Websoft University

www.radiomakalu.com || 021-522512


माओवादीमा अब हजार केन्द्रीय सदस्य


काठमाडौँ,जेष्ठ १७ गते ।  ६ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाएर आलोचित नेकपा (माओवादी केन्द्र) ले ३ सय केन्द्रीय सदस्य थप्दै हजार बनाउने तयारी गरेको छ । सोमबार पेरिसडाँडास्थित पार्टी मूख्यालयमा बस्ने बैठकले त्यसको निर्णय लिनेछ ।





माओवादी केन्द्रको संगठनात्मक विधि र नेतृत्व प्रणालीबारे टुंगो लगाउन वर्षमान पुनको नेतृत्वमा गठित उच्चस्तरीय कार्यदलले यसको तयारी गरेको हो । जेठ ६ गते १० माओवादी समूह मिलेर बनेको माओवादी केन्द्रको केन्द्रीय समितिमा पर्नेमा अधिकांश कनिष्ठ नेता रहेको भन्दै एकीकृत माओवादीबाट आएको पक्षले आक्रोश पोखेपछि पुनको कार्यदल दबाबमा परेको हो । उच्च स्रोतका अनुसार पुन स्वयंले एकता प्रक्रियामा आउदा अरु दलले केन्द्रीय समिति बढाएको तर एकीकृत माओवादीले नबढाएकोमा अध्यक्ष पुष्पकमल दाहालसग असन्तुष्टि जनाएका छन् । अहिल्यै सदस्य नथपिए दीर्घकालीन रुपमा आफ्नो पक्षको शक्ति कमजोर हुन जाने माओवादी केन्द्रको संस्थापन वृत्तको बुझाई छ ।

पुन कार्यदलले शनिबार र आइतबार यसको तयारी टुंग्याएको छ । कार्यदलले सोमबार बिहान अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा केही उच्च नेतासग यसबारे अनौपचारिक परामर्श लिने कार्यदल सदस्य जनार्दन शर्माले जानकारी दिए । ‘कति सदस्य बनाउने भन्ने अहिले निर्णय भइसकेको छैन, कार्यदलमा छलफल जारी छ,’ शर्माले भने, ‘हामीले सुझाव दिने हो, निर्णय हेडक्वार्टरले गर्छ । त्यसका लागि भोलि बिहान लाजिम्पाटमा बस्दैछौं ।’

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भूसालले सोमबार दिउसो पेरिसडाडास्थित दलको मूख्यालयमा बस्ने हेडक्वार्टर र कार्यदलको बैठकले बिस्तृत छलफल गर्ने बताइन् । ‘हामीले पास गरेको त ६ सय ९९ नै हो, तर वरिष्ठता/कनिष्ठता मिलाउन बाकी छ,’ भूसालले भनिन्, ‘सदस्य त थपिन्छन् नै । भोलि पेरिसडाडामा छलफल हुन्छ । पर्सिसम्ममा कार्यदलले हेडक्वार्टरलाई अन्तिम सुझाव दिनेछ ।’ कार्यदल संयोजक पुन भने यसबारे खुल्न तयार भएनन् ।

विगतको एमाओवादीमा तल्लो तप्कामा रहेका, तर अर्को समूहमा फुटेर जादा सिधै केन्द्रीय सदस्य भएकाहरु आफ्नो नेता भएर आएको एकीकृत माओवादी पक्षकाहरुलाई मन परेको छैन । भ्रातृ संगठनको इकाईमा बसेका केही सहकर्मी फुटेर आफ्नो नेता हुन आएकोमा आपत्ति जनाउदै एमाओवादी पृष्ठभूमिका एक कार्यकर्ताले आइतबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुनाए, ‘हिजो हाम्रो इकाइमा बसेकाहरु उताबाट सिधै केन्द्रीय सदस्य भएर आउदा हामी हेरेर बस्ने कुरा आउदैन । बरु अहिले संख्या बढोस्, तर यो मिलाउनै पर्छ ।’

कार्यदलका अर्का सदस्यले नेतृत्वले भद्दा केन्द्रीय समिति बनाउने तयारी गरेर गल्ती गरेको बताए । संगठनहरुको एकता भइरहेका बेला कार्यकर्तामा यो निर्णयले एकताको सन्देश नजाने उनको भनाई थियो । ‘खासमा मैले ३ सय सदस्यीय केन्द्र बनाउँ भनेर सुरुमा प्रस्ताव राखेको थिएँ, कमरेडहरुले मानेनन्,’ ती सदस्यले कान्तिपुरसग भने, ‘३ सय नाघेपछि वरिष्ठता नमिलेर हैरान हुने पक्का थियो, त्यसेले अब २५ सय सदस्यको केन्द्रीय समिति बनाए मात्रै कुरो मिल्छ । पार्टी चाहि स्थायी समितिले चलाउछ ।’

उच्च स्रोतका अनुसार सम्भवत: सोमबार नै टुंगिने थप केन्द्रीय सदस्यमा प्रदेश नम्बर ३ बाट मात्रै १ सय ११४ नेता थपिनेछन् । भौगोलिक र गैरभौगोलिक गरी जम्मा २० जिल्ला प्रदेश नम्बर ३ मा पर्ने भएकाले हरेक जिल्लाबाट ४ वा ५ नेता केन्द्रीय समितिमा पार्ने कार्यदलको तयारी छ । गैरभौगोलिक जिल्ला कमिटीमा विद्यार्थी, मजदुर, महिला, कर्मचारीलगायत भ्रातृसंगठनको फ्रयाक्सन् पर्छन् । माओवादी केन्द्रले औपचारिक निर्णय नलिउन्जेललाई यी सबै फ्रयाक्सन् हेर्नेगरी नेता लीलामणि पोखरेल इन्चार्ज भएका छन् ।

पुनको कार्यदलमा जनार्दन शर्मा, प्रभु साह, उर्मिला अर्याल, हितमान शाक्य, कुलप्रसाद केसी, पम्फा भूसाल, विश्वभक्त दुलाल, खगराज भट्ट, इन्द्र आङ्बुहाङ, देवशरण यादव, टीकाविक्रम हमाल र वसन्त घर्ती सदस्य रहेका छन् ।

यसै वर्षभित्र एकता महाधिवेशन गर्ने निर्णय गरेको माओवादी केन्द्रको ६ सय ९९ सदस्यीय केन्द्रीय समिति एक हजार सदस्यीय भएमा सम्भवत: संसारकै सर्वाधिक ठूलो केन्द्रीय समिति हुनेछ । पार्टी एकताको उत्साहबीच संगठन भद्दा बनाएको भन्दै माओवादी केन्द्रको आलोचना भइरहेको छ ।

नेताहरुले भने केन्द्रीय समितिले महाधिवेशन आयोजक समितिको काम गर्ने भन्दै महाधिवेशनबाट चुस्त केन्द्रीय समिति आउने आश्वासन दिइरहेका छन् । माओवादी केन्द्रको जेठ १० मा सकिएको पहिलो बैठकले सचिवालयमा ४९ वा ५१ सदस्य हुने, पोलिब्युरो १ सय ५१ सदस्य हुने निर्णय गरेको थियो । केन्द्रीय समिति बढेपछि त्यो संख्या स्वत: एक तिहाईको अनुपातमा बढ्नेछ ।

ठूला तीन दलमध्ये कांग्रेसको केन्द्रीय कार्यसमिति ८५ सदस्यीय छ । एमालेको ९९ सदस्यीय केन्द्रीय कमिटी छ






  • कान्तिपुर समाचार बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget