Websoft University

www.radiomakalu.com || 021-522512


वन्यजन्तु बन्न सक्छन् समृद्धिको आधार

2020-03-01-9461



काठमाडौँ, फागुन १८ गते । नेपालमा औपचारिक रूपमा संरक्षण थालिएको साढे चार दशक बितेको छ । यो अवधिमा संरक्षित क्षेत्रमा वन्यजन्तुको संरक्षणसँगै पर्यटकको आवागमन व्यवस्थित तुल्याउने पहल भयो, हुँदैछ । प्रारम्भिक दशकमा अध्ययन अनुसन्धानका लागि न्यून पर्यटक आउँथे । अचेल नेपालको प्राकृतिक सुन्दरता, हिमाल पर्वतमाला, जैविक विविधता र वन्यजन्तु हेर्ने पर्यटक बढ्दैछन् तैपनि नेपालको संरक्षित क्षेत्रलाई विदेशी पर्यटकको अझ सहज पहुँच बनाउने वा नबनाउने भन्ने विवाद कायमै छ ।
केही विज्ञ संरक्षित क्षेत्रमा पर्यटकको आवागमन कम गर्नुपर्ने धारणा राख्छन् । एउटा धार भने वन्यजन्तुलाई असर नगरी संरक्षित क्षेत्रलाई पर्यटनको मुख्य माध्यम बनाउनुपर्नेमा जोड दिन्छन् । अर्कोतर्फ ‘समृद्ध नेपाल, सुखी नेपाली’ को खाकामा अटाउँदै संरक्षित क्षेत्र, वन्यजन्तुलाई पर्यटन र आर्थिक समृद्धिसँग जोडेर लैजान वन तथा वातावरण मन्त्रालय र अन्य निकाय सहमत हुँदै अगाडि बढिरहेका छन् ।

विविधतामा रमेका वन्यजन्तु


नेपालमा उपलब्ध ११८ किसिमका पारिस्थितिक प्रणालीमध्ये ८० किसिमका प्रणाली संरक्षित क्षेत्रमा पाइन्छन् । नेपालको कुल भूभागको २९.३९ प्रतिशत भूभाग संरक्षित क्षेत्रमा पर्छ । विश्वमै दुर्लभ एकसिङे गैँडा ६४५ वटा छन् भने दुर्लभ पाटेबाघ २३५ वटा छन् ।
त्यसैगरी हिउँचितुवा, ध्वाँसेचितुवा, अर्ना, गौरीगाई सहितका स्तनधारी पाइन्छन् । सुन्दर डाँफे र मयूर जस्ता ८८८ प्रजातिका चरा, पुतलीका धेरै प्रजातिको संसार यही छ । त्यस्तै कछुवा, घडियाल गोही, अजङ्गका हात्ती र थुप्रै संरक्षित वन्यजन्तुको बासस्थान नेपालमा छ । विश्वको सर्वोच्च शिखर, तिलिचो, रारासँगै अनेकन पहाडी छहरामा रम्दै हिमाली यात्राको मजा नेपालमै लिन पाइन्छ । वन्यजन्तु कूटनीति मार्फत सरकारले नेपालको पर्यापर्यटनको क्षेत्रलाई आर्थिक कूटनीतिसँग जोडेर आर्थिक वृद्धिको लक्ष्यमा समाहित गरेको छ । यसले देशमा अत्यधिक पर्यटक भिœयाउँदै विदेशी मुद्रा आर्जन नेपालमै गर्ने दिगो रणनीतिसमेत बनेका छन् ।
नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य अनुसार धेरैभन्दा धेरै पर्यटक ल्याउन सरकारले कसरत गरिरहेको छ । नेपालको संरक्षित क्षेत्रको प्रचारप्रसार तीव्र पार्न पर्यटन मन्त्रालयले जोड दिनुपर्ने विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठ औँल्याउनुहुन्छ ।

बढ्दै पर्यटक


विगत छ वर्षमा ३२ लाख ७८ हजार ७४३ पर्यटकले नेपालको वाइल्ड लाइफ र साहसी पर्यटनको मजा लिए । देशभर कुल १२ राष्ट्रिय निकुञ्ज, दुई आरक्ष र छ संरक्षण क्षेत्र र १३ वटा मध्यवर्ती क्षेत्र छन् । जसमध्ये पर्यटकले ‘वाइल्ड लाइफ’ पर्यटनको मजा लिएका हुन् । वन्यजन्तुमा आधारित आर्थिक वर्ष २०६९÷७० मा पाँच लाख १० हजार २०५ पर्यटक आएका थिए । त्यसपछि छ वर्षको अन्तरालमा त्यो सङ्ख्या बढेर छ लाख ९९ हजार ५५२ पुगेको छ ।

स्वदेशी र विदेशीको अलग रुचि


राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्याङ्क अनुसार सबैभन्दा बढी उपत्यकास्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा १० लाख ६२ हजार २९४ पर्यटक पुगेका छन् र त्यसमा स्वदेशी पर्यटककै बाहुल्य छ । त्यस्तै विगत छ वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा आठ लाख ८४ हजार ६१८ पर्यटक पुगेका छन् । यस हिसाबले शिवपुरीपछि सबैभन्दा बढी पर्यटकको आकर्षण चितवनमा रहेको देखिन्छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र सात लाख ५३ हजार १७७ पर्यटक पुगेर तेस्रो बढी पर्यटक पुग्ने स्थान बन्न सफल भएको छ । चौथोमा भने बल्ल सर्वोच्च शिखर सगरमाथा रहेको क्षेत्रमा पर्यटक पुग्ने गरेका छन् । कठिन भौगोलिक अवस्था र महंँगो पर्यटन रहेकाले पर्यटकले चाहँदा चाहँदै पनि त्यहाँ पुग्न सकेका छैनन् । यस क्षेत्रमा विगत छ वर्षमा दुई लाख ३५ हजार ३२८ पर्यटक पुगेका छन् तर बढी पैसा खर्च गर्ने गुणस्तरीय पर्यटकको त्यहाँ आकर्षण रहेको छ ।
सबै संरक्षित क्षेत्रको वार्षिक पर्यटक आवतजावत विश्लेषण गर्दा छ वर्षमध्ये आर्थिक वर्ष २०७४÷७५ मा सबैभन्दा बढी पर्यटकले संरक्षित क्षेत्र भ्रमण गरेका छन् । जस अनुसार यस वर्ष छ लाख ९९ हजार ५५२ पर्यटक संरक्षित क्षेत्रमा प्रवेश गरेका छन् । यस अवधिमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज

दुई लाख २८ हजार ७४३ पर्यटकले हेरे । त्यस्तै एक लाख ७२ हजार ७२० पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरे । तेस्रोमा चितवन राष्ट्रिय निकुञ्जमा एक लाख ५२ हजार ६६१ पर्यटक पुगेर एकसिङे गैँडा हेरे ।
निकुञ्जमा यस अवधिमा ९८ हजार विदेशी, १९ हजार ६९६ सार्क र ३४ हजार ५० आन्तरिक पर्यटकले भ्रमण गरे । शिवपुरी नागार्जुनमा भने दुई लाख ११ हजार ९३० आन्तरिक पर्यटक पुगे । विदेशीतर्फ १५ हजार ४०२ र सार्क क्षेत्रका एक हजार ४११ पर्यटक पुगे । सगरमाथा राष्ट्रिय निकुञ्जमा भने सार्कका चार हजार ३६५ र अन्य देशका ५१ हजार ९३८ विदेशी पर्यटक मात्र पुगे । आन्तरिक पर्यटकको आगमन शून्य रहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पनि गएको वर्ष सार्क र अन्य विदेशी मुलुकका पर्यटकको बढी आकर्षण रह्यो । सार्क क्षेत्रका ४२ हजार ९०६ जना र अन्य विदेशी पर्यटक एक लाख २९ हजार ९१४ पुग्न सफल रहे ।
यो क्रम अघिल्लो वर्ष २०७३÷७४ मा नै सुरु भएको देखिन्छ । जस अनुसार त्यस वर्ष छ लाख ४० हजार ९१ पर्यटकले संरक्षण क्षेत्रमा पाइला टेकेका थिए । योसँगै विभिन्न आरक्षमा सिकार गर्ने पर्यटकको आकर्षण पनि बढ्दो छ ।

सरकारको आम्दानीको स्रोत


वाइल्ड लाइफ पर्यटनले केही विदेशी मुद्रा मात्र आम्दानी हुने होइन । देशकै कुल गार्हस्थ्य उत्पादनमा समेत टेवा दिनेगरी राजस्व सङ्कलन हुने गरेको छ । आर्थिक वर्ष २०७४÷७५ मा मात्र ६४ करोड ६९ लाख १७ हजार ८६१ रुपियाँ संरक्षण क्षेत्र मार्फत सरकारले आय प्राप्त गरेको छ । विभिन्न संरक्षण क्षेत्रमा आएका पर्यटकबाट भएको आम्दानी तथा अन्य गतिविधि मार्फत सङ्कलित राजस्वको अंश हो ।

छायाङ्कनमा आकर्षण


संरक्षित क्षेत्रमा फिल्म चलचित्र निर्माण गर्न पाइने भएकाले पनि विदेशीको आकर्षण बढ्दै गएको छ । खिच्न चाहने व्यक्ति वा संस्थाले प्रचलित नियम कानुनको अधीनमा रही तोकिएको शुल्क बुझाउनुपर्ने हुन्छ । आर्थिक वर्ष २०७४÷७५ मा २७ वटा फिल्म छायाङ्कन भए । जसमा नौ स्वदेशी फिल्म तथा डकुमेन्ट्री निर्माण भए । त्यस्तै सार्क क्षेत्रका एक राष्ट्रले र विदेशी १७ जनाले फिल्म तथा डकुमेन्ट्री र फिल्म छायाङ्कन गरेका छन् ।

आरक्षमा सिकार


वन्यजन्तुको दिगो संरक्षण र व्यवस्थापन गर्दै सरकारले केही संरक्षित क्षेत्रमा सिकार गर्न पाउने रोमाञ्चक सुविधा उपलब्ध गराएको छ । ढोरपाटन सिकार आरक्ष नेपालको एक मात्र सिकार गर्न पाइने संरक्षित क्षेत्र हो । विदेशी पर्यटक धेरैलाई सिकार गर्न पाइने पर्यटन क्षेत्रका बारेमा जानकारी नै छैन ।
कुल एक हजार ३२५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यस आरक्षमा रुकुम, बाग्लुङ र म्याग्दी जिल्लाको केही भाग समावेश गरिएको छ । सिकार व्यवस्थापन गर्न सुन दह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ र धुस्तुङ गरी सातवटा ब्लकमा विभाजन गरिएको निकुञ्ज विभागले जनाएको छ । विभागका महानिर्देशक गोपालप्रकाश भट्टराई सिकार गर्न सोख राख्ने जति सबै यो ठाउँ खोजीखोजी आइपुग्छन् । त्यहाँका जनावरको सङ्ख्यालाई ध्यान दिएर सिकार गर्न दिइन्छ भन्नुहुन्छ ।
असोजदेखि मङ्सिर र फागुनदेखि वैशाखसम्म वर्षको दुई पटक यहाँ सिकार गर्न पाइन्छ । अघिल्लो वर्षको तथ्याङ्क अनुसार पहिलो सिजनमा नाउर छ वटा र झारल पाँच वटा सिकार गरिए । त्यो बेला नाउर छ र झारल सात वटा सिकारका लागि खुला गरिएको थियो । जसबापत २६ लाख पाँच सय रुपियाँ आम्दानी भएको थियो । दोस्रो सिजनमा नौ वटा नाउर र छ वटा झारल सिकारका लागि कोटा तोकिएको थियो । तीमध्ये नौ वटा नाउर र पाँच वटा झारलको सिकार भएको थियो । जसबाट २९ लाख १७ हजार रुपियाँ आम्दानी भएको थियो ।
- चाँदनी हमाल, गोरखापत्र अनलाइनबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget