Websoft University

www.radiomakalu.com || 021-522512


October 2017


dfx

काठमाडौँ, कात्तिक १४ गते । राष्ट्रिय मानव अधिकार आयोगका पूर्वआयुक्तहरुको समूह पूर्वआयुक्त समाजले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि दलहरुले तयार पार्ने घोषणापत्र मानव अधिकारमैत्री हुनुपर्ने माग गरेको छ ।

समाजमा अध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश केदारनाथ उपाध्यायले आज जारी गरेको प्रेस विज्ञप्तिमा आगामी मंसिर १० र २१ गते हुने लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि दलहरुले तयार पार्ने घोषणापत्र मानवअधिकार मैत्री बनाउन आग्रह गरिएको छ ।

विज्ञप्तिमा दलहरु आफ्ना आगामी कार्यक्रमको घोषणापत्र निर्माण गर्दै गरेको अवसरमा दलको मानव अधिकारप्रतिको प्रतिबद्धताको उच्च कदर गर्दै आफ्नो घोषणापत्र एवम् निर्वाचनको सन्दर्भमा गरिने प्रतिबद्धतामा राष्ट्रिय मानव अधिकार आयोगको संयोजनकारी तथा नेतृत्वदायी भूमिकाका लागि कानुनी व्यवस्था गर्ने प्रतिबद्धता मिलाउन अनुरोध गरिएको छ ।

मानव अधिकारप्रतिको प्रतिबद्धता र त्यसको संरक्षण र सम्बद्र्धनका लागि स्थापित राष्ट्रिय संयन्त्रको प्रभावकारिताप्रति दलको भूमिका अझ सशक्त बनाउनका लागि समेत विज्ञप्तिमा माग गरिएको छ ।




तनावपूर्ण जीवन, प्रदूषण आदिले हाम्रो अनुहारको निखार हराउँदै गएको छ । अनुहारमा चाया पोतो आउने, फुस्रो हुने, रुखो हुने समस्या बढ्दो छ । यस्तो अवस्थामा के गर्ने त ?


पार्लर धाउने, कस्मेटिक उपचार गर्ने विधी सजिलो होला । तर, यसले प्राकृतिक चमक फर्काउँदैन । त्यसका लागि प्राकृतिक विधी नै अपनाउनु पर्छ । र, यसका लागि निकै उपयोगी हुन्छ, दही । दहीका साथमा नीमको प्रयोग थप उपयोगी हुन्छ ।

दही र निमको फेसप्याक

यो प्याक बनाउनु निकै सजिलो छ । केही नीमका पत्ताहरुलाई मिक्सरमा हाल्नुपर्छ । यसमा दुई टेबल चम्चा दही हाल्ने र त्यसलाई राम्ररी मिक्स गर्ने । अब यो पेस्टलाई आफ्नो स्किनमा लगाउने र  १५ मिनेटपछि सफा पानीले पखाल्नुपर्छ ।

यो फेस प्याकको फाइदाहरु के छन् ?

१. अनुहारमा निखार ल्याउन सहयोगीः यो फेस प्याक भिटामिन्स र पोषक तत्वहरुले भरपूर हुन्छ । यसले हाम्रो स्किन सेल्सलाई स्वस्थ राख्छ र यसले हाम्रो अनुहारमा चमक ल्याउँछ ।

२. दाग धब्बालाई कम गर्छः यो प्याकले खराब टिस्यूहरुलाई रिपेयर गर्छ । यसलाई दैनिक लगाउनाले अनुहारको दाग-धब्बा कम भएर जान्छ ।

३. घामबाट अनुहारको रक्षाः नीम र दहीको मिश्रणले सनस्कीनको रुपमा पनि काम गर्छ । यसले हाम्रो स्किनलाई खतरनाक यूभी किरणबाट बचाउँछ ।

४. नीममा एन्टी-ब्याक्टेरिया हुने भएकाले यसले खटिरा, डन्डीफोरबाला ब्याक्टेरियालाई मार्छ ।

५. स्किन टोनलाई सेतो बनाउँछः यसले ब्लीचिङ एजेन्टको रुपमा पनि काम गर्छ । यसले तपाईंको स्किन टोन सेतो हुन्छ ।

६. छालाको रोगहरु पर भगाउँछः दही र नीमको पेस्टले सानातिना छालाका बिमारीहरुलाई ठिक पार्छ ।

७. छालालाई नरम बनाउँछः दहीले छालामा मोइस्चराइजरको रुपमा काम गर्छ र छालालाई मुलायम बनाउँछ ।

८. डार्क सर्कल हटाउँछः नीम र दहीको पेस्टले आँखामुनि देखिने कालो घेरा र ब्ल्याकहेड्स कम गर्छ ।



एएफसी यू-१९ फुटबल च्याम्पियनसिपको छनोट चरणमा नेपालले घरेलु टोली किर्गिस्तानसँग दुई शून्य गोलको पराजय ब्यहोरेको छ ।


किर्गिस्तानको बिस्केकस्थित डोलेन ओमुरजाकोक रंगशालामा नेपालले खेल सुरु भएको २१औं मिनेटमै गोल खाएको थियो ।

नेपाली रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै घरेलु टोलीका स्ट्राइकर बोरुबाइभ गुल्झिगितले गोल गरे ।

त्यसयता नेपालले गोल गर्न सकेन । दोस्रो हाफमा केहि सुधारिएको प्रदर्शन गरे पनि नेपालले खेलको अन्तिम मिनेटमा दोस्रो गोल खायो । नेपाली गोलरक्षक अर्पण कार्कीको गल्तिको फाइला उठाउँदै किर्गिस्तानका शुकोरोभ अलिमार्दोनले निणर्ायक गोल गरे ।

छनोट प्रतियोगिताको समूह ए मा नेपालसहित किर्गिस्तान, युएई, बहराईन र ओमान छन् । नेपालले समूहको आफ्नो दोस्रो खेल बिहीबार बहराइनसँग खेल्नेछ ।- अनलाइनखबर


hj
काठमाडौँ, कात्तिक १४ गते ।  प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको स्थायित्व र आर्थिक समृद्धिका लागि आगामी निर्वाचनमा काँग्रेसले जित्नु अपरिहार्य भएको बताउनुभएको छ ।


प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन २०७४ का लागि काँग्रेसको घोषणापत्र आज एक समारोहमा सार्वजनिक गर्दै उहाँले काँग्रेसको नेतृत्वमा नै २००७ सालयता मुलुकमा ठूला परिवर्तन सम्भव भएको र मुलुकमा अब आर्थिक समृद्धि गर्न पनि आसन्न निर्वाचनमा पनि काँग्रेस विजयी हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कम्युनिष्ट शासन व्यवस्थामा व्यक्तिगत स्वतन्त्रता र मानवाधिकार हनन हुनाका साथै त्रासको वातावरण हुने बताउँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, “जनतालाई देशको मालिक बनाउन लोकतन्त्र नै चाहिन्छ र लोकतन्त्रको संरक्षण काँग्रेसले मात्र गर्न सक्छ ।” हिमाल, पहाड र मधेशलाई जोड्ने एक मात्र पार्टी काँग्रेस भएको दाबी गर्दै उहाँले समावेशी अधिकार स्थापित गर्न, राष्ट्रिय एकता बलियो बनाउन र राष्ट्रिय अन्तरराष्ट्रिय विश्वासका लागि पनि मुलुकमा काँग्रेसको विजय अपरिहार्य छ भन्नुभयो ।

कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सात दशकपछि मुलुकमा नयाँ संविधानमार्फत राजनीति व्यवस्थाको टुंगो लागेको बताउँदै मुलुकमा अब आर्थिक समृद्धि आवश्यक भएको र यसका लागि काँग्रेसले घोषणापत्रमार्फत प्रतिबद्धता सार्वजनिक गरेको जानकारी दिनुभयो ।

‘संविधान जारी गर्दाका सहयात्री दलहरु नै संविधानको मौलिकता परिवर्तन गरी अधिनायकवादतर्फ उन्मुख भएकामा’ चिन्ता व्यक्त गर्दै वरिष्ठ नेता पौडेले भन्नुभयो, “त्यस्तो प्रयासलाई काँग्रेसले कदापि सफल हुन दिँदैन ।”

पार्टीका महामन्त्री डा शशांक कोइरालाले कम्युनिष्ट पार्टीहरु एक ठाउँमा उभिनु काँग्रेसका लागि चुनौती भएको उल्लेख गर्दै आगामी निर्वाचनमा सम्पूर्ण काँग्रेस नेता कार्यकर्ता एक ढिक्का भएर निर्वाचनमा होमिन आग्रह गर्नुभयो ।

पार्टीका नेता एवं घोषणापत्र तयारी समितिका संयोजक महेश आचार्यले घोषणापत्रका बारेमा जानकारी दिँदै राजनीतिक स्थायित्व, लोकतन्त्रको सुदृढीकरण र मुलुकको समृद्धिका लागि आगामी निर्वाचनमा काँग्रेसलाई विजयी गराउनुपर्ने बताउनुभयो ।



भक्तपुर, कात्तिक १४ गते । काउन्सिल अफ बोर्डस अफ स्कूल एक्जामिनेशन अफ इण्डिया(कोब्से)को ४६ औँ सम्मेलन नेपालमा बुधबार हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सानोठिमीस्थित बोर्डको कार्यालयमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा काभ्रेपलाञ्चोकको धुलिखेलमा हुने सात देशको सहभागिता रहने सम्मेलन नेपालको परीक्षा प्रणालीको वैज्ञानिक रुपमा सुधार गर्नका लागि अवसरका रुपमा आएको बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले बताउनुभयो ।

‘इनोभेशन इन इभ्यालुएशन’ भन्ने मूल नाराका साथ यही कात्तिक १६ गतेदेखि १८ गतेसम्म हुने सम्मेलनमा आठ देशमा रहेका परीक्षा बोर्डका पदाधिकारीको सहभागिता रहनेछ । सम्मेलनमा नेपाल, भुटान, मौरिसस, पाकिस्तान, सिंगापुर, बेलायत र भारतका गरी ६० बोर्डका पदाधिकारी र परीक्षा विज्ञको भेला हुने बोर्डका सदस्य सचिव लक्ष्मीराम पौडेलले बताउनुभयो ।

सम्मेलनमा नेपालका तर्फबाट शिक्षाविद् एवं त्रिविका प्रा डा गणेशबहादुर सिंह र प्रा डा वासुदेव काफ्लेले विशेष शिक्षामा परीक्षा विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुनेभएको छ । परीक्षा बोर्डका अध्यक्ष प्रा डा पौडेलले आठ विषयको तीन घण्टाको परीक्षामार्फत गरिने विद्यार्थीको मूल्यांकन वैज्ञानिक एवं व्यावहारिक नभएकाले परीक्षा प्रणालीलाई सुधार गर्नका लागि सम्मेलनले धेरै सहयोग पु¥याउने बताउनुभयो ।

“अन्य देशमा भएका परीक्षा प्रणालीका बारेमा जानकारी लिन पाइने र यसले नेपालको माध्यमिक तहको परीक्षा प्रणालीलाई ग्रेडिङ प्रणालीबाट अझै सुधारमा लैजाने बाटो पहिल्याउन सजिलो हुनेछ” उहाँले विश्वास व्यक्त गर्नुभयो ।

माध्यमिक तहको अन्तिम परीक्षा लिने जिम्मेवारी पाएको राष्ट्रिय परीक्षा बोर्डले अहिलेको परीक्षा प्रणाली ठीक वा बेठीक भन्ने कुरा शिक्षा क्षेत्रमा बहसको रुपमा उठेको बेलामा हुन लागेको सम्मेलन उपलब्धिमूलक हुने बताइएको छ । अध्यक्ष प्रा डा पौडेलले हालको परीक्षा प्रणाली पनि पूर्णरुपमा व्यावहारिक नभएको आँैल्याउँदै सरकारबाट निर्णय भइसकेको विषयगत परीक्षाको तयारीलाई बोर्डले छिट्टै कार्यान्वयनमा ल्याउने बताउनुभयो । (रासस)



काठमाडौँ, कात्तिक १४ गते । केही दिनयता देशका विभिन्न भागमा पानी परेर चिसो बढे पनि मुलुकको चुनावी तामक्रम भने ह्वात्तै बढेकोे छ ।

मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको टिकट वितरण र चुनावी प्रचारप्रसारले राजनीतिक सरगर्मी निकै तातेको हो । पहिलो चरणको निर्वाचनका लागि कात्तिक ८ गते निर्वाचन चिह्न पाएसँगै दलका नेता तथा उम्मेदवार गाउँ पसेपछि काठमाडौँ केन्द्रित चुनावी चर्चा गाउँगाउँसम्म पुगेको छ ।

पछिल्ला तीन दिनमा परेको असिना र पानीले वातावरणलाई निकै चिसो बनाएको छ भने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनको प्रचारप्रसारले पनि केही दिनयता तीव्रता पाएको छ ।

मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रचारप्रसार गर्ने क्रममा उम्मेदवार अहिले आमसभा र घरदैलोमार्फत मतदातालाई आफ्नो पक्षमा मतदान गराउन भोट माग्दै हिँडिरहेका छन् ।

दूरदराजका गाउँघरमा वीरलै देखिने पार्टीका शीर्ष नेतासमेत केही दिनयता मतदातासँग हात जोडेर आफ्नो पार्टी र पार्टीका उम्मेदवारलाई भोट माग्न आएको देखेपछि मतदातामा उत्साह थपिएको छ ।

निर्वाचनप्रतिको द्विविधा हटाउन प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले समयको चाप र विभिन्न चुनौती भए पनि तोकिएकै समयमा निर्वाचन हुनेमा अब कुनै शक्तिले रोक्न नसक्ने बताउनु भएको छ ।

नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई, नेकपा (एमाले)का सचिव योगेश भट्टराई, नेकपा माओवादीका नेता देवप्रसाद गुरुङ तथा नेपाली काँग्रेसका नेता रामहरि खतिवडा यतिखेर मतमाग्न गाउँगाउँ पुग्नुभएको छ ।

विगतको तुलनामा निर्वाचनको प्रचारप्रसारको क्रममा दल होस् वा उम्मेदवारबाट आफ्ना प्रतिस्पर्धीलाई गालीगलौज तथा आरोप प्रत्यारोप गर्ने प्रवृत्तिमा केही कमी देखिएको छ ।

प्रमुख राजनीतिक दलका अतिरिक्त अरु साना राजनीतिक दलबीचको चुनावी तालमेलबाट विगतका निर्वाचनमा जस्तो भोट माग्न गाउँमा पुग्ने उम्मेदवारको संख्यामा भने निकै घटेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ३२ जिल्लामा गरी जम्मा ७०२ जना उम्मेदवार चुनावी प्रतिष्पर्र्धामा उत्रिएका छन् ।

मतदाता भने यो समयमा बालीनाली भित्र्याउन व्यस्त छन् । मतदातालाई भेट्न उम्मेदवार खेतबारीका कन्लाकान्लामा पुगेका छन् । यो निर्वाचनबाट प्रतिनिधिसभातर्फ ३७ जना र प्रदेशसभातर्फ ७४ जना गरी जम्मा १११ जना जनप्रतिनिधिको चयन हुनेछ ।

जुम्ला जिल्लाका एमालेका उम्मेदवार बलबहादुर महत चुनाव प्रचारप्रसार गर्दै पातारासी गाउँ पुग्नुभएको छ भने नेपाली काँग्रेसका नेता दिलबहादुर घर्ती निर्वाचनसम्बन्धी भेटघाटमा सोमबार मध्यनेपाल नगरपालिका पुग्नुभएको छ ।

पहिलो चरणको निर्वाचनमा केही चर्चित नेताबीचका प्रतिष्पर्र्धाले सञ्चारमाध्यमलाई समाचार बनाउन निकै ठूलो खुराक मिलेको छ । गोर्खा, सिन्धुपाल्चोक, ओखलढुंगा, नुवाकोट, जाजरकोट, रुकुम, रोल्पालगायतका जिल्ला यति बेला निकै चर्चामा छन् ।

यसैगरी, नेकपा (एमाले)का पृथ्वी सुब्बा गुरुङ, गंगालाल तुलाधर, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल, नेपाली काँग्रेसका पूर्वाबहादुर तामाङलगायतका नेताहरू चुनावी प्रसारप्रसारमा भाग लिने क्रममा गाउँगाउँमा पुग्नुभएको छ ।

नेपाली जनताले लामो संघर्षबाट प्राप्त गरेको संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा आगामी मंसिर १० र २१ गते हुने निर्वाचनलाई विश्व समुदायले समेत निकै उत्सुकता र चासोका साथ हेरिरहेको छ ।रासस



काठमाडौँ, कात्तिक १४ गते । एशियाली विकास बैंक(एडिबी)को आर्थिक एवं प्राविधिक सहयोगमा नेपालमा सञ्चालित आयोजनामध्ये शहरी विकास र खानेपानीसम्बन्धी आयोजनाको प्रगति उत्साहजनक देखिएको छ ।

एडिबीले हवाई यातायात, ऊर्जा, शहरी विकास एवं खानेपानी, सडक पूर्वाधार र शिक्षा गरी पाँच क्षेत्रका १९ आयोजनामा दुई अर्ब ३० करोड डलर लगानी गर्दैछ । यो लगानी हालसम्मकै उच्च लगानी हो ।

ती पाँच क्षेत्रका अतिरिक्त भूकम्पले क्षति पु¥याएका संरचनाको पुनःनिर्माणमा समेत उसको आर्थिक सहयोग रहेको छ । एडिबीद्वारा सञ्चालित आयोजनाको समीक्षा गर्न आज यहाँ आयोजित कार्यक्रममा हवाई यातायात सुधारसम्बन्धी दुई आयोजनाका प्रगति भने सुुस्त नै रहेको जनाइएको छ । ती आयोजनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र गौतमबुद्ध विमानस्थल सुधार तथा विस्तार छन् ।
यसैगरी पछिल्लो समय मेलम्ची खानेपानी आयोजना र यससित सम्बन्धित काठमाडाँै उपत्यका खानेपानी वितरण योजनाको प्रगति सुस्त देखिएको बैंकले जनाएको छ ।

ती पाँच क्षेत्रका ३५ आयोजनाका समग्र कार्यप्रगति राम्रो रहेको जनाइएको छ । समीक्षा बैठकमा अर्थ, शहरी विकास, संघीय मामिला तथा स्थानीय विकास र ऊर्जा मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका वरिष्ठ अधिकृत तथा आयोजना प्रमुखको सहभागिता छ ।

बैठकमा अर्थसचिव शंकर अधिकारीले संघीय संरचनानुसार वित्त व्यवस्थापनमा मन्त्रालयले गृहकार्य गरिरहेको र विकास आयोजनामा वित्त पारदर्शिता र सुशासनमा प्राथमिकता दिएको बताउनुभयो ।

एडिबीका उपनिर्देशक दिवेश शरणले प्रगति कम देखिएका आयोजनाका प्रगतिमा सुधार ल्याउन नेपाल सरकारलाई आग्रह गर्दै बैंकले आगामी दिनमा नेपालको पूर्वाधार विकासमा सहयोग जारी राख्ने जानकारी दिनुभयो । एडिबीका नेपालका देशीय निर्देशक मुखतोर खामुडखानोभ र कार्यक्रम प्रमुख सारोश खानले आयोजनाका विविध पक्षमाथि जानकारी दिनुभएको थियो । (रासस)



काठमाडौँ, कात्तिक १४ गते ।  कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशीका दिन आज बिहानैदेखि देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णु आजै जागा हुनुहुने भएकाले विशेष पूजा गरिन्छ ।

हरिशयनी एकादशीकै दिनदेखि घर–घरको तुलसी मठमा रोपिएको तुलसीलाई आज भगवान् विष्णुसँग विवाह गरिने प्रचलनसमेत रहेको छ ।

असारदेखि कात्तिकसम्म तुलसीको विशेष पूजा गरिने भएकाले यो समयलाई चतुर्मास पनि भनिन्छ ।

यस समयमा चतुर्मास महात्म्यसमेत सुन्ने गरिन्छ । आज उपत्यकाका चार नारायणमा दर्शन गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

यी चार नारायणको दर्शन गर्न नसक्नेले उपत्यकाको उत्तरी भागमा रहेको बूढानीलकण्ठ नारायणस्थानमा पूजा एवं दर्शन गरे चार वटै नारायणको दर्शन गरे बराबरको फल पाइने विश्वास छ ।

बूढानीलकण्ठमा आजदेखि कात्तिक शुक्लपूर्णिमासम्म लाग्ने विशेष मेला शुरु भएको छ ।

मेला सम्पन्न गर्न बूढानीलकण्ठ क्षेत्र विकास समितिको संयोजकत्वमा स्थानीय संघसंस्था सम्मिलित १०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

समितिअन्तर्गत आठ उपसमिति बनाइएको अध्यक्ष जयराम थापाले जानकारी दिनुभयो ।

बूढानीलकण्ठमा आज विहान १ बजेदेखि नै पूजा एवं दर्शनका लागि भक्तजनको भीड लागेको छ ।

यस वर्ष सात लाख भक्तजनले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको समितिले जनाएको छ ।-  (रासस)



मौसमी तापमान घट्दैछ । चिसो बढिरहेको छ । यसरी वातावरण चिसो भएपछि त्यसँग शरीरको तापमान मिल्दैन । शरीरले त्यस विरुद्ध लड्न खोज्छ ।


यही क्रममा वायुमण्डलमा हुने विभिन्न रोगको संक्रमणले समेत हाम्रो स्वास्थ्यमा असर पार्न थाल्छ । जसका कारण मौसममा भएको बद्लावसँगै हाम्रो रोग प्रतिरोधात्मक क्षमता घटेर जान्छ । हामीलाई रोग गाँज्न थाल्छ ।

जाडोमा के कस्ता समस्या हुन्छ ?

विशेषगरी गर्मी सकिएर जाडो सुरु भएसँगै हाम्रो स्वास्थ्यमा विभिन्न खाले समस्याहरु देखापर्छ । यसबेला भाइरल ज्वरो, रुघाखोकी, छातीको समस्या, दम, आज्मा, झाडापखाला, जण्डिस, टाउको दुख्ने लगायतका समस्या देखिने गर्छ ।

विशेषगरी रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुमा यस्ता समस्या बढी देखिने गर्छ ।

१. यो समयमा आफ्नो स्वास्थ्य प्रति विशेष सजगता अपनाउन जरुरी छ । त्यसको लागि स्वस्थकर खानेकुरा, भरपूर आराम नै सबैभन्दा उत्तम उपाय हो ।

२. शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुदाँ हामीलाई विभिन्न खाल रोग लाग्ने गर्छ । शरीरमा रोग लाग्न नदिन गहिरो निद्रा ज्यादै आवश्यक छ । जब शरीरमा निद्रामा कमी हुन्छ, त्यतिबेला शरीरको रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ र हामीलाई विभिन्न रोगले समात्ने गर्छ ।

३. बद्लिदो मौसमसँगै यस समय विभिन्न खाने रोगको संक्रमण बढ्ने खतरा बढी हुन्छ । । भाीडभाडमा जाँदा मास्कको प्रयोग गर्नाले शरीरलाई विभिन्न संक्रमणबाट जोगाउन सकिन्छ ।

४. शरीरमा रोग निम्त्याउने अर्को तत्व भनेको तनाव हो । तनावले शरीरको रोग प्रतिरोधात्मक क्षमतामा कमी ल्याउँछ । तनाव कम गर्न व्यायाम राम्रो माध्यम हो ।

५. नियमित व्यायामले शरीरमा स्फूर्ती पैदा हुनुका साथै तनाव कम गर्न मद्दत गर्छ ।

६. शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने अर्को माध्यम भनेको भिटामिन डी हो । शरीरको लागि निकै महत्वपूर्ण मानिएको भिटामिन डीले शरीरमा रोगसित लड्ने क्षमता बढाँउछ ।

७. विहानको समयमा सुर्यको किरणमा केहीबेर बसेर वा भिटामिन डी युक्त खानेकुराको सेवनद्धारा शरीरमा हुने भिटामिन डीको कमीलाई पूरा गर्न सकिन्छ र शरीरलाई स्वस्थ बनाउन सकिन्छ ।

८. शरीरमा आवश्यकता अनुसार न्यायो कपडा पहिरिएर पनि शरीरलाई विभिन्न रोगहरु लाग्नबट बचाउन सकिन्छ ।

९. दैनिक ८ देखि १० कम मनतातो पानीको सेवनले पनि शरीरमा विभिन्न रोगको संक्रमण हुन पाउँदैन ।

चीनलाई यसरी घेर्दैछ अमेरिका

नयाँदिल्ली : बढ्दो चीनको प्रभाव कम गर्न अमेरिकाले घेराबन्दी गर्ने योजना बनाउन शुरु गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ शक्तिशाली रूपमा दोस्रो कार्यकालका लागि नेता बनेपछि अमेरिकाले यस्तो अभियान शुरु गरेको हो ।
चीनले नेपाल, श्रीलंका, बंगलादेश, पाकिस्तान र अफ्रिकालाई आर्थिक सहयोग गरेर आफ्नो प्रभाव वृद्धि गरेको छ । छोटै समयमा विश्व राजनीतिमा चीनले वर्चस्व कायम गरेको छ । यो अवस्थामा अमेरिकाले जापान, अस्ट्रेलिया र भारतलाई साथ लिएर वैकल्पिक मार्ग अवलम्बन गर्ने नीतिमा पुगेको छ । चीनको बढ्दो प्रभाव रोक्ने नीतिअन्तर्गत पहिलो चरणमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वरिष्ठ अधिकारीहरूले वासिङटनका साथ टोक्यो, नयाँदिल्ली र क्यानबेरालाई साथ लिएर अगाडि बढ्ने योजना बनाएका छन् । यसलाई कूटनीतिक गठबन्धनकै रूपमा लान अमेरिका तयार भएको छ ।

अमेरिकी विदेशमन्त्रीको एसिया भ्रमणलाई यसैको प्रयासका रूपमा हेरिएको छ । अमेरिकी कार्यकारी सहायक विदेशमन्त्री अलाइस वेल्सले पत्रकारसँग भनिन्, ‘जुन देशले अमेरिकासँग समान मूल्य मान्यता राख्छन् । उनीहरूलाई उनीहरूकै ढाँचामा आर्थिक विकास गर्न विकल्प प्रदान गर्ने अवसर हुनेछ । सुनिश्चित रूपले यो पूरा गर्न सहयोग दिइनेछ ।’
आगामी महिना अमेरिकी राष्ट्रपति ट्रम्प बेइजिङ र टोक्योको भ्रमण गर्दै छन् । यस्तो समयपूर्व अमेरिकाले यस्तो योजना अघि ल्याएको हो । यसमा असुरक्षित ऋण र सशर्त ऋण नदिने स्पष्ट पारिएको छ । चीनले दिने ऋण असुरक्षित र सशर्त हुने भएकाले अमेरिकाले बेग्लै खालको सहयोग अपनाउने नीति लिएको हो । नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)अन्तर्गत करिब ४४ अर्ब १२ करोड रुपैयाँको प्रोजेक्टको काम हुनेछ । यसका लागि करिब ८ अर्ब ४३ करोड रुपैयाँ नेपाललाई दिइनेछ र बाँकी रकम एमसीसीले दिनेछ । वेल्सले यो प्रोजेक्टअन्तर्गत भारतमा सडकका साथै ऊर्जाका क्षेत्रमा सहयोग गरिने बताइन् । नेपाललाई पनि आगामी सात वर्षमा ऊर्जा निर्यातक बन्ने अनुमति दिइने र भारत—नेपालबीच कनेक्टिभिटी निर्माण गरिनेछ ।
अमेरिका, भारत र जापानबीच पहिलेदेखि नै उत्पादक त्रिपक्षीय साझेदारी भएको चर्चा गर्दै बेल्सले अस्ट्रेलिया पनि स्वभाविक साझेदार हुने जानकारी दिइन् । अमेरिकाले आगामी दिनमा यी चार देशबीच बैठक आयोजना गर्न लागेको वेल्सले खुलासा गरिन् । वेल्सले भनिन्, ‘समान मूल्य मान्यता राख्ने देशहरूलाई एउटै मञ्चमा ल्याइने र त्यसलाई अन्तर्राष्ट्रिय स्तरमा प्रयोग गरिनेछ ।’
चीनले वान बेल्ट वान रोड (ओबीओआर)अन्तर्गत ठूलो रणनीतिक चातुर्य देखाएपछि अमेरिकाले यस्तो योजना बनाएको दाबी गरिएको छ । पहिला सिल्क रोड नाम लिइएको यो चीनका लागि आर्थिक एवं रणनीतिक महत्वको मानिन्छ । यसले क्षेत्रीय शक्ति सन्तुलनमा निर्णायक भूपकमा खेल्ने चीनको विश्वास छ । ओबीओआरले मार्गका लागि चीनले ४० मिलियन अमेरिकी डलर खर्चिसकेको छ । 
यसै योजनाअन्तर्गत चीनले बंगलादेश र श्रीलंकामा बन्दरगाहमा लगानी गरेको छ । यसले बे अफ बंगालमा चीनको सीधै सम्बन्ध हुनेछ भने अर्कोतर्फ चीन-पाकिस्तान करिडोरले पश्चिमी चीनलाई ग्वादरसँग जोड्नेछ । यसैगरी स्थलमार्ग अन्तर्गत चीन युरोपसँग पनि जोडिएको छ । स्थलमार्गमार्फत चीन खाडी मुलुकसँग पनि जोडिन पुगेको छ ।
यसबाट चीनलाई दक्षिण-पूर्वी एसिया र अफ्रिकासम्म व्यापार गर्न सहज हुनेछ । यसलाई चीनभन्दा बाहिरका शक्तिले एकतर्फी लाभवाला अर्थशास्त्र भएको आरोप लगाइरहेका छन् । भारतले ओआरओबीको शुरुवातदेखि नै विरोध गर्दै आएको छ । भारतले यसबाट आफूलाई असुरक्षित महसुस गर्दै आएको छ । आफ्नो देशका पूर्वी र पश्चिमी दुवै भागमा चिनियाँ प्रभाव बढ्ने त्रास उसमा छ ।
यसैगरी नेपाल पनि ओबीओआरमा जोडिएपछि भारत चिन्तित देखिएको छ । भुटानबाहेक सबै दक्षिण एसियाली मुलुक चिनियाँ प्रोजेक्टसँग जोडिएपछि भारतले दक्षिण एसियामा आफ्नो प्रभाव कम भएको उसको बुझाइ छ । उसको परम्परागत मित्र नेपालमा पनि चिनियाँ उपस्थिति उसलाई मन परेको छैन । ओबीओआरको विरोधमा हाल उसलाई अमेरिकी साथ पनि मिलेको छ ।



न्युजिल्याण्डबिरुद्धको तेस्रो तथा अन्तिम एकदिवशीयमा शतक प्रहार गर्दै भारतीय क्रिकेट टोलीका कप्तान बिराट कोहलीले टिमलाई २-१ ले शृङखलामा जित दिलाए ।


करिअरको ३२औं शतकले भारतीय टिमले जितमात्रै हासिल गरेन कोहलीले अर्को कीर्तिमानसमेत बनाए । उनले अन्तर्राष्ट्रिय एकदिवशीय ब्याट्सम्यानको रुपमा करिअरकै सबैभन्दा धेरै तथा भारतका लागि नयाँ कीर्तिमानको रुपमा ८८९ रेटिङ प्वाइन्ट हासिल गरे, जुन भारतीय महान खेलाडी सचिन तेन्दुलकरको भन्दा २ अंकले धेरै हो ।

उनले १० दिन अघिसम्म ८७२ अंकसहित शीर्ष स्थानमा रहेका दक्षिण अफि्रकी ब्याट्सम्यान एबीडी भिल्लियर्सलाई पछि पारे । त्यस्तै त्यस्तै ८६५ अंकसहित अष्ट्रेलियाका डेभिड वार्नर तेस्रो स्थानमा रहे ।

नयाँ र्‍याङकिङ अपडेट भारत र न्यूजिल्याण्डबीटको शृङखला, दक्षिण अफि्रका र बंगलादेशको अन्तिम खेल तथा पाकिस्तान र श्रीलंकाको अन्तिमका दुई खेलपछि आएको हो ।

नयाँ र्‍याङकिङमा भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनी ११औं स्थानमा छन् । त्यस्तै न्युजिल्याण्डका टम लतामले शृङखलामा उत्कृष्ट प्रदर्शन गरेपछि १५ स्थान सुधार गर्दै २३औं स्थानमा पुगेका छन् ।

यता बलिङतर्फ पाकिस्तानका बलर हसन अली शीर्ष स्थानमा छन् । न्युजिल्याण्डबिरुद्धको शृङखलामा उत्कृष्ट प्रदर्शन गर्दै ६ विकेट लिएका जरपि्रत बुम्राह करिअरकै सबैभन्दा माथि तेस्रो स्थानमा पुगे ।

न्युजिल्याण्डलाई २-१ ले हराए पनि भारत एकदिवशीय र्‍याङकिङमा दक्षिण अफि्रकालाई पछि पार्दै शीर््ष स्थानमा उक्लन सकेन । एकदिशवीय र्‍याङकिङमा दक्षिण अफि्रकाको १२१ अंक छ भने भारत २ अंकले पछाडि छ ।




 खेल क्षेत्रलाई पत्रकारितामार्फत अगाडि बढाउने उदेश्यले सुर्खेतमा खेलकुद पत्रकार मञ्च गठन गरिएको छ ।


अधिकारी मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पत्रकारकारिता विषयका उपप्राध्यापक समेत हुन् ।

सुर्खेतको वीरेन्द्रनगरमा रहेका पत्रकारहरुको भेलाले भानुभक्त अधिकारीको अध्यक्षतामा खेलकुद पत्रकार मञ्च गठन गरेको हो ।

मञ्चको उपाध्यक्षमा लक्ष्मी भण्डारी, सचिवमा राजेन्द्र शाही, सहसचिवमा सुर्वण शाही र कोषाध्यक्षमा सृजना बुढाथोकी रहेका छन् ।

यस्तै सदस्यहरुमा निर्मल प्याकुरेल, तिलक पौडेल, निरक कँडेल र लक्ष्यबहादुर सुनार रहेका छन् ।

मञ्च गठन गर्न भएको भेलामा खेलकुद पत्रकार मञ्चका केन्द्रीय सदस्य कमल खत्री, पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल, पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारती लगायतले सुर्खेतको पत्रकारिताले समग्र ६ नं. प्रदेशकै खेलकुद क्षेत्रको विकासका लागि कलम चलाउँनुपर्नेमा जोड दिएका थिए ।



निर्वाचन रोक्ने माग सर्वोच्चद्वारा अस्वीकार
काठमाडौं ,कात्तिक १३ गते । केन्द्र र प्रदेश निर्वाचन रोकिनुपर्ने मागसहित दायर भएको एक रिटमा निर्वाचन आयोगसँगको छलफलपछि सर्वोच्च अदालतले मागअनुरूप अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
 निर्वाचन प्रक्रिया रोक्न अन्तरिम आदेशको मागलाई सर्वोच्चको संयुक्त इजलासले अस्वीकार गरेपछि आयोगलाई अघि बढ्न थप सहज भएको छ । आयोगले दल दर्ता गर्न र निर्वाचन चिह्न दिन नमानेपछि अन्तरिम आदेशमार्फत निर्वाचन प्रक्रिया नै रोक्न मागसहित पुरानो शक्ति पार्टीकी महामन्त्री आरजु थापाले रिट दायर गरेकी थिइन् ।
निवेदक र आयोगबीच सर्वोच्चमा आइतबार भएको छलफलपछि न्यायाधीश केदारप्रसाद चालिसे र मीरा खड्काको संयुक्त इजलासले मागअनुरूप निर्वाचन रोक्न अन्तरिम आदेश नहुने निर्णय दिएको हो । उक्त पार्टीले संसद् निर्वाचनमा भाग लिने प्रयोजनका लागि भदौ ११ गते आयोगमा दल दर्ताका लागि निवेदन दिएको थियो । आयोगले एक वर्ष पुगेको पुरानो पार्टी मात्र निर्वाचनमा भाग लिन दिने तर नयाँ पार्टी दर्ता नहुने निर्णय दिएपछि सबै प्रक्रिया रोक्न माग राखेर रिट दर्ता भएको हो ।

umesh mainali

भद्रपुर, कात्तिक १३ गते  । लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले स्वच्छ छवि बनाएको लोकसेवा आयोगले आफ्नो छविलाई उच्च राख्ने बताउनु भएको छ । आयोगद्वारा यहाँ आइतबार सरकारी निकाय तथा सार्वजनिक संस्थान कार्यालय प्रमुखसँग गरिएको अन्तक्र्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।

उहाँले लोकसेवा आयोगको गतिविधिले नागरिकलाई सक्षम एवं दक्षता प्राप्त गर्न प्रेरित गरेको भन्दै आयोगबाट छनोट भएका प्रतिस्पर्धी राष्ट्रको उच्च ओहदामा पुगेका छन् भन्नुभयो । लोकसेवा आयोगबाट सञ्चालित कार्यक्रमका बारेमा सुझाव संकलन गर्ने उद्देश्य रहेको सो कार्यक्रममा सबै सरकारी कार्यालय एवं संस्थान प्रमुखको सहभागिता रहेको थियो ।



चितवन, कात्तिक १३ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वाम तालमेल देश र जनताको आवश्यकताले बनेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल चितवन शाखा र प्रेस सेन्टर चितवन शाखाले आज यहाँ आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले स्थिर सरकार निर्माण गरी देशलाई समृद्धितर्फ लैजान वाम तालमेल भएको बताउनुभयो ।

उहाँले वाम तालमेल मात्रै नभएर वाम एकता र गठबन्धनको पनि प्रक्रिया अगाडि बढेको भन्दै यसमा राजनीतिक र वैचारिक विषय पनि समावेश भएको बताउनुभयो । वाम तालमेल एकतासहितको विशेषता भएकाले स्थानीय निर्वाचनमा भएका जस्तो तालमेल अहिले नभएको उहाँले बताउनुभयो ।

पार्टी एकता संयोजन समिति गठन भइसकेको बताउँदै दाहालले वाम तालमेल चुनावी मात्रै नभएर फरक विषय भएको बताउनुभयो ।

नेपाली काँग्रेससँग अहिले पनि संवाद र सहकार्यमा रहेको बताउँदै दाहालले काँग्रेससँगको सहकार्य नतोडिएको बताउनुभयो । काँग्रेसले पनि नयाँ गठबन्धन बनाउन लागेको बताउँदै उहाँले भन्नुभयो, “देशको राजनीतिक, आर्थिक आवश्यकताले, हाम्रो, संविधान, ऐन कानूनले पनि धेरै पार्टी होइन, थोरै पार्टी हुनु देशको हितमा छ भन्ने परिकल्पना गरेको छ । यो प्रक्रियाको शुरुवात हामीले गरेका छौं ।”

संविधानअनुसार देशमा साना धेरै पार्टी रहने स्थिति नभएको भन्दै उहाँले ठूला थोरै पार्टी रहने परिकल्पना संविधानले नै गरेको बताउनुभयो । वाम तालमेललाई नकारात्मक रुपले हेर्न नहुने उहाँको भनाइ थियो ।

चितवन क्षेत्र नं ३ बाट तपाइँ विजयी हुने आधार के हो ? भन्ने पत्रकारको प्रश्नमा उहाँले भन्नुभयो “यो चितवनका जनताले फैसला गर्ने कुरा हो ।” उहाँले अगाडि थप्नुभयो “यो मेरो गृह जिल्ला भएको नाताले चितवनका जनताको विश्वास लिएर म देशको नेतृत्व गर्ने तयारीमा छु । यहाँका जनताले यो ऐतिहासिक अवसरलाई यही रुपमा बुझ्नु हुनेछ ।”

विसं २०६२ सालमा चितवनको बाँदरमुढेमा भएको घटनाले निर्वाचनमा असर गर्दैन भन्ने प्रश्नमा दाहालले भन्नुभयो “शान्ति प्रक्रियापछि मैले माडीका जनता र बाँदरमुढे घटनाका घाइतेलाई भेटेको छु । घटनालगत्तै मैले क्षमायाचना गरिसकेको छु ।”

उहाँले अगाडि थप्नुभयो “पार्टीको तर्फबाट पनि र राज्यको तर्फबाट पनि घटनाका घाइतेलाई मैले सक्दो सहयोग गरेको छु ।” घटनामा संलग्नलाई पार्टीले कारबाही गर्छ भनेको स्मरण गर्दै दाहालले घटनाका दोषीलाई पार्टीले कारबाही गरिसकेको बताउनुभयो ।

चितवन क्षेत्र नं २ बाट रामबहादुर थापा वाम तालमेलबाट उम्मेदवार हुने भन्ने प्रशंगमा दाहालले आज साँझ एमाले अध्यक्ष केपी ओली र आफूबीच छलफलपछि सबै क्षेत्रको उम्मेदवार टुंगो लाग्ने बताउनुभयो । चितवन क्षेत्र नं ३ बाट आफ्नो उम्मेदवारी निश्चित भइसकेको उहाँले बताउनुभयो ।

निर्वाचन नहुने भन्ने शंका अव नगर्न आग्रह गर्दै उहाँले निर्वाचन आयोगले दुईवटा मतपत्र प्रयोग गर्ने भनिसकेपछि अव समस्या नरहेको बताउनुभयो । उहाँले भन्नुभयो “अब निर्वाचनको बारेमा कुनै संशय बाँकी छैन ।” (रासस)




काठमाडौँ, कात्तिक १३ गते । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले नेपालको पुनःनिर्माण तथा पुनःस्थापनामा सहयोग गरिरहेका विकास साझेदारसँग अन्तक्र्रिया गरेको छ ।

प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्भाल्नुभएका युवराज भुसालको विकास साझेदारसँग यो पहिलो अन्तक्र्रिया हो ।

अन्तक्र्रियामा प्रमुख कार्यकारी अधिकृत भुसालले पुनःनिर्माण प्राधिकरणमा नेतृत्व परिवर्तन भए पनि यसको गतिमा कुनै कमी नआउने प्रतिबद्धता व्यक्त गर्दै सबै विकास साझेदारबाट रचनात्मक सहयोगको अपेक्षा गर्नुभयो ।

पुनःनिर्माणसँग सम्बन्धित मन्त्रालय तथा स्थानीय तहमा काम गरेको लामो अनुभव सुनाउनु हुँदै उहाँले संगठनात्मक र नीतिगत चरण सकिएकाले अव तीव्ररूपमा कार्यान्वयन गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
“वर्षाअघि ६० प्रतिशत भूकम्पपीडितलाई नयाँ घरमा सार्ने लक्ष्य छ, यसमा विकास साझेदारको सहयोगको खाँचो छ, पुनःनिर्माणमा आवश्यक पर्ने प्राविधिक जनशक्ति उत्पादनमा पनि विकास साझेदारको सहयोग आवश्यक पर्छ”–उहाँले भन्नुभयो ।

विकास साझेदार संस्थाका प्रतिनिधिले पुनःनिर्माणमा भइरहेको सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरेका थिए । संयुक्त राष्टसंघ, युरोपेली युनियन, जपानी सहयोग संस्था जाइका, बेलायती सहयोग संस्था डिफिड, विश्व बैंक, एसियाली विकास बैंक, चीन, भारतलगायतका प्रतिनिधिले यस्तो धारणा व्यक्त गरेका थिए ।

प्राधिकरणमा नौ महिना नेतृत्व गरेर हालै मात्र राजीनामा दिई राजनीतिमा सक्रिय हुनुभएका पूर्व प्रमुख कार्यकारी अधिकृत प्राडा गोविन्दराज पोखरेललाई विकास साझेदारका तर्फबाट बिदाइ गरिएको थियो ।

प्राधिकरणले पनि पूर्व प्रमुख कार्यकारी अधिकृत पोखरेललाई आइतबार बिदाइ गरेको थियो । प्राधिकरणमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत भुसालले पुनःनिर्माणका लागि पोखरेलले थुप्रै सकारात्मक काम गरेको भन्दै आफूले यसलाई निरन्तरता दिने बताउनुभयो ।

“पुनःनिर्माणलाई यो चरणमा ल्याउन पोखरेलले धेरै मेहनत गर्नुभयो, अव अर्काे चरणमा यसलाई थप गति दिएर अघि बढ्ने मेरो प्रयास रहनेछ”–उहाँले भन्नुभयो । (रासस) ः



भक्तपुर, कात्तिक १३ गते । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले एक दलीय तानाशाह अन्त्यका लागि लोकतन्त्रवादी एक ठाउँमा संगठित हुनुपर्ने बताउनुभएको छ ।

भक्तपुरमा नेपाली काँग्रेसका पूर्व सभापति रामबहादुर ठकुरीद्वारा लिखित आत्मवृतान्त ‘नलेखिएका इतिहास’ पुस्तकको आज लोकार्पण गर्दै उहाँले लोकतन्त्रको रक्षा, एकदलीय तानाशाह र अलोकतान्त्रिक गठबन्धनविरुद्ध सबै लोकतन्त्रवादीलाई एक ठाउँमा आउन आग्रह गर्नुभयो ।

वाम गठबन्धनका नाममा नेपाली काँग्रेसलाई सिध्याउन खोज्ने दलसँग काँग्रेस विचलित नहुने उल्लेख गर्दै मन्त्री बस्नेतले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा काँग्रेस पहिलो पार्टी बन्ने दाबी गर्नुभयो ।

उहाँले मुलुकको विकासमा नेपाली काँग्रेसले खेलेको भूमिकाको नेपाली जनताले उच्च मूल्यांकन गर्ने समय आएको बताउनुभयो ।

कार्यक्रममा पूर्व उद्योग राज्यमन्त्री कञ्चन वादे श्रेष्ठ, पूर्व सांसद रामेश्वरप्रसाद ढुंगेल, पार्टी जिल्ला सभापति दुर्लभ थापालगायतले नेता रामबहादुर ठकुरीले प्रजातन्त्र स्थापनामा खेलेको भूमिका र योगदानको चर्चा गर्नुभयो ।  (रासस)




रत्ननगर, चितवन, कात्तिक १३ गते । नक्कली फेसबुक ‘आइडी’ बनाई महिलालाई अश्लील कार्य गर्न खोज्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

महिलालाई बदनाम गर्ने उद्देश्यले फेसबुकमा मोबाइल नम्बर र फोटो राखी अश्लील कार्यका लागि सम्पर्क गर्नुहोला भनेर स्टाटस राख्ने गरेको आरोपमा पक्राउ गरिएको चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले आज जानकारी दिनुभयो ।

यसरी पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका–४ का २७ वर्षीय नविन तिमिल्सिना रहेको उहाँले जानकारी दिनुभयो ।

उनीविरुद्ध नक्कली फेसबुक बनाई महिलालाई बदनाम गर्ने उद्देश्यले अश्लील कार्यका लागि सम्पर्क गर्नुहोला भनी मोबाइल नं र फोटो हालेको भनी केही दिनअघि नै लिखित उजुरी परेको प्रहरीले जनाएको छ ।

उनलाई केही सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान शुरु भएको आचार्यले जानकारी दिनुभयो । (रासस)


th_4            rapara-party
काठमाडौँ, कात्तिक १३ गते  । झापा क्षेत्र नं ३ मा उम्मेदवारी दिने विषयमा नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच केही असन्तुष्ट देखिएको छ । झापा क्षेत्र नं ३ बाट राप्रपाले महामन्त्री राजेन्द्र लिङदेनलाई उठाउने पक्कापक्की भएपछि काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले समेत उक्त स्थानमा आफू उठ्ने अनौपचारिक रुपमा घोषणा गरेसँगै दुई पार्टीमा केही असमझदारी बढेको छ । काँग्रेसले केही साता अगाडि सिटौलाको नामलाई समानुपातिकको अग्रस्थानमा राखेको भए पनि पछिल्लोपटक उहाँको नाम समानुपातिकबाट हटाएपछि राप्रपा बढी सशंकित भएको हो । नेपाली काँगे्रसका अग्रज नेता तीर्थराम डंगोलले झापा क्षेत्र नं ३ का पार्टी नेता तथा कार्यकर्ताले पूर्व महामन्त्री सिटौलालाई त्यस क्षेत्रबाट उम्मेदवार बनाउन दबाब आएपछि उहाँलाई उम्मेदवार बनाउन लागिएको जानकारी दिनुभयो । सो क्षेत्रमा काँग्रेसले आफ्नो उम्मेदवार उठाएपछि त्यसको सट्टामा अर्को स्थानमा राप्रपालाई सघाउने नीति काँग्रेसको छ । अहिले मुलुकमा चुनावको वातावरण बनाएर विकास, समृद्धि कायम गर्न लोकतान्त्रिक गठबन्धनको महत्वपूर्ण भूमिका रहेको बताउँदै उहाँले सो विषयलाई लिएर राप्रपाले गठबन्धनलाई असर पर्ने गरी निर्णय गर्न नहुने बताउनुभयो । गठबन्धनले राप्रपालाई प्रतिनिधिसभामा सात सिट दिने समझदारी गरेपछि पार्टीको झापा क्षेत्र नं ३ मा अत्याधिक सम्भावना देखिएकाले महामन्त्री लिङदेनलाई त्यहाँबाट उम्मेदवार बनाउने सहमति भएको पार्टीका प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो । राप्रपाले झापा क्षेत्र नं ३ अतिरिक्त मकवानपुर १, दैलेख १, पर्सा १, काठमाडौँ ७ मा उम्मेदवारको टुंगो लगाइसकेको छ । बाँके र धनुषा दुई स्थानमा समझदारी हुनका लागि छलफल भइरहेको थियो । राप्रपाले सोही विषयलाई लिएर थप निर्णय लिन आज ३ बजे केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लगायतका वाम गठबन्धन तथा चुनावपछिको एकता कायम गर्ने सहमति भएपछि निर्माण भएको लोकतान्त्रिक गठबन्धनमा समेत चुनावमा सिट संख्यामा बाँडफाँड भएको हो ।



काठमाडौँ, कात्तिक १२ गते । एएफसी १९ वर्षमुनि (यु–१९) च्याम्पियनसिप–२०१८ छनोटमा सहभागी हुन नेपाली युवा फुटबल टोली आज कीर्गिस्तान प्रस्थान गरेको छ ।

यही कात्तिक १४ गतेदेखि सञ्चालन हुने उक्त छनोट प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, अखिल नेपाल फुटबल संघका अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले सफलताको शुभकामना दिँदै आज बिदाइ गरिएको हो ।


छनोट खेलमा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा आयोजक कीर्गिस्तान, ओमान, संयुक्त अरब इमिरेट्स (युएइ) र बहराइन छन् । नेपालले मंगलबार कीर्गिस्तानको सामना गर्दै प्रतियोगिताको उदघाट्न गर्नेछ ।

त्यसैगरी, नेपालले आप्mनो दोस्रो खेल कात्तिक १६ गते बहराइनसँग, तेस्रो खेल कात्तिक १८ गते युएइसँग र चौथो तथा छनोट चरणको अन्तिम खेल कात्तिक २२ गते ओमानसँग खेल्नेछ ।

विभिन्न १० समूहमा विभाजन गरिएको छनोट खेलमा समूहको शीर्ष स्थानमा रहने टोली फाइनल चरणमा प्रवेश गर्नेछ । त्यस्तै दोस्रो स्थान हासिल गर्नेमध्ये उत्कृष्ट पाँच टोली र आयोजक फाइनल चरणका लागि छनोट हुनेछन् ।

फाइनल चरणमा छनोट हुने टोलीले सन् २०१८ मा हुने एएफसी यू–१९ च्याम्पियनसिपमा सहभागिता जनाउन पाउनेछ ।



रत्ननगर, चितवन, कात्तिक १२ गते । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन आज जिल्लामा सुझाव संकलन गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनको आयोजनामा आज जिल्लाका राजनीतिक दलहरुसँग सुझाव संकलन गरिएको हो । मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले भयरहित र सहज रुपमा निर्वाचन सफल पार्न सबैको सहयोगको खाँचो रहेको औँल्याउनुभयो ।

विगतमा स्थानीय तहको निर्वाचनको भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा देखिएको समस्यालाई मध्यनजर गर्दै आज दलसँग सुझाव लिइएको चितवन निर्वाचन क्षेत्र नं २ का सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले बताउनुभयो ।



सो क्रममा दलले भरतपुर महानगरमा मतपत्र च्यातिएको घटना स्मरण गराउँदै यसतर्फ गम्भीर हुन सुझाव दिएका छन् ।

यस्तै, उनीहरुले विगतमा सूचना प्रणाली व्यवस्थित नभएको, सूचनाबाहिर र भित्र फरकफरक आएको र सहकार्य नहुँदा धेरै कमीकमजोरी रहेको औँल्याएका थिए ।

नेपाली काँग्रेस चितवनका प्रतिनिधि भूपतिदास सापकोटाले सूचना प्रणालीलाई व्यवस्थित गर्न माग गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का चितवन इञ्चार्ज ईश्वरी भट्टराईले निर्वाचन आचारसंहितालाई कडाइका साथ लागू गर्न निर्वाचन कार्यालयले ध्यान दिनुपर्ने सुझाव दिनुभयो । सूचना प्रणालीलाई व्यवस्थित गरी पत्रकारलाई गुनासो नआउने गरी काम गर्नसमेत उहाँले आग्रह गर्नुभयो ।

सो क्रममा नेपाली काँग्रेसका सचिव राजीव न्यौपाने तथा भूपतिदास सापकोटा, नेकपा –एमा)लेका प्रतिनिधि जगन्नाथ भण्डारी, माओवादी केन्द्रका नेता नारायण दाहाल तथा जिल्ला इञ्चार्ज सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष बद्री तिमिल्सिनालगायत विभिन्न पार्टी प्रतिनिधिको सहभागिता रहेको थियो ।

चितवनका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले २०४३ सालदेखि नै निर्वाचन कार्यक्रममा आफू सरिक हुँदै आएको र २०५१ सालदेखि नै निर्वाचन अधिकृतको जिम्मेवारी जिएर काम गर्दै स्मरण गराउँदै निर्वाचनमा विवाद आउन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सो क्रममा यही कात्तिक १६ गते हुने मनोनयन दर्ताका विषयमा समेत छलफल भएको थियो । स्थान साँघुरो भएकाले व्यवस्थित रुपमा मनोनयन दर्ता गराउन सुरक्षा निकायसँग समेत समन्वय भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मंसिर २१ गते चितवनमा तीनवटा निर्वाचन क्षेत्रमा नौ जना प्रतिनिधिका लागि चुनाव हुँदैछ । जिल्लामा ४०८ मतदान केन्द्र तय गरिएको छ । जिल्लामा कूल तीन लाख ५४ हजार ३६ मतदाता छन् ।

उम्मेदवारको टुंगो नलाग्दा जिल्लामा अझै चुनावी कार्यक्रम तीव्र गतिमा हुन सकेको छैन ।



काठमाडौं, कात्तिक १२ गते । बैंक तथा वित्तीय संस्थाहरुमा आजको दिनमा कर्जा लगानी गर्न करिब ६० अर्ब रुपैयाँ रहेको छ ।  ‘आइतवारको पोजिशन भनेको लगभग ६० अर्ब रुपैयाँ लगानी योग्य पूँजी छ, सबै वाणिज्य बैंकको हिसाब गर्ने हो भने पनि एक महिनालाई प्रत्येक बैंकसँग लगभग २ अर्ब लगानी गर्न सक्ने पूँजी रहेको छ,’ सानिमा बैंकका प्रमूख कार्यकारी अधिकृत भुवन दाहालले भने ।

बैंकिङ प्रणालीमा पुन पूँजी अभाव सुरु हुन थालेको खबरहरु अएपनि बैंकरहरुले भने अवस्था सहज नै रहेको बताएका हुन् । राष्ट्र बैंकका अनुसार पनि बैंकमा तरलताको समस्या देखिएको छैन् ।


‘हाम्रो तथ्यांकले शुक्रवारसम्म बैंक तथा वित्तीय संस्थामा लगभग ४० अर्ब रुपैयाँ अधिक तरलता रहेको देखिएको छ, सबै बैंकहरुको पहिलो त्रैमासको तथ्यांक आउदै छ, त्यसपछि समस्या रहेन/रहेको हेर्न सकिने अवस्था छ,’ नेपाल राष्ट्र बैंकका प्रवत्ता नारायण पौडेलले भने ।

महिनामा ४४ अर्ब कर्जा लगानी वृद्धि

गत एक महिनाको तथ्यांक हेर्ने हो भने वाणिज्य बैंकहरुले लगभग ४४ अर्ब रुपैयाँ बढि कर्जा लगानी गरेका छन् । भदौ ३० गते १७ खर्ब ६३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले कात्तिक ६ गतेसम्म १८ खर्ब ७ करोड लगानी गरेका हुन् ।

भदौंमा २१ खर्ब २७ अर्ब लगानी गरेका बैंकहरुले एक अवधिमा २२ अर्ब रुपैयाँले बढि निक्षेप संकलन गरेका छन् । निक्षेपको तुलनामा कर्जा लगानी ८४ प्रतिशत बराबर रहेको छ । तर, प्राथमिक पूँजीको आधारमा हेर्ने हो भने बैंकहरुको यो अनुपात औसतमा ७८ प्रतिशत हाराहारी नै रहेको सानिमा बैंकका दाहालले स्पष्ट पारे ।

फागुनसम्म कर्जाको व्याजदर घट्न गाह्रो

गत बैशाख ताका कर्जामा १४ देखि १५ प्रतिशत व्याजदर लिइरहेका बैंकहरुले अहिले व्याजदर औसतमा १२/१३ प्रतिशतमा आएको छ । यद्यपी बैंकहरुको व्याजदर त्यसभन्दा धेरै नघट्ने देखिएको छ । कर्जा लगानीको क्रममा व्याजदर निर्धारणको लागि बैंकहरुले लिने आधार दर (बेस रेट) औसतमा १० प्रतिशत रहेको छ । कर्जाको व्याजदर तय गर्दा यो दरभन्दा अधिकत्तम २ प्रतिशत बढि लिन सकिने व्यवस्था छ ।

‘बैंकहरुले कम्तिमा एक वर्षको लागि उच्च व्याजदरमा मुद्दती निक्षेप लिएका छन्, त्यसको भार घट्ने भनेको फागुनसम्ममा हो, त्यसपछि मात्रै व्याजदर केही घट्न सक्छ,’ दाहालले बताए । बैंकहरुमा अधिक तरलता देखिएमा वा बचतको व्याजदर यसबीच घटेमा भने कर्जाको व्याजदर पनि ओरालो लाग्ने दाहाल बताउछन् ।

बैंकहरुले पहिले लिएको मुद्दतिमा १२ प्रतिशतसम्म र हाल बचतमा औसत ६ प्रतिशतसम्म व्याज दर दिइरहेका छन् । बैंकहरुले हाल जारी गरेको बुद्धती निक्षेपको व्याजदर भने घटाएका छन् । यो दर औसतमा ९ प्रतिशत हाराहारीमा छ । बैंकहरुमा यसअघि २ सय खर्बसम्म अधिक तरलता देखिएको भएपनि पछिल्लोसमय यो रकम घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।- अनलाइनखबर




फाइल तस्वीर



एसीसी यू-१९ एशिया कपका लागि दुई नयाँ अनुहार समेटेर नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ ।

युवा टोलीका प्रशिक्षक विनोद दास र अन्डर नाइन्टिन टिमका एसीसी सल्लाहकार राजु बैंकटपतिले छनोट गरेको १८ सदस्यीय नेपाली टोलीमा जितेन्ऽ सिंह र रासिद खानले पहिलो पटक स्थान बनाएका छन् ।


एसीसी एशिया कप छनोट खेलेको नेपाली टिमबाट तीन खेलाडी परिवर्तन भएका छन् । यसअघि टिममा परेका सन्दिप जोरा र बिक्रम भुसाल बैकल्पिकमा परेका छन् । स्वास्थ्यका कारण नन्दन यादवले नाम फिर्ता लिए भने सुमित महर्जन यसपटक टिममा स्थान बनाउन असफल रहे ।

नेपाली टोलीको कप्तानीमा दिपेन्ऽसिंह ऐरीलाई निरन्तरता दिइएको छ । साथै रोहितकुमार पौडेल, सन्दिप लामिछाने, सन्दिप सुनार, प्रनित थापामगर, अनिलकुमार शा, पवन सर्राफ, आशिफ शेख, किशोर महतो, साहव आलम, प्रकाश केसी, कमलसिंह ऐरी, भिम सार्की टिममा छन् ।

नेपाली युवा टिम भोलि बंगलादेश प्रस्थान गर्नेछ । नेपालले आगामी बिहीबार, आइतबार र सोमबार बंगलादेशको अन्डर नाइन्टिन टिमसँग तीनवटा अभ्यास खेल खेल्नेछ ।-अनलाइनखबर




विराटनगर, कात्तिक १२ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका नेता महन्थ ठाकुरलाई २ नं प्रदेशको मुख्यमन्त्रीमा प्रस्ताव नगरिएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रदेश नं २ मा को मुख्यमन्त्री हुने हो भन्नेबारे प्रदेशको निर्वाचनपछि निर्णय हुने स्पष्ट पार्नुभयो । अध्यक्ष यादवले नेपाली कांग्रेससँग नीति, विचार र विषय नमिल्नाका कारण नै संयुक्त मोर्चा गठन नभएको बताउँदै निर्वाचनका लागि काँग्रेस लचिलो भएमा तालमेल हुन सक्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले प्रदेश नं २ मा राजपालाई संघीय सदस्यमा १५ र प्रदेशमा ३१ स्थान छाड्नेसहमति पार्टीमा भएको जानकारी दिँदै नेपाली काँग्रेससँग पनि चुनावी सहकार्य भएमा स्थान घटबढ हुने बताउनुभयो । एक प्रसङ्गमा अध्यक्ष यादवले भन्नुभयो,“नेकपा(एमाले) र नेकपा (माओवादीकेन्द्र)को गठबन्धन राष्ट्रविरोधी होइन तर यसले लोकतन्त्रलाई संस्थागत गरी समाजमा रहेको विभेदलाई अन्त्य गरी सामाजिक न्याय कायम गरेमा मात्र गठबन्धन सफल हुनेछ ।”

एक प्रश्नको जवाफमा अध्यक्ष यादवले अहिलेसम्म आफूले मोरङ, सुनसरी र सप्तरी कुन क्षेत्रबाट संघीय संसद्मा उम्मेदवारी दिने सम्बन्धमा निश्चित नभएको जानकारी दिनुभयो । नेता यादवले संविधानको पुनःलेखन र संविधान संशोधनको माग पार्टीले नछाडेको बताउँर्दै आगामी निर्वाचनवाट नै यसको छिनोफानो हुने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “तोकिएको समयमै संघीय संसद् र प्रदेशको निर्वाचन हुनुपर्छ भन्ने अडान लिँदै मतमतको कारण देखाई निर्वाचन सारिएमा मुलुक धरापमा पर्छ । ” अध्यक्ष यादवले निर्वाचन आयोगले आफू स्वतन्त्र छु भन्ने विश्वास जनतामा दिलाउन तोकिएको समयमै स्वतन्त्र, सुरक्षित र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनुपर्ने दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । (रासस)




बनियानी, झापा, कात्तिक १२ गते । झापा अर्जुनधारा– ११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणबारे गृह मन्त्रालयको उच्चस्तरीय छानबिन टोलीले अनुसन्धान शुरु गरेको छ ।

शनिबार आएको मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार यादव संयोजकत्वको चार सदस्यीय छानबिन समितिले आजदेखि अनसुन्धान शुरु गरेको हो । जिल्ला प्रशासन कार्यालयमा बिहान आयोजित सुरक्षा समितिको बैठकमा बालक मृत्यु प्रकरण र बिर्तामोड घटनाका बारेमा बुझेको र आजैदेखि अनुसन्धान शुरु गरिसकेको झापाका प्रहरी उपरीक्षक विष्णुकुमार केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “घटनाको सत्यतथ्य बुझ्न उहाँहरु बिर्तामोड गइसक्नुभएको छ ।”

समितिमा नेपाल प्रहरीका रमेशकुमार भट्टराई, सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक चिरञ्जीवी अधिकारी र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हरिहर पौडेल रहनुभएको छ । समितिले बिर्तामोड घटनाका बारेमा अनुसन्धान गरी सात दिनभित्र रायसुझावसहितको प्रतिवेदन मन्त्रालयमा बुझाउने बताइएको छ ।  (रासस)




चितवन, कात्तिक १२ गते । यात्रुवाहक बस र टिप्पर आज बिहान ९ः१५ बजे ठोकिँदा २६ जना घाइते भएका छन् ।

नारायणगढबाट गोरखा जाँदै गरेको ना ५ ख ८६९४ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ३ ख ९०१२ नंको टिप्पर भरतपुर महानगरपालिका–१ रामनगर जंगलमा ठोकिएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार घाइतेको चितवन मेडिकल कलेज, भरतपुर अस्पताल र कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये सात जना गम्भीर घाइते छन् । घाइतेमा बसका चालक र यात्रु छन् । टिप्पर चालक फरार रहेको र उनको खोजी भइरहेको शर्माले बताउनुभयो । (रासस)



बर्दिवास, कात्तिक १२ गते । महोत्तरी जिल्लाको बर्दिवास क्षेत्रमा डेंगुको त्रास फैलिएकोे छ ।

गत असोजको तेस्रो सातामा पाँच जनामा डेंगु देखिएयता दिनहुँ डेंगुका रोगी बढ्दै गएका छन् । बर्दिबासका शुभ स्वस्तिक हस्पिटल, जनसेवा हस्पिटल र बर्दिवास अस्पतालमा अहिले डेंगु संक्रमित उपचार लिन र डेंगुको शंका भएकाहरु रगत जाँच गराउन आएका छन् । अहिलेसम्म बर्दिबास क्षेत्रका ३८०, महोत्तरीकै गौशाला नगर क्षेत्रका दुई र बर्दिबासमा विभिन्न काम प्रयोजनले आएका धनुषा र सर्लाहीका १८ जनासहित ४०० जना डेंगु प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले पुष्टि गरेको छ ।

दिनहुँ डेंगु रोगी बढ्दै गए पनि विषादि छरेर प्रकोप फैलाउने लामखुट्टे नियन्त्रणमा स्वास्थ्य संस्था र बर्दिवास नगरपालिकाले ध्यान नदिएको सर्वसाधारणको गुनासो छ । चिकित्सक र स्वास्थ्यकर्मीले भने डेंगु फैलाउने एडिस जातको लामखुट्टे विषादि छरेरभन्दा यसले फुल पार्ने ठाउँको खोजी गरी नष्ट गर्ने अभियान नै प्रभावकारी हुने बताउँदै आएका छन् ।
घर वरपर सरसफाइ र पानी जम्न नदिएमा लामखुट्टेले फुल पार्ने ठाउँ नपाएपछि डेंगु नियन्त्रण हुने बर्दिवास अस्पतालका मेडिकल अधिकृत डा किशोर अधिकारीको भनाइ छ । विषादिले वयष्क लामखुट्टे मरे पनि उसका फुल, लार्भा र पिपा नियन्त्रण गर्न ‘सर्च एण्ड डिष्ट्रोय’ (खोजी र नष्ट) अभियानलाई निरन्तरता दिनुपर्ने डा अधिकारीले बताउनुभयो ।

पछिल्ला तीन दिनयता बर्दिवास अस्पताल, बर्दिवास नगरपालिका, इलाका प्रहरी कार्यालय बर्दिबास र सामाजिक संघसंस्थाले संयुक्त रुपमा ‘सर्च एण्ड डिष्ट्रोय’ अभियान सञ्चालन गरेका छन् । अभियानमा सडक पेटीमा थुपारेर राखिएका टायरमा लामखुट्टेका असंख्य लार्भा फेला परेको डा अधिकारीले जानकारी दिनुभयो ।

लार्भा नष्ट गरिएपछि वयष्क लामखुट्टेको आयु एक महिनाभन्दा बढी नहुने भएकाले डेंगु नियन्त्रण हुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । (रासस)

 निर्णय ढिलाइले औषधि अभाव


स्थानीय तहले समयमै निर्णय गर्न नसक्दा मुलुकभरका सरकारी स्वास्थ्य संस्थामा औषधि अभाव हुन थालेको छ। साउनमा केन्द्रबाट औषधि खरिदका लागि अख्तियारी र बजेट पाए पनि नवगठित स्थानीय तहले प्रक्रिया अघि बढाउन नसक्दा औषधि अभाव हुन लागेको हो।गत वर्ष खरिद गरिएको स्टक सकिनु तर नयाँ खरिद नगरिँदा दाङ, अर्घाखाँची, रसुवालगायत जिल्लामा औषधि संकट देखिएको छ।
 पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका प्रमुख डा.विष्णुबहादुर बस्नेत केन्द्रदेखि स्थानीय तहसम्म औषधि खरिद र वितरणप्रणाली स्पष्ट नहुँदा ठाउँ ठाउँमा औषधि अभाव हुन थालेको स्विकार्छन्। ‘स्थानीय तहले स्वास्थ्यको संवेदनशीलता बुझ्न सकेनन्, उनीहरूलाई समयमै स्वास्थ्यका कर्मचारीले बुझाउन खोजेनन् र नियमनकारी निकायले त्यसमा चासो पनि दिएनन्', उनी भन्छन्।
मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौंडाका प्रमुख डा.वासुदेव पाण्डेले यो बेला औषधि अभाव चर्किए झन् ठूलो समस्या पर्ने बताए। ‘मौसम परिवर्तनसँगै रुघाखोकीका बिरामी बढेका छन्, ग्रामीण क्षेत्रका अधिकांश मानिस सरकारी स्वास्थ्य संस्थामै उपचार गराउन भीड लाग्छन्। त्यो बेला उनीहरूलाई औषधि दिन सकिएन भने समस्या विकराल हुन्छ', उनी भन्छन्।
औषधि खरिदबारे स्वास्थ्य मन्त्रालयले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसँग समन्वय नगर्दा अभाव सुरु भएको हो। औषधि खरिद र व्यवस्थापन गर्दै आएको स्वास्थ्य मन्त्रालयअन्तर्गतको आपूर्ति व्यवस्था महाशाखाले आगामी आर्थिक वर्षका लागि आवश्यक औषधिको खरिद प्रक्रिया अघि बढाएको छ। ती औषधि पनि तोकिएको समयभित्र आउने सम्भावना न्यून छ।
महाशाखाका निर्देशक डा.रमेश खरेल औषधि ढुवानीमा समस्या देखिएका कारण कतिपय ठाउँमा औषधि अभाव हुन सक्ने बताउँछन्। स्वास्थ्य मन्त्रालयले औषधि अभाव हुन नदिन सबै उपाय अपनाएको उनले बताए।
‘स्थानीय तह र स्वास्थ्य मन्त्रालयबीच समन्वय हुन नसक्दा समस्या देखिएको हो। नयाँ प्रक्रियामा गएको मुलुकमा त्यस्ता अन्योल देखिन्छन्', डा.खरेल भन्छन्, ‘हामीले नियमित काम गरिरहेका छौं। औषधि खरिद प्रक्रिया अघि बढाउन नसकेका स्थानीय निकायलाई स्थानीय विकास मन्त्रालयसँग समन्वय गरी छिट्टै निर्देशन दिने तयारीमा छौं।'
स्थानीय तहले ४० प्रतिशत औषधि खरिदको अख्तियारी पाएका छन्। क्षेत्र र केन्द्रले ४०/४० प्रतिशत औषधि खरिदको जिम्मा पाएका छन्। आपूर्ति महाशाखासँग औषधि खरिद प्रक्रियाको समन्वय प्राथमिक स्वास्थ्य सेवा, पुनर्जागरण महाशाखाले गर्दै आएको छ।
खरिद गर्नुपर्ने अत्यावश्यक औषधि विवरण र बजेटसम्बन्धी स्थानीय तहलाई पठाइसकेको महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेल बताउँछन्। तर, स्थानीय तहमा कार्यक्रम सञ्चालनका लागि खटिएका कर्मचारीबीच तालमेल नमिल्दा औषधि खरिद हुन नसकेको उनको भनाइ छ।
सरकारले चालु आर्थिक वर्षमा औषधि खरिदका लागि क्षेत्र र जिल्लालाई गरी ४५ करोड प्रदान गरेको छ। जनसंख्याका आधारमा एक लाखदेखि ३९ लाख रुपैयाँसम्म बजेट पालिकामा पठाइएको छ। स्थानीय तहलाई आवश्यक पर्दा बोलपत्र नगरी पाँच लाख रुपैयाँसम्मको औषधि खरिद गर्ने अधिकारसमेत छ।- अन्नपूर्ण बाट 


त्रिशुली बस दुर्घटना: सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका शोकमा
राजविराज, कात्तिक ११ गते ।  राजविराजका यात्रु बोकेर काठमाडौं जादैँ गरेको बस दुर्घटनामा परेर एकै गाउँका तीन जनाको मृत्यु र अन्य चार जना बेपत्ता रहेको खबरले सिंगो गाउँ शोकमग्न भएको छ। तिलाठी कोइलाडी गाउँपालिकाका सिमीकुमारी झा, मंजितकुमार झा र संजितकुमार झाको शवको सनाखत भएको गजुरी प्रहरीले जनाएको खबरसँगै तिलाठीबाट गाउँलेहरुको एक टोली घटनास्थल गजुरीतर्फ प्रस्थान गरेको छ। सोही गाउँका अन्य चार जना फेला परेका छैनन्।

धादिङ गजुरि गाउँपालिका ५ पोखरेखोला बाड्गेमोडस्थित पृथ्वी लोकमार्गबाट अन्दाजी ३५ मीटर तल त्रिशुली नदीमा खसी बस दुर्घटना भएको हो। छठ पर्व मनाएर घरबाट काठमाडौं फर्किरहेका सप्तरीको विभिन्न गाउँमा अहिले रुवावासी चलको छ।
सप्तरीको बोदे बर्साइन-१ का चन्द्ररे्खा प्रमाणी, वडा नम्बर २ का आदित्य यादव, राजविराज १५ का नरेश मुखिया, राजविराज १६ का चन्द्रवती झा, नेंगडाका पार्वती चौधरी, सुशन चौधरी, नर्घो ३ का रमानन्द यादव, गोलबजार ८ का राजकपुर यादव र भारत बिहारको मधुबनीका ममतादेवी ठाकुरको शव सनाखत भएको प्रहरीले जनाएको छ। 

राजविराजबाट गएको ना.६ ख १४६६ नम्बरको बसका यात्रीहरुलाई काठमाडौंबाट फर्किरहेको सोही कम्पनीको ना.६ख १४६७ नम्बरको सन्देश ट्राभल्समा राखेर काठमाडौं पठाइएको थियो। राजविराजबाट गएको बसले भने काठमाडौंबाट राजविराज फर्किरहेका चारजना यात्री लिई हेटौडाबाट सकुशल फर्केको छ।
संयुक्त रात्री बस बुकिङ्ग काउण्टर राजविराजका अनुसार राजविराजबाट १५ जना, बिसनपुरबाट १० जना र लहानबाट सात जना यात्री बसमा सवार थिए।छठ पर्व सम्पन्‍न भएलगत्तै राजधानी फर्कनेहरुको चाप धेरै भएकाले ३१ सिटको क्षमता भएको सो बसमा ५० जनाभन्दा बढी यात्रीहरु रहेको घाइतेहरुले बताएका छन्।
बुकिङ्ग काउण्टरबाट ३२ जनाको सिट काटिए पनि बीच बाटोबाट एक दर्जनभन्दा बढी यात्रीलाई बसमा चढाएको घाइते अभिषेक चौधरीले बताए।बसमा राजविराजबाट तिलाठीका अंकित झासहित छ जना, राजविराजका सुशिल यादव, रमानन्द यादव, दुर्गानन्द चौधरी, उनकै छोरा अभिषेक चौधरी, महदेवाका रिषीआनन्द देव, राजविराज ३ का विन्देश्वर ठाकुर, राजविराज-४ का अमन ठाकुर, श्रवण ठाकुर, उद्धब ठाकुर चढेको बस काउण्टरका दिनेश गुप्ताले बताए।
यसैगरी सप्तरीकै विसनपुरबाट नेंगडा ७ का दुर्गानन्द यादव, सुरेन्द्र चौधरी, अभिनन्दन चौधरी, चन्द्ररेखा प्रमाणीसहित १० जना चढेको विसनपुर बस काउण्टरका भगवती प्रसाद चौधरीले बताए।
लहानबाट सिरहा भगवानपुर-१ का जिवछकान्त पण्डित, लहान १ की प्रभा चौधरी, भारत विहार बाहुबडीका मनोज शर्मासहित तीन जना चढेको बस काउण्टर लहानका चन्द्र महतोले बताए।- अन्नपूर्ण बाट 

बिर्तामोडमा आए नयाँ डीएसपी : मृतकका परिवारलाई १० लाख दिने सहमति

बिर्तामोड,कात्तिक ११ गते ।   प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डीएसपी राजकुमार सिलवाललाई जिल्ला तानेपछि उनको स्थानमा जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी जितेन्द्र बस्नेतलाई विर्तामोडमा खटाइएको छ।झापाको बिर्तामोडमा भएको गोलीकाण्डमा मृत्यु भएका प्रदर्शनकारी पक्षका अर्जुनधारा–११ का नरेश थापाको परिवारलाई सरकारले राहत स्वरुप १० लाख रुपैयाँ दिने निर्णय गरेको छ।

शनिबार इलाका प्रहरी कार्यालय अनारमनीमा बसेको राजनीतिक दल, स्थानीय प्रशासन र पीडित परिवारबीचको बैठकले यस्तो निर्णय गरेको हो। यस्तै किरिया खर्च स्वरुप नगरपालिका र जिल्ला समन्वय समितिले २५-२५ हजार रुपैयाँ दिने समेत निर्णय भएको बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतरा प्रसाईंले बताइन्।


मृतक परिवारको सन्तानलाई अध्ययनका लागि नगरपालिकाले खर्च व्यहोर्ने समेत सहमति भएको छ। बैठकले अर्जुनधाराका ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्याको विषयमा पीडित परिवारको माग अनुसार पुनः दुई दिन थप अनुसन्धान गर्ने निर्णय पनि गरेको छ। दसैंको टीकाको दिन बेपत्ता भएका अर्जुनधारा- ११ का शिवाकोटीको शव त्यसको भोलिपल्ट विर्तामोड- १ वैंसावाडी स्थित झाडीमा फेला परेको थियो।

शुक्रबार भएको घट्नापछि बिर्तामोडमा लगाइएको कर्फ्युलाई भने स्थानीय प्रशासनले खुकुलो बनाउँदै लगेको छ। हिजो दिउँसो साढे १ बजेबाट स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु लगाए पनि शनिबार बिहानबाट केही खुकुलो बनाएको हो। तर, कर्फ्यु भने खुलाउने बारे केही सहमति भएको छैन।
मुक्तिचोकको दुई सय मिटर क्षेत्रमा प्रवेश निषेध गरिएको छ भने अन्यत्रको अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ। मानिसलाई बाहिर हिँडडुल गर्न तथा यातायात सञ्चालनमा रोक नलगाइएको भए पनि बिर्तामोड क्षेत्रका बजार तथा पसल भने अझै खुलेका छैनन्।


Prachanda

पोखरा, कात्तिक १० गते ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालमा राजनीतिक स्थिरता र समृद्धिका लागि वाम एकता गरिएको बताउनुभएको छ ।

लेखनाथ साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १३ औँ वार्षिक साधारणसभा एवं चौथो अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले राजनीतिक अस्थिरताले देशले विकासको गति लिन नसकेकाले राजनीतिक स्थिरता र लोकतन्त्रलाई मजबूत बनाउनु आवश्यक भएकामा जोड दिनुभयो ।

उहाँले दलहरू एकापसमा शत्रुता र निषेधात्मक नबनी विकास र समृद्धिका लागि सबै एक जुट बन्नुपर्ने बताउनुभयो । अध्यक्ष दाहालले समृद्धिका लागि सात वटै प्रदेशमा विकासका भिन्न भिन्न नमूनासहित अघि बढ्न सकिने बताउनुभयो ।


सो अवसरमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले कुनै पनि हालतमा प्रदेश र संघको निर्वाचन नरोकिने बताउँदै देशले संघीय लोकतान्त्रिक गणतन्त्रको भावनानुसारको ‘नयाँ मुलुकी ऐन’ पाएको जानकारी दिनुभयो ।

नेकपा(एमाले)का नेता खगराज अधिकारीले उपभोक्ता संस्थाले आफूलाई नमुना संस्थाका रुपमा स्थापित गरेको बताउनुभयो । संस्थाका अध्यक्ष बोधराज लामिछानेले लेखनाथ क्षेत्रमा १० हजारभन्दा बढी खानेपानीका धारा वितरण गरिएको र आगामी दिनमा अझै यसलाई व्यवस्थित गर्दै लाने सोच राखिएको बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, एमालेका जिल्ला अध्यक्ष कृष्ण थापा, माओवादी केन्द्रका जिल्ला इन्चार्ज राजकाजी गुरुङ, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीलगायतले खानेपानी योजनाको दीर्घकालीन विकास हुनुपर्नेमा जोड दिनुभयो ।


hj

काठमाडौँ, कात्तिक १० गते । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीको गठबन्धन लोकतन्त्र र काँग्रेसका विरुद्ध भएको बताउनुभएको छ । नेपाल तरुण दलको ६४ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रमाथि आइपरेको चुनौतीको सामना गर्न सम्पूर्ण तरुण एकताबद्ध भई काँग्रेसलाई विजयी गराउन लाग्नुपर्नेमा जोड दिनुभयो । लोकतन्त्रमा विश्वास गर्ने एक मात्र पार्टी काँग्रेस भएको बताउँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, “लोकतन्त्रको संस्थागत विकासका लागि काँग्रेस बलियो हुनैपर्छ ।” उहाँले पार्टीलाई विजयी गराउन आजैदेखि वडास्तर पुगेर काम गर्न तरुण युवालाई निर्देशन दिनुभयो । कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका पक्षमा निर्वाचन परिणाम ल्याउनका लागि युवालाई खट्न निर्देशन दिनुभयो । कम्युनिष्ट पार्टीको गठबन्धनले लोकतन्त्रमाथि चुनौती थपिएको छ भन्दै नेता पौडेलले अधिनायकवादी शासन स्थापना गर्नेविरुद्ध सम्पूर्ण तरुण एक भएर सामना गर्नुपर्नेमा जोड दिनुभयो । पार्टीका महामन्त्री डा शशांक कोइरालाले काँग्रेसविरुद्धको गठबन्धनबाट झस्किनुपर्ने आवश्यकता नभएको बताउनुभयो । कार्यक्रममा काँग्रेस नेता एवं तरुण दलका पूर्वअध्यक्ष बालकृष्ण खाँड, तरुण दलका अध्यक्ष जीतजंग बस्नेत र कोषाध्यक्ष विद्वान् गुरुङले काँग्रेसविरुद्ध देखिएको चुनौतीलाई अवसरका रुपमा लिई निर्वाचनमा पार्टीलाई बहुमतले विजयी गराउन सबै एकजुट भएर लाग्नुपर्ने जोड दिनुभयो । विसं २०१० कात्तिक १० गते काँग्रेसका तत्कालीन सभापति बिपी कोइरालाको समन्वय र निर्देशनमा स्थापित तरुण दलका संस्थापक अध्यक्षमा सिंहध्वज खड्का हुनुहुन्थ्यो । त्यसपछि २०१७ साल पुस १ गते तत्कालीन प्रधानमन्त्री बिपीले तरुण दलको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गरिरहेका बेला तत्कालीन राजा महेन्द्रले सेनाको बलमा सबैलाई थुनेर ‘कु’ गरेका थिए । राजाले दलमाथि प्रतिबन्ध लगाएका अवस्थामा तरुण दल पनि विघटन हुन पुगेको थियो । विसं २०५४ मा नेपालगञ्जमा भएको काँग्रेसको महासमिति भेलामा काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले खाँडको नेतृत्वमा तरुण दल पुनःस्थापनाको घोषणा गर्नुभएको थियो । त्यसयता तरुण दलमा महादेव गुरुङ, विनोद कायस्थ, महेन्द्र यादव र उदयशम्शेर राणा अध्यक्ष भइसक्नुभएको छ ।



शरीरमा रातो कोशिका अर्थात हेमोग्लोविनको कमीलाई रगतको कमी अर्थात एनिमिया भन्ने गरिन्छ । शरीरका प्रत्येक कोषिकालाई अक्सिजनको कमी हुन्छ र त्यसको पूर्ति गर्ने काम हेमोग्लोविनले गर्छ ।


शरीरमा रगतको कमी विभिन्न कारणले हुने गर्दछ ।

शरीरमा रगतको कमी (एनिमिया) हुनुको कारण ?

विभिन्न कारणले गर्दा शरीरमा रगतको कमी हुने गर्दछ । त्यसमध्ये एनिमिया हुनुको विभिन्न कारण हुने गर्दछ ।

शरीरमा भिटामिन बी १२, फोलिक एसिड तथा आइरनले रगतको निर्माण गर्दछ । यी तत्व खानाबाट पाइन्छ । खानपान सही नहुदाँ रगत कम हने गर्छ । नेपालमा जनसंख्यामा रक्तअल्पताको समस्या देखिनु भनेको खानपान सही नहुनु हो ।

खानपानको कमीकै कारण न्युटि्रसनल एनिमिया हुने गर्छ ।

न्युटि्रसनल एनिमिया सबैभन्दा धेरै पाँच वर्ष मुनीका बालबालिकामा देखिने गर्छ । त्यस्तै, नौ वर्षदेखि पन्ध्र वर्ष उमेर समूहका किशोरकिशोरी तथा गर्भवतीमा देखिने गर्छ ।

न्युट्रिसनल एनिमियाको लक्षण

न्युट्रिसनल एनिमियाको विभिन्न लक्षण हुने गर्छ । चक्कर लाग्ने, थकान महसुस हुने, सास फुल्ने, एकाग्रतामा समस्या, अनुहार सेतो देखिने, बच्चाको व्यक्तित्व विकासमा समस्या , तौल तथा उचाई कम हुने , हालखुट्टा झमझमाउने लगायतका समस्या हुने गर्छ ।

त्यस्तै, गर्भवती महिलाबाट जन्मने शिशु कम तौलको बच्चा जन्मने समस्या हुन्छ ।

शरीरमा रगतको कमी (रक्तअल्पत्रा) भएमा ?

शरीरमा रगतको कमी भएमा हातखुट्टा झमझमाउने, चक्कर लाग्ने, थकान महसुस हुने, एकाग्रता नहुने, अनुहार सेतो हुने, तौल अनुसारको बच्चाको व्यक्तित्व विकास नहुने गर्दछ । नेपालमा कुल जनसंख्याको करिब ६० प्रतिशत मानिस रक्तअल्पत्राबाट ग्रसित छ ।

रक्तअल्पत्रा भएको कसरी थाहा पाउने ?

मानिसलाई रक्तअल्पत्रा भए, नभएको विभिन्न तरीकाबाट थाहा पाउन सकिन्छ । यदी कसैलाई माथि उल्लेखित लक्षण देखिएमा

१. कम्पिलिट व्लड काउन्ट तथा पिसिभी जाँच गर्दा हेमोग्लोविनको मात्रा कम भएमा

२. हेमोग्लोविन कम भएमा

३. मायक्रोस्कोपिक जाँचद्धारा पनि हेमोग्लोविन कम भएको थाहा पाउन सकिन्छ ।

के छ उपचार विधी

यदी कसैलाई रक्तअल्पत्रा भएमा आइरन, फोलिक एसिड तथा भिटामिन बी १२ दिइने गरिन्छ । त्यस्तै, हरियो सागसब्जी, लौका, घिरौला, रातो मासु लगायतका आइरनयुक्त खानेकुरा खाने सल्लाह दिइन्छ । त्यस्तै, फलफूल पनि आइरनको मुख्य स्रोत भएका कारण अत्याधिक मात्रामा फलफूल खाने सल्लाह दिइन्छ ।

त्यसबाहेक, अत्याधिक मात्रामा चियाको सेवनले पनि रगतमा आइरनको कमी गर्ने हुँदाँ चिकित्सकहरु सकेसम्म चियाको सेवन नगर्न अनुरोध गरिन्छ ।

त्यस्तै, रक्तअल्पत्रा भएमा जुकाको संक्रमण हुनसक्छ । जुकाले रगत खाने हुदाँ रक्तअल्पत्रा भएका मानिसलाई सबैभन्दा पहिले जुकाको औषधी दिइने गरिन्छ , जुन तीन महिनासम्म खानुपर्छ । यसले शरीरमा रगतलाई पुनः सुचारु गराउँछ । साथै फोलिक एसिड , आइरसन तथा भिटामिन बी १द्द दिने गरिन्छ ।

सरकारी नीति

रक्तअल्पता भएका गर्भवती महिलाहरुलाई सरकारद्धारा आइरन चक्की तथा फोलिक एसिड उपलब्ध गराउने गरिन्छ । जबकी किशोरकिशोरी तथा पाच वर्ष मुनी बालबालिकाहरुको लागि भने सरकारको कुनै निति छैन । त्यसको लागि सरकारले कुनै सप्लिमेन्टको व्यवस्था गरेको छैन ।

जबकी दक्षिण पूर्वी एसिण (साउथ इष्ट एसिया) मा भने यो राष्ट्रिय कार्यक्रम अन्तर्गत पर्दछ । विदेशमा भने उत्पादनको समयमै खाद्यान्नहरुमा आइरनको मात्रा बढाइने गरिन्छ । फुड फोर्टीफिकेशन गरिन्छ । जसका कारण ती मुलुकका जनताहरुले भरपूर मात्रामा आइरन पाउने गर्छन् ।

तर नेपालमा गर्भवती महिलालाई बाहेक अन्य वर्गका मानिसहरुको लागि यस्ता कार्यक्रम नहुदाँ नेपालमा हरेक सय जनामध्य ६० जनालाई रक्त अल्पत्रा हुने गर्छ ।

त्यसो त आइरन बाहकेे फोलिक एसिड तथा भिटामिन बी १२ को कमीले पनि शरीरमा रक्तअल्पत्रा गराउँछ ।

(भक्तपुरस्थित क्यान्सर अस्पतालमा कल्सल्टेनट हेमाटोलोजिस्ट तथा बोनम्यारो ट्रान्सप्लान्टका रुपमा कार्यरत डा. अजय झासित गरिएको कुराकानीमा आधारित )


फाइल तस्वीर


आइसीसी ट्वान्टी ट्वान्टी महिला विश्वकप क्रिकेट अन्तर्गत एशियाली क्षेत्रको छनोटका लागि रुविना क्षेत्रीको कप्तानीमा २२ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ ।

वर्षभर भएका प्रतियोगितामा प्रदर्शनका आधारमा छनोट गरिएका ४४ जना खेलाडी मध्येबाट २२ खेलाडी छनोट गरिएको हो । गत मंगलबारदेखि ३ दिनसम्म टियू मैदानमा छनोट प्रतियोगिता भएको थियो ।


आइसीसी प्रतिनिधि अमिनुल इस्लाम, नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, महिला टोलीका प्रशिक्षक सामसन थापा र कप्तान रुविना क्षेत्री सम्मिलित टोलीले टिम छनोट गरेको हो ।

नेपाली टोलीका सदस्यहरुमा कप्तान रुविना क्षेत्री, उपकप्तान सीता रानामगर, ज्योति पाण्डे, सरिता मगर, नेरी थापा, रोमा थापा, इन्दु बर्मा, करुणा भण्डारी, सोनु खड्का, शोभा आले, नितू भण्डारी, एलिश क्षेत्री, कविता कुँवर, बिजु बुढामगर, सरस्वती चौधरी, लक्ष्मी चौधरी, रितु कनोजिया, संगीता राई, अञ्जली चन्द, काजोल श्रेष्ठ, रेखा रावल र सवनम राई छन् ।

आइसीसी महिला टी-ट्वान्टी विश्वकप छनोट थाइल्याण्डमा हुनेछ ।



झापा, कात्तिक १० गते  । कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनकारी आगजनी र तोडफोडमा उत्रिएपछि प्रहरीले चलाएको गोली लागेर बिर्तामोडमा एक जनाको मृत्यु भएको छ ।


लक्ष्मण शिवाकोटीको मृत्युबारे छानविनको माग गर्दै शुक्रबार बिर्तामोडमा विहानैबाट प्रदर्शन सुरु भएको थियो । स्थानीय नियन्त्रण बाहिर जान लागेको भन्दै स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु लगायो ।

तर, कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएकाहरुले प्रहरी चौकीमा तोडफोड तथा अगजनी गरेको प्रहरीले बताएको छ ।
स्थानीय अनियन्त्रित भएपछि बाध्य भएर गोली चलाउनु परेको विर्तामोडका डीएसपीले बताए । प्रहरीले चलाएको गोली लागेर अर्जुनधारा नगरपालिका ११ का नरेश थापाको मृत्यु भएको छ । केही घाइते भएका छन् ।

प्रदर्शनकारीले आक्रमणबाट सशस्त्र प्रहरीका एसपी समेत घाइते भएका छन् । ‘प्रहरी चौकीमा आगो लागेको छ । केही सवारी साधन पनि जलाएका छन् । कर्फ्यु लगाउँदा पनि स्थिति नियन्त्रण बाहिर गएपछि बाध्य भएर गोली चलाइएको हो’ विर्तामोडका डीएसपी राजकुमार सिलवालले अनलाइनखबरसँग भने ।-अनलाइनखबर



झापा, कात्तिक १० गते । झापाको बिर्तामोडमा प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । शुक्रबार अर्जुनधाराका लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणबारे छानबिन गर्न माग गर्दै निकालिएको बिरोध र्‍यालीले हिंसात्मक रुप लिएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।



बिर्तामोडको मुक्तिचोकलाई केन्द्र मान्दै पूर्वमा बसपार्क छिर्ने बाटो, पश्चिममा चारपाने चोक, दक्षिणमा बिर्ताबजार र उत्तरमा महानन्दचोकसम्म अनिश्चितकालीन कर्फ्यू लगाइएको छ ।

आन्दोलनमा प्रहरी र आन्दोलनकारी दुवैतर्फका मानिसहरु घाइते भएका छन् ।

मेयरको गाडी तोडफोड, पूर्वसांसदको मोटरसाइकल जलाइयो

अर्जुनधाराका ११ वर्षीय लक्ष्मण शिवाकोटीको मृत्युको सत्यतथ्य छानविन मागसहित सुरु भएको आन्दोलनले उग्र रुप लिएको छ ।

आन्दोलनकारीको समूहले बिर्तामोड नगरपालिका मेयर ध्रुव शिवाकोटीको बा.१० च ३०६१ नम्बरको निजी गाडी तोडफोड गरेका छन् । उनको घरमा समेत ढुंगामुढा प्रहार भएको छ ।

बिर्तामोड नगरपालिकाको मे १ झ. १२१ नम्बरको गाडी पनि तोडफोड भएको छ । मेयरका छोराको मे ७ प ३००० नम्बरको बुलेट बाइक समेत अान्दोलनकारीले जलाइदिएका छन् ।


अान्दोलनका क्रममा घाइते भएका युवा ।



यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालयमा पनि तोडफोड भएको छ । कार्यालय परिसरमा राखिएको पूर्वसांसद् प्रेम गिरीको मोटरसाइकल अान्दोलनकारीले जलाएका छन् । उनीहरूले मुक्तिचोक आसपास जडान गरिएका सीसी क्यामेरा फुटाएका छन् ।

घटनाको समाचार संकलनका लागि गएका सञ्चारकर्मीहरुलाई पनि दुर्व्यवहार गरिएको पत्रकार प्रदीप परियारले बताए । आन्दोलन नेतृत्वविहीन भएकाले उग्र रुप लिन पुगेको स्थानीय बासिन्दाको भनाइ छ ।



वासिङटन, कात्तिक १० गते । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जनस्वास्थ्यमा गम्भीर समस्या देखिएको बताउदै जनस्वास्थ्य संकटकाल घोषणा गर्नुभएको छ ।

बिहीबार गरिएको यो घोषणासँगै जनस्वास्थ्यको समस्या अब बढ्न रोकिने उहाँले विश्वास गर्नुभएको छ ।

दुखाई कम गर्ने सम्वन्धी नशालु औषधि २० लाखभन्दा बढी अमेरिकी नागरिकले प्रयोग गरिरहेको र त्यो क्रम दिनप्रतिदिन बढिरहेको राष्ट्रपति ट्रम्पले बताउनुभएको छ ।



“अमेरिकामा अहिले गोली लागेर र सवारी दुर्घटनामा परेरभन्दा नशालु औषधि प्रयोग गरेर मृत्यु हुनेको संख्या धेरै भएको छ, यस्तो औषधिको प्रयोग सबैभन्दा धेरै अमेरिका मै हुनेगरेको छ,” उहाँले भन्नुभयो ।

उहाँकी पत्नी प्रथम महिलासमेत सहभागी भएको ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा राष्ट्रपति ट्रम्पले थप्नुभयो, “यो समस्याबाट प्रभावित नभएको कुनै क्षेत्र, कुनै समुदाय नै बाँकी छैन ।”

उहाँले यही अवस्थालाई कायम राखिरहन नसक्ने बताउदै नशा नलाग्ने औषधिको उत्पादनतर्फ ध्यान दिनु पर्नेमा जोडदिनुभयो ।

उहाँले संकटकाल घोषणाकाले अव अमेरिकामा जनस्वास्थ्यसम्बन्धी समस्या समाधान गर्न सहयोगी रकमहरु बढाइनेछ ।

कार्यबाहक स्वास्थ्य मन्त्रीलाई देशभर जनस्वास्थ्यसम्बन्धी विषेश व्यवस्था गर्न पनि ट्रम्पले निर्देशन दिनुभएको अधिकारीले बताएका छन् ।

chhath 1

जनकपुरधाम, कात्तिक १० गते । आस्थाको महापर्व छठअन्तर्गत व्रतालुले यहाँ आज उदाउँदो सूर्यलाई अघ्र्य दिइ पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिइ पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।

व्रतालुहरु यहाँका इतिहासवर्णित सरोवर गंगासागर, धनुषसागर, अरगजालगायतका पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दुर लगाई अक्षता, फूल लिइ आफ्नो खेतबारीमा उत्पादन भएका सामग्री र घरमा बनाइएका विशेष प्रकारको पकवानसहित सूर्यलाई अघ्र्य अर्पण गरेका थिए । अर्घमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान्न, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन रहेको छ ।

सूर्यलाई दिइने अर्घमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ । छठ पर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो । छठ पर्व महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि संकल्प गरिन्छ, जुन यसको महत्वपूर्ण पक्ष हो ।

अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुखदुःख, रोदन र हाँसोलाई समानरूपमा र जीवनकै पाटोका रूपमा लिइनु हो । धनी, गरिब, कथित तल्ला र माथिल्ला जाति एकै ठाउँमा उपस्थित भई पूजा गर्नुले ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ भने सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिन्छ ।

आफ्नै गाउँघरका खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यो पर्वको थप मौलिकता विशेषता हो, जो आडम्बरविहीनताको परिचयसँगै श्रमको सम्मानको परिचायक मानिन्छ ।
सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धनप्राप्ति हुने जनविश्वास छ ।

छठ पर्व मनाउनुका पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्य पनि त्यत्तिकै छन् । वैज्ञानिक र ज्योतिष तथा चिकित्सकले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् ।

ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राखी व्रतालुले यो पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको विश्वास पाइन्छ ।

छठका अवसरमा बेहुली झैँ सिँगारिएका पोखरी र तलाउमा नवबस्त्रमा सजिएका श्रद्धालुको भीड पनि दर्शनीय रहेको थियो ।



चितवन, कात्तिक १० गते । नारायणगढ–मुग्लिन सडकखण्डमा रहेका पुलमध्ये चार वटा पुल भएका ठाउँमा नयाँ पुल निर्माण गरिने भएको छ

सो सडकको दासढुंगा पुल, खानीपुल, मौरीपुल र जलवीरे पुल भएका ठाउँमा नयाँ पुल निर्माण गर्न लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार ती पुल निर्माण गर्न हाल सोही सडक निर्माण गरिरहेका दुई ठेकेदार कम्पनीलाई ठेक्का दिइएको हो ।

जलवीरे पुल निर्माणको ठेक्का रौताहा कन्स्ट्रक्सनले पाएको छ भने अन्य तीन पुल निर्माणको ठेक्का लामा कन्स्ट्रक्सनले पाएको छ । जलवीरे पुल ८० मिटर लामो छ भने मौरीपुल ३० मिटर, खानीपुल ३० मिटर र दासढुंगा पुल २० मिटर लम्बाइका छन् । ती पुलको चौडाइ भने ११ मिटर हुने इन्जिनियर खनालले बताउनुभयो । हाल पुल भइरहेका ठाउँ नजिकैबाट नयाँ पुल निर्माण गरिने भएकाले सवारी आवागमनमा पुलले कुनै बाधा नपु¥याउने बताइएको छ ।

जलवीरे पुल रू १४ करोडमा ठेक्का दिइएको हो भने अन्य तीन पुलको कूल निर्माण लागत रु १३ करोड रहेको छ । एक्काइस महिनाभित्र निर्माण गरिसक्नुपर्ने ती पुलको सम्पूर्ण प्रक्रिया पूरा भइसकेकाले आउँदो साताबाट पुल निर्माणको काम शुरु हुने इन्जिनियर खनालले जानकारी दिनुभयो ।

सडक विभागको वैदेशिक महाशाखाले पुल निर्माणको अनुगमनको जिम्मेवारी नारायणगढ–मुग्लिन सडक आयोजनालाई नै दिएको छ । सो सडकमा १८ वटा पुल रहेका छन् ।

अन्य पुलको निर्माणका लागि भने विश्व बैंकले चासो दिएकाले सडक विभागको वैदेशिक महाशाखाले गृहकार्य गरिरहेको छ । सडकको स्तरवृद्धि गर्ने काम अन्तिम चरणमा पुगिरहेका बेला पुल पनि फराकिला बनाइने भएको हो । हाल सो सडकमा रहेका पुल पाँच मिटर हाराहारी मात्र चौडा रहेका छन् । रासस




तेह्रथुम,कात्तिक १० गते । आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि उम्मेदवार बन्न जिल्लाका मुख्य दलका नेताहरुबीच दौडधुप चलिरहेको छ । नेताहरु उम्मेदवार बन्नका लागि राजधानी केन्द्रित दौडधुप गरिरहेका छन् ।

विशेषगरी नेपाली काँग्रेस र वाम गठबन्धनलाई उम्मेदवार छान्न सकस भएको छ । जिल्लाबाट आवश्यकभन्दा बढीको आकांक्षा देखिएपछि दलहरुलाई उम्मेदवार छान्न सकस भएको हो ।

जिल्लाका नेताहरु पनि टिकट आफ्नो हातमा पार्न र आफ्नो समर्थन भएका नेतालाई टिकट दिलाउन राजधानी केन्द्रित भएका छन् । दुई नगरपालिका र चार गाउँपालिका गरी छ स्थानीय तह रहेको जिल्लामा प्रतिनिधि सभातर्फ एक निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेका छन् ।

वाम गठबन्धनबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ नेकपा (एमाले)का निवर्तमान सांसद भवानीप्रसाद खापुङ र पूर्व जिल्ला अध्यक्ष तेजमान कन्दङ्वाको नाम चर्चामा छ । खापुङ नेता माधव नेपाल र कन्दङ्वा पार्टी अध्यक्ष केपी ओली निकट हुन् । विसं २०७० को चुनावमा एमालेबाटै प्रत्यक्षतर्फ चुनाव जितेका खापुङ अहिले पनि आफूले टिकट पाउनुपर्ने दाबी गर्नुहुन्छ ।

उहाँ २०६४ सालमा भने काँग्रेसका तुलसी सुब्बासँग पराजित हुनुभएको थियो । अघिल्लो चुनावमा खापुङलाई आफू पार्टीको जिल्ला अध्यक्ष भएर जिताएको बताउने कन्दङ्वा पनि टिकटका बलिया दाबेदार हुनुुहुन्छ ।

विसं २०७० को चुनावमा पनि प्रत्यक्षतर्फ टिकटका लागि कन्दङ्वा र खापुङकै बीचमा दौडधुप भएको थियो । पार्टीका तर्फबाट एकैजना पटक–पटक उम्मेदवार हुँदा अन्य नेताको पालो नआउने भन्दै अधिक कार्यकर्ताको साथ कन्दङ्वासँग छ ।

हालै अध्यक्ष ओली गुटको भएकै कारण पनि कन्दङ्वाले टिकट पाउने सम्भावना प्रबल भएको एमाले नेताहरु बताउँछन् । दुवै नेताहरु अहिले टिकटका लागि दौडधुपमा छन् । जिल्लाबाट सिफारिसमा पर्नुभएकी एमाले पूर्व सांसद विष्णुमाया विक पनि आफूले टिकट पाउनुपर्ने दाबी गर्नुहुन्छ ।

वाम गठबन्धनकै अर्को घटक माओवादी केन्द्रको जिल्लाबाट सर्वसम्मत छानिनुभएका विजय सम्बाहाम्फे पनि टिकटका लागि दौडधुप गरिरहनुभएको छ । यद्यपि यसअघि एमालेले जितेको क्षेत्र भएकाले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ एमालेका दुई नेताहरु खापुङ र कन्दङ्वाकै सम्भावना बलियो छ ।

नेपाली काँग्रेसले जिल्लाबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य तथा भौतिक पूर्वाधार राज्यमन्त्री सीता गुरुङको नाम सर्वसम्मत सिफारिस गरेको थियो । तर यसअघि दुईपटक समानुपातिकतर्फबाट सांसद भइसके पनि नेत्री गुरुङले सेफ ल्याण्डिङ खोजेपछि पुनः पनि पार्टी केन्द्रीय समितिले उहाँको नाम समानुपातिकतर्फ नै सिफारिस गरेको खुलेको छ ।

जिल्लाकै लोकप्रिय महिला नेत्री गुरुङले प्रत्यक्षतर्फ चुनाव नलड्ने भएपछि काँग्रेसलाई पूर्व सांसद तुलसी सुब्बा या पार्टी जिल्ला सभापति गोविन्द ढुंगानालाई उम्मेदवार बनाउने भन्ने अन्योल छ ।

यसअघि २०६४ र २०७० को संविधान सभा निर्वाचनमा दुईपटक काँग्रेसबाट उम्मेदवार बनिसकेका तुलसी सुब्बाले अहिले समानुपातिकको बाटो रोज्नुभएको थियो । उहाँको नाम जिल्लाबाट समानुपातिकतर्फ सिफारिस भएको थियो । काँग्रेसमा पनि अहिले प्रत्यक्षतर्फको उम्मेदवारीका लागि दौडधुप चलिरहेको छ ।

प्रदेश सभा सदस्यका लागि ‘क’ निर्वाचन क्षेत्रमा काँग्रेस जिल्ला सभापति ढुंगाना सर्वसम्मत सिफारिस हुनुभएको थियो । तर उहाँ आफैँ पनि प्रतिनिधि सभाको प्रत्यक्ष उम्मेदवार हुनसक्ने भएपछि प्रदेश सभाका लागिसमेत प्रत्यक्षतर्फ काँग्रेसभित्र टिकट लिनेको दौडधुप छ । ‘ख’ निर्वाचन क्षेत्रमा समेत काँग्रेसबाट बलियो उम्मेदवारीका लागि दौडधुप छ । यो क्षेत्रमा निवर्तमान सांसद गणेश विमलीसमेत आकांक्षी देखिनुभएको छ ।

जिल्लाबाट आठराई गाउँपालिकामा पराजित उम्मेदवार नारायणकुमार इङ्नाम, तेह्रथुम–काठमाडौँ सम्पर्क समितिका सचिव बालकुमार गुरुङ र उत्तमसिंह थाम्देनको नाम सिफारिस भएको थियो ।

वाम गठबन्धनबाट प्रदेश सभाका दुई क्षेत्रमध्ये एक निर्वाचन क्षेत्र माओवादी केन्द्रलाई दिने चर्चासमेत चलिरहेको छ । अहिले प्रदेश सभा ‘ख’ निर्वाचन क्षेत्र माओवादी केन्द्रलाई दिने चर्चा चलेपछि टुंगो लागिनसकेको नेताहरुले बताएका छन् ।

प्रदेश सभा ‘क’ निर्वाचन क्षेत्रमा एमाले जिल्ला अध्यक्ष लक्ष्मण तिवारी प्रत्यक्षतर्फ उम्मेदवार बन्ने पक्का जस्तै भएको बुझिएको छ । आकांक्षी जिविस पूर्व सभापति किशोरचन्द्र दुलालको नाम समानुपातिकतर्फ अटाएर जिल्ला अध्यक्ष तिवारी प्रत्यक्ष उम्मेदवार बन्ने निश्चित भएको चर्चा एमाले वृत्तमा छ ।

माओवादी केन्द्रलाई भाग लाग्ने ‘ख’ निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका जिल्ला इन्चार्ज दुर्गा चापागार्इं, पूर्व सभासद सुशीला कन्दङ्वालगायतको चर्चा छ । तर यो क्षेत्र पनि एमालेले नै लिएको खण्डमा एमालेका बाबुराम थापा र विश्वराज खापुङ टिकट लिने दौडधुपमा छन् । समानुपातिकतर्फ पनि उम्मेदवारका लागि बन्द सूचीमा नाम अटाउनका लागि नेताहरुको दौडधुप जारी छ ।

अन्य अधिकांश साना दलबाट भने जिल्लाबाट सिफारिस भएका उम्मेदवारहरु नै उम्मेदवार बन्ने देखिएको छ । जिल्लामा काँग्रेस र वाम गठबन्धनकै बीचमा मुख्य प्रतिस्पर्धा हुने निश्चित छ । यसअघिका दुई संविधान सभा निर्वाचनमा एकपटक काँग्रेस र एकपटक एमालेले जितेका थिए ।

स्थानीय निर्वाचनमा छमध्ये पाँचमा एमाले नै विजयी भए पनि झिनो मात्रै मतान्तर भएको र अहिले मतदाता पनि थपिएकाले उच्च प्रतिस्पर्धा हुने नेताहरुको विश्लेषण छ ।

जिल्लामा प्रदेशको निर्वाचनमा ‘क’ क्षेत्रमा म्याङ्लुङ र लालीगुराँस नगरपालिका तथा छथर गाउँपालिका पर्छन् । यस्तै ‘ख’ निर्वाचन क्षेत्रमा आठराई, फेदाप र मेन्छ्यायेम गाउँपालिका पर्छन् । आगामी निर्वाचनका लागि कूल ६६ हजार ७४३ जना मतदाता रहेका छन् ।



काठमाडौँ, कात्तिक १० गते । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतपत्रको बारेमा सर्वाेच्च अदालतबाट भएको आदेशलाई सम्मान गर्दै निर्वाचन पूर्वनिर्धारित कार्यक्रमअनुसार नै अघि बढ्ने बताउनुभएको छ ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि आज आयोजित निर्वाचन र सुरक्षा विषयक दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुभारम्भ गर्दै उहाँले भन्नुभयो– “समानुपातिकतर्फको मतपत्र छपाइको काम सकिएको छ, आजैबाट प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ शुरु हुने छ ।”

व्यवस्थापकीय र प्राविधिक दृष्टीकोणबाट ज्यादै जटिल भए पनि राष्ट्रको आवश्यकता, राजनीतिक दलको सहमति र सरकारको आग्रहमा दुुवै निर्वाचन एकैसाथ गर्न आयोगले सहमति जनाएको उल्लेख गर्दै उहाँले भन्नुभयो– “निर्वाचनका बारेमा आलोचना, प्रतिआलोचना र अनुमानको कुरा आइरहेकोछ, निर्वाचनको वातावरण अस्थिर तुल्याउने काम कही कतैबाट नहोस्, निर्धारित समयमै निर्वाचन गर्न हामी प्रतिबद्ध छौँ ।”

प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्धारित मितिमै निर्वाचन गर्ने सन्दर्भमा पहिलो चरणको निर्वाचनको उम्मेदवारको मनोनयन र निर्वाचन चिन्ह प्रदान भई प्रचारप्रसारको काम शुरु भइसकेको, समानुपातिकतर्फको मतपत्र छाप्ने काम पूरा भएको, दोस्रोचरणको लागि समेत निर्वाचन अधिकृतको कार्यलय खोलिसकिएको हुँदा विश्वासका साथ निर्वाचन सञ्चालन गर्न आयोग अघि बढेकाले अन्यौलको वातावरण नरहेको स्पष्ट गर्नुभयो ।

निर्वाचन तोकिएकै मितिमा सफलतापूर्वक सम्पन्न गराउन प्रधानमन्त्रीले पटक÷पटक प्रतिबद्धता जाहेर गर्नुभएको प्रशंग उल्लेख गर्दै उहाँले सर्वाेच्च अदालतको आदेशलाई सम्मान गर्दै मतपत्रका सम्बन्धमा आयोगले गठन गरेको समितिको सुझावका आधारमा आयोग अघि बढेको जानकारी दिनुभयो ।

उहाँले अदालतको पछिल्लो आदेश औपचारिकरूपमा आयोगमा प्राप्त भइनसकेको बताउनुभयो । पहिलो चरणको उम्मेदवारी मनोनयनका सिलसिलामा राजनीतिक दल र सुरक्षा निकायबाट निर्वाह भएको भूमिका सरहाहनीय रहेको उल्लेख गर्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचनका समयमा हुनसक्ने लोभ, लालच, डर÷धम्की जस्ता क्रियाकलाप रोक्न तथा आचारसहिताको पालना गर्ने विषयमा सुरक्षाकर्मीलाई व्यवसायिक मर्यादाभित्र रहेर काम गर्न निर्देशन दिनुभयो ।

निर्वाचन आयुक्त सुधीरकुमार शाहले यो वर्ष निर्वाचन वर्ष भएकाले अहिलेको राष्ट्रिय लक्ष्य भनेको नै शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराइ संविधान कार्यान्वयनको लागि मजबुत जग स्थापना गर्नु हो भन्नुभयो ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रचारप्रसारको क्रममा छिमेकी मूलुकबाट उम्मेदवारले भाडामा सवारी साधन ल्याई प्रयोग गर्ने कार्य पूर्णरूपमा नियन्त्रण गर्न निर्देशन दिँदै आयुक्त शाहले भन्नुभयो– ‘‘निर्वाचनको क्रममा कुनै पनि सुरक्षाकर्मीप्रति औंला ठड्याउने अवस्था नआओस्, आ–आफ्नो उच्च व्यावसायिक मर्यादामा रहेर राष्ट्रले सुम्पेको जिम्मेवारी पूरा गर्नुहोस् ।’’

गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले प्रशिक्षणमा सिकेका कुरा तल्लो तहसम्म पुु¥याएर निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायलाई निर्देशन दिनुभयो ।

निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले निर्वाचन र सुरक्षा एक अर्काका पुरकको रूपमा रहने भएकाले निर्वाचनलाई सफल तुल्याउन सुरक्षा निकायबीच निरन्तर सञ्चार, समन्वय र सहकार्य हुन आवश्यक छ भन्नुभयो ।

आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले निर्वाचनको तयारी ७५ प्रतिशतभन्दा बढी पूरा भएको जनाउँदै सुरक्षाकर्मीबीच समान धारणाका साथ निर्वाचनमा सुरक्षा प्रदान गर्न सहयोग पुगोस् भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

प्रशिक्षणमा रक्षा तथा गृहमन्त्रालयका अधिकृत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसान्धान विभागका अधिकृत सहित ६३ जनाको सहभागिता छ । (रासस)

saarc-2-638

काठमाडौँ, कात्तिक १० गते । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९औँ शिखर सम्मेलन शीघ्र हुनु पर्नेमा जोड दिनुभएको छ ।
यहाँस्थित पाकिस्तानी राजदूतावासमा आज आयोजित ‘क्षेत्रीय शान्ति र विकास’ विषयक छलफल कार्यक्रममा उहाँले स्थगन भएको सम्मेलन आयोजना गर्न पाकिस्तान दृढ रहेको बताउनुभयो ।
सार्कलाई गतिशील तुल्याउनु सबै सदस्य मुलुकको कर्तव्य भएको भन्दै उहाँले क्षेत्रीय सहयोगका निम्ति सहकार्य अपरिहार्य भएको बताउनुभयो ।
आर्थिक विकास एवं समृद्धि, व्यापार प्रवद्र्धन, सदस्य देशबीच जनस्तरको सम्पर्क विस्तार, जल, स्थल र हवाइ मार्गबाट एकापसमा सम्बन्ध एवं सम्पर्क स्थापनाबाटै दक्षिण एशियामा दिगो शान्ति र प्रगति सुनिश्चित हुने राजदूत जावेदको कथन थियो ।
पूर्व राजदूत विष्णुहरि नेपालले द्विपक्षीय विषयलाई लिएर सार्क प्रक्रियामा अवरोध हुन नहुनेमा जोड दिँदै सार्कको अध्यक्ष नेपालले १९औँ शिखर सम्मेलन आयोजनाका निम्ति आवश्यक प्रयास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पत्रकार राजन कार्कीले भारत–पाकिस्तान द्वन्द्वले सार्कका गतिविधि प्रभावित हुन नहुनेमा जोड दिनुभयो ।

chhath 1

काठमाडौँ, कात्तिक ७ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आजदेखि शुरु भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आज स्नान गरी चोखो खाएर बसिन्छ । छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो आदि खान नहुने धार्मिक मान्यता छ । चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ ।

मनोकांक्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्छन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडमा मनाउन थालिएको हो । विसं २०४६ देखि नै सरकारले यस पर्वको मुख्य दिन अर्थात् कात्तिक शुक्ल षष्ठीमा सार्वजनिक बिदा दिंदै आएको छ ।

कात्तिक शुक्ल पञ्चमीका दिन निर्जल उपवास बसी बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरेर एक छाक खाने गरिन्छ । यसलाई खरना भन्ने गरिएको काठमाडौँमै सबी छठ मनाउँदै आउनुभएका सञ्जय गुप्ताले बताउनुभयो ।

“षष्ठीका दिन व्रतालुबाट ठेकुवा, फलफूल, मिठाइ र रोटी सूर्य एवं छठी मातालाई चढाउने गरिन्छ, रोटीमा सूर्यको रथका पांग्रा अङ्कित चित्र बनाइन्छ” उहाँले भन्नुभयो ।

षष्ठीका दिन पक्वान्न, फलफूल र नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोपिन्छ । साँझपख बत्ती बालेर माटाको घडाको साथ नदी वा तलाउका किनारमा बसेर गीत गइने र डुब्न लागेका सूर्यलाई अघ्र्य दिई प्रणाम गरिन्छ । अघ्र्य दिएपछि तीनपटक पानीमा डुबुल्की मारेर मनोरञ्जनका साथ त्यही रात बिताइन्छ ।

सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहान ४ बजेबाटै प्रतीक्षा गरिन्छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिइन्छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा ब्रतालुहरूले लगाएको लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि रहेको श्याम यादव बताउनुहुन्छ ।

“पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता र सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रूपमा मानी विशेष पूजा गर्ने गरिएको हो”, उहाँले भन्नुभयो ।

कात्तिक शुक्ल पक्षमा सूर्यको पूजा एवं आराधना गर्नाले मनोकांक्षा पूरा भई इच्छाएको फल प्राप्त हुने उल्लेख शास्त्रमा गरिएकाले यो कुनै क्षेत्र विशेषको मात्र पर्व नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

“विशेषगरी तराई क्षेत्रका मानिसले मनाउने भएकाले यसलाई क्षेत्रीय पर्व भनिएको हुनसक्छ, तर यो सूर्यको उपासना गर्ने शास्त्रीय पर्व हो”, उहाँले भन्नुभयो ।

सूर्य पूजा र दर्शन गरी विवाहिता महिला पुरुषले पति पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर वधु प्राप्तिको कामना गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको संख्या पनि धेरै छ ।

यो पर्वमा मुस्लिम, बौद्ध र जैन धर्मावलम्बीको समेत सहभागिता रहने गरेको विसं २०६८ देखि कमलपोखरीमा छठ पूजाको नेतृत्व गर्दै आउनुभएका राजेन्द्र सिंहले बताउनुभयो ।

पौराणिक कालमा छठीमाताले सूर्यदेवलाई खुशी पारेकीले यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारतकालमा द्रौपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेका थिए । पाण्डवहरू विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन शुरु गरिएको एकथरि मत छ ।

सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले गरेको छठ व्रतको फलस्वरूप उनको अटल सौभाग्य र पतिबाट सदव्यवहार हुन थालेकाले त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात् भएको अर्काथरिको भनाइ छ ।



खाना खाइसकेपछि धेरैको बानी हुन्छ, सुपारी चपाउने । खाना खानासाथ सुपारीको टुक्रा चपाउने तलतल लाग्छ । कतिले ठान्छन्, ‘सुपारीले खाना पचाउँछ ।’

तर, यो भ्रम हो । किनभने यसले स्वास्थ्यलाई राम्रो गर्ने होइन, बरु हानी पुर्‍याउँछ । द इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरले सुपारीलाई क्यान्सर गराउने मुख्य तत्वको रुपमा पुष्टि गरेको छ ।


विश्व स्वास्थ्य संगठनले समेत सुपारीलाई कार्सिनेजेनिक वर्गमा समावेश गरेको छ ।

सुपारीले कसरी स्वास्थ्यमा नोक्सान पुर्‍याउँछ त ?

क्यान्सर

अध्ययनहरुले के देखाएको छ भने सुपारीको अत्याधिक सेवनले मुखको क्यान्सर गराउँछ । त्यस्तै, अन्ननलीको मेत क्यान्स गराउँछ । त्यस्तै, अत्याधिक मात्रामा सुपारीको प्रयोगले मुखको छाला कडा बनाउनुका साथै दाँतको जरामा समस्या निम्त्याउँछ ।

मुटु रोग

सुपारीको सेवन र मुटु रोग बीच घनिष्ठ सम्बन्ध रहेको छ । अत्याधिक मात्रामा सुपारीको सेवनले मुटु सम्बन्धि जोखिम निम्त्याउनुका साथै माटोपना निम्त्याउने गर्छ ।

दाँतको समस्या

निरन्तर रुपमा सुपारी चपाउनाले दातमा समस्या पैदा हुनुका साथै दाँत खिइने गर्छ । त्यस्तै, यसले दातमा सडन हुनुका साथै दातमा खिया लाग्न गर्छ ।

रसायनिक प्रतिक्रिया

अन्य औषधी तथा हर्वलसित मिसिएको अवस्थामा यसले शरीरमा रसायनिक प्रतिकि्रया जनाउँछ । यसले औषधीको प्रभावकारीतामा समेत र्‍हास ल्याउँछ ।

अन्य साइड इफेक्ट्स

यसले शरीरमा लत लगाउनुका साथै सुपारीको बानी पार्छ, जुन छोड्न समेत गार्‍हो हुन्छ । त्यसैले चिकित्सकहरु जो कसैलाई सुपारी नखाने सल्लाह दिने गर्छन् ।-



काठमाडौं, कात्तिक ७ गते । नेपाल राष्ट्र बैंकले ८.५ प्रतिशत ब्याज दरको नागरिक बचतपत्र निष्काशन गर्ने भएको छ । बैंकले पाँचवर्षीय अवधिको बचतपत्र यही कात्तिक १२ गतेदेखि निष्काशन गर्न लागेको हो ।

आगामी मंसिर १ गतेसम्म बचतपत्र खरिदका लागि आवेदन दिन पाइने बैंकले उल्लेख गरेको छ । बैंकले ब्याज भने प्रत्येक छ महिनामा र सावाँ २०७९ साल मंसिर ६ गते भुक्तानी गर्नेछ ।

बचतपत्र खरिद गर्न चाहने नेपालीले कम्तीमा रु १० हजार बराबरको आवेदन दिनुपर्छ । बैंकले रु दुई अर्बको बचतपत्र निष्काशन गर्न लागेको हो ।-अनलाइनखबर

यस्तो छ राजनीतिक ध्रुवीकरको जोखिम

कथित लोकतन्त्रमा षड्यन्त्रले विचारलाई विस्थापित गर्दै आएको पृष्ठभूमिमा जेठो पार्टीको हैसियतले लोकतन्त्र संस्थापित गर्ने दायित्व कांग्रेसको हो ।



नेपाली राजनीतिको बेग झन् बढी तीव्र र अलोकतान्त्रिक भइरहेको छ । स्थानीय निकाय निर्वाचनसम्म घोर अवसरवादी चरित्र प्रदर्शन गरिरहेका राजनीतिक पार्टीहरू प्रतिनिधि सभा र प्रान्तीय सभाको निर्वाचन मिति घोषणासँगै तीव्र एवं व्यापक समीकरणको आकर्षणतर्फ मोडिएका छन् ।

कांग्रेस र माओवादीको असैद्धान्तिक तालमेल अहिले सैद्धान्तिक (? ) ध्रुवीकरणतर्फ मोडिएको छ । सामाजिक÷राजनीतिक घटना परिघटनाका पछाडि अनेकौं गतिशक्ति (डाइनामिक्स) को बेजोड भूमिका हुन्छ । अतः अहिले निर्माणाधीन समीकरणहरूका पछाडि पनि गतिशक्तिहरूको भूमिका प्रबल छ भन्नेमा विवाद छैन । र, ती गतिशक्तिहरू खुट्याउनुपर्ने आवश्यकता पनि छ ।

के हुन सक्छन् यी गतिशक्तिहरू ? यसको गहिरो अन्वेषण हुन बाँकी नै होला । तर विगत एकदुई हप्ताभित्रका राजनीतिक घटना, तिनीहरूसँग सम्बन्धित विश्लेषणयुक्त अभिव्यक्ति एवं राजनीतिक नेताहरूसँगका कुराकानीबाट केही महत्वपूर्ण गतिशक्तिहरू खुट्याउन सकिन्छ ।

स्थानीय निकाय निर्वाचनताका बनेको माओ-कांग्रेस गठबन्धनले एमालेलाई एक्ल्याउने प्रयास गर्‍यो । यो सबैले अनुभूति गरेकै हो । यसका पछाडि पनि अनेक उद्देश्य र पात्रहरू संलग्न थिए । त्यस गठबन्धनलाई विदेशीहरूले राम्रोसँग प्रयोग गरे । त्यस गठबन्धनले निर्वाचन क्षेत्र निर्धारणको कार्यलाई समेत प्रभावित गरेको ठहर एमालेको थियो । त्यसैले यस गठबन्धलाई रहन दिनु एमालेका लागि खतरायुक्त हुन्छ भन्ने दृष्टिकोण नेतृत्वपंक्तिमा पैदा भयो ।






एमाले-माओ गठबन्धन त्यस अर्थमा वर्तमान राजनीतिको कारण होइन ‘परिणाम’ मात्र हो । कारण माओ-कांग्रेस गठबन्धनले एमालेलाई एक्ल्याउने प्रयास गर्दा एमालेमा उत्पन्न खतराको अनुभूति हो । दुई नम्बर प्रदेशको निर्वाचनमा यो घनीभूत रूपमा प्रकट भयो भन्ने अनुभूति पनि एमालेमा रहेको देखियो ।

नेपाली कांग्रेसका कतिपय नेताको एमालेलाई मधेसबाट बढार्नुपर्छ भन्ने अभिव्यक्ति, मधेसबाट मात्र होइन एमाले देशबाटै बढारिन्छ भन्ने प्रचण्डको भनाइ र विगत लामो समयदेखि मधेसमा एमालेलाई निषेध गर्ने केही मधेसकेन्द्रित व्यक्तिका अभिव्यक्तिले एमालेलाई रक्षात्मक धारमा खडा गराए । यी घटना लोकतान्त्रिक रणनीति अवश्य थिएनन् । एमालेले राष्ट्रवादको कुरा उठायो भनी प्रहार गर्नेको संख्या पनि केही हदसम्म देखियो । यसै पृष्ठभूमिमा एमाले र माओवादी गठबन्धनको रणनीति तयार भयो । वामपन्थी राजनीतिमाथि चौतर्फी प्रहार गर्ने विदेशी योजना पनि यसमा संलग्न थियो भन्ने भट्टराईको संलग्नताबाट स्पष्टै थियो ।

छदम् गतिशक्तिहरूको भूमिका नेपालको लोकतन्त्रलाई चुनौतीपूर्ण हुन सक्ने खतरा छ भन्ने कुरालाई एमाले-माओ गठबन्धनले कति आत्मसात गरेको छ ?

खतराबाट निकास पाउने योजनाकै रूपमा एमालेले ‘वामपन्थी’ एकताको सूत्रलाई प्रयोग गर्‍यो । लोकतन्त्रमा वैचारिक एजेन्डा र विषयहरू छलफलका विषयवस्तु हुन्छन् र गठबन्धनहरू पनि निर्माण हुन्छन् । तर नेपालको कथित लोकतन्त्रमा षड्यन्त्रले विचारलाई विस्थापित गर्दै आएको पृष्ठभूमि छ । सबैभन्दा जेठो पार्टीको हैसियतले लोकतान्त्रिक बहसद्वारा लोकतन्त्रलाई संस्थापित गर्ने दायित्व कांग्रेसको थियो । तर उसले तेस्रो दललाई साथमा लिएर विपक्षीमाथि शक्ति केन्द्रित गर्ने कार्यलाई ठीक वा बेठीक के हो भनी गम्भीर बहस गर्न कांग्रेसीहरू चुके भने फेरि पनि लोकतन्त्रले त्रासदी भोग्नुपर्ने छ ।

माओ-कांग्रेस गठबन्धन एउटा ठूलो ऐतिहासिक भूल थियो नेपालको लोकतान्त्रिक प्रक्रियामा । यो सैद्धान्तिक कुनै पनि अर्थमा थिएन । यो सत्तालोभ थियो र नेपालमाथि विदेशी खेलको उपज थियो । यसले नै आज समीकरणको पृष्ठभूमि तयार पारेको छ । यो समीकरण कांग्रेस वा एमाले कसैका लागि त नोक्सानीको कारण अवश्य नै बन्नेछ । अहिले बनिरहेको गठबन्धनका पछाडि नेपालको संविधान ध्वस्त पार्ने विदेशी गेमप्लान परिपूर्ण छ ।

page6,-oct24,-2017

तर यस अवस्थाको सिर्जनामा एमालेको भूमिका पनि गम्भीर थियो । संविधान घोषणापछि स्थापित एमाले-माओ सहकार्यलाई स्थायित्व दिन नसक्नु एमालेको राजनीतिक दुरदर्शीतासँग जोडिएको कमजोरी थियो । त्यसैले माओ-कांग्रेस गठबन्धन एमालेप्रतिको प्रतिशोधनका रूपमा जन्मियो र हुर्कियो । यस गठबन्धनमा एक अर्काले एक अर्कालाई सकेसम्म प्रयोग गर्ने प्रयास गरे । यस गठबन्धनमा नैतिक आधार कम र स्वार्थ बढी थियो । परिणामतः गठबन्धनका दुवै पक्ष एकअर्काप्रति सशंकित रहे ।

माओवादीलाई कांग्रेसले प्रयोग गर्‍यो । माओवादी एमालेको प्रहारको निसाना बन्यो । एमालेले उसलाई ‘लम्पसारवाद’ को पर्यायका रूपमा पेश गर्‍यो । परिणामतः माओवादी मनोवैज्ञानिक रूपमा पराजित भयो । अब उसलाई कांग्रेससँग सधैं उभिने साहस पनि थिएन र त्यसो गर्न सम्भव पनि थिएन । यस पृष्ठभूमिमा एमालेसँगको गठबन्धनले उसलाई राहत मिल्नु स्वाभाविकै हो । यदि उनीहरू बीचको गठबन्धन सैद्धान्तिक समिपता हो भने बेग्लै कुरा हो । अन्यथा यसले एमालेलाई समाप्त पार्नेछ ।

यस अर्थमा कांग्रेसले एमालेमा सिर्जना गरेको भय र माओवादीमा कांग्रेससँगको गठबन्धनले सिध्याउँछ भन्ने भयले यी दुवैलाई छलफलको मोर्चामा ल्याएको हो र वाम गठबन्धन निर्माणको अवस्था सिर्जना भयो । यो गठबन्धन पद्धति र प्रक्रियाका कारणले आलोचित रह्यो, भलै सैद्धान्तिक मापदण्डका कारणले स्वाभाविकै हो । वामपन्थीहरूका बीचमा मोर्चा बन्नु आफैंमा ठूलो कुरा होइन । पार्टी एकताको सन्दर्भ पनि ठूलो कुरा होइन । तर प्रश्न के अनुत्तरित छ भने, के इतिहासको विश्लेषणसहित यो गठबन्धन हुन लागिरहेको हो ?

नेपालको लोकतान्तिक प्रक्रियामा संविधान जारी हुँदा तयार भएको पार्टीहरूको सहकार्यको ‘मुड’ संविधानको सफल कार्यान्वयनको सन्दर्भमा किन रहन सकेन र राजनीतिक दलहरू ‘प्रोक्सी युद्ध’ वा मनोवैज्ञानिक युद्धको अवस्थामा रुपान्तरित भए ।

यसको एउटा कारण हो वामपन्थी वर्तमान गठबन्धन । तर यसभित्र अझै अनेकौं भित्री गतिशक्तिहरू पनि क्रियाशील छन् । नेपालको रणनीतिक अवस्थितिको सन्दर्भमा ‘डोक्लाम’ घटना पनि एउटा गतिशक्ति नै हो । कसैले मान्नु नमान्नु आफ्नो ठाउँमा छ, तर संविधान निर्माण हुन नदिन खेलिएका इन्डो-वेस्ट रणनीतिलाई विदेशी राजदूतहरूका काठमाडौंका बैठकहरू, जयशंकर सन्देश, मोदी-क्यामरुन संयुक्त वक्तव्य, मोदी-युरोपेली युनियन वक्तव्य, बेलायती संसद्मा नेपालको निर्वाचन रोक्ने प्रस्ताव पेश हुनु, सीके राउत हरकत, हिन्दी भाषा राष्ट्रिय भाषाको प्रोपोगण्डा जस्ता विषयले प्रष्ट देखाएका छन् र यिनै खेलहरू र विगतको नाकाबन्दीले नेपालीलाई राष्ट्रिय स्वाभिमानप्रति झन् बढी संवेदनशील बनाएको यथार्थलाई कसैले केवल खोक्रो राष्ट्रवाद भन्छ भने त्यो शक्ति राजनीतिक शक्ति होइन भन्न सकिन्छ र त्यस्ता शक्तिले आफूलाई जनताबाट पर धकेल्छन् ।

नेपाली राष्ट्रिय मनोविज्ञानलाई खोक्रो राष्ट्रवाद भन्नेहरू इन्डो-वेस्ट रणनीतिका मोहरा बनेका छन् भन्न सकिन्छ । माथिका घटनाले नै देखाउँछन् संविधान असफल पार्ने खेल अहिले पनि भइरहेका छन् । नेपाली कांग्रेस यसको सिकार भइरहेको हुन सक्छ । त्यसैले उसले आफ्नो अवस्थाको विश्लेषण गर्न सक्नुपर्छ ।

यस खेलको सिकार माओ-एमाले गठबन्धन पनि हुन सक्छ । वामपन्थीहरू स्वभावतः धार्मिक संस्कारबाट निरपेक्ष हुन्छन् । उनीहरूलाई कुनै धर्मले प्रभावित पार्दैन । धर्म उनीहरूको राजनीतिको एजेन्डा पनि बन्दैन । त्यसैकारण कुनै धार्मिक आस्था बोक्ने व्यक्तिहरूसँग वामपन्थीहरूको गठबन्धन हुन सक्तैन । तर वामपन्थी गठबन्धनभित्र क्रिस्चियन धर्म प्रचारमा संलग्न दल पनि समावेश छन् भन्ने आरोपहरू छन् । यसकै आधारमा कांग्रेस र वामपन्थीहरूका बीचमा कलह सिर्जना गर्दै आगामी निर्वाचन हुन नसक्ने अवस्था सिर्जना गर्ने खेल भइरहेका आशंका पनि व्यक्त भइरहेका छन् । हिजो माओवादीले हिन्दु धर्म र संस्कृतिमाथि प्रहार नगरेको पनि होइन । यस्तो अवस्थामा छदम् गतिशक्तिहरूको भूमिका नेपालको लोकतन्त्रलाई चुनौतीपूर्ण हुन सक्ने खतरा छ भन्ने कुरालाई एमाले-माओ गठबन्धनले कति आत्मसात गरेको छ ?

इन्डो-वेस्ट रणनीति आफैंमा निरन्तर पराजित हुँदैछ । भारतमा बहुर्राष्ट्रियताको नारा हुर्काउने र चीनलाई घेर्ने पश्चिमी रणनीतिको सिकार स्वयं भारत त छँदैछ, तर भारत नै यसमा टाँसिन पुग्दा नेपालभित्रको विदेशी रणनीति जटिल र बुझ्नै नसकिने भइरहेको छ । यस्तो अवस्थामा निर्वाचन नहुने वातावरणको सिर्जना गर्ने ‘गेम प्लान’ सबैभन्दा पेचिँदो गतिशक्तिका रूपमा रहेको छ । सम्पूर्ण दक्षिण एसियालाई अस्थिर बनाउने खेल हेर्नैपर्छ नेपालको राजनीतिको विश्लेषण गर्दा ।

निर्वाचन प्रक्रिया सुरु भए पनि वातावरण भत्काउने खेलहरू घनीभूत भइरहेछन् । नेपाली कांग्रेस पराजयको मनोविज्ञानबाट ग्रस्त रहेको छ । यसको प्रमाण मन्त्रिमण्डलको अलोकप्रिय विस्तार पनि हो । संविधान संशोधनको कलह सफल हुन सकेन । स्थानीय निर्वाचन रोक्न सकेनन् । अब संविधान कार्यान्वयनको पूर्णतालाई रोक्ने हो भने, निर्वाचन बिथोल्नैपर्छ । षड्यन्त्रकारीहरू यसरी सोचिरहेका हुन सक्छन् । यस खेलमा जो सरिक हुन्छ उसले देशलाई बर्बादीको खाडलमा त हाल्छ नै त्यसले एसियाको राजनीतिक एवं सामरिक रणनीतिलाई समेत प्रभावित पार्ने छ । निर्वाचन हुन सकेन भने देश फेरि संसद्हीन अवस्थामा पुग्ने छ । यो भनेको जनताको कानुनी सार्वभौमिकताविहीन अवस्था निर्माण हुनु हो । अर्थात यो भनेको जनताले आफ्नो सार्वभौमिकता प्रयोग गर्न नसक्ने अवस्थाको निर्माण गर्नु हो । यस्तो अवस्थाको सिर्जना भनेको नेपाल इन्डो-वेस्टस्वार्थको नजिक जानु हो ।

यसबाट नेपालको चीनसँगको सम्बन्ध असन्तुलित हुन जान्छ । यसले चीनलाई नेपाल-चीन सीमा र भारत-चीन सीमामा सामरिक रूपमा सजग र सक्रिय हुन बाध्य पार्ने छ । यसले नेपालमात्र होइन सम्पूर्ण दक्षिण एसिया र चीनको सम्बन्ध पुनर्परिभाषित हुने अवस्था निम्त्याउन सक्छ ।

लोकतन्त्रमा न्यायपालिका, कार्यपालिका र व्यवस्थपिकाको अस्तित्व सधैं रहन्छ । कुनै पनि निकाय कहिल्यै खाली हुँदैनन् । त्यसरी खाली नहुने अवस्था सुनिश्चित भएन भने शक्तिपृथकीकरणको सिद्धान्त निस्प्रभावी भई कार्यकारिणी निरंकुशता वा न्यायिक अराजकता पैदा हुन जान्छ । त्यसैले लोकतन्त्रमा दुई सदनको व्यवस्थापिकाको प्रबन्ध संविधानले गर्दछ ।

यसका अतिरिक्त सांसदहरूको पदावधि सकिँदा पनि सभामुख र उपसभामुखको पद कायम रहन्छन् । तर यी पदहरू रहने व्यवस्था नगरी किन व्यवस्थापिकाविहीन अवस्था सिर्जना गरियो ? यो प्रश्न गम्भीर छ । वरिष्ठ नेताहरू उपस्थित रहेको एउटा छलफल कार्यक्रममा पंक्तिकारले यो प्रश्न गर्दा उत्तर आयो ‘यो व्यवस्था (सभामुख र उपसभामुखको निरन्तरता) राख्न समितिलाई निर्देशन दिइएको थियो । तर त्यो व्यवस्था राखेनछन्।’

संविधानको धारा २९६ को उपधारा (१) मा ‘यो संविधान प्रारम्भ हुँदाका बखत कायम रहेको संविधानसभा यो संविधान प्रारम्भ भएपछि व्यवस्थापिका संसद्मा स्वतः रुपान्तरण हुनेछ र त्यस्तो व्यवस्थापिका संसद्को कार्यकाल संवत् २०७४ साल माघ ७ गतेसम्म कायम रहनेछ’ भन्ने स्पष्ट किटानी व्यवस्था गरिएको छ ।

तर त्यसको स्पष्टीकरणमा ‘मनोनयनपत्र दाखिल गर्ने अघिल्लो दिनसम्म व्यवस्थापिका संसद् कायम रहनेछ’ भनी विवादास्पद र भ्रामक व्यवस्था कसले थप्यो ? किन सभामुख र उपसभामुखको निरन्तरता नयाँ संसद् गठन हुँदासम्म कायम राखिएन ?

निर्वाचन हुन नदिने सबै किसिमका खेल अहिले नेपथ्यमा भइरहेका हुन सक्छन् । वामपन्थी गठबन्धनभित्र माओवादी-एमालेका कार्यकर्ता नै असन्तुष्ट छन् र एक-आपसमा लडिरहेका छन् । नेपाली कांग्रेस ६४ जना मन्त्रीका कारणले शिर निहुर्‍याउन बाध्य भएको छ । यिनै कारणले पार्टीभित्र विवाद छन् । हिन्दुत्वको नारा बोक्नुपर्ने दबाब कांग्रेसभित्र सिर्जना भइरहेको छ । विदेशी गेमप्लान निर्माताहरूले सिर्जना गर्न खोजेको अवस्था यही हो । निर्वाचन भएन र संविधान खारेज भयो भने राजा आउँछन् भन्ने अनाडि तर्क पनि उत्तिकै छन् ।

यथार्थमा देश दीर्घ अस्थिरताको बाटोमा जानेछ । कांग्रेसका कारणले निर्वाचन हुन सकेन भने यो लोकतान्त्रिक शक्ति विघटनको सिकार हुनेछ । वामपन्थी गठबन्धनका कारणले निर्वाचन हुन सकेन भने नेपालमा वामपन्थी राजनीति समाप्त हुनेछन् । जो जे भए पनि नेपाल एकातिर धार्मिक उग्रता र अर्कातिर जातिवादमा विभाजित हुने खतरा पैदा हुनेछ । यसलाई बुझ्नु सत्तामा बसेको कांग्रेस र गठबन्धन बनाउने वामपन्थीको कर्तव्य हो ।

त्यसो त पहिलो चरणअन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि मनोनयन पत्र समेत दाखिला भइसकेको अवस्थाले सकारात्मक संकेत भने गरेको छ । तर यसबाट मात्र उत्साहित भइहाल्ने अवस्था भने छैन । - अन्नपूर्ण बाट

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget