Websoft University

www.radiomakalu.com || 021-522512


April 2020


2020-04-19-12666


काठमाडौँ, वैशाख ७ गते । बन्दाबन्दी घोषणापछि न्यून वर्गका जनतालाई राहत दिने उद्देश्यसहित सरकारले घोषणा गरेको विद्युत् महसुल छुटसम्बन्धी निर्णय कार्यान्वयनमा ढिलाइ हुँदा उपभोक्ता अन्योलमा छन् । निर्णय कार्यान्वयनमा तदारुकता देखाइएको भए अहिले करिब ३८ लाख ग्राहकले विद्युत् महसुलमा राहत पाइसकेका हुन्थे ।
गत चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले १५० युनिटसम्म खपत गर्ने ग्राहकलाई विद्युत् महसुलमा २५ प्रतिशत छुट र भुक्तानी ढिलाइ भए पनि जरिवाना नलाग्ने निर्णय गरेको थियो । यही अनुरूप छुट अपेक्षा गरेका ग्राहकले चैतको बिलमा त्यस्तो छुट देख्न पाएनन् । काठमाडौँ स्युचाटार निवासी विनिता गौतमले भन्नुभयो, छुट भन्ने सुनेका थियौँ आज अनलाइनमार्पmत भुक्तानी गर्दा बिलमा त्यस्तो छुट उल्लेख छैन ।
विद्युत् महसुलमा छुट दिन नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले गरेको प्रस्ताव मन्त्रिपरिषद्ले गरेको केही संशोधन गरेको थियो तर प्राधिकरण व्यवस्थापनले कार्यान्वयनमा तदारुकता नदेखाउँदा ग्राहक अन्योलमा परेका हुन् ।
ऊर्जा मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पेस भएको प्रस्तावमा सबै ग्राहकलाई १५० युनिटसम्म (न्यूनतम शुल्कबाहेक)का लागि २० प्रतिशत छुट दिने प्रस्ताव गरिएको थियो तर मन्त्रिपरिषद्ले भने १५० युनिटसम्म खपत गर्ने ग्राहकलाई मात्र छुट दिने र २० प्रतिशतलाई बढाएर २५ प्रतिशत पु¥यायो । यो निर्णयअनुसार कुनै ग्राहकले १५१ युनिट खपत गरेको पाइए कुनै छुट हुने छैन । प्राधिकरणको प्रस्तावअनुसार निर्णय भएको भए करिब ४१ लाख ग्राहक लाभान्वित हुने थिए तर मन्त्रिपरिषद्को संशोधनले न्यून वर्गतर्पm बढी केन्द्रित गराउँदै करिब ३८ लाखले लाभ पाउने व्यवस्था गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयो, “मन्त्रिपरिषद्को निर्णयअनुसार हामी अहिले कार्यान्वयनको प्रक्रियामा छौँ । ” घिसिङले भनेकै प्रक्रियामा केही ढिलाइ हुँदा कुनै पनि ग्राहकले त्यस्तो छुटको महसुस गर्न पाएनन् ।
१६ गतेको मन्त्रिपरिषद् निर्णय प्राधिकरण सञ्चालक समितिले नौ दिनपछि चैत २५ गतेमात्र अनुमोदन गरेको देखिन्छ भने सञ्चालक समितिले गरेको निर्णय वितरण तथा ग्राहक सेवा निर्देशनालयले वैशाख ५ गते मात्र सबै प्रादेशिक तथा डिभिजन कार्यालयलाई पत्राचार गरिएको छ । बिलिङ शाखाले समेत समयमै आधिकारिक निर्देशन (मेमो) नपाउँदा सफ्टवेयरबाट छुट कार्यान्वयन गर्न पाएन ।
अहिले नै ग्राहकले छुट नपाए पनि आगामी बिलमा पाउने छुट उपलब्ध गराइने प्राधिकरणका ग्राहक सेवा निर्देशनालयका प्रमुख हरराज न्यौपानेले बताउनुभयो । ग्राहकले अहिले नै छुट नपाए पनि आगामी बिलमा त्यो समायोजन गर्नेछौँ, ग्राहक ढुक्क हुनुभए हुन्छ । घिसिङका अनुसार यस्तो छुट दिँदा मासिक करिब ५० करोड रुपियाँ प्राधिकरणको आम्दानी घट्ने छ ।
न्यौपानेले ढुक्क हुन आग्रह गरे पनि बन्दाबन्दी जारी रहेका बखत भने छुट कार्यान्वयनमा समस्या हुने देखिएको छ । बन्दाबन्दी घोषणासँगै प्राधिकरणले घरघरमा गएर गर्ने मिटर रिडिङ कार्य स्थगित छ । चैतको रिडिङ हुन नपाएका ग्राहकलाई फागुनकै बराबरको बिल तयार गरेर पठाइएको छ ।
वैशाखमा पनि मिटर रिडिङको सम्भावना न्यून छ । यसले गर्दा बन्दाबन्दी अवधिभर कुन ग्राहकले १५० युनिटभन्दा कम खपत ग¥यो भन्ने वास्तविक जानकारी नै प्राधिकरणसँग हुने छैन । यसले गर्दा विद्युत् महसुलमा उपलब्ध गराइने छुट ग्राहकले पाउने निश्चित भए पनि तत्काल पाइहाल्ने आधार भने कमजोर देखिन्छ ।
बन्दाबन्दीले प्राधिकरणको कामलाई पनि असर गरेको छ, मिटर रिडिङ अहिले उचित देखिएन, घिसिङले भन्नुभयो, सरकारले निर्णय गरेअनुसारको छुट अब जारी हुने बिलमा समायोजन गर्ने व्यवस्था गर्ने छौँ ।
- गोपालचन्द्र सुवेदी, गोरखापत्र दैनिकबाट 


2020-04-19-12669


काठमाडौँ, वैशाख ७ गते । कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रण गर्न सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन)ले शनिबार २६ दिन पार गरेको छ । सरकारले सङ्क्रमितको सङ्ख्या बढेसँगै बन्दाबन्दी कडाइ पार्दै लैजाने निर्णय गरेको छ ।
बन्दाबन्दी अवधिभर अपराधका घटनामा भने कमी देखिएन । २६ दिनको अवधिमा करिब एक हजार अपराधका घटना भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार कर्तव्य ज्यान, आत्महत्या, सामाजिक तथा आर्थिकसँग सम्बन्धित अपराध बढी भएका छन् । सिङ्गो मुलुक बन्दाबन्दीमा भए पनि चैत ११ देखि वैशाख ३ गतेसम्म ज्यान सम्बन्धी दुई सय ८३, आत्महत्या दुई सय ५३, सामाजिक तथा आर्थिक अपराध एक सय ३३, चोरी २२, सङ्गठित ९५, महिला तथा बालबालिका सम्बन्धी ८८, सवारी ३७ र विविध ५६ वटा अपराधका घटना भएका छन् ।
केन्द्रीय प्रहरी प्रवक्ता उमेशराज जोशीले बन्दाबन्दीमा अपराध घटेको दाबी गर्नुभयो । एकै दिनमा हजारभन्दा बढी अपराधका घटना हुन्थे, बन्दाबन्दीले घटायो । सबै घरभित्र बन्दाबन्दी भएकाले पनि अपराधका घटनामा कमी आएको भनाइ उहाँको छ । उहाँले ‘बन्दाबन्दी’मा अपराध शून्यमा झरेको अपेक्षा नागरिकको छ तर त्यस्तो हुँदैन चोरी, डकैती, लुटपाट, दुर्घटना र सङ्गठित अपराधका घटनामा नियन्त्रण आए पनि अन्य घटना सामान्य रूपमा देखिएका छन्, जबर्जस्ती करणी र महिला हिंसाका घटना बढी देखिएका छन् भन्नुभयो ।
प्रदेश अनुसार सबैभन्दा बढी अपराधका घटना प्रदेश–२ मा दुई सय २५, प्रदेश–१ मा एक सय ६०, प्रदेश–५ मा एक सय ५९, काठमाडौँ उपत्यकामा एक सय ४४, गण्डकी प्रदेशमा एक सय चार, प्रदेश–३ मा ७७, कर्णाली र सुदूरपश्चिम क्रमशः ५६÷५७ रहेका छन् । नेपाल प्रहरीले मुद्दा नै दर्ता गरी आवश्यक कानुनी कारबाही प्रक्रिया सञ्चालन गरेका ज्यान सम्बन्धी अपराध अन्तर्गत कर्तव्य ज्यान १५, ज्यान मार्ने उद्योग २२, भवितव्य ज्यान एक सय ५४, गौवध एक, आत्महत्या दुरुत्साहन सात र फुटकर ज्यान ८४ घटना उल्लेख गरिएको छ ।
त्यस्तै आत्महत्या अपराध अन्तर्गत विष सेवन गरी ३४, झुण्डिएर दुई सय १३, पानीमा हाम फालेर र हतियार प्रयोग गरी क्रमशः चार÷दुई जनाले गरी छ जनाले आत्महत्या गरेका छन् । बन्दाबन्दीका कारण नघटेको अपराध आत्महत्या पनि एक हो । त्यस्तै चोरी सम्बन्धी अपराध अन्य समयको तुलनामा भने बन्दाबन्दीमा घटेको छ । प्रधान कार्यालयका अनुसार साधारण चोरी २५, सवारी चोरी तीन, नकवजनी चोरी एक गरी करिब ३० वटा भएका छन् । चोरी घटना काठमाडौँ उपत्यकामा धेरै छन् ।
सङ्गठित तथा आर्थिक अपराध अन्तर्गत जुवातास र सट्टेबाजी तीन, ठगी नौ, लागूऔषध ४८, कालोबजारी २५, हतियार खरखजाना एक, अपहरण सम्बन्धी एक, चन्दा सङ्कलन एक तथा सामाजिक अपराध अन्तर्गत सार्वजनिक शान्ति कार्यविरुद्ध ४१ जना र केही सार्वजनिक अपराधमा ७० जनाविरुद्ध मुद्दा चलाइएको जनाएको छ । अख्तियारीको अवज्ञा गरेको अभियोगमा १५, नागरिकता सम्बन्धी पाँच, धर्म प्रचार र कुटपिट सम्बन्धी दुईटा मुद्दा दर्ता भएका छन् । बोक्सी र घरेलु हिंसाविरुद्ध पनि एक÷एक वटा मुद्दा दर्ता भएका छन् । बन्दाबन्दी अवधिमा एक बालविवाह नौवटा बहुविवाहविरुद्ध मुद्दा दर्ता गरिएको छ । जबर्जस्ती करणीका घटना पनि बन्दाबन्दीमा रोकिएनन् । करिब ५५ वटा जबर्जस्ती करणी, ११ वटा जबर्जस्ती करणी उद्योग सम्बन्धी मुद्दा दर्ता भएका छन् । - देवबहादुर कुँवर, गोरखापत्र अनलाइनबाट 

2020-04-19-12690
काठमाडौँ, वैशाख ७ गते । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) २८ पुगेका छन् । एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा १७, अमेरिकामा आठ, संयुक्त अरब इमिरेट्समा दुई र आयरल्याण्डमा एक जनाको निधन भएको हो ।

स्वास्थ्य उपसमितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार नेपालबाहेक विश्वभर एक हजार १६६ गैरआवासीय नेपाली अहिले कोरोनाबाट संक्रमित छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सको समूहले तयार पारेको सो आँकडानुसार २१ देशमा रहेका नेपाली कोभिड –१९ बाट संक्रमित रहेको एनआरएन, कोभिड– १९, उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभएको छ ।

नेपालमा भने १९ हजार ५५४ जनामा परीक्षण गरिएकामा ३१ जनामा कोरोना संक्रमण देखिएको छ भने दुई जना कोरोनामुक्त भई घर फर्किसकेका छन् ।
संक्रमित हुने विदेशमा बसेका नेपालीमा अमेरिकामा करीब सात सय, बेलायतमा दुई सय, संयुक्त युएईमा ७१, आयरल्याण्ड र पोर्तुगलमा २२–२२, कुवेतमा २१, अष्ट्रेलियामा ११, स्पेनमा १०, स्विट्जरल्याण्डमा पाँच, जर्मनी, बेल्जियम र साउदी अरबमा चारचार, क्यानडा र मलेसियामा तीनतीन, माल्टामा दुई तथा फ्रान्स, जापान, म्यान्मा र हंकंमा एकएक जना रहेको उपसमितिले जनाएको छ ।

विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक र कूटनीतिक नियोग, एनआरएनका शाखा तथा स्थानीय संघसंस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर सो आँकडा तयार पारिएको स्वास्थ्य उपसमितिले जनाएको छ । विदेशमा कोरोना भाइरसबाट मृत्यु भएकाहरुको परिवारको सहयोगार्थ एनआरएनले आफ्ना शाखाहरुलाई परिचालन गरेको जनाइएको छ ।

एनआरएनका अध्यक्ष पन्तका अनुसार बिहीबार साँझसम्म दुई दर्जनभन्दा बढी देशमा १० हजारभन्दा बढी कोरोना पीडितका लागि राहत वितरण गरिएको छ । यसैबीच एनआरएन कोभिड १९ उच्चस्तरीय समितिको बैठक आज बस्ने भएको छ । संघका महासचिब डा हेमराज शर्माका अनुसार बैठकले कोरोना पीडितका लागि राहत वितरणको नयाँ नीति तय गर्ने छ । - गोरखापत्र अनलाइनबाट 

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget