Websoft University

www.radiomakalu.com || 021-522512


February 2020

2020-02-27-9344



राजविराज, फागुन १५ गते । सप्तरीको राजविराज नगरका मुख्य सडकहरुमा ट्राफिक संकेत राखिएको भएपनि नियम पालन भइरहेको पाइदैन ।

ट्राफिक नियमको पालन नहुँदा सवारी साधनहरु अव्यवस्थित पाकिङ्ग भइरहेको छ । नगरका मुख्य सडकमा ट्राफिक नियम पालना गराउन आधा दर्जन ट्राफिक प्रहरी खटिएको देखिन्छ । तर, उनीहरु मोटरसाइकलबाहेक ठूला सवारी साधनलाई तोकिएको स्थानमा पार्किङ्ग गराउन सकिएको देखिदैन । जथाभावी पार्किङ्ग गरेको भेटिन्छ ।

नगरमा मोटरसाइकलले ट्राफिक नियम उल्घंन गरेको पाइएमा तुरन्त कारबाही गरेर व्यवस्थित गरेको हुन्छ । सोही स्थानमा बस, ट्रक, म्याजिक, विंगर, माइक्रो बस, अटो, इ–रिक्सा लगायतका सवारीले ट्राफिक नियम पालना नगर्दा खटिएका ट्राफिक प्रहरीले वेवास्ता गर्ने गरेको स्थानीय रमानन्द साहले जानकारी दिनुभयो ।

नो पार्किङ्ग तोकिएकै स्थानमा भाडाका ती सवारी साधनहरुले यात्रु चढाउन, ओराल्ने गर्नुकोसाथै घण्टौसम्म रोकेर राखिने गरेको उहाँको कथन । नगरको मुटु मानिने गजेन्द्र चोक, जनआन्दोलन चोक, मुख्य सडकमा पार्किङ्ग र नो पार्किङ्ग संकेतका बोर्डहरु ठड्याएका छन । ती संकेतमा सवारी साधनको प्रकृति भने उल्लेख नगरिएकोले कुन सवारी साधनले पार्किङ्ग गर्न वा नगर्ने अन्योल पनि रहेको चालक बिरेन्द्र गिरीले बताउनुभयो ।

भाडामा चल्ने सावरी साधनमध्ये विगर, माइक्रो बस, अटो रिक्साले ब्लुबुकमा उल्लेख भएको भन्दा बढी सीट थपेर क्षमता भन्दा बढी यात्रु बोक्ने, चालक अनुमतिपत्र बिना सवारी कुदाउने, ब्लुबुक नविकरण नभएको अवस्थामा चल्ने सवारी साधन उपर ट्राफिक प्रहरीले बिना रोकटेक कुद्न दिएको स्थानीहरुको कथन छ । ती सवारी साधनधनीहरुले ट्राफिक प्रहरीलाई मासिक लेबी बुझाउने गरेको कारण उनीहरु उपर ट्राफिक कारबाही भइनरहेको स्थानीयको बुझाइ छ । ट्राफिक प्रहरीलाई मासिक नबुझाउने वा विशेष चेकजाँच बाहेकका बेला मात्र भाडाका सवारी उपर कारबाही हुने गरेको राजविराज नगरवासी रामप्रसाद चौधरीले बताउनुभयो ।

सो सम्बन्धमा जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथका प्रमुख प्रहरी निरीक्षक उत्तम कार्कीले ट्राफिक संकेतमा भएको कमजोरीलाई आवश्यक सुधार गरिने जानकारी दिदै अव्यवस्थित पार्किङ्गलाई अबदेखि व्यवस्थिततर्फ विशेष ध्यान दिने बताउनुभयो । यता अव्यवस्थित भाडाका सवारी साधन पार्किङ्गले नगरलाई कुरुप बनाउँदै गएको छ भने पैदल यात्रुसहित अन्य सवारी साधनहरुलाई पनि आवतजावतमा सास्ती भोग्नु परेको छ । दुर्घटनाको जोखिम पनि उत्तिकै उच्च रहेको छ । - धीरेन्द्रप्रसाद साह, गोरखापत्र दैनिकबाट 

2020-02-27-9346

काठमाडौँ, फागुन १५ गते । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का उपकुलपति सुनिलबाबु श्रेष्ठले छिट्टै युवा वैज्ञानिक फोरमको शुरुआत गरिने बताउनुभएको छ । बुधबार आयोजित ‘एकवर्षे कार्यकालको समीक्षा’मा उहाँले वैज्ञानिक क्रियाकलापमा प्रोत्साहन र युवा वैज्ञानिकका कार्यक्रमलाई सहजीकरण गर्न उक्त फोरमको थालनी गरिन लागेको जानकारी दिनुभयो ।

‘समृद्धिका लागि अनुसन्धान र नवप्रवर्तन’ भन्ने मूल नाराको साथ गत कात्तिक ४ देखि ६ गतेसम्म अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन सम्पन्न भएको थियो । गत असोज १ गते राष्ट्रिय नवप्रवर्तन ढाँचा, प्राज्ञ– प्रतिष्ठानको सहयोगी हात सर्वसाधारणसम्म पु¥याउन नागरिकसँग नास्ट, देश र विदेशमा रहेका प्रतिभाशाली वैज्ञानिकको ज्ञान तथा सीप उपभोग गर्न तथा वैज्ञानिक परिचय प्रकाशनको तयारी गरिएको कार्यक्रममा जानकारी दिइयो ।
यसैगरी विदेशमा रहेका नेपाली वैज्ञानिकलाई स्वदेशमा भित्र्याउन प्राथमिता दिइएको र विज्ञान र प्रविधिका क्षेत्रका विषयवस्तुमा छलफल गर्न महिनाको एकपटक वार्ताको थालनी तथा सातै प्रदेशमा एक/एक प्राज्ञ–प्रतिष्ठानका विषयगत अनुसन्धान केन्द्र खोलिने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा नास्टले सिटी नेट, च्याउ उत्पादन, भू–क्षय रोकथाम, घाँस उत्पादन र वातावरणीय सुधार गरी सामाजिक आर्थिक रुपान्तरणमा उपयोगी देखिएको जुनकावा प्रविधि हस्तान्तरण गर्न सम्बन्धित निकायसँग समझदारीपत्रमा हस्ताक्षर सम्पन्न गरेको जानकारी दिइयो ।

नास्टका अतिरिक्त विभिन्न प्रयोगशालाबाट दिँदै आइरहेको वैज्ञानिक परीक्षण सेवालाई एउटै छातामुनि ल्याउने उद्देश्यले नास्ट विश्लेषण सेवा केन्द्र, संस्थाको गतिविधि चुस्तदुरुस्त बनाउन मोबाइल एप्स र नास्टलाई योजनाबद्ध विकास र व्यवस्थित पार्न गुरुयोजना अघि बढाइएको नास्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “ महिला वैज्ञानिक फोरम, विगतमा नास्टले नसमेटेका चार कुलपति राष्ट्रिय नवप्रवर्तन, महिला वैज्ञानिक, उत्कृष्ट विज्ञान शिक्षक र उत्कृष्ट विद्यार्थी पुरस्कारको स्थापना गरी वितरणको शुरुआत पनि यसै वर्षदेखि गरिएको छ ।”

‘नेपाल जर्नल अफ साइन्स एण्ड टेक्नोलोजी’को आगामी दुई महिनाभित्र नयाँ प्रकाशन तयारी भएको कार्यक्रममा जानकारी दिइयो ।कार्यक्रममा नास्टको प्रयोगशालामा कार्यरत कर्मचारीलाई जोखिमभत्ता वितरण गर्न बजेट व्यवस्था गरिएको जानकारी दिइयो । - गोरखापत्र दैनिकबाट 



2020-02-26-9299


काठमाडौं, फागुन १४ गते । भारतको राजधानी नयाँ दिल्लीमा दशकौं यताको सबैभन्दा खराब हिंसा भएका छन् । नयाँ नागरिकता कानूनको पक्ष र विपक्षमा सुरु भएको प्रदर्शन हिंसाको रुपमा लिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार उक्त हिंसामा कम्तिमा २० जनाको मृत्यु भइसकेको छ । नागरिकता कानूनको पक्ष र विपक्षमा महिनौंदेखि प्रदर्शन हुँदै आएपनि दुबै पक्षबीच आइतबार भिड्न्त सुरु भएको थियो । लगत्तै उक्त भिडन्त साम्प्रदायिक रुप लिन पुगेको बीबीसीले जनाएको छ ।
हिंसामा एक प्रहरी जवानको समेत मृत्यु भएको छ । अन्य १९ सर्वसाधारण छन् । प्रदर्शनको क्रममा प्रहरीसहित १५० बढी मानिस घाइते भएका छन् ।
हिंसाले साम्प्रदायिक रुप लिएपछि पसल तथा घर जलाइएका छन् । लाठी र ढुङ्गा बोकेको भिड हिन्दूवादी समूहसँग सम्बन्धित नारा लगाएका छन् । सञ्चारकर्मीमाथि पनि आक्रमणका घटना सार्वजनिक भएको छ । हिंसाको दृश्य नखिच्न चेताबनी दिइएको छ । - एजेन्सी

2020-02-26-9294


बैतडी, फागुन १४ गते । बैतडीका स्थानीय तहले विद्यालयको दिवा खाजामा स्थानीय उत्पादनलाई जोड दिएर विद्यार्थीलाई अर्ग्यानिक दिवा खाजा खुवाउन थालेका छन् ।

बैतडीका १० वटै स्थानीय तहले विद्यालयमा दिवा खाजाका रुपमा दैनिक सूची नै तयार गरेर कोदो, घिउ, हरियो साग, सिस्नोको साग, उसिनेको आलु, पीँडालु, अण्डा, दाल र गेडागुडी र फलफुल खुवाउन थालेका छन् ।

जिल्लाको दोगडाकेदार गाउँपालिकाले आइतबार अण्डा, हरियो साग, घिउ र चामल, सोमबार पुरी, आलुको तरकारी र हरियो साग, मंगलबार भिजाएको भट्मास र हरियो साग, बुधबार उसिनेको आलु वा पीँडालु र गेडागुडी, बुधबार दाल चामल र फर्सीको खिचडी, विहीबार उसिनेको मकैं, तरकारी र हरियो साग, शुक्रबार स्थानीय फलफुल र गेडागुडीको सूची तयार गरेर दिवा खाजा खुवाउन थालेको छ ।
दोगडाकेदारको चनै आधारभूत विद्यालयको दिवा खाजामा एक दिन सिस्नुको झानेको साग र मकैको ढिडो खुवाईरहेको विद्यालयका प्रधानाध्यापक दमयन्ति जोशीले बताउनुभयो । सिस्नोको झानेको साग बनाउने विधिका बारेमा सहायक प्रधानाध्यापक भूवनेश्वरी भट्ट तालिम लिएपछि विद्यालयको दिवा खाजामा सिस्नोलाई प्राथमिकता दिईएको छ ।

सहायक सहायक प्रधानाध्यापक भूवनेश्वरी भट्ट भन्नुहुन्छ–“ दुई चम्चा सिस्नोको सागमा एक किलो मासु बराबरको क्यालेरी प्राप्त हुने कुरा मैले तालिम लिएपछि थाहा पाए । सिस्नो निकै पौष्टिक आहारा रहेछ ।”

विद्यालयमा आर्गनिक दिवा खाजा खुवाउँदा विद्यार्थीको स्वास्थ्य र स्थानीय उत्पादन दुबैलाई फाईदा पुग्ने भएकोले विद्यालयमा स्थानीय उत्पादनको सूची तयार गरेर दिवा खाजा खुवाउन थालिएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।


शिवनाथ गाउँपालिकाले पनि आईतबारदेखि शुक्रबारसम्मको दिवा खाजाको सूची नै बनाएर विद्यार्थीलाई गाउँमै उत्पादन भएको स्थानीय कोदो, हरियो सागपात र गेडागुडीलाई प्राथमिकता दिएको छ ।

शिवनाथ गाउँपालिकामा कोदो बढी फल्ने भएकोले अन्य खानासँगै कोदोलाई बढी प्राथमिकता दिईएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले गोरखापत्रलाई जानकारी दिनुभयो ।

दिवा खाजाको रुपमा स्थानीय उत्पादन जे छ त्यसैलाई दिवा खाजाका रुपमा समेटिएको दशरथ चन्द नगरपालिकाका उप प्रमुख मीना चन्दले बताउनुभयो ।

बैतडीमा छ गाउँपालिका र चार नगरपालिका गरि १० स्थानीय तह रहेका छन् । दशरथ चन्द नगरपालिका, पुरचौडी नगरपालिका, मेलौली नगरपालिका, पाटन नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दोगडाकेदार गाउँपालिका, डिलासैनी गाउँपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिका रहेका छन् ।
विद्यालयमा पत्रु खाना ( जङ्क फुड) बाहेक गाउँमा जे फल्छ त्यसैलाई समाबेस गरिएको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर बिष्टले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।

प्रति विद्यार्थी दैनिक १५ रुपियाँ बराबरको दिवा खाजा खुवाउनु पर्ने भएकोले केही दुर्गम गाउँका विद्यालयमा रकम अपुग भएको गुनासो आउने गरेको अध्यक्ष बिष्टले बताउनुभयो । विद्यालयका गुनासो सुन्न र दिवा खाजालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा विद्यालयमै पुगेर अनुगमन गर्ने तयारी भईरहेको उहाँले जानकारी दिनुभयो । - गोकर्ण दयाल, गोरखापत्र अनलाइनबाट 



काठमाडौं, फागुन १४ गते । सर्जी नाब्रीले दुई गोल गरेपछि जर्मन क्लब वायर्नले च्याम्पियन लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेग खेलमा इंग्लिस क्लब चेल्सीमाथि शानदार जित हात पारेको छ ।

वायर्नले चेल्सीलाई उसैको मैदानमा ३-० ले पराजित गर्दै दोस्रो लेगका लागि सजिलो बनाएको छ ।

लण्डन क्लब चेल्सीको घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा ३ गोल भयो । ५१औं मिनेटमा सर्जीले गोल गर्दै वायर्नलाई अग्रता दिलाए । त्यसको ३ मिनेटपछि सर्जीले नै गोल गर्दा वार्यनले अग्रता दोब्बर बनायो । यस्तै रोवर्टो लेवान्डोस्कीले ७६औं मिनेटमा गोल गर्दै जित पक्का गरेका थिए ।

८३औं मिनेटमा मार्कोस अलोन्सो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सीले दश खेलाडीमा रहेर खेल सकाएको थियो । - अनलाइन खबरबाट 

2020-02-25-9269

काठमाडौं, फागुन १३ गते । नेपाल ट्रष्टले आफ्नो  स्वामित्वमा हालसम्म देशभर १२ जिल्लामा २१ हजार ५६२ रोपनी जग्गा रहेको सार्वजनिक गरेको छ ।

यस वर्ष पौषसम्ममा नेपाल ट्रष्टको चल सम्पत्तितर्फ नेपाली रूपैयाँ ७८ करोड नौ लाख ७७ हजार पुगेको छ । यसैगरी अमेरिकी डलर एक लाख ४८ हजार ५८१ र बेलायती पाउन्ड स्टर्लिङ ५० हजार १२४ समेत बैंकमा मौज्दात रहेको बताइएको छ ।

यस्तै, शेयरतर्फ नबिल बैंकको सेयर पाँच लाख ३३ हजार २४४ कित्ता, होटल डेला अन्नपूर्णको ३० हजार ७२० कित्ता र नेपाल औद्योगिक विकास निगमको छहजार ७५० कित्तासमेत नेपाल ट्रष्टको स्वामित्वमा रहेको छ ।

नेपाल ट्रष्ट सञ्चालक समितिका अध्यक्ष रहनुभएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार नेपाल ट्रस्टकाे श्वेतपत्र सार्वजनिक गर्दै साे कुराकाे जानकारी गराउनु भएकाे हाे । - गोरखापत्र दैनिकबाट 

2020-02-26-9285



काठमाडौँ, फागुन १४ गते । चीनको हुबेई प्रान्तबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९)को त्रास पछिल्लो समय विश्वभर फैलिएपछि नेपालमा पनि थप सतर्कता अपनाउन थालिएको छ । नेपाल आवतजावत गर्ने क्रममा रोग भित्रिन सक्ने भएकाले नेपाल जोखिममा रहेको भन्दै सतर्कता अपनाउन थालिएको हो । विमानस्थलमा उच्च सतर्कता अपनाइएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले दक्षिण कोरिया र नेपालबीच हवाई आवतजावत भएकाले नेपाल पनि जोखिममा रहेकाले सतर्कता अपनाउन थालिएको जानकारी दिनुभयो । हाल नेपालमा कोरोना सङ्क्रमण नभएको उहाँले स्पष्ट पार्नुभयो ।
पछिल्ला दिनमा दक्षिण कोरियामा फैलिएको कोरोनाबाट नौ जनाको मृत्यु भएको छ भने सयौँ जना सङ्क्रमित भइसकेका छन् । दक्षिण कोरिया र नेपालबीच हवाई आवतजावत भइरहने हुनाले नेपाल उच्च जोखिममा रहेको छ । नेपालीको ठूलो सङ्ख्या दक्षिण कोरियामा रहेका छन् । आफू महानिर्देशक भइसकेपछिको मुख्य काम पनि कोरोना भाइरसलाई नेपाल छिर्न नदिन उच्च कदम चाल्नु रहेको भन्दै उहाँले विमानस्थलमा सरकारले उच्च सतर्कता अपनाएको जानकारी दिनुभयो । दक्षिण कोरियामा पनि व्यापक मात्रामा फैलिएको हुँदा नेपालमा समेत उच्च सतर्कता अपनाउनुपर्ने स्पष्ट पार्नुभयो ।
यता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता सागर दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ
कोरोनाविरुद्ध विमानस्थलमा...
डेस्क राखेर कोरोना भाइरस प्रभावित देशबाट आएका व्यक्तिहरूको स्क्रिनिङ गरिरहेको जानकारी दिनुभयो । उहाँले निरन्तर १० जना स्वास्थ्यकर्मीहरूको टोली खटिएर स्क्रिनिङ गरिरहेको जानकारी दिँदै कोरोना भाइरस प्रभावित देशबाट आएका व्यक्तिहरूको तापक्रम परीक्षणपछि मात्र विमानस्थलबाट छाड्ने गरिएको जानकारी दिनुभयो ।
चीनसहित ३८ देशमा कोरोना सङ्क्रमणको पुष्टि भइसकेको छ । हालसम्म विश्वभर ८० हजारभन्दा बढी मानिस सङ्क्रमित भइसकेका छन्  । कोरोनाकै कारण दुई हजार सात सय जनाको मृत्यु भइसकेको छ । सङ्क्रमण देखिएका देशहरूले अतिप्रभावित क्षेत्रका मानिसलाई घरैमा क्वारेन्टाइनमा बस्न अनुरोध गरिसकेका छन् । दक्षिण कोरियामा फैलिएको कोरोनाका कारण ईपीएसमार्फत कोरिया उडान भएका ४० जना नेपालीको उडान स्थगित गरिएको छ । - सरोज ढुङ्गेल, गोरखापत्र दैनिकबाट 



काठमाडौं, फागुन १३ गते । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जन्मदिनको शुभकामना दिएको छ । तर जन्मदिनमा प्रधानमन्त्री ओलीको सत्ता उन्माद देखेर आम नागरिक निराश भएको उनको टिप्पणी छ ।


प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुमै समय लिएर बोल्दै कांग्रेस सांसद डा. मिनेन्द्र रिजालले प्रधानमन्त्रीलाई कुन लोकमा हुनुहुन्छ भन्ने प्रश्न गरे ।

प्रधानमन्त्री ओलीको जन्मदिनको तामझाम देखेर जन्मघरले पनि चिनेन होला भन्दै उनले भने, ‘घरलाई लाग्यो होला, आफ्नो खड्गप्रसाद यो होइन, नयाँ महाराजाको सवारी भएछ । यती होल्डिङको पैसा र हेलिकप्टरले पुर्‍याएको त्यो केक देख्दा त्यो घरले अपमानित महसुस गर्‍यो होला ।’

प्रधानमन्त्रीले जन्मदिनमा चार हजार बृद्धबृद्धालाई सारी र कोट बाँडेको आफूले सुनेको रिजालले बताए । उनले भने, ‘पहिले आफ्नो जन्मदिनमा केटाकेटीलाई मिठाई बाँडेर चित्त बुझाउनुपर्ने राजा महाराजालाई पनि इर्ष्या लाग्यो होला प्रधानमन्त्रीज्यू ।’

‘हिजो राजनीति गर्ने भए श्रीपेच फुकालेर आउ भन्थे मदन भण्डारी । आज थरिथरीका श्रीपेच लगाएका कम्युनिस्ट आत्मजन मित्रलाई के भन्दै होलान मदन भण्डारी ?’

कांग्रेस सांसद रिजालले भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने प्रधानमन्त्रीको दाबीलाई निवर्तमान सञ्चारमन्त्रीको अडियो प्रकरणले गिज्याएको बताए । धेरैको अविश्वास रहेको तर शंकाको लाभ दिन तयार रहेको भन्दै उनले, ‘संसदमा विश्वासमा लिनुस्, भ्रष्टाचारका यस्ता घटना हुादैन भनेर विश्वास दिलाउनुस् ।’
 - अनलाइन खबरबाट 

                                             

                                       भीआईपी उडान प्रक्रिया नै छैन



काठमाडौं, फागुन १३ गते  । नेपाल नागरिक उड्डयन प्राधिकरण तथा सेवा प्रदायक कम्पनीबाट समेत विशिष्ट व्यक्ति (भीआईपी) उडान प्रक्रिया तय नहुँदा हेलिकप्टरको आफूखुसी उडान गर्ने प्रवृत्ति छ । यस्तो प्रवृत्तिका कारण पूर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जना चढेको हेलिकप्टर दुर्घटनामा परेको पाइएको छ ।

नेपालमा अतिविशिष्ट व्यक्ति (भीभीआईपी)को हवाई उडानका बेला अपनाउने प्रक्रिया स्पष्ट छ । तर विशिष्ट व्यक्ति (भीआईपी)को उडान प्रक्रिया स्पष्ट नतोकिएको पाइएको छ ।

१५ फागुन २०७५ मा पाथिभराबाट काठमाडौंका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारी, नेपाल सरकारका उच्च अधिकारी, व्यापारी, सुरक्षाकर्मीसहित ७ जनाको निधन भएको थियो ।

त्यसपछि सरकारले छानविन आयोग गठन गरेको थियो । आयोगले आफ्नो अन्तिम प्रतिवेदन सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाएको छ । प्रतिवेदनमा पाइलट वा हिमआँधीका कारणभन्दा पनि नेपालको हवाई उडानको प्रद्धती र प्रणालीका कारण दुर्घटना भएको उल्लेख छ ।

पाथिभरा जाने सूचना काठमाडौं टावरलाई थिएन

काठमाडौंबाट उडेको एयर डाइनेष्टी हेलि सर्भिसको ९ एनएएमआई हेलिकप्टरको उडान काठमाडौं-तेह्रथुम-काठमाडौंका लागि निर्धारित थियो । यसको जानकारी काठमाडौं टावरसँग थियो । त्यहीअनुसार हेलिकप्टर काठमाडौंबाट उडेको थियो ।

तर, दुर्घटना पाथिभरामा भएको छ । त्यस विषयमा आयोगले भीआईपी उडानको प्रक्रिया आवश्यक रहेको देखाएको हो । भीआइपी उडानको प्रक्रिया भएको भए जति सुकै ठूलो मान्छेले आग्रह गरेको भएपनि हेलिकप्टर पूर्वनिर्धारित प्रक्रिया र रुटभन्दा बाहिर गएर उड्न सक्ने थिएन । हेलिकप्टरमा एयर डाइनेस्टीका मालिक आङछिरिङ शेर्पासमेत सवार थिए ।

छानविन आयोगका संयोजक यज्ञप्रसाद गौतमका अनुसार तेह्रथुमबाट पाथिभरा जाने योजना कहाँ कसरी बन्यो भन्ने पुष्टी हुन सकेको छैन ।

‘काठमाडौंबाट तेह्रथुम पुगेर काठमाडौं नै फर्कने योजनाअनुसार उडेको हेलिकप्टर कसरी पाथिभरा जाने योजना कसरी बन्यो, त्यसको पुष्टी हुने आधार देखिएन,’ उनले भने ।

अगाडिको सीटमा दुई जना राख्दा असुरक्षित

एयरबस हेलिकप्टरले निर्माण गरेको यो हेलिकप्टरको स्टान्डर्ड क्षमता ६ सीट हो । तर, आवश्यक परेको बेला हेलिकप्टरले ७ जनासम्म बोक्न सक्ने स्पष्ट उल्लेख गरेको छ । १० हजार फिटभन्दा तलको उचाइमा उड्दा हेलिकप्टरले सजिलै पूरा लोड थाम्न सक्थ्यो । तर, पाथिभराको उचाइमा यो लोड अधिक थियो । लोडकै कारण दुर्घटनामा पर्‍यो भन्न नसकिए पनि त्यसले उडानमा कतै प्रभाव पार्‍यो की भन्ने आंशका प्रतिवेदनले उठाएको छ ।

त्यसमाथि हेलिकप्टरको अगाडिको सीटमा बढी वेट भएका व्यक्ति बस्दा त्यसले एक त पाइलटलाई उडानमा असर गर्छ । अर्कोतर्फ हेलिकप्टरमा इन्धन बोक्ने ट्यांकी पछाडि हुन्छ । जब हेलिकप्टर बढी समय उडिसक्छ र इन्धन खपत हुन्छ, त्यसपछि पछाडिको तौल कम हुन थाल्छ । यस्तो अवस्थामा अगाडि बढी तौल र पछाडि हलुका हुने अवस्थामा समेत हेलिकप्टरको सन्तुलन बिग्रन जान्छ ।

प्राधिकरणले उच्च हिमाली भेग र पहाडमा उड्ने हेलिकप्टरमा अगाडि दुई जना राख्न सक्ने गरी अनुमति दिँदा त्यसले दुर्घटनाको जोखिम निम्याउने आयोगको भनाइ छ । यसमा पुनर्विचार गर्न आयोगको सिफारिससमेत रहेको छ ।

हतार-हतारमा टेकअफ

सामान्यतया पाइलटले इन्जिन स्टार्ट गरेको केही मिनेटसम्म टेकअफ गर्दैनन् । तर, पाथिभरास्थित हेलिप्याडमा करिब ४५ मिनेट रोकिएको हेलिकप्टरको इन्जिन स्टार्ट भएको एक मिनेटभित्रै उडेको थियो ।

उड्नासाथ शक्तिशाली हिमआँधीको शिकार हेलिकप्टर बन्न पुगेको देखिएको छ । त्यसकारण केही मिनेट इन्जिन स्टार्ट गरी त्यसपछि मात्र उड्नुपर्नेमा हतार-हतार उडेको पाइएको छ । बिग्रिएको मौसमबाट बच्न पाइलटले हतार-हतार उडाए पनि उनको यो निर्णय गलत बनिदिएको छ ।

पाथिभरामा पाइलटलाई दवाव थिएन

आयोगका अनुसार पाथिभरामा करिब ४५ मिनेट रोकिएको हेलिकप्टर उडाइहाल्न त्यहाँ अन्य यात्रु तथा माध्यमबाट दबाब दिइएको थिएन । पाइलट आफैंले मौसमको आंकलन गरी हेलिकप्टर उडाउने निर्णय लिएका थिए ।

अघिल्लो दिनबाटै बिग्रिएको मौसमका कारण पाथिभरा पुगेका उनी राम्रो मौसम हुनासाथ उड्नुपर्ने पक्षमा थिए । उक्त दिन पाथिभरामा ठूलो हावाहुरीसहित हिउँ परिरहेको थियो ।पाथिभरास्थित हेलिप्याडबाट उडेको एक मिनेटभित्रै हेलिकप्टर भीरमा ठोक्किएर दुर्घटनामा परेको थियो ।

पाइलटलाई अक्सिजनको कमी भयो की ?

सामान्यतया हेलिकप्टरबाट सीधै पाथिभरा जानेहरुका लागि यहाँ हाइअल्टिच्युडको खतरा हुन्छ । कतै उनी पनि यस समस्याबाट आत्तिएका थिए की भन्ने आंशका आयोगले गरेको छ ।

४५ मिनेटसम्म बस्दा मानिसको शरीर स्वस्थ रहेपनि अक्सिजनको कमीले मस्तिष्कमा केही प्रभाव पारेको हुन सक्ने आंकलन गरिएको छ । यस्तो अवस्थामा मानिसले कठिन परिस्थितिमा जुन सुझबुझसहित निर्णय लिन सक्नुपर्ने थियो, त्यो लिन नसक्ने आयोगको भनाइ छ । युवा पाइलट अविवाहित थिए ।

घरमा कुनै पारिवारिक तनावसमेत नरहेका कारण पाइलटले जानाजान कुनै गल्ती गरेको प्रमाण भने भेटिएको छैन । हेलिकप्टरसमेत सन् २०१६ मा बनेको नयाँ थियो । - अच्युत पुरी, अनलाइन खबरबाट

2020-02-25-9257

दैलेख, फागुन १३ गते । कर्णाली राजमार्गअन्तर्गत कालिकोटको नरहरिनाथ गाउँपालिकाका–१ को जिते बजारमा कर्णाली नदीमा आज बिहान जीप खसेको छ । रासकोटबाट जितेगडा यात्रु लिएर आएको लु१ज ४१४१ नंको जीप फर्किने क्रममा कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिनुभएको छ ।

जीपमा सवार यात्रु झारेर ब्याक गर्ने क्रममा दुर्घटना भएको जीपमा चालक मात्र रहेको प्रहरीले जनाएको छ । जीप नदीमा खस्दा चालक दैलेख गुराँसे गाउँपालिका–४ का १९ वर्षीय चक्रबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । अहिले नदीमा खसेको जीप निकाल्ने प्रयास भइरहेको छ ।

2020-02-25-9254


काठमाडौं, फागुन १३ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दिल्ली भ्रमणको क्रममा नयाँ नागरिकता कानूनको विरुद्ध भएको प्रदर्शनमा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक प्रहरी र चार सर्वसाधारणको मृत्यु भएको जनाइएको छ ।

बीबीसीका अनुसार प्रदर्शनको क्रममा कानूनको पक्ष र विपक्षमा उत्रेका सर्वसाधारणहरुबीच द्विपक्षीय झड्प समेत भएको थियो । सो प्रदर्शनको क्रममा समर्थक र विरोधीले सवारीसाधनमा आगजनी गरेका थिए । मंगलबार अमेरिकी राष्ट्रपति ट्रम्पले वार्ताको तयारी गरिरहँदा दिल्लीको केही भाग तनावग्रस्त बनेको छ ।

मुस्लिम समुदाय बहुसंख्यक रहेको उत्तर–पूर्वी दिल्लीमा आइतबार सुरु भएको प्रदर्शन सोमबार दिनभरि जारी रह्यो । उक्त कानून मुस्लिम विरोधी रहेको भन्दै उत्तर–पूर्वी दिल्लीमा मुस्लिम महिला र पुरुषले प्रदर्शनको अगुवाइ गरेका हुन् ।

प्रदर्शनकारीले ढुङ्गा प्रहार गरेपछि भिडलाई नियन्त्रण गर्न प्रहरीले प्रदर्शनकारीमाथि बल प्रयोग गर्दा चारजनाको मृत्यु भएको छ । झड्पको क्रममा अर्का एकजना प्रहरीको मृत्यु भएको थियो । बीबीसीका अनुसार उक्त झड्पको क्रममा गम्भिर घाइते भएका ३५ जनालाई उपचारको लागि भर्ना गराइएको छ ।

सोमबार भारत भ्रमणको क्रममा अहमदाबाद पुग्नुभएका अमेरिकी राष्ट्रपति ट्रम्प मंगलबार दिनभरि दिल्लीमा उच्चस्तरीय भेटघाट र वार्तामा बिताउनुहुनेछ । -एजेन्सी

2020-02-25-9251

काठमाडौ, फागुन १३ गते । पश्चिमी न्यून चापीय वायुको प्रभाव अझै दुई–तीन पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रकृति कमजोर रहे पनि तल्लो वायुमण्डलमा स्थानीय वायुको प्रभाव रहेकाले बदलीसँगै हल्का वर्षा भइरहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । “अहिलेकोे प्रकृति हेर्दा अझै दुई–तीन दिन मौसम सुधार हुने अवस्था छैन”, मौसमविद् प्रधानाङ्गले भन्नुभयो ।

उहाँका अनुसार प्रि–मनसुनको मौसमको पूर्वावस्था भएकाले पनि यस्तो गतिविधि तथा मौसम फेरबदल भइरहेको हो । नेपालमा प्रि–मनसुन भित्रिने सरदर समय मार्च १ हो । यसलाई हेर्दा अब प्रि–मनसुन प्रवेश गर्न सात–आठ दिन बाँकी छ । अङ्ग्रेजी महिना मार्चदेखि शुरु हुने प्रि–मनसुन मे महिनासम्म रहने गर्छ । त्यस अवधिमा पहाडी भेगमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझपख हावाहुरी, मेघ गर्जन चट्याङसहित फाटफुट वर्षा हुने गर्दछ ।

हाल न्यून चापीय प्रणालीको प्रभावले पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ भने बाँकी स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
राति देशको मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य भेगका केही स्थान र पश्चिमका एक वा दुई स्थानमा मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको बताइएको छ । बिहीबार देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली भई हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम छ दशमलव दुई र अधिकतम तापक्रम २३ दशमलव शून्य डिग्री रहेको छ । त्यस्तै आज जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम माइनसमा झरेको छ ।- गोरखापत्र दैनिकबाट 


2020-02-25-9248


काठमाडौ, फागुन १३ गते । सरकारले जि टु जी मार्फत रोजगारीको लागी नेपाली कामदार जापान पठाउने प्रक्रिया अघि बढीरहेको बेला म्यानपावर व्यवसायीले आफै पठाउन पहल सुरु गरेका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बिष्णुप्रसाद गैरे जापानमा निजी क्षेत्रबाट कामदार छिटो जान सक्ने भएकोले निजी क्षेत्रबाट कामदार लिन चाहेको बताउनुहुन्छ । निजी क्षेत्रले कामदार पठाउने बिषयमा जापान सँग कुरा हुँदा सकारात्मक भएको अध्यक्ष गैरे बताउनुहुन्छ ।

निजी क्षेत्रलाई जापान पठाउन अनुमति दिए केएर गिभर र कृषिमा मात्रै नभई अन्य क्षेत्रमा पनि कामदार पठाउन सक्ने उहाँको दावी छ ।

निजी क्षेत्रले कामदार जापान पठाउने विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल भएको जानकारी दिदै अव जापान जाँदा मन्त्रालयको टोलीले यस विषयमा कुरा राख्ने गैरेको भनाई छ । हाम्रो मागको विषयमा मन्त्रालय सकारात्मक रहेको छ, अध्यक्ष गैरेको भनाई छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरे दक्ष जनशक्ति कसरी कुन मोडालिटी अपनाउँदा छिटो सुरक्षित रोजगारीमा जान सक्छन भन्ने प्रमुख कुरा रहेको बताउनुहुन्छ । जापानमा नेपाली कामदार कसरी कुन तरिकाले पठाउने विषयमा मन्त्रालयको टोली जापान जाने निधो भएको जानकारी दिँदै यस विषयमा छलफल हुने उहाँ बताउनुहुन्छ ।

तत्कालीन मन्त्री गोकर्ण विष्टले समझदारीका क्रममा वैदेशिक रोजगार कोरिया जस्तै जिटुजी मार्फत जापानमा नेपाली कामदार पठाउने व्यवस्था गरेका गर्नुभएको थियो । यता वैदेशिक रोजगार विज्ञ डा.गणेश गुरुङ निजी क्षेत्रलाई जापानमा कामदार पठाउने जिम्मा दिँदा कामदार ठगिने खतरा बढी रहेको बताउनुहुन्छ ।

सरकारले कोरिया पठाउँदा कामदार सुरक्षित र कम लागतमा जान सकेको अवस्थामा म्यानपावर कम्पनीले खाडी मुलुकमा कामदार पठाउदा पनि धेरै शुल्क असुलेको विज्ञ गुरुङको भनाई छ । म्यानपावर कम्पनीलाई कामदार पठाउने जिम्मा दिए अनुगमन सुक्ष्म र कडा सजायको प्रावधान राख्न आवश्यक भएको उहाँको भनाई छ । जापानले विदेशी कामदारले गर्नुपर्ने कामका लागि १४ वटा क्षेत्र तोकेको छ ।

जापान सरकारलेनर्सिङ केयर, रेस्टुरेन्ट, निर्माणलगायतका क्षेत्रमा विदेशी कामदारको मागमा बढी प्राथमिकता दिएको छ । - मुकुन्द गैरे, गोरखापत्र दैनिकबाट 

2020-02-24-9202



सङ्खुवासभा, फागुन १२ गते । सिलिचोङ गाउँपालिका २ बालाको सय बर्ष पुरानो बौद्ध स्तुपा टोडफोड गरि त्यस भित्र रहेको पुरातात्वीक धातुहरु चोरी भएको थियो । त्यस भित्र एउटा बुद्धको मुर्ती मात्र छोडिएर अन्य सम्पुर्ण बस्तुहरुको चोरी भएको थियो ।

भत्किएको उक्त स्तुपा र मुर्तीको सुरक्षाको लागि सिसुवाटार प्रहरी चौकीबाट प्रहरी टोली खटाईएको थियो । उक्त प्रहरी टोलीको सुरक्षाको विच छोडिएको उक्त मुर्ती पनि आइतबार राती चोरी भएको छ । घटनास्थलमा खटिएको दुई जना प्रहरीहरुले सुरक्षा गर्दा गर्दै उक्त मुर्ती चोरी भएको हो । उक्त मुर्ती पनि चोरी भएको बिहान उज्यालो भएपछि मात्र थाहा भएको वडा नम्बर २ का अध्यक्ष मोहनसंशेर कुलुङले बताउनुभयो । पुनः चोरी घटनाको बारेमा प्रहरीहरुसँग बुझ्दा नजिकै रहेको घरमा खाना खान गएको बेला चोरी भएको हुनसक्ने अध्यक्ष कुलुङले बताउनुभयो ।

बालामा एउटै समयमा दुईवटा स्तुपा भत्काईएको थियो । उक्त स्तुपा भित्र बहुमुल्य बस्तुहरु रहेको चर्चा थियो । उक्त बस्तुहरु चोरी गर्नकै लागि स्तुपा भत्काईएको वडा अध्यक्ष कुलुङले बताउनुभयो । वि.सं. १९७९ मा स्थापना गरिएको उक्त स्तुपा भित्र सोही समयमा राखिएको पुरातात्विक वस्तुहरु रहेको स्थानीय जानकारहरुलाई उदृढ गर्दै कुलुङले बताउनुभयो । बर्षौ अघिदेखिको मुद्रा, सुन, चाँदी, तामा लगायतको धातुहरु स्तुपा भित्र राखिएको जेष्ठ जानकारहरुले बताएको अध्यक्ष कुलुङको भनाई छ ।

यस अघिको पटक पटकको चोरी घटनामा कोही पनि कारबाहीमा नपरेपछि सुरक्षा निकायसँग रुष्ट हुँदै आएको स्थानीयहरु प्रहरीकै निगरानीमा रहेको पुरातात्विक वस्तु हराउनु सामान्य नरहेको प्रतिकृया दिन थालेका छन् । सिलिचोङ क्षेत्रमा पछिल्लो समय चोरीको घटना बढ्दो अवस्थामा रहेपनि सुरक्षा ब्यवस्था कमजोर रहेको स्थानीयको आरोप छ । चोरीका पिडितहरुले प्रहरीमा उजुरी दिए पनि अहिलेसम्म कोही पनि कारबाहीको दायरामा आउन नसक्नुले अनुसन्धान अत्यन्तै फितलो रहेको स्थानीयको भनाई छ ।

प्रहरीबाट कुनै पनि घटनाको गहन अनुसन्धान नहुँदा अपराधीक मानसिकता भएकाहरुलाई प्रश्रय मिलेको स्थानीय ईन्द्रबहादुर कुलुङको भनाई छ । केही बर्ष अघि उक्त घटनास्थल नजिकै रहेको बाला माविको विद्यालय भवन तोडफोड गरि कम्प्युटर चोरी गर्नेको पनि पहिचान हुन सकेको थिएन । दुई हप्ता अघि सिलिचोङ गाउँपालिकाको कार्यालय परिसरमा रहेको मोटरसाईकल चोरी गर्ने पनि अहिलेसम्म पत्ता लाग्न सकेको छैन । सिसि टिभिको फुटेज समेत प्रहरीलाई उपलब्ध गराएपनि अहिलेसम्म चोरी गर्नेको पहिचान हुन सकेको छैन ।

यस विषयमा कुरा गर्दा घटनाहरुको अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रमुख डिएस्पी मिमबहादुर लामाले बताउनुभयो । जिल्लामा पर्याप्त प्रहरी जनशक्ति नहुँदा अनुसन्धानको नतिजा आउन ढिलो भएको लामाको भनाई छ । थोरै जनशक्ति भएपनि निरन्तर अनुसन्धान भईरहेकोले ढिलो चाँडो कारबाहीको दायरामा आउने डिएस्पी लामाले दावी गर्नुभयो । यसको लागि स्थानीयले पनि अनुसन्धानमा सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । सवै ठाउँमा सुरक्षाकर्मीलेमात्र सुरक्षा दिन नसक्ने भएकोले स्थानीयले पनि आफ्नो सम्पत्ती सुरक्षित राख्नु पर्ने डिएस्पी लामाले बताउनुभयो । - ध्यान कुलुङ, गोरखापत्र दैनिकबाट 

2020-02-24-9198

चितवन, फागुन १२ गते । पदयात्रा पर्यटनमा विश्वमा नै चासो र चर्चा हुने अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्दै गएको छ । पर्यटकीय नगरी पोखराबाट करिब एक हप्ता समयावधिको पदयात्राबाट अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ । पदमार्गमा पर्ने हिमालयबाट माथि देउरालीको बीच करिब तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कु आसपासमा गत माघ ३ गते गएको हिमपहिरोका कारण यो पदमार्ग केही समय अवरुद्ध बनेको थियो । उक्त हिमपहिरोका कारण चार कोरियाली नागरिकसहित तीन नेपाली हराएपछि सरकारी उद्धार टोलीसहित कोरियाली उद्धार टोलीसमेतले हराएका व्यक्तिको खोजी कार्य जारी राखेका छन् ।

नेपालमा पदयात्रा पर्यटनको दोस्रो मुख्य यामका रूपमा लिइने मार्च, अप्रिल र मे महिनालाई लक्षित गरी पहिरो गएको ठाउँमा अवरुद्ध बाटो खुल्ला गरिएसँगै यहाँ पर्यटकको आगमन दिनानुदिन बढ्दै गएको छोम्रोङ पर्यटन समितिका सचिव एवं फिष्टेल गेष्ट हाउस, अन्नपूर्ण आधार शिविरका सञ्चालक दिलीप गुरुङले जानकारी दिनुभयो ।

हिङ्कु क्षेत्रमा हराएका व्यक्तिको प्राविधिकसहितको ११ सदस्यीय टोलीले खोजी कार्यसमेत जारी राखेको बताउँदै उहाँले यसबीचमा पर्यटक जाने क्रम पनि बढिरहेको बताउनुभयो । विगतमा अन्नपूर्ण आधार शिविरमा विशेषगरी विदेशी पर्यटक नै ठूलो सङ्ख्यामा पदयात्राका लागि जाने गरेकामा पछिल्ला वर्षमा भने आन्तरिक पर्यटक जाने क्रम अझै बढेको उहाँको भनाइ छ । नेपालीमा बढ्दै गएको घुमफिर संस्कृतिको विकाससँगै पछिल्ला वर्षमा यस क्षेत्रको पदयात्राका लागि देशका विभिन्न भागबाट आन्तरिक पर्यटक आउने गरेको उहाँले बताउनुभयो ।

हिमाल आरोहणको क्षेत्रमा सबैभन्दा जेठो हिमालका रूपमा चर्चित अन्नपूर्ण हिमालको परिधिमा गरिने पदयात्रा विश्वका उत्कृष्ट पदयात्रा मार्गमध्येमा पर्ने टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका पूर्वअध्यक्ष दीपक अधिकारीले बताउनुभयो ।

अन्नपूर्ण आधार शिविरमा विशेषगरी युरोप, अमेरिकाका साथै मलेसिया, चीन, कोरियालगायतका देशका नागरिक बढी मात्रामा आउने गरेको उहाँले बताउनुभयो । यस याममा कोरियाली तथा चिनियाँ पर्यटक बढी मात्रामा आउने गरेकामा ती देशमा फैलिएको कोरोना भाइरसका कारण उनीहरूको आमगन भने कम हुने भएको छ ।

देशका धेरै पदयात्रा मार्गमा जथाभावी बाटो खन्ने क्रमले समग्र पदयात्रा पर्यटन नै जोखिममा पर्दै गएको बताउँदै अधिकारीले यसतर्फ राज्यको चासो पुग्न नसकेको बताउनुभयो । “जथाभावी बाटो खन्ने नाममा पदमार्ग छोटिएका छन्”, उहाँले भन्नुभयो, “बाटो खन्ने क्रम नरोकिने र अन्य वैकल्पिक मार्गको खोजीतर्फ पनि चासो नदिँदा समग्र पदयात्रा पर्यटन नै धराशायी बन्दै गएको छ ।”

सन् १९५० जुन ३ तारिखमा सर्वप्रथम फ्रान्सका हिमाल आरोही मोरिस हर्जोगले अन्नपूर्ण प्रथमको सफल आरोहण गरेसँँगै विश्वमै हिमाल आरोहणतर्फ आकर्षण बढ्दै गएको हो । अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै यो क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले बताउनुभयो । समुद्री सतहदेखि चार हजार १३० मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले पदयात्रा गरेका थिए ।

अन्नपूर्ण आधार शिविरमा अघिल्लो वर्ष २८ हजार ५३१ विदेशी पर्यटकले पदयात्रा गरेका थिए । विदेशी पर्यटकका नेपाली सहयोगीसमेत गरी गत वर्ष अन्नपूर्ण आधार शिविरमा पुग्नेको सङ्ख्या एक लाखभन्दा बढी रहेको छ ।

जलवायु परिवर्तनका कारण समय समयमा आउने हिमपहिरो हिमाली क्षेत्रको पदयात्रा पर्यटनमा चुनौती बन्दै गएको व्यवसायी बताउँछन् । जलवायु परिवर्तनबाट हुने सम्भावित जोखिमको न्यूनीकरणतर्फ राज्यको चासो पुग्नुपर्ने र त्यही किसिमका पूर्वाधार निर्माण हुनुपर्ने देखिएको छ ।

चार दशक अघिसम्म अन्नपूर्ण आधार शिविर जाने पर्यटक यहाँका भेडीगोठ र स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडीमा बस्नुपर्ने बाध्यता रहेकामा अहिले भने सबै किसिमका सुविधा सम्पन्न होटेलमा बस्न पाइने भएको व्यवसायी दिलीप गुरुङले बताउनुभयो ।

अन्नपूर्ण आधार शिविरमा पहिलो पटक २०३८ सालमा पर्यटकलाई लक्षित गरी सुविधासम्पन्न होटल सञ्चालन शुरु गरिएकामा अहिले यस क्षेत्रका सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छ्रे« आधार शिविर र अन्नपूर्ण आधार शिविरसमेत गरी २६ होटल सञ्चालनमा आएका छन् ।

धार्मिक एवं सांस्कृतिकरूपले महत्वपूर्ण मानिने यहाँस्थित बुद्धशिला, पूजनीय बराह र यहाँबाट देखिने १०८ धारासहितका धार्मिकस्थल यस क्षेत्रको पदयात्रामा जानेले प्रत्यक्ष देख्न तथा अनुभव गर्न पाउँछन् । नेपालमा पदयात्रा पर्यटनको दोस्रो याम शुरु हुन लाग्दा हिङ्कु क्षेत्रमा गएको पहिरोका कारण केही दिन पर्यटकको आमगन रोकिए पनि पछिल्ला दिन आउने पर्यटकको सङ्ख्या बढ्दै गएको गुरुङको भनाइ छ ।
- गोरखापत्र दैनिकबाट 




बुटवल, फागुन १२ गते । चालू आर्थिक वर्षको ७ महिनामा प्रदेश ५ सरकारले २२ प्रतिशत विकास बजेट खर्र्चिएको छ । गत वर्षको सापेक्षतामा बढी नै भए पनि शतप्रतिशत बजेट कार्यान्वयनमा भने समस्या देखिएको छ ।

माघ मसान्तसम्म विकास बजेट ३० प्रतिशत खर्च गर्ने दाबी गरेको प्रदेश ५ सरकारले २२ प्रतिशत मात्र खर्च गरेको छ । बजेट कार्यान्वयनको यो गतिले शतप्रतिशत बजेट कार्यान्वनको सम्भावना क्षीण हुँदै गएको छ ।

वित्तीय संघीयताको अभ्यास गर्दै दुुई पटकसम्म बजेट ल्याएको प्रदेश सरकारले विनियोजित बजेट प्रभावकारी रुपमा खर्च गर्न असफल देखिएको छ । गत वर्ष माघ मसान्तसम्म १८ प्रतिशत मात्र बजेट खर्च भएको थियो ।

अघिल्लो वर्षको तुुलनामा खर्चको अनुुपात भने निकै माथि छ । तर बजेट कार्यान्वयनको अवस्था भने उत्साहप्रद छैन । सरकारले भने बजेट सन्तोषजनक रुपमा खर्च भएको दाबी गरेको छ ।

सबै आयोजनाको ठेक्का लागिसकेको र निर्माणको चरणमा गइसकेकाले आगामी दिनमा पुँजीगत खर्च वृद्धि हुने प्रदेश ५ सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीको भनाइ छ ।

७ महिनामा २२ प्रतिशत बजेट कार्यान्वयनमा ल्याएको सरकारले बाँकी ५ महिनामा ७७ प्रतिशत बजेट खर्च गर्नुपर्ने देखिन्छ । यसले विगतका वर्षहरुमा जस्तै असारे विकासले प्रश्रय पाउने अवस्था दोहोरिने देखिएको हो ।

विभिन्न मन्त्रालयमध्ये सबैभन्दा बढी २५ प्रतिशत बजेट उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले गरेको छ भने सबैभन्दा कम भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ६ प्रतिशत मात्र गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रमुख दिपक ज्ञवालीले जानकारी दिए ।

कानुन निर्माण र अन्य विकासका पूर्वाधारको गतिलाई हेर्दा प्रदेश ५ अन्य प्रदेशका तुलनामा अगाडि देखिए पनि बजेट कार्यान्वयनमा भने दोस्रो स्थानमा परेको छ ।

बजेट कार्यान्वयनको विगतको अवस्थालाई हेर्दा सकारात्मक देखिए पनि यसको गतिलाई भने अझै तीव्र पार्नुपर्ने देखिन्छ ।


यसै गरि आर्थिक वर्षको ६ महिना बितिसक्दा पनि कर्णाली प्रदेश सरकारले अधिकांश ठूला विकास आयोजनाको काम सुरु गर्न सकेको छैन ।

यसबीचमा विकास खर्च पाँच प्रतिशत हाराहारीमा मात्र गरेको कर्णाली प्रदेशले केही योजना मात्रै प्रक्रियामा अगाडि बढेका छन् ।

बजेट कार्यान्वयनमा कर्णाली प्रदेश सरकार अघिल्लो आर्थिक वर्षभन्दा पनि सुस्त देखिएको छ ।

चालू आर्थिक वर्षको ६ महिनासम्मको खर्च गत वर्षभन्दा निकै कम भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

माघ मसान्तसम्म मन्त्रालय र विभिन्न निकायको पुँजीगततर्फ ४ दशमलव ४६ प्रतिशत खर्च भएको छ ।

विकास योजनाहरूको काम सुरु भएकोले खर्च देखिन केही समय लाग्ने कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव दिलिप केसीको भनाइ छ ।

प्रदेश सरकारले विकास पूर्वाधार प्राधिकरण गठन गरेर ठूला आयोजना मुख्यमन्त्री कार्यालयबाट कार्यान्वयन गर्ने योजना अघि सारेको थियो ।

तर आर्थिक वर्षको मध्यसम्म पनि प्राधिकरण गठन हुन नसकेपछि बजेट कार्यान्वयनमा समस्या देखिएको हो ।

मुख्यमन्त्रीको अध्यक्षतामा रहने प्राधिकरणमार्फत् खर्च गर्ने गरी ५ अर्ब बजेट विनियोजन गरिएको छ ।

प्राधिकरण मार्फत सरकारले सडक, भवन, खानेपानी, सिँचाइ, विद्युत् तथा पर्यटकीय पूर्वाधारका ठूला आयोजना सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

अधिकांश मन्त्रालयको बजेट कार्यान्वयनको अवस्था अत्यन्त निराशाजनक स्थितिमा छ ।

यता स्थानीय जनताको आयस्तर सुधारका लागि तथा बजेट कार्यान्वयन गर्ने भन्दै सरकारले गत वर्ष सञ्चालन गरेका विभिन्न आयोजनामा अनियमितता भएको कर्णाली प्रदेशसभाको अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष अम्मरबहादुर थापा बताउँछन् ।

योजना मात्र बनाउने तर कार्यान्वयनमा पटक्कै ध्यान नजाने प्रवृत्तिले गर्दा सरकारको आलोचना भइरहेको छ । यसतर्फ मनन गरी आगामी दिनमा आफ्नो कार्यशैली सुधार गर्नु कर्णाली प्रदेश सरकारको चुनौती हो । -दीपक घिमिरे, ईमेज खबरबाट



काठमाडौं, फागुन १२ गते । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ ।

नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१४७ औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । आज बराह वर्ष पूरा भई सोमबारदेखि मुसा वर्ष सुरु हुँदैछ ।

ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौं राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो । समयक्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता बताउँछन् ।

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो ।

पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाउँछन् । - अनलाइन खबरबाट 



काठमाडौं, फागुन १२ गते  । ‘जो अगुवा उही बाटो…’ भन्ने नेपाली आहान नेकपामा चरितार्थ भएको छ । नेकपाका वरिष्ठतम अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले आफ्नै पार्टीले बनाएको आचारसंहिता उल्लंघन गरेका छन् ।

नेकपाले केन्द्रीय कमिटीको बैठकअघि गत माघ ५ गते कार्यकर्ताहरुमा एउटा सर्कुलर पठाएको थियो, जसमा ११ बुँदै आचारसंहिता पालना गर्न भनिएको थियो ।

सो आचार संहिताको दोस्रो बुँदामा भनिएको छ, ‘जन्म दिन ब्रतबन्ध पास्नीजस्ता परम्परागत संस्कारहरुलाई घर परिवारमा मात्र सीमित गर्नुपर्छ ।’

तर, प्रधानमन्त्री ओलीले आफ्नो जन्मोत्सव राजा महाराजाको शैलीमा तडक भडकपूर्ण किसिमले मनाएर आफ्नै पार्टीको आचारसंहिताको खिल्ली उडाइदिएका छन् ।

पार्टीभित्र विधिविधान र नियम कानून सानालाई मात्र लागू हुन्छ भन्ने सन्देश प्रधानमन्त्रीको व्यवहारले देखाइदिएको छ ।

यतीको हेलिकप्टरमा नेपालको नक्शा अंकित केक !

नेकपाको आचारसंहितामा ‘बर्थ डे’ घर परिवारमा मात्र सीमित गर्नुपर्ने प्रावधान भए पनि प्रधानमन्त्री ओलीको जन्मोत्सवमा तेह्रथुमको आठराईमा नेपालको नक्शा अंकित केक हेलिकप्टरमा लगिएको थियो । ओलीको जन्मोत्सव मनाउन चारवटा हेलिकोप्टर आठराई पुगेका थिए ।

यती समूहका सोनाम शेर्पा नेपालको नक्शा स्वरुपको केक लिएर आफ्नै हेलीकप्टरमा प्रधानमन्त्रीलाई शुभकामना दिन पुगेका थिए ।

नेपालको नक्शालाई केक बनाएर काटेको भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीमाथि चर्को आलोचना भएको छ । कतिपयले भारत, अमेरिका लगायत विदेशमा पनि सरकार प्रमुखको जन्म दिनमा देशको नक्शा अंकित केक काट्ने गरिएको तर्क गरेका छन् ।

तर, विदेशमा त्यस्तो प्रचलन छ भन्दैमा नेपालको नक्शालाई काटेर खानु उचित नभएको भन्दै प्रधानमन्त्री ओलीको आलोचना भइरहेको छ ।

सञ्चारमन्त्री गोकुल बास्कोटाले दलालसँग कमिसनको कुरा गरेको अडियो सार्वजनिक भएपछि सरकारतर्फ सोझिएको जनआक्रोशमा प्रधानमन्त्री ओलीको तडक–भडकपूर्ण राजसी जन्मोत्सवले आगो घिउको काम गरेको छ ।

अब पार्टीको आचार संहिता उल्लंघन गर्ने प्रधानमन्त्री ओलीलाई पार्टीले के कारवाही गर्छ या गर्दैन, हेर्न बाँकी छ । - अनलाइन खबरबाट 

2020-02-24-9184



काठमाडौँ, फागुन १२ गते । नेपालको सेयर बजार इतिहासमै नयाँ रेकर्ड कायम गर्दै आइतबार साढे तीन अर्ब रुपियाँभन्दा बढीको कारोबार भएको छ ।
पछिल्ला दिनमा कारोबारमा नयाँ रेकर्ड कायम गरिरहेको सेयर बजारले साताको पहिलो दिन साढे तीन अर्ब रुपियाँभन्दा बढीको कारोबार भएर पछिल्लो नयाँ रेकर्ड कायम गरेको हो ।
आइतबार १७८ कम्पनीका ८७ लाख ६९ हजार ५२२ कित्ता सेयरको ३० हजार ४५६ पटक खरिदबिक्री हुँदा कुल तीन अर्ब ६० करोड ८५ लाख २६ हजार ३५४ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ८२ करोड रुपियाँले बढी हो ।
यद्यपि कारोबारका हिसाबले यो दोस्रो रेकर्ड हो । अघिल्लो साताको अन्तिम दिन पनि दुई अर्ब ७८ करोड ५० लाख रुपियाँभन्दा बढीको सेयर खरिदबिक्री भएर त्यो दिनसम्मको नयाँ रेकर्ड कायम भएर बन्द भएको थियो । त्यसअघि पनि दुई अर्ब ६८ करोडभन्दा बढीको कारोबार भएर पनि नयाँ रेकर्ड कायम गरेको थियो ।
यही फागुन ५ गते सोमबार भएको कारोबार रकम तीन वर्षमा धेरै थियो । यसअघि २०७३ साउन ११ गते हालसम्मकै सर्र्वािधक दुई अर्ब ७५ करोड ३७ लाख रुपियाँ बराबरको सेयर कारोबार भएको थियो । सो पश्चात् एकै दिनमा भएको फाग्ुन ५ गतेको कारोबार धेरै थियो ।
सो दिन नेप्से परिसूचक पनि १८६६.५० बिन्दुमा पुगेको थियो । जे होस् औपचारिक रूपमा सेयर बजारकै करिब तीन दशकको इतिहासमा आइतबारको कारोबार उच्चतम बिन्दु हो । सेयर बजारमा आइतबार कारोबार रकमसँगै कारोबार सङ्ख्या र खरिदबिक्री भएको सेयरको सङ्ख्याका आधारमा पनि नयाँ रेकर्ड कायम भएको हो ।
आइतबारको कारोबार रकमसँगै सेयर बजार मापक नेप्से परिसूचक पनि दुई वर्षयताकै उच्च बिन्दु अर्थात् एक हजार पाँच सयभन्दा माथि लागेको छ । पहिलो दिन नेप्से परिसूचक ६९.५६ अङ्कले उकालो लागेर १५०४.१४ को बिन्दुमा पुगेर रोकिएको छ भने ‘क’ वर्गका कम्पनी मापक सेन्सेटिभ इन्डेक्स १७.०७ अङ्कले उकालो लागेर ३१७.५० को बिन्दुमा पुगेर रोकिएको छ । समग्रमा यस दिनको नेप्से ४.८५ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि ५.६८ प्रतिशतले उकालो लागेको छ ।

लगानीकर्ताको मनोबल बढ्यो
पछिल्ला दिनमा बैङ्कहरूले सेयर लगानीकर्ताका लागि गरेको ऋणको व्यवस्था, नियमनकारी निकायहरूको सकारात्मक कदमजस्ता कुराले लगानीकर्ताको मनोबल बढेको बताउनुहुन्छ सेयर विश्लेषक पविन्द्र आचार्य । चीनबाट सामान आयात गर्ने व्यापारी त्यहाँ देखिएको कोरोना भाइरसका कारण सेयर बजारमा पैसा लगानी गर्न थालेपछि पछिल्ला दिनमा सेयर कारोबार रकम बढेको विश्लेषण उहाँको छ ।
आइतबार लगानीकर्ताको आकर्षण बैङ्किङ क्षेत्रमा देखिएपछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा परेको भन्दै नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार भन्नुहुन्छ, “बजार विस्तारै बढ्छ भन्ने लागेको थियो तर आइतबारको वृद्धि अचानक हो, आश्चर्य भने होइन । अब सेयर बजारको भविष्य उज्ज्वल छ ।”
७० अङ्कले नेप्से बढ्नु र ३६० करोड रुपियाँको कारोबार समग्र सेयर बजारकै लागि ऐतिहासिक क्षण भएको भन्दै उहाँ बैङ्किङ क्षेत्रको सेयर मूल्य एकदमै कम भएका बेला लगानी गर्ने मौकालाई सदुपयोग गर्दै लगानीकर्ता बैङ्किङ क्षेत्रमा तानिएको विश्लेषण गर्नुहुन्छ ।
अबको सेयर बजारमा सामान्य करेक्सन भए पनि धेरै अन्तरले नघट्ने भन्दै उहाँ नयाँ लगानीकर्तालाई बजारमा प्रवेश गर्दा थप सजग हुनुपर्ने सुझाव दिनुहुन्छ । बजार बढेका बेला नयाँ लगानीकर्ता हौसिएर प्रवेश गर्नेभन्दा पनि सुझबुझपूर्ण तरिकाले प्रवेश गर्नुपर्ने भनाइ उहाँ राख्नुहुन्छ ।
अघिल्लो साताको सुरुदेखि नै उकालो बाटो पछ्याएको सेयर बजार साताको अन्तिम कारोबारका दिनमा पनि दोहोरो अङ्कले सुधारिएको थियो । - भेषराज बेल्बासे, गोरखापत्र दैनिकबाट 



काठमाडौं, फागुन ९ गते । नेपाली बजारमा सुनको मूल्यमा दिनहुँ नयाँ कीर्तिमान बन्नेक्रम शुक्रबार पनि जारी रह्यो ।

शुक्रबार छापावाल सुनको मूल्य तोलाको ७८ हजार १०० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

यसदिन सुनको मूल्य तोलामा ५०० ले बढेर तोलाको ७८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलाको ७७ हजार ६०० रुपैयाँ थियो ।

यही फागुन ६ गतेयता नेपाली बजारमा सुनको मूल्यमा दिनहुँ नयाँ कीर्तिमान बनिरहेको हो ।

शुक्रबार स्थानीय बजारमा तेजाबी सुन पनि तोलामा ५०० रुपैयाँले बढेर तोलाको ७७ हजार ८०० कायम भएको छ ।

यसदिन चाँदीको मूल्य भने तोलाको ९१५ रुपैयाँमै स्थीर रहेको जनाइएको छ ।

"कोरोना’ कारण

सुनको मूल्य निरन्तर बढ्नुमा ‘कोरोना भाइरस’ नै मुख्य कारण रहेको बताइन्छ ।

चीनबाट फैलिएको कोरोना अर्थात् ‘कोभिड–१९’ को असर अन्तर्राष्ट्रिय सुनबजारमा समेत परेको विज्ञको भनाइ छ ।

कोरोना भाइरसका कारण चीनमा दुई हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । आर्थिक क्षेत्र सुस्ताएको छ ।

चिनियाँ क्षेत्रमा आर्थिक कारोबार घटेसँगै सुनमा लगानीकर्ताको आकर्षण बढेको छ । सोही कारण सुनको मूल्य निरन्तर उकालो लागेको विज्ञको ठहर छ ।

‘सुनको मूल्य दैनिकरुपमा बढ्नुमा कोरोना नै मुख्य कारण हो’–नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले शुक्रबार इमेजखबरसित भने ।

उनकाअनुसार कोरोना भाइरसकै कारण लगानीकर्ता सम्पत्ति सुरक्षित गर्न सुनमा बढी आकर्षित भएका हुन् । जसले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढायो । त्यसको स्वाभाविक असर नेपाली बजारमा पनि परेको हो ।

कारोबार घट्यो

शाक्यकाअनुसार फागुन महिना लागेपछि नेपाली बजारमा सुनको कारोबार घटेको छ । माघभन्दा अहिले कारोबार घटेको उनले जानकारी दिए ।

‘फागुन लागेपछि दैनिक १०–१५ किलोको हाराहारीमा मात्र कारोबार भइरहेको छ’–उनले भने–‘मूल्य बढ्दै गएपछि कारोबार घट्दै गएको हो ।’

यतिबेला अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंन्स १६२६ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको उनले जानकारी दिए ।

सुनको मूल्य अझै बढ्नसक्ने संकेत देखिएको शाक्यको भनाइ छ ।- इमेज खबर डट कामबाट 



काठमाडौं, फागुन ९ गते । सरकारले नवप्रवर्तन (नयाँ प्रविधिको माध्यमबाट कम समय, लागत तथा स्रोतको उपयोग गरी उच्च गुणस्तरको आविष्कार तथा प्रणालीको विकास गर्ने स्वउद्यम) काम गर्न चाहनेलाई ५० लाख रुपैयाँसम्म शुरुवाती उपलब्ध गराउने भएको छ ।

आर्थिक वर्ष २०७६/७७ को बजेटमा उल्लेख गरेको कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि तयार पारेको छ । कार्यविधि अनुसार नवप्रर्वतनको काम गर्न चाहने व्यक्ति/व्यवसायीले कूल लागतको ५० प्रतिशतसम्म सरकारबाट अनुदान पाउने भएको छ । त्यस्तो अनुदान अधिकतम् ५० लाख रुपैयाँसम्म हुने कार्यविधिले उल्लेख गरेको छ ।

सरकारले हरेक वर्ष नवप्रवर्तनीय कार्य संचालनका लागि रकम विनियोजन गर्ने भएको छ । त्यसबाट शुरुवाती पूँजीका रुपमा लगानी हुने प्रस्तावको लागत तथा त्यसबाट प्रभावको आधारमा कूल लागतको बढीमा ५० प्रतिशतसम्म सरकारले अनुदान दिने छ ।

त्यस्तो रकम ५० लाख हुने कार्यविधिमा प्रावधान राखिएको छ । अनुदान प्राप्त गर्न भने अर्थ मन्त्रालयले छनोट समिति बनाउने भएको छ । सरकारले चालु आवबाट पहिलोपटक यस्तो प्रावधान ल्याएको हो ।

अनुदान वितवरण गर्न निर्देशन समिति बन्ने

कार्यविधि अनुसार नवपर्वतनका कार्य गर्ने उद्यमीलाई शुरुवाती पूँजी अनुदानस्वरुप उपलब्ध गराउने सम्बन्धका कामकारवाही व्यवस्थित गर्न एक निर्देशन समिति बन्ने भएको छ ।

उक्त समितिको संयोजक राष्ट्रिय योजना आयोगका एक सदस्य हुनेछन् । उनलाई आयोगका उपाध्यक्षले जिम्मेवारी तोक्न सक्ने प्रावधान बनाइएको छ ।

अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, शिक्षा, विज्ञा तथा प्रविधि मन्त्रालयका सहसचिव सदस्य रहनेछन् भने राष्ट्रिय योजना आयोगका सहसचिवलाई सदस्यसचिवको जिम्मेजारी तोकिएको छ । यो समितिको सचिवालयसमेत आयोगमै रहने भएको छ ।

कस्तो क्षेत्रका उद्यमीले पाउँछन् अनुदान ?

सूचना प्रविधि, कृषि, ऊर्जा, स्वास्थ्य सेवा, पर्यटन प्रविधि विकास, रोजगारी सिर्जना जस्ता नवप्रवर्तनीय ज्ञान, सीप र क्षमता भएका आविश्कारकर्ताले यस्तो अनुदान पाउने छन् ।

नवप्रर्वतीय ज्ञान, सीप र क्षमताबाट कुनै वस्तु वा सेवाको आविश्कार, उत्पादन वा

व्यवसाय गर्न आवश्यक लगानी जुटाउन नसकेका लघु, घरेलु, साना तथा मझौला उद्यमी र व्यवसायीले यस्तो अनुदान पाउने भएका छन् ।

अनुदानको प्रस्ताव आहृवान गरिने

निर्देशन समितिले नै अनुदानका लागि प्रस्ताव आहृवान गर्ने जिम्मेवारी कार्यविधिले दिएको छ । समितिले नवप्रर्वतनीय काम गर्न चाहने उद्यमी तथा व्यक्तिबाट दुई वटा राष्ट्रिय दैनिक सूचना प्रकाशित गरि समितिले प्रस्ताव माग्ने भएको छ ।

यस्तो प्रस्ताव आइसकेपछि नवप्रवतनीय कार्यका लागि अनुदान प्राप्त गर्न चाहने आविश्कारकर्ता, उद्यमी, व्यवसायी वा संस्थाले आफूले गर्न खोजेको काम, त्यसको जोखिम, प्रतिफल, आवश्यक रकम, नेपाल सरकारबाट अपेक्षा गरिएको अनुदान रकम, त्यसले अर्थतन्त्रमा पार्ने प्रभावजस्ता विषय समेटेर निवेदन दिनुपर्ने भएको छ । यसको ढाँचा निर्देशक समितिले नै बनाउने भएको छ ।

आएका प्रस्तावमाथि मूल्यांकन गर्न निर्देशक समितिले उपसमिति बनाउने भएको छ । उपसमितिले १ महिना भित्र मूल्यांकन गरी अनुदान सिफारिस गर्न सक्नेछ ।

काम शुरु गरेपछि पहिलो किस्ता

अनुदानका लागि छनोट भएका व्यक्ति तथा उद्यमीले अनुदानको पहिलो किस्ता काम शुरु गरेपछि पाउने भएका छन् । दोस्रो किस्ता कार्यप्रगतिका आधारमा माग भएअनुसार र तेस्रो किस्ता काम सम्पन्न भएपछि पाउने गरी कार्यविधि बनाइएको छ ।

यस्तो अनुदान कार्यक्रममा प्रयोग नभएको पाइएमा यो रकम सरकारी बाँकि सरह असुल उपर हुने कार्यविधिले स्पष्ट पारेको छ । अनुदान जुन प्रयोजनका लागि लिइएको हो, सोही प्रयोजनमा खर्च गर्नुपर्ने गरी प्रावधान बनाइएको हो ।

अनुदान पाउने व्यक्ति स्थायी लेखा नम्बर लिने र कर्जा सूचना केन्द्रको कालोसूचिमा नपरेको हुनुपर्छ ।
- अनलाइन खबरबाट 



काठमाडौं,फागुन ९ गते । नोवेल कोरोना (कोभिड-१९) भाइरसको संकेत देखिएका नेपालसहित नौ देशका विरामी स्वास्थ्य लाभ गरेर घर फर्किएका छन् । नेपाल, श्रीलंका, फिनल्याण्ड, इजिप्ट, कम्बोडिया र बेल्जियममा एक/ एक जनामा कोभिड-१९ को संकेत देखा परेको थियो ।

यस्तै, भारतमा तीन तथा स्पेन र रसियामा दुई/दुई जनामा कोभिड-१९ को लक्षण देखिएको थियो । शुक्रबार विहानसम्म यी ९ वटै देशका सबै बिरामी घर फर्किसकेका छन् ।

१८ हजारलाई स्वास्थ्य लाभ

कोभिड-१९ देखिएका मध्ये १८ हजार ५८० जनालाई स्वास्थ्य लाभ भइसकेको छ ।

चीनसहित २० देशमा भने अझै पनि यो भाइरसको संकेत देखिएका छन् । यस्ता बिरामी चीनमा सबैभन्दा बढी ७५ हजार ४६५ जना छन् ।

सबै देशमा गरेर ७६ हजार ७३८ जनामा कोभिड-१९ को संकेत देखा परेको छ । त्यसमध्ये ५५ हजार ९११ जनामा मात्रै यो भाइरस सक्रिय रहेको एजेन्सीहरूले जनाएका छन् । उनीहरू मध्ये ४३ हजार ८४६ जनामा यसको हल्का असर मात्रै देखिन्छ ।

साढे २२ सयको मृत्यु

कोभिड-१९ को संकेत देखिएका मध्ये १२ हजार ६५ विरामी गम्भिर अवस्थामा छन् । नौ देशमा गरेर जम्मा दुई हजार २४७ जनाको मृत्य भएको छ । गम्भीर बिरामी मध्ये ११ प्रतिशतको ज्यान गएको देखिन्छ ।

चीनमा दुई २३६, इरान, हङकङ र डाइमन्ड पि्रन्सेसमा दुई/दुई जनता तथा दक्षिण कोरिया, जापान, ताइवान, फ्रान्स र फिलीपिन्समा एक/एक जनाको ज्यान गएको हो ।

पछिल्लो पटक चार देशमा मात्रै थप संक्रमित देखिएका छन् । चीनमा ८८९, दक्षिण कोरियामा ४५, अमेरिकामा १२, जापानमा ३ र क्यानडामा एक जनामा नयाँ संक्रमित देखिएका हुन ।

केही महिनामै भ्याक्सिन बन्न सक्ने

विश्वको ध्यान तानेको कोरोना भाइरसको उपचार अझै पत्ता लागिसकेको छैन । कोभिड-१९ विरुद्धको भ्याक्सिन पत्ता लगाउन विभिन्न पहल भइरहेका छन् ।

अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरुले भने केही महिनाभित्र कोभिड-१९ विरुद्धको भ्याक्सिन उपलब्ध हुन सक्ने दाबी गरेका छन् । प्रोफेसर सराह गिलबर्ट नेतृत्वको टिमले कोभिड -२०१९ लाई थप फैलिनबाट रोक्न भ्याक्सिनको विकास अन्तिम चरणमा पुर्‍याएको हो ।

सुरुमा ट्रायलका लागि एक हजार डोज उत्पादन गरिने उनीहरुले बताएका छन् । यसअघि विश्व स्वास्थ्य संगठन (डब्लुएचओले) यस्तो भ्याक्सिन विकास हुन १८ महिना लाग्ने अनुमान गरेको थियो । यही टिमले कोरोना भाइरससँगै सम्बन्धी ‘मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम’ विरुद्धको खोपमा पनि काम गरिरहेको छ ।

प्रोफेसर गिलबर्टका अनुसार विकास भइरहेको भ्याक्सिनको नाम ChAdOx1 nCoV-19 हो ।

– एजेन्सीहरूको सहयोगमा - 

2020-02-21-9030

काठमाडौँ, फागुन ९ गते । पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी भेगका धेरैजसो स्थान र मध्य तथा पूर्वी भूभागका केही स्थानमा मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भूभागका केही स्थानमा मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको र पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

भोलि देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भूभागका केही स्थानहरु र पश्चिमी पहाडका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । - गोरखापत्र दैनिकबाट 


2020-02-21-9008


काठमाडौँ, फागुन ९ गते । फाल्गुण कृष्ण चतुर्दशीको रात शुक्रबार भगवान् शिवको स्तुति आराधना गरेर पशुपतिनाथ लगायत मुलुकका सबै शिवालयमा धुनी बालेर महाशिवरात्रि पर्व मनाइँदैछ । यो रात शिवको आराधना गर्दा छिट्टै प्रसन्न हुने आशुतोष स्वभावका भगवान् शिवबाट इहलोक र परलोक दुवैमा भक्तलाई शिवशक्ति प्राप्त हुन्छ भन्ने पुराण लगायतका ग्रन्थमा वर्णन गरिएको छ ।
बडादसैँ अघिको कालरात्रि, लक्ष्मीपूजाको सुखरात्रि, कृष्ण जन्माष्टमीको मोहरात्रि र महाशिवरात्रि गरी यी चार रातलाई अति महŒवको रातका रूपमा लिइएको छ । माघमा महादेवको रुद्रत्वले जगत्लाई रुवाउने वा संहार गर्ने तŒवले गर्दा पत्रविहीन भई जीर्ण भएका रुख–बिरुवा, झारपात उनै महादेवको शिवत्व जगत्लाई कल्याण गर्ने तŒवले गर्दा पलाउने हुँदा फागुनमा शिवरात्रि मनाउने गरिएको हो पनि भनिन्छ ।
व्रतमध्ये सर्वश्रेष्ठ मानिएको यो दिन दूध, बेलपत्र, धतुरो चढाउने र रातभर जाग्राम रही शिवको स्तुति गर्दै व्रत बस्ने प्रचलन छ । काठमाडौँको पशुपतिनाथका साथै हाट सिंजा जुम्ला, नौलीगाउँ बझाङ, आमागाउँ रुपन्देही, कैलाशमाडौँ बाजुरा चतरामठ सुनसरी, खलङ्गा ब्राह्मणटोल प्यूठानमा चहलपहल हुनेगर्छ । यसैगरी लेगुवा धनकुटा, शेरेश्वर महादेव शोभागाउँ रुकुम, नर्वदेश्वर ओखलढुङ्गा, खोटाङको हलेसी, महोत्तरीको जलेश्वर, भक्तपुरको डोलेश्वर र अनन्त लिङ्गेश्वर, लमजुङको करापुटारमा अवस्थित सन्तानेश्वर लगायत मुलुकका सबै स्थानका कहलिएका शिवालयमा भव्यताका साथ पर्व मनाउने तयारी भएको छ ।
पशुपतिनाथ लगायतका शिवालयमा धेरै साधुको आगमन भइसकेको छ । पशुपतिनाथ मन्दिर परिसरमा नागाबाबाले धुनी जगाएका छन् । कालमोचनघाटमा पनि हिमाञ्चल प्रदेश, हरियाणा, गया, काशीबाट धेरै साधुको आगमन भएको र यसमध्ये उत्कृष्ट साधुको जमात पनि धुनीमा रहेको पशुपति गुठी गोश्वाराका वरिष्ठ लेखा सहायक युवराज रेग्मीले जानकारी दिनुभएको छ ।
क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाका अनुसार पर्वमा सुरक्षा व्यवस्थालाई महŒव दिइएको छ भने विशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वास्थ्य शिविर यत्रतत्र राखिएका छन् । रामघाट स्वास्थ्य केन्द्र पिङ्गलास्थान, आनन्दखेरा फ्रेन्ड एन्ड फेमिली ट्रस्ट, परोपकार, रेडक्रस, आर्यघाट सेवा केन्द्र र निजी अस्पतालका यहाँ शिविर छन् ।
कालमोचनको साधु अखडामा पनि साधुले धुनी जगाएका छन् । पशुपतिनाथमा रातको चार प्रहरै पञ्चामृतसहित अतिरुद्री र अन्य चार प्रकारका पूजा अतिरिक्त महादीप, अखण्डदीप, दीपोत्सव र लाख बेलपत्र अर्पण गरेर पशुपतिनाथको आराधना हुँदैछ । ज्योतिषी डा. सुनील सिटौलाका अनुसार शुक्रबार साँझ ५ः४० बजेसम्म त्रयोदशी परेकाले यो समयपछि शिवको आराधना, पूजा गर्दा उत्तम हुन्छ ।
- सरोज आचार्य, गोरखापत्र दैनिकबाट 

2020-02-20-8984



इलाम, फागुन ७ गते । होटल, रिर्सोट र कटेज थपिने क्रम बढेसँगै पर्यटकीय स्थल अन्तुको होमस्टे व्यवसाय संकटमा पर्न थालेको छ । पछिल्लो समय अन्तुमा बाहिरबाट आउने व्यक्तिले करोडौं खर्चेर रिर्सोट, सुविधा सम्पन्न होटल र कटेज निर्माण गरेर सञ्चालनमा ल्याएपछि होमस्टे व्यवसायलाई समस्या परेको हो ।

सूर्योदयको दृश्यावलोकनका लागि प्रसिद्ध अन्तुमा करिब ६३ घरमा होमस्टे सञ्चालन गरिएको छ । सस्तो खाना र वास, पारिवारिक वातावरण स्थानीय उत्पादनको खानाको परिकार, कृषिले सुधारिएको जीवनशैली सँगको निकटताले पर्यटकका लागि प्रिय बनेको अन्तुमा सुविधा सम्पन्न रिर्सोट, होटल र कजेटहरुले होमस्टेको पहिचाननैै हराउने स्थितिमा पुगेको अन्तु पर्यटन विकास केन्द्रका अध्यक्ष धनकुमार आलेले बताउनुभयो । दर्जन बढी कटेज छन्, होटल पनि धेरै बनिन थाले, उनीहरुले दिने सुविधा र होमस्टेले दिने सेवा सुविधा धेरै फरक छन्, आले भन्नुहुन्छ – होटलमा बस्न र पारिवारिक वातावरणमा बस्न पनि धेरै फरक हुन्छ ।

होमस्टेनै सञ्चालन गर्दै आउनु भएकी राधिका मगर पनि रातारात जस्तो होटलहरु बनिने गरेको बताउनु हुन्छ । आज बेलुका सुत्दा केही हुँदैन, विहान उठ्दा होटल ठडिएको हुन्छ, राधिकाले व्यङ्ग्य गर्दै भन्नुभयो– को कहाँबाट आएर व्यवसाय शुरु गर्छ पत्तो छैन, यसले होमस्टेलाई समस्या पारेको छ । दैनिक २० जना सम्म पाहुना राख्ने राधिकाले अचेल पर्यटक पनि सुविधा भोगी भएको बताउनुभयो ।

अर्का होमस्टे सञ्चालक एकराज घिमिरे पनि होमस्टेलाई पछिल्लो पटक निर्माण थालेका होटलहरुले सञ्चालनमा चुनौती थपेको बताउनु भयो । होटलमा भन्दा होमस्टेमा खाना तथा बासको दररेट न्युन छ, खानाको गुणस्तर राम्रो छ, घिमिरे भन्नुहुन्छ– तर न्युन दरमा खाना र बासको व्यवस्था गर्दा पनि पर्यटकले शहरबजारको जस्तो महंङ्गो होटल रुचाउने गरेका छन् । होमस्टेले एकै दरमा खाना खुवाउने र बास बसाउने व्यवस्था मिलाएका छन् । घिमिरेका अनुसार १७० रुपैयाँ प्रति छाक सादा खाना र चार जना सम्म बस्न सक्ने एटेज कोठालाई एक हजार तथा चार जना सम्म बस्ने ननएटेज कोठाका लागि सातसय रुपैयाँ दर राखिएको छ । होटलहरुमा दररेट छैन, पर्यटकबाट मनलाग्दी लिंदा हुन्छ, घिमिरेले भन्नुभयो– अन्तु क्षेत्रलाई होमस्टेकै रुपमा विकास गर्नुपर्छ भनेर हामीले स्थानीय सरकारलाई आग्रह गरिरहेका छौं ।

प्रदेश एक सरकारले गतवर्षदेखि पर्यटकीय नगर घोषणा गरेको सूर्योदय नगरपालिकाले पनि अन्तुलाई ‘होमस्टे हब’ कै रुपमा विकास गर्ने लक्ष्य रहेको नगरपालिका प्रमुख रणबहादुर राईले बताउनु भयो । अन्तुमा पछिल्लो समय खुलेका होटल, रिसोर्टले समस्या पारेको छ, राईले भन्नुभयो– नगरपालिकाले अब अन्तुमा कडाइ गर्दैछ, होमस्टेको कार्यविधि अनुसार नगरपालिकाबाट स्वीकृति लिएर मात्र सचालन गर्न दिने नीति लिएका छौं । नगरपालिकाले अब निर्माण हुने होटलहरुलाई विना स्वीकृत सञ्चालन गर्न नदिने नीति लिएको नगरप्रमुुख राई बताउनु हुन्छ । अहिले निर्माण भएर सञ्चालनमा आएका होटलहरुलाई पनि नगरपालिका सँग पुनः स्वीकृति लिन भनिएको राईले जानकारी दिनुभयो ।

सूर्योदयको दृश्यावलोकन र होमस्टेको बासले प्रसिद्ध अन्तुमा पर्यटकको चाप पनि उत्तिनै छ । दैनिक एक सय बढी पर्यटकहरु अन्तु डाँडामा पुगेर सूर्योदयको दृश्यावलोकन गर्ने गरेको टिकट काउन्टरका कर्मचारी बुद्धबीर तामाङले जानकारी दिनुभयो । यसरी आउने पर्यटकहरु बेलुका अन्तु पुगेर बास बस्ने गर्छन् र विहान सूर्योदयको दृश्यावलोकन गरेर फर्कने गरेका छन् । यसरी आउने पर्यटकले अन्तुमा प्रतिव्यक्ति सरदर पाँच सय रुपैयाँ खर्च गर्ने गरेको अन्तु पर्यटन विकास केन्द्रले जनाएको छ । फिक्कल छिविटारबाट १४ किलोमिटर कालोपत्रे बाटो हुँदै पुग्न सकिने अन्तुमा फिक्कल अन्तुका लागि सवारी साधन प्रशस्त हुने गरेकाले पर्यटकलाई अन्तु पुग्न समस्या नभएको बताइएको छ । - कोकिला ढकाल, गोरखापत्र दैनिकबाट 

2020-02-16-8758

भक्तपुर, फागुन ४ गते । चीनको वुहानबाट फर्काएर नेपाल ल्याइएका १७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा राखिएको छ ।

आज विहान उनीहरुलाई विमानस्थलबाट बसमा सल्लाघारी, जगाती, च्यामासिंह, कमलविनायक हँुदै खरिपाटीस्थित क्वारेन्टाइनमा ल्याइएको हो । साथमा एक एम्बुलेन्स, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा भ्यानले स्कटिङ गरेका थिए ।

चार वटा बसमा १७५ जनालाई खरिपाटीको क्वारेन्टाइन र लिन गएको विमानका पाइलट, को–पाइलट, परिचारिका तथा स्वीपर सहित १७ जनालाई एउटा बसमा प्रहरीको स्कटिङसहित बिहान चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित खानेपानी तालीम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा पु¥याइएको थियो ।

खरिपाटीको क्वारेन्टाइनमा नेपाली सेनाका डा नवीन फुयाँलको नेतृत्वमा नर्ससमेत रहने स्वास्थ्य टोली प्रवेश गरेको छ । सो टोलीले क्वारेन्टाइनमा आज बिहान उनीहरुको शरीरको तामक्रम नापेको बताइएको छ । आज नै फर्काइएका ती १७५ को रगत सङ्कलन गरी परीक्षणका लागि पठाइने बताइएको छ ।

नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान दुई चिकित्सक, दुई नर्स, तीन पाइलट, सात क्रुमेकर, एक इञ्जिनीयर, एक प्राविधिक, एक डिस्पास्चर गरी १७ जनासहितको टोली शनिबार चीनको वुहान गएको थियो । सो स्थानबाट १७० विद्यार्थी, दुई बालबालिका, दुई पर्यटक र एक कामदारसहित १७५ जनालाई लिएर विमान आज बिहान ३ बजेर ३६ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण भएको थियो ।

नेपाल आउन तयारी अवस्थानमा चीनको वुहान एयरपोर्टमा आएकामध्ये ६ जनाको शरीरमा ३७.३ डिग्री सेल्सियसभन्दा माथि तापक्रम देखिएपछि चीन सरकारले नै नेपाल फिर्ता नपठाएको र चारजनाले त्यही बस्ने इच्छा देखाएर नेपाल नआएको जनाइएको छ । वुहान ५५ , झिङझाओ ४८, सियन २९ , इन्सी २६ , जिङमेन ९ र यिचाङबाट ८ जना गरी १३४ पुरुष र ४१ महिलासहित १७५ लाई नेपाल ल्याइएको हो ।

चीनबाट विमान चढ्नु अघि र काठमाडौँको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा अवतरण भएपछि पुनः स्वास्थ्य जाँच गर्दा स्वास्थ्यमा समस्या नदेखिएपछि सबै जनालाई भक्तपुरको खरिपाटीमा रहेकोे क्वारेन्टाइनमा पु-याइएको हो ।

कोरोना भाइरस सङ्क्रमति क्षेत्रबाट ल्याउन लागिएका नेपालीलाई खरिपाटी र नगरकोटमा राख्नु हँुदैन भन्दै दैनिक आन्दोलन भए पनि आज कसैले अवरोध गरेनन् । सरकारले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार क्वारेन्टाइन निर्माण गरेको छ ।

क्वारेन्टाइनमा ब्लक, ए, बी र सी गरी विभाजन गरिएको छ । ठूला दुई भवनमा पुरुष, परिवारसहित आउने टोली, रातो भवनमा महिला र अर्को सानो क्वार्टर भवनमा चिकित्सकसहितको स्वास्थ्यकर्मीलाई राखिएको छ ।

क्वारेन्टाइनको सबै भवनमा गरी १८ वटा सीसी क्यामरा, आठ वटा टेलिभिजन, सबै ब्लकमा स्पिकर जडान गर्नुका साथै तीनवटा वासिङ मेशिन, ओछ्यान, तावेल, चप्पल, साबुन, मन्जन, ब्रश, माक्स, औषधिलगायत दैनिक रुपमा आवश्यक सबै सामग्री प्रत्येक बेडमा पु¥याइएको छ ।

एक कोठामा कम्तीमा एक मिटरको फरकमा दुईदेखि तीनवटा बेड रहने गरी कोठाको व्यवस्थापन गरिएको छ । शौचालय मर्मत, तातोपानी, खानका लागि शुद्ध पानी, कोठामा इन्टरकम टेलिफोन राखिएको छ ।

मनोरञ्जनका लागि दुईवटा ब्याडमिन्टन कोड निर्माण गरिएको छ भने, क्यारेमबोर्ड, लूडो, बच्चाका लागि बललगायतको खेल खेल्ने व्यवस्था गरिएको छ । कोठाभित्रै बस्ने नभई कोठाबाट बाहिर क्वारेन्टाइनभित्रको निश्चित क्षेत्रमा हिँडडुल गर्न पाइनेछ ।

क्वारेन्टाइनमा १४ दिनमा पनि स्वास्थ्य जाँच एवं रगत सङ्कलन गरिनेछ भने अरू दिन व्यक्ति स्वयम्ले स्व–जाँच गर्न मिल्ने थर्मामिटरको माध्यमबाट प्रत्येक व्यक्तिले दिनको दुई पटक तापक्रम जाँचगरी तोकिएको ढाँचामा अभिलेख राख्नु पर्नेछ ।

कुनै कुराको आवश्यक परेमा कन्ट्रोल रुम र रोगको लक्षण देखिएमा सिधै डाक्टरलाई फोन सम्पर्क गरी स्वास्थ्य जाँच गरिनेछ । जाँचमा शङ्कास्पद देखिए क्वारेन्टाइन अगाडि तयारी अवस्थामा रहेको एम्बुलेन्सले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल वा पाटन अस्पताल वा शसस्त्र प्रहरी अस्पतालमा अविलम्ब स्थानान्तरण गरिनेछ । सरकारले विभिन्न अस्पतालमा १४७ वटा आइसोलेसन वार्ड तयार पारेको छ ।

क्वारेन्टाइनमा रहँदा अभिभावकहरुसँग प्रत्यक्षरुपमा भेटघाट गर्न पाइने छैन भने क्वारेनटाइन अगाडि आगन्तुक कक्षमा यहाँको अवस्थाबारे जानकारी गराइनेछ । प्रत्येक दिन बिहान बिहानी खाजा, ११ बजे खाना, ३ बजे खाजा र साँझ ७ बजे खानाको व्यवस्था गरिएको छ । पत्रकारका लागि क्वारेन्टाइन बाहिर सञ्चारकर्मी कक्षको व्यवस्था गरिएको छ ।

क्वारेन्टाइनमा उनीहरुले प्रयोग गर्ने शौचालयको सेफ्टी ट्याङ्कीदेखि बढी भएको खाना व्यवस्थापन गर्ने जमिनमुनि छुट्टै संरचना बनाइएको छ । चौबिसै घण्टा संयुक्त सुरक्षा फौजले सुरक्षा प्रदान गर्नेछ । क्वारेन्टाइन बाहिर रहेको कन्ट्रोल रुमबाट २४ सै घण्टा अनुगमन गरिनेछ ।

स्थानीय बासिन्दामा त्रास नहोस् भनेर नेपाली सेना वीरदल गणका गणपति कर्नेल शिव पौडेल, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख सविन प्रधान, सशस्त्र प्रहरीको संयुक्त नेतृत्वमा सुरक्षा व्यवस्था एवं टोली जनचेतना अभिवृद्धि गर्ने कार्य गरिएको छ । स्थानीय बासिन्दाका लागि संयुक्त सुरक्षा निकायका चिकित्सकसहितको स्वास्थकर्मी टोलीले प्रत्येक दिन खरिपाटी घुमाउनेस्थित सामुदायिक भवनमा निःशुल्क स्वास्थ्य शिविर र औषधि वितरणसमेत गर्ने भएको छ । - गोरखापत्र दैनिकबाट 

2020-02-14-8672


काठमाडौँ, फागुन २ गते । नागढुङ्गादेखि मुग्लिनसम्मको ९४ दशमलव सात किलोमिटर सडक स्तरोन्नति गरिने भएको छ । हाल एकदेखि दुई लेन चौडाइ रहेको सडकलाई चारदेखि छ लेनसम्म विस्तार गर्न लागिएको हो ।

सडकमा साँघुरा मोड रहेकाले त्यसलाई समेत सुधार गरिने सडक विभागले जनाएको छ । मोड सुधार गर्दा सडकको लम्बाई नै केही घट्न जाने सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताउनुभयो । यस सडकमा सम्भव भएसम्म छ लेन बनाइने छ भने नसकिने स्थानमा चार लेनमा विस्तार गरिनेछ । उहाँले भन्नुभयो, “गजुरी, मलेखुलगायतका बजार क्षेत्रमा चार लेन सडक बन्नेछ ।”

सडक विस्तारका क्रममा २१ पुलसमेत निर्माण गरिने भएको छ । ती सबै पुल चार लेनको हुने बताइएको छ । हाल भइरहेका पुल दुई लेन मात्रै भएकाले त्यसलाई नभत्काई त्यससँगै ‘साइड’मा सडक जत्तिकै चौडाइको पुल निर्माण गर्न लागिएको हो । सोही परियोजनाअन्तर्गत झण्डै १० वटा आकाशेपुल निर्माण गर्ने योजना रहेको छ । सो सडकखण्ड विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० र वातावरणीय तथा सामाजिक प्रभाव मूल्याङ्कन प्रतिवेदन ९इएसआइए० तयार भइसकेको छ ।

नागढुङ्गा–नौबिसे–मुग्लिन सडकखण्ड रणनीतक सडक पहुँच तथा व्यापारिक सुधार आयोजनाअन्तर्गत स्तरोन्नति गर्न लागिएको हो । सडक त्रिभुवन राजपथअन्तर्गत नागढुङ्गादेखि नौबिसेसम्म १२ दशमलव सात किमी र पुथ्वी राजमार्गअन्तर्गत नौबिसे–मुग्लिन ८२ दशमलव चार किमी रहेको छ । विश्व बैंकको ऋण सहयोगमा यो सडकखण्डको विस्तार गर्न लागिएको हो । सडक निर्माण भएको पाँच वर्षसम्म सम्बन्धित निर्माण कम्पनीले नै सडकको मर्मतसम्भार गर्नुपर्ने प्रावधानसहित अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिनेछ । सो सडक निर्माणका लागि झण्डै रु १६ अर्ब रुपैयाँँको लागत लाग्ने अनुमान गरिएको छ । यस सडक विस्तारका लागि तीन वर्ष लाग्ने अनुमान गरिएको छ ।

यो सडक प्रदेश ३ को काठमाडौँ, धादिङ र चितवन जिल्लामा फैलिएको छ । काठमाडौँ जिल्लाको नागढुङ्गा चेकपोस्टबाट शुरु भएर नौबिसे, खानीखोला, महादेवबेँसी, गल्छी, बैरेनी, मलेखु बेनीघाट, कुरिनटार हुँदै चितवन जिल्लाको मुग्लिनसम्म सडक रहेको छ । यो सडक एशियाली राजमार्ग मापदण्डानुसार दुई लेन, सात मिटर ‘क्यारिजवे’ र एकदेखि दुई दशमलव पाँच मिटरसम्म ‘सोल्जर’सहित स्तरोन्नति गर्न लागिएको हो ।

एक वर्षमा खरिद प्रक्रियालगायतका कागजी प्रक्रिया पूरा गर्ने र अर्को वर्षदेखि सडक विस्तार गरिने योजना रहेको विभागले जनाएको छ । यस सडकको विस्तारको तयारीसँगै त्यसको विकल्पका रूपमा त्रिशूली नदी पारिपट्टिको सडक निर्माणको योजना बनाइएको छ । राजमार्गको समानान्तरमा गल्छीदेखि विशालटारम्म दुई लेनको सहायक सडक निर्माण गर्न लागिएको हो ।

पहिले नै ट्र्याक खुलिसकेको सडक भएकाले यसलाई स्तरोन्नति गरेर सञ्चालनमा ल्याउन समस्या नहुने प्रमुख थापाले बताउनुभयो । स्थानीय निकायले अहिले नै गल्छीदेखि मलेखुसम्म ट्र्याक खोलेर सञ्चालनमा ल्याएको छ । त्यसलाई दुई लेन सडकका रूपमा विस्तार गरेर कालोपत्र गर्ने गरी तयारी अघि बढाइएको छ । उहाँले भन्नुभयो, “मलेखुबाट विशालटारसम्म पनि ट्र्याक खोल्न समस्या छैन ।”

नागढुङ्गा–मुग्लिन सडक सरकारले छ लेन विस्तारको तयारी गरिरहे पनि बजार क्षेत्रमा चार लेनभन्दा विस्तार गर्न नसकिने हुँदा वैकल्पिक रूपमा पारिपट्टि पनि सँगसँगै निर्माण गर्न लागिएको हो । कतिपय स्थानमा भौगोलिक अवस्थाका कारण चार लेनमा विस्तार गर्न नसकिने अवस्थाले यो सडकलाई विकल्पका रूपमा अघि बढाइएको हो । हाल पनि ठाउँठाउँमा पुल रहेको र आगामी दिनमा निर्माण हुने पुलले वारिपारि गर्न कुनै समस्या नहुने प्रमुख थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “यसले एकातिर स्थानीयवासी लाभान्वित हुनेछन् भने अर्कातिर पृथ्वी राजमार्ग भएर हिँड्ने सवारीसाधन पनि पारिबाटसमेत आवतजावत गर्न सक्छन् ।”

नयाँ संरचनाअनुसार नेपाल सरकारको अधिकार क्षेत्रमा रणनीतिक सडक मात्रै परेसँगै सरकारले सडकको स्तरोन्नतिलाई समेत ध्यान दिन थालेको छ । सरकारले दुई वर्ष पहिले नै दुई लेनभन्दा कम चौडाइको सडक निर्माण नगर्ने निर्णय गर्दै भएका सडकको विस्तार शुरु गरेको हो । त्रिभुवन राजपथ, पुथ्वी राजमार्ग, धुलिखेल–सिन्धुली–बर्दिवासलगायतका विभिन्न सडक विस्तारका क्रममा रहेका छन् ।

- सञ्चिता घिमिरे, गोरखापत्र दैनिकबाट

2020-02-14-8679
काठमाडौं, फागुन २ गते । निङ्ग झु, कोरोन भाइरसको संक्रमण फैलिएको शहर वुहानमा कार्यरत एक नर्स हुनुहुन्छ । चञ्चल स्वभावकी उहाँ जनवरी २६ देखि विश्राममा हुनुहुन्छ । छातीको ‘स्क्यान’ गराएदेखि संक्रमण फैलिएको आशंकामा उहाँलाई अलग्याइएको छ । संक्रमणको पुष्टि गर्न निङ्गलाई न्युक्लिक एसिड परीक्षणका लागि पर्खाइएको छ । तर अहिलेसम्म उक्त परीक्षण भएको छैन् ।
“तात्कालका लागि वास्तवमै समस्या उत्पन्न भएको छ, हाम्रो अस्पतालमा कार्यरत एक सय जनालाई आफ्नै घरमा अलग्याइएको छ ।”–उहाँले फोन सम्पर्कमा सीएनएनसँग कुराकानी गर्दै खुलाउनुभएको छ । उहाँले त्यस अतिरिक्त ३० जना चिकित्साकर्मीमा भाइरसको संक्रमण सुनिश्चित गरिएको जानकारी दिनुभयो ।
“परीक्षणबाट नकारात्मक आए हामी काममा फर्किनेछौं, कुनै लक्षण देखिएको छैन्, सीटी स्क्यानबाट केही समस्या देखिएको छ, अलिकता संक्रमण देखिएको छ ।”– उहाँले भन्नुभयो ।
अस्पतालमा कार्यरत पाँचसय कर्मचारीमध्ये एक सय ३० जनाभन्दा बढीमा भाइरसको संक्रमण देखिएको उहाँले बताउनुभयो । सञ्चारमाध्यमसँग कुरा गर्ने अधिकार नभएकोले अस्पतालको नाम सार्वजनिक नगर्ने शर्तमा उहाँले छद्यमनाम प्रयोग गर्न आग्रह गर्नुभयो ।
उहाँ कार्यरत अस्पताल मात्रै यसबाट पीडित भने हैन । वुहानको केन्द्रीय अस्पतालमा कार्यरत एकजना नर्सले बुधबार चिनियाँ समाजिक सञ्जल वेइबोमा लेख्नुभएको छ – म कार्यरत अस्पतालमा आफूसँगै करिब १५० जना सहकर्मी कोरोना भाइरसको संक्रमण फैलिएको हुनसक्छ ।
उहाँले लेख्नुभएको छ, “प्रत्येक पटक परीक्षणका लागि चिकित्सक आउँदा श्वास फेर्न रोक्ने गरेकी छु, मेरो शरीरभित्रको भाइरस सहकर्मीमा सर्ने आशंका रहन्छ ।” चीनमा सन् २००२ देखि २००३ सम्म सार्सको प्रकोप रहेको बेला स्वास्थ्य हेरचाह गर्ने स्वास्थ्यकर्मी उच्च संक्रमण फैलने जोखिममा रहेका काम गरेकाे अनुभव छ ।
चीनमा नोभल कोरोना भाइरसको संक्रमणले हालसम्म एक हजार ३८३ जनाको मृत्यु भइसकेको छ । बिहिबार मात्रै पाँच हजार ९० जना नयाँ संक्रमित थपिएका छन् । जससँगै विश्वमा कोरोना भाइरसको संक्रमितको संख्या ६४ हजार ४३५ पुगेको छ ।
कोरोना भाइरसको संक्रमण फैलिएदेखि पहिलोपटक सार्वजनिक स्थलमा देखिनुभएका चिनियाँ राष्ट्रपति सी चिनफिङले गत् साता वेइजिङस्थित एक अस्पतालको भ्रमण गर्नुभएको थियो । चीनमा राज्यद्वारा सञ्चालित मीडिया सीसीटीभीका अनुसार उहाँले संक्रमण दर घटाउन पूरै जोडबल लगाउन निर्देशन दिनुभएको छ ।
चिनियाँ स्वास्थ्य अधिकारीहका अनुसार हालसम्म एक हजार ७१६ जना स्वास्थ्यकर्मी कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । जसमध्ये छ जनाको मृत्यु भएको छ । वेइजिङमा सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै चीनको राष्ट्रिय स्वास्थ्य आयोगका उपमन्त्री झेङ यीजिनले फेब्रुअरी ११ सम्म एक हजार ७१६ जनामा स्वास्थ्यकर्मीमा संक्रमणको पुष्टि भएको बताउनुभयो । जसमध्ये एक हजार ५०० जना हुवेइ प्रान्तस्थित अस्पतालमा कार्यरत स्वास्थ्य अधिकारी तथा स्वास्थ्यकर्मी छन् ।
जोखिमलाई हेर्दै चिनियाँ अर्थ मन्त्रालयले बिरामीको हेरचाह र परीक्षणमा प्रत्यक्ष संलग्न हुने स्वास्थ्यकार्मीलार्इ दैनिक २८ देखि ४२ डलरसम्म भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।
वुहानमा करिब ३९८ अस्पताल र छ हजार बढी सामुदायिक केन्द्रहरु छन् । तर वुहान नगरपालिका स्वास्थ्य आयोगले कोरोना भाइरस उपचारका लागि नौ वटा अस्पताल निर्धारण गरेको छ । त्यस अतिरिक्त ६१ वटा अस्पतालमा ज्वरो परीक्षण गर्ने तोकिएको छ ।
चीनकै झोङनान अस्पतालमा जनवरी एकदेखि २८ सम्म १३८ जना कोरोना भाइरस संक्रमितको उपचार गरिएको छ । अमेरिकी मेडिकल संघले गत् साता सार्वजनिक गरेको एक शोध बमोजिम झोङनान अस्पतालका ४० जना स्वास्थ्य कार्यकत्र्तामा भाइरसको संक्रमण फैलिएको छ । तर अस्पतालका निर्देशक पेङ झियोङले चीनबाट प्रकाशन हुने सीजिन पत्रिकासँगको अन्तर्वार्तामा अन्य अस्पतालको अनुपातमा झोङनानमा संक्रमण फैलिएको दर कम रहेको खुलाउनुभएको छ ।
राज्यद्वारा सञ्चालित पिपुल्स डेली पत्रिकाले भने वुहान अस्पतालमा कार्यरत स्वास्थ्य अधिकारीले सुरक्षाका लागि प्लाष्टिकजन्य सामग्रि लगाएको तस्वीर देखाएको छ । (सीएनएन लगायतका एजेन्सीकाे सहयाेगमा )
- इश्वरचन्द्र झा, गोरखापत्र दैनिकबाट 

2020-02-13-8618

काठमाडौँ, फागुन १ गते । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनको बलमा शान्ति प्रक्रिया हुँदै समाजवादको आधार निर्माणतर्फ मुलुक अघि बढेकाले अब जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव नहुने बताउनुभएको छ ।

नेकपा केन्द्रीय कार्यालय धुम्रबाराहीमा ‘जनआन्दोलन र जनयुद्धका शहीदको स्मृतिमा आज आयोजित श्रद्धाञ्जलिसभा’मा अध्यक्ष दाहालले जनयुद्ध र विद्रोह एक ऐतिहासिक तथा विशिष्ट परिस्थितिमा जनताको आवश्यकता र नेतृत्वको सही विचारका आधारमा हुने भएकाले अब जनयुद्धको नक्कल हुन नसक्ने स्पष्ट गर्नुभएको हो । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई सङ्केत गर्दै उहाँले भन्नुभयो, “एकथरि साथीहरु फेरि विद्रोहतिर लाग्नुभएको छ, तर हामीले सबै परिस्थिति र विश्व अनुभवको समीक्षा गरेर शान्ति प्रक्रियामा आएर मौलिक तरिकाको जनवादी क्रान्तिमा सामेल भएका हौँ, जनयुद्धलाई निरन्तरता दिएको भए हामी पेरु वा श्रीलङ्काको विद्रोहजस्तै सकिने थियौँ, हामीले कम्युनिष्टहरुबीचको सहकार्यसहित बुर्जुवाको साथ लिएर गणतन्त्र स्थापना गरेका छौँ ।”

तत्कालीन नेकपा (माओवादी)ले विसं २०५२ फागुन १ गते गणतन्त्र स्थापनाको लक्ष्यसहित जनयुुद्धको आरम्भ गरेको थियो । विश्व कम्युनिष्ट आन्दोलनका उपलब्धि र क्षतिका अनुभवबारे चर्चा गर्दै उहाँले क्रान्ति कुनै आयात या निर्यात गर्ने विषय नभएकाले यसलाई हरेक देशको ऐतिहासिक आवश्यकता र मौलिकताका आधारमा हेर्न आग्रह गर्नुभयो ।

अध्यक्ष दाहालले कम्युनिष्टहरु सत्तामा पुगेपछि विचलन हुने रोगबाट माथि उठेर जनताको मनोभावनालाई आत्मसात् गर्र्दै त्याग, समर्पण र बलिदानको भावनाका साथ शान्तिपूर्ण सङ्घर्ष, विकास र समृद्धिबाट वैज्ञानिक समाजवादको दिशामा अघि बढ्न नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले सात राजनीति दलसँग १२ बुँदे सहमति हुनुअघि तत्कालीन नेकपा (एमाले)का नेता वामदेव गौतमलगायतसँग संविधानसभाका लागि सहमति भएको स्मरण गर्दै उहाँले शान्तिपूर्ण जनआन्दोलनमा रहेका नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले समेत राजतन्त्रविरुद्ध अझ फौजी आक्रमण बढाइदिन आफूलाई आग्रह गरेको स्मरण गर्नुभयो ।

तत्कालीन एमाले र माओवादी जनयुद्धका शुरुआती वर्षमा तीखो सङ्घर्षमा रहे पनि पछिल्ला समयमा कम्युनिष्ट शक्तिबीचको सहकार्यलाई जोड दिने माओवादीको निर्णयकै पृष्ठभूमिमा हाल नेकपाको एकता भएको उल्लेख गर्दै उहाँले विसं २०२९ को झापा विद्रोह (सुखानीका शहीद) र जनयुद्धका शहीदसम्मलाई जोडेर नेतृत्वले सही विचार र सोचका साथ मुलुकलाई सही गन्तव्यमा पु¥याउने दृढता पनि व्यक्त गर्नुभयो ।

नेकपाका उपाध्यक्ष वामदेव गौतमले नेपालको जनयुद्धको घटना विश्व इतिहासमा विरलै हुने ऐतिहासक घटना भएको जनाउँदै जनयुद्ध र जनआन्दोलनले सामन्तवादलाई परास्त गरेको र साम्रज्यवादलाई कमजोर बनाउने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “जनयुद्ध बलिदानको युद्ध हो, मुक्ति र सङ्घर्षको युद्ध हो, यति ठूलो बलिदान संसारको इतिहासमा भएको थिएन, ती शहीदहरुलाई सम्मान गर्दै अब हामीले बहुदलीय प्रतिस्पर्धाका आधारमा समाजवाद स्थापनामा लाग्नुपर्छ ।”

उपाध्यक्ष गौतमले जनयुद्धका क्रममा तत्कालीन एमालेका करीब ३०० नेता–कार्यकर्ता मारिएकामा त्यसको लेखाजोखा पनि हुनुपर्ने बताउनुभयो । कार्यक्रममा शहीदहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको थियो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच गत २०७५ जेठ ३ गते एकता भएपछि हरेक फागुन १ लाई ‘जनआन्दोलन र जनयुद्धका शहीदको स्मृतिमा आज आयोजित श्रद्धाञ्जलिसभा’ का रुपमा मनाउन थालिएको छ ।
- गोरखापत्र दैनिकबाट 


2020-02-13-8604

काठमाडौँ, फागुन १ गते । भारतको गोरखपुरदेखि नेपालको रुपन्देहीसम्म ग्यास पाइपलाइनको गृहकार्य अगाडि बढेको छ । रासायनिक मल उत्पादन तथा घरायसी काममा समेत प्रयोग गर्ने उद्देश्यले ग्यास ल्याउने पाइपलाइनको गृहकार्य अगाडि बढेको हो । ल्याइने ग्यास प्राकृतिक अर्थात् लिक्युफाइड नेचुरल ग्यास हुने छ ।
भारतको नयाँदिल्लीमा बसेको नेपाल–भारत पेट्रोलियम तथा ग्यास संयुक्त कार्य समूहकोे बैठकमा गोरखपुरदेखि रुपन्देहीसम्म अन्तरदेशीय प्राकृतिक ग्यास पाइपलाइन बिछ्याउनेबारे दुई मुलुकबीच छलफल भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
पुस २७ र २८ गते भारतको नयाँदिल्लीमा नेपाल–भारत पेट्रोलियम तथा ग्यासका लागि दुईदेशीय कार्यदलको पहिलो बैठक बसेको थियो । बैठकमा नेपालले गोरखपुरदेखि रुपन्देहीसम्म प्राकृतिक ग्यासको पाइपलाइन बिच्छयाइदिन भारतसमक्ष प्रस्ताव गरेको थियो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तथा सो दुईदेशीय बैठकमा नेपाल पक्षको नेतृत्व गर्नुभएका ध्रुव घिमिरेले सो कार्यलाई अगाडि बढाउन भारतले नेपालसँग ‘माग प्रक्षेपण’ गरेको र त्यसको तयारी अहिले मन्त्रालयले गरिरहेको जानकारी दिनुभयो । ‘माग प्रक्षेपण’का साथै नेपालमा प्राकृतिक ग्यास बजारको सम्भावित अवस्था र भविष्यबारे समेत भारत नेपालसँग स्पष्ट हुन खोजेको सहसचिव घिमिरेले बताउनुभयो ।
“भारतीय पक्षको मागअनुसार अहिले मन्त्रालयले भविष्यमा मुलुकलाई आवश्यक पर्नसक्ने प्राकृतिक ग्यासको आवश्यकता र मागको विवरण सङ्कलन गरिरहेको छ । सङ्कलन र अध्ययन कार्य सम्पन्न भइसकेपछि भारतीय पक्षलाई ‘माग प्रक्षेपण’ बुझाइने छ”, उहाँले भन्नुभयो, “माग प्रक्षेपण बुझाइसकेपछि प्रस्तावित पाइपलाइन निर्माणको मोडालिटी, लागतबारे अध्ययन गरी निर्माण अगाडि बढाइने छ । ”
विगत लामो समयदेखि नेपालमा रासायनिक मलको कारखाना स्थापना गर्ने कुरा उठे पनि काम हुन सकेको छैन । रासायनिक मल कारखाना स्थापना गर्न लगानी बोर्डले समेत अहिले अध्ययन गरिरहेको छ । रासायनिक मल उत्पादन गर्न ‘कच्चा पदार्थ’का रूपमा प्राकृतिक ग्यास अनिवार्य चाहिन्छ ।
नेपालजस्तो कृषिप्रधान मुलुकमा अहिलेसम्म रासायनिक मल कारखाना स्थापना हुन सकेको छैन । प्राकृतिक ग्यासले रासायनिक मल उत्पादनका साथै खानासमेत पकाउन सकिन्छ तर त्यसका लागि एलपी ग्यासजस्तो सिलिन्डरमा बोटलिङ गर्न मिल्दैन, भान्साघरसम्म सीधै पाइपलाइन पु¥याउनुपर्छ ।
नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले यस विषयमा दुई मुलुकबीच गृहकार्य अगाडि बढाइएको जानकारी दिनुभयो ।
यसअघि भारतको नयाँदिल्लीमा सम्पन्न नेपाल–भारत पेट्रोलियम तथा ग्यास जोइन्ट वर्किङ ग्रुपको बैठकमा समेत नेपाल–भारत अन्तरदेशीय प्राकृतिक ग्यास पाइपलाइन बिछ्याउनेबारे अध्ययन गर्न दुई मुलुकबीच सहमति भएको जानकारीसमेत उहाँले दिनुभयो ।- भउचप्रसाद यादव, गोरखापत्र दैनिकबाट 

2020-02-12-8575
काठमाडौं, माघ २९ गते । अमेरिका अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा अहिलेसम्मकै सबैभन्दा झिनो योगफलमा समेटिएको छ । नेपाली बलिङ्ग आक्रमण अगाडि अमेरिकाका दश जना ब्याट्सम्यानले दोहोरा योगफल समेत छुन पाएनन । नेपाली बलर सन्दीप लामिछानेले छ र सुशन भारीले चार विकेट लिदा अमेरिका ३५ रनमै समेटिन पुग्दा कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाला विश्व कीर्तिमानको साक्षी बन्न पुगेको छ ।
यसअघि अन्तर्राष्ट्रिय एकदिवसीयमा सबैभन्दा कम योगफलमा समेटिएको कीर्तिमान जिम्बाबवेको नाममा रहेको थियो । जिम्बाबवे करीब १६ वर्ष अगाडि घरेलु मैदानमै ३५ रनमा समेटिन पुगेको थियो । उक्त योगफल कुनै राष्ट्रले अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा तयार गरेको अहिलेसम्मकै कम योगफल रहेको थियो । अमेरिकाले बुधबार नेपाल विरुद्धको आफ्नो दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा उक्त योगफलको बराबरी गर्दै नयाँ कीर्तिमान बनाएको छ । जिम्बाबवे सन् २००४ को अप्रिल २५ का दिन हरारेमा श्रीलङ्का विरुद्ध ३५ रनमा समेटिएको थियो ।
श्रीलङ्काली बलर चामिण्डा भासले उक्त खेलमा चार विकेट लिनुभएको थियो । फरवेज महरुफले तीन र दिलहरा फर्नान्डोले दुई विकेट लिनुभएको थियो । श्रीलङ्काले भने एक विकेटको क्षतिमा ९ ओभर दुई बलमा ४० रन बनाएर लक्ष्य पुरा गरेको थियो ।
नेपालको आठ विकेटको जित
नेपालले अमेरिकामाथि आठ विकेटको जित हात पारेको छ । अमेरिकाले प्रस्तुत गरेको ३६ रनको लक्ष्य नेपालले मात्र पाँच ओभर दुई बलमा दुई विकेटको क्षतिमा पुरा गरेको हो । नेपालका लागि दिपेन्द्र ऐरीले १५ तथा पारस खडका २० रन बनाएर अविजित रहनुभयो । यसअघि कप्तान ज्ञानेन्द्र मल्ल १ र सुभाष खकुरेल खाता खोल्न नपाउँदै पेभेलियन फर्किदा नेपाली टोली दबाबमा आएको थियो । अमेरिकाका लागि दुबै सफलता केनिजिले दिलाउनुभयो ।
यसअघि अमेरिका १२ ओभरमा मात्र ३५ रनको झिनो योगफलमा समेटिन पुग्यो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्ता पाएको पाहुना टोली अमेरिकाको पारीलाई ३५ रनमा खुम्च्याउन सन्दीप लामिछाने र सुशन भारीले उत्कृष्ट बलिङ्ग गर्नुभयो । सन्दीप एक्लैले छ विकेट लिनुभयो । बाँकीको चार विकेट सुशन भारीले बाँड्नुभयो । अमेरिकी पारीको दश जना ब्याट्सम्यान दोहोरा योगफल समेत छुन सकेनन । ओपनर जेभियर मार्शलले बनाउनुभएको १६ रन सर्वाधिक ब्यक्तिगत् योगफल रहन गयो । उसको पारीको चार जना ब्याट्सम्यानले खाता समेत खोल्न सकेनन ।
सन्दीपले छ ओभरको स्पैलमा मात्र १६ रन खर्चेर छ विकेट लिनुभयो । सुशनले भने तीन ओभरमा एक मैडन राख्दै मात्र पाँच रन खर्चेर चार विकेट लिनुभयो ।- इश्वरचन्द्र झा, गोरखापत्र दैनिकबाट 


2020-02-12-8579
काठमाडौँ, माघ २९ गते । नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले आज प्रहरी प्रधान कार्यालयमा आफ्नो पदभार ग्रहण गर्नुभएको छ ।

गृह मन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव महेश्वर न्यौपानेबाट दज्र्यानी चिह्न प्राप्त गरेलगत्तै उहाँले कार्यकक्षमा पुगेर आज पदभार ग्रहण गर्नुभएको हो । उहाँलाई प्रहरी प्रधान कार्यालयमा प्रहरी अतिरिक्त महानिरीक्षक आशा सिंहसहित, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत तथा जवानले स्वागत गर्नुभएको थियो ।

सोही क्रममा उहाँले प्रहरी प्रधान कार्यालय परिसरस्थित मन्दिरमा पूजाअर्चना गर्नाका साथै अमर प्रहरी स्मारकमा पुष्पहार र अमर प्रहरीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । मन्त्रिपरिषद्को मङ्गलबारको निर्णयले उहाँलाई आजदेखि लागू हुनेगरी प्रहरी नायब महानिरीक्षकबाट प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो । उहाँको कार्यकाल जम्मा पाँच महिनाको छ ।

विसं २०४७ असार २५ गते प्रहरी निरीक्षक पदबाट प्रहरी सेवा प्रवेश गर्नुभएका प्रहरी महानिरीक्षक ज्ञवाली विसं २०५८ वैशाख १८ गते प्रहरी नायब उपरीक्षक, २०६६ मङ्सिर ३ गते प्रहरी उपरीक्षक, २०७३ असार २८ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०७५ असोज २८ गते प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति हुनुभएको थियो ।

समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएका प्रहरी महानिरीक्षक ज्ञवालीले विभिन्न ३३ राष्ट्रिय तथा अन्तराष्ट्रिय तालीम लिनुभएको छ । प्रहरी महानिरीक्षक ज्ञवाली दुर्गम सेवा पदक, गद्दी आरोहण रजत पदक, संयुक्त राष्ट्रसङ्घ पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, प्रहरी सेवा पदक, प्रबल जनसेवाश्रीलगायत पदक प्राप्त गर्नुभएको छ । उहाँले उत्कृष्ट व्यावसायिक कार्य सम्पादन गरेबापत दर्जनौँ नगद पुरस्कार तथा प्रशंसापत्रसमेत प्राप्त गर्नुभएको जनाइएको छ ।
- गोरखापत्र दैनिकबाट 



काठमाडौं, माघ २९ गते । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा ज्वरो, रुघाखोकी र झाडापखालाको विरामी बढेपछि स्वास्थ्य मन्त्रालयको टोली जाँच गर्न त्यसतर्फ गएको छ ।

जुगल गाउँपालिका स्वास्थ्य शाखाका संयोजक अनिल साउदका अनुसार स्वास्थ्य मन्त्रालयको टोली बुधबार साँझसम्म आइपुग्ने बताए ।

उनले भने, ‘बिरामी औषधि खाएर निको भएका पनि छन् तर अस्वाभाविक रुपमा धेरै भएपछि हामीले उहाँहरुलाई बोलाएको हो । उहाँहरुले कोरोना हो वा होइन जाँच गर्ने भन्नुभएको छ ।’

सिन्धुपाल्चोकको बिरामीको अवस्था सुन्दा कोरोना नभएको भन्ने देखिए पनि शंका निवारण गर्न स्वास्थ्यकर्मीको टोली बिरामी रहेको गाउँमा पठाउने उनले बताए । - अनलाइन खबरबाट



काठमाडौं, माघ २९ गते । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदले अमेरिकी सहयोग निकाय एमसीसीबारे जनस्तरमा अपब्याख्या भइरहेको भन्दै संसदमा बेलैमा छलफल गर्न माग गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद गजेन्द्रबहादुर महतले जनस्तरमा एमसीसीबारे नकारात्मक भावना फैलाउने काम भएकाले बेलैमा सही ब्याख्या दिन नसके निर्णय गर्ने बेला ढिला हुने बताए ।‘तल अपब्याख्या भइरहेको छ । नेगेटिभ मात्र आइरहेको छ’ उनले भने ‘हामी निर्णयमा जाने बेलासम्म ढिला भइसक्छ । त्यसैले यसलाई नजर अन्दाज नगरियोस् । ’

सांसद महतले एमसीसीबारे नेपालमा भइरहेको बहस तथा छलफललाई चीनमा फैलिएको कोरोना भाइरससँग तुलना गररे । ‘एमसीसीको भाइरस तलतल पुगेको छ । अनावश्यक युट्युबमा हालेर बुट बजारेको, बन्दुक हानेको, क्षेप्यास्त्र हानेको दृश्य देखाइएको छ’ उनले भने ।

सांसद महतले समयमा नै संसदमा छलफल भएर उचित ब्याख्या दिन नसके एमसीसीविरुद्धको भ्रम चिर्नं कठिन हुने बताए । - अनलाइन खबरबाट 

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget