Websoft University

www.radiomakalu.com || 021-522512


दर्जनौं गीतसमेत लेखेका थिए कैलाशले

दर्जनौं गीतसमेत लेखेका थिए कैलाशले

काठमाडौं,  जेठ १७ गते । सेनाको जहाज दुर्घटनामा मृत्यु भएका पाइलट क्याप्टेन कैलाश गुरुङको साहित्यमा समेत औधी रुचि थियो ।अध्ययनमा तेज र मेधावी गुरुङले नेपाली संस्कृति, चाडपर्व, नेपाली सेना र जनतामा केन्द्रित भई दर्जनौं गीत लेख्नुभएको छ ।कैलाशको नेपाली सेनामै सेनानी तहमा कार्यरत पत्नी र दुई छोरी छन् । कैलाशले नेपाली सेनाको बहादुरी र गाथा समेटिएको गीत लेख्नुभएको छ ।
उहाँले नेपाली सेनाका विभिन्न गणका गीत लेख्नुभएको छ । गुरुङका बालसखा कवि एवं प्राज्ञ श्रवण मुकारुङले कैलाश बहुप्रतिभाका धनी, लगनशील र अध्ययनमा अब्बल रहेको बताउनुभयो । 'हामी असाध्यै मिल्ने साथी थियौं ।स्थानीय याङटाङ खोलामा पौडी खेल्न जान्थ्यौं', कवि मुकारुङले स्कुले जीवन सम्झँदै अन्नपूर्णसँग भन्नुभयो, 'पढाइमा कैलाश र मेरो सेकेन्ड÷थर्डमा प्रतिस्पर्धा हुन्थ्यो । कैलाश सेकेन्ड हुँदा म थर्ड । ऊ थर्ड हुँदा म सेकेन्ड । तर हामी कहिल्यै फस्ट हुन सकेनौं।'
भोजपुरको छिनामखुस्थित अन्नपूर्ण माविबाट ०४२ सालमा एसएसली उत्तीर्ण गरेपछि कैलाश उच्च शिक्षाका लागि काठमाडौं आउनुभएको हो ।झन्डै ६ वर्षअघि कैलाशले राष्ट्र र माटोबारे गीतिसंग्रह निकाल्नुभयो । एकै जिल्लाका भए पनि भोजपुर याकुका प्राज्ञ एवं साहित्यकार शशि लुबुम्बू र कैलाशबीच चिनजान भने थिएन । १० वर्षअघि लुबुम्बू र कैलाशबीच चिनजान भयो ।
यी दुईलाई साहित्यले नै नजिक्याएको थियो । 'झन्डै ६ वर्षअघि गुरुङले देश र माटोकेन्द्रित गीतिसंग्रह निकाल्नुभयो । उक्त गीतिसंग्रहको भूमिका लेख्ने जिम्मासमेत मैले पाएँ', साहित्यकार लुबुम्बूले भन्नुभयो । लुबुम्बू सम्झनुहुन्छ, 'उनमा देशप्रेम असाध्यै गहिरो थियो । माटोलाई औधी माया गर्थे । माटोकै बारेमा लेख्न रुचाउँथे।'
कवि एवं प्राज्ञ मुकारुङले भन्नुभयो, 'हामीले एउटा असल साथी गुमायैाँ। देशले एक होनहार सिपाही गुमाएको छ ।'कैलाशले ०६६ मा 'रक्षक' नामक गीतिसंग्रह निकाल्नुभएको थियो । उक्त गीतिसंग्रहको कैलाशले अंग्रेजीमा अनुवाद गराउनुभएको छ । सेनाको कडा जागिरे जीवनबाट फुर्सद मिल्नासाथ उहाँ भोजपुर पुग्नुहुन्थ्यो।
भोजपुरका विभिन्न व्यक्ति पटकपटक मन्त्री र सरकारी उच्च ओहोदामा पुगे पनि सडक नहुँदा गाडी पुगेको थिएन ।रुक्मांगद कटवाल प्रधानसेनापति भएका बेला कैलाशले पहिलो पटक हेलिकोप्टरमा झुन्ड्याएर भोजपुर सदरमुकाममा गाडी पुर्‍याउनुभएको थियो ।
भोजपुरका नेता अजम्बर राई काङमाङले कैलाशलाई सम्झँदै भन्नुभयो, 'उनले भोजपुरलाई ठूलो गुन लगाएर गए । हामी सबैको आग्रह स्विकार्दै कैलाशले हेलिकोप्टरमा झुन्ड्याएर गाडी भोजपुर बजारस्थित टुँडिखेलमा झारे । कैलाशको ऋण तिर्न हामी सक्दैनौं होला ।'- अन्नपूर्ण बाट , शम्भु कट्टेल

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget