Websoft University

www.radiomakalu.com || 021-522512


गोरखपुर–रुपन्देही ग्यास पाइपलाइनको गृहकार्य


2020-02-13-8604

काठमाडौँ, फागुन १ गते । भारतको गोरखपुरदेखि नेपालको रुपन्देहीसम्म ग्यास पाइपलाइनको गृहकार्य अगाडि बढेको छ । रासायनिक मल उत्पादन तथा घरायसी काममा समेत प्रयोग गर्ने उद्देश्यले ग्यास ल्याउने पाइपलाइनको गृहकार्य अगाडि बढेको हो । ल्याइने ग्यास प्राकृतिक अर्थात् लिक्युफाइड नेचुरल ग्यास हुने छ ।
भारतको नयाँदिल्लीमा बसेको नेपाल–भारत पेट्रोलियम तथा ग्यास संयुक्त कार्य समूहकोे बैठकमा गोरखपुरदेखि रुपन्देहीसम्म अन्तरदेशीय प्राकृतिक ग्यास पाइपलाइन बिछ्याउनेबारे दुई मुलुकबीच छलफल भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
पुस २७ र २८ गते भारतको नयाँदिल्लीमा नेपाल–भारत पेट्रोलियम तथा ग्यासका लागि दुईदेशीय कार्यदलको पहिलो बैठक बसेको थियो । बैठकमा नेपालले गोरखपुरदेखि रुपन्देहीसम्म प्राकृतिक ग्यासको पाइपलाइन बिच्छयाइदिन भारतसमक्ष प्रस्ताव गरेको थियो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तथा सो दुईदेशीय बैठकमा नेपाल पक्षको नेतृत्व गर्नुभएका ध्रुव घिमिरेले सो कार्यलाई अगाडि बढाउन भारतले नेपालसँग ‘माग प्रक्षेपण’ गरेको र त्यसको तयारी अहिले मन्त्रालयले गरिरहेको जानकारी दिनुभयो । ‘माग प्रक्षेपण’का साथै नेपालमा प्राकृतिक ग्यास बजारको सम्भावित अवस्था र भविष्यबारे समेत भारत नेपालसँग स्पष्ट हुन खोजेको सहसचिव घिमिरेले बताउनुभयो ।
“भारतीय पक्षको मागअनुसार अहिले मन्त्रालयले भविष्यमा मुलुकलाई आवश्यक पर्नसक्ने प्राकृतिक ग्यासको आवश्यकता र मागको विवरण सङ्कलन गरिरहेको छ । सङ्कलन र अध्ययन कार्य सम्पन्न भइसकेपछि भारतीय पक्षलाई ‘माग प्रक्षेपण’ बुझाइने छ”, उहाँले भन्नुभयो, “माग प्रक्षेपण बुझाइसकेपछि प्रस्तावित पाइपलाइन निर्माणको मोडालिटी, लागतबारे अध्ययन गरी निर्माण अगाडि बढाइने छ । ”
विगत लामो समयदेखि नेपालमा रासायनिक मलको कारखाना स्थापना गर्ने कुरा उठे पनि काम हुन सकेको छैन । रासायनिक मल कारखाना स्थापना गर्न लगानी बोर्डले समेत अहिले अध्ययन गरिरहेको छ । रासायनिक मल उत्पादन गर्न ‘कच्चा पदार्थ’का रूपमा प्राकृतिक ग्यास अनिवार्य चाहिन्छ ।
नेपालजस्तो कृषिप्रधान मुलुकमा अहिलेसम्म रासायनिक मल कारखाना स्थापना हुन सकेको छैन । प्राकृतिक ग्यासले रासायनिक मल उत्पादनका साथै खानासमेत पकाउन सकिन्छ तर त्यसका लागि एलपी ग्यासजस्तो सिलिन्डरमा बोटलिङ गर्न मिल्दैन, भान्साघरसम्म सीधै पाइपलाइन पु¥याउनुपर्छ ।
नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले यस विषयमा दुई मुलुकबीच गृहकार्य अगाडि बढाइएको जानकारी दिनुभयो ।
यसअघि भारतको नयाँदिल्लीमा सम्पन्न नेपाल–भारत पेट्रोलियम तथा ग्यास जोइन्ट वर्किङ ग्रुपको बैठकमा समेत नेपाल–भारत अन्तरदेशीय प्राकृतिक ग्यास पाइपलाइन बिछ्याउनेबारे अध्ययन गर्न दुई मुलुकबीच सहमति भएको जानकारीसमेत उहाँले दिनुभयो ।- भउचप्रसाद यादव, गोरखापत्र दैनिकबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget