Websoft University

www.radiomakalu.com || 021-522512


May 2019



विराटनगर , वैशाख १९ गते ।   प्रदेश नम्बर १ को राजधानी र नामकरणको टुङ्गो लगाउन सत्तारुढ दल नेकपाले आन्तरिक छलफललाई तीव्र बनाएको छ ।

मुख्यमन्त्री शेरधन राईको अगुवाइमा सहमतिकै आधारमा राजधानी र नाम तोक्नेगरी छलफललाई तीव्र बनाएको नेकपाको प्रदेश नम्बर १ कमिटीले जनाएको छ ।

सत्तारुढ दलका सांसदहरुबीच नै प्रदेश १ को राजधानी राख्ने विषयमा फरक मत आएपछि यो विषयमा सहमति जुट्न कठिन भएको नेताहरुले बताएका छन् । यद्यपि सहमतिकै आधारमा राजधानी र नाम टुङ्गो लगाउने भन्दै प्रदेश १ को सत्तारुढ दल नेकपाले सहमतिको पहल तीव्र बनाएको हो ।

बुधबार भएको छलफल सकारात्मक भएको भन्दै बिहीबार बिहानैबाट पुन छलफल थालिएको छ । पहिलो चरणमा सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ र उदयपुरका सांसदहरुसँग छलफल सकेर सर्वदलीय बैठक बसिरहेको मुख्यमन्त्रीका प्रेश संयोजक धु्रव सुवेदीले जानकारी दिए । उनका अनुसार पहाडी जिल्लाका सांसदहरुसँगको छलफलपछि मोरङ बाहेकका मेची र कोसी अञ्चलका प्रदेश सांसदहरुसँग छलफल गर्ने तयारी छ ।

छलफलमा मुख्यमन्त्रीसहित प्रदेश कमिटीका इन्चार्ज भीम आचार्य, सहइन्चार्ज सावित्री काफ्ले, संयोजक देवराज घिमिरे र सचिव सुरेशकुमार राई सहभागी छन् । राजधानी र नामका बारेमा आजसम्म सहमति जुटाएर प्रदेश बैठकमा प्रस्ताव पेश गर्ने तयारी थियो ।

तर, सहमति नजुटेपछि बिहीबार १ बजेका लागि बोलाइएको बैठक २२ गतेसम्मका लागि स्थगित गरिएको छ । यद्यपी सचिवालयले भने बैठक स्थगितबारे औपचारिक सुचना जारी गरिसकेको छैन । ‘अहिलेसम्म बैठक बस्ने नबस्ने निश्चित छैन, सम्भवतः आजका लागि बोलाइएको बैठक स्थगित हुन्छ’, प्रदेश नम्बर १ सचिवालय स्रोतले रातोपाटीलाई बतायो ।

प्रदेश १ को राजधानी विराटनगर, सुनसरी वा धनकुटा कहाँ राख्ने भन्नेमा तीव्र मतभेद छ ।

नेकपाका बहुसङ्ख्यक सांसदले विराटनगरको विकल्प खोज्न भन्दै हस्ताक्षर नै सङ्कलन गरेपछि राजधानी विवाद उत्कर्षमा पुगेको हो ।

प्रदेशका मुख्यमन्त्री शेरधन राईसहित मन्त्रिपरिषद्का सदस्यहरु विराटनगरमै राजधानी राख्नुपर्ने भन्नेमा छन् भने नेकपाका बहुसङ्ख्यक सांसद विराटनगरको विपक्षमा छन् ।

यसअघिको सहमतिअनुसार वैशाख १९ (आज बस्ने भनिएको) संसद बैठकमा प्रस्ताव लैजाने र २२ गतेभित्र नाम र राजधानी टुङ्ग्याउने तयारी थियो । तर, आन्तरिक छलफल सुरु भएलगत्तै राजधानीबारेको विवाद चुलिन पुगेको हो । बहुमत सांसद एकातिर भएका बेला अल्पसङ्ख्यकले भनेअनुसार निर्णय नहोस् भनेर मत राखेको प्रदेश सांसद लक्ष्मण तिवारीले बताए ।



९३ सदस्यीय प्रदेशसभामा नेकपाका ६७ सदस्य छन् । सभामुख र उपसभामुखबाहेक ६५ जना सांसदमध्ये नेकपाका ३७ सांसदले विराटनगर राजधानी बनाउन नहुने मागमा हस्ताक्षर गरेको बताइएको छ ।

पार्टी नेतृत्वले ‘ह्विप’ लगाएर भए पनि विराटनगर नै राजधानी तोक्ने तयारी थालेपछि उनीहरुले हस्ताक्षर अभियान चलाए तर कारबाही हुने डरले मुख खोल्न भने सकेका छैनन् । तर एक प्रदेश सांसदका अनुसार विराटनगर राजधानी तोक्ने सरकारको तयारीको विपक्षमा नेकपाका सांसदहरु सर्वध्वज साँवा, लिलम बस्नेत, राजेन्द्र राई, लक्ष्मण तिवारी, गोपाल बुढाथोकी, श्रीप्रसाद मैनाली, वसन्त बानियाँ, एकराज कार्की, बिर्ख प्रधान, जसमाया गजमेर, उमिता विकलगायत छन् ।

प्रदेश १ को प्रमुख विपक्षी दल नेपाली काँग्रेसले प्रदेशको राजधानी र नामकरणका विषयमा सरकारको प्रस्ताव पर्खिने जनाएकोे छ । मङ्गलबार बसेको काँग्रेस संसदीय दलको बैठकमा आफ्नो दलका सांसदको सुझावअनुसार नै सत्तारुढ दलको प्रस्तावलाई पर्खिने निर्णयमा पुगेको संसदीय दलका नेता राजीव कोइरालाले जानकारी दिए ।
- रातोपाटीबाट 

Related image

जाजरकोट, वैशाख १९ गते । नेपाल खाद्य संस्थान सर्मी डिपोका लागि पठाएको चामल बाटोमै बिक्री भएको छ ।

संस्थानबाट मुड्केचुला गाउँपालिका–७ सर्मीस्थित डिपोका लागि ल्याउँदै गरेको खाद्यान्न रुकुमको आठबिसकोट नगरपालिका–४ त्रिवेणीमा बिक्री भएको खुलासा भएको हो । त्रिवेणी जाजरकोट, डोल्पा र रुकुमबीच सिमानामा पर्दछ । सर्मी डिपो ल्याउने चामल बाटोमै बिक्री भएपछि स्थानीयवासीले खाद्यान्न नपाएको बताएका छन् ।

सरकारले अनुदानमा उपलब्ध गराउँदै आएको उक्त चामल ठेक्कामार्फत डिपोमा बर्षेनी ल्याउने गरिन्छ । बिसी ट्रेडर्स सल्यानका जनक बुढाले ठेक्कामार्फत ढुवानी गरेको एक हजार क्विन्टल चामल सर्मी खाद्यान्न डिपोमा नलगिएर रुकुमको त्रिवेणीमा बिक्री गरेको बताउनुभयो ।

सर्मी डिपोका कर्मचारी मुकुन्द पनेरुको उपस्थितिमा उक्त परिणामको चामल त्रिवेणीमा बिक्री भएको खाद्य संस्थान डोल्पाका प्रमख कमलराज पाण्डेले स्वीकार गर्नुभयो । यो वर्ष सर्मी डिपोका लागि दुई हजार क्विन्टल खाद्यान्न निर्धारण गरिएको छ । बाटोमै वितरण भएको चामल रुकुम आठबिसकोट नगरपालिका त्रिवेणीका स्थानीयवासीले खरीद गरेर लिएका छन् ।

सहुलियको चामल बाटामै बिक्री गर्दा मुड्केचुलाका स्थानीयवासीले अहिलेसम्म चामल नपाएको बताएका छन् । सर्मी डिपोमा एक गेडा चामल नभएको प्रमुख पाण्डेले बताउनुभयो । कर्मचारी, वडा १, २ र ३ का वडाध्यक्ष र ठेकेदारको मिलेमतोमा चामल बिक्री भएको बताइएको छ ।

तुल्सीपुरबाट ढुवानी गरेर ल्याएको खाद्यान्न त्रिवेणीमा बिक्री भएको छ भने जुम्ला र सुर्खेतबाट आउने एक हजार क्विन्टल चामल अहिलेसम्म सर्मी डिपोमा आइपुगेको छैन । यता मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बाटोमै चामल बिक्री गर्ने कर्मचारी र ढुवानी गर्ने ठेकेदारलाई कारवाहीको माग गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “मुड्केचुलाका जनताले चामल नपाएर हैरान छन्, उता भने बाटोमा बिक्री गरेर के गर्न खोजेको हो ?” वर्षेनी यहाँ उपलब्ध गराउँदै आएको चामल बाटोमै बिक्री–वितरण हुने गरेको अध्यक्ष शाहीले बताउनुभयो । अहिले सर्मी डिपोमा खाद्यान्नका लागि दैनिक स्थानीयवासी पुगे पनि चामल नहुँदा रित्तो हात फर्कनु परेको छ । फोनको सहज पहुँच नभएको मुड्केचुला गाउँपालिकामा कामभन्दा पनि ढाँटेर खाने प्रवृत्ति देखिएको स्थानीयवासीको गुनासो छ ।

खाद्यान्न उत्पादन नहुने यस क्षेत्रमा बाहिरबाट आयातीत अन्नबाट दैनिक जीविका चल्दै आएको छ । सरकारले अन्नुदानमा यहाँका जनतालाई उपलब्ध गराउँदै आएको चामल बाटोमै बिक्री गरेर कागज मिलाउने काम गर्दा मुड्केचुलावासी चामलको अभावमा समस्यामा परेका छन् ।

सर्मीबाट रुकुमको त्रिवणीमा पुग्न एक दिन लाग्ने गर्दछ । त्रिवेणीबाट मर्सीसम्म आउने ढुवानी भाडामा नाफा हुने भएकाले बाटोमै बिक्री हुँदै आएको छ । खाद्यन्न अभावका कारण दैनिक समस्यमा पर्ने मुड्केचुलावासी उपलब्ध गराउने चामल बाटोमै बिक्री गरेर यहाँका जनताको भावनामा चोट पुगेको सर्मीका रामबहादुर सिंहले बताउनुभयो । यो आर्थिक वर्षको चामल सर्मी डिपोमा अहिलेसम्म पुग्न नसक्दा सेवाग्राही मारमा परेका छन् ।

सडक सञ्जालसँग नजोडिएको यस क्षेत्रमा स्थानीयवासी दैनिक पीठ्यूँमा बोकेर खाद्यान्न ढुवानी गर्दैै आएका छन् । चिसो मौसममा जाजरकोट र रुकुमतिर झरेका उपल्लो डोल्पाका स्थानीयवासी अहिले यार्सागुम्बा सङ्कलन गर्ने समय आएको भन्दै डोल्पामा भित्रिएका छन् । तल्लो डोल्पाका स्थानीयवासी वर्षदिनभरि डोल्पामै बिताउने गरेका छन् ।
– हेमन्त केसी/रासस


Related image


काठमाडौँ, वैशाख १९ गते । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भोलि सङ्घीय संसद्को दुवै सदनमा प्रस्तुत हुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपराह्न दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रस्तुत नीति तथा कार्यक्रमका साथै आगामी आवको बजेटमा पनि छलफल हुनेछ । - रासस

Image result for prithvi subba gurung

चिप्लेढुङ्गा, वैशाख १९ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले न्याय परिषद्मा पार्टीका कार्यकर्ता नियुक्त हुनु दुर्भाग्य भएको बताउनुभएको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आज पोखरामा गरेको मुुलुकी देवानी र फौजदारी संहितासम्बन्धी जानकारी तथा कानूनी क्षमता अभिवृद्धि विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटनसत्रमा बोल्दै मुख्यमन्त्री गुरुङले विषयविज्ञबाहेकका पार्टी कार्यकर्ताबाट न्याय प्रणाली सफल नहुने धारणा राख्नुभएको हो ।

न्याय प्रणालीलाई व्यवस्थित नगरिकन सुशासन र समृद्धिको कल्पना गर्न नसकिने भन्दै न्याय प्रणालीलाई प्रभावकारी बनाउने अनुभवी विषयविज्ञको आवश्यकता रहने औँल्याउनुभयो ।
विभिन्न कालखण्डमा राजनीतिक व्यवस्था बदलिए पनि कानून बदलिन नसक्दा जनताले परिवर्तनको महसुस गर्न नपाएको उहाँको भनाइ थियो । मुलुक सङ्घीयतामा गइसक्दा पनि कानून निर्माणकर्ताले केन्द्रिकृत तवरबाटै कानून बनाउँदा एकल अधिकारमाथि हस्तक्षेप भएको उहाँको आरोप थियो ।

कर्मचारी सबै सिहंदरबारमा थुपारेको र प्रदेश कर्मचारीविहीन भएको यथार्थलाई कटाक्ष गर्दै उहाँले सिहंदरबारमा २० हजार कर्मचारी भए पुग्नेमा ४८ हजार किन भन्दै प्रश्नसमेत गर्नुभयो ।

नयाँ अभ्यास भएकाले सङ्घीय सरकार र प्रदेश सरकारमा अन्र्तद्वन्द्व देखिन सक्ने भन्दै यसलाई बेलैमा ध्यान दिएर अघि नबढे विकासको बाधक बन्न सक्नेतर्फसमेत ध्यान दिन मुख्यमन्त्रीले आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले सङ्घ, प्रदेश र स्थानीय तहबीच अधिकार, काम र योजनाको बारेमा छलफल हुननसकेको बताउनुभयो । सङ्घीयताको मोडलबाट अघि बढ्न र बनेका ऐन कानूनको बारेमा आम नागरिकसम्म पुग्न नसक्दा कानूनका विरुद्धका गतिविधि दोहोरिरहेको उहाँको भनाइ थियो ।
मन्त्रालयका सहसचिव धनराज ज्ञवालीले तीन तहकै पुनसंरचना तीन वर्षमा निर्माण भएकाले यसलाई उपलब्धिको रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले सङ्घीयतापछि कानून निर्माणको बहस प्रारम्भ भएको भन्दै अब संविधानको प्रत्येक अनुसूचीमा छलफल जरुरी रहेको धारणा राख्नुभयो ।

सो कार्यक्रममा विभिन्न क्षेत्रका १७० सरोकारवाला व्यक्तिको सहभागिता रहेको छ । -रासस

Image result for sugar jute bags

नवलपरासी, वैशाख १९ गते । नेपाली चिनीले बजार नपाएपछि पश्चिम नवलपरासीका चिनी उद्योगमा उत्पादनमा भएको करोडौँ  मूल्य बराबरको चिनी गोदाममा थन्किएको छ । अघिल्लो वर्ष साल्ट ट्रेडिङले विदेशबाट भित्र्याएको चिनी अझै बजारमा रहेको र नेपाली उद्योगबाट उत्पादित चिनीले विदेशबाट आयात भएको चिनीसँग प्रतिस्पर्धा गर्न नसक्दा उत्पादित चिनी बिक्री नभएको उद्योगको भनाइ छ ।


पश्चिम नवलपरासीको प्रतापपुरमा रहेको इन्दिरा चिनी उद्योगमा अहिले करीब ४२ हजार बोरा ९२१ हजार क्वीन्टल  चिनी बिक्री नभएर गोदाममा थन्किएको उद्योगका बिक्री शाखा प्रमुख दुर्गाप्रसाद चतुर्वेदी बताउनुहुन्छ । अहिलेको अवस्थामा नेपाली चिनी उद्योगले विदेशबाट भित्रिएको चिनीसँग बजार भाउमा प्रतिस्पर्धा गर्न नसक्नु र वर्तमान चिनीको मूल्यअनुसार बिक्री गर्न उद्योग पक्षलाई निकै चुनौती देखिएको उद्योगको तर्क छ ।

वर्तमान मूल्यलाई बढाएर सरकारले चिनीको मुल्य प्रतिकेजी भ्याटसहित रु ७८ कायम गरे मात्र नेपाली उद्योगमा उत्पादित चिनीले बजार पाउनसक्ने अवस्था रहने चतुर्वेदीको भनाइ छ । हाल चिनीको बजार मूल्य प्रतिकेजी रु ६८ देखि रु ७० रहेको उद्योगले बताएको छ । सरकारले जसरी उखुको मूल्य निर्धारण गरेको छ सोहीअनुसार उद्योगको लागतको आधारमा चिनीको मूल्य निर्धारण गर्नुपर्ने उहाँले बताउनुभयो ।

उखु पूर्ण गुणस्तरीय नहुँदा चिनी उद्योगमा उखुबाट निस्कने चिनीको मात्रा कम हुनु, नेपाली उद्योगमा उत्पादित चिनीको लागत बढी रकम पर्न जाँदा सहजैरुपमा विदेशी चिनीसँग प्रतिस्पर्धा गर्न नसक्दा उत्पादित चिनी अहिले बिक्री नभएर थन्किएको हो ।

यसैगरी पश्चिम नवलपरासीको कुडियास्थित बाग्मती चिनी उद्योगमा पनि अहिले करीब ५२ हजार क्विन्टल तयार गरिएको चिनी बिक्री नभएर थन्किएको अवस्था रहेको उद्योगले जनाएको छ ।

साल्ट ट्रेडिङले अघिल्लो वर्ष विदेशबाट मगाएको चिनी अझै बजारमा बिक्री गरिरहेको छ । यस्तो अवस्थामा नेपाली उद्योगमा उत्पादन भएको चिनी महँगो पर्न गई हालको अवस्थामा नेपाली चिनीले बजार पाउन नसकेको उद्योगका उखु महाप्रबन्धक गोपाल सापकोटा बताउनुहुन्छ ।

यस उद्योगमा पनि अहिले तयारी अवस्थामा रहेको धेरै चिनी बिक्री भएको छैन । नेपाल सरकारको उखु उत्पादनसम्बन्धी प्रभावकारी योजना नहुँदा उखु किसान र उद्योग दुवै मर्कामा पर्दै आएको उद्योगको तर्क छ । सापकोटाले नेपाललाई चिनीको क्षेत्रमा आत्मनिर्भर बनाउन सक्ने अवस्था रहेको बताउनुभयो । उहाँले यसका लागि सरकारले उखु उत्पादनसम्बन्धी प्रभावकारी नीति ल्याएर किसान र उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

पश्चिम नवलपरासीमा इन्दिरा, बाग्मती, लुम्बिनी र मोहिनी गरी चार ठूला चिनी उद्योग रहेका छन् । यसमध्ये यस वर्ष इन्दिरा र बाग्मती चिनी उद्योग मात्र अहिलेसम्म सञ्चालनमा रहेका छन् । मोहिनी चिनी उद्योग वर्षौंदेखि सञ्चालन हुनसकेको छैन भने लुम्बिनी चिनी उद्योग पनि यस वर्ष केही समय सञ्चालनमा आएर पुनः बन्द रहेको अवस्था छ । यसअनुसार लुम्बिनी चिनी उद्योगमा पनि केही चिनी उत्पादन भएर थन्किएको बताइएको छ ।

तीस देखि ३५ लाख क्विन्टल उखु उत्पादन हुँदै आएको पश्चिम नवलपरासीमा यस वर्ष करीब १८ देखि २२ लाख क्विन्टल मात्र उखु उत्पादन भएको अनुमान गरिएको छ । ढिलो गरी चिनी उद्योग सञ्चालनमा आएका कारण र जिल्लामा रहेका सबै चिनी उद्योग समयमै सञ्चालनमा नआउँदा किसानको केही उखु क्रसिङ हुन नसक्दा खेतमा रहने निश्चित छ । पश्चिम नवलपरासीमा करीब दश हजार घरपरिवार उखु खेतीमा निर्भर छन् । - रासस








काठमाडौँ, वैशाख १९ गते । आफन्त बिरामी हुँदा प्रयोग हुने सिटामोल, ट्याबलेट तथा क्याप्सुलका पत्ता र खोल तपाईँ के गर्नुहुन्छ ? सिधै डष्टबिनमा पठाउनुहुन्छ होला, तर त्यही पत्ता उपयोगी हुन्छ भन्ने कुरा थोरैलाई मात्रै थाहा होला । एकजना भारतीय कलाकार वीमान नागले भने त्यही पत्तालाई प्रयोग गरी आकर्षक मूर्ति बनाएर उदाहरणीय बन्नुभएको छ । उहाँका यी मूर्तिहरु अहिले काठमाडौँको नेपाल कला परिषदमा प्रदर्शनीमा राखिएको छ ।


गीतकारका साथै रेल चालकसमेत रहनुभएका नाग कुशल मूर्तिकारसमेत हुनुहुन्छ । सानै देखिको सोखका कारण उहाँले फालिएको ट्याबलेटका खोलबाट चित्र बनाउँदै आउनुभएको हो । अहिले उहाँको मूर्तिकला व्यावसायिक बनेको छ । एउटा चित्र लाखौँमा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । काठमाडौँमा प्रदर्शन गरिएका चित्रका मूल्य भने ५० हजार भारुसम्मका छन् ।

उहाँले फ्याँकिएका ट्याबलेटका खोलबाट बनाउनुभएको भगवान् गणेशले भायोलिन बाजा बजाउँदै गरेको तस्वीर सुन्दर लाग्छ । पाँच दिनदेखि जारी इन्डो–नेपाल अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीमा उहाँका मूर्तिले धेरैको मन जितेको छ ।

अझ फालिएका औषधिका पत्ताबाट बनाइएको भनेपछि धेरै प्रश्न आउने गरेको कलाकार वीमानले बताउनुभयो । “नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले चित्र अवलोकन गर्दा सार्है राम्रो र उपयोगी काम भनेर प्रशंसा नै गर्नुभयो”, वीमानले अनुभव सुनाउनुभयो ।

काठमाडौँमा भएको प्रदर्शनीमा गणेशसहित बुद्ध, बिरालो, मुकुण्डो र दुर्गामाताको मूर्ति छ । फालिएका वस्तुसमेत उपयोगी हुनसक्छ भनेर आफूले मूर्ति प्रदर्शनीका लागि नेपाल ल्याएको उहाँको भनाइ छ । गाउँ चहारेर ट्याबलेटका खोल सङ्कलन गर्ने गरेको भन्दै उहाँले धेरै साथीभाइ आफन्त र चिनेजानेको ठाउँमा सङ्कलन अभियान नै चलाउने गर्नुभएको छ ।

यसरी मूर्ति बनाउने आफू भारतको एकमात्रै कलाकार भएको दाबी गर्ने उहाँले मूर्तिमा भने कुनै पनि बाह्य रङ प्रयोग गर्नुहुन्न । उहाँसँगै पत्नी शाम्पा नाग पनि हुनुहुन्छ । “बीस वर्ष अघि नेपाल घुमेर मात्रै गइयो, यसपालि मूर्तिकला प्रदर्शनीसँगै यहाँको पशुपतिनाथ र स्वयम्भूलगायत ठाउँ घुम्ने मौका मिल्यो, साहै्र सुन्दर, प्रकृतिले भरिपूर्ण छ नेपाल, नेपालीको सहयोगीभावले हर्षित बनाएको छ ।” शाम्पाले भन्नुभयो ।

स्वयम्भूस्तुपाको डिजाइनले आफूलाई मन लोभ्याएको बताउँदै कलाकार वीमानले भन्नुभयो, “अर्को वर्ष यसरी प्रदर्शनीमा आउँदा अवश्य पनि त्यही ट्याबलेटको पत्ताबाट बनेको स्वयम्भूको मूर्ति लिएर आउँछु ।” यहाँ प्रदर्शनीमा भारतका १० कलाकारका चित्रकला राखिएको छ । यस्तै नेपाली चौबीस चित्रकारका चित्र समावेश छन् । एकजना बङ्गलादेशका चित्रकारका चित्र पनि छ ।

चित्रकला प्रदर्शनीका संयोजक सपना शाहका अनुसार यहाँ नेपाल, भारत, बङ्गलादेश र बेलायतका ३६ चित्रकारका ६५ भन्दा बढी चित्रकला, पाँच मूर्तिकला र एक भिडियोकला प्रदर्शनमा छ । प्रदर्शनीमा नेपाल, भारत र बङ्गलादेशको कला, संस्कृति, रहनसहन, रीतिरिवाज, जीवनशैली, मुहार चित्र समावेश छ । नेपाल र भारतबीच सांस्कृतिक आदानप्रदान गरी शान्ति र मानवताको सम्बन्ध विस्तार गर्दै आपसी सद्भावका लागि ‘इन्डो–नेपाल कला उत्सव’ आयोजना गरिएको हो । - रासस

Image result for सम्पदा पुनर्निर्माणले गति लिन सकेन

काठमाडौँ, वैशाख १९ गते । गोरखा भूकम्प २०७२ ले भत्केका काठमाडौँ उपत्यका लगायत देशभरका २२४ वटा पुरातात्विक तथा सांस्कृतिक सम्पदाको पुनर्निर्माण भइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
त्यस्तै, २२१ सम्पदा पुनर्निर्माण भइरहेको र पुनर्निर्माण हुन ३०८ बाँकी रहेका छन् । महाभूकम्पले काठमाडौँ उपत्यकामा भत्केका आधा दर्जनभन्दा बढी प्राचीन सम्पदाको पुनर्निर्माण कार्य भने बीचमै रोकिएका छन् ।
पुनर्निर्माणको प्रक्रिया सुरु भइसकेका काठमाडौँ र ललितपुरस्थित केही विश्वसम्पदा सूचीमा सूचीकृत र ऐतिहासिक महत्वका केही सम्पदाको पुनर्निर्माण बीचमै रोकिएका हुन् ।
सम्पदा पुनर्निर्माण हुँदा पहिलेकै स्वरुपमा नभई आधुनिकीकरण गरी निर्माण भएको र गर्न लागिएको भन्दै स्थानीयले विरोध जनाएपछि पुनर्निर्माणमा रोक लागेको हो ।
विश्व सम्पदा क्षेत्रमा सूचीकृत केही धरोहर पुनर्निर्माण भने सम्झौता गरेका दातृ निकायले जथाभावी निर्र्माण गरेको भन्दै रोकिएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ ।
ललितपुरको पर्या सम्पदास्थल बुङमतीमा रहेको धार्मिक सांस्कृतिक सम्पदा रातो मछिन्द्रनाथको मन्दिर निर्माण गर्न श्रीलंकाले दुई वर्षको सम्झौता गरेको थियो । सम्झौताअनुसार काम सुरु पनि भयो तर पहिलेको संरचना विपरीत कंक्रिट, सिमेन्ट लगायत सामग्री राखिन थालेपछि स्थानीयले विरोध गरे । यो मन्दिर झण्डै एकहजार ६०० वर्ष पुरानो हो ।
ललितपुर महानगरपालिका, युनेस्को तथा पुरातत्व विभागका प्रतिनिधिले अनुगमन गर्दा प्राचीन मर्मअनुसार नभएकाले रोकिएको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो ।
श्रीलंकाले दुई ठेकेदारमार्फत् कुल पाँच करोड २१ लाख रुपियाँमा निर्माण गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्झौता गरेको थियो । यो सहित सरकारको बोलपत्र आह्वानमा ललितपुरको राधाकृष्ण मन्दिर, शंखमुलको जगतनारायण मन्दिर र पाटनको कृष्ण मन्दिर पुनर्निर्माण गर्न दिइएको थियो ।
बजेट घटाघटमा निर्माण ठेक्का लिने अनि निर्माण गर्दा गुणस्तरहीन काम देखिएको महर्जनले बताउनुभयो । प्राधिकरणका कार्यकारी अधिकृत सुुशील ज्ञवालीले विभागसँग समन्वय नहुँदा गुणस्तरीय काम नभएकोे बताउनु भयो ।
काठमाडौंँस्थित विश्व सम्पदा सूचीमा सुचीकृत वसन्तपुर दरबार क्षेत्रका केही सम्पदाको पुनर्निर्माण अझै सुरु हुनसकेका छैनन् । “स्थानीयले विरोध गरेपछि रोकिएको छ,” हनुमानढोका दरबार हेरचाह अड्डा प्रमुख अरुणा नकर्मीले बताउनुभयो ।
“कागजपत्र, नक्सा पास लगायत सबै काम सकिएको थियो ।” यहाँ स्थित जगन्नाथ मन्दिर, गोपीनाथ मन्दिर, आगम छेँ मन्दिर, नागपोखरीको शिव मन्दिरको पुनर्निर्माण सुरु हुनैलाग्दा रोकिएको जानकारी उहाँले दिनुभयो ।
जैसीदेवल, दशावतार, माजुदेग, रानी पोखरी लगायत संरचना पुननिर्माणमा पनि विवाद देखिएको थियो । ती क्षेत्रमा काठमाडौँ महानगरपालिका, पुरातत्व विभाग र उपत्यका संरक्षण समितिको संयुक्त पहलमा काम भइरहेको छ ।
“माजुदेगको बोलपत्र पुरातत्व विभागले नै नियम अनुसार दिएको हो,” एक कर्मचारीले भन्नुभयो, “बनाउँदै गर्दा पछि मिटिङ डाकेर के के मिलेन भनेर रोक्नुभयो ।” महानगरपालिकाले सम्पदा निर्माणका लागि पाएको १९ करोड रुपियाँ बजेटमध्ये दश करोड सक्दा सहुलियत ढंगमा राम्रो पुनर्निर्माण भएको दाबी उहाँले गर्नुभयो ।
युनेस्कोको नेपालस्थित कार्यालयका कर्मचारी निपुन श्रेष्ठका अनुसार रातो मछिन्द्रनाथको मन्दिर पुनर्निर्माणको तत्कालीन काम राम्रो थिएन । “सार्वजनिक खरिद ऐन अनुसार यस्ता सम्पदा पुननिर्माणको ‘टेण्डर’ दिँदा गुणस्तर र समयको ख्याल गर्नुपर्र्छ,” उहाँले भन्नुभयो, “पर्यटकीय क्षेत्र जस्तै सम्पदा पनि सरकारको प्राथमिकतामा हुनुपर्छ ।”
पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले गुणस्तर र सङ्ख्यात्मक हिसाबले सम्पदाको पुनर्निर्माणमा केही त्रृटि र ढिलाइ भएको स्विकार गर्नुभयो । उहाँले थप्नुभयो, “हाम्रो पक्षबाट डिभिजनल इन्जिनियरले सिफारिस गरे अनुसार काम भएको छ ।”
सम्पदाको संरक्षणमा अनुगमनकारी भूमिकाबाट हेर्दा केही समस्या आइरहेको युनेस्कोका तर्फबाट नेपालमा काम गरिरहनुभएका क्रिष्टियन म्यानहन्टले बताउनुभयो । उहाँका अनुसार नेपालका धार्मिक तथा ऐतिहासिक महत्वका ७०० सम्पदामा भूकम्पले असर गरेको थियो । जसमध्ये एउटा पूर्ण नष्ट भएको अवस्था थियो । - चाँदनी हमाल ; गोरखापत्र अनलाइनबाट 

tatopani

काठमाडौँ, वैशाख १९ गते । नेपाललाई चीनसित जोड्ने तातोपानी नाका पुनः सञ्चालनमा ल्याउनका लागि तीव्र गतिमा काम भइरहेको छ । नेपाल र चीनको सिमानामा रहेको मैत्रीपुल र अरनिको राजमार्गको निर्माण कार्य तीव्र गतिमा भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले जनाएको छ ।
सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जेठको तेस्रो सातादेखि तातोपानी नाका पुनः सञ्चालनमा ल्याउने सरकारको घोषणा पूरा गर्ने गरी भूकम्प र बाढीबाट क्षतिग्रस्तसडक र पुलको निर्माण कार्यलाई तीव्रता दिएको बताउनुभयो ।
सीमामा रहेको मैत्रीपुलको निर्माण कार्य अबको एक महिनाभित्र सम्पन्न गर्ने गरी २४ घण्टा निर्माण कार्य जारी रहेको जानकारी उहाँले दिनुभयोे । सरकारी उच्चस्तरीय टोलीद्वारा चैत २६ गते अरनिको राजमार्ग र तातोपानी नाकाको स्थलगत अवलोकन गराएको थियो । अवलोकनका क्रममा टोलीद्वारा जेठको १७ गतेबाट तातोपानी नाका पुनः सञ्चालनमा ल्याउने जानकारी गराइएको थियो । काठमाडौँदेखि सिन्धुपाल्चोकको तातोपानीसम्मको दूरी ११४ किलोमिटर छ ।
जेठभित्र निर्माण सम्पन्न
सडक डिभिजन कार्यालय, चरिकोटका डिजिभन प्रमुख धर्मेन्द्र झाले सरकारको घोषणा अनुसार निर्धारित समयमा नै तातोपानी नाका पुनः सञ्चालनमा ल्याउनका लागि अहिले दिनरात काम भइरहेको बताउँदै जेठभित्र मैत्रीपुल तथा सम्पूर्ण निर्माण कार्य सम्पन्न हुने जानकारी दिनुभयो ।
अहिले खाँडीचोर–बाह्रबिसेदेखि चाइनिज क्याम्प खण्ड (१५ किलोमिटर) मा कालोपत्रे कार्य भइरहेको बताउँदै उहाँले अहिले विभिन्न स्थानमा नदी कटान रोकथाम, पहिरो नियन्त्रण तथा सडक पुनस्र्थापनाको काम भइरहेको जानकारी समेत दिनुभयो ।
त्यसैगरी, चिनियाँ पक्षबाट अहिले बनदेउ–बाह्रबिसे खण्ड र बाह्रबिसे–कोदारी खण्डमा नदी कटान रोकथाम, पहिरो नियन्त्रण तथा सडक पुनस्र्थापनाको कार्य भइरहेको जनाइएको छ ।
त्यसैगरी, उहाँले कोठे पहिरो खण्डमा नदी कटान रोकथामको लागि प्लम कंक्रिटसहित पर्खालको कार्य भइरहेको, जुरे पहिरो खण्डमा पहिरो रोकथामको लागि पर्खाल तथा नदी कटान रोक्न प्लम कंक्रिटको कार्य भइरहेको जानकारी दिनुभयो ।
त्यसैगरी, महाभीर सडक खण्डमा टेवा पर्खालको कार्य, बाह्रबिसे हेल्थ पोस्ट सडक खण्डमा नदी कटानले क्षति पुगेको स्थानको पुनस्र्थापनाको कार्य भइरहेको छ । त्यस्तै, बसेरी नदी कटानले क्षति पुगेको सडकको पुनस्र्थापनाको कार्य भइरहेको, बाह्रबिसे–जम्बु सडक खण्डमा कालोपत्रे सडक पुनस्र्थापनाको कार्य, दोलालघाट—बलेफी सडक खण्डको ‘रिकुरेन्ट’ मर्मतको कार्य भइरहको, लामोसाँघु–बाह्रबिसे सडक खण्डको ‘पिरियोडिक’ मर्मतको कार्य र बनदेउ–बाह्रबिसे सडक खण्डको विभिन्न स्थानमा नाली तथा जीर्ण संरचनाको पुनर्निर्माण कार्य भइरहेको जानकारी उहाँले दिनुभयो ।
सुख्खा बन्दरगाह निर्माण
सिन्धुपाल्चोकको लार्चामा निर्माणाधिन सुख्खा बन्दरगाह अबको एक महिनापछि चीन सरकारले नेपाललाई हस्तान्तरण गर्ने जानकारी समेत डिभिजन प्रमुख झाले दिनुभयो । चीन सरकारको सम्पूर्ण आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन सो बन्दरगाहको लगभग सबै निर्माण कार्य सम्पन्न भइसकेको जानकारी समेत उहाँले दिनुभयो ।
साँदी खोलामा ‘बेलिब्रिज’
अरनिको राजमार्गमा पर्ने बाह्रबिसे नगरपालिकाको खुर्सानीबारीस्थित साँदी खोलामा ‘बेलिब्रिज’ निर्माण हुने भएको छ । अबको एक साताभित्र ‘बेलिब्रिज’ निर्माण कार्य शुरु हुने बताउँदै डिभिजन प्रमुख झाले पुल निर्माणका लागि आवश्यक सामग्रीको ढुवानी भइरहेको जानकारी समेत उहाँले दिनुभयो ।
अरनिको राजमार्गलाई तत्तकाल सञ्चालनमा ल्याउनका लागि अस्थायी रुपमा ‘बेलिब्रिज’ निर्माण गर्न लागिएको हो ।
तातोपानी नाकाको निरीक्षण
यसैबीच, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाले, बाह्रबिसे नगरपालिकाका मेयर निमाफोर्जे शेर्पा, सडक डिभिजन कार्यालय, चरिकोटका डिजिभन कार्यालयका प्रमुखसहितको टोलीले बुधबार तातोपानी नाकाको स्थलगत अवलोकन तथा निर्माण कार्यको निरीक्षण गरेको जानकारी डिभिजन प्रमुख झाले दिनुभयो ।
सन् १९६० मा चीन सरकारकै अनुदान सहयोगमा निर्माण भएको अरनिको राजमार्ग २०७२ सालको गोरखा भूकम्पमा विभिन्न स्थानमा क्षति भएपछि यो नाका बन्द भएको छ । - भउचप्रसाद यादव , गोरखापत्र अनलाइनबाट

biratnagar

विराटनगर , वैशाख १८ गते । अस्थायी रूपमा प्रदेश नं १ को राजधानीको रुपमा रहेको विराटनगर महानगरपालिका स्थायी राजधानीको रुपमा स्थापित हुने पर्खाइमा रहेको छ । प्रदेशसभाको वैशाख १९ गते बस्ने बैठकमा प्रदेश स्थायी राजधानी र नामकरणको प्रस्ताव पेश हुने र सम्भवतः वैशाख २२ गते प्रदेशको राजधानी र नाम प्रदेशसभाको बैठकबाट घोषणा हुनसक्ने भएकाले नै विराटनगर महानगरपालिका यतिबेला निर्णयको प्रतीक्षामा रहेको छ ।

अस्थायी राजधानीको रुपमा विराटनगर महानगरपालिकाको गर्भमा हुर्किरहँदा केही दिनभित्रै स्थायी राजधानीको रुपमा जन्म लिनेमा स्थानीयवासी ढुक्क देखिन्छन् । यतिखेर सेवा, सुरक्षा र सुविधाको दृष्टिकोणले प्रदेश नं १ को राजधानी विराटनगर हुनुपर्ने धारणा व्यापक रुपमा देखिएको छ ।

पछिल्लो राजनीतिक परिवर्तनपछि मुलुकमा बनेका प्रदेशका अस्थायी राजधानीअन्तर्गत प्रदेश नं १ को राजधानी बनेको विराटनगर महानगरपालिका नै स्थायी राजधानी बन्नुपर्ने व्यापक तर्क र बहसले अन्तिम रुप लिने अवस्थामा देखिन्छ । आर्थिक, सामाजिक, राजनीतिक र बहुसांस्कृतिक विविधता बोकेको विराटनगरमा स्थायी राजधानीका लागि प्रशस्त पूर्वाधार र सम्भावना छन् । विराटनगरलाई स्थायी राजधानी बनाउन र राजधानीको नाम किटान गर्न प्रदेशसभाले बृहत् विराट विकास क्षेत्र विधेयक २०७५ पारित गरी प्रदेश प्रमुखबाट प्रमाणीकरण पनि भइसकेकाले प्रदेश सरकारलाई स्थायी राजधानी र नाम घोषणा गर्न बाटो खुलेको छ ।

बृहत विराट विकास क्षेत्रमा अहिले १८ स्थानीय निकाय समावेश गरेकाले पनि विराटनगर नै राजधानी बन्न सक्ने अनुमान धेरैले लगाउन थालेका छन् । बृहत विराट विकास क्षेत्रको अवधारणा र यससँग जोडिएका नगरपालिका र गाउँपालिकामा अवस्थित धार्मिक, पर्यटकीय स्थल एवं ऐतिहासिक महत्वका स्थानको पनि विकास हुने र यसबाट आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सकिन्छ ।

क्षेत्रअन्तर्गत मोरङ जिल्लामा पर्ने विराटनगर महानगरपालिकामा दुई लाख १४ हजार ६६३, रङ्गेली नगरपालिका ५२ हजार १३, सुन्दरहरैंचा नगरपालिका ५० हजार ५१८, बुढीगङ्गा गाउँपालिका ४१ हजार ५८६, धनपालथान गाउँपालिका ३९ हजार ३९४, जहदा गाउँपालिका ४१ हजार ८१९, कटहरी गाउँपालिका ३९ हजार ७७५, ग्रामथान गाउँपालिका ३२ हजार ७१६ र केराबारी गाउँपालिका ३० हजार ४३१ जनताको बसोबास रहेको छ ।

सुनसरी जिल्लाअन्तर्गत पर्ने इटहरी उपमहानगरपालिका एक लाख ४० हजार ५१७, धरान उपमहानगरपालिका एक लाख ३७ हजार ७०५, इनरुवा नगरपालिका ६३ हजार ५९३, दुहवी नगरपालिका ५६ हजार २६९, वराह नगरपालिका ७७ हजार ४०८, बर्जु गाउँपालिका ३१ हजार १७८, गढी गाउँपालिका ३४ हजार ८५२, रामधुनी नगरपालिका ५१ हजार ७५२ र कोशी गाउँपालिकामा ४३ हजार ६२६ जनसङ्ख्या रहेको छ ।

सुनसरीका धार्मिक स्थल बराह क्षेत्र, चतराधाम, बुर्जुताल, धरानको पीण्डेश्वर, बुढासुब्बा, दन्तकाली, कोशी टप्पु वन्यजन्तु आरक्षण क्षेत्र र मोरङका धनपालगढी, विराट राजाको दरबार, रङ्गेलीको कालीमन्दिर, सन्सारी माईस्थान, विराटनगरको कालीमन्दिर यस्ता अनेकौँ मठमन्दिर र सीमसार एवं तालतलैयामा विकास भई पर्यटकलाई आकर्षित गर्न मद्दत पुग्ने छ ।

आर्थिक, राजनीति, धार्मिक, सामाजिक हिसावले पनि विराटनगर नै राजधानी हुनुपर्ने धेरै कारणहरु रहेको महानगरका प्रमुख भीम पराजुली बताउनुहुन्छ । विराटनगर शहर विसं १९७१ मा मोरङको पूर्वी तथा दक्षिणी क्षेत्र रङ्गेलीबाट स्थानान्तर भएर आएको लगभग सय वर्ष पार गरिसकेको छ भने अहिले मुलुककै दोस्रो विकसित शहरको रुपमा चिनिएको छ ।

विराटनगर महानगरपालिकाले हाल विकसित रुप लिँदै ७७ वर्गकिमीमा फैलिएको छ भने यो शहरमा दुई लाख ८० हजार जनसङ्ख्या वसोवास गर्दछन् । कूल १९ वडा रहेको विराटनगर महानगरपालिकामा ४७ हजार ७९८ घरधुरी छन् ।
विराटनगर महानगरपालिका क्षेत्रभित्र सुरक्षाको दृष्टिकोणले पूर्व क्षेत्रीय प्रहरी कार्यालय, सशस्त्र गणदेखि अन्य सुरक्षाका निकायहरु सुदृढ रुपमा स्थापित छन् ।

कुनै समयमा औद्योगिक नगरीको रुपमा परिभाषित विराटनगर पछिल्लो समयमा राजनीतिको राजधानी भन्नुको तात्पर्य यस क्षेत्रबाट पञ्चायतकालमा मातृकाप्रसाद कोइराला, नगेन्द्र रिजाल त्यसपछिका राजनीतिक परिवर्तनसँगसँगै विपी कोइराला, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्न सफल हुनुभएको छ ।

दर्जनौँ मन्त्री र समाजसेवी उत्पादन भएको यो क्षेत्रलाई विकसित गर्न ब्रिटिश सरकारले धरानमा स्थापना गरेको मलाया क्याम्प जान भारतको जोगबनीदेखि विराटनगर हुँदै धरानसम्मको सडक निर्माण गर्नु र अहिले सो बाटो छ लेनमा विकसित हुँदै जानुको अतिरिक्त पूर्व–पश्चिम जोड्ने हुलाकी मार्ग विराटनगरसँग जोडिनु, विराटनगरबाट पूर्वमा झापाको भद्रपुर जान, विराटनगरबाट पूर्व–पश्चिमको महेन्द्र राजमार्गको उर्लाबारी जान र विराटनगरबाट वाइपासको बाटो सोही राजमार्गको विराटचोक जान सुविधा र सुमार्ग भएकाले पनि विराटनगर प्रदेश नं १ को राजधानी हुनुपर्ने आम जनताको धारणा छ ।

हाल क्षेत्रीयस्तरको विमानस्थल, औद्योगिक, शैक्षिक र स्वास्थ्य प्रतिष्ठानले पूर्णता दिएको विराटनगर राजधानी हुनलाई कुनै पनि कुराले अवरोध नहुने स्थानीय ज्येष्ठ नागरिक इन्द्रप्रसाद दाहालले बताउनुभयो । राजधानी र नामकरणको विषयमा राजधानी विराटनगर नै हुनुपर्ने उहाँको दाबी छ । हिमालबाट बगेर आउने सप्तकोशी नदी प्रदेश नं १ मा झापाबाहेकका सबै जिल्लामा पानी वितरण र भावनासँग जोडिएकाले यो प्रदेशको राजधानीको नाम कोशी हुनुपर्ने दाबी गर्नुभयो ।

महानगरपालिका प्रमुख पराजुलीले विराटनगर प्रदेशको राजधानी हुनुपर्ने र यसका लागि महानगरपालिकाबाट गरिने सबै किसिमको सहयोग गर्न तयार रहेको प्रतिबद्धता विभिन्न सार्वजनिक समारोहमा व्यक्त गर्दै आउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा विराटनगर महानगरपालिका निवासी विनोद ढकालले सबै सम्भावना बोकेकै कारण अस्थायी रुपमा बनेको प्रदेश नं १ को राजधानी अन्यत्र सार्न नमिल्ने तर्क गर्दै यो प्रदेशको नाम विवादरहित तरिकाले कोशी वा सगरमाथा राख्नुपर्ने धारणा विगतदेखि राख्दै आउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश रेग्मीले भौतिक पूर्वाधार, राजनीतिक चेतना, आर्थिक क्षेत्र, ऐतिहासिकतासँग जोडिएको विराटनगर नै स्थायी राजधानी हुनुपर्ने भन्दै सामाजिक सद्भाव र एकताका लागि यो प्रदेशको नाम ‘सगरमाथाको देश सगरमाथाको प्रदेश’ भएमा सबैको शीर उच्च हुने र अन्तर्राष्ट्रियस्तरमा पनि चिनारी र पहिचान हुने तर्क राख्नुहुन्छ ।

जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले प्रदेशको राजधानी विराटनगर बनाउन समितिले प्रयोग गर्दै आएको आलिशान भवन प्रदेशसभाको सचिवालय एवं प्रदेशसभा सञ्चालन गर्न सम्पूर्ण रुपमा त्यो भवन हस्तान्तरण गरिसक्नुभएको छ । अहिले प्रदेशसभाको बैठक, सचिवालयको कामकारवाही, विभिन्न राजनीतिक दलका संसदीय दल नेताका कार्यालय, सभामुख तथा उपसभामुखको कार्यालय सञ्चालन भइरहेको छ भने प्रदेशसभाको लागि आवश्यक पर्ने सबै पूर्वाधार जुटाउने र व्यवस्थापन भइरहेको देखिन्छ । – मोहम्मद सदरुल
गोरखापत्र अनलाइनबाट 

Image result for anfa nepal

काठमाडौँ, वैशाख १८ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एन्फा एकेडेमीका लागि ८१ जना उमेर समूहका खेलाडी छनोट गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज बिहान सम्पन्न छनोटबाट एन्फाले मेडिकल परीक्षणका लागि ८१ जना यू–१३ उमेर समूहका खेलाडी छनोट गरेको हो । मुलुकभरबाट छानिएर आएका खेलाडीबीच वैशाख १२ देखि अन्तिम चरणको छनोट गर्दै एन्फाले ८१ खेलाडी छानेको सूची तयार पारेको हो ।

एन्फाले छनोट भएका ८१ खेलाडीको मेडिकल परीक्षण गर्नेछ । मेडिकलपछि एन्फाले एकेडेमीका लागि ५० जना खेलाडी छनोट गर्नेछ । छनोट भएका खेलाडीलाई एन्फाले बुटवल र धरानको एकेडेमी राखेर पढाइका साथै फुटबल प्रशिक्षण दिने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनुभयो ।

यस्तै यसै छनोटबाट आएका यू–१६ खेलाडीले एशियाली फुटबल महासङ्घ (एएफसी) यू–१६ छनोटमा नेपालको प्रतिनिधित्व गर्ने एन्फाले जनाएको छ ।

छनोट हुने खेलाडीमा विक्रम गौतम, विजय राज शाही, विश्वास ओझा, दीपक थापामगर, विपिन थापा, अनिल खड्का, अजय लामा, मनोज खुलाल, सुमन भेटवाल, रोनिक रानामगर, सुजल घलेलगायत ८१ जना रहेका छन् । - रासस



टोक्यो, वैशाख १७ गते । जापानी राजा आकिहितोले मङ्गलबार जापानको राजगद्दी त्याग गर्न लाग्नु भएको छ ।

पचासी वर्षीय आकिहितोले केही वर्ष अगाडीदेखि नै आफ्नो स्वास्थ्यको कारण राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न असमर्थ भएको जनाउनु भएपछि उहाँले गद्दी त्याग्ने वैधानिक अनुमति पाउनु भएको थियो ।

आकिहितोले राजगद्दी त्याग्नु भएको भोलिपल्ट नै युवराज नारुहितोले जापानी राजसिंहासन सम्हाल्नु हुनेछ । अर्थात मे १ बाट युवराज नारुहितोले जापानी राजसिंहासन सम्हाल्नु हुन भएको छ । जापानमा राजासँग कुनै राजनीतिक अधिकार हुँदैन तर राष्ट्रिय प्रतीकको त्यहाँ राजाको ठूलो सम्मान हुने गरेको छ । मे १ बाट जापानमा नयाँ शाही युगको शुरुवात हुदैछ ।

यसको तयारी स्वरुप हाल सो शाही युगको नाम घोषणा गरिएको छ । सोमबार जापानी सरकारका मुख्य सचिव योशिहिडे सुगाले यसको घोषणा गर्नु भएको थियो ।

सुगाले हस्तलिखित वर्णमालाहरुको एक कार्डबोर्ड देखाएर नयाँ युगको नाम ‘रेईवा’ सार्वजनिक गर्नु भएको थियो । हाल जापानमा ‘हेइसी’ युग चलिरहेको छ । तीन दशकसम्म चलेको हेइसी युग यही महिना वर्तमान राजा आकिहितोले गद्दीत्याग गरेसँगै अन्त्य हुनेछ ।

जापानमा सम्राट अनुसार युगको नामकरण गरिन्छ । प्रधानमन्त्री शिन्जो आवेले शब्दको अर्थ व्याख्या गर्नको लागि देशबासीको नाममा सम्बोधन गर्नु हुने छ ।


आफ्नो खराब स्वास्थ्यका कारण गद्दी त्याग्न चाहेको सम्राट आकिहितोले तीन वर्षअघि नै बताउनु भएको थियो । जापानमा गरिएका मत सर्वेक्षणहरूले अधिकांश जापानीहरूले सम्राटको गद्दी त्याग्ने मनशायको समर्थन गरेका थिए । त्यसको एक वर्षपछि संसद्ले उनको गद्दीत्याग सम्भव तुल्याउन कानुन समेत पारित गरेको थियो ।

सम्राट आकिहितोले गद्दीत्याग गरेपछि राजगद्दि सम्हाल्न लाग्नु भएको नारुहितो जापानका १२६ औँ सम्राट हुनु हुने छ । उहाँ गद्दीनसीन भएपछि जापान ‘रेईवा’ युगमा प्रवेश गर्नेछ ।

युवराज नारुहितो र युवराज्ञी मासाको एक्लो सन्तानको रूपमा राजकुमारी आइको सन् २००१ मा जन्म भएको थियो तर जापानको वर्तमान कानुनले महिलालाई गद्दी आरोहण गर्न अनुमति दिएको छैन् ।

नारुहितो सम्राट भएपछि फुमिहितो युवराजका रूपमा राजगद्दीको उत्तराधिकारी हुनुहुने छ । त्यसपछिको क्रममा फुमिहितोका छोरा हिसाहितो हुनेछन् । - रासस/एएफपी




काठमाडौँ, वैशाख १८ गते । राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणामा चीनको आठ दिवसीय राजकीय भ्रमण पूरा गरी आज बिहान स्वदेश फर्कनुभयो ।  

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वागत गर्नुभयो ।

राष्ट्रपतिको स्वागतका लागि विमानस्थलमा मन्त्रिपरिषद्का सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता, नेपाल सरकारका विशिष्ट श्रेणी पदाधिकारी, सुरक्षा निकायका प्रमुखलगायत उपस्थित हुनुहुन्थ्यो ।

चीनमा रहँदा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना भएको दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल को–अपरेसनमा सहभागी हुनुभएको थियो । साथै उहाँले उक्त फोरमलाई विशेष सम्बोधन गर्नुभएको थियो ।

त्यसैगरी उहाँलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार ग्रेट हल अफ द पिपल परिसरमा स्वागत गर्नुभएको थियो । सोमबार ग्रेट हल अफ द पिपलमा दुईपक्षीय बैठक सम्पन्न भएको थियो भने उहाँहरूको उपस्थितिमा दुई देशबीच पारवहन तथा यातायातलगायत विभिन्न सात सम्झौतामा हस्ताक्षर भएको थियो ।

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget