Websoft University

www.radiomakalu.com || 021-522512


Latest Post



रत्ननगर, चितवन, कात्तिक २४ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थायित्व र विकासका लागि अहिलेको निर्वाचन महत्वपूर्ण भएको बताउनुभएको छ ।

वाम गठबन्धनबाट चितवन निर्वाचन क्षेत्र नं ३ का उम्मेदवारसमेत रहनुभएका दाहालले आज यहाँका मतदातासँगको भेटघाटका क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै सो कुरा बताउनुभएको हो ।

आफ्नो उम्मेदवारी पनि राजनीतिक स्थायित्व र समृद्ध राष्ट्र निर्माणका लागि भएको उल्लेख गर्दै उहाँले भन्नुभयो — “यसैका लागि नै वाम गठबन्धन गरिएको हो ।”

आज बिहान भरतपुरको पासरनगरबाट घरदैलो अभियान शुरु गर्ने क्रममा अध्यक्ष दाहालले जनताले विकास चाहेको छ, त्यसैले आम समुदायको चाहना पूरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

घरदैलोका क्रममा दाहाललाई स्थानीय मतदाता कृष्ण सापकोटाले गरेको प्रतिबद्धता पूरा गर्न आग्रह गर्नुृभयो । घरदैलोका क्रममा अधिकांश मतदाताले बाटोघाटोको व्यवस्थापन र विकास गर्न आग्रह गरेका थिए ।

घरदैलोमा आइपुगेका दाहाललाई स्वागत गर्दै अर्का मतदाता सरस्वती पौडेलले घर अगाडिको भत्किएको बाटो देखाउँदै, छिट्टै बनाउन आग्रह समेत गर्नुभयो ।

आजै शरदपुर हुँदै ३ नम्बर निर्वाचन क्षेत्रका विभिन्न गाउँमा घरदैलो कार्यक्रम गरिने माओवादी केन्द्र चितवनका इञ्चार्ज ईश्वरी भट्टराईले जानकारी दिनुभयो । वाम गठबन्धनको अन्य निर्वाचन क्षेत्रका उम्मेदवार समेत अहिले चुनावी घरदैलो अभियानमा सक्रिय भएका छन् ।

यस्तै नेपाली काँग्रेस र राप्रपा प्रजातान्त्रिकलगायत लोकतान्त्रिक गठबन्धनमा आवद्ध उम्मेदवार समेत गाउँगाउँमा चुनावी प्रचार अभियानमा सक्रिय भएको प्रचार संयोजक तथा काँग्रेस जिल्ला सचिव उत्तम जोशीले जानकारी दिनुभयो । (रासस)



काठमाडौँ, कात्तिक १७ गते । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई व्यवस्थापकीय दृष्टिकोणबाट नमूना निर्वाचनका रुपमा सफल तुल्याउन निर्वाचन आयोग अर्जुनदृष्टिका साथ काम गरिरहेको बताउनुभएको छ ।

राजनीतिक दल सम्बद्ध युवाको लागि निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै उहाँले पहिलो चरणको निर्वाचनको सामग्री व्यवस्थापन तथा मतपत्र प्याकिङ र ढुवानीको काम शुरु भएको हुँदा निर्वाचन कार्यक्रम मतदान केन्द्र केन्द्रित भइसकेको जानकारी दिनुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो– “उम्मेदवारी मनोनयन कार्य ज्यादै उल्लासपूर्ण रुपमा भएको छ, जसरी पवित्र भावना लिएर मनोनयनमा दर्तामा संलग्न हुनुभएको छ, त्यसरी नै राजनीतिक दल र उम्मेदवारबाट आचारसंहिताको पालना होस् । भोज भतेर र टिसर्ट देखाएर मतदातालाई प्रभावमा पार्ने काम नहोस् ।”

स्वच्छ, स्वतन्त्र, मितव्य र भयरहित निर्वाचनले मात्र लोकतन्त्रलाई बलियो तुल्याउन सक्छ भन्दै उहाँले आगामी निर्वाचनमा अचारसंहिताको उल्लंघन गर्नेविरुद्ध आयोगले शून्य सहनशीलताको नीति अपनाउने चेतावनी दिनुभयो ।

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले निर्वाचनमा आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दलले सरकार हाक्ने जिम्मेवारी पाएमा त्यसबाट न्याय र सदाचारको के अपेक्षा गर्न सकिएला भनी प्रश्न गर्दै निर्वाचनको मुख्य सरोकारवाला पक्ष राजनीतिक दलले यो कुरालाई राम्रोसँग हेक्का गर्न आवश्यक छ भन्नुभयो ।

आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको बिहीबार भएको शान्तिपूर्ण, मर्यादित र व्यवस्थित उम्मेदवारी मनोनयनले सबैमा उत्साहित तुल्याएको धारणा व्यक्त गर्नुभयो ।

मतदानमा मतदाताको उपस्थिति र सदरमत संख्या बढाउन तथा बदर मत प्रतिशत घटाउन राजनीतिक दलका युवा नेताबाट महत्वपूर्ण भूमिका हुनसक्ने जनाउँदै आयोगले समयको निकै चाप रहेपनि मतदाता शिक्षाका लागि नमूना मतपत्रसहितका सामग्री घरघर पु¥याउने आयोगले अठोट व्यक्त गरेको छ ।

आगामी निर्वाचनमा भाग लिएका राजनीतिक दलका युवा उक्त प्रशिक्षणमा सहभागी हुनुहुन्छ । प्रशिक्षणमा उहाँलाई संवैधानिक तथा कानूनी व्यवस्था, निर्वाचनसम्बन्धी कानूनी संरचना, मतदान तथा मतगणना प्रक्रिया र आचारसंहिता पालना सम्बन्धमा ज्ञान दिइने छ । (रासस)



सुरुङ्गा, झापा,  कात्तिक १७ गते ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि मुलुक समृद्धिको दिशामा जाने र जनचाहनाअनुसारको शासनसत्ता सञ्चालन हुने बताउनुभएको छ ।

झापाको दमकमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो – “अबको एकमात्र राजनीतिक उद्देश्य समृद्धि हो, निर्वाचनपछि जनचाहनाअनुसारको शासनसत्ता सञ्चालन हुन्छ र मुलुक समृद्धिको दिशामा जान्छ ।”

अध्यक्ष ओलीले वाम गठबन्धन यही स्वार्थ पूर्तिका लागि मात्र भएको छ भन्दै मुलुकमा रहेको बेरोजगारीे अन्त्य र गरिब, विपन्न एंव उत्पीडितको हकअधिकारको संरक्षण गर्ने गरी वाम गठबन्धनले यही सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने बताउनुभयो ।

उहाँले नेपाली काँग्रेसलगायतका दललाई चुनावमा स्वच्छ प्रतिस्पर्धा गर्न, गलत लाञ्छना लगाउने काम नगर्न र सत्ताको दुरुपयोग गरी निर्वाचन आचारसंहिताको उल्लङ्घन नगर्नसमेत आग्रह गर्नुभयो ।



इलाम,  कात्तिक १७ गते । जिल्लाको उच्च हिमाली तथा पहाडी क्षेत्रमा चिसो बढेसँगै चौँरी गोठहरू न्यानो स्थान खोज्दै बेँसीतर्फ झर्न थालेका छन् ।

इलामका सन्दकपुर, कालापोखरी, ताप्लेजुङको टिम्वुपोखरी, कालीखोला, पाँचथरको फालोटलगायत स्थानबाट चौँरी गोठ न्यानोतर्फ सार्न थालिएको हो । अत्यधिक चिसो हुन थालेपछि चौँरी आफ से आफ न्यानो स्थान खोज्दै उँधो झर्ने भएकाले चौँरीपालक किसानले सोही अनुसार पुरानो खर्कतिर गोठ सार्ने गरेका छन् ।

टिम्वुपोखरी क्षेत्रमा छार्के र तुसारो शुरु भइसकेको छ । ताप्लेजुङ र पाँचथरमा मात्र रहेका छ दर्जनभन्दा धेरै गोठ न्यानो स्थानतर्फ सार्दै लगिएको छ । सन्दकपुर र कालापोखरीका खर्कमा त्यस क्षेत्रमा रहेका गोठहरू आउने गरेका छन् । यहाँका गोठहरू अझ तल मानव बस्ती नजिक झार्न थालिएको चौँरीपालक बताउँछन् ।

अत्यन्तै चिसो हुने क्षेत्रमा रहेका गोठहरू क्रमशः कम चिसो हुने क्षेत्रमा ल्याइन्छ । त्यहाँ रहेका गोठहरू केही तल झारिन्छ । चौँरी बस्दै आएको स्थानमा चिसो बढेकाले त्यहाँभन्दा न्यानो स्थानमा चौँरी बस्न रुचाउँछन्, सन्दकपुर गाउँपालिका, जमुनाका कुमार गुरुङले भन्नुभयो । गोठसँगै गोठधनी पनि खानेबस्ने सबै सरसामान लिएर न्यानो स्थानतर्फ झर्ने गर्छन् । सामूहिक रूपमा खर्कमा बनाइएका गोठहरूमा सर्ने गरेको उहाँले बताउनुभयो ।

इलाम, पाँचथर र ताप्लेजुङका उच्च पहाडी क्षेत्रमा रहेका करिब पाँच दर्जनभन्दा बढी चौँरी गोठ चिसोबाट न्यानोतर्फ सरेका हुन् । असोज महिनादेखि गोठ उधौँली झर्ने क्रम शुरु हुन्छ । न्यानोपना नआएसम्म ती गोठहरू बेसींमै रहन्छन् । मुख्यतया वैशाख महिनादेखि गोठ उधाँैली लैजाने क्रम शुरु हुने गरेको मावुका दण्डु लामाले बताउनुभयो ।

उधाँैली झरेको अवस्थामा चौँरीबाट उत्पादन राम्रो हुने गरेको किसान बताउँछन् । चौँरीसँगै भेडीगोठ पनि उँधो सर्न थालेका छन् । सयौँको सङ्ख्यामा रहेका भेडासहितको गोठ तल झार्न थालिएको हो ।

भेडीगोठ खर्क–खर्कमा केही दिन राख्दै तल गाउँसम्म ल्याउने गरिन्छ । जाडोयाममा टिम्वुपोखरीदेखि माथिका क्षेत्रमा पशु र मानिस बस्नसक्ने अवस्था हँुदैन । यसपालि शुरुमै चिसो भएकाले चौँरी गोठहरू बेसीतर्फ झार्न थालिएको हो ।   (रासस)


Kp-Oli-Prachanda
काठमाडौँ,  कात्तिक १७ गते ।  नेकपा (एमाले) र नेकपा माओवादी (केन्द्र) सम्मिलित गठबन्धनले कम्युनिस्ट तथा वामपन्थी शक्तिलाई लोकतन्त्र र राष्ट्रिय स्वाधीनताका मुख्य पहरेदारको रूपमा व्याख्या गरेका छन् ।  प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि गठबन्धनले सार्वजनिक गर्न अन्तिम तयारी गरिरहेको घोषणापत्रमा कम्युनिस्ट शक्ति नै जनअधिकार र देशभक्तिको पर्याय रहेको दाबी समेत गरिएको छ ।
घोषणापत्रमा भनिएको छ, “सामन्तवाद र सामन्ती निरंकुशतन्त्र विरुद्धको लोकतान्त्रिक क्रान्तिका प्रारम्भिक चरणमा कम्युनिस्ट तथा वाम पार्टीको नेतृत्व हुन नसक्दा ती आन्दोलन पूर्णतामा पुग्न सकेनन् । ”
१९ गते आइतबार औपचारिक रूपमा सार्वजनिक हुन लागेको घोषणापत्रमा वाम गठबन्धनले आफूहरू नभएको भए नेपालको नयाँ संविधान घोषणा नै नहुने दाबी समेत गरेका छन् ।  घोषणापत्रमा भनिएको छ, ‘अहिलेको वाम गठबन्धनमा सम्मिलित मुख्यतः नेकपा (एमाले) र नेकपा माओवादी (केन्द्र) नभएको भए संविधानसभाको विषय राष्ट्रिय कार्यसूची नै बन्न सक्ने थिएन, विभिन्न बाधा अवरोधलाई पन्छाउँदै संविधानसभाबाट समाजवादउन्मुख संविधान नै घोषणा हुन सक्दैनथ्यो । ’
कम्युनिस्ट शक्तिको अथक प्रयास र पहलमा अहिलेको परिवर्तन सम्भव भएको दाबी गर्दै गठबन्धन दलले सामाजिक न्यायमा आधारित सुसंस्कृत र समृद्ध नेपाल निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी आफूहरूको काँधमा आएको दाबी गरेका छन् ।  समाजवाद उन्मुख घोषणापत्र बनाएको दाबी गरेका दुई दलले अन्ततः मुलुक समाजवादमा पुग्ने दाबी समेत गरेका छन् ।
घोषणापत्रमा वाम गठबन्धनले प्रतिस्पर्धात्मक बहुदलीय राजनीतिक प्रणाली, संविधानको सर्वोच्चता, कानुनी राज, लोककल्याणकारी राज्य, आवधिक निर्वाचन, मौलिक अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, मानवअधिकार, शक्ति पृथकीकरण, धर्म निरपेक्षता, धार्मिक स्वतन्त्रता, सामाजिक न्याय र समानुपातिक समावेशी विषयलाई समाजवादको विशेषताका रूपमा प्रस्तुत गरेका छन् ।
पचास वर्षदेखि विभाजित नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न वाम गठबन्धन गरी पार्टी एकीकरणको बाटोमा आफूहरू अगाडि बढेको दाबी गर्दै गठबन्धन दलले घोषणापत्रमा गरेका छन् । घोषणापत्रमा सामाजिक सुरक्षा भत्ता मासिक पाँचहजार रुपियाँ पु¥याउने, ६५ वर्ष उमेर पुगेका नागरिकलाई यातायात भाडामा २५ प्रतिशत र ८० वर्ष उमेर पुगेकालाई ५० प्रतिशत छुटको व्यवस्था गर्ने प्रतिबद्धता गरिएको छ ।  त्यस्तै, सरकारी अस्पतालमा सुत्केरी हुने आमा र जन्मिने शिशुको पोषण र न्यानो कपडाका लागि एकमुष्ठ पाँचहजार भत्ता र रोजगारमा संलग्न महिलालाई १४ हप्ताको सुत्केरी बिदाको व्यवस्थाको प्रतिबद्धता गरिएको छ ।
घेषणापत्रको मस्यौदा एमाले र माओवादी केन्द्रका नेतालाई अध्ययनका लागि पठाइएको र १८ गते शनिबार त्यसलाई अन्तिम रूप दिई दुवै पार्टीको स्थायी कमिटीबाट पारित गरेर १९ गते आइतबार सार्वजनिक गरिने एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताउनुभयो ।  - लक्की चौधरी



th_3
काठमाडौँ, कात्तिक १६ गते । पहिलो चरणअन्तर्गत प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनमा प्रत्यक्षतर्फ न्यून महिला उम्मेदवार उठाएका प्रमुख तीन दलले दोस्रो चरणको निर्वाचनमा भने तुलनात्मकरुपमा केही बढी महिला उम्मेदवार उठाएका छन् ।

पहिलो चरणअन्तर्गत प्रतिनिधि सभा सदस्यका लागि ३७ क्षेत्रमा हुने निर्वाचनमा नेपाली ९काँग्रेस०बाट दुई र नेकपा९माओवादी केन्द्र०बाट एक गरी जम्मा तीन जना मात्रै महिला उम्मेदवार उठाएका थिए । तर दोस्रो चरणअन्तर्गत १२८ क्षेत्रमा हुने निर्वाचनमा प्रमुख तीन दलबाट १५ जना महिलाले आज उम्मेदवारी मनोनयन दर्ता गराउँदै चुनावी मैदानमा उत्रिएका छन् ।

दोस्रो चरणअन्तर्गत हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसबाट सबैभन्दा बढी सात जना, नेकपा९एमाले०बाट पाँच र नेकपा९माओवादी केन्द्र०बाट तीन जना महिला उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको छ ।

यसरी काँग्रेसबाट उम्मेदवारी दिनेमा तेह्रथुमबाट सीता गुरुङ, महोत्तरी–२ बाट किरण यादव, मकवानपुर– २ बाट महालक्ष्मी ९डीना० उपाध्याय, काठमाडौँ–३ बाट अम्बिका बस्नेत, दाङ–१ बाट सुशीला चौधरी, कैलाली– १ बाट ईश्वरीदेवी न्यौपाने र कैलाली–५ बाट डा आरजु राणा हुनुहुन्छ ।

यसैगरी नेकपा ९एमाले०ले झापा–२ बाट पवित्रा खरेल, सुनसरी–३ बाट भगवती चौधरी, उदयपुर–१ बाट मञ्जु चौधरी, स्याङ्जा–२ बाट पद्माकुमारी अर्याल र कैलाली–१ बाट गरिमा शाहलाई उम्मेदवार बनाएको छ ।

यस्तै नेकपा ९माओवादी केन्द्र०ले ललितपुर– ३ बाट पम्फा भुसाल, पर्सा–४ बाट उर्मीला अर्याल र कञ्चनपुर–१ बाट बिना मगरलाई उम्मेदवार बनाएको छ ।

तीमध्ये कैलाली– १ मा महिला÷महिला उम्मेदवारबीच नै रोचक प्रतिस्पर्धा हुनेभएको छ । सो क्षेत्रमा काँग्रेसकातर्फबाट ईश्वरीदेवी न्यौपाने र वाम गठबन्धनकोतर्फबाट एमालेका गरिमा शाहले उम्मेदवारी दिनुभएको छ । यसअघि समानुपातिकबाट सांसद रहनुभएका दुवै जना अहिले प्रत्यक्षबाट उम्मेदवारी दिनुभएको हो ।

यस्तै केहीअघि राप्रपा छोडी नेकपा९एमाले० प्रवेश गर्नुभएकी गायिका तथा सञ्चारकर्मी कोमल ओलीले दाङ– ३ बाट तथा पूर्वसांसद सञ्जय साहकी पत्नी रंगीला साहले धनुषा–३ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको छ ।

यसअघि पहिलो चरणअन्तर्गत प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनमा काँग्रेसले खोटाङबाट सरस्वती बजिमय र बागलुङ– १ बाट चम्पादेवी खड्का तथा माओवादीकी कमला रोक्का पूर्वी रुकुमबाट उम्मेदवारी दिनुभएको थियो ।

समग्रमा प्रतिनिधि सभाको १६५ सिटका लागि प्रमुख तीन दलबाट पहिलो चरणमा तीन र दोस्रो चरणमा १५ गरी कुल १८ जना मात्रै महिला उम्मेदवारी परेको छ । जसमा सबैभन्दा बढी काँगे्रसबाट नौ जना र वाम गठबन्धनका एमालेका पाँच र माओवादी केन्द्रका चार जना गरी नौ जनाले उम्मेदवारी दिएका छन् ।

संविधानले संसद्मा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरेकाले प्रत्यक्षतर्फ महिलाले टिकट कम पाएपछि अब सो संख्या समानुपातिकबाट क्षतिपूर्ति गर्नुपर्ने बाध्यता दललाई आउनेछ ।

निर्वाचन जित्नेमा महिला उम्मेदवार ढुक्क

ललितपुर–३ बाट उम्मेदवारी दिनुभएका ९माओवादी केन्द्र०का प्रवक्तासमेत रहनुभएका पम्फा भुसालले आफ्नो जित निश्चित रहेको बताउनुहन्छ ।

यसअघि पनि विसं २०६४ को संविधानसभा निर्वाचनमा आफूले सोही क्षेत्रबाट जितेको र यसपटक वाम गठबन्धन भएका कारण झनै जित सुनिश्चित रहेको उहाँको भनाइ छ ।

आफू सधैँ सो क्षेत्रको विकास निर्माण र जनताको सुख, दुःखमा साथ रहेकाले पनि आफू जित्नेमा ढुक्क रहेको उहाँले राससलाई बताउनुभयो ।

महिलाको हकअधिकारको आवाज बुलन्द गर्नुका साथै महिलाले पनि देशको नेतृत्व लिन सक्षम छन् भन्ने सन्देश दिनका लागिसमेत आफ्नो जित आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

मकवानपुर–२ बाट काँग्रेसको उम्मेदवार बन्नुभएकी काँग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ९डीना०ले आफ्नो उम्मेदवारीले मकवानपुरवासी र सो क्षेत्रका महिलामा उत्साह थपिएकाले आफ्नो जित सुनिश्चित रहेको बताउनुभयो ।

आफू विसं २०४८ मा पनि सोही क्षेत्रबाट निर्वाचन लडिसकेको र केन्द्रीय तहमा रहेर राजनीति गरिरहेकाले सो क्षेत्रको विकासका लागि आफूप्रति सबैको आशा, भरोसा र सद्भाव रहेको उहाँको भनाइ छ ।

कैलाली–१ बाट उम्मेदवार रहनुभएका एमालेका केन्द्रीय सदस्य गरिमा शाहले आफ्नो पार्टीले अघि सारेको आर्थिक समृद्धि र राष्ट्रिय एकताको एजेण्डा तथा वाम गठबन्धनका कारण आफ्नो जित सुनिश्चित रहेको धारणा व्यक्त गर्नुभयो ।

आफूले यसअघि संविधानसभामा संविधान मस्यौदा लेखन समितिको सदस्यकारुपमा खेलेको भूमिका, कैलालीको विकासका लागि तथा ७ नं प्रदेशलाई पर्यटन क्षेत्रका रुपमा विकास गर्न खेलेको भूमिकाका कारण साझा व्यक्तित्वका रुपमा यो क्षेत्रमा आफूले पहिचान बनाइसकेको उहाँको भनाइ छ ।

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget