Websoft University

www.radiomakalu.com || 021-522512


सिँचाइमा उल्लेख्य प्रगति भएको दाबी

सिँचाइमा उल्लेख्य प्रगति भएको दाबी

काठमाडौं,  जेठ १७ गते । सिँचाइ मन्त्रालयले पछिल्लो नौ महिनाको अवधिमा उल्लेख्य प्रगति गरेको दाबी गरेको छ । मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरी यस्तो दाबी गरेको हो । मन्त्रालयले नौ महिनाको अवधिमा राष्ट्रिय गौरबका सिक्टा आयोजना, रानी जमरा कुलरिया, भेरी बबई डायभर्सन, समृद्ध तराईमधेस सिँचाइ विशेष कार्यक्रमतर्फ उल्लेख्य प्रगति भएको जनाएको छ ।
सिँचाइ मन्त्री दिपक गिरीले पछिल्लो समयमा सिक्टा सिँचाइ आयोजनाअन्तर्गत राप्ती नदीपूर्वको नौ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउन पूर्वी नहर सिँचाइ प्रणालीको ठेक्का आह्वान गरिएको जानकारी दिनुभयो । यस्तै यस आयोजनाअन्तर्गत शाखा नहरको निर्माण कार्यलाई पनि गति प्रदान गरिएको छ । ‘मैले मन्त्रालय सम्हालेको नौ महिनामा मन्त्रालयले उल्लेख्य प्रगति गर्न सफल भएको छ', गिरीले भन्नुभयो, ‘म कागजमा होइन कार्यक्षेत्रमा प्रगति गरेको छु ।'
उहाँका अनुसार रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत लामो समयदेखि समस्याका रूपमा देखिएको सुकुम्बासी वस्ती सार्ने काम सम्पन्न गरिएको छ । उक्त आयोजनाबाट ४.८ मेगावाट विद्युत् उत्पादन गर्ने कामको योजनासमेत तयार पार्ने काम भइरहेको मन्त्री गिरीले जानकारी दिनुभयो ।
यसैगरी अर्को राष्ट्रिय गौरबको आयोजना भेरी बबई डायभर्सन बहुउद्देश्यीय आयोजनामा टनेल बोरिङ मेसिन (टीबीएम) मेसिन जडान गर्न एक सय ४२ मिटरको टनेलको निर्माण कार्य सम्पन्न भएको छ । चीनको संघाइमा उक्त टीबीएम मेसिनको निर्माण कार्य सकेको भन्दै मन्त्रालयले आगामी भदौमा आयोजना स्थलमा आइपुग्ने जानकारी गराएको छ । ‘नेपालमा सम्भवत् पहिलो पटक टीबीएम मेसिनको प्रयोग भइरहेको छ', मन्त्री गिरीले भन्नुभयो, ‘यो मेसिन नेपालमा आयो भने नेपालका ठूलठूला सडक आयोजनाका लागि पनि बरदान साबित हुने हाम्रो ठम्याइ छ ।'
नौ महिनाको अवधिमा राष्ट्रिय गौरबका सिक्टा आयोजना, रानी जमरा कुलरिया, भेरी बबई डायभर्सन, समृद्ध तराईमधेस सिँचाइ विशेष कार्यक्रमतर्फ उल्लेख्य प्रगति भएको छ ।
यस्तै समृद्ध तराईमधेस सिँचाइ विशेष कार्यक्रमलाई ११ जिल्लाबाट विस्तार गरी २२ जिल्लामा पुर्‍याइएको छ । यो कार्यक्रमअन्तर्गत पाँचवटा सिँचाइ संरचनामध्ये सतहगत सिँचाइ संरचनालाई उच्च प्राथमिकतामा राखिएको छ । यसैगरी दाङ र बाँके जिल्लाअन्तर्गत राप्ती तथा बबई नदीको नियन्त्रण गर्न तीन अर्ब ५० करोडको लागतमा बहुवर्षीय खरिद गुरुयोजना स्वीकृत गरी ठेक्का व्यवस्थापनसम्बन्धी काम सुरु गरिएको छ ।
यो अवधिमा सुनसरी मोरङ सिँचाइ आयोजनाको चतरामा नयाँ बाँध निर्माणका लागि परामर्शदाता नियुक्ति कार्य अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
खाँडो नदी नियन्त्रणका लागि सिरहाको लाहानमा कार्यालय र मोरङको बक्राहा नदीको प्रकोप नियन्त्रणका लागि केन्द्रीय योजनासमेत तयार पारिएको छ । यस्तै भारतीय अनुदान सहयोगमा सञ्चालित कमला नदी, लाल बकैया र बागमती नदीको नियन्त्रण गर्न भारत सरकारको तर्फबाट ६२ करोड रुपैयाँ प्राप्त भएको जनाइएको छ ।
मन्त्रालयले नौ महिनाको अवधिमै बृहत दाङ उपत्यका सिँचाइ योजना, अति जोखिमयुक्त पहिरो न्यूनीकरण कार्यक्रम, रूपाताल संरक्षण एकीकृत विकास परियोजनामा समेत प्रगति गरेको छ । सिँचाइ मन्त्री दिपक गिरीका अनुसार बृहत दाङ उपत्यका सिँचाइ योजनातर्फ दाङको करिब ५३ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउन सल्यानको शारदा नदीको पानी टनेलमार्फत झार्ने काम सुरु गरिएको छ । ‘अब ड्याम बनाउने काम सुरु गर्न लागेका छौं', मन्त्री गिरीले भन्नुभयो ।
मन्त्रालयको तथ्यांकअनुसार हालसम्म १३ लाख ९२ हजार एक सय ७७ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउन भौतिक पूर्वाधार तयार भइसकेको छ । यसमध्ये हालसम्म चार लाख हेक्टरमा १२ महिना सिँचाइ सुविधा उपलब्ध गराइएको छ ।
मन्त्रालयका प्रवक्ता सागरप्रसाद राईका अनुसार सरकारले चालू आर्थिक बर्षमा २४ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्षका लागि २७ अर्ब ४१ करोड रुपैयाँ विनियोजन गरेको छ । यस्तै राष्ट्रिय गौरब आयोजनाका रूपमा रहेका सिँचाइसम्बन्धी चार आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना, भेरी ववई डायभर्सन, सिक्टा सिँचाइ आयोजना र ववई सिँचाइ आयोजनाका लागि पाँच अर्ब १६ करोड रुपैयाँ विनियोजन गरेको छ ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget