महसुस गरिन् उनले। त्यो गिर्खा स्तनको मुन्टोमा पलाएको थियो। छाम्दा गिर्खा भित्र पुरियो, मासुभित्र। उनी निकै अत्तालिइन्।

‘विश्व संगीत दिवस आइरहेको थियो। त्यसको सांगीतिक यात्रामा निकै नै व्यस्त रहन पुगेँ। त्यसकारण आफ्नो स्वास्थ्यलाई समय दिन सकिनँ।

स्वास्थ्य जाँच गराउनुपर्छ भन्नेमा त उनी सचेत नै थिइन्। तर व्यस्तताले एक महिना यत्तिकै बित्यो। अर्को महिना जब अस्पताल पुगिन्, क्यान्सर दोस्रो स्टेजमा पुगिसकेको थियो।

सुरुमा त विश्वास गर्न निकै गाह्रो भयो उनलाई। तर यथार्थ त्यही थियो। ‘क्यान्सर कत्ति छिटो फैलिने रहेछ, म छक्क परेँ,' उनी भन्छिन्, 'अब स्तन काटेर फाल्नुबाहेक अरु विकल्प छैन भन्ने लाग्यो।’

उनी सायद अलि छिटो चेकजाँचमा गएको भए स्तन काटेर फाल्नु पर्दैन थियो। ‘अप्रेसन गर्नुपर्छ भनेर सुरुमा निकै डराएँ तर त्योभन्दा बढी त केमो दिएपछि कपाल झर्दा डर लागेको थियो,' उनी सम्झिन्छिन्,‘भुइँ छोइहाल्ने जस्तो लामो कपाल त्यसरी झरेको पाउँदा मन नदुख्ने त कुरै भएन। कत्तिले त मलाई मेरो लामो कपाल देखेरै 'उ: त्यो तारा थापा हो' भनेर चिन्थे।

कपाल झरेको तनाव यतिसम्म भएछ कि बरु मर्छु केमो गराउँदिन भन्ने सोचसमेत आएछ उनमा। सुरुमा केमो गरेपछि १० दिन उनलाई निकै गाह्रो भयो। 'खानामा रुचि भएन, जे पनि गन्हाउने हुन्थ्यो,' भन्छिन्, 'केमोमा प्रयोग हुने रसायन हानिकारक हुन्छ भनेर डर लाग्थ्यो।'

स्तन क्यान्सरको शल्यक्रियापछि एउटा घटना उनी प्राय:सम्झिइरहन्छिन्।

भक्तपुर अस्पतालको बेडमा 'रेस्ट' गरिरहेकी थिइन् उनी। हङकङमा हुने सांगीतिक यात्रामा जान भिसा लागिसकेको थियो।

जब उनलाई क्यान्सर लागेको समाचार मिडियामा आयो, आयोजकले तारन्तार फोन गर्न थाले। 'सबै टिकट बिक्री भइसकेकाले तपाईं नगए कार्यक्रम नै रद्द हुन्छ भनेर रुन थाले,' उनले सुनाइन्।

आफूलाई क्यान्सर नै लागिहाल्छ भनेर उनले सोच्न पनि सकेकी थिइनन्। आफूले त्यसरी 'साइन' गरिसकेको 'प्रोजेक्ट'लाई कसरी धोका दिनु? उनको मन अमिलो भएर आयो।

डाक्टरलाई आफ्नो कुरा सुनाइन्। डाक्टरले उनलाई कार्यक्रममा जान हौस्याए। भरखरै शल्यक्रिया गरिएकाले उभिएर नगाउन र स्ट्यान्डमा माइक राखेर कुर्सीमा बस्न सुझाव दिए।

शल्यक्रिया गरेको १८ दिन मात्र भएको थियो। उनले कार्यक्रममा करिब ७ वटा गीत लगातार गाइन् उभिएरै। ‘कलाकार मान्छे, मैले त डाक्टरको सल्लाह नै भुलेँछु,' उनी हाँस्दै भन्छिन्, ‘मेरो नाम त गिनिज बुकमा लेखिनुपर्छ होला, अप्रेसन सकेर 'बेड रेस्ट'मै रहँदा सांगीतिक प्रस्तुति दिएकोमा।’

काठमाडौंमै हुर्केकी उनले यतै लेखपढ गरिन्।उनलाई अहिले लाग्छ- राजधानी जस्तो ठाउँमा त क्यान्सरको जोखिम बारे सोच्न सकेका छैनौं भने विकट गाउँका महिलाहरुको हालत कस्तो होला?

रोग लुकाएर बस्दा ढिलो भएमा आफूलाई नै गाह्रो हुने उनको अनुभव छ। 'आफूलाई डरलाग्दो रोग लाग्यो भनेर डराउनुहुँदैन।आफूलाई विश्वासगर्न छाड्नुहुन्न,' उनी सुझाउँछिन्, 'ठिक हुन्छ भनेर मनमा सोच्नुपर्छ। लक्षण देखापरे हेलचेक्र्याइँ नगरौं।'

अहिलेत उनी स्वस्थ छिन्। ६–६ महिनामा चेकअपको लागि अस्पताल जानुपर्छ। ‘घरपरिवार, चिकित्सक तथा शुभेच्छकबाट धेरै माया तथा प्रार्थना पाएँ, त्यसैले पनि छिटो निको भएँ होला,’उनी अब ढुक्क छिन्।

पछिल्लो पटक २०७० सालमा गीति एल्बम निकालेकी उनलाई पुरानो गीतहरुको म्युजिक भिडियो बनाउने इच्छा छ। ‘फूल झरेपनि काँडा झर्दैन’, ‘सबैले दिने उस्तै हुन्छ माया’, ‘सयथरी बाजा एउटै ताल’,‘कलिलो तामालाई सोध आमालाई’ जस्ता चर्चित गीतकी गायिका हुन् उनी। - बुनु थारु , स्वास्थ्य खबर पत्रिकाबाट

राजविराजमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने,को लागि तस्बिर परिणाम

सप्तरी, पुस ५ गते । मैथिली भाषा र संस्कृतिको संरक्षण एवं विकास गर्ने उद्देश्यले सप्तरीको राजविराजमा १५औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने भएको छ ।

मैथिली समुदायलाई एकताको सूत्रमा बाधी उनीहरुको अधिकार प्रवद्र्धन गर्ने लक्ष्यका साथ यही पुस ७ गते शुरु हुने सो सम्मेलन दुई दिनसम्म सञ्चालन हुनेछ ।

सम्मेलनमा नेपाल र भारतका मैथिल समुदायका विद्वान र विदुषीको सहभागिता हुने बताइएको छ ।

दहेज मुक्त मिथिला अभियानका संयोजक प्रवीन नारायण चौधरीका अनुसार सम्मेलनको उद्घाटनअघि मैथिली पहिरनमा दुवै देशका मैथिली अभियन्ता र विद्वान सहितको सहभागितामा शोभायात्रा निकाल्ने कार्यक्रम छ ।

सम्मेलनको प्रथम दिन अन्तर्राष्ट्रिय महिला कवयित्री सम्मेलन र दोस्रो दिन विचारगोष्ठी, सांस्कृतिक कार्यक्रम तथा घोषणापत्र जारी हुने सम्मेलन आयोजक समितिले जनाएको छ ।

सम्मेलनमा भाषाविद्, कलाकार, समाजसेवीलाई सम्मान गरिनेछ । भारतका मैथिली भाषाका अभियन्ता शिक्षाविद् डा वैद्यनाथ चौधरीको विशेष पहलमा सो सम्मेलन हुन गइरहेको दहेज मुक्त मिथिला अभियानका संयोजक चौधरीले पत्रकारलाई आज यहाँ बताउनुभयो । - रासस

 

“ओ दाइ ! स्नेहा होटल जाने हो ?”
“अहँ, त्यति टाढा त जान्नँ ।”
“ए, ल त ।”
० ० ०
एउटा रिक्साले न्युरोडबाट स्नेहा होटल जान नमानेपछि अर्काे रिक्सा कुर्नुको विकल्प थिएन ।
घाम पनि आफ्नो घर फर्किसकेको बेला थियो । घडीले साढे सात बजाउने सुरसार कस्दै थियो । भोकले पेटभित्रका आन्द्रा निमोठिएर च्यातिनै थालेका थिए । हामी तीन जना थियौँ । होटलसम्म पुग्ने लमतन्न सडक ढसमस्स थियो हाम्रा अघिल्तिर ।
० ० ०
त्यही सडकको छातीमाथि धामिन सर्पझैँ परबाट घस्रिँदै एउटा रिक्सा आएको देख्यौँ । केही मिटर परै थियो ऊ । हात दिएर रोक्न खोजेँ मैले ।
मसिनो धर्को मोटो, मोटो, मोटो हुँदै हाम्रो अघिल्तिर सिंगो रिक्सा भएर ठिंग उभियो । आकाशमा टल्किन थालेको जूनको छाया हाम्रो अनुहारमा प¥यो । तर, आकाशबाट विदा मागेर सूर्य जाँदाको आकाशझैँ गोधूली रङ पोतिएको अनुहारसहित रिक्सा चलाइरहेको भाइ मुस्कुराउन खोज्यो ।
मेरो मुखबाट फुत्तै निस्कियो, “आम्मा कति सानो भाइ !” 
उमेरले उसलाई फिक्का देखाए पनि परिश्रमले उसको जीवनको रङ गाढा बनाएको हुँदो हो नि । यस्तो सोचेँ । परिश्रमको रङ कति गाढा हुँदो रहेछ !
त्यो सानो भाइ, मुसुक्क हाँस्यो । थाकेर चूर भएको उसको अनुहारले बताउँथ्यो । तरपनि, हाँस्दा ऊ एक्कैछिन उज्यालियो । जस्तो बिजुली चम्कँदा आकाश उज्यालिन्छ । उज्यालो अनुहारमा मीठो हाँसो बेस्सरी सुहायो । हाँसेको त कसलाई सुहाउँदैन र ! देख्दा त त्यस्तै कलिलो थियो ऊ । तर, लाग्थ्यो जिम्मेवारीको सगरमाथाले उसलाई ‘बाउन्ने’ बनाइरहेको छ ।
“भाइ जाने हो स्नेहा होटल ?”
“हुन्छ ।”
“कति हो नि पैसा ?”
“जति दिए नि दिनु न ।” उसले आफ्नो श्रमको मूल्य तोकेन । हामी गह्रुँगो भयौँ ।
“भन न” साथीले जिद्दी ग¥यो ।
“हैन जति दिए नि हुन्छ । ४० दिनु न ।”
उसले ४० भनेपछि लाग्यो उसलाई अझै नेपालगञ्जको रिक्साको भाडादर थाहा छैन । नत्र हामी जहाँ थियाँै, त्यहाँबाट स्नेहा होटल पुग्न ५० रुपैयाँ प्रतिव्यक्ति लाग्छ, कम्तिमा पनि ।
हाम्रो जिद्दीपछि त्यो सानो भाइले आफ्नो श्रमको मूल्य लगाएको देख्दा भनन रिँगटा छुटिसकेको थियो मलाई ।
ठीक त्यही बेला कलंकीमा बल्छी थापेर बस्ने ट्याक्सी ड्राइभरहरूको अनुहार सम्झिएँ ।
हामी तीनै जना रिक्सामा चढ्यौँ । वर्षांैै रिक्सा चलाएको मान्छेजस्तो पाको ऊ । जिम्मेवारीले मान्छेलाई कसरी परिवर्तन गरिदिन्छ, त्यसको ज्वलन्त उदाहरण त्यही सानो भाइ थियो । उसले आफ्नो जिम्मेवारीको भारसहित हाम्रो भारलाई लमतन्न सडकमाथि घसारिरहेको थियो ।
खाल्डाखुल्डी मज्जाले छल्दै हिँड्न थाल्यो रिक्सा । मलाई लाग्यो, जीवनका असन्तुष्टि, अफ्ठ्यारा र हण्डरहरू यो सानो बालकले यसैगरी छल्दै हिँडेको छ कि छैन होला ? केही मिनेटको बाटो पार गरिरहँदा मेरा मनमा हजारौँ तर्कनाहरू सुट्ट सुट्ट आऊजाऊ गरिरहे ।
ओर्लिने बेला सोधेँ, “बाबु एकछिन कुर्छौ ? हामी खाना खाएर अघिकै ठाँउमा फर्किन्छाँै ।”
ऊ मुसुक्क हाँस्यो । दाहिने हातको चोर औँलालाई कुप्री पार्दै निधारतर्फ बढायो । र, निधारमा छुटेको पसिनाको मूललाई त्यही औँलाले सर्लक्क पा¥यो । श्रमको मोती–दाना चिल्लो सडकमा तप्प खस्यो । अनि भन्यो, “हुन्छ ।”
“खाना खायौ ?” होटलतर्फ जानुअघि उसलाई सोध्यौँ, “नखाएको भए जाउँ ।”
उसले मानेन । घरै गएर खान्छु भन्यो । अनि, उसलाई कुर्न आग्रह गरेर हामी केही बेरलाई हिँड्यौँ ।
खाना खाइञ्जेल पनि मेरो दिमागमा त्यही रिक्साचालक भाइका बारेमा कुरा खेलिरह्यो । उसकै अनुहार दिमागमा नाचिराख्यो ।
ऊसँग केही कुरा गर्न, केही सोध्न मन लाग्यो ।
हतार हतार खाना खाइसकेर ऊ भएको ठाउँमा पुगेँ । हातको टेको बनाएर ऊ झकाइरहेको थियो ।
कुरा गर्ने मेसो मिलाउन खोज्दै थिएँ । के सोध्ने सुरुमा जस्तो लागिरहेको थियो । त्यसैले “कुर्नु प¥यो है भाइ” भन्दै कुरा सुरु गरेँ ।
सजिलो उत्तर आयो ऊबाट, “नाइँ नाइँ । ठीक छ ।”
“भाइकोे नाम के हो नि ?” कुराको पोायो फुकाएँ मैले नै ।
“देवजंग शाही ।”
“कति वर्ष भयौ ?”
“१४”
“अनि तिम्रो घर कहाँ हो ?”
“कालिकोट, मान्मा बजारदेखि अलि भित्र गाउँमा ।”
“यहाँ को को बस्छौँ ?”
“आमा, दुई जना भाइ, एउटा बहिनी र म ।”
“अनि बुवा ?”
“हुनुहुन्न ।”
“कहाँ जानु भएको ?”
“खै थाहा छैन ।”
यो उत्तरले म चिरिएँ । कहिलेकाहीँ नगरे पनि हुने कुरा गरिदिन्छ मान्छे, नभए पनि हुने घटना घटिदिन्छ जीवनमा । सबैथोक घटना हो । कोहीकसैलाई भने सिंगो जिन्दगी नै दुर्घटना भइदिन्छ ।
केहीबेर मौन बस्यौँ हामी । मौनताले चिरेपनि मनभित्र प्रश्नहरूको कारखाना तैयार थियो । एकछिनको मौनतालाई भंग गर्दै फेरि सोधेँ ।
“अनि आमाले बुवाको बारेमा केही भन्नु हुन्न त ?”
“अहँ ।”
यति भनेर ऊ एकछिनसम्म ओठ टोक्दै यताउता ग¥यो । बाटोको मधूरो बत्तिमा मैले उसको अनुहार नियाल्न खोजेँ । ऊ केही बोल्न खोज्दै थियो, केही भन्न खोज्दै थियो, म उसको कुरा सुन्न पाउने हतारोमा थिएँ ।
“कालिकोटमा घर त छ तर अन्नपात केही पनि उब्जनी हुन्न, त्यही भएर हामी नेपालगञ्ज आइम् ।” देवजंग विस्तारै खुल्न थाले, “मामा हुनुहुन्छ उहाँले नै कोठा खोज्दिनु भयो, ग्यास चामल सबै किन्दिनु भयो, त्यही मामाको अटो रिक्सा थियो, मामाले नै मलाई रिक्सा सिक्छौ र भनेपछि मैले हुन्छ भने, अनि रिक्सा सिकेर चलाउन थालेँ ।”
“अनि सोधेँ कति महिना भयो रिक्सा चलाउन थालेको ?” सोधेँ ।
“सात महिना ।”
“तिमी त एकदमै सानो छौ, १४ वर्षको मान्छे, यति सानो मान्छेले यसरी रिक्सा चलाउँदा पुलिसले समाउँदैन ?”
“अहँ समाउँदैन, केही भन्दैन ।” ऊ ढुक्क सुनिन्थ्यो ।
उसको कन्फिडेन्स न्युरोडबाट रिक्सा चढेपछि नै प्रस्ट देखेकी थिएँ मैले । किनभने, ऊ मज्जाले रिक्सा चलाइरहेको थियो, खाल्डाखुल्डी याद गर्दै, मान्छेलाई बाटो दिँदै, ठूला गाडी आए आफू साइड लाग्दै निर्धक्क रिक्सा हाँकिरहेको थियो ।
ऊ एउटा जिम्मेवार रिक्सा चालक मात्रै नभएर आमा, भाइ र बहिनीको एउटा जिम्मेवार अभिभावक पनि थियो । एक वर्षअगाडि नेपालगञ्ज आएको ऊ, नेपालगञ्जकै सल्यानी टोलमा महिनाको दुई हजार भाडा तिरेर कोठा लिएर भाइ बहिनी र आमासँग बस्छ ।
ऊ त्यहीँकै एउटा सरकारी स्कुलमा कक्षा आठमा पढ्दैछ, त्यति मात्रै होइन, भाइबहिनीलाई क्रमशः ५, ३, २ मा र अब यही वर्ष अर्काेलाई एक कक्षामा भर्ना गराउने हो, त्यसको पनि पढ्ने बेला भयो भन्दैछ ।
आठ कक्षामा पढ्ने त्यो १४ वर्षे देवजंगसँग जति कुरा गर्दै गयो, त्यति नै अचम्म लाग्दै थियो मलाई । नेपालगञ्जको गर्मीमा बिहान स्कुल जान्छ, दिउँसो एकछिन पढ्छ, भाइबहिनीसँग खेल्छ अनि बेलुका रिक्सा चलाउँछ । एकदिनमा अझ भनाँै, साँझ रिक्सा चलाएर, पाँच सात सय कमाउँछ । अनि मालिक (उसको मामा)लाई दिनको दुई सय रुपियाँ दिनुपर्छ, रिक्सा चार्ज गरेबापत ।
घरि–घरि ऊ मलाई पुलुक्क हेथ्र्यो, अनि मुसुक्क हाँस्थ्यो, बाटोमा बालेका बत्तिको उज्यालोमा ऊ अझै चम्केजस्तो लाग्थ्यो मलाई । तर, उसको भविष्य ? तिनै बत्ति निभ्दाको अवस्था सम्झिएँ मैले ।
हामीसँगै जानु भएको दाइ खाना खाँदै हुनुहुन्थ्यो, त्यसैले उसलाई भुलाउनु पनि थियो मैले । 
तर फेरि उसलाई हतार पो छ कि भनेर घरि–घरि “अबेर त भएन नि तिमीलाई ?” भनेर सोध्थेँ, ऊ मुसुक्क हाँस्दै “हैन छैन ।” भन्थ्यो ।
ऊ एकछिन मौन भयो, मतिर फर्केर बसेको ऊ रिक्साको अगाडि फर्कियो, अनि खै के के नबुझिने गरी गुनगुनाउन थाल्यो । त्यो रोमान्टिक गीत थियो । कष्टपूर्ण जीवन बाँचिरहेको एउटा बालक जो नवयुवक बन्ने तरखरमा छ, उसले गाइरहेको गीतले सायद उसलाई जीवन बाँच्ने कला सिकाउँथ्यो ।
घरि–घरि पुलुक्क मलाई हेरेर मुसुक्क हाँस्ने उसलाई हेरेर म उसको अनुहार नियाल्ने प्रयत्न गर्थेँ । अनि सोच्थँे, १४ वर्षको उमेर परिवारको सारा जिम्मेवारी उठाएको छ, केही सुख पाइन्छ कि, दुई छाक मीठो–मसिनो खान पाइन्छ कि भन्ने आसमा जन्मथलो (कालिकोट) छोडेर हिँडेको छ । यति ठूलो कदम चाल्न उसलाई ठूलै हिम्मत र साहस चाहियो होला, तर त्यो हिम्मत र साहस ती साना भाइबहिनीले पक्कै दिएनन्, ती आमा जो केही गर्न सक्दिनन् उनले पनि कसरी दिइन् होला र ? गरिबी, एकछाक खान पाउने सपनाले नै दियो र उठायो होला उसले यति ठूलो कदम । र, आइपुग्यो कालिकोटबाट नेपालगञ्जसम्म ।
जिन्दगी त सपनाहररूले लखेटी लखेटी धानिन सिकाउने एउटा तन्द्राजस्तो ।
हुन त ऊ नेपालगञ्ज आउनुभन्दा पहिले  इन्डिया पनि गयो, त्यहाँ पनि केही समय काम गरेर १४ हजार रुपियाँ कमाएर ल्यायो । तर, उसलाई फेरि फर्केर इन्डिया जान मन लागेन । र, परिवार सबैलाई लिएर आयो नेपालगञ्ज ।
कस्तो ठूलो साहस ! जिन्दगीप्रति कस्तो ऊर्जावान् !
० ० ०
“भविष्यमा के  भन्ने मन छ ?” प्रश्नको अर्को पोयो फुकाएँ ।
“भगवान्ले जे बनाउँछन् त्यही बन्ने हो । जे बनाउँछन् त्यसमै खुसी हुन्छु म ।” लाग्यो ऊभित्र एउटा दार्शनिक छ, त्यसैको आवाज उसको मनको बाटो हुँदै निस्किरहेको छ ।
“तिमीसँग मोबाइल फोन छ ?” मैले अर्को प्रश्न सोधेँ । मेरा प्रश्नहरूको कुनै रेखाचित्र थिएनन् । म खलबलिएको थिएँ, उसको अवस्था देखेर । अनि प्रश्नहरू मनबाट निस्किरहेका थिए, फुत्त फुत्त । मैलाई नसोधी ।
“छ्रैन ।”
“किन ? बोक्न मन लाग्दैन ?” सोधेँ ?
“अहिले नै किन बोक्नु मोबाइल ? सबै ध्यान जति मोबाइलमा जान्छ, पढाइमा जाँदैन । म बिग्रिन चाहन्न ।” विष्फोटक लाग्यो उसको जवाफ ।
छक्क परेँ म । उसको कुरा गर्ने तरिका किन किन भिन्न लागिरहेको थियो मलाई ।
अन्ततः । हामी फर्किने समय आयो । उसको रिक्साले सुइँय गर्दै गन्तव्य ताक्यो । हामी हिँड्यौँ ।
बाटोभरी सबै जना चुपचाप थियौँ, मेरो मनमा उसका कुराले उथलपुथल पारिरहेको थियो ।
हामी न्युरोड पुग्यौँ ।
ओर्लिने बेला उसले भनेको भन्दा केही बढी पैसा दियौँ । उसलाई विदा गर्दै मैले भनेँ, “बाबु राम्रोसँग पढ, पढाइमा ध्यान देऊ है ।”
ऊ मुसुक्क हाँस्यो ।
Twittter @AcSabita
 
- बाह्रखरीबाट 



काठमाडौं , चैत्र १७ गते । यो शुक्रबार (चैत १८ गते) चलचित्र ‘पलाँस’ रिलिज हुँदैछ । रेखा थापा स्टारर ‘पलाँस’ मा अयुव केसी रेखाको अपोजिटमा देखिँदैछन् ।
क्रिसा चौलागाईँको निर्माण चलचित्र ‘पलाँस’ लाई सुवास कोइरालाले निर्देशन गरेका छन् । चलचित्र रियल स्टोरीमा आधारित रहेको निमात्री चौलागाइँको दाबी छ । “महिलाहरु कसरी बेचिन्छन्, यही नै चलचित्रको मुख्य विषय हो,” चौलागाइँले भनिन्, “हामीले रियल पात्र भेटेपछि उहाँसँग लामो समय सँगै रहेर उहाँको वास्तविक कथा सुन्यौं र त्यसलाई नै चलचित्रमा उतारेका छौं ।”

चलचित्र बायोपिक मुभी भने हैन । रियल पात्रको कथामा व्यावसायिकताका लागि फिक्सनाइज गरिएको छ । पलाँस सुगन्धरहित फूल हो । यो चलचित्रको नाम त्यही सुगन्धरहित फूललाई प्रतिविम्बका रूपमा लिएर राखिएको हो ।

“फूल मन पराउने मान्छेले त्यसको बासना कस्तो छ भनेर सुँघेर मन पराउँदैन । त्यस्तो व्यक्तिले पलाँसको फूल पनि मन पराउँछ,” निमात्री चौलागाईँ भन्छिन्, “मायामा परेको मान्छेले कसरी माया गर्छ ? मन परेको मान्छेलाई व्यक्तिले कतिसम्म माया गर्न सक्छ र त्याग गर्छ भन्ने चलचित्रमा देखाइएको छ ।”

चलचित्रले अहिलेको समाजको यथार्थ चित्रण गरेको उनको भनाइ छ । “समाजमा अहिले सामान्यतः मुम्बइमा मात्रै नेपाली महिला बेचिरहेका छन् भनिन्छ । तर यो सत्य होइन । मुम्बईमा मात्रै होइन, वैदेशिक रोजगारीका नाममा कुवेतसँगै विभिन्न खाडी राष्ट्रमा महिलाहरु बेचिरहेका छन् । रोजगारीका नाममा उनीहरुलाई कार्यक्षेत्रमै दुव्र्यवहार भइरहेको हुन्छ । यो अवस्था त विदेशमा मात्रै होइन, स्वेदशमै पनि छ । महिलाहरुले समाजमा भोगिरहेको पीडा र हिंसालाई चलचित्रले उठाएको छ,” निमात्री चौलागाईँले भनिन् ।

यही चलचित्रमार्फत रेखा सेतो पर्दामा एक वर्षपछि देखिँदैछिन् । आफैँले निर्माण गरेको चलचित्र ‘रामप्यारी’ पछि रेखा अभिनित चलचित्र प्रदर्शनमा आएका छैनन् । ‘रामप्यारी’ अघिल्लो वर्षको अन्तिम महिना रिलिज भएको थियो । सिंगल थिएटरमा राम्रो क्रेज भएकी रेखाको यो चलचित्रले कत्तिको दर्शक तान्छ, त्यो त हेर्न बाँकी नै छ । तर, उनको यो चलचित्रले मल्टिप्लेक्स हलमा पनि शो पाएको छ ।

रेखा अक्सर आफ्नो ब्यानरमा महिलाप्रधान चलचित्र बनाउँछिन् । पछिल्लो समय उनले त्यस्तै चलचित्र बनाइन् । संयोग नै मान्नुपर्छ, उनले अभिनय गरेको पछिल्लो चलचित्र ‘पलाँस’ पनि महिलाकै विषयको चलचित्र हो । महिलाप्रधान चलचित्र बनाउनु रेखाको विशेषता बनेको छ भने नयाँ अनुहारसँग अनस्क्रिन रोमान्स गर्दै आएकी छन् । पछिल्लो चलचित्र ‘रामप्यारी’ मार्फत नयाँ अनुहारलाई आफ्नो अपोजिटमा उभ्याएकी उनले ‘पलाँस’मा पनि डेब्यू नायकलाई अपोजिटमा पाएकी छन् ।
राजनीतिक छविसमेत बनाउँदै गरेकी उनी अघिल्लो महिना मात्रै राप्रपा नेपालको केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । राजनीति र अभिनय मात्रै होइन, रेखा गीत पनि गाउँछिन् । अघिल्लो महिना नै उनले यम बरालको गीति एल्बम ‘मन भमरा’ मा ‘चट चट चट माया चट...’ बोलको गीत गाएकी थिइन् । - बाह्रखरीबाट



काठमाडौँ , असार  २५ गते  ।प्रतिभावान बाँसुरीवादक मिन समालले शुक्रबार राजधानीको सर्बनाम थिएटरमा आफ्नो एकल बाँसुरी बादन ‘बासुरीका धुनहरु’ प्रश्तुत गरेका छन् । जरा फाउण्डेसन नेपालको आयोजना र सर्बनाम थिएटरको सहकार्यमा समालले एकल बासुँरी बादन प्रश्तुत गरेका हुन् ।

जरा फाउण्डेसन नेपालले लामो समयदेखी नेपाली कला साहित्य र संस्कृतिको उत्थान तथा प्रतिकुल अवस्थामा रहेका प्रतिभाहरुको सहयोगमा काम गरिरहेको छ । नेपाली साहित्यकारहरुलाई अन्तराष्ट्रिय साहित्यीक जगतमा चिनाउन फाउण्डेसन लागि परेको फाउण्डेसनका अध्यक्ष कृष्ण प्रसाईले जनाएका छन् । साथै प्रसाईका अनुसार फाउण्डेसन पछिल्लो समय सामाजिक कार्यमा पनि जुटिरहेको छ ।

नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति सरुभक्तको प्रमुख आतिथ्य रहेको कार्यक्रममा बरिष्ठ साहित्यकार तथा जरा फाउण्डेसनका अध्यक्ष कृष्ण प्रसाई, कृष्ण प्रसाइँ, सर्वनाम नाटकघरका संस्थापक अशेष मल्ल, प्राज्ञ मातृका पोखरेल, लेखक विवश पोखरेल, सङ्गीतकार बुलु मुकारुङ्, कवि देवेन्द्र केसी तथा भारतीय अभिनेता मुक्ति उपाध्यायले माला, दोसल्ला र खादा लगाएर सम्मान गरेका थिए ।

करीब डेढ घण्टा चलेको समालको एकल बासुरी बादनमा खाषगरी पुराना साहित्यकारहको बाक्लो उपस्थिीती देखियो । कार्यक्र्रममा समालले राष्ट्रिय गानबाट सुरु गरेका बाँसुरीका धुनहरु शास्त्रीय संगीत हुँदै सुगम सङ्गीत, तथा लोक लोक र चलचित्रका गीत सम्म आईपुग्दा माहौल अत्यन्त भावुक देखिन्थ्यो । - रातोपाटीबाट  

love

अफिस सकिनासाथ आज पनि उही चिया पसलमा पुगिसकेको थिएँ । पसलकी साहुनी चिया पकाउँदै रहिछन् ।

केही दिनयता अफिसपछि घर फर्कने बेला यही पसलमा चिया र समोसा खाने दैनिकी नै बनेको छ । रङ कडा र बाक्लो दूधको चिया गिलासभरि पाइने भएकैले म यही पसलमा आउने गर्छु ।

अफिस नजिकैका चिया पसलेहरु नजिकको तीर्थ हेला गर्‍यो भनेर मुख खुम्च्याउँछन् । कसैले केटीले पकाएको चिया खान गएको भन्छन् । कसैले चिया खाने निहुँले त्यही केटीलाई जिस्काउन गएको ठान्छन् । तर म चियाको स्वादमै पल्केर यहाँ आउँछु ।

करिब आठ/दस फुट चौडा सटरमा खोलिएको छ चिया पसल । पसलमा दुईवटा टेबल, आठ/दस कुर्सी र एउटा बेन्च छ । छेउमै समोसा, पकौडा र बिस्कुटले भरिएको सानो सोकेस छ । सोकेसको छेउमा छ ग्यास चुल्हो ।

भित्तामा एउटा क्यालेन्डर, स्वर्गीय राजा वीरेन्द्रको परिवारको फोटो, साप्ताहिक पत्रिकाको केही ब्लोअप र त्यसको सामुन्ने एउटा ऐना । यही हो यो पसलको चिनारी ।

पसल एक युवतीले चलाएकी छिन् । अन्दाजी पच्चीस वर्षकी अग्लो कदकी युवतीको मुहार हल्का कालो वर्णको छ । मुस्काउँदै बोल्ने उसको सम्बोधनमा आदर झल्किन्छ । काममा फूर्तिली र हातको स्वाद मीठो ।

पसलमा पुग्नासाथ भित्ताको ऐनामा दिनभरिको कामले च्याउसिएको आफ्नो अनुहार एक खेप हेर्नु र गाला छेउछाउ फस्टाएका डन्डिफोर निचोर्नु मेरो बानी नै बनिसक्यो ।

ऐनामा एक झलक हेरिसकेर बसेको के थिएँ चिया आइपुग्यो टेबुलमा ।
“समोसा पनि ल्याऊँ सर ?” उसले भनी ।

“उम्” मैले टाउको हल्लाएँ ।
प्लेटमा समोसा पनि आयो ।

“आज त खूब च्वाँक देखिएकी छ्यौ नि !”- मैले जिस्काउने सुर कसेँ ।
“अँ होला खुब ! सर पनि जे पायो त्यै बोल्दिनु हुन्छ ।” उसको प्रतिक्रिया थियो ।
“हो भन्या, कस्सम । आज झनै राम्री देखिएकी छ्यौ ।” मैले थपेँ ।
“राम्रो-नराम्रो त मान्छेको हेराइ हो सर । राम्रो त मन हुनुपर्छ मन ।” उसले भारी शब्दमा बोली ।
“तिमी मान्छे’नि राम्री । तिम्रो मन झनै सुन्दर, आकाशको रंगीन चंगाजस्तै ।” फुर्क्याउने पाराले भनेँ ।

तर, ऊ फुर्किइन ।
‘आकाशको चङ्गा जतिसुकै राम्रो भए पनि कि त कसैको मुठीमा आउने हो, कि त धागो चुँडिएर कतै पछारिने हो । तपाईँ पनि मलाई पछार्दै हुनुहुन्छ सर ।’ उसले सहजै भनी ।
लाग्यो- उसले मलाई तीखो प्रहार गरी ।

रक्षात्मक हुँदै मैले भनेँ – ‘तिमी त राजकुमारले विशाल दरबारमा उडाउने चङ्गा जस्ती छ्यौ । चुँडिएर खसे’नि दरबारमै खस्छ्यौ ।’
मेरो कुरामा उसले कुनै प्रतिक्रिया जनाइन । सायद जरुरी पनि ठानिँन ।

ऊ सँग मैले यति धेरै सवालजवाफ गरेको यो पहिलो चोटि थियो । उसले यति खुलेको पनि यो पहिलो पटक ।

खासमा कुनै पनि ग्राहकसँग धेरै बोल्दिन ऊ । रिसाउँदिन पनि । ऊ अर्थात् यो चिया पसलकी साहुनी । नाम अझैसम्म थाहा थिएन ।

कसैसँग नजर नजुधाई काममै घोरिन्छे हरदम । नजर नजुधाउने मानिस कसैसँग सजिलै प्रेममा फस्दैन भन्छन् । मलाई लाग्छ ऊ आजसम्म प्रेमको मीठो फल नखाएकी यौवनकी कलि हो । धत् ! मैले त के के सोच्न भ्याइसकेछु ।

साँच्ची, युवतीहरु पनि हामी युवकको बारेमा यस्तै सोच्दा हुन् त ?

सोचेँ – युवतीहरु प्रेम र यौन अनि घरजमको बारेमा सोच्नुभन्दा युवकको सुगठित शरीर र उसको आम्दानीका बारेमा सोच्छन् होला । मेरा एक मित्र भन्ने गर्थे – ‘पुरुषको एक चौथाइ जिन्दगी युवतीको बारेमा सोचेर बित्छ । युवतीको आधा जिन्दगी मेकअप गरेर र ठूलो घरकी मालिक्नी हुने सपना देखेरै बित्छ ।’

सोचेँ – ठीकै भन्थ्यो उसले ।
“साहुनी सुन त !” बोलाएँ ।
“प्लीज सर मलाई साहुनी नभन्नुस् न ।” उसले आग्रह र निर्देशन मिसिएको स्वरमा भनी ।
“पसल चलाउछ्यौ, साहुनी नभनेर के भनूँ त ?”
“जुठो भाँडा उठाएर एक-एक पैसा बटुल्ने मान्छे के को साहुनी नि ?” उसको प्रतिप्रश्न आयो ।
“त्यसो भए के भनूँ त ?” म अलमलिएँ ।
“बैनी भन्नुस् ।” उसले सहजै भनी ।
ऊ सहज हुन खोजी । मलाई भने असहज भयो ।
ऊ एकातिर दूरी मेटाउँदै थिई । तर, अर्कातिर सीमाना पनि कोर्दै थिई ।
“नाइँ । बैनी त भन्दिनँ ।” मैले थपेँ – “यस्तो सजाय मलाई नदेऊ । यो त बाघलाई दाह्रा र नङ्ग्रा भाँचेर बाख्राको खोरमा छोडे जस्तै भयो ।”
“पापी !”- उसले धारे हात लगाएजस्तो गरी मायालु पारामा भनी ।
पापी शब्द सुन्नासाथै यस्तो लाग्यो, मानौं मलाई यमराजको अघिल्तिर उभ्याइएको छ र मैले गरेका पापहरुको लामो सूची वाचन गरिँदै छ ।
“म त धर्मको खोजीमा निस्केको मान्छे, तिमीले त पापी पनि घोषित गरिदियौ है ?,” बैनी बन्न तम्सिने साहुनीलाई मैले दङ्ग्याएँ ।


आज अलि बढी गफिएको थिएँ । किन-किन गफमा मजा आइरहेको थियो । गफको मिठासमा चियाको स्वाद फिका थियो ।
एकछिनको मौनता तोडेर मैले नै कुराको सिलसिला बढाएँ – ‘ए साँच्चि, तिम्रो नाम के हो नि ?’

”पापी नै त निस्कन्छन् धर्मको खोजीमा,” दार्शनिक शैलीमा उसले भनी- ”धर्म कमाउन त तीर्थ यात्रा र मन्दिर धाउनु नि सर, यता चिया पसलतिर होइन ।”
”जहाँ पवित्रता हुन्छ त्यही हो तीर्थ, जहाँ विश्वास हुन्छ त्यही हो मन्दिर, अनि जहाँ सेवा त्यही ईश्वर,” मैले पनि जाने जति एकै सासमा भन्दिएँ ।
“तर सर बाटोको ढुंगालाई फूल चढाउँदैमा त्यो ईश्वर बन्छ र ?” उसले प्रश्न तेर्स्याई ।
“ईश्वर त विश्वास गरेपछि हुने कुरा न हो । विश्वास गरेपछि अमूर्त कुरा पनि मूर्त बन्छ । ज्ञानीहरुले मात्र देख्न सक्छन् ईश्वरलाई ।” मैले भनेँ ।
“त्यसो भए तपाईं ज्ञानी हो ?”
”होइन, ज्ञान प्राप्त गर्न ध्यान चाहिन्छ । म ध्यान गर्न सक्दिनँ ।” मैले भनेँ ।
ऊ केही बोलिन । पसलमा चिया पिउन आएका ग्राहकहरु गइसकेका थिए ।

मैले पनि चिया सकिसकेको थिएँ । पैसा बुझाएँ ।

आज अलि बढी गफिएको थिएँ । किन-किन गफमा मजा आइरहेको थियो । गफको मिठासमा चियाको स्वाद फिका थियो ।
एकछिनको मौनता तोडेर मैले नै कुराको सिलसिला बढाएँ – ‘ए साँच्चि, तिम्रो नाम के हो नि ?’

हुन पनि यतिका दिनसम्म मैले उसको नाम सोधेको थिइनँ ।

“के राखेको छ र नाममा ? नाम बिना पनि तपाईंले मलाई चिनिराख्नुभएकै छ क्यारे ।” झटारोले लाग्ने गरी हिर्काई उसले ।

आज उसले जित्दै गइरहेकी थिई । म हार्दै थिएँ । तर यस्तो लाग्दै थियो – हारे पनि रेफ्रीले मलाई नै विजयी घोषणा गरिरहेको छ ।
“नाम व्यक्तिको परिचय हो । व्यक्तिको अनुपस्थितिमा पनि नामले उसको भूमिका निर्वाह गर्छ ।” मैले उसलाई पढाउन खोजेँ ।
“त्यसो भए नाम बिना मान्छेको परिचय नै हुँदैन त ? जे नाम भए पनि म मैँ हुँ, नामको शृंगारले मान्छेको बाहिरी परिचयमा त केही भिन्नता देखिएला तर मैले जिउने जिन्दगी र मेरा सपनामा मलाई साथ दिन्छन् जस्तो लाग्दैन सर ।” उल्टै उसैले पो मेरो क्लास लिने छाँट देखाई ।
उसको दार्शनिक जवाफले म अवाक् भएँ । मैले भनेँ- ‘दर्शन सिक्न त कोही तिमीसँग आओस् ।’
“सर तारिफ धेरै भयो अब जानुस् ढिला भयो,” उसले सम्झाई ।
नाम नभनी यसै टारी ।

घडी हेरेँ, साँझको सात बजिसकेछ । हल्का अँध्यारो हुँदैथ्यो । सरासर घरतिर लागेँ ।

OOOO

दिनहरु यसैगरी अगाडि बढ्दै गए ।

अफिस लागेका बेला दिनमा एकपटक उसको पसल पुग्ने रुटिन छँदै थियो । आदत नै बनिसकेको थियो – यो पसल, यहाँको एक कप चिया र उसको मुस्कान ।

आज-भोलि आफू कताकता हराउँदै गएको थिएँ । अफिस र चोकतिर मेरो बारेमा गाइँगुइँ चल्न थालेको थियो । तर, कसैले सामुन्नेमा मुखै चाहिँ फोरेका थिएनन् ।

खासमा साहुनीसँग मेरो कुनै खास सम्बन्ध भने थिएन । म उसका लागि अरु ग्राहक सरह नै थिएँ । तर, मेरा लागि ऊ खास बन्दै गएकी थिई। खास कुन अर्थमा भने उसको पसल मेरा लागि सुस्ताउने चौतारी बनेको थियो ।

चञ्चले उमेरमा ठिटा-ठिटीहरु यस्तो भएन, त्यस्तो चाहियो भन्दै बाबुआमालाई दङ्ग्याउँछन् । ऊ भने आफ्नो उमेरभन्दा गह्रुंगो जिम्मेवारी बोकिरहेकी थिई ।

मैले एकदिन कारण सोधेँ । बुबा प्यारालाइसिसका कारण बितेको र वृद्ध आमाको काँधमा घरको जिम्मेवारी आएकाले परिवारलाई सघाउन पसल चलाएको उसले बताएकी थिई ।

अर्को दिन समयमै अफिस पुगेँ । अघिल्लो दिनको केही काम बाँकी थियो- सकेँ । अफिसमा अडिट सुरु हुने लागेको थियो । त्यसैको तयारीस्वरुप भोलि बिहानै म र अर्का एक कर्मचारी करिब दुई साताको लागि सुर्खेतको वीरेन्द्रनगर जानुपर्ने भयो ।

अफिसमा बसेर जाने तयारी गर्दै गर्दा मनमा हुटहुटी भइरहेको थियो । एक मन पहिल्यै वीरेन्द्रनगर पुगिसकेको थियो भने अर्को मन यतै कतै अल्झिरहेको थियो ।

काम सकेर अफिसबाट निस्कँदा साँझको ६ बज्नै लागेको थियो ।

सरासर उही चिया पसलमा गएँ । भित्तामा झुन्डिएको ऐनामा आफ्नो अनुहारको एक्स रे गरेँ । छेउको कुर्सीमा बसेँ । उही परिचित शैलीमा उसले चिया र समोसा टेबलमा राखिदिई । किन-किन आज मैले चिया एक चुस्कीभन्दा बढ्ता पिउनै सकिनँ । उसलाई मात्र एकोहोरो हेरिरहूँ लागेको थियो । भर्खर नुहाएर निस्केकी कुमारी युवतीको शरीरबाट बास्ना निस्के झैं उसको शरीरको बास्नाले लठ्याए झैं भयो । उसलाई छाडेर केही दिन वीरेन्द्रनगरको अपरिचित भिडमा जाँदै थिएँ भोलि । यो पनि पीडा जस्तै भएको थियो ।

ऊ मेरो सामुन्नेको टेबलमा रायोको साग केलाउँदै थिई ।
“भोलि म सुर्खेत जाँदैछु नि ।”- काममा एकोहोरिएकी ऊ मेरो यो अप्रत्यासित कुराले झस्के जस्ती भई ।
“आबुई हो र ! कति कामले नि ? कि उतै बस्ने हो र अब सर ?” उस्सुकता र विस्मयका साथ उसले एकैपटकमा थुप्रै प्रश्न सोधी ।
“करिब १५ दिनका लागि ।”
मैले यसो भने पनि उनको अनुहारमा कुनै परिवर्तन देखिएन । लाग्यो- मेरो जवाफबाट सन्तुष्ट भइन ऊ । आफ्नो जवाफबाट म आफैं पनि सन्तुष्ट हुन सकेको थिइनँ ।
झ्वाट्ट मुखमा आयो – “तर १५ दिन मेरा लागि १५ वर्ष जत्तिकै लामा हुनेछन् ।”
“किन नि त्यस्तो, सर ?”

“मन यतै छुटेपछि त्यहाँ कसरी रमाउन सकिन्छ र ?” मैले जवाफ दिएँ ।
“महासय, मन किन यतै छोडि जाने नि ? आफ्नो मन आफैसँग लैजाने गर्नुहोला, नत्र चोरी हुन के बेर !” मलाई हाकाहाकी जिस्क्याई ।
‘महासय’ ! उसले पहिलो पटक यो शब्दले सम्बोधन गरी ।

मन चोरिन सक्छ भनेर उसले ठीक भनेकी थिई । पछिल्लो समय मन विस्तारै चोरिँदै गएको महसुस गर्दै थिएँ । र म चोरलाई चुपचाप मनको तालाचाबी सुम्पिँदै थिएँ ।
“मन त चोरी भइसक्यो ।” मैले भनेँ ।
“त्यसो भए उजुरी दिनुस् न मन चोरी भो भनेर ।”
“कहाँ दिऊँ उजुरी ? उनै चोर छन्, उनै सिपाही भएका छन्” मैले संकेत गरेँ ।
“मन चोरी भएको के प्रमाण छ तपाईंसँग ?”

उसको यो प्रश्नले म आफूलाई अदालतको कठघरामा उभिएको कैदी जस्तै महसुस गरें । यस्तो लाग्यो – जसको विरुद्ध उजुरी दिएको छु, उही मेरो उजुरी उपर सुनुवाइ गर्दै छ ।

“तिमी केरकार विभागको प्रहरी अधिकृत कि अदालतको न्यायाधीश हँ ?” सोधेँ ।

“तपाईँ जे सम्झनुस्,” उसले भनी- “तपाईंको हराएको मन भेटाउन सहयोग गर्न चाहने एउटा शुभचिन्तक मात्र हुँ म ।”
“उसो भए सुन,” मैले भनेँ- “मान्छेले आफैंलाई बिर्सनु, बिना पानी तैरिन खोज्नु र बिना हुरी मन टाढा-टाढासम्म पुग्नु मन चोरिएको लक्षण होइन त ?”

“कुन दिन सर पनि चोरिनु भयो रे भन्ने समाचार आउन बेर छैन ।”- हाँस्दै उसले थपी ।

“आओस् छिटै त्यो दिन ।”
हामी दुवै गलल्ल हाँस्यौं ।

घडी हेरें समय त घर्किसकेछ । पसलबाट निस्केर घरतर्फ पाइला बढाएँ । हिड्नै लाग्दा उसले भनी – “शुभयात्रा सर । चाँडै फर्कनुहोला ।”

हिँड्नै लाग्दा मैले आज फेरि उसको नाम सोधेँ । उसले यो पालि कुनै तर्क-वितर्क नगरी भनी सहज उत्तर दिई – “माया” ।
“माया” यो शब्द ननिदाउन्जेल कानमा गुञ्जिरह्यो ।

भोलिपल्ट बिहानै म अफिसको साथीसहित वीरेन्द्रनगरतर्फ लागेँ ।

OOO

वीरेन्द्रनगर आएको चौथो दिनमै दुई अपरिचित अनुहार हाम्रो अफिसमा छिरे र अभिवादन कमरेड भन्दै जोडले हात मिलाए । दुईमध्ये एक रक्षात्मक हिसाबले ढोकानेरै उभियो र अर्को हामीसँग गफिन थाल्यो । निकै मृदुभाषी यी युवक माओवादी जनयुद्धमा लागेका र भर्खरै यो बजारक्षेत्रको पार्टी इन्चार्ज भएर आएका रैछन् । असली नाम दीपक सुनाम । पार्टीले दिएको नाम कमरेड उमंग ।

केही आर्थिक सहयोग गर्नुपर्ने उनको माग थियो । हेड अफिससँग सल्लाह गर्नेछौं भनेर हामी उम्कियौं ।

उनीहरू त्यहाँबाट निस्केको दुई घण्टापछि पुलिसको एउटा भ्यान आएर हाम्रो कार्यालय अगाडि रोकियो । तत्काल हाम्रो कार्यालयलाई चारै तर्फबाट घेरा हाले । केही प्रहरी जवान कार्यालयका कागजात खानतलासी गर्न लागे । अफिसमा भएका हामी चारै जनालाई भ्यानमा राखेर जिल्ला प्रहरी कार्यालय लगे । त्यस दिन माओवादी कार्यकर्ताहरू हाम्रो कार्यालयमा आएको सुराकी कसैले प्रहरीलाई दिएको रहेछ ।

बिना कारण प्रहरी हिरासतमा १५ दिन जति राखियो हामीलाई । प्रहरी खोरमा बस्नुको पीडा र त्यहाँ भएको अपमानले हीनताबोध भयो । राज्यप्रति वितृष्णा पैदा भयो । माओवादीमा कतै पनि हाम्रो संलग्नता नपाइएको र हेड अफिसले मानव अधिकारकर्मी मार्फत दिएको दबाबका कारण १६औं दिनमा प्रहरी हिरासतबाट मुक्त भइयो । मुक्त भएपछि सीधै कोठामा पुगेँ । सहकर्मीहरु कोठामै भेट्न आए । भोलिपल्ट पनि कोठामै सुतेँ । अफिस जानै मन लागेन ।

अर्को दिनदेखि नियमित अफिस जान थालेँ । केही दिनअघि भएको अप्रत्यासित घटनाले मन विचलित भइरह्यो ।

एक दिन अचानक साँझपख तिनै माओवादीहरु बाटोमा भेट भए । प्रहरीले म र अन्य सहकर्मीलाई पक्राउ गरेर यातना दिएकोमा कमरेड उमंगले गहिरो दुःख व्यक्त गरे । सामन्ती राज्यसत्ताको विभेद र दमनविरुद्ध संघर्षमा उत्रन उनीहरुले मलाई आग्रह गरे । मैले उपयुक्त समयमा यसबारेमा सोच्न सकिने बताएँ ।

उनीहरुले मार्क्सवाद र माओवादी दर्शनका केही किताब मेरो हातमा थमाउँदै तिनको अध्ययन गरेर छिटै पार्टीको पूर्णकालीन कार्यकर्ता बन्न आउन आग्रह गरे ।


सबैभन्दा बढी त उही चिया पसलको याद आयो अनि मायाको । वीरेन्द्रनगरका कुनै पनि चिया पसलले मलाई मायाको झल्को मेटाउन सकेनन्

एकातिर माओवादीहरु मलाई माओवादी कार्यकर्ता बन्न दिनहुँ दबाब दिँदै थिए भने अर्कोतर्फ म र अफिसका सहकर्मीहरुमाथि सेना र प्रकोहरी निगरानी बढिरहेको थियो । माओवादीको साथमा बसेको अवस्थामा सुरक्षाकर्मीले फेला पारे मेरो पनि सफाया हुने निश्चित थियो । मन आतङ्कित थियो ।

दिनहरु बित्दै गए । म आफूलाई असुरक्षित महसुस गर्न थालेँ । कहिले माओवादी त कहिले सेना पुलिसका मान्छे भेट भइरहन्थे ।

एक दिन एकजना माओवादी कार्यकर्ता मेरो कार्यालयमै आएर अघिल्लो दिन हुने माओवादीको गोप्य सभामा सहभागी हुन जारी गरिएको उर्दी हातमा थमाएर गयो । चिठी सर्सर्ती पढेँ- अनिवार्य उपस्थित हुनु भनिएको थियो । पत्र खल्तीमा राख्ने हिम्मत आएन, टोकरीमा फाल्न पनि डर लाग्यो । म जस्तो प्रजातन्त्र र स्वतन्त्रताको पक्षधर मानिस कसरी माओवादी जनवादी अभ्यास स्वीकार गर्न सकूँला र भन्ने पनि सोचेँ । अर्कोतिर, माओवादी आग्रह र उर्दी लत्याउन सक्ने नैतिक बल पनि जुटाउन सकिनँ । मेरै जस्तो हालत रैछ अफिसका साथीहरुको पनि।

कार्यक्रममा जाऊँ त बिनसित्ति माओवादीको बिल्ला भिरिने र सेना-प्रहरीको आक्रमणको सिकार पनि बन्न सकिने डर । नजाऊँ भने माओवादीको उर्दी नमानेर उनीहरुको नजरमा विरोधी बनिने डर । खेदिएर भिरमा पुर्‍याइएको मृगको हालत भएको थियो मेरो । एकातिर भिर र अर्कोतिर विशाल नदी । भिरमा ज्यान फालूँ कि नदीमा हाम फालूँ ?

दुई साताको लागि वीरेन्द्रनगर आएको म करिब चार सातादेखि यतै थिएँ । अफिसको काम सकिनु त कता हो कता, हरेक दिन नयाँ-नयाँ उल्झनमा फस्दै थिएँ । एक दिन पनि एक युग जस्तै लाग्दै थियो ।

यस अवधिमा घर-परिवारको याद खूब आइरह्यो । सबैभन्दा बढी त उही चिया पसलको याद आयो अनि मायाको । वीरेन्द्रनगरका कुनै पनि चिया पसलले मलाई मायाको झल्को मेटाउन सकेनन् । यहाँका कुनै पनि पसलका चिया मलाई स्वादिला लागेनन् । साँच्चै भन्दा यो सहरले मलाई आफ्नो बनाउन सकेन, मैले यो सहरलाई आफ्नो बनाउन सकिनँ । यहाँ मैले कोही आफ्ना भेटिनँ ।

सहरको भिडमा म हराइरहेको थिएँ ।

“कुनै दिन सर पनि चोरिनुभएको समाचार आउन बेर छैन ।”- मायाले भनेका यी कुरा झट्ट याद आयो । म चोरिएको त थिइनँ तर हराइरहेको थिएँ यहाँ । साँच्ची कुनै दिन म यस सहरबाट साँच्चि नै हराएँ भने !

म गिरफ्तारीमा परेको र छुटेको थाहा पाएदेखि नै मेरो परिवारबाट यहाँ नबस्न तीव्र दबाब आइरहेको थियो । र, मलाई पनि अब यहाँ बसिरहन असुरक्षित महसुस हुँदै थियो । आज रातभरमै मैले एउटा साहसिक निर्णय लिनुपर्ने भयो ।

बिहान सबेरै निद्रा खुल्यो । किन-किन आज तनाव हटेर ज्यान चङ्गा भएको महसुस भइरहेको थियो । खाना खाइवरी समयमै अफिस पुगेँ । कम्प्युटर खोलेर केही कुरा टाइप गरेँ । एक प्रति प्रिन्ट गरेँ र सरासर कार्यालय प्रमुखको कक्षमा गएर उनलाई बुझाएँ ।

पत्र पढिसकेपछि उनले अचम्मित हुँदै प्रश्न गरे- “अर्जुन सर, तपाईंबाट राजीनामा ! तर के कारणले ?”

“कारण प्रष्टै छ सर । यस्तो अशान्त वातावरण र चौतर्फी निगरानीको बीचमा म कसरी काम गर्न सक्छु र ?”

उनी केही बोलेनन् ।

एकैछिनमा म अफिसबाट बाहिरिइसकेको थिएँ । सरासर म उही चौतारी पछाडिको सानो चमेनागृहमा पुगेँ, जहाँ बितेका केही दिनयता मैले कमरेड उमंगसँग भेट्ने गरेको थिएँ ।


जनयुद्धमा लागेको करिब डेढ वर्षपछि पहिलो पटक घर गएको थिएँ । मायालाई भेट्न उनको चिया पसल भएको ठाउँ पुगेँ । तर त्यहाँ न त माया थिई, न त उसको चिया पसल

उनले करिब केही पर रहेको माओवादी पार्टीको आमसभा स्थलमा पुर्‍याए । सभामा मसँगै थुप्रैले माओवादी पार्टीको पूर्णकालीन सदस्यता लिए ।

सेना प्रहरीको निगरानीमा रहनु र माओवादी धम्की खेपेर अधमरो जिन्दगी जिउनुभन्दा माओवादी भएरै हिँड्नु उचित लाग्यो ।

पार्टी प्रवेश लगत्तै अर्घाखाँची र सल्यानका घना जंगलमा सैनिक तालिममा सहभागी भएँ ।

माओवादी पार्टीमा लागेर हिँडेको खबर घरमा पठाइसकेको थिएँ । सुरुका दिनमा घरको यादले निकै सतायो । मनको क्यानभासमा मायाको तस्बिर उस्तै गरी आइरह्यो । केही दिन । केही हप्ता । तर, विस्तारै फौजी खटन र पार्टीको स्कुलिङले यति व्यस्त बनायो, त्यहाँ आफू, आफ्नो पार्टी र जनयुद्ध बाहेक केही सोच्न सकिनँ ।

जनयुद्धमा लागेर भूमिगत भएर हिँडेको चार-पाँच सालमा एक-दुई पटक घर गए । त्यो पनि पार्टीको कामविशेषले जाने क्रममा एकछिनका लागि पसियो ।

जनयुद्धमा लागेको करिब डेढ वर्षपछि पहिलो पटक घर गएको थिएँ । मायालाई भेट्न उनको चिया पसल भएको ठाउँ पुगेँ । तर त्यहाँ न त माया थिई, न त उसको चिया पसल । मन खिन्न भयो । ‘छिटै आउनुस् है सर’ भनेकी थिई हिँड्ने बेलामा ।

दुई साताको लागि हिँडेको म डेढ वर्षपछि फर्केको थिएँ । उसको पसल भएको ठाउँमा ठूलो भवन बनेको थियो र त्यहाँ अहिले हार्डवेयर पसल थियो । कसैले पनि मलाई माया कहाँ गई भनेर बताउन सकेनन् । त्यसपछिका करिब चार वर्ष म जनयुद्ध र फौजी कारबाहीमै व्यस्त भएँ । विस्तारै मायाका यादहरु जीवनबाट ओझेल पर्दै गए ।

माओवादी पार्टीमा रहँदा दाङ, सल्यान, अर्घाखाँची र पाल्पा आक्रमणमा सहभागी भएँ । पाल्पा सदरमुकाम तानसेनमा पार्टीले केही व्यक्तिको सफाया गरेपछि भने म पार्टीको सैन्य मोर्चा त्यागी राजनीतिक मोर्चामा सहभागी हुन थालेँ । तानसेनको घटनासँग मेरो केही असहमति रह्यो । आफ्नै आँखा अगाडि निर्दोष मानिसलाई समातेर मारिएपछि मलाई पार्टीको फौजी लाइन र सफाया प्रवृत्तिप्रति वितृष्णा भयो ।

पछि पार्टी शान्ति प्रक्रियामा आयो । पार्टी लाइन बदलेर नेकपा माओवादी खुला राजनीतिमा प्रवेश गर्‍यो । लगत्तै पार्टी संसदमा प्रवेश गरी सरकारमा पुग्यो । जनजीविका र वर्ग संघर्षको मुद्दालाई पाखा लगाएर अवसरवादी पथबाट पार्टी गुज्रिन थालेपछि मैले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिई स्वतन्त्र जीवनयापन गर्ने निर्णय गरेँ ।

पार्टी जिम्मेवारी छाडे लगत्तै काठमाडौँबाट घर जान बस चढेँ ।

तनहुँ खैरेनीटार आइपुगेपछि एक जना विधवा महिला सानो बच्चासहित बसमा चढिन् । महिला कहीँ कतै चिने-जानेको जस्तै लाग्यो । तर यही हो भनेर ठम्याउन सकिनँ । एकैछिनमा ती महिला मेरै छेवैको सिटमा बस्न आइपुगिन् । जब ती महिला मेरो आडैमा बसिन्, मेरो होसले ठाउँ छोड्यो ।

मैले उनलाई राम्ररी चिनेँ तर उनले मलाई चिनिनन् । म पहिला दुब्लो थिएँ, अहिले मोटाएको थिएँ । त्यसमा पनि दाह्री पालेर चश्मा लगाएको थिएँ । उनलाई चिनेपछि म स्तब्ध भएँ । पहिला छरितो जीउडाल र कालो वर्ण भए पनि हिस्सी परेकी युवती अहिले निकै गलेर फुङ्ग उडेकी ।

चार-पाँच वर्षे बच्चाको साथमा सिटमा बसेकी महिला मेरी साहुनी उनै माया थिइन् ।

यी तिनै माया थिइन्, जसको हातको चिया नखाएसम्म म अफिसबाट घरको बाटो देख्दैन थिएँ ।

यी तिनै माया थिइन्, रुप, बोली र व्यवहारबाट प्रभावित भएर म एकोहोरो प्रेममा परेको थिएँ ।

यी तिनै माया थिइन्, जसको सम्झनाले भक्कानिएर सुरुका दिनमा कैयौं पटक म माओवादी जनयुद्धबाट भागेर घर जानेसम्म सोच्थेँ ।


उनको दुःखसँग एकाकार हुन मन लाग्यो मलाई । हुन पनि कुनै समय आफूले मन पराएको मान्छे जिन्दगीको खेलमा पछारिएको देख्दा म कसरी निरपेक्ष रहन सक्थेँ र ?

उनले मलाई चिनेको भए अतीतका घाउ कोट्टिने थियो । मैले उनको बारेमा सोध्ने थिएँ, उनले मेरो बारेमा । सायद मनमनै मलाई धोकेवाज भन्ने थिइन् । किनकि मैले बुझेको थिएँ, भावना कहिल्यै व्यक्त नगरे पनि उनी पनि मलाई प्रेम गर्थिन् ।

नचिनेर ठीकै गरिन् जस्तो लाग्यो ।

बस अगाडि बढ्दै गयो । म अपरिचित पात्रकै रुपमा उनीसँग गफिन सुरु गरेँ ।

मलाई उनी र उनको जीवनमा बितेका पाँच/छ वर्षमा के-के भए जान्न मन भयो । उनले पनि मनमा गाँठो परेर बसेको आफ्नो दुःखको पोयो फुकाउन थालिन् । उनका प्रत्येक आवाजमा दुःख र असन्तुष्टि मात्रै भेटेँ । कति चाँडै विवाहित र विधवा पनि भइछन् कठै ! कति चाँडै समयले कोल्टो फेर्दो रैछ ! उनको जीवनको रुखका हरिया पातहरु कति चाँडै ओइलाएछन् ?

मनमा अनेक प्रश्नहरुले दोहोरी खेल्न थाले । उनको दुःखसँग एकाकार हुन मन लाग्यो मलाई । हुन पनि कुनै समय आफूले मन पराएको मान्छे जिन्दगीको खेलमा पछारिएको देख्दा म कसरी निरपेक्ष रहन सक्थेँ र ?

उनले आफ्नो बिहे भएदेखि आजसम्मका सबै कुरा बताउँदै गइन् ।

जब उनले माओवादीले आफ्नो पतिको हत्या गरेको घटनाबारे बताइन्, मैले आफू बसेको ठाउँ हजारौं फिट भासिएको महसुस गरेँ । आज आएर थाहा भयो- उनका पति तिनै अभागी व्यक्ति थिए जसको हत्या मेरो पार्टीले मेरै आँखा अगाडि गरेको थियो । पाल्पामा शिक्षक सेवामा रहेका उनका पतिलाई सुराकी गरेको आरोपमा सफाया गरेको थियो । उनी निर्दोष थिए भन्ने मलाई थाहा थियो । उनी पहिलोपटक पक्राउ पर्दा मैले नै उनलाई भगाएको थिएँ । तर, दोस्रो पटकमा बचाउन सकिनँ ।

एउटा निर्दोषले त्यसरी अनाहकमा ज्यान गुमाउनु परेको तानसेन घटनाको साक्षी बनेपछि नै मैले माओवादी सैन्य विभागको जिम्मेवारीबाट राजीनामा दिएको थिएँ ।

माया जति-जति आफ्ना कहानी सुनाउँदै जान्थिन्, म उति पग्लँदै गएको थिएँ । कुनै समय म यिनैसँग प्रणय जीवनको कल्पना गरेर रोमाञ्चित हुने गर्थेँ । म उनको निकटता चाहन्थेँ, उनी डराउँदै आफ्नो परिचय लुकाउँथिन् । तर आज म उनीसँग भागेर आफ्नो परिचय लुकाउँदै छु ।

म कसरी भनूँ म उही अर्जुन सर हुँ, जो आफ्नो मन परेको मान्छेलाई विधवा भेषमा देख्दा पनि रुन सकेको छैन । म कसरी भनूँ म उही अर्जुन सर हुँ, जो हिजो परिचय खोज्दै दिनहुँ चिया पसल धाउने गर्थ्यो आज उसैको सामुन्ने आफ्नो परिचय लुकाउन खोज्दै छ । मलाई उनीसँग होइन, आफैसँग डर लाग्यो । आफैं हराए झैं लाग्यो भिडमा । उनले मेरो परिचय जान्न पनि खोजिनन् ।

बोल्दै जाँदा उनका परेलीमा आँसु छचल्किरहेका थिए । त्यो आँसुमा मैले उनको विगत देखेँ, वर्तमान देखेँ अनि धमिलो भविष्य देखेँ ।

उनले माओवादीलाई आफ्नो निर्दोष पतिको हत्यारा भनिरहँदा मैले आफ्नो निधारमा पनि त्यो रगतको छिटा लागेको महसुस गरेँ । निधार छामें- चिटचिट पसिना आएको रहेछ । सिकारीको जालमा परेको मृग झैं म भित्रभित्रै मरिरहेको थिएँ । कतै उनले मलाई मेरो बारेमा मलाई सोधिन् भने ? या चिनिन् भने ? म उनको नजरमा हत्यारा हुनेछु या धोकेवाज ? उनले मेरो बारेमा सोधिन् भने म आफ्नो परिचय के भनेर दिऊँ ? आईएनजीओको पूर्व कर्मचारी अर्जुन सर या पूर्व माओवादी लडाकु, उनको पूर्वप्रेमी या उनको सपनाहरूको हत्यारा ?

वास्तवमा म आफैं परिचयविहीन भइसकेको थिएँ । उनको अनुहार हेर्नै सकिनँ ।

बस दमौली आइपुग्यो । , अजित क्षेत्री , अनलाइनखबर



श्रवण मुकारुङ, कवि

कवि श्रवण मुकारुङसँग कवि प्रकाश थाम्सुहाङले गरेको कुराकानी यहाँ प्रस्तुत छ। कवि मुकारुङका 'बिसे नगर्चीको बयान', 'जीवनको लय'लगायत कवितासंग्रह प्रकाशित छन्।

तपाईं सोसियल एक्टिभिस्ट त होइन। तर, सोसियल इस्युजमा कविता लेख्नुहुन्छ नि?
-पीवी सेलीले कविहरूलाई विधायक भनेका छन्। त्यसैले एउटा जिम्मेवार कवि एक्टिभिस्ट नै हो भन्ने अर्थ पनि निस्कन्छ। मेरो बुझाइमा हाम्रो देशको ठूलो समस्या नै सामाजिक समस्या हुन्। हुन त समाज, अर्थ, राजनीति एकअर्कासित जोडिएका हुन्छन्।


यद्यपि, यो देशको राजनीति र अर्थव्यवस्थासमेतलाई सामाजिक एवं सांस्कृतिक विश्वास वा परम्पराले चल्नै दिएन। उदाहरणको रूपमा हेरौं न, प्रजातन्त्र त सात सालमै आएको हो नि, भूमिसुधार र विकेन्द्रीकरण त पञ्चायतले पनि लागू गरेको थियो नि। तर, अहिले पनि देशको शासन सिंहदरबारले गर्छ। जहाँ सामान्य जनता अछूतजस्तो छन्, गेटभित्र पस्नै पाउँदैनन्।

सेवा गर्न बसेको कर्मचारी सेवाग्राहीसित सामन्तजस्तो नमस्कार खोज्छ। अझै पनि त्यस्ता जमिनदारहरू छन्, जसले आफ्नो जमिन देखेकै छैनन् तर त्यहीँको चामल खान्छन्। बैंकहरू नयाँ सामन्त हुन्, आफू सस्तो ब्याज दिन्छन्, जनताबाट चर्को असुल्छन्।

अर्को कुरा, यति धेरै वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक, सामुदायिक विभेद भएको अर्कोमुलुक सायदै होला। यही विभेदबाट मुक्ति नपाइन्जेल यो राष्ट्र बन्दैन अर्थात् विभेदको अन्त्यबिना मानवीय मूल्यको रक्षा हुन सक्दैन भन्ने निष्कर्षले मेरो लेखन यस्तो भएको हो। विचारधाराले पनि म समाजवादमा विश्वास गर्छु।

आजकल कविताको स्तर खस्कियो भन्ने गम्भीर आरोप छ। एकथरी कवितामा फगत आक्रोश लेखिरहेको गुनासो गर्छन्। अर्कोथरी कस्मेटिक कविताको विरोध गर्छन्। समकालीन नेपाली कविताको स्तर खस्किएकै हो?

-कविताको स्तर खस्किएको होइन। कविताको स्वरूप परिवर्तन भएका कारण परम्परा वा शास्त्रीयतामा रमाउनेहरूलाई त्यस्तो लागेको हो। कतिपयको आरोपचाहिँ पूर्वाग्रह हो भने कतिको चाहिँ अज्ञानता। होइन भने अहिलेको समय भनेको नेपाली कविताको पुनर्जागरण (रेनेसाँ) काल नै हो।

लामो समय अभिव्यक्ति स्वतन्त्रता नहुँदा नेपाली कविता टाक्सिएकै हो। कवितामात्रै किन? अरू विधा पनि त्यस्तै छन्। नेपालको इतिहासमै चेतनाका दृष्टिले २००७ सालको परिवर्तन महत्वपूर्ण थियो तर दुर्भाग्यवश पञ्चायत सुरु भयो।

कवि÷लेखकले केवल अभिव्यक्ति स्वतन्त्रता र एउटा निश्चित राजनैतिक व्यवस्थाविरुद्ध मात्रै ३०-३० वर्ष संघर्ष गर्नुपर्यो। यसले गर्दा नेपाली साहित्यमा विषयगत विविधता देखिएन। यतिका धेरै सामाजिक समस्या अलपत्रै रहे। २०४६ पछि न हो लेखकहरूले आफूलाई पूर्ण रूपमा अभिव्यक्त गर्न सकेको।

नत्र त हामीले खालि स्तुति, भजन-कीर्तन, गनगन, कनकन, दुःखेसो, गुनासो, आलाप-विलाप, कुण्ठा न पढ्यौं। हो, विभिन्न कालखण्डमा यो देशमा राजनैतिक, सामाजिक आन्दोलन र परिवर्तन भए। त्यतिबेला केही लेखिए। तर, त्यो पर्याप्त थिएन। किनभने अहिलेजस्तो इतिहास, समय, समाज र राजनीतिमाथि गम्भीर विमर्श नै हुन पाएन। तर, आज त्यो भइरहेछ। त्यसैले आज नयाँ लेखिँदैछ।

मेरो विचारमा पूर्ण लेखन (कम्प्लिट राइटिङ)को समय हो यो। आजको लेखनको टे«न्ड नै आफ्नो इतिहासको पुनर्लेखनमा छ। ३० वर्षभित्र लेखिएको तपार्इं मलाई एउटा त्यस्तो साहित्यिक कृतिको उदाहरण दिनुहोस्, जसले यो देशको वास्तविक इतिहास भनेको होस्। छ त? छैन नि।

गलत इतिहासको जगमा उभिएको साहित्यलाई मैले स्तुति, भजन-कीर्तन, गनगन, कनकन, भनेको हुँ। इतिहास सही भयो भने न त्यसलाई टेकेर भविष्य पहिल्याउने हो। यसको अर्थ प्रत्येक स्रष्टा वा कवि इतिहासको आलोचक हो भन्न खोजेको हो मैले।

जबसम्म कवितामा 'आक्रोश' या कस्मेटिक भन्ने कुरा छ, त्यो त रस सिद्धान्त र एस्थेटिक्सको कुरा हो। समालोचकले, शास्त्रकारले भन्छन्। उनीहरूको कामै त्यही हो। त्यसैले त्यस्तो भनाइले कवितालाई हानि गर्दैन। आवश्यकताअनुसार नवै रसमा लेख्छन् नि कविले। काव्य आफैंमा सर्वोत्तम कला हो। त्यसैले सौन्दर्य त झन् अपरिहार्य भइहाल्यो।

प्रायः स्थापित कविहरू आख्यान लेखनतर्फ आकर्षित भइरहेछन्, तपाईंले पनि आख्यान लेख्ने भनेर साहित्यिक माहोलमा हल्ला चलेको निकै भयो। आख्यानको आकर्षणको पछिल्तिर कुन मनोविज्ञान खेलिरहेछ, कि कविताको अभिव्यक्तिले पुग्न छोड्यो?
-राम्रो कवितामा आख्यान, गीत, नाटक, चित्रकला, संगीत अनेकौं विधाका तत्व हुन्छन्। विशिष्ट कविले झन् एउटै कवितामा थुप्रै आख्यान पो राखेको हुन्छ त। वैरागी काइँलाको 'अस्तित्वको दाबीमा सावातको वैला उत्सव' भन्ने कवितामा पाँच, छवटै आख्यान पढ्छु म।

एउटा मिथलाई फुकाउनुस् त त्यहाँ कतिवटा आख्यान हुन्छन्? तपाईंको प्रश्नलाई विषयान्तर गर्न खोजेको होइन मैले। कविताको शक्तिको कुरा गरेको। त्यसैले त भनाइ चलेको होला-'कविको सालिक बन्छ। आख्यानकारको बन्दैन।' तर, मैले चीन जाँदा देखेँ, आख्यानकारहरूको पनि सालिक छ त्यहाँ।

'पाचिन' भन्ने त हाम्रो लैनसिं वाङ्देल, दौतलविक्रम विष्ट, गोविन्दबहादुर मल्ल 'गोठाले', विजय मल्ल, पारिजात, रमेश विकल, इन्द्रबहादुर राईजस्तै ठूला आख्यानकार रहेछन्। तिनी त चीनको हेरिटेज नै रहेछन्। अब, मैले लेख्ने भन्ने कुरा त छँदैछ नि। रुचि, समय र संयोगले निर्धारण गर्ने कुरा हो।

समय छुट्याउन सकेँ भने लेखुँला। तर एउटा सिद्धहस्त वा उच्चकोटिको कविले कथा, उपन्यास लेख्यो भने अझ राम्रो लेख्छ भन्ने विश्वास मलाई छ। अहिले, नेपाली साहित्यको बजारमा आएको आख्यानको आकर्षणको बहस त सबैलाई थाहै छ, राम्रा आख्यान आउन थाले नि त।

नारायण वाग्ले, नयनराज पाण्डे, राजन मुकारुङ, बुद्धिसागर, उपेन्द्र सुब्बाहरूले आख्यानमा क्रान्ति नै ल्याए। अर्कोतिर हाम्रा प्रकाशकहरू आख्यानको बजारीकरण गर्न सिपालु भइसके। काव्यलाई कसरी बिक्री गर्ने भन्ने पनि जुक्ति निकाल्लान्। त्यस्तो जुक्ति निकाले भने मनु मञ्जिल, आहुति, विप्लव ढकाल, हाङयुग अज्ञात, स्वरस्वती प्रतीक्षा, स्वप्नील स्मृति, अभय श्रेष्ठ, भूपिन व्याकुल, रावत, विनोदविक्रम केसी, नवराज पराजुलीहरूका कवितालाई बिक्री हुन भेट्ला कुनै गन्थने उपन्यासले?

देश अझै संक्रमणमा छ। समाजको विविधतालाई सम्बोधन गर्ने एउटा साझा संस्कृतिको निर्माण अझै पूरा भएको छैन। यस्तो बेला एउटा कविको रचनाधर्मिता कस्तो हुनुपर्छ?
-केही दिनअघि नेपाली लेखक संघले राखेको विमर्श कार्यक्रममा चिन्तक प्रदीप गिरीले नयाँ लेखकहरूलाई केही टिप्सहरू दिनुभएको थियो। खासगरी, माक्र्सवादी लेखन र डेमोक्र्याटिक लेखनको दार्शनिक एवं तत्वगत भिन्नताबारे अति सूक्ष्मतम् विश्लेषण गर्नुभएको थियो।

बीपीको 'मोदिआइन्' र मेरै 'बिसे नगर्चीको बयान'को उदाहरण दिँदै उहाँले, अबको लेखनले एक पक्षलाई लाञ्छित गरेर आफ्नो कुरो ठीक भन्ने लेखनले उच्च मानवीय मूल्यको वकालत गर्न सक्दैन र त्यस्तो लेखनले कुनै पनि समाजलाई अग्रगति दिन सक्दैन भन्नुभयो। तर उहाँले ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादको विरोध पनि गर्नु भएन।

मैले यहाँ भन्न खोजेको के हो भने सहअस्तित्व बोधले नै साझा संस्कृति निर्माण हुने हो। सहअस्तित्वको बोध समानताले गराउँछ। समानता पुरानो जार्गन भयो, सामाजिक न्यायले गराउँछ। यसरी एकअर्काको अस्तित्व स्वीकारेपछि स्वतः अर्कोसंस्कृतिको निर्माणको जग तयार हुन्छ।

तब त्यो उच्च मानवीय मूल्यमा आधारित संस्कृति हुन्छ। मैले यहाँ उच्च मानवीय मूल्यबोधको कुरा कुन अर्थमा गरेको हुँ भने 'जनयुद्ध'मा दुवै पक्षका मारिए, घाइते, अपांग भए। हाम्रो कविताले ती दुवै पक्षका पीडितहरूको पीडालाई आत्मसात् गर्न सक्नु पर्यो। अपांगलाई अपांगै देख्न सक्नु पर्यो।

विचारधाराले त शत्रु नै देखाउँला तर कविताको सत्य त्यो होइन। नेपालको सन्दर्भमा त झन् यो अति आवश्यक छ। हाम्रो भूगोल, संस्कृति, परम्परा र जीवन दर्शनले पनि यही सिकाउँछ। हामीले अघिदेखि नै यो अभ्यास पनि गर्दै आएका छौं। पूर्वका क्षेत्री, बाहुनहरू, राई, लिम्बूका देवीदेउता पनि पुज्छन्।

साकेला नाच्छन्। पालाम गाउँछन्। राई-लिम्बूहरू पनि मठमन्दिर, देवाली गएकै छन्। यहीँबाट उन्नत साझा संस्कृतिको निर्माणतिर लाग्नु उचित हुन्छ भन्ने मलाई लाग्छ।

तर प्रत्येक समुदायका कवि लेखकले पहिले आफ्नै परम्परा, संस्कृतिभित्र रहेका जडता उखेल्नुपर्यो। त्यसपछि आफ्नो वैयक्तिक कुरा भन्दा अर्कोमानिस, समुदाय वा जातिको दुःख, संघर्ष र स्वप्नलाई देख्नुपर्छ होला। तर कविता सिकाएर, पढाएर लेखिन्न। कस्तो लेख्ने ? कवि पूर्ण स्वतन्त्र छ।

ऐतिहासिक घटनाक्रमहरूले कविता लेखनमा उल्लेख्य प्रभाव पारेको अरूतिर थुप्रै उदाहरण छन्। जस्तो भारतमै पनि नक्सलिस्ट मुभमेन्ट र अम्बेडकरका साथै उनका अनुयायीहरूको हिन्दु धर्म परित्याग गरेको र बौद्ध धर्ममा प्रवेश गरेको इस्यूले कविता लेखनमा उल्लेख्य प्रभाव पारेको थियो। पछिल्लो अढाइ दशकको अवधिमा नेपालले पनि धेरै ऐतिहासिक उथलपुथल भोग्यो। जस्तो दसवर्षे 'जनयुद्ध', २०६२-६३ को दोस्रो जनआन्दोलन, राजतन्त्रको अन्त्य र मधेस आन्दोलन आदिआदि। यी ऐतिहासिक घटनाक्रमहरूले नेपाली कविता लेखनमा के-कस्तो प्रभाव पारेको छ?

-धर्म परिवर्तन गर्ने कुरा अथवा राष्ट्रको डोमिनेन्ट संस्कार, संस्कृति र परम्परालाई बहिष्कारै गर्नुपर्छ भन्ने तथाकथित क्रान्तिकारी भन्नुस् वा अतिवादी धारणाको पक्षमा छैन म। भारतको नक्सलिस्ट मुभमेन्ट एउटा समाजवादीले सोच्नेजस्तो विशुद्ध सांस्कृतिक रूपान्तरणको मुभमेन्टमात्र होइन, त्यसको सम्बन्ध माओको सांस्कृतिक क्रान्तिको प्रभाव वा अपव्याख्या पनि त हो।

अम्बेडकरको अभियान अर्कै हो। तर संसारकै हरेक क्रान्ति, परिवर्तन वा ऐतिहासिक घटनाहरूले सम्बन्धित देशको साहित्य रचनालाई मात्र होइन, विश्व साहित्यलाई नै नयाँ मोड दिएको इतिहास हामीले पढेकै हो नि। यो स्वाभाविक अर्थात् प्राकृतिक कुरा नै हो।

नेपालको सन्दर्भमा पनि यो नहुने कुरै भएन। तर, जसरी हाम्रो राजनैतिक, सामाजिक क्रान्ति वा आन्दोलनका उपलब्धिहरू संस्थागत भइसकेका छैनन्, त्यसरी नै तत् विषय वा इतिहाससित जोडिएका हाम्रा साहित्यहरूको वस्तुगत विश्लेषण हुन बाँकी नै छ जसले नेपाली समाजको आजको समग्र चेतनाको प्रतिनिधित्व गर्छ।

मैले अघि नै भनेँ, नेपाली कविता (साहित्य) विनिर्माणको फेजमा आइपुग्यो। यो मैले शास्त्रीय कुरा गरेको होइन। ज्याक डेरिडा चिन्दिनँ म। कमसेकम अहिले नेपाली कवितालाई समाजले आफ्नो सम्पत्तिको रूपमा ग्रहण गर्दैछ। नत्र त कविता एलिटहरूको सीमित घेराभित्र 'पिँजडाको सुगा' न भएको थियो।

अहिले त अर्काको घरमा भाँडा माझ्न बसेकी कमलरीले पनि अहो ! मेरो संघर्षको पनि मेरै भाषामा कविता हुँदो रहेछ ! भन्न थालिन् त। कम्तीमा आजको कविता समाजसित संवाद गर्न जमिनमा ओर्लेको छ।

एकपटक तपाईंले कवि स्वप्नील स्मृति र मलाई 'दुःखलाई नजिकबाट भोग्नेले मात्र सशक्त कविता लेख्छ' भन्नुभएको थियो नि?
-काव्यको भाषामा दुःखलाई मैले मेटाफोरको रूपमा प्रयोग गरेको थिएँ हुँला। दुःख भोग्नु भनेको मैले बेरोजगार बस्नू ! रक्सी खानु ! भारी बोक्नु ! हली हुनु ! भोकभोकै कविता सुनाउनु भनेको होइन। समाजको नजिक जानु ! मानिसको नजिक जानु ! भनेको हुँ। एउटा स्रष्टाभन्दा समाज दुःखमा हुन्छ।

समाज त्यो स्रष्टाभन्दा चेतनाले दुःखी हुन्छ र त अनेकौं सास्ती, घटना दुघर्टना समाजमा घट्छ। हो त्यो चेतनालाई पर्गेल्नु भनेको हो मैले। राम्रो कविता लेख्न आफ्नो देशको समाजशास्त्र पढ्नु भनेको थिएँ हुँला मैले। नत्र दुःख त कसलाई छैन र? प्रधानमन्त्रीलाई कुर्सी गइहाल्ला कि भन्ने दुःख होला।

बिल गेट्सलाई माइकल ज्याक्सन वा ओबामाजस्तो नभएकोमा दुःख होला। वसन्त चौधरीलाई भूपि वा हरिभक्त हुने भूत चढेको देख्नुभएकै छ, त्यो सम्भव छ ? त्यसैले उनलाई झन् दुःख होला। अनन्त रहस्य र भ्रमहरू हुन्छन् समाजसित। त्यही रहस्यलाई पर्गेल्दै सत्यको खोजी गर्नु भनेको हुँला मैले। जति सत्यको नजिक पुग्न सक्यो त्यति राम्रो हुने न हो कविता। फेरि मैले अन्तिम वा परम सत्यको ढोंगी कुरा गरेको पनि होइन। त्यो बेला मैले रवीन्द्रनाथ टैंगोरले भने जस्तो मानवीय सत्यको कुरा गरेको हो।

अचेल सरकारकै लग्जरियस मोटर चढ्नुहुन्छ (कवि सधैं पैदलै हिँड्नुपर्छ भनेको होइन)। लोकप्रिय कवि श्रवण मुकारुङ प्राज्ञ भएपछि नयाँ कविता पढ्न नपाएको पाठकहरूको गुनासो छ। सरकारी सुखभोगले कविता अल्मलिएकै हो त?

-अहिले म लामो शृंखलाको रेडियो नाटक लेखिरहेको छु। देशभरिका ५५-५६ सामुदायिक रेडियोहरूबाट एकसाथ बजिरहेको छ र कविता नलेखेकै भन्ने पनि होइन, कम भएको मात्र हो। तर, गीतहरू त लेखिरहेकै छु। अलिकति एकेडेमीले पनि व्यस्तता बढाएको छ। म त्यहाँ मातृभाषाको साहित्य हेर्छु।

अनुसन्धानात्मक कामहरू धेरै हेर्नुपर्ने भएकोले सिर्जनात्मक लेखन केही कम भएको हो। जिम्मेवारी संवेदनशील भएर पनि कवितालाई ढुक्कैले समय दिन नपाएको साँचो हो। तर म बेत बसेको गाई भइसकेको छैन। गाडीको कुरा गर्नु भो, यो त एउटा प्राज्ञलाई दिइएको सामान्य सुविधा हो। रचनामा यसको कुनै अर्थ रहँदैन।

कविहरूबीच चरम गुटबन्दी छ। गुट किन र के-का लागि निर्माण हुन्छ ?
-गुट मूलतः दुई प्रकारले बन्छन्। पहिलो, विचार, दर्शन वा चिन्तनको तह मिल्नेहरूको बन्छ। अर्कोउमेर, विधा र समकालले पनि गुट बनाइदिन्छ। तर, साहित्यमा हुने गुटबन्दीले राजनैतिक गुटबन्दीले जस्तो समाज वा राष्ट्रलाई हानि गर्दैन।

साहित्यकारहरूको गुटबन्दीले सिर्जनशीलतालाई अझ मजबुतै बनाउँछ। बेफाइदा छैन। फेरि, धर्म र राजनीतिमा जस्तो साम्प्रदायिक गुटबन्दी साहित्यमा हुँदैन। तर, पार्टी छिरेर बनेको साहित्यकारहरूको गुटले चाहिँ कहिलेकाहीँ वितण्डै मचाउँदो रहेछ। नियुक्तिहरूमा देखिन्छ त्यो। अरू बेफाइदा त के छ र?

आफ्नो साथीलाई महान् कवि लेखक देख्नु नराम्रो होइन क्यारे। धर्म, दर्शन, राजनीति, व्यापार केमा छैन गुट? यति धेरै सम्प्रदाय छन् धर्मका। इसाई, मुस्लिम, बौद्ध धर्ममा भन्दा हिन्दु धर्मको गुट धेरै छ। राजनीतिमा कम्युनिस्टहरूको गुट त गनिसक्नु छैन। तर, गुट कमजोरहरूले आफूलाई बलियो छु भन्ने भ्रम दिन बनाउने न हो।

कि अति प्रशंसा, कि अति पूर्वाग्रह। यसले समालोचना विधा बागमतीको दलदलमा भासियो भन्ने सुनिन्छ। सत्य हो?
-समालोचना गर्ने भनेको तत्विषयका प्राध्यापक, डाक्टरहरूले नै हो। तर, हाम्रा डा., प्राध्यापकहरूको हामीमाथिको अध्ययन कमजोर भयो। हुन पनि, विचराहरू कतिबेला पढ्ने? बिहानदेखि दिनभरि ५-७ वटा कलेज धाउनुपर्यो। नत्र खान पुग्दैन। परिवार, छोराछोरी, दालचामलमै हाम्रा विद्वानहरू अझिल्नुपर्ने नियति छ।

कतिबेला पढ्नु? नून तेल किन्नु कि नयाँ पुस्तक किन्नु? बेलुकी घर पुग्यो। बुढेसकालले जीउ थाक्छ। निद्राले छोप्छ। समय नै छैन विचराहरूलाई। अनि, त्यही पुरानो नोटबुक झिक्यो, पढायो। जहाँ आधुनिक कवि लेखनाथ पौड्याल, समकालीन निबन्धकार लक्ष्मीप्रसाद देवकोटा लेखिएको हुन्छ।

अलिक अप्डेट प्राध्यापक रहेछन् भने समकालीन कवि भनेर आफ्नो विद्यार्थीहरूको, आफू संगठित भएको विचारसित मिल्ने कुनै कविको, श्रीमती या सालाहरूको नाम पनि थपेका हुन सक्छन्। यस्तो अवस्था छ। विप्लव ढकालजीले त्यसै 'प्रोफेसर शर्माको डायरी' लेखेका हुन् र?

समालोचना पनि सिर्जनशील विधा हो नि। तर यहाँ शास्त्रीय समालोचना हुन्छ, जो विद्यार्थीलाई पढाउनुमात्र काम लाग्छ। कि त तपाईंले भनेझैं प्रभाववादी समालोचना। वस्तुपरक समालोचना गर्न सक्ने केही बूढाहरू थिए तर तिनलाई पनि सुगर, दम, प्रेसर आदिले निष्क्रिय बनाइदियो। अभि सुवेदी, मोहनराज शर्मा आफैं कवि, कथाकार, नाटककार हुन दौडेका छन्। कसले गर्नु समालोचना ?

भर्खरै नेपाली लेखक संघमा चुनाव जित्नभयो। एउटा सफल कविलाई किन संगठनको आवश्यकता पर्यो?
-जीवनको सम्पूर्ण समय साहित्यलाई दिएको मान्छेले स्पेस खोज्ने भनेको पनि साहित्यिक संघ, संगठन मै हो। त्यसैले, म नेपाली लेखक संघको वरिष्ठ उपाध्यक्ष भएको हो।

यसको उद्देश्य प्रस्टै छ, लेखकहरूको हकहितका लागि लड्ने, बुद्धि-विलास र विमर्शहरू गर्दै साझा चिन्तनको विकास गर्ने। लोकतान्त्रिक चिन्तन प्रणालीलाई सिर्जनशील ढंगले परिपक्व बनाउने।

'राम भरोस' हरू अझै अनुहार खोजिरहेछन्, सिमान्तकृतहरूले यो देशमा आफ्नो अनुहार खोजिरहनुपर्ने दिनको अन्त्य कहिले होला?
-सबै खाले विभेदहरूको अन्त्य र न्यायपूर्ण, उन्नत लोकतान्त्रिक समाजको परिकल्पना आजको नयाँ नेपालको राष्ट्रिय एजेन्डा बनिसकेको छ। लेखक, बुद्धिजीवी, वा सम्बन्धित क्षेत्र, समुदाय, वर्गका संस्कृतिकर्मीहरूको मात्रै यो चिन्ताको विषय रहेन।



हाम्रो राष्ट्रिय राजनीति एवं विश्व दर्शन नै आज यो ठाउँमा छ भने निश्चित रूपमै एक दिन त्यो आउनेछ। कवि गोपालप्रसाद रिमालको आमाको सपना अवश्यै पूरा हुनेछ। तर जीवन त कविता होइन नि, कविताजस्तो मात्रै हो, त्यसैले समय लाग्छ।

काठमाडौँ– नेपालको साहित्यिक इतिहासमा राष्ट्रकवि घिमिरेको नाम नसुनेका मानिस सायद कम नै होलान् । विसं १९७६ मा मस्र्याङ्दी नदीको किनार लमजुङको बाहुनडाँडामा जन्मेर नेपाली साहित्यमा पु¥याएको योगदानले उनलाई राष्ट्रकवि बनायो ।
madhab ghimire


उनै राष्ट्रकविको संरक्षकत्वमा मुलुकको सांस्कृतिक र साहित्यिक क्षेत्रको विकासलाई अगाडि बढाउन मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको स्थापना भयो । विसं २०५३ चैत २९ गते स्थापना भएको यो प्रतिष्ठानले नेपाली भाषा र साहित्यको विकासका ठूलो भूमिका खेल्दै आएको छ । साथै, प्रतिष्ठानले नेपालको साहित्यको विकासमा विभिन्न कार्यक्रम र स्रष्टाहरु जन्माउँदै आएको छ ।

राष्ट्रकवि घिमिरेको जन्मथलो लमजुङ र त्यस वरपरका क्षेत्रको साहित्यिक विकासका लागि स्थापना भएको यस प्रतिष्ठानले आज एकैपटक छ कृति नेपाली बजारमा ल्याएको छ ।

प्रतिष्ठानले नवोदित कलेज सामाखुशीमा आयोजना गरेको कार्यक्रममा राष्ट्रकवि घिमिरेको प्रमुख आतिथ्य तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको विशेष आतिथ्यमा ती कृतिको उनीहरुबाट संयुक्तरुपमा विमोचन भयो ।

प्रतिष्ठानद्वारा तयार पारिएका दुई कृतिसहित लमजुङका साहित्यकारद्वारा सिर्जना गरिएका छ साहित्यिक कृति विमोचन गरियो । सोमध्ये प्रतिष्ठानले निकालेको ‘ मस्र्याङ्दी स्मारिका’ र ‘मस्र्याङ्दी परिचय कोष’, कवयित्री चन्द्रवदना घिमिरेद्वारा लिखित ‘स्मृतिभित्रका केही पात्र’, ‘माता पिताको संस्करण’, ‘ऋतुचक्र’ र चन्द्रमणि अधिकारीद्वारा लिखित ‘मेरो आकास’ विमोचन गरिएको हो ।

कार्यक्रममा राष्ट्रकवि घिमिरेले प्रतिष्ठानले स्मारिका निकालेर लमजुङको साहित्यिक इतिहासमा पु¥याएको योगदानको प्रशंसा गरे । उनले भने – “यी कृतिले नेपाली साहित्यको गरिमालाई उँचो बनाएको छ ।” उनले आगामी दिनमा पनि यस्तो काम गर्दै जानका लागि प्रतिष्ठानलाई आग्रहसमेत गरे ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेतीले प्रतिष्ठानले काठमाडौँ र लमजुङमा विभिन्न कार्यक्रम राखी नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले भने – “यो प्रतिष्ठानका विभिन्न कार्यक्रममा म सहभागी हुने अवसर मिलेको छ, राष्ट्रकवि संरक्षक रहेको प्रतिष्ठानले राष्ट्रलाई नै गौरव बनाएको छ ।”

प्रतिष्ठानका अध्यक्ष डा मुकुन्द पथिकले एक वर्षको अथक प्रयासमा विभिन्न क्षेत्रका मानिसका लेख रचना जुटाएर कृति प्रकाशन गरेको बताए । प्रतिष्ठानका सचिव कृष्णकान्त घिमिरेले आगामी दिनमा यसलाई थप व्यापक बनाएर लैजाने विश्वास व्यक्त गरे ।

सो अवसरमा राष्ट्रकवि घिमिरेले आफूले लेखेका साहित्यिक कृतिमाथि विद्यावारिधि गर्ने छ जनालाई सम्मान गरेका थिए । उनको कृतिमाथि विद्यावारिधि गर्नेमा डा शैलेन्दुप्रकाश नेपाल, डा कृष्णराज विसी, डा लेखप्रसाद निरौला, डा कुलप्रसाद ढुङ्गाना, डा जयन्ती रुपाखेती र डा विष्णुकुमार खत्री रहेका छन् । उनीहरुलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

चार दर्जनभन्दा बढी आख्यानकृति लेखिसकेका आख्यानकार ध्रुवचन्द्र गौतमले अघिल्लो पुस्ताका धेरै साहित्यकारको संगत गर्ने मौका पाए । धेरै साहित्यकारसाग उनले बसउठ गर्ने मौका पाए, केहीसँग  कम हिमचिम भए पनि राम्ररी जान्नेबुझ्ने मौका पाए । त्यस्तै, कतिसागचाहि गुरू–शिष्यको सम्बन्ध थियो । त्यसमध्येका केही साहित्यकारलाई उनी यसरी सम्झन्छन् :Dhurba-chandra-gautam


लक्ष्मीप्रसाद देवकोटा
महाकवि देवकोटालाई मैले देख्ने र सुन्ने अवसर पाएँ । उहाँलाई मैले ०१४ सालमा पहिलोपटक बीरगञ्जमै देखेको हुँ । हामी पढ्ने त्रिजुद्ध स्कुलमा उहााको सम्मानमा कार्यक्रमको आयोजना गरेका थियौं । उहाँ त्यहाँ जानुभएको थियो ।
त्यसबेला उहाँ रुस घुमेर आउनुभएको थियो । उहाँले रुसको विश्वविद्यालयको वर्णन गर्दै भन्नुभएको थियो, ‘हामीले एक–एक कोठा चियाएर हेर्‍यौं भने पनि जीवनले भ्याइादैन होला ।’ त्यस्तै त होला नहोला, तर उहाँ प्रभावित हुनुभएको भने देखिन्थ्यो ।
त्यहाँ देवकोटासँग कुरा गर्दा एक विद्धान प्राध्यापकले भनेका थिए–‘दियर इज अ थिन लाइन बिट्विन लुन्याटिक एण्ड द पोएट (एउटा पागल र कविबीच सानोमात्रै सीमारेखा हुन्छ) ।’
त्यसको जवाफमा उहाँले भन्नुभएको थियो, ‘मान्छु, पागल त सबै पागलै हुन्छन् । तर कवि चाहिा काम लाग्ने पागल हो, अरू चाहिा बेकम्मा पागल ।’ त्यसो भन्दा उहाँको ‘सेन्स अफ ह्युमर’ पनि देखिएको थियो ।
मैले त देवकोटा दारी पालेको बुढो हुनुहोला भन्ने ठानेको थिएँ, तर उहाँ त सफाचट र भव्य व्यक्तित्वयुक्त हुनुहुन्थ्यो । उहाँमा सरलता पनि निकै देखिन्थ्यो । कार्यक्रममा तपाईंलाई मन पर्ने कविता पढ्न अनुरोध गर्दा लेखनाथ पौडेलको ‘पिंजडाको सुगा’ पो पढ्न थाल्नुभयो । त्यसपछि उहाँकै मन पर्ने कविता पढ्न भनियो । त्यसपछि उहााकै आवाजमा ‘पागल’ र ‘गोली यो’ भन्ने कविता सुन्ने अवसर पाइयो ।
देवकोटा जीवित हुँदै ‘लेजेन्ड’ बनिसकेका थिए । उनका बारेमा विभिन्न कथा बनेका थिए । कतिपय राम्रा र कतिपय नराम्रा । कतिले उहाँलाई ‘महागरिव’ पनि भन्थे । तर गरिवचाहिँ होइन, खर्चालु चाहिा हुनुहुन्थ्यो भन्ने समकालीनबाट थाहा पाइयो ।
पछिल्लो पटक मैले उहाँलाई आर्यघाटमा देखेँ ०१६ सालमा । त्यसबेला वीरगञ्जबाट काठमाडौँ आइसकेको थिएँ । उहाँ अन्तिम अवस्थामा हुनुहुन्थ्यो । उहाँलाई भेट्न जानेको लाममा म पनि थिएँ । मैले मानिसलाई त्यसरी लाम लागेर श्रद्धा व्यक्त गरेको पहिले देखेको थिइनँ । त्यहाँ ‘रगत दिन्छु’ भन्नेको पनि तँछाडमछाड नै थियो ।
त्यसबेला उहाँको शरीर जीर्ण भइसकेको थियो । बोल्न पनि सक्नुभएको थिएन । कञ्चट धस्सिएको थियो । तर आश्चर्य, मैले त्यस्तो देखेर आएको मानिसले हिन्दी र अंग्रेजीमा एउटा–एउटा कविता लेख्नुभएछ । ‘आखिर रहेछन् श्रीकृष्ण एक’ भन्ने कविता पनि त्यसैबेला लेख्नुभएको थियो । त्यो उहााको कविताप्रतिको समर्पणको पनि चरमसीमा थियो ।

बालकृष्ण सम
काठमाडौँ आएर त्रिभुवन विश्वविद्यालयमा एमए पढ्न थालियो । त्यसैबेला गुरूको रूपमा नाटककार बालकृष्ण समलाई भेटियो । उहाँ निकै बौद्धिक हुनुहुन्थ्यो ।
गुरू–शिष्यको रूपमा हाम्रो निकै बसउठ भयो । उहाँ आफ्नो नाटक ‘प्रल्हाद’ पढाउनुहुन्थ्यो, ‘नियमित आकस्मिता’बारे प्रवचन पनि दिनुहुन्थ्यो । हप्ताको एकदिन कक्षा हुन्थ्यो । त्यस क्रममा उहाँले, कवि र गद्य लेखकको भेदबारे पनि बताउनुभएको थियो । उहाँको भनाइ थियो, ‘कविले तत्कालिक प्रतिक्रिया दिन्छ । फूल देख्यो भने त्यसको सौन्दर्यबाट प्रभावित भए कविता लेखिहाल्छ । तर नाटककार चाहिा त्यस्तो होइन ।’
उहाँले आफ्नो नाटक ‘प्रल्हाद’मा अध्यात्म र भौतिकवादको द्वन्द्वलाई चित्रण गरेको बताउनुहुन्थ्यो । ईश्वर छैन भन्ने उहाँको विचार थियो । कक्षामा पनि भन्नुहुन्थ्यो, ‘हाम्रो संस्कृति मलमूत्रको संस्कृति हो । गोबर भनेको मल नै हो । गहुत भनेको मूत्र नै हो ।’
तर पछि उहाँले ‘खं ब्रम्ह’ भन्ने धार्मिक धारणालाई मान्न थाल्नुभयो भन्ने सुनियो । त्यस बिषयमा मैले भने सोध्न पाइना । उहाँसँग कलेजभन्दाबाहेक विभिन्न पिकनिकमा पनि भेट भयो । पछि मैले कलाकार पत्रिकाका लागि घरमै गएर अन्तरवार्ता पनि लिएँ ।

बदरीनाथ भट्टराई
बदरीनाथको कथा हामीले स्कुलकै पाठ्यक्रममा पढ्नुपथ्र्यो । उहाँको लेखनमा भेटिने राष्ट्रिय भावनाले हामीलाई निकै प्रभावित पारेको थियो । ‘विदेशको बासी स्याउ भन्दा स्वदेशको ताजा नासपाती मीठो हुन्छ’ भन्ने वाक्य त कण्ठ नै थियो ।
उहाँ पनि विश्वविद्यालयका गुरू हुनुहुन्थ्यो । त्यसैले गुरू–शिष्यकै रूपमा संगत भयो । उहाँ देवकोटाबाट निकै प्रभावित हुनुहुन्थ्यो । कतिपय सन्दर्भमा देवकोटासँग भएको कुरा हामीसँग पनि भन्नुहुन्थ्यो ।
उहाँ निकै सरल हुनुहुन्थ्यो । त्यसकारणले नजिक हुन सजिलो भयो । तर गुरू भएका कारण आदर गरिन्थ्यो । उहाँ र हामीबीच त्यही आदरको दूरी थियो ।

भवानी भिक्षु
साहित्यकार भवानी भिक्षुसँग चाहिा निकै नजिक भएर संगत गर्ने मौका पाइयो । उहाँ हामीलाई घरमा बोलाइरहनुहुन्थ्यो । खान पकाउन निकै सौखिन हुनुहुन्थ्यो र मीठो बनाउनुहुन्थ्यो । मासु, पकौडीजस्ता परिकार आफैंले पकाएर हामीलाई खुवाउनुहुन्थ्यो । उहाँबाहेक अरू साहित्यकारले आफैंले पकाएर खुवाएको मलाई थाहा छैन । कसैले पकाए पनि मैले देख्ने गरी चाहिा पकाएका छैनन् । उहाँले मदिरा पिएको भने देखिएन । पिएको भएपनि उहासँग बसेर पिउने मौका मिलेन । त्यही भएर थाहा पाइएन ।
भवानी भिक्षुको कथा ‘त्यो फेरि फर्केला’बाट म धेरै प्रभावित थिएँ । त्यसले पनि उहाँसग भेट्न निकै उत्सुक थिएँ । काठमाडौ आएपछि त्यो सम्भव भयो ।
म चावहिल बस्थेँ, उहा बत्तीसपुतली बस्नुहुन्थ्यो । त्यसैले भेटघाट गर्ने अवसर प्रशस्तै पाइयो । उहाँसँग पहिलोपटक कहाँ भेट भयो भन्ने चाहिं सम्झना छैन । जोसँग नजिक भइन्छ, उसँग कहिले भेट भयो भन्ने सम्झना नै नहुने क्या !
उहाँ कहिलेकाहीा न्यूरोडमा पान खान जानुहुन्थ्यो । हामीलाई पनि खुवाउनुहुथ्यो । मलाई निकै स्नेह गर्नुहुन्थ्यो । त्यसैले एकपटक भारतका साहित्यकारको निम्तामा नयाँ लेखकको रूपमा भारत जाने मौका पनि पाएको थिएा ।
उहाा हामीभन्दा धेरै सिनियर हुनुहुन्थ्यो । तर पनि धेरै कुरा ‘शेयर’ हुन्थे । उहाँलाई एकपटक प्रज्ञा प्रतिष्ठानमा राखिएन । त्यसबेला अफसोस पनि व्यक्त गर्नुभएको थियो । त्यसै सन्दर्भमा कविता पनि लेख्नुभयो । त्यो कविताको रचनागर्भ र सन्दर्भ सुनाउनुभएको थियो । त्यस्तै चर्चित कथा ‘त्यो फेरि फर्केला’लगायत अन्यको पनि रचना गर्भ सुनाउनु भएको छ ।
उहाा निकै विद्धान हुनुहुन्थ्यो । मैले सुनेअनुसार प्रज्ञा प्रतिष्ठान नाम नै उहाँले राखेको हो । तर हो कि होइन भन्ने यकिन प्रमाणचाहिा छैन ।
उहाँ अलि रसिक पनि हुनुहुन्थ्यो । कहिलेकाहीा रोमान्टिक कुरा पनि गर्नुहुन्थ्यो । उहााको कुरा गर्ने शैली पनि रमाइलो थियो ।
हामी घनिष्ठ त थियौं नै, तर दु:खसुख बाड्ने गरी चाहिा होइन । म नयाँ नयाँ लेखक थिएँ, के नै दु:ख बाड्न सकिन्थ्यो र ?

गोविन्द गोठाले
उहाँचाहिा ‘रिजर्भ’ खालको हुनुहुन्थ्यो । निकै भलाद््मी प्रकृतिको । हामीलाई निकै महान कथाकार भन्ने लाग्थ्यो । म उहाँको घरमा गएको छु ।
उहाा पृथ्वी पुरस्कार पाउदा निकै खुशी हुनुभएको थियो । त्यसैबेला मैले उहाँको डकुमेन्ट्री खिचेको पनि थिएँ । त्यसबेला उहाँसँगै खाना खाइयो । डकुमेन्ट्रमा उहााले खाना खाएको, हिाडेको सबै खिचिएको थियो । तर त्यो कहाा हरायो कहाा ? ‘एडिट’ गरिएको पनि थिएन । अहिलेसम्म भेटिएको छैन ।
जसरी कथामा बिपीले रागात्मकता ल्याउनुभएको थियो, त्यसरी नै ‘पल्लो घरको झ्याल’मार्फत उपन्यासमा रागात्मकता भित्र्याउनुभएको मानिन्छ उहाँले ।
उहााले उपन्यासको मिश्री पात्रबारे भन्नुभएको थियो । तर हामीले नचिनेको व्यक्ति भएको कारण त्यति यादचाहिा भएन । उहाँ ‘रिजर्भ’ हुँदा–हुादै पनि हाम्रो आग्रहलाई स्वीकार्दै पात्रबारे भन्नुभएको थियो ।
पछि मैले उहाँलाई महेन्द्र गुरुङले स्थापित गरेको पुरस्कार दिनलाई भूमिका खेल्ने मौका पाएँ । गुरुङ इन्जिनियर एसोसिएसनको अध्यक्ष र कवि पनि । उहाँले रमाकृष्ण प्रतिष्ठान बनाएर पुरस्कार स्थापना गर्नुभयो । पुरस्कार चयन कमिटिमा मलाई संयोजक बनाउनुभएको थियो । मैले उहालाई भनो, ‘यो पुरस्कार गोविन्द गोठालेलाई दिनुस् । उहाँ आदरणीय मान्छे पनि हो । अर्को वर्ष दिन पाइन्छ कि पाइादैन ।’ उहाँले मान्नुभयो र पुरस्कार दिइयो । नभन्दै, त्यो गोठालेले पाएको अन्तिम पुरस्कार बन्यो । पुरस्कार वितरण कार्यक्रममा म जान नपाए पनि उहाँ उपस्थित भएको अन्तिम कार्यक्रम बन्यो । आफूले स्थापना गरेको पुरस्कार उहाँलाई दिन पाएको र त्यो ऐतिहासिक बनेको कुरामा महेन्द्रजी पनि खुशी हुनुहुन्छ ।

शंकर लामिछाने
उहाालाई म दाइ भन्थो । दाइ (ध.च. गोतामे)सँग बाक्लो संगत थियो तर मसँग त्यति बाक्लो थिएन । तर कहिलेकाहीा दाइकहाँ बोलाएको बेला सँगै ‘ड्रिंक’ गरेको सम्झना छ ।
एकपटक उहाँले मसँग फोटो खिचाउनुभएको थियो । त्यो फोटोको बारेमा मैले लेखेको पनि छु । उहााले त्यसको शिर्षक ‘पास्ट एण्ड प्रेजेन्ट’ राख्नुपर्छ भनेर भन्नु भएको थियो । मैले पनि त्यसबेला लेख्न सुरु गरिसकेकोले उहाँले त्यसो भन्नुभएको थियो । तर मैले उहाँलाई भनो, ‘होइन दाइ, प्रेजेन्ट पर्फेक्ट र प्रेजेन्ट इन्डेफिनिट हुनुपर्छ ।’ दुर्भाग्य ! त्यो फोटो हरायो ।
पारिजातको ‘शिरिषको फूल’ले निकै चर्चा पायो । त्यसमा उहाँको भूमिकाको पनि निकै चर्चा भयो । त्यसको केही समयपछि मेरो ‘अन्त्यपछि’ उपन्यास रूपरेखामा पूरै छापियो । त्यसबेला उहाँले भन्नुभएको थियो, ‘पारिजातको शिरीषको फूलचाहिा मोतीको माला हो । तपाईंको उपन्यास चाहिा छरिएको मोती हो ।’ मैले ठट्टा गर्दै भनो, ‘जे भए पनि मोती त हो नि है दाइ ।’
उहाँले म भएको यस्तो लेख्थो पनि भन्नुहुन्थ्यो । मैले उहाँलाई भन्थो, ‘के गर्नु दाइ, यो आइडिया मलाई आयो । कसैको चिउाडो बांगो छ भने के गर्नु ? त्यसलाई बांगोसहित नै स्वीकार्नुपर्छ पछ नि हैन दाइ ?’
उहाँ असाध्यै पढ्नु हुन्थ्यो । अरूलाई किताब पनि दिनुहुन्थ्यो । उहाँको पुस्तक संकलन राम्रो थियो ।

भूपी शेरचन
म काठमाडौँ आउँदा भूपीको चर्चित कविता ‘हामी’ प्रकाशित भइसकेको थियो । त्यो कविता पछि पञ्चायतकालमा लेखिएको हो, तर उत्तम कुँवरले चलाखीपूर्वक अगाडिको मिति हालेर छापेको भनिन्छ । त्यो कविताको मलाई प्रभाव परेको थियो । त्यसैले भूपी कहाँ बस्छन् भन्दै खोजेर पनि हिाडियो । त्यसरी खोजेर त भेटिएन ।
तर जब भेट भयो, निकै निकट भयौा । हुँदा–हुँदा हामी ‘तिमी’ सम्बोधनमा आयौा ।
धेरैपटक सँगै बसेर ‘ड्रिंक’ पनि गरियो । त्यसबेलाको एउटा घटना सम्झन्छ्ु । शेर पञ्जाब भन्ने रेष्टुरेन्ट थियो खिचापोखरीमा । त्यहाा ड्रिंक गर्न बसियो । मलाई एउटा विवाहमा जानु थियो । तर धेरै पिइयो । म पनि विवाहमा जान सकिन । भूपी पनि हिंड्नै नसक्ने हुनुभयो । होटलको किचनमा नै सुतियो ।
उनले खाएको बेलामा होटलको मालिकलाई आफूले लगाइराखेको महागो घडी नै उपहार दिनुभयो । उनले भोलिपल्ट उठेर ‘घडी खोई ?’ भनेर सोध्नुभयो । मैले भनें, ‘तिमीले त उपहार दियौ नि होटेलमालिकलाई ।’ त्यसपछि उहाा जिल्ल परेर ‘माग्न सकिादैन ?’ भन्न थाल्नुभयो । मैले भनो, ‘माग्न त तिमीले नै माग्नुपर्छ । तिमीले दिएको कुरा मैले मागेर हुन्न ।’ आखिर लाजले त्यो घडी मागिएन । त्यस्तो पनि भएको छ ।
भूपीसँगका यस्ता धेरै घटना छन् । मलाई ड्रिंक गर्दा शान्त हुने मान्छे नै मन पर्छ । मलाई अहिलेसम्म खाएर आफूले झगडा गरेको छैन । भूपी पनि त्यस्तै हुनुहुन्थ्यो । रमाइला गफ गर्नुहुन्थ्यो । पिएपछि अझै खुल्नुहुन्थ्यो । व्यक्तिगत जीवनका रोमान्टिक गफ पनि गर्नुहुन्थ्यो ।
उहाासँगका धेरै सम्झना छन् । सबैजसो मैले मिडियामा लेखिसकेको छु । ‘नेपाल’ मा एउटा अन्तिम लेख लेखें । त्यसमा भनेको छु, ‘भूपीबारे यो अन्तिम लेख हो । यो पछि लेख्ने कुरा छैन । कि नलेख्ने कुरा बाँकी छन् ।’
अब लेख्न नमिल्ने कुरा त भन्न मिल्दैन नि । चाहे त्यो पोलिटिकल होस् चाहे रोमान्टिक ।


काठमाडौं , वैशाख ३० गते । राष्ट्रकबि माधवप्रसाद घिमिरेलाई बेबिलोन नेशनल उच्च माबिले 'बेबिलोन स्रष्टा सम्मान २०७३'बाट सम्मान गर्ने भएको छ। काठमाडौं शान्तिनगरमा रहेको दुई दशक पुरानो बिद्यालयले यसवर्ष स्थापना गरेको स्रष्टा सम्मान राष्ट्रकबिलाई गर्न लागेको हो।




बिद्यालयले १५ हजार पाँचसय ५५ राशि र ताम्रपत्र सहितको स्रष्टा सम्मान जेठ सात गते आयोजना हुने विशेष समारोहकाबीच राष्ट्रकबिलाई प्रदान गर्ने जनाएको छ।

बिद्यालयका प्रधानध्यापक राजु राईले बिद्यालयले विविध क्षेत्रमा देशलाई अतुलनिय योगदान गर्ने स्रष्टा प्रति बिद्यालय र बिर्द्यार्थीको तर्फबाट सम्मान गर्ने नीति अनुसार स्रष्टा सम्मानको थालनी गरिएको बताए। उनले साहित्य,कला, खेलकुद, प्रशासन लगायत देश र नागरिकका लागि जिवनभर सकृय ब्यक्ति स्रष्टा सम्मानबाट सम्मानित हुने बताए।



काठमाडौं , वैशाख २९ गते । अभि सुवेदीले लेखेको नाटक ‘यो कुनै बास हो एक’को मञ्चन थिएटर मलमा

भइरहेको छ। यो एकल काव्यात्मक नाटकमा सुष्मा कोइरालाको अभिनय छ।



नाटककार बालकृष्ण समप्रति समर्पित गर्दै उनकै निवासको नामबाट नाटकको नाम राखिएको हो। समको निवासमा एक नारीले उनका नाटक र पात्रहरुलाई स्मरणमा गर्दै गरेको विश्लेषणमा कोइरालाको अभिनय बोझिलो लाग्दैन।

एक घण्टाभित्र एकैजना कलाकारले विभिन्न पात्र र मुद्रामा अभिनय दिनु नाटकको मूल आकर्षण हो। यसअघि सुष्माले सुवेदीद्वारा लिखित ‘बिम्वाका सपना’मा पनि एकल अभिनय गरेकी थिइन्। यसमा सुष्मा दिवासाको रुपमा देखिएकी छिन्।



वैशाख २० गतेदेखि मञ्चन थालिएको नाटक जेठ ४ गतेसम्म चल्नेछ। नाटक बुधबारबाहेक हरेक साँझ साढे ५ बजे मञ्चन हुँदै आएको थिएटर मलका नाट्यकर्मी तथा कला निर्देशक केदार श्रेष्ठले बताए। नाटकलाई घनश्याम श्रेष्ठले निर्देशन गरेका हुन् ।



- पहिलो पोस्टबाट 

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget