Websoft University

www.radiomakalu.com || 021-522512


प्रहरी स्कुलको प्राङ्गणमा विद्यार्थीको शवः ‘फेसबुक’लाई लगाइयो दोष

छानविनपछि कारवाही हुन्छः डीआइजी भण्डारी





काठमाडौं,चैत १७ गते । महानगरीय प्रहरीको मातहतमा सञ्चालित रानीबारीस्थित प्रहरी स्कुलमा एक विद्यार्थी मृत भेटिएका छन् । कक्षा ८ को परीक्षा दिएर विदामा बसेका १४ वर्षीय कुन्दन थापाको शव विद्यालयको प्राङगणमा भेटिएको हो ।

विद्यालय प्रशासनले थापाको मृत्युको दोष फेसबुकलाई दिएको छ । ८ कक्षामा पढ्ने कलिलो विद्यार्थीले ७ कक्षाकी एक वालिकाका नाममा नक्कली फेसबुक आइडी बनाएर अश्लील तस्वीरहरु राखेको विद्यालय प्रशासनको दाबी छ ।

तर, मृतकका आफन्तले भने विद्यालय व्यवस्थापनको अनुचित व्यवहारका कारण कुन्दनको ज्यान गएको गुनासो गरेका छन् । नेपाल प्रहरीले यसबारे अनुसन्धान गरी दोषीलाई कारवाही गरिने बताएको छ । घटनाबारे छानविन गर्न एसपीको नेतृत्वमा टोली गठन भएको छ ।

बुधबार विदाका दिन मृत फेला परेका कुन्दनले तीन तला माथिबाट हाम्फालेर आत्महत्या गरेको विद्यालय प्रशासनको भनाइ छ ।

करिब ८ सय विद्यार्थीहरु अध्ययनरत सो विद्यालयमा अधिकांश प्रहरीकै छोराछोरी अध्ययनरत छन् । विद्यालयमा ३२ जना शिक्षक र ४५ जना प्रहरी कर्मचारी कार्यरत छन् ।

आमाको फोन बोकेर हिँडेका कुन्दन फर्केनन्

बुधबार बिहानैदेखि मौसम खराव थियो । कक्षा ८ को परीक्षा दिएर विदामा बसेका कुन्दन त्यसदिन फुपू सजिताका घरमा खाना खान गएका थिए । खाना खाएर कुन्दन साथीकोमा जान्छु भन्दै फुपूका घरबाट निस्किए । उनले आफ्नी आमाको मोबाइल बोकेका थिए ।

साथीकहाँ जान्छु भनेर हिँडेका कुन्दन दुई घण्टासम्म पनि नफर्किएपछि सजिताले फोन गरिन् । तर, फोन कुन्दनले उठाएनन् । अर्कै युवतीले ‘तपाईको मान्छे प्रहरी अस्पतालमा छ’ तुरुन्त आउनू भनिन् ।

‘स्कुलकी वार्डेनले फोन उठाएर प्रहरी अस्पतालमा आउनू भनेपछि म आत्तिँदै पुगेँ, मलाई अस्पतालको मोटरसाइकल पार्किङस्थल आउनु भनिएको थियो’ सजिताले अनलाइनखबरसँग भनिन्, ‘म त्यहाँ पुग्दा फोन उठाउने महिला आउनुभएन, अर्कै मान्छे आएर भाइ सामान्य विरामी भएको छ, केहीबेरमा ठीक हुन्छ भने ।’


घटनाबारे पीडितलार्इ जानकारी दिँदै इन्स्पेक्टर शर्मिला, झ्यालमा उभिएकी मृतककी अामा ।
मृतककी फुपू सजिताले थपिन्,- केहीबेरपछि हाम्रै अर्कार् आफन्तले अस्पताल आइपुगेर सोध्दा ‘भाइ रहेन’ भन्ने खबर सुनेर म छाँगाबाट खसेजस्तै भएँ ।’

आफ्नो घरबाट खाना खाएर निस्किएको भाइ केही घण्टामै अस्पतालको शैयामा मृत भेटिएको खबरले स्तब्ध बनेकी सजिताले घटनाबारे परिवारलाई तत्काल खबर नगरिनुमा रहस्य लुकेको हुन सक्ने बताइन् ।

फेसबुक प्रकरण ?

कुन्दनकी फुपूको फोन रिसिभ गर्ने व्यक्ति थिइन्, स्कुलकी वार्डेन तथा प्रहरी इन्स्पेक्टर शर्मिला गुरुङ । इन्स्पेक्टर गुरुङले कुन्दनको मृत्यु स्कुलकै तीन तल्लामाथिको लवीबाट हाम्फालेर भएको बताइन् । बुधबारको घटनाक्रम सुनाउँदै शर्मिलाले भनिन्- ‘ऊ त्यही बरण्डाबाट हाम्फालेछ ।’

शर्मिलाका अनुसार कुन्दनले हाम्फाल्नुको कारण थियो फेसबुक प्रकरण ।

‘प्रहरी विद्यालयमै कक्षा सात ७ मा अध्ययन गरिरहेकी एक छात्राका अभिभावक नक्कली फेसबुकमार्फत आफ्नी छोरीका नाममा अश्लील हर्कतहरु भैरहेको भन्दै गुनासो लिएर आउनुभयो, मैले उहाँहरुलाई एउटा लिखित उजुरीसहित आउन भनें,

शर्मिलाले सुनाइन्- ‘उहाँ प्रहरीकै भूपू हवल्दार सा’ब हुनुहुन्थ्यो, उहाँले अपराध महाशाखामा जान्छु भन्नुभयो, मैले स्कुलको घटना किन बाहिर लैजाने, विद्यालयमै उजुरी दिनोस् भनें ।’

शर्मिलाका अनुसार सो लिखित उजुरीमा कुन्दनलाई दोषी देखाइएको थियो ।

उजुरी दर्ता गरेपछि आफूले बुधबार विदाकै दिन कुन्दनका अभिभावकलाई बोलाउन फोन गरेको शर्मिलाले बताइन् । उनले भनिन्- ‘तर, कुन्दनकी आमाको फोन कुन्दनले बोकेका रहेछन् । ममी खोई भन्दा उनले फोन मसँग छ भने ।’

त्यसपछि आफूले कुन्दनलाई ममीसहित स्कुलमा आउन आग्रह गरेको शर्मिलाले सुनाइन् । उनले भनिन्- ‘ममीलाई लिएर स्कुलमा आउन भनेँ । तर उनी एक्लै आएछन् । मैले उनलाई माथि बोलाएँ । छात्राका अभिभावक पनि त्यहीँ थिए ।’

‘ती छात्राका नाममा फेसबुक आइडी तिमीले खोलेको हो भनेर भन्दा उसले स्वीकार गर्‍यो,’ शर्मिलाले घटनाबारे भनिन्- ‘त्यसपछि मैले कुन्दनलाई उसको घरमा लैजानु र उनकी आमालाई पनि बोलाएर ल्याउनु भनेर हाम्रा कर्मचारीलाई भनेँ । त्यतिबेला बेला दुईजना सई साबहरु अरु नै रिपोर्ट गर्न कोठामा आउनुभएको थियो, म त्यतातिर लागेँ, त्यही त बरण्डाबाट हाम्फालेछ ।’

आफ्नो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सुरक्षाको जिम्मेवारी लिनु हरेक विद्यालय, शिक्षक तथा त्यसमा आवद्ध कर्मचारीको दायित्व हो । स्कुल तहका विद्यार्थी त्यसै कम उमेरका हुन्छन् र उनीहरुमा वाल मानसिकताले काम गरिरहेको हुन्छ ।

उनका अनुसार यो घटना बुधबार दिउँसो करिब साढे १२ बजेतिरको हो ।

अविभावकको प्रश्नः विदाको दिन एक्लै राखेर किन यातना दिइयो ?

प्रहरी स्कुलमा पढाएको एक्लो छोराको स्कुलकै हाताभित्र ज्यान गएपछि भाव विह्वल बनेकी छिन् कुन्दनकी आमा गौमती थापा ।
परीक्षा दिएर विदामा बसेको अवस्थामा विद्यालयले आफ्नो छोरालाई किन अविभावकविना बोलाएको भन्दै गौमतीले आक्रोश पोखिन् ।

‘तपाईहरु जिम्मेवार मान्छे, यत्रो विद्यालय चलाएर बस्ने, तर १४ वर्षको केटोलाई अभिभावकविना विदाको दिन गाली गर्न बोलाउँदा विद्यार्थीको सुरक्षाको ख्याल आएन ?’ मृतककी आमाले भनिन् ।

घटनाको विरोधमा विहीबार विद्यालयमा पुगेका मृतकका छिमेकी सालिक पौडेलले भने- ‘उसको कुनै गल्ती थियो भने विद्यालयमा छलफल गर्ने अथवा अभिभावकलाई भन्ने तपाईहरुको कुनै नियम छैन ? कि प्रहरीले जे गरे पनि हुन्छ भन्ने ठान्नुहुन्छ ?’

विद्यालय व्यवस्थापन वालमस्तिष्कप्रति संवेदनशील नहुँदा बुधबारको घटना भएको आफन्तहरुको आरोप छ ।

एसपीको नेतृत्वमा छानविन टोली गठन

यसैवीच महानगरीय प्रहरीका निमित्त प्रमुख डीआइजी बमबहादुर भण्डारीले स्कुलमा विद्यार्थीको मृत्यु भएको घटनाबारे छाानविन गर्न टोली बनाएको बताए ।

डीआइजी भण्डारीका अनुसार अपराध महाशाखाका एसपी श्याम ज्ञवालीको नेतृत्वमा अनुसन्धान टोली बनेको छ ।

‘स्कुलमै विद्यार्थीको ज्यान जाने घटना निकै संवेदशील छ, मैले अनुसन्धान गर्न टोली बनाएको छु, अनुसन्धानको रिपोर्टपछि दोषीलाई कार्वाही हुन्छ,’ डीआइजी भण्डारीले अनलाइनखबरसँग भने ।-रमेश धमला,अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget