Websoft University

www.radiomakalu.com || 021-522512


March 2017


अफगानिस्तानमा ३३ जना लडाकु मारिए
अफगानिस्तान,  चैत १८ गते  । अफगानिस्तानको पूर्वी क्षेत्रमा पर्ने नानगार्हार प्रदेशमा सरकारी सुरक्षा फौजले बिहीबार राति गरेको सुरक्षा कारबाहीमा परी ३३ जनाभन्दा बढी लडाकुको मृत्यु भएको छ । अफगानी सेनाका प्रान्तीय प्रवक्ता शिर एक्वा फाक्विरीले शुक्रबार भन्नुभयो, सुरक्षा फौजले सरकार विरोधी गतिविधि गर्दै आइरहेका लडाकुविरुद्ध बिहीबार चापारहार र पाचिरागाममा सुरक्षा कारबाही जारी राखेको थियो, त्यस क्रममा ३३ जना लडाकुहरु मारिएका छन्, छ जना घाइते भएका छन् र २२ जना पक्राउ परेका छन् ।”

उहाँले लडाकु समूहका कमाण्डर जुक्रुल्लाह र गाडा मोहम्मदको पनि मृत्यु भएको बताउनुभयो । नानगार्हार र जलालाबादलाई आफ्नो राजधानी मानेर गतिविधि गर्दै आइरहेका न तालिवान लडाकु न इस्लामिक स्टेट(आइएस) कसैले पनि घटनाको जिम्मेबारी लिएका छैनन् । रासस÷सिन्ह्वा

  


साउदी अरबबाट २९ कामदारको उद्धार

नयाँदिल्ली,  चैत १८ गते  । भारतकी विदेशमन्त्री सुष्मा स्वराजले साउदी अरबबाट २९ जना भारतीय कामदारलाई भारत सरकारले उद्धार गरेको बताउनुभएको छ । उद्धार गरिएकालाई आआफ्नो घरमा पठाइएको पनि उहाँले जानकारी दिनुभयो । “हामीले साउदी अरबबाट २९ जना कामदारलाई उद्धार गरेका छौँ, उनीहरुको उडान टिकट पनि हामीले नै काटिदिएका छौँ,” स्वराजले ट्विटरमा लेख्नुभएको छ ।

ती २९ जना कामदारलाई साउदी अरब सरकारले नियन्त्रणमा लिइएको बारेमा गत हप्ता मन्त्री स्वराजले साउदी अरबका राजदूत अहमद जाभेदसँग कुराकानी गरी मुक्त गर्न आग्रह गर्नुभएको थियो । भारतको दक्षिणी राज्य तेलङगनाबाट ठुलो सङ्ख्यामा वैदेशिक रोजगारीका लागि साउदी अरब जाने गर्दछन् । रासस÷सिन्ह्वा





काठमाडौं, चैत १८ गते । हिमालय एयरलाइन्सले आफ्नो तेस्रो विमान शुक्रबार काठमाडौं ल्याएको छ । हिमालयको एयर बस ए ३२०-१२४ जहाज विहान १०.५४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । नयाँ एयरबस जर्मनीबाट उडाएर काठमाडौं ल्याइएको हो ।

यो विमान ९ एन एएलडब्लु रजिष्ट्रेशन नम्बरको हो । विमानलाई विमानस्थलमा अवतरण हुनासाथ पानीको फोहोाद्वारा स्वागत गरिएको थियो ।

सञ्चालनको एक वर्षभित्रै हिमालय एअरलाइन्सलाई तीव्र गतिमा विकास गरिरहेको नेपाली एअरलाईन्सको रुपमा लिन थालिएको छ । विमान स्वागत कार्यक्रममा एअरलाईन्सका अध्यक्ष झाओगु ओकिङ्ग, प्रशासन-उपाध्यक्ष विजय श्रेष्ठ लगायत कम्पनीका उच्चपदस्थ अधिकारीहरु सहभागी थिए ।

उपाध्यक्ष विजयश्रेष्ठले भने,’२०१७ साल हिमालय एएरलाइन्सको लागि उपलब्धिमूलक रह्यो किनकि यस एअरलाईन्स्ले दुईवटा नयाँ जहाज भित्राएर दुईवटै नयाँ गन्तव्य क्वालालम्पुर र याङ्गगुन उडान सुरुवात गर्यो । अव तेस्रो जहाजको आगमनसँगै हामीले उडड्यन क्षेत्रमा विश्वव्यापी सञ्जाल विस्तार गर्ने र नेपालको हवाई सम्पर्कलाई अन्तर्राष्ट्रिय जगतमा मजबूत तुल्याउने योजना बनाएका छौं । ‘


कुल१५८ सिट क्षमता नयाँ विमान सानो आकारको हो र यसलाई सिट संंरचनाको हिसाबले दुई वर्गमा विभाजन गरिएको छ, जसमध्ये ८ वटा सिट विजनेस क्लासको लागि छुट्याइएको छ भने बाँकी १५० वटा सिट इकोनोमी क्लासको रहेको छ, जसले गा्रहकहरुलाई आरामदायी उडानको सुनिश्चितता प्रदान गर्छ ।

यो तेस्रो विमानले अप्रिल २०१७ बाट सेवा प्रदानगर्न सुरु गर्नेछ । दमाम, दुवई, हङकङ, दिल्ली, चेन्नाई, वैङ्गक, बेइजिङ, जस्ता नयाँ क्षेत्रहरुमा सेवाको सुरुवातका साथै हाल उडान सञ्चालन भइरहेका क्षेत्रहरुमा पनि सेवा प्रदान गर्नेछ ।

हिमालयन एयरलाइन्ससँग हाल दुई एयरबस छ र कतारको दोहा, श्रीलंकाको कोलम्बो, मलेसियाको क्वालालम्पुर र म्यानमारको रंगुनमा उडान भर्दै आएको छ ।

कम्पनीले एक वर्षभित्रै वाइडबडी एयरबस ल्याएर जापान, कोरिया, युरोप, अष्ट्रेलिया र अमेरिका उडान भर्ने योजना पनि बनाएको छ ।
अनलाइनखबरबाट 


'कांग्रेस आफू हार्ने स्थानमा चुनाव हुन नदिने प्रपञ्च रच्दैछ'



पोखरा,चैत १८ गते । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टी पराजित भएपनि स्थानीय निकायको निर्वाचन हुनैपर्ने बताएका छन् । १९ बर्षपछि प्राप्त अवसर गुमाउन नहुने उनको तर्क छ ।



एमाले कास्कीले शुक्रबार पोखरामा गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले चुनावको सम्भावित हारबाट सशंकित नभएको प्रष्ट पारे । उनले भने, ‘एउटा निर्वाचन हारे जनताको मन जितेर अर्को निर्वाचनमा बिजयी हुने पार्टी एमाले हो ।’

ओलीले १९ वर्षपछि हुन लागेको निर्वाचन असफल पार्न षड्यन्त्र भइरहेको आरोपसमेत लगाए । उनले निर्वाचन हुन नदिन देशी बिदेशी शक्तिहरु लागेको बताएपनि कुन शक्ति भनेर खुलाएनन् ।

कांग्रेसप्रति आक्रोशित हुँदै ओलीले कांग्रेस आफू हार्ने ठाउँमा चुनाव हुन नदिने प्रयास गरिरहेको पनि आरोप लगाए ।



संविधान संशोधनको बिरोध गर्दै ओलीले कसैलाई खुशी पार्न संविधान संशोधन हुन नसक्ने अडान दोहोर्‍याए । उनले भने, ‘कसैको निगाहमा उसलाई खुशी पार्न हुने संशोधन स्वीकार्य छैन ।’

ओलीले नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईप्रति पनि आक्रोश व्यक्त गरेका छन् । ‘३२ वटा पार्टीका ३२ जना मान्छे लिएका एक जना बाहुन छन्, उनले चुनाव हुन्न दिन्न रे, कसैले भनेर चुनाव रोकिदैन ।’ उनले भने । केहि समययता ओली र भट्टराईबीच आरोप प्रत्यारोपको शृङखला चलिरहेको छ ।



यसअघि पोखराका विभिन्न क्षेत्रबाट निस्केको र्‍याली चिप्लेढुङ्गास्थित मानवअधिकार चोकमा आएर सभामा परिणत भएको थियो । सभाका कारण करीब ३ घण्टा पोखराको ट्राफिक ब्यबस्थापन अस्तब्यस्त भएको थियो ।

तस्वीरः उमेश पुन , सन्देश श्रेष्ठ,अनलाइनखबरबाट



नेपालगञ्ज,चैत १८ गते  । सम्पत्तिको लागि सहोदर दाजुभाइ नै कतिसम्म वैरी हुन सक्छन् भनेर समाजमा विभिन्न उदाहरण देख्न पाइन्छ । नेपालगञ्जका एक व्यक्ति आफन्तको ठगिनुका साथै राज्यको न्याय प्रक्रियाको अवस्था कति दयनीय छ भन्ने भुक्तभोगी बनेका छन् ।

नेपालगन्ज–१ धम्बोझीका ४४ वर्षीय मोहम्मद उस्मान हल्वाईले पैत्रिक सम्पत्तिमा जालसाझी गरिएको मुद्दाको निवेदन बोकेर कार्यालयहरु धाउन थालेको पाँच वर्षभन्दा बढी भयो । तर, उनले न्याय पाउनु त परको कुरा, सामान्य सुनुवाई पनि हुन सकेको छैन ।


मोहम्मदले आफ्नै दाजु फारुख हल्वाईले आफूलाई पैत्रिक सम्पत्तिबाट वञ्चित गर्ने उद्देश्यले नागरिकता नै कीर्ते गरेको आरोप लगाएका छन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेबाट मिति ०३८ असोज ८ मा फारुक हल्वाईको जन्मसिद्धको आधारमा जारी भएको नागरिकता नम्बर २९१४२ मा बाबुको नाम मोहम्मद सफिक हल्वाई छ । तर, फारुकको नागरिकतामा बाबुको नाम मोहमद सदिक हल्वाई रहेकोले फारुकले आफू विरुद्ध जालसाझी गरी पैत्रिक सम्पत्तिबाट वञ्चित गरेको उनको आरोप छ ।

उस्मानले गुनासो गरे, ‘विगत पाँच वर्षदेखि दाजुको नागरिकतामा सरकारी टापछाप कीर्ते जालसाझी मुद्दा बोकेर विभिन्न कार्यालय धाउँदै हिँडेको छु, तर कतैबाट न्याय पाउन सकिनँ ।’

उस्मानको धम्बोझी चोकदेखि ५ सय मिटर पश्चिममा निकै जीर्ण घर छ । भत्किन लागेको घरको उनले मर्मत समेत गर्न सकेका छैनन् । गरिबीका कारण उनले घरमा बिजुली समेत जोडेका छैनन् । तर, त्यो घरमाथि नै दाजु फारुकले आँखा लगाएको उनले आरोप लगाएका छन् ।

‘पैत्रिक सम्पत्तिको नाममा रहेको यही एउटा घर पनि बेच भन्दै दाजुले धम्क्याउने गरेका छन्’, उनले अनलाइनखबरलाई सुनाए । पूर्व प्रहरी समेत रहेका बलराम नाम गरेका व्यक्तिले दाजु फारुखसँग मिलेर बारम्बार धम्काइरहेको उनको भनाइ छ ।

उस्मानले दाजुले सरकारी कागजात कीर्ते गरेको उजुरी गर्दै ढड्डाको फोटोकपी र आवश्यक प्रमाण सहित ०७० फागुन २९ गते जिल्ला प्रहरीमा निवेदन दिएका थिए । तर, अहिलेसम्म त्यसको सुनुवाई भएको छैन ।

यस प्रकरणमा बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थसँग बुझ्न खोज्दा उनले पुरानो मुद्दा भएकोले आफूलाई त्यसबारे जानकारी नभएको बताए । उनले मुद्दाको बारेमा बुझेर कारबाही अगाडि बढाउने बताए ।-आरपी सुवेदी,अनलाइनखबरबाट


saas

काठमाडौँ,  चैत्र १८ गते  । सङ्घीय प्रणालीमा मुलुकको रुपान्तरणसँगै रेडियो नेपालले प्रादेशिक प्रसारण आरम्भ गर्ने भएको छ ।

रेडियो नेपालको ६७औँ वार्षिकोत्सवको पूर्व सन्ध्यामा आज आयोजित पत्रकार सम्मेलनमा सातै प्रदेशमा आधुनिक सुविधासहितको प्रसारण केन्द्र स्थापना गरी प्रादेशिक प्रसारण आरम्भ गर्न लागिएकोे जानकारी दिइएको हो । ती प्रसारण आउँदो आर्थिक वर्षमा सुरु हुने योजना छ ।



संस्थाको साङ्गठनिक ढाँचालाई संविधानबमोजिम प्रदेश संरचनामा लान सङ्गठन तथा व्यवस्थापन अध्ययन भइसकेको र प्रादेशिक प्रसारणबारे सरोकारवाला र श्रोतासँग अन्तक्र्रिया गरिएको रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले बताउनुभयो । हाल २४ सैँ घन्टा केन्द्रीय प्रसारण गरिरहेको रेडियो नेपालले १८ घन्टा प्रदेश प्रसारणको तयारी गरेको छ ।

मुलुककै जेठो प्रसारण संस्था रेडियो नेपाल विसं २००७ चैत २० मा स्थापना भएको हो । हाल यसले २१ भाषामा समाचार र १८ भाषामा कार्यक्रम प्रसारण गर्दै आएको छ । यसले नियमितरुपमा जागरण गीत तथा फूलबारी गीत सम्मेलन गर्दै आएको छ ।

कार्यकारी निर्देशक कार्कीले रेडियो नेपाल हाल ८६ प्रतिशत जनसङ्ख्याबीचमा प्रसारण पहुँचमा रहेको र प्राविधिक स्तरोन्नतिका लागि नयाँ ट्रान्समिटर आउने क्रममा रहेको जानकारी दिनुभयो । रासस




काठमाडौं, चैत १८ गते  । उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले आन्दोलनरत मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागी हुन आहृवान गरेका छन् ।


निर्वाचन प्रजातान्त्रिक अभ्यास भएको भन्दै उनले यसबाट कोही पनि विमुख हुन नहुने धारणा पनि राखे । सरकारले स्थानीय तहको निर्वाचनमा सबैलाई सहभागी गराउन अधिकतम कोशिस गरिरहेको उनले बताए ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री थापाले सानातिना असन्तुष्टिलाई बोकेर निर्वाचन जस्तो ऐतिहासिक काममा सहभागी नहुने काम कसैबाट हुन नहुने बताए । मधेसी मोर्चालाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउन प्रमुख प्रतिपक्ष एमाले समेत प्रतिवद्ध रहेको उपप्रधानमन्त्री थापाले बताए ।

उपप्रधानमन्त्री थापाले निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुनेमा शंका नगर्न पनि सबैमा आग्रह गरेका छन् ।-अनलाइनखबरबाट





काठमाडाैं, चैत १८ गते । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन प्रचार-प्रसार अभियानमा पार्टीका शीर्ष नेताहरुलाई गाउँ तहसम्मै सहभागी गराउने भएको छ ।

निर्वाचन परिचालन समितिको शुक्रबार बसेको बैठकले स्थानीय तहमा आयोजना हुने सबै जनसभामा पार्टी सभापतिसहित शीर्ष नेताहरुलाई सहभागी गराउने निर्णय गरेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा पहिलो पटक बसेको निर्वाचन परिचालन समितिको बैठकले गाउँ तहसम्मकै निर्वाचनको प्रचार प्रसार अभियानको नेतृत्व सम्बन्धित क्षेत्रका केन्द्रीय कार्यसमिति सदस्यले नै गर्ने निर्णय पनि गरेको छ ।


कांग्रेसले स्थानीय तहको निर्वाचनलाई परिचालन गर्न पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको परिचालन समिति गठन गरेको थियो ।

समितिले देशभरका सबै स्थानीय तहमा जनसभा आयोजना गर्ने र त्यसको तयारीको काममा पार्टी केन्द्रीय सदस्य आफैं सहभागी हुने व्यवस्था मिलाएको छ । स्थानीय तहको निर्वाचन प्रचार अभियानमा पार्टीका शिर्ष नेताहरुलाई नै गाउँ तहसम्म सहभागी गराउने निर्णय लिइएकेा पार्टी नेता एवम् रक्षा मन्त्री बालकृष्ण खाँडले जानकारी दिए ।

बैठकले ७ सय ४४ वटै स्थानीय तहमा चुनावी सभा आयोजना गर्ने निर्णय पनि गरेको छ । कांग्रेसले स्थानीय पार्टी समितिले नै सम्बन्धित तहको उम्मेदवार तय गर्ने कार्यविधि तय गरिसकेको छ । । साथै गरी पार्टीको निर्वाचन घोषणा पत्र तयार गर्न नेता महेश आचार्य नेतृत्वको घोषणा पत्र तयारी समिति पनि बनाएको छ ।-अनलाइनखबरबाट

साढे १५ लाखको लागतमा खेलमैदान


पर्वतको महाशिला गाउँपालिका वडा नं ३ बालाकोटमा रु १५ लाख ५० हजारको लागतमा व्यवस्थित खेलमैदान निर्माण भएको छ । बालाकोटस्थित दहमा खेलमैदान निर्माणका लागि युवा तथा खेलकुद मन्त्रालयबाट गत बर्ष रु १० लाख र यो वर्ष रु पाँच लाख गरी कुल रु. १५ लाख बजेट प्राप्त भएको छ । उक्त खेलमैदान ७० मिटर चौडाइ र १५० मिटर लम्बाइमा बनेको स्थानीय खेलाडी कृष्ण गुरुङले जानकारी दिनुभयो ।

व्यवस्थित खेलकुद निर्माण गर्नका लागि केही रकम अपुग भएकाले सबैलाई यसमा सहयोग गर्न खेलकुद मैदान निर्माण समितिले आग्रहसमेत गरेको छ । आर्थिक अभावका कारण प्याराफिट निर्माण गर्न समस्या भएको छ । खेलमैदानमा फुटबल, भलिबल, बास्केटबल, एथ्लेटिक्सका अन्य खेल सञ्चालन गर्न सहज हुने अर्का खेलाडी रुपेश गुरुङले जानकारी दिनुभयो ।

मैदानको अभावमा युवापुस्तामा खेलप्रतिको रुचि कम हुँदै गएका बेला गाउँमै व्यवस्थित खेलमैदान निर्माण भएपछि स्थानीय युवायुवती उत्साहित भएका छन् । गुरुङ समुदायको बाहुल्यता रहेको उक्त गाविसमा अधिकांश युवायुवती खेलप्रति रुचि राख्दै आएका छन् । सो खेलमैदानलाई जिल्लाकै नमुना बनाउने तयारी उनीहरुको छ । रासस

  

सुनको भाउ ह्वातै घट्यो

काठमाण्डौ, चैत्र १८ गते । साताको अन्तिम दिन आज सुनको भाउ घटेको छ । आज प्रतितोला ६ सयले सुनको मूल्य घट्दा तोलाको ५४ हजार २ सय रूपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको मूल्य प्रतितोला ५४ हजार ८ सय रूपैयाँ थियो । त्यस्तै चाँदीको मूल्य भने प्रतितोलामा ५ रूपैयाँ घटेको छ । आज चाँदी ८ सय ५ रूपैयाँमा कारोबार भइरहेको छ ।-पुर्बेलीन्युजबाट



काठमाडौं, चैत १८ गते  । नेपालको चारदिने औपचारिक भ्रमण पूरा गरी भारतीय स्थल सेनाध्यक्ष विपिन रावत आज स्वदेश प्रस्थान गरेका छन् ।


त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा नेपाली सेनाका बालाध्यक्ष रथी पूर्णचन्द्र थापाले बिदार्इ गरे ।

नेपाली सेनाले प्रदान गर्ने मानार्थ महारथीको सम्मान ग्रहण गर्न चैत १५ गते काठमाडौं आएका रावतले यहाँ रहँदा प्रधानमन्त्रीर रक्षामन्त्री, प्रधानसेनापति लगायतसँग शिष्टाचार भेट गरेका थिए ।

चैत १६ गते राष्ट्रपति निवासमा राष्ट्रपति बिद्यादेवी भण्डारीले रावतलाई नेपाली सेनाको मानार्थ महारथी दर्जाबाट सम्मान गरेकी थिइन् ।-अनलाइनखबरबाट




ताप्लेजुङ, चैत १८ गते  । जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङमा अंगीकृत नागरिकता लिनेहरु बढेका छन् । साथै आमाको नामबाट नागरिकता लिनेक्रम समेत बढेको देखिएको छ ।

जिल्ला प्रशासन कार्यालयले हालसम्म १ सय २९ लाई बैबाहिक अंगीकृत र २ जनालाई आमाको नाममा नागरिकता दिएको जानकारी दिएको छ । अंगीकृत नागरिकता लिनेमा सबैभन्दा बढी भारत र त्यसपछि चीनबाट विवाह गरेर आउने छन् ।


जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भगिमान मादेनका अनुसार, यो तथ्याङ्क अन्तिम हो । प्रशासन कार्यालयका अनुसार, अघिल्लो वर्ष जिल्लाबाट १८ बैवाहिक अंगीकृत नागरिकता प्रदान भएको थियो ।

चैत दोस्रो सातासम्मको तथ्याङ्कलाई आधार मान्ने हो भने यसवर्ष अघिल्लो वर्षभन्दा केही बढी मात्रामा वैवाहिक अंगीकृत नागरिकता वितरण हुने संभावना रहेको छ ।

मादेनले सबैभन्दा बढी भारतबाट र त्यसपछि चीनको तिब्बतबाट नेपाली पुरुषसँग विवाह गरी आउने महिलालाई बैवाहिक अंगिकृत नागरिकता प्रदान गरिएको जानकारी दिए ।

यसैबीच, हालसम्म जिल्ला प्रशासन कार्यालयबाट दुईजनाले मात्र आमाको नामबाट नागरीकता लिएको पाइएको छ ।

२०७३ सालमा दोखु गाविसबाट मैना लिम्बु र २०६६ सालमा पापुङका पासाङ शेर्पाले आमाको नामबाट नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।-अनलाइनखबरबाट




बिराटनगर, चैत १८ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल प्रहरीको आइजीपी नियुक्ति गर्ने अधिकार सरकारको भएको भन्दै घुमाउरो पारामा अदालतलाई जवाफ दिएका छन् ।


बिराटनगरको हाटखोलमा आयोजित नेपाली कांग्रेसको चुनाव लक्षित सभालाई सम्वोधन गर्न शुक्रबार बिहान बिराटनगर ओर्लिएका सभापति देउवाले विमानस्थलमा पत्रकारसँग कुरा गर्ने क्रममा आइजीपी प्रकरणबारे मुख खोलेका हुन् ।

सरकारले जयबहादुर चन्दलाई आएजीपी नियुक्त गरेकोमा सर्वोच्च अदालतले रद्द गरिदिइसकेको छ । र, अदालतले नवराज सिलवाललाई आइजीपी बनाउनुपर्ने गरी आदेश दिए पनि सरकारले यसबारे कुनै निर्णय गरेको छैन । यसबारेमा पत्रकारले जिज्ञासा राख्दा कांग्रेस सभापति देउवाले आइजीपी नियुक्त गर्ने अधिकार सरकारको भएको बताए ।

देउवाले अदालतको नाम नलिई आईजीपी बनाउने अधिकार सरकारमा रहेको भन्दै यो विवाद चाँडै सरकारले टुङ्याउने बताए ।

सञ्चारकर्मीले अब फेरि जयबहादुर चन्दलाई आइजीइपी बनाउने हो ? भनेर देउवालाई प्रश्न गरेका थिए । जवाफमा देउवाले भने- ‘हेर्दै जाउँ, आईजीपी को हुन्छ !’-ध्रुव भट्टरार्इ,अनलाइनखबरबाट

मोर्चालाई निषेध नगर्ने, तालमेल गर्दा केन्द्रको अनुमति अनिवार्य



काठमाडौं, चैत १८ गते  । आफूविरुद्ध सबै दलको मोर्चाबन्दी हुन थालेको निष्कर्ष निकालेको नेकपा एमालेले स्थानीय तहको चुनावमा अन्य दलसँग तालमेल गर्नुपूर्व पार्टी केन्द्रको अनुमति अनिवार्य लिनुपर्ने सर्कुलर जारी गरेको छ ।

स्थायी कमिटी बैठकले तय गरेको निर्वाचन मापदण्ड र निर्देशिका पार्टीका सम्बन्धित कमिटीहरुलाई सर्कुलरका रुपमा पठाइएको छ । सर्कुलरमा अन्य पार्टीसँग चुनावी तालेमल गर्नु पर्ने भएमा स्थायी कमिटीले आवश्यक निर्णय गर्ने भनिएको छ ।

एमालेको सर्कुलरमा भनिएको छ- स्थानीय तहमा तालमेल गुर्नपर्ने आवश्यक भएमा जिल्ला कमिटीले प्रदेश कमिटीको र प्रदेश कमिटीले स्थायी कमिटीको अनुमति लिनुपर्ने छ ।

सर्कुलरको छैठौं बुँदामा चुनावी तालमेल तथा समन्वयका बारेमा उल्लेख गरिएको छ । निर्वाचनमा पार्टीको विजय सुनिश्चित गर्न आवश्यकता अनुसार अन्य दलहरुसँग तालमेल र समन्वयको पहल गर्न स्थानीय कमिटी स्वतन्त्र हुनेछन् ।

सर्कुलरमा भनिएको छ- ‘सम्बन्धित स्थानको राजनीतिक शक्ति सन्तुलन, पार्टीको सामथ्र्य र संभाव्य परिणामका सम्बन्धमा सुक्ष्म विश्लेषण गर्ने । तालमेल सम्बन्धमा औपचारिक रुपमा संझौता गर्नुपूर्व जिल्ला कमिटीले प्रदेश संगठन कमिटीबाट र प्रदेश संगठन कमिटीले स्थायी कमिटीबाट अनुमति लिने ।’

एमालेले केही जिल्ला र स्थानीय तहमा माओवादी र मधेसी मोर्चा प्रतिस्पर्धी भए पनि देशैभर कांग्रेस मुख्य प्रतिस्पर्धी हुने ठहर गरेको छ । त्यसैले चुनावमा कांग्रेससँग तालमेल नहुने र आवश्यकता अनुसार अन्य दलसँग तालमेल गर्न सकिने निष्कर्ष निकालेको छ ।

स्थायी कमिटी बैठकको निष्कर्ष सुनाउँदै प्रदेश नम्बर ४ का संयोजक समेत रहेका नेता किरण गुरुङले स्थानीय आवश्यकताका आधारमा सीमित ठाउँमा तालमेल हुन सक्ने बताए । तर, यस्तो तालमेल पार्टीको विजय सुनिश्चित गर्न कांग्रेस बाहेकका साना दलहरुसँग हुन सक्ने उनको ठम्याइ छ । गुुरुङले भने-मुलतः एमाले एक्लै चुनाव लडेर पहिलो शक्ति बन्ने हो ।

अहिले हामी विरुद्ध कांग्रेस,माओवादी र मधेसी मोर्चादेखि बाबुरामको नयाँ शक्तिसम्मले मोर्चाबन्दी गर्न खोज्दैछन् । हामी उनीहरु सबैकेा सामना गर्न तयार छौं । स्थानीय स्तरमा आवश्यकता अनुसार कतिपयसँग तालमेल हुन सक्छ ।

अहिलेसम्म नेकपा मसालको बैधानिक संगठन राष्ट्रिय जनमोर्चा बाहेक अन्य दलसँग तालमेलको सम्भावना नदेखिएको एमालेका नेताहरुले बताएका छन् । यद्यपी नेकपा माले र नेपाल मजदूर किसान पार्टीसँग पनि तालमेलको प्रयास हुन सक्ने छ ।

मालेको खासै संगठित जनाधार नभए पनि मजदूर किसान पार्टीको भक्तपुरमा बर्चश्व र कणर्ालीमा पनि सामान्य जनमत छ । बरु कतिपय ठाउँमा कांग्रेस रोक्न राप्रपासँग तालमेल गर्न सकिने एमालेको निष्कर्ष छ ।

कांग्रेससँगको तालमेल असम्भव देखेको एमालेले बरु अहिले आफूलाई प्रमुख दुश्मन बनाइरहेको मधेसी मोर्चासँग भने स्थानीय आवश्यकता आधारमा तालमेल हुन सक्ने जनाएको छ । ‘मोर्चासँग पार्टीगत तहबाट सम्बन्ध होला जस्तो लाग्दैन तर मधेसका कतिपय स्थानीय तहमा कांग्रेस विरुद्ध तालमेल गर्न सकिन्छ’ एक नेताले बताए ।

कठोर कारवाहीको पूर्व चेतावनी

महानगर, उपमहानगर, नगरपालिका तथा गाउँपालिकामा उम्मेदवार बन्न पार्टीभित्रै एकले अर्को विरुद्ध घात-प्रतिघातको सम्भावना देखिएपछि एमालेले संस्थागत रुपमै कठोर कारवाहीको पूर्व चेतावनीसहितको सर्कुलर सबै कार्यकर्तालाई पठाएको छ । जसमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका खेल्नेमाथि ५ वर्षको कठोर कारवाहीको चेतावनी दिइएको छ ।

सुर्कलरमा भनिएको छ- पार्टी निर्णयलाई अवज्ञा गर्ने, पार्टीले अघि सारेको उम्मेदवारको विरुद्धमा वागी उम्मेदवार बन्ने, वागी उम्मेदवारको प्रस्तावक वा समर्थक बन्ने, पार्टीकोउम्मेदवारको विरुद्ध र बागी उम्मेदवारको पक्षमा गतिविधि गर्ने, विरोधी दलका उम्मेदवारसँग साँठगाँठ गर्ने, विरोधी दलका उम्मेदवारको समर्थक वा प्रस्तावक बन्ने व्यक्तिलाई उम्मेवारीका सम्बन्धमा अन्तिम निर्णय गर्ने पार्टी कमिटीले तत्काल पार्टी सदस्यताबाट निष्काशित गर्ने ।

कारवाहीमा परेका व्यक्तिको पक्षपोषण गर्नेहरुलाई समेत अनुशासनात्मक कारवाही गर्ने एमालेले जनाएको छ । तत्काल सम्बन्धित पार्टी कमिटीको बैठक बस्न सम्भव नभए उम्मेदवारीका सम्बन्धमा निर्णय गर्ने अख्तियारी प्राप्त कमिटीको प्रमुख पदाधिकारीले कारवाही गर्ने र कमिटीको बैठकमा अनुमोदनका लागि प्रस्तुत गर्ने अख्तियारी समेत दिइएको छ ।

सर्कुलरमा भनिएको छ- त्यसरी निष्काशनको कारवाहीमा परेको व्यक्तिलाई पाँच बर्षसम्म पुनः पार्टी सदस्यता प्रदान गरिनेछैन र राज्य वा पार्टीका कुनै पनि पद र सुविधा दिइनेछैन । पार्टीको जीत बाहेक अरु कुनै पनि कुरा सुनुवाइ नहुने समेत एमालेले प्रष्ट पारेको छ ।-अनलाइनखबरबाट

नगरपालिका र जिससमा तोडफोड


सप्तरी,  चैत १८ गते  । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले बिहीबार सप्तरी सदरमुकाम राजविराजस्थित जिल्ला समन्वय समिति र राजविराज नगरपालिकाको कार्यालयमा तोडफोड गरेका छन् । सरकारद्वारा घोषित निर्वाचन र स्थानीय तह पुनःसंरचनामा असन्तुष्टि जनाउँदै १० दिनअघि लगाइएको ताला प्रहरीले खोलेको भन्दै मोर्चाका कार्यकर्ताले तोडफोड गरेका हुन् ।



तोडफोडका कारण राजविराज नगरपालिकाका झ्याल, ढोका, टेबुल कुर्सी, कम्प्युटरलगायतमा क्षति पुगेको छ । लगत्तै नाराजुलुससहित जिल्ला समन्वय समितिमा पुगेका मोर्चा कार्यकर्ताले त्यहाँ पनि लेखा, प्रशासन र योजना शाखामा तोडफोड गरे । उनीहरुले केही बेरअघि सुरक्षाकर्मीले खोलेका दुवै कार्यालयमा पुनः तालावन्दी गरेका छन् । दुवै कार्यालयमा गरिएको तोडफोडवाट रु १० लाखभन्दा बढीको क्षति भएको कर्मचारीले जानकारी दिएका छन् ।

त्यसैगरी जिल्ला मालपोत कार्यालयलाई पुरानै संरचनाअनुसार राजस्व नलिएको भन्दै मोर्चाका कार्यकर्ताले तालाबन्दी गरेका छन् । मालपोत प्रमुख दधीराम गुरागार्इंले भने सरकारले भनेअनुसार हामीले राजस्व उठाउने हो र सोही अनुसार राजस्व उठाउने बताउनु भयो । रासस



इटहरी,चैत्र १८ गते । स्थानीय निकायको निर्वाचन जति नजिकिँदैछ, त्यही अनुपातमा गाउ तथा सहरहरूमा समेत चुनावी सरगर्गी पनि बढ्दै गएकाे पाइएकाे छ । १९ वर्षपछि सरकारले ०७४ बैशाख ३१ गते स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेसँगै मतदान गर्नका लागि मतदाताहरू र आफ्नो उम्मेद्वारी दिनका लागि विभिन्न पार्टीमा आबद्ध स्थानीय नेताहरू आतुर देखिएका छन् । योसँगै यतिबेला स्थानीय तहमा पार्टीभित्र के कस्ता नेताहरूलाई मेयर÷उप मेयरका लागि छनोट गरी उम्मेद्वार बनाउने हो भन्नेतर्फ ध्यान जानुको सट्टा एकले अर्कोलाई कसरी छिर्के लगाएर आफूचाहिँ माथि पर्ने हो भन्ने घिनलाग्दो खेल सुरु भइसकेको छ ।


नयाँ संविधानले स्थानीय निकायलाई बलियो बनाउने नीति अख्तियार गरेकाले अबको मेयर÷उपमेयर भनेको मन्त्रीभन्दा ठूलो हुने छन । त्यही भएर पनि मेयर÷उपमेयरका लागि तँछाडमछाड थामिनसक्नु गरी बढेको हो । मुख्य राजनीतिक दलदेखि अन्य साना दल र क्षेत्रीय दलहरूबाट पनि मेयर÷उप मेयरमा आकांक्षीहरू धेरै नै भएकाले के कसरी व्यवस्थापन गर्ने हो भन्ने विषय यतिबेला पार्टीका जिल्ला नेतृत्वकर्ता र केन्द्रीय नेतृत्वकर्ताहरूका लागि टाउको दुखाइ भएको छ । केही प्रमुख पार्टीहरूले मेयर ÷उपमेयरका लागि निश्चित मापदण्ड निर्धारण गरिसकेका छन् । उम्मेद्वार छनौटका लागि केन्द्रीय, प्रदेश र जिल्ला समितिलाई जिम्मेवारी समेत सुम्पिइसकेको छ । तर, पनि के कसरी मिलाएर लैजाने हो भन्ने विषयमा जिम्मेवारी पाएका नेताहरू अन्योलमै छन् ।



नयाँ संविधानले स्थानीय निकायको मेजर पद मेयर÷उपमेयर मध्ये कुनै एकमा महिला अनिवार्य भन्ने सुनिश्चतता गरेकाले पूर्वका नाम चलेका उपमहानगर, नगरपालिकामा मेयर तथा गाउँपालिका अध्यक्षमा थुप्रै सक्षम महिला नेतृहरूले आकंक्षा देखाएपछि उम्मेद्वार छनोटको विषयमा गहकिलो बन्दै गएको छ । मुख्य राजनीतिक दलको नेतृत्व तहमै महिला नेतृहरूले पूर्वका प्रत्येक जिल्लामा रहेका उपमहानगर, नगरपालिका र गाउँपालिकाहरूमध्ये ५० प्रतिशतमा मेयरको उम्मेद्वारमा सक्षम महिलाहरूलाई टिकट दिनुपर्ने मागलाई महत्वका साथ अगाडि सारेका छन् । निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले स्थानीय निकायमा महिलाहरूलाई प्रथामिकता दिनुपर्ने कुरालाई जोड दिएसँगै महिलाहरूलाई मेयरमा टिकट दिनुपर्छ भन्ने विषय यतिबेला चर्चाको शिखरमा पुगेको छ ।

नेपाली कांग्रेस निकट नेपाल महिला संघ केन्द्रीय सदस्य भगवती पौडेलले भनिन्, ‘पूर्वमा मात्र होइन, देशभरबाट अब प्रत्येक पार्टीले सक्षम महिलाहरूलाई उपमेयर होइन, मेयर पदका लागि टिकट दिनुपर्छ । केवल भाषणमा मात्र महिलाहरूलाई ३३ र ५० प्रतिशत अधिकार पार्टीले प्रदान गरेको छ भनेर अब महिला नेतृहरू मान्ने पक्षमा छैनन् ।’ स्थानीय निकायको निर्वाचन भनेको पार्टीको नेतृत्वकर्ताहरूले बोलेका कुराहरूलाई व्यवहारिक रूपमा कार्यन्वयनका ल्याउने अवसर पनि भएको उनले बताइन् । अझै पनि धेरै पार्टीको नेतृत्व तहमा बसेकाहरू पितृसत्तामक सोचबाटै ग्रसित भएकाले अब त्यसलाई परिर्वतन गर्न आवश्यक रहेको उनको भनाइ छ । उनले भनिन्, ‘हुन लागेको स्थानीय निकायको निर्वाचनमा हामी महिला नेतृहरू अधिकारका लागि लडाइँ गर्न पनि तयार छौँ । यदि पार्टीका नेतृत्वकर्ताहरू महिलाहरूलाई पनि मेयरमा टिकट दिन तयार हँुदैनन् भने अन्तरपार्टी महिला सञ्जालमा आबद्ध भएका देशभरका महिलाहरू सबै पार्टीका मुख्य कार्यालय घेराउ गर्न, धर्ना र अनसनमा बस्न तयार छन् ।’

इटहरी उपमहानगरपालिका



इटहरी उपमहानगरका लागि एमालेबाट मेयर पदका लागि महिलाहरूमा विष्णु शर्मा नेपाल, लक्ष्मी गौतम, अमला श्रेष्ठ र अमृता सुब्बाको नाम चर्चामा रहेको छ । पुरुषहरूबाट सांसद रेवतीरमण भण्डारी, द्धारिकलाल चौधरी, याम सुब्बा, सर्वध्वज साँवा र रामप्रसाद चौलागाईको चर्चा छ । नेपाली कांग्रेसको तर्फबाट इटहरी नगरसभापति हेमकर्ण पौडेल, उद्योग वाणिज्य संघ इटहरीका पूर्व अध्यक्ष रोहित प्रसाई, विद्यार्थी नेता राजीव ढुंगाना, दुई नम्बर क्षेत्रीय सभापति मणिराम श्रेष्ठ र महिलाहरूको तर्फबाट गीता श्रेष्ठको नाम चर्चामा छ । माओवादी केन्द्रमा पार्टीका नगर इन्चार्ज भीम सुवेदी सागर, दोस्रो संविधानसभामा निर्वाचन लडेर नराम्रो पराजय भोगेकी रामकुमारी चौधरी र महिला नेतृ सपना परियार, सरस्वती पोख्रेल र शिवकुमार डाँगीको नाम चर्चामा रहेको छ ।राप्रपामा खनार निवासी प्रभावशाली नेता रोहित कार्की, इटहरीका युवा नेता रामप्रसाद (रामु) पोख्रेल लगायतको नाम चर्चामा छ ।

धरान उपमहानगरपालिका



कांग्रेसबाट मेयरको लागि पार्टी सुनसरी जिल्ला सचिव एवं प्रवक्ता सुजेन्द्र गोले, नगर सभापति तिलक राई, पूर्व सभापति किशोर राई, महासमिति सदस्य पर्वत राई पनि आकांक्षी छन् । एमालेबाट जिल्ला उपाध्यक्ष रमेश बस्नेत, जिल्ला सदस्यहरू प्रदीप भण्डारी, मुरारी सुवेदी, जयकुमार राई, भुवन मोक्तान र प्रदेश नम्बर एकको समिति सदस्य विजय राई र नगर अध्यक्ष तारा सुब्बा आकांक्षी देखिएका छन् । माओवादी केन्द्रबाट नगर क्षेत्र इन्चार्ज आइन्द्रविक्रम बेघा, नगर क्षेत्रका सह इन्चार्ज अशोक राई, भूमिका चौलागाई, दिलबहादुर रामदाम, दिपेश बिक, नगर संयोजक चोत्लुङ, नगर संह संयोजक राम सुब्बासमेत आकांक्षी देखिएका छन् । धरानमा कुनै पनि पार्टीबाट मेयर पदका महिलाहरूले आकंक्षा देखाइसकेका छैनन् । उप मेयरमा भने नाम चलेका धेरै महिला नेतृहरूले आकांक्षा देखाएका छन् ।

विराटनगर उपमहानगर



मेयर पदका लागि नेपाली कांग्रेसका तर्फबाट मोरङ कांग्रेसका सचिव नागेश कोइराला, नगर सभापति भीम पराजुली, फुलकुमार लालवानी र विश्वनाथ रिजालको नाम चर्चामा छ । एमालेबाट मेयरमा एमाले मोरङ अध्यक्ष विनोद ढकाल, पूर्व अध्यक्ष महेश रेग्मी र एमालेका नगर इञ्चार्ज सागर थापाको नाम चर्चामा छ ।माओवादी केन्द्रले विराटनगर उपमहानगरपालिकाको मेयर पदका लागि भोगेन्द्र यादवलाई अगाडि सार्ने घोषणा गरिसकेको छ ।

इनरुवा नगरपालिका

एमालेबाट मेयर पोष्टकुमार नेपाल, कालुराम गुरुङ, डम्बरुबल्लभ भण्डारी, महिला नेतृ निरा आचार्यको नाम चर्चामा छ । नेपाली कांग्रेसको तर्फबाट राजीव कोइराला, केदार भण्डारी, रामप्रसाद मेहता, राजन मेहता र इन्द्र पोख्रेलको नाम चर्चामा छ । माओवादी केन्द्रबाट ओम दाहाल र राप्रपाबाट पारसमणि यादव र डम्बर घिमिरेको नाम चर्चामा छ ।

सुन्दरहरैंचा नगरपालिका

सुन्दरहरैंचा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा नगर विकास समितिकी अध्यक्ष भगवती पौडेल, युवा नेता शिव ढकाल, लोकप्रसाद संग्रौला, गोपाल थापा र चैतन्य सिटौलाको नाम चर्चामा छ ।त्यस्तै, नेकपा एमालेबाट अजम्बर राई, केदार गुरागाई, राजकुमार ओझा, अर्जुन अधिकारी र सुकुना बहुमुखी क्याम्पसका प्रमुख पीतकुमार श्रेष्ठको नाम मेयरका रूपमा चर्चामा छ । माओवादी केन्द्रबाट उद्योग वाणिज्य संघ सुन्दरहरैंचाका अध्यक्ष नवराज चापागाई, मित्रसेन योञ्जन र कुमार राईको नाम मेयरका रूपमा चर्चामा छ ।

बेलबारी नगरपालिका

बेलबारीको मेयरमा नेपाली कांग्रेसबाट राजकुमार लिम्बू, नगेन्द्र कट्टेल र रुकमणि धिमालको नाम चर्चामा छ । कांग्रेसबाटै यज्ञ ढकाल पनि मेयरका आकांक्षी हुन् ।एमालेबाट बेलबारीको मेयर पदका लागि डीपी राई, ज्ञानेन्द्र सुवेदी, इरान राई र राजकुमार बस्नेतको नाम चर्चामा छ । त्यस्तै, माओवादी केन्द्रबाट तिलक राई, पर्शुराम सुवेदी, रामप्रसाद राई र पुष्प चौधरीको नाम चर्चामा छ ।

पथरी शनिश्चरे नगरपालिका

पथरी शनिश्चरे नगरपालिकामा नेपाली कांग्रेसबाट गणेश खड्का, किरण थापा र माधव कोइरालाको नाम चर्चामा छ ।एमालेबाट मेयरमा रामकुमार बस्नेत, मोहन तुम्वा र तिलक वान्तवा चर्चामा छन् । एमालेबाट मोहन न्यौपाने र कृष्णा राई पनि मेयरका आकांक्षी हुन् । त्यसैैगरी माओवादी केन्द्रबाट मेयरका रूपमा जहरमान लिम्बू, विकास मगर र यशोदा खतिवडाको नाम चार्चामा छ । त्यसैगरी नेत्र पोख्रेल पनि माओवादीबाट मेयरका आकांक्षी हुन् ।

उर्लाबारी नगरपालिका

उर्लाबारीको मेयरमा नेपाली कांग्रेसबाट वीरबल थापा र जयधर्म आचार्यको नाम चर्चामा छ । कांग्रेसबाटै अर्का आकांक्षी खड्ग फागो र भोलामान श्रेष्ठ पनि चर्चामा छन् ।त्यसैगरी उर्लाबारीको मेयरमा नेकपा एमालेबाट भूपाल जिमी, मानबहादुर श्रेष्ठ, उमाकान्त गौतम, अग्नि भट्टराई र पुष्प ढकालको नाम चर्चामा छ । उर्लाबारीमा माओवादी केन्द्रबाट मेयरका रूपमा राजेन्द्र पौडेल, प्रेम मिभक, अनुप राजवंशी र पूरा ताजपुरियाको नाम चर्चामा रहेको छ ।

लेटाङ नगरपालिका

लेटाङ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट दीपकचन्द्र राई, शंकर राई र राजकुमार लामाको नाम चर्चामा छ ।मेयरमा एमालेबाट भुपेन्द्र लावती, घनश्याम खतिवडा, भूमि मगर र शान्ति लिम्बूको नाम चर्चामा छ । त्यसैगरी माओवादी केन्द्रबाट लेटाङको मेयरमा एक मात्र आकांक्षीका रूपमा गोपाल नेपालीलाई अघि सारिएको छ ।-पुर्बेलीन्युजबाट



चितवन,  चैत १७ गते । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले स्थानीय निकायको निर्वाचन तोकिएको मितिमा नभए देशमा उथलपुथल हुने बताउनुभएको छ ।

पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उहाँले निर्वाचन समयमा हुन नदिन षड्यन्त्र भइरहेको विचार व्यक्त गर्नुभयो ।
झलनाथ खनालको लागि तस्बिर परिणामअहिलेको सरकारले निर्वाचन स्थगित गर्न कोसिस गरिरहेको आरोप लगाउँदै उहाँले निर्वाचन गर्ने आँट सरकारले गर्नुपर्छ भन्नुभयो ।

नेकपा एमालेले स्थानीय निर्वाचनका लागि उम्मेदवार चयनको काम सुरु गरिसकेको छ भन्दै महानगर र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख केन्द्र र अन्य निकायको प्रदेशले उम्मेदवारी चयन गर्ने र चाँडै नै सबै उम्मेदवारी तय हुने उहाँले जानकारी दिनुभयो ।

तराईमा फेरि एमालेले कार्यक्रम गर्ने भन्दै उहाँले यसअघि मधेसी मोर्चाको गैर जिम्मेवारीपूर्ण क्रियाकलापका कारण सप्तरी घटना भएको बताउनुभयो ।

मधेसमा– मधेसी मोर्चाले जनता भड्काउने काम गरेको भन्दै उहाँले सबैलाई थाहा हुनेगरी कोही कसैबाट मधेसी मोर्चा परिचालित भएको खनालको आरोप थियो । उहाँले भन्नुभयो “सप्तरी र महाकालीमा घटना हुँदा पनि मधेसी मोर्चा बोलेनन् ।”

मधेसलाई संविधानले सम्बोधन गरेको भन्दै उहाँले हरेक मधेसी जनताका लागि संविधानमा अधिकारको व्यवस्था भएको बताउनुभयो । रासस

puspa kamal dahalको लागि तस्बिर परिणाम

काठमाडौँ, चैत १७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्ति प्रक्रियाको सफलतालाई ठूला र विकसित मुलुकले प्रचार गर्न नचाहेको बताउनुभएको छ ।

नेपालको शान्ति प्रक्रियाबारे अध्ययनमा आएको म्यानमारको शान्ति प्रमण्डलसँग ‘सेन्टर फर ह्युम्यानिटेरियन डायलग’ र ‘इन्स्टिच्युट अफ क्राइसिस म्यानेजमेन्ट स्टडिज’ ले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा प्रधानमन्त्री दाहालले भन्नुभयो – “नेपालको शान्ति प्रक्रिया विश्वमा सफलतम् उदाहरणमध्येको एक हो तर नेपाल सानो र गरिब मुलुक भएकाले होला यो सफलतालाई स्थापित र प्रचार गर्न ठूला र धनी मुलुकले चाहेनन् ।”

उहाँले युरोप, ल्याटिन अमेरिका वा अन्य ठूला मुलुकका यस्ता सफल अभ्यास भएका भए व्यापक प्रचार हुने टिप्पणी गर्दै ती मुलुकले नेपालको सफल शान्ति प्रक्रिया स्थापित गर्ने र यसबाट अरु मुलुकले सिक्ने विषय स्वीकार्य नभएको टिप्पणी गर्नुभयो ।

राजाले प्रत्यक्ष शासन सञ्चालन गरे पनि तत्कालीन विद्रोही नेकपा (माओवादी)का अध्यक्षका हैसियतमा आफूले एकपक्षीय युद्धविराम घोषणा गरी सात दलसँगको सहकार्यमा १२ बुँदे सहमति गरेको, हतियार र सेना समायोजन हुँदै हाल संविधानसभाबाट नयाँ संविधान जारीपछि नेपालको शान्ति प्रक्रिया आधारभूत रुपमा पूरा र सफल भएको उहाँले बताउनुभयो ।

प्रत्येक देशको शान्ति प्रक्रियाका विशिष्ट र मौलिक अनुभव हुने भन्दै उहाँले राजनीतिक उद्देश्य र जनताका जायज मागमा आधारित विद्रोहलाई शान्ति प्रक्रियाबाट हल गर्न सकिने भन्दै आतङ्ककारी र अराजक गतिविधिलाई चाँही कानुनको पालनाबाटै समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपालको शान्ति प्रक्रियाका अनुभवको अध्ययन गर्न आएकामा म्यानमारका टोलीलाई धन्यवाद दिँदै प्रधानमन्त्री दाहालले त्यहाँको शान्ति प्रक्रियाको सफलताको कामना गर्नुभयो ।

छलफलमा नेपाली काँग्रेसका नेत्री सुजाता कोइराला, नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गङ्गालाल तुलाधार, पूर्व सभामुख दमननाथ ढुङ्गानालगायत पनि सहभागी हुनुहुन्थ्यो ।

इन्स्टिच्युट अफ क्राइसिस म्यानेजमेन्ट स्टडिजका अध्यक्ष डा राम थपलियाले म्यानमारको अध्ययन टोलीले नेपालको शान्ति प्रक्रियाको अध्ययन गर्नुले नेपालको शान्ति प्रक्रियाको अन्तर्राष्ट्रिय समुदायमा मान्यता हासिल हुनु हो भन्नुभयो ।

म्यानमारका नेसनल लिवरेसन अर्गनाइजेसनका कर्णेल खुन ओकरको नेतृत्वमा २२ सदस्यीय टोली नेपालको पाँचदिने भ्रमणमा रहेको छ । रासस



काठमाडौं,चैत १७ गते । राष्ट्र बैंकसँग पुनरकर्जा दिन जम्मा ७० करोड बाँकी रहँदा बैंक तथा वित्तीय संस्थाबाट भने १४ अर्बको माग परेको छ ।
‘हालसम्म राष्ट्र बैंकबाट बैंकहरुले पाउने सहुलियतपूर्ण पुनरकर्जा २२ वटा संस्थाले लगेका छन्, साढे १० अर्ब रुपैयाँको यस्तो कोष रहेकोमा ९ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी भइसकेको छ, थप १५ बैंकबाट माग आएको छ,’ राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले काठमाडौंमा आयोजित सहुलियतपूर्ण कर्जा विषयक अन्तरक्रिया कार्यक्रममा भने ।

अघिल्ला वर्षहरुमा यस्तो कर्जा जान नसकेपनि यसबर्ष बैंक तथा वित्तीय संस्थामा देखिएको कर्जा योग्य लगानी अभाव लगायतले माग बढेको देखिएको छ । कार्यक्रममा बैंकहरु तथा व्यवसायीहरुले यस्तो कर्जाको लागि छ्टयाइने पुँजी कोषको सीमा बढाउनु पर्ने बताए ।


पुनरकर्जाको सीमा बढाउन सकिएपनि खुला गर्न नसकिने राष्ट्र बैंकले स्पष्ट पारेको छ । पुनरकर्जाको सीमा नतोक्ने हो भने राष्ट्र बैंकले नोट छापेर पनि बाड्न पर्ने अवस्था आउने प्रवक्ता पौडेलले बताए । तर सीमा बढाउने विषयमा छलफल हुन सक्ने उनले जानकारी दिए ।

राष्ट्र बैंकले ५ शीर्षकमा बैंक तथा वित्तीय संस्थालाई पुनरकर्जा प्रदान गर्दै आएको छ । राष्ट्र बैंकका अर्का कार्यकारी निर्देशक नरबहादुर थापाका अनुसार राष्ट्र बैंकले साधारण पुनरकर्जामा बैंक तथा वित्तीय संस्थालाई ४ प्रतिशत व्याज दरमा कर्जा दिने गर्छ भने बैंकहरुले ग्राहकसँग अधिकत्तम ९ प्रतिशत मात्र व्याज लिन पाउँछन् ।

त्यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई विशेष पुनर कर्जा, साना तथा मझौला कर्जा, निर्यात कर्जा, भूकम्पपीडीतलाई आवास कर्जा शीर्षकमा क्रमशः १ प्रतिशत, ५ प्रतिशत , १ प्रतिशत र शून्य प्रतिशतमा सहुलियत पूर्ण कर्जा उपलब्ध गराउछ । बैंकहरुले भने ऋणीसँग यी कर्जामा क्रमशः ४.५ प्रतिशत, १० प्रतिशत, ४.५ प्रतिशत, २ प्रतिशतसम्म मात्र व्याज लिन पाउछन् ।

सहकारीलाई दिन सकिन्न

सहकारीहरुले पनि पुनर कर्जाको सुविधा पाउनु पर्ने माग कार्यक्रममा राखेका छन् । ‘हामी ६७ लाखभन्दा बढि सदस्य भएका संस्था हौं, हामी २४ घण्टामा नै कुनै कुरा देशभर फैलाउन सक्छौं, राष्ट्र बैंकले चाहेमा हामी ग्राहकसँग कमभन्दा कम व्याज लिएर पनि कार्यक्रम सञ्चालन गर्न सक्छौ ,’ पुनरकर्जा सुविधा सहकारीले पनि पाउनु पर्ने माग राख्दै नेपाल बचत तथा ऋण सहकारी संघका महासचिव चन्द्रप्रसाद ढकालले भने ।

तर, राष्ट्र बैंकले भने नियामक निकाय नहुँदासम्म यस्तो सुविधा दिन नसकिने स्पष्ट पारेको छ ।

बैंकर भन्छन् : पुनरकर्जाको दुरुपयोग गर्न दबाब आउने गर्छ

बैंकरहरुले कतिपय व्यवसायीबाट पुनरकर्जाको दुरुपयोग गर्न दबाब आउने गरेको जानकारी कार्यक्रममा दिएका छन् ।

‘निजी क्षेत्रले पुनरकर्जाको रुपमा पाउने सुविधा अन्य शीर्षकका कर्जामा पनि माग्ने गरेका छन्, यो पनि समस्याको रुपमा देखिएको छ, यद्यपी अहिले भएकाभन्दा अन्य शीर्षकमा पनि यो सुविधा दिनुपर्ने नपर्ने भन्ने विषयमा राष्ट्र बैंक र हामी बसेर छलफल गरौं,’ बैंकर्स संघका अध्यक्ष अनिल केशरी शाहले भने ।

कार्यक्रममा पुनकर्जाको व्याज दरको कारण अन्य शीर्षकका कर्जाको व्याज दरमा पर्ने दबाब, राष्ट्र बैंकले नै यस्तो सुविधा दिने वा अन्य छुट्टै संस्था ताक्ने, पुनरकर्जाको आकार कस्तो हुनुपर्ने र हाल दिइआएका सबै शीर्षकमा दिनु हुने नहुने बिषयलाई केन्द्र बिन्दुमा राखेर छलफल गरिएको थियो ।-अनलाइनखबरबाट



काठमाडौं, चैत १७ गते  । राष्ट्रिय प्रजातन्त्र पार्टीले १४ अञ्चलका १४ सहरमा चुनावी सभा गर्ने भएको छ । साथै चुनावी ईन्चार्जहरु तोकिएका छन् ।


राप्रपाको बिहीबार बसेको बैठकले स्थानीय चुनावलाई लक्षित गरेर वैशाख १० भित्र १४ सभा गर्ने निर्णय गरेको हो ।

जसअनुसार मेचीको दमक, कोशीको इटहरी, सगरमाथाको लाहान, जनकपुरको बर्दिबास, नारायणीको भरतपुर, बाग्मतीको धादिङ, गण्डकीको स्याङ्जा, लुम्बिनीको भैरहवा, राप्तीको दाङ, भेरीको नेपालगञ्ज, सेतीको धनगढी र महाकालीको बैलौरीमा सभा गरिने सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

बैठकमा स्थानीय चुनावका लागि अञ्चलगत रुपमा इन्चार्ज (कमाण्डर)हरु समेत तेकेको छ ।-अनलाइनखबरबाट

भारतले मसी दिने अझै अनिश्चितः प्रवक्ता


काठमाडौं,चैत १७ गते । चीन सरकारले नेपालमा बैशाख ३१ गते सम्पन्न हुने स्थानीय निर्वाचनलाई विभिन्न प्रकारका एक दर्जन सामाग्रीहरु दिने भएको छ । चिनियाँ दुतावासले करिब एक दर्जन मसलन्द सामाग्री निर्वाचन आयोगलाई दिने बताएको छ ।


चीन सरकारले स्थानीय निर्वाचनमा प्रयोग हुने मसलन्द सामाग्रीहरु, टेप, स्केल, स्ट्यापलर, पञ्चिङ्ग मेशिनलगायतका सामान उपलब्ध गराउने प्रतिवद्धता जनाएको आयोगको प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

यस्तै चीन सरकारले धागो, झोला, रातो र कालो मसीका पाइलट पेन लगायतका सामाग्री समेत सहायताका रुपमा उपलब्ध गराउने बताएको छ । दुतावासले आयोगलाई पत्र लेखेर ती सामानहरु आगामी बैशाख १० गतेअघि नै आयोगलाई हस्तान्तरण गर्ने प्रतिवद्धता जनाएको छ ।

भारतबाट मसी !

भारत सरकारले भने निर्वाचन सहायताको रुपमा उपलब्ध गराउने भनेको मसीबारे कुनै प्रतिवद्धता नजनाएको आयोगले जनाएको छ ।

आयोगको प्रवक्ता शर्माले भने ‘दिन्न भनेको होइन, तर समयमा पाउनेमा ढुक्क हुन सकिएन ।’

भारतले समयमा मतदानका क्रममा प्रयोग गर्ने मसी उपलब्ध नगराउने भएपछि आयोग आफैँले खरिद गर्ने तयारी गरेको छ ।

भारत सरकारले पूर्व प्रतिवद्धता अनुसार मसी उपलब्ध गराए त्यस्तो मसी आगामी निर्वाचनमा प्रयोग गर्न सकिने पनि आयोगले जनाएको छ । आयोगले मसीको सट्टामा मार्कर पेन खरिद गर्न लागेको छ ।-अनलाइनखबरबाट

कारबाहीका ४७ आतङ्ककारी मारिए
अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा अफगान सुरक्षाबलले तालिवान आतङ्ककारीको आखाडालाई लक्ष्यगरी गरेको कारबाहीका क्रममा कम्तीमा ४७ जना सशरुत्र आतङ्ककारी मारिनुको साथै अन्य ५१ जना घाइते भएका छन् । फराह प्रान्तका वरिष्ठ सैनिक अधिकारी रज मोहमद आर्याखिलले उक्त समाचारको पुष्टि गरेका छन् । फराह प्रान्तको बाला ब्लक जिल्लामा अवस्थित तालिवान आतङ्ककारी आखाडालक्षित यस कारबाहीका ४७ तालिवान विद्रोहीको मृत्यु हुनुको साथै अन्य ५१ जना घाइते भएका ओर्याखिलले बताएका हुन ।
सुरुमा दिइएको समाचार अनुसार यस कारबाहीमा परी ३० आतङ्ककारी मारिनुको साथै अन्य ४१ जना घाइते भएका थिए । पछि यो सङ्ख्या बढेर ४७ पुगेको बताइएको छ । सुरक्षा कारबाही जारी रहेको बताइएको छ । फराह प्रान्तमा सक्रिय रहेका तालिवान आतङ्ककारी समुहले भने यस विषयमा केही टिप्पणी गरेका छैनन् । रासस÷सिन्ह्वा

रियो दि जेनेरियो,  चैत १७ गते । ब्राजिलको मासुलाई १४ ओटा देशमा अझै पनि बन्देज लगाइएको ब्राजिलका कृषी मन्त्रीले बताउनु भएको छ । ती देशहरुले अझै पनि ब्राजिलको मासुलाई आशंकाको सूचीमा राखिरहेको उहाँले बुधबार बताउनु भयो । उहाँका अनुसार अल्जेरिया, बाहामास, मेक्सिको, मोरोक्को, कतार, जिम्बाबे लगायतले ब्राजिलको मासु आयातमा पूर्ण रुपमा निषेध गरेका छन् ।
ब्राजिलको मासु १४ देशमा बन्देज


त्यस्तै जापान, स्विजरल्याण्ड, भियतनाम, युरोपेली सङ्घ, दक्षिण अफ्रिका, युएइ, साउदी अरव, क्यानडा र पेरुले ब्राजिलको मासु निर्यात संवन्धी विवादित कम्पनीहरुको मासु आयात नगर्ने निर्णय कायमै राखेका छन् । केही समय अगाडी ब्राजिलका केही कम्पनीहरुले म्याद गुज्रिएका र खान नहुने मासु निर्यात गरेको भेटिएपछि ती देशहरुले मासु आयातमा बन्देज लगाएका हुन् ।

ब्राजिलका मासु निर्यात गर्ने २१ ओटा कम्पनीहरुले कृषी मन्त्रालयका अधिकारीहरुलाई ठुलो मात्रामा घुष खुवाएर मासु परिक्षणमा आखा चिम्लीने गराएका थिए । उनीहरुले पर्याप्त परिक्षण नगरी मासु निर्यात गरेकाले निर्यात गरिएको मासुको प्याकेटमा खान नहुने मासु भेटिएपछि अहिले सम्म पनि मासु निर्यातमा बन्देज भएको हो । रासस÷सिन्ह्वा

तेह्रथुम, चैत १७ गते  । ओख्रेमा ताक्लुङ सहकारी संस्था स्थापना भएपछि स्थानीय कृषकलाई राहत मिलेको छ । संस्थाले स्थानीयस्तरमा उत्पादित कृषिजन्य थोक सामग्री खरिद गरेपछि कृषकलाई सहज भएको हो । सहकारी स्थापना भएपछि ओख्रेमा उत्पादन भएका अदुवा, अलैँची, आलु, अम्लिसो, दूधलगायत वस्तु बिक्रीका लागि धनकुटाको सिधुवासम्म धाउनुपर्ने बाध्यता हटेको कृषक चक्रबहादुर कार्कीले बताउनुभयो ।

सहकारी खुलेपछि कृषकलाई राहत

विसं २०७० मा स्थापित यस सहकारी संस्थाले स्थानीय कृषकले उत्पादन गरेका कृषिजन्य वस्तु खरिद गर्नुका साथै सहज तथा सुलभ मूल्यमा कृषकलाई आवश्यक मल, बीउबिजन, रासायनिक मल उपलब्ध गराउँदै आएको संस्थाका व्यवस्थापक डोलेन लिम्बूले बताउनुभयो ।

संस्था नहुँदा रासायनिक मललगायतका सामग्री बिचौलियाका कारण चर्को मूल्यमा किन्नु परेको स्थानीयवासी बताउँछन् । संस्थाले गाउँमा उत्पादित दूध स्थानीयस्तरमा बिक्री गरी बाँकी रहेको दूध शुक्रबारे चिस्यान केन्द्रमा पठाउने गरेको ताक्लुङ सहकारी संस्थाका अध्यक्ष, टङ्कबहादुर तामाङले बताउनुभयो । संस्थामा हाल दैनिक र मासिक बचतकर्ता गरी २१९ जना सेयर सदस्य रहेका छन् । रासस




काठमाडौं,चैत १७ गते  । राजधानीका विभिन्न स्थानमा भइरहेको सडक विस्तारको विरोधमा एक समूहले प्रदर्शन गरेको छ ।

सडक विस्तार गैरन्यायिक कार्य भएको र यसबाट पीडित भएको भन्दै काठमाडौं उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिको अगुवाईमा माइतीघर मण्डलामा प्रदर्शन भएको हो । पीडितहरुलाई सहमतिमा ल्याई उचित क्षतिपूर्ति तथा मुआब्जा दिएर मात्र सडक विस्तार गरिनुपर्नेमा सरकारले बिना आधार अन्धाधुन्ध डोजर चलाएको पीडितहरुले आरोप लगाएका छन् ।


सडक विस्तारका क्रममा उठिबास हुने अवस्थामा पुनःस्थापनाको व्यवस्था गर्न सरकार जिम्मेवार बन्नुपर्ने उनीहरुले माग गरे । यस्तै, विस्तारको नाममा खनिएको सडक धुलाम्मे हुनुका साथै सवारीसाधनको प्रदुषणले राजधानीमा स्वास्थ्य समस्या देखिएको भन्दै उनीहरुले त्यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

पीडितहरुले मण्डलादेखि बिजुलीबजारसम्म र्‍याली गर्दै मण्डलामा पुगेर कोणसभा गरेका थिए ।-अनलाइनखबरबाट

हार्ने डरले नेविसंघ र क्रान्तिकारीले ठूला क्याम्पसमा चुनाव भाँडेको आरोप




काठमाडौं, चैत १७ गते । मानविकी संकायतर्फ देशकै सबैभन्दा ठूलो रत्नराज्य लक्ष्मी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा प्यानलै जितेको अनेरास्ववियुले विहीवार राजधानीमा बिजय र्‍याली निकालेको छ ।

प्रदर्शनमार्गस्थित रत्नराज्य क्याम्पसबाट अनेरास्ववियुका केन्द्रीय नेता सहित बिजयी पदाधिकारी,सदस्य र समर्थकहरु र्‍यालीमा सहभागी भएका थिए ।

बिजयसभालाई सम्बोधन गर्दै अखिलका कार्यवाहक अध्यक्ष रश्मी आचार्य, महासचिव ऐन महर, सचिव सुदेश पराजुली, आरती लामा, आरसी लामिछाने लगायतले नेविसंघ र अखिल क्रान्तिकारी जस्ता संगठनले आफू हार्ने भएपछि ठूला आंगिक क्याम्पसमहरुमा चुनाव हुन नदिएको आरोप लगाए ।

आरआरमा सरकार र निर्वाचन आयोग लगाएर रोकिएको चुनाव अदालतको आदेशमा भएको भन्दै उनीहरुले अरु क्याम्पसमा पनि चुनावको माग गरेका छन् ।



हार्ने डरले चुनावमा मतदान गर्नबाट विद्यार्थीलाई रोक्ने र पेट्रोल बम हान्ने प्रवृति अखिल क्रान्तिकारीले देखाएको भन्दै क्याम्पसका निवर्तमान सभापति राजकुमार राईले स्वस्थ प्रतिस्पर्धामा आउन सबै संगठनलाई आह्वान गरे । नवनिर्वाचित सभापति तपेन्द्रवहादुर शाहीले क्याम्पसमा स्वच्छ शैक्षिक वातावरण बनाउन स्ववियुले भूमिका निर्वाह गर्ने र सबै विद्यार्थीलाई समान व्यवहार गरिने बताए ।

२०३६ सालदेखि शुरु भएको स्ववियु निर्वाचनमा आर आर क्याम्पसमा अहिलेसम्म लगातार अनेरास्ववियुले जित्दै आएको छ । शाही आर आर क्याम्पसमा १५ औं सभापति हुन् । यसअघि आर आर क्याम्पसबाट सभापति जतेकामध्ये जगन्नाथ खतिवडा,यज्ञराज सुनुवार सांसद भइसकेका छन् भने राजेन्द्रकुमार राई,दामोदर अर्याल लगायत एमालेको केन्द्रीय राजनीतिमा छन् ।

यसपटक स्ववियु निर्वाचनमा अनेरास्ववियुका तपेन्द्रवहादुर शाहीले ६९९ मत प्राप्त गरि सभापतिमा जितेका हुन् । उनका निकटम प्रतिद्धन्द्धी नेपाल विद्यार्थी संघका उत्तवहादुर साउदले ३४९ मत पाएका थिए भने अखिल क्रान्तिकारीका धु्रवराज वाग्लेले ५७ मत पाए । स्ववियु सचिव र कोषाध्यक्षमा पनि अखिलकै नारायण शर्मा र संगमप्रसाद देवकाटा निर्वाचित भएका छन् ।

सदस्यहरुमा अखिलकै उज्ज्वल न्यौपाने,उर्वशी सिंह नेपाली,जनक शाही,दिनेश बजगाई,दिपक खतिवडा,मदन भण्डारी,श्यामवहादुर विक र सुजिता धिताल निर्वाचित भएका छन् ।-अनलाइनखबरबाट

छानविनपछि कारवाही हुन्छः डीआइजी भण्डारी





काठमाडौं,चैत १७ गते । महानगरीय प्रहरीको मातहतमा सञ्चालित रानीबारीस्थित प्रहरी स्कुलमा एक विद्यार्थी मृत भेटिएका छन् । कक्षा ८ को परीक्षा दिएर विदामा बसेका १४ वर्षीय कुन्दन थापाको शव विद्यालयको प्राङगणमा भेटिएको हो ।

विद्यालय प्रशासनले थापाको मृत्युको दोष फेसबुकलाई दिएको छ । ८ कक्षामा पढ्ने कलिलो विद्यार्थीले ७ कक्षाकी एक वालिकाका नाममा नक्कली फेसबुक आइडी बनाएर अश्लील तस्वीरहरु राखेको विद्यालय प्रशासनको दाबी छ ।

तर, मृतकका आफन्तले भने विद्यालय व्यवस्थापनको अनुचित व्यवहारका कारण कुन्दनको ज्यान गएको गुनासो गरेका छन् । नेपाल प्रहरीले यसबारे अनुसन्धान गरी दोषीलाई कारवाही गरिने बताएको छ । घटनाबारे छानविन गर्न एसपीको नेतृत्वमा टोली गठन भएको छ ।

बुधबार विदाका दिन मृत फेला परेका कुन्दनले तीन तला माथिबाट हाम्फालेर आत्महत्या गरेको विद्यालय प्रशासनको भनाइ छ ।

करिब ८ सय विद्यार्थीहरु अध्ययनरत सो विद्यालयमा अधिकांश प्रहरीकै छोराछोरी अध्ययनरत छन् । विद्यालयमा ३२ जना शिक्षक र ४५ जना प्रहरी कर्मचारी कार्यरत छन् ।

आमाको फोन बोकेर हिँडेका कुन्दन फर्केनन्

बुधबार बिहानैदेखि मौसम खराव थियो । कक्षा ८ को परीक्षा दिएर विदामा बसेका कुन्दन त्यसदिन फुपू सजिताका घरमा खाना खान गएका थिए । खाना खाएर कुन्दन साथीकोमा जान्छु भन्दै फुपूका घरबाट निस्किए । उनले आफ्नी आमाको मोबाइल बोकेका थिए ।

साथीकहाँ जान्छु भनेर हिँडेका कुन्दन दुई घण्टासम्म पनि नफर्किएपछि सजिताले फोन गरिन् । तर, फोन कुन्दनले उठाएनन् । अर्कै युवतीले ‘तपाईको मान्छे प्रहरी अस्पतालमा छ’ तुरुन्त आउनू भनिन् ।

‘स्कुलकी वार्डेनले फोन उठाएर प्रहरी अस्पतालमा आउनू भनेपछि म आत्तिँदै पुगेँ, मलाई अस्पतालको मोटरसाइकल पार्किङस्थल आउनु भनिएको थियो’ सजिताले अनलाइनखबरसँग भनिन्, ‘म त्यहाँ पुग्दा फोन उठाउने महिला आउनुभएन, अर्कै मान्छे आएर भाइ सामान्य विरामी भएको छ, केहीबेरमा ठीक हुन्छ भने ।’


घटनाबारे पीडितलार्इ जानकारी दिँदै इन्स्पेक्टर शर्मिला, झ्यालमा उभिएकी मृतककी अामा ।
मृतककी फुपू सजिताले थपिन्,- केहीबेरपछि हाम्रै अर्कार् आफन्तले अस्पताल आइपुगेर सोध्दा ‘भाइ रहेन’ भन्ने खबर सुनेर म छाँगाबाट खसेजस्तै भएँ ।’

आफ्नो घरबाट खाना खाएर निस्किएको भाइ केही घण्टामै अस्पतालको शैयामा मृत भेटिएको खबरले स्तब्ध बनेकी सजिताले घटनाबारे परिवारलाई तत्काल खबर नगरिनुमा रहस्य लुकेको हुन सक्ने बताइन् ।

फेसबुक प्रकरण ?

कुन्दनकी फुपूको फोन रिसिभ गर्ने व्यक्ति थिइन्, स्कुलकी वार्डेन तथा प्रहरी इन्स्पेक्टर शर्मिला गुरुङ । इन्स्पेक्टर गुरुङले कुन्दनको मृत्यु स्कुलकै तीन तल्लामाथिको लवीबाट हाम्फालेर भएको बताइन् । बुधबारको घटनाक्रम सुनाउँदै शर्मिलाले भनिन्- ‘ऊ त्यही बरण्डाबाट हाम्फालेछ ।’

शर्मिलाका अनुसार कुन्दनले हाम्फाल्नुको कारण थियो फेसबुक प्रकरण ।

‘प्रहरी विद्यालयमै कक्षा सात ७ मा अध्ययन गरिरहेकी एक छात्राका अभिभावक नक्कली फेसबुकमार्फत आफ्नी छोरीका नाममा अश्लील हर्कतहरु भैरहेको भन्दै गुनासो लिएर आउनुभयो, मैले उहाँहरुलाई एउटा लिखित उजुरीसहित आउन भनें,

शर्मिलाले सुनाइन्- ‘उहाँ प्रहरीकै भूपू हवल्दार सा’ब हुनुहुन्थ्यो, उहाँले अपराध महाशाखामा जान्छु भन्नुभयो, मैले स्कुलको घटना किन बाहिर लैजाने, विद्यालयमै उजुरी दिनोस् भनें ।’

शर्मिलाका अनुसार सो लिखित उजुरीमा कुन्दनलाई दोषी देखाइएको थियो ।

उजुरी दर्ता गरेपछि आफूले बुधबार विदाकै दिन कुन्दनका अभिभावकलाई बोलाउन फोन गरेको शर्मिलाले बताइन् । उनले भनिन्- ‘तर, कुन्दनकी आमाको फोन कुन्दनले बोकेका रहेछन् । ममी खोई भन्दा उनले फोन मसँग छ भने ।’

त्यसपछि आफूले कुन्दनलाई ममीसहित स्कुलमा आउन आग्रह गरेको शर्मिलाले सुनाइन् । उनले भनिन्- ‘ममीलाई लिएर स्कुलमा आउन भनेँ । तर उनी एक्लै आएछन् । मैले उनलाई माथि बोलाएँ । छात्राका अभिभावक पनि त्यहीँ थिए ।’

‘ती छात्राका नाममा फेसबुक आइडी तिमीले खोलेको हो भनेर भन्दा उसले स्वीकार गर्‍यो,’ शर्मिलाले घटनाबारे भनिन्- ‘त्यसपछि मैले कुन्दनलाई उसको घरमा लैजानु र उनकी आमालाई पनि बोलाएर ल्याउनु भनेर हाम्रा कर्मचारीलाई भनेँ । त्यतिबेला बेला दुईजना सई साबहरु अरु नै रिपोर्ट गर्न कोठामा आउनुभएको थियो, म त्यतातिर लागेँ, त्यही त बरण्डाबाट हाम्फालेछ ।’

आफ्नो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सुरक्षाको जिम्मेवारी लिनु हरेक विद्यालय, शिक्षक तथा त्यसमा आवद्ध कर्मचारीको दायित्व हो । स्कुल तहका विद्यार्थी त्यसै कम उमेरका हुन्छन् र उनीहरुमा वाल मानसिकताले काम गरिरहेको हुन्छ ।

उनका अनुसार यो घटना बुधबार दिउँसो करिब साढे १२ बजेतिरको हो ।

अविभावकको प्रश्नः विदाको दिन एक्लै राखेर किन यातना दिइयो ?

प्रहरी स्कुलमा पढाएको एक्लो छोराको स्कुलकै हाताभित्र ज्यान गएपछि भाव विह्वल बनेकी छिन् कुन्दनकी आमा गौमती थापा ।
परीक्षा दिएर विदामा बसेको अवस्थामा विद्यालयले आफ्नो छोरालाई किन अविभावकविना बोलाएको भन्दै गौमतीले आक्रोश पोखिन् ।

‘तपाईहरु जिम्मेवार मान्छे, यत्रो विद्यालय चलाएर बस्ने, तर १४ वर्षको केटोलाई अभिभावकविना विदाको दिन गाली गर्न बोलाउँदा विद्यार्थीको सुरक्षाको ख्याल आएन ?’ मृतककी आमाले भनिन् ।

घटनाको विरोधमा विहीबार विद्यालयमा पुगेका मृतकका छिमेकी सालिक पौडेलले भने- ‘उसको कुनै गल्ती थियो भने विद्यालयमा छलफल गर्ने अथवा अभिभावकलाई भन्ने तपाईहरुको कुनै नियम छैन ? कि प्रहरीले जे गरे पनि हुन्छ भन्ने ठान्नुहुन्छ ?’

विद्यालय व्यवस्थापन वालमस्तिष्कप्रति संवेदनशील नहुँदा बुधबारको घटना भएको आफन्तहरुको आरोप छ ।

एसपीको नेतृत्वमा छानविन टोली गठन

यसैवीच महानगरीय प्रहरीका निमित्त प्रमुख डीआइजी बमबहादुर भण्डारीले स्कुलमा विद्यार्थीको मृत्यु भएको घटनाबारे छाानविन गर्न टोली बनाएको बताए ।

डीआइजी भण्डारीका अनुसार अपराध महाशाखाका एसपी श्याम ज्ञवालीको नेतृत्वमा अनुसन्धान टोली बनेको छ ।

‘स्कुलमै विद्यार्थीको ज्यान जाने घटना निकै संवेदशील छ, मैले अनुसन्धान गर्न टोली बनाएको छु, अनुसन्धानको रिपोर्टपछि दोषीलाई कार्वाही हुन्छ,’ डीआइजी भण्डारीले अनलाइनखबरसँग भने ।-रमेश धमला,अनलाइनखबरबाट



काठमाडौं, चैत १७ गते  । नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले दलीय चुनाव चिन्ह नपाए चुनाव हुन नदिने चेतावनी दिएका छन् ।


पार्टीको केन्द्री परिषद बैठकपछि आयोजित पत्रकार सम्मेलनमा भट्राईले संसदमा भएका दलहरुलाई मात्र दलीय चुनावचिन्हका आधचारमा चुनावमा भाग लिन नदिने निर्णय कुनै हालतमा मान्य नहुने बताए ।

चुनावको वातारवरण बनाउन अघि सारेको ७ बुँदे माग पूरा गराउन आजबाटै्र दवानव दिने भन्दै उनले भने, ‘चुनाव चिन्हबिना कुनै हालतमा चुनाव हुा दिन्नौं ।’

स्थानीय तह निर्वाचन सम्बन्धी ऐनमा राष्ट्रिय दलले मात्रै दलीय आधारमा चुनाव लड्न पाउने र अन्य दलले स्वतन्त्र हैसियदमात्रै पाउने उल्लेख छ ।

यही व्यवस्था कायम रहे नयाँ शक्तिले दलीय आधारमा नभई स्वतन्त्र हैसियदमा उम्मेदवार खडा गर्नुपर्छ र उसका उम्मेदवारहरुले फरक फरक चुनाव चिन्ह पाउन सक्छन् ।-अनलाइनखबरबाट

सामन्यतः शरीरलाई सफा, चुस्त राख्न नुहाइन्छ । दिनहुँ नुहाउनुको आफ्नै फाइदा छ । कोहि तातो पानीमा नुहाउँछन्, कोही चिसो । कोहि सावर लिन्छन्, कोही बाथटपमा डुब्छन्, त कोही बाल्टिनमा पानी भरेर नुहाउँछन् ।


जे-जसरी नुहाएपनि हुन्छ । आफुले नुहाउने पानीमा केहि कुराहरु मिश्रण गर्नुपर्छ, थप लाभ मिल्छ । यसले स्वास्थ्यसम्वन्धी समस्या समेत हटाउन मद्दत गर्छ ।

फिटकिरी र सिधे नुन

एक बाल्टी पानीमा एक एक चम्चा फिटकिरी र सिधे नुन मिसाउनुपर्छ । यस्तो मिश्रणयुक्त पानीले नुहाउँदा शरीरमा रक्तसंचार राम्ररी हुन्छ । यसले मसल्समा पनि सुधार आउँछ ।

नीमको पात

एक गिलास पानीमा आठ, दशवटा नीमको पात उमाल्ने । जब सेलाउछ, त्यसलाई छान्ने । यसलाई बाल्टिमा मिसाएर नुहाउनुपर्छ, छालाको संक्रमण जाती हुन्छ ।

गुलाब जल

एक बाल्टी पानीमा तीनदेखि चार चम्चा गुलाब जल मिसाएर नुहाउनु पर्छ । यसले मशल्समा रिल्याक्स हुनका साथै शरीरको दुर्गन्ध पनि कम हुन्छ ।

सुन्तलाको बोक्रा

एक बाल्टीमा मनतातो पानी राख्ने । त्यसमा सुन्तलाको बोक्रा हाल्नुहोस् । १० मिनेटसम्म राखेपछि त्यसलाई निकालेर नुहाउनुहोस् । यसले मशल्स पेन र स्किन इन्फेक्सन ठिक हुन्छ ।

कपुर

एक बाल्टी पानीमा कपुरको तीन वा चार टुक्रा हाल्ने । यसले नुहाउदा टाउकोको दुखाई ठीक हुन्छ ।



यतिबेला गुराँस फूल्ने मौसम सुरु भइसकेको छ । पहाडी क्षेत्रमा ढकमक्क गुराँस फूलेर जंगलनै हराभरा भएको होलान् । यो जंगलमा फुल्ने यस्तो फूल हो, जसको सौन्दर्यमा जो कोहि मोहित हुन्छन् ।


त्यसो त लाली गुराँस नेपालको राष्ट्रिय फूल पनि हो । त्यसैले यस फूलप्रति हाम्रो भावनात्मक प्रेम र सम्मान पनि छ । गुराँस हेर्नमा जति राम्रो छ, उत्तिकै गुणकारी पनि । गुराँसको जुस बनाउनेदेखि केहि औषधिय काममा पनि प्रयोग गरिन्छ । के यसको स्वास्थ्यबर्द्धक गुण तपाईलाई थाहा छ ?

आर्युवेदिक महत्व

प्राचिन समयमै आर्युवेदमा गुराँस फूलको प्रयोग हुँदै आएको छ । यो रातो, गुलावी, सेतो आदि रंगको हुन्छ । समुन्द्री सतहबाट १५०० देखि ३६०० मिटरको उचाईमा गुराँस पाइन्छ ।

–     रातो रंगको गुराँस पोषकतत्वले भरिपूर्ण मानिन्छ । यसको औषधिय गुण पनि उत्तिनै छ ।

–     गुराँसको जुस कलेजो, मृगौला जस्ता समस्यामा निकै उपयोगी हुन्छ ।

–     हृदय रोगलगायत केहि गंभिर रोगमा समेत गुराँसको जुस सेवन गर्नु लाभदायक हुन्छ ।

–     गुराँसको जुस बनाएर सेवन गर्दा हड्डीको दुखाई समेत ठीक हुन्छ ।

–     उच्च रक्तचाप नियन्त्रणका लागि पनि गुराँस उपयोगी मानिन्छ ।

–     घाँटीमा कुनै खानेकुरा अड्किएको बेला गुराँस खानुपर्छ, ठीक हुन्छ ।

–     गुराँस एउटा सिजनमा मात्र पाइने भएकाले अन्य बेला प्रयोग गर्नका लागि यसको फूललाई घाममा सुकाएर राख्न सकिन्छ ।

–     धार्मिक मान्यता के छ भने, गुराँसको फूल घरको मू्ल ढोकामा सजाउँदा घरमा नकारात्मक उर्जा आउँदैन ।-अनलाइनखबर




तम्घास (गुल्मी,) चैत  १७ गते । सामाजिक सुरक्षा भत्ताबापतको रकम छ महिना बित्दासम्म पनि गुल्मीका वृद्धवृद्धाले अझै पाउन सकेका छैनन् । सरकारले दिँदै आएको भत्ता रकम समयमा नपाएका कारण यहाँका वृद्धवृद्धाले गाउँपालिका र नगरपालिकाका वडा सचिवसँग हाम्रो भत्ता किन आएन भनेर दिनहुँजसो गुनासो गर्न थालेका छन् ।

सरकारले स्थानीय तहको पुनःसंरचना गरेको तीन साता बितिसक्दा पनि जिल्ला समन्वय समितिले गाउँपालिका र नगरपालिका कार्यालयको खातामा रकम उपलब्ध नगराएका कारण बुढाबूढी सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित बनेका हुन् ।


सामाजिक सुरक्षा कार्यविधि–२०७३ अनुसार गत माघ १५ गतेभित्र बाँड्नुपर्ने रकम तत्कालीन जिल्ला विकास समितिले समयमै गाविसका खातामा रकम उपलब्ध नगराएका कारण उनीहरुले समयमा भत्ता पाउनबाट वञ्चित भएको साविकका गाविस सचिव हकहित संरक्षण केन्द्र गुल्मीका अध्यक्ष गोपाल सेनले बताए ।

“जिविसले पहिल्यै गाविसको खातामा रकम पठाइसक्नुपर्ने थियो, पठाउन सकेन, सेनले भने–गाउँमा जाँदा बुढाबूढीले सचिवहरुले ल्याएर खातामा राखेका छन् कि भनेर शङ्का गर्छन्, हामीलाई त गाउँमा गएर ती बुढाबूढीको अगाडि मुख देखाउन पनि लाजमर्दो भइसक्यो ।”

स्थानीय विकास अधिकारी कल्पना श्रेष्ठले भने साविकको जिविसबाट चेक काटेर कोष तथा लेखा नियन्त्रण कार्यालयमा पठाइसकेको अवस्थामा सरकारले स्थानीय तहको पुनःसंरचना गरेपछि चेक रोकिँदा समस्या आएको बताए ।

हाल दुई नगरपालिका र १० गाउँपालिका रहेको गुल्मी जिल्लामा एउटा वडामा न्यूनतम रु २० लाखदेखि अधिकतम रु ७० लाखसम्म सामाजिक सुरक्षा भत्ता रकम बाँडिदै आएको थियो ।-रासस



काठमाडौ, चैत १७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीबीच भेटवार्ता भएको छ ।

राजदूतको कार्यभार सम्हालेपछि पुरीले प्रधानमन्त्री प्रचण्डसँग पहिलो शिष्टाचार भेट गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल-भारत सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको छ ।


प्रधानमन्त्री प्रचण्डले नवनियुक्त राजदूत परीलाई नोल बसाई सुखमय रहोस् भन्ने शुभकामना दिएका छन् । साथै पुरीको कार्यकालमा नेपाल-भारत सम्बन्ध अझ प्रगाढ रहने विश्वास व्यक्त गरेको उनको निजी सचिवालयले जनाएको छ ।-अनलाइनखबरबाट



कांग्रेस-एमालेको कडा टक्करः माओवादी र राप्रपा निर्णायक



धनगढी, चैत १७ गते । ७ नम्बर प्रदेशको एकमात्र उपहानगरपालिका धनगढीमा स्थानीय तहको चुनावले राजनीतिक दलका नेता कार्यकर्ताको चहलपहल बढाइसकेको छ । उम्मेदवारका आकांक्षीहरु एकातिर नेतृत्व रिझाउन लागेका छन् भने अर्कोतिर सम्भावित अन्तरघातको त्रासमा छन् ।

टिकटका आकांक्षीहरुले पार्टीभित्र आफ्नो पक्षमा माहौल बनाउन खोजिरहेका छन् । टिकट खोस्न पार्टीभित्रैबाट षड्यन्त्र हुनसक्ने भन्दै खुलेर उम्मेदवार भएको घोषणा समेत गर्न सकिरहेका छैनन । यो समस्या नेपाली कांग्रेस र नेकपा एमालेभित्र बढी छ ।

७ नम्बर प्रदेशको राजनीतिलाई प्रभावित पार्ने धनगढीको नगरप्रमुख र उपप्रमुख बन्न दलभित्रै नेताहरुबीच चर्को दौडधुप र लविङ सुरु भएको छ । १९ वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा वर्चस्व कायम गर्न मरिमेटेर लागेका दलहरु निर्वाचनमा हुनसक्ने आफ्नै पार्टीका नेताहरुको आन्तरिक मतभेद र अन्तर्घातबाट सशंकित छन् ।

कांग्रेस र एमाले एक-अर्काका प्रतिस्पर्धी भए पनि ती दलका उम्मेदवार भने आफ्नैभित्र अस्वस्थ प्रतिस्पर्धाको शिकार हुने खतरा पनि त्यत्तिकै छ । धनगढी ७ नम्बर प्रदेशको अघोषित राजधानी हो । यसको मेयर हुने व्यक्ति यस प्रदेशकै प्रभावशाली व्यक्ति हुनेछ । यस कारण पनि सबै पार्टीको ध्यान र ध्येय एउटै छ, जसरी पनि धनगढी कब्जा गर्ने ।

दोस्रो संविधानसभाको चुनावको बेला पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जितेको यो उपमहानगरपालिका रहेको क्षेत्रबाट उपनिर्वाचनमा पनि कांग्रेसकै पुष्करनाथ ओझाले जितेका थिए । त्यसैले कांग्रेसले यसलाई आफ्नो पकडमा राख्न खोज्ने नै भयो ।

०५४ सालको नगर निर्वाचनमा एमालेले मेयर र उपमेयर दुवैमा जित हासिल गरेका कारण एमाले पनि कमजोर भने छैन । उपमहानगरपालिका बन्ने क्रममा एमालेको प्रभाव रहेको फूलबारी गाविस समेत थपिएका कारण आन्तरिक अस्वस्थ प्रतिस्पर्धाबाट आक्रान्त कांग्रेसका लागि चुनाव जित्न पहिले जस्तो सजिलो अवस्था भने छैन ।

करिब १ लाख ४७ हजार ७ सय ४१ जनसंख्या रहेको धनगढी उपमहानगरपालिकामा पछिल्लो पटक अत्तरिया नगरपालकाको ९ र ११ नम्बर वडा गाभिएपछि कुल १९ वडा बनाइएको छ । यस क्षेत्रमा माओवादीको पनि प्रभाव छ ।

कांग्रेसमा चार जनाबीच टक्कर



धनगढीमा मेयरका लागि कांग्रेसबाट नगर सभापति नृप वड र महाधिवेशन प्रतिनिधि कृष्णबहादुर महरा प्रमुख प्रत्याशी हुन् । वड जिल्ला सभापति नरनारायण शाह मनु तथा महरा सांसद पुष्करनाथ ओझा निकट मानिन्छन् । दुवैजना नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट भए पनि स्थानीयस्तरमा भने फरक-फरक गुटमा छन् ।

पार्टी सभापतिसँग अरुभन्दा नजिक रहेको र विगतमा पनि पार्टी र जनताका पक्षमा राम्रो काम गरेकोले मेयरको टिकट पाउनेमा महरा विश्वस्त छन् । यद्यपि वड पनि आफूलाई पार्टी सभापति देउवाले टिकट दिनेमा ढुक्क छन् ।

मेयरको सम्भावित उम्मेदवारका रुपमा धनगढीका पूर्व मेयर स्वर्गीय किशोर बमकी पत्नी रिता भण्डारी बम र हरिश खड्काको नाम पनि चर्चामा छ । नेपाली कांग्रेस क्षेत्र नम्बर ६ का सभापति खड्का यसअघि वडा नम्बर १३ बाट निर्वाचत अध्यक्ष थिए ।

उपमेयरमा सम्भावित उम्मेदवारका रुपमा नेपाली कांग्रेसबाट जीवन राना र सुशीला मिश्र भट्टको नाम बढी चर्चामा छ । यद्यपि जागृति बोगटी, पुष्पा भट्ट पनि आकांक्षी छन् ।

एमालेबाट पूर्व सांसदकै चर्चा


एमालेबाट मेयरका लागि पूर्व सभासद एवम् वैकल्पिक केन्द्रीय सदस्य नारदमुनि राना दाबेदारका रुपमा देखिएका छन् । उनी यसअघि यही नगरपालिकाको उपमेयर समेत रहिसकेका छन् ।

धनगढी उपमहानगरपालिकामा राना थारु समुदायको बाहुल्य रहेकाले पनि उनको दाबेदारी हो ।

त्यस्तै, एमाले पार्टीका जिल्ला सचिव रणबहादुर चन्द, प्रचार प्रसार विभाग सदस्य दुर्गाप्रसाद जोशी, केन्द्रीय सल्लाहकार दीपक देवकोटाको नाम पनि मेयरका रुपमा चर्चामा छ । यसका साथै एमालेका युवा नेता जीवन बमसँगै पुराना नेता नन्दलाल जोशीको नाम पनि चर्चामा छ ।

उपमेयरमा एमालेका तर्फबाट रुक्मणि देवकोटा, कलावती जोशी, मिना विक, सुशीला बुढाथोकी र छाया थापाको नाम चर्चामा छ ।

माओवादीका पाँच दाबेदार

माओवादी केन्द्रबाट मेयरका आकांक्षीहरु पाँच जना देखिएका छन् । केन्द्रीय सदस्य एवम् दुई पटक समानुपातिक उम्मेदवार रहिसकेका रामसमझ राना दाबेदारका रुपमा देखिएका छन् । अन्य उम्मेदवारहरुमा पार्टीको नगर अध्यक्ष निर्मल शाह, केन्द्रीय सदस्य राधाकृष्ण अधिकारी, केन्द्रीय सदस्य तिलकबहादुर सिंह, केन्द्रीय सल्लाहकार डिल्लीराज खड्काको नाम चर्चामा रहेको छ ।

माओवादीबाट उपमेयरको सम्भावित उम्मेदवारका रुपमा सीता पन्त, प्रेमकला सुनार, राधा मिश्र, खगेश्वरी जोशीको नाम बाहिर आएको छ ।

राप्रपामा पनि तीन दाबेदार

राप्रपाबाट मेयरका आकांक्षी तीन जनाको नाम चर्चामा रहेको छ । गत संविधानसभाको चुनावमा उम्मेदवार बनेका राजेश भण्डारी आफूलाई दाबेदारको रुपमा प्रस्तुत गरिरहेका छन् भने नगर अध्यक्ष रोम स्वाँरको नाम पनि चर्चामा छ । त्यस्तै, पूर्व केन्द्रीय सदस्य पुष्कर भट्ट पनि दाबेदारका रुपमा देखिएका छन् ।

राप्रपा नेपालबाट उपमेयरमा जनक कुँवरको दाबेदारी रहेको बताइएको छ । राप्रपा नेपाल कैलालीकी पूर्व अध्यक्ष कुँवर शाही शासनकालमा भएको स्थानीय निकायको निर्वाचनबाट धनगढीको मेयर भएकी थिइन् ।

कुन दलको अवस्था कस्तो ?

धनगढी नगरको चुनावी इतिहास हेर्दा ०४९ मा नेपाली कांग्रेसले जितेको थियो भने ०५४ मा एमालेले जित्यो । अहिले गाभिएका गाविसमध्ये फूलबारीमा एमालेको प्रभाव छ भने अन्यमा कांग्रेस बलियो छ । यद्यपि धनगढीमा अन्य दलको तुलनामा कमजोर रहेको राप्रपा नेपालको उर्मामा बलियो उपस्थिति छ ।

धनगढी उपमहानगरपालिकाको चुनावमा मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबीच नै हुने देखिएको छ । तर, माओवादी केन्द्र र राप्रपाले पनि पछिल्लो पटक आफ्नो अवस्था सुधार गर्दै लगेको देखिन्छ । यी दलको मत निर्णायक हुन सक्छ ।

स्वतन्त्र उम्मेदवारका रुपमा हमालको चर्चा

धनगढी उपमहानगरपालिकाको मेयरको सम्भावित उम्मेदवारका रुपमा सुदूरपश्चिमका अभियन्ता र कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गोपाल हमाल पनि यतिबेला चर्चामा छन् ।

निडर र कुशल व्यवस्थापक मानिने हमालले जितेमा धनगढीको मुहार फेरिनेमा युवा र खासगरी विकास प्रेमी ठूलो तप्का विश्वास गर्छ ।

उनलाई आफ्नो पार्टीका तर्फबाट चुनाव लड्न नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र राप्रपा नेपालका केन्द्रीय सदस्य राजेश भण्डारीले समेत आग्रह गरेका छन् ।-दीपक उपाध्याय, अनलाइनखबरबाट 

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget