Websoft University

www.radiomakalu.com || 021-522512


Latest Post

काठमाडौँ, जेष्ठ १९ गते । सर्वोच्च अदालतमा ‘अदालतको अपहेलनासम्बन्धी' परेको मुद्दामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड'ले मंगलबार लिखित जवाफ पठाएका छन् ।
सर्वोच्च अदालतमा पुगी दाहालका तर्फबाट प्रतिनिधिका रुपमा(वारेस) लोकमणि पोखरेलले अदालतको अपहेलनासम्बन्धी मुद्दाको लिखित जवाफ सर्वोच्च अदालतमा बुझाएका हुन् ।



लिखित जवाफमा चर्चामा आउनका लागि मुद्दा दायर गरेर अदालतको दुरुपयोग गरेको उल्लेख गर्दै भनिएको छ, ‘निवेदकले चर्चामा आउनका लागि मुद्दा दायर गरेको ध्यय देखिन्छ, आफ्नो चर्चाका लागि अदालतको दुरुपयोग गर्नु कदापि न्यायसङ्गत हुन सक्दैन ।'

विशुद्ध चर्चामा आउने उद्देश्यले दायर गरेको निवेदन भएको हुँदा निवेदन खारेजीको भागी भएको समेत लिखित जवाफमा उल्लेख छ ।

आफूले वैशाख ३१ गते राजधानीमा बोलेको एउटा कार्यक्रमको विषयलाई लिएर आफ्नो अनुकूल भाषा प्रयोग गरी अदलबदल गरी लेख्ने÷लेखाउने काम गरेको उल्लेख गर्दै लिखित जवाफमा भनिएको छ, ‘निवेदकले उल्टो अदालतलाई विवादमा ल्याउने काम स्वयम्ले गर्नुभएको छ ।'

द्वन्द्वकालमा भएका घटनालाई लिएर विस्तृत शान्ति सम्झौताको भावना र मर्मअनुरुप हुनुपर्छ भन्ने मान्यता रहिआएको र सो सम्झौताअनुसार उच्चस्तरीय सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्न दुवै पक्ष सहमत भएको सर्वविदितै भएको समेत लिखित जवाफमा उल्लेख छ ।

विस्तृत शान्ति सम्झौताकै बुँदा नम्बर २७ मा दुवै पक्ष (सत्तापक्ष र आन्दोलनरत पक्ष) राजीतिक कारणले लगाएको दाबी उजुरी विचाराधीन रहेको मुद्दा मामिला फिर्ता र थुनामा राखिएका बन्दीको स्थिति सार्वजनिक गरी तुरुन्त रिहाइ गरिने सुनिश्चितसमेत गरेको उल्लेख छ ।

केन्द्रका अध्यक्ष दाहालले गत वैशाख ३१ गते राजधानीमा बोलेको विषयलाई लिएर न्यायिक प्रक्रियामा हस्तक्षेप गर्न खोजेर अदालतको अपहेलना भएको भन्दै यही जेठ ३ गते अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा निवेदन दायर गरेका थिए ।

अध्यक्ष दाहाललाई विपक्षी बनाई दायर भएको निवेदनमा अदालतले शान्ति सम्झौता विपरीत काम गरेकोजस्ता अभिव्यक्तिले अदालतको मानहानि भएको उल्लेख गरिएको थियो ।

निवेदनमा लोकतन्त्रमा स्वतन्त्र न्यायालयमाथि प्रहार गरी अदालतको मानहानी गर्ने पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहाललाई कानुनअनुसार कारबाही माग गरिएको थियो ।

निवेदनमा यही जेठ ११ गते कामु प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले अदालतको अपहेलनासम्बन्धी मुद्दामा अध्यक्ष दाहाललाई तीन दिनभित्र अदालतमा आफैँ वा आफ्नो प्रतिनिधिमार्फत लिखित जवाफ पठाउन आदेश दिएको थियो ।

सोही आदेशअनुसार दाहालले आफूले अदालतको लिखित जवाफको पत्र यही जेठ १६ गते प्राप्त गरेको र पत्र प्राप्त गरेको मितिले तीन दिनभित्र मंगलबार लिखित जवाफ सर्वोच्च अदालतमा पठाएका हुन् ।

केन्द्रका अध्यक्ष दाहालले न्यायालयका बारेमा मानहानि हुने खालको आपत्तिजनक अभिव्यक्ति दिएको हुँदा गम्भीर अवहेलना गरेको विषयमा एक वर्ष कैद तथा १० हजार जरिवानाको मागसमेत गरिएको थियो । रासस - 

काठमाडौँ, जेष्ठ १९ गते ०५८ साल जेठ १९ गते शुक्रबार साँझ राजदरबारमा भएको वीभत्स हत्याको १४ वर्ष बितेको छ । तर हत्याकाण्ड अझै रहस्य नै बनाइएको छ । राजा वीरेन्द्र र उनका परिवारको त्यो कहालिलाग्दो घटनामा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछौँ । 



तर दिवंगत राजा वीरेन्द्र र उनका परिवारको वीभत्स हत्यामा श्रद्धाञ्जलि अर्पण गरेर पनि अहिलेसम्म हामी अत्यन्त चिन्तित छौँ । कसरी भयो त त्यो ह्रदयविदारक हत्या ? समयको अन्तरालमा दरबार हत्याकाण्डलाई लिएर अनेकौँ कोणबाट चर्चा–परिचर्चा एवम् मिथ्या आरोप थुपार्ने अनावश्यक विवाद उब्जाउँदै राजदरबार हत्याकाण्डलाई आआफ्नै ढंगले व्याख्या गर्ने गरिएको पनि छ ।


हत्याको घटनालाई दलका तात्कालिक प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा एमाले नेता माधव नेपालहरूले देशलाई संक्रमणकाल र अस्थिरताबाट जोगाउन राजा ज्ञानेन्द्रलाई २०४७ सालको संविधानअनुसार राजाको रूपमा स्थापित गरी राजसंस्थालाई निरन्तरता दिए । राजदरबार हत्याकाण्ड भएको सात दिन नपुग्दै माओवादी नेता बाबुराम भट्टराईले जेठ २४ गते कान्तिपुरमा एक लेख छपाएर दरबार हत्याकाण्डमा राजा ज्ञानेन्द्रको हात छ भनेर प्रकाशित गराए ।

त्यो लेखले नेपाली समाजमा ठूलो भ्रम खडा गर्‌यो । वास्तवमा भारतीय दूतावासस्थित भारतीय गुप्तचर संस्था ‘रअ' का प्रमुख र बाबुराम भट्टराईको सुमधुर सम्बन्ध कायम रहेकाले यिनै ‘रअ' प्रमुखको सल्लाहमा बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई आरोप गरेर उक्त लेख लेखेका थिए । किनकि ‘रअ' प्रमुख हर्मिज र बाबुराम भट्टराई दुवै क्याथोलिक भएकाले यी दुईबीचमा राम्रो सम्बन्ध थियो ।

त्यसपछि कस्तो हंगामा मच्चियो भने दरबार हत्याकाण्डमा राजा ज्ञानेन्द्र र पारसलाई दोष थोपरेर अरूले पनि आफूखुसी लेख्न थाले । यसरी राजा ज्ञानेन्द्रप्रति आरोप लगाएर भारतीय सञ्चारमाध्यमले पनि लेख्न थाले । यसले व्यापकता पाएपछि नेपाल हेर्ने ‘रअ' प्रमुख बढुवा भएर भारतीय गुप्तचर संस्था ‘रअ' को प्रमुखमा नियुक्त भए भने आलोक जोशी ‘रअ' को नेपाल हेर्ने गुप्तचर प्रमुख बने ।

त्यसपछि योजनाबद्ध रूपले माओवादीलगायत कांग्रेस, एमालेका नेताहरू ‘रअ' को माध्यमबाट दिल्ली दरबार धाएर बाह्रबुँदे सहमतिमा हस्ताक्षर गरेर प्रायोजित जनआन्दोलनमा सहभागी बने । जनआन्दोलनले रक्तपातपूर्ण स्थिति खडा गर्न थालेकाले राजा ज्ञानेन्द्रसँग सम्झौता गरेर जनआन्दोलन विसर्जन भएको थियो । तर जनआन्दोलनपछि राजासँगको सम्झौतालाई धोका दिएर मुलुकलाई धर्म निरपेक्ष, गणतन्त्र बनाउने रणनीतिमा दलहरू लाग्न थाले । नेपालमा अहिलेको संकटको कारक नै यही हो ।

राजा वीरेन्द्र देशप्रेमी र प्रजातन्त्रवादी थिए । उनलाई पाँचै विकास क्षेत्रका १४ अञ्चल ७५ जिल्लाको बारेमा गहिरो ज्ञान थियो । नेपालको आर्थिक विकासका निमित्त शान्ति क्षेत्रको माध्यमबाट मुलुकलाई समुन्नत बनाउन सकिन्छ भन्नेमा उनी विश्वस्त थिए । नेपालको भौगौलिक बनावट र सामरिक दृष्टिकोणले दुवै छिमेकी राष्ट्रसँग सुमधुर सम्बन्ध राख्नमै उनी अघि बढिरहेका थिए । उनले नेपाली सेनालाई तालिमका निमित्त आवश्यक पर्ने केही हातहतियार चीनसँग खरिद गरेपछि भारत सशंकित भयो । राजीव गान्धीसँग राजा वीरेन्द्र र रानी ऐश्वर्यको सम्बन्ध चिसिन गएको थियो ।

त्यही मौकाको फाइदा उठाएर नेपालमाथि भारतले आर्थिक नाकाबन्दी नै गर्‌यो । नाकाबन्दीबाट नेपालीलाई झुकाउन नसकेपछि नेपालमा २०४६ सालमा आन्दोलन उचाले । आन्दोलनकारीको सहयोगको लागि भारतबाट चन्द्रशेखर नेपाल आए । पञ्चायती व्यवस्था फाल्ने मात्र भारतको चाहना थिएन, राजतन्त्रप्रति असहमति जनाउने कांग्रेस (आई) को नीतिसँग राजा वीरेन्द्र नझुकेपछि भारत नेपालसँग चिढिएको थियोे ।

नेपालको शान्ति क्षेत्र प्रस्तावलाई भारतले अस्वीकार गरिरहेको थियो भने सार्क राष्ट्रको संगठनमा राजा वीरेन्द्रको भूमिकाप्रति भारत खुसी थिएन । कलकत्ताका कम्युनिस्ट् नेता ज्योति वसुका घरमा गरिएको बैठकबाट नेपालका राजारानीविरुद्ध जथाभावी नारा सुरु भएको थियो । नेपालका केही राजनीतिक दलका नेताहरू भारतमै बसेर राजतन्त्र कसरी हटाउन सकिन्छ भन्ने षड्यन्त्रमा लागिरहेका बेला राजदरबार हत्याकाण्ड भएपछि सो घटना भारतले गराएको आशंका गरियो । वास्तवमा यस घटनामा ‘रअ' को गहिरो सम्बन्ध थियो भन्ने हर्मिज र बाबुराम भट्टराईको उठबसबाट स्पष्ट हुन्छ ।
प्रजातान्त्रिक मूल्य र मान्यतालाई सबैले आत्मसात गर्ने हो भने अब नेपालको राष्ट्रियता, प्रजातन्त्रको सदृढीकरणको लागि हामी विभिन्न विचारधारामा विभाजिन राजनीतिक तथा गैरराजनीतिक क्षेत्रबाट सोचौँ र संकटग्रस्त देशलाई संकटबाट मुक्त गराउन सक्नुपर्छ ।
दीपेन्द्रसँग दिव्यानी राणाको विवाह गर्न रानी ऐश्वर्यको असहमति भएपछि भारतीय गुप्तचर संस्था ‘रअ' का प्रमुख पी हर्मिजले अनेकौँ षड्यन्त्रमा संलग्न भएको आधारमा भारत यसमा संलग्न थियो भन्ने पुस्ट्याउँछ । शाही पारिवारिक भेटघाटको क्रममा भएको यो घटनामा युवराज दीपेन्द्रको उन्माद नै यस हत्याकाण्डसँग जोडिएको छ । प्रेममा पागल भएका दीपेन्द्रलाई त्यो घटनाले अझ उत्तेजित बनाएपछि आफ्ना बाबु र आमालाई हत्या गरे भनिएको छ । तर हत्याकाण्डलाई ज्ञानेन्द्रले गराएको भन्ने अतिरञ्जित ढंगबाट प्रचार गरी राजसंस्थाको संवेदनशीलतामाथि प्रश्न उठाइयो ।

२०४६ सालको परिवर्तनपछि फाल्न नसकेको राजसंस्थालाई दरबार हत्याकाण्डपछि देश–विदेशी शक्तिले २०६३ मा राजसंस्था अन्त्य गर्न सफल भए । दरबार हत्याकाण्डको दोष ज्ञानेन्द्रमाथि लगाउन संसद्वादी दलहरूसमेत माओवादीहरूको जालमा भुले । नेपालीहरूले आफ्नो अभिभावकको रूपमा मानेका वीरेन्द्रको हत्या हुँदा देश शोकाकूल भयो । चारैतिर रोदन र क्रन्दनको चीत्कार मात्र सुनिन्थ्यो । रहस्यमय ढंगबाट हत्या भएको त्यो कहालीलाग्दो क्षण सम्झदा अहिले पनि मन खिन्न हुन्छ । सारा अनुसन्धान तथा प्रधानन्यायधीशको समितिको प्रतिवेदनअनुसार दुःखान्त घटनाको खलनायक दीपेन्द्र नै थिए ।

राजा वीरेन्द्रको वंश विनाश भएपछि राजसंस्थाका विरोधीहरूलाई थप हौसला मिल्न पुग्यो । नेपाल स्वतन्त्र र सार्वभौम राष्ट्रको रूपमा अक्षुण्ण राख्न राजसंस्थाको महत्त्वपूर्ण योगदान रहिआएको थियो । राजा वीरेन्द्र लोकप्रिय र राष्ट्रवादी भएकोमा केही देशी–विदेशी शक्तिहरू सहनै सक्दैनथे । वीरेन्द्रको हत्यापछि संसदीय प्रजातन्त्र नै धरापमा पर्न गयो । राजा वीरेन्द्रले माओवादीमाथि सैनिक बल प्रयोग गर्न नदिएकोमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला रुष्ट भएका थिए । राजा वीरेन्द्र चाहन्थे, नेपाली नागरिकको हत्या सेना लगाएर गराउनु हुन्न ।

माओवादी विद्रोहको कारण खोजेर समाधानको बाटो लिनुपर्छ भन्ने राजा वीरेन्द्रको भनाइ थियो अनि नेपालमा कसैको पनि रगत बग्नु हुँदैन भन्ने वीरेन्द्र चाहन्थे । यस घटनाक्रममा जेजस्ता विचार प्रस्तुत गरे पनि राजा वीरेन्द्र अब यो संसारमा छैनन् । उनको आत्माको चिर शान्तिको निम्ति पशुपतिनाथसँग प्रार्थना गरौँ । राष्ट्रिय राजनीतिमा राजा वीरेन्द्रको सोच थियो कि नेपालको राष्ट्रियता, प्रजातन्त्र र राजसंस्थाबीचमा सधैँ समन्वय र सन्तुलन रहिरहनुपर्छ ।

अतः प्रजातान्त्रिक मूल्य र मान्यतालाई सबैले आत्मसात गर्ने हो भने अब नेपालको राष्ट्रियता, प्रजातन्त्रको सदृढीकरणको लागि हामी विभिन्न विचारधारामा विभाजिन राजनीतिक तथा गैरराजनीतिक क्षेत्रबाट सोचौँ र संकटग्रस्त देशलाई संकटबाट मुक्त गराउन सक्नुपर्छ । यसो भएपछि देशभक्त राजा वीरेन्द्रको दिवंगत आत्मालाई शान्ति मिल्नेछ ।-

काठमाण्डौ, जेष्ठ १९ गते ।  काठमाडौँका निजी अस्पतालको सिजेरियन सेक्सन अर्थात् अपरेसन गरी बच्चा जन्माउने दर ४८ प्रतिशतको हाराहारीमा छ । निजी अस्पतालका डाक्टर वा सञ्चालक काठमाडौँमा रेफरल र क्रिटिकल केस बढी आउने भएकाले सिजेरियन दर बढी भएको दाबी गर्छन् । तर, कारक यतिमात्रै छैन, प्रसूति गृह अस्पताल निर्देशक डाक्टर जागेश्वर गौतम भन्छन्, ‘कहीँ–कहीँ पैसाको लोभमा पनि डाक्टरले अपरेसन गरिदिन्छन् । तर, यति धेरै सी सेक्सन बढ्नुमा पैसामात्रै कारक छ भन्नचाहिँ मिल्दैन ।’

त्यसो त गौतमजस्तै ओम अस्पतालका निर्देशक डाक्टर भोला रिजाल पनि यो सत्यलाई स्वीकार गर्छन् । कतिपय डाक्टर वा अस्पतालले पैसाकै लागि पनि अनावश्यक रूपमा अपरेसन गरी बच्चा जन्माउने गरेको हुन सक्ने भन्दै त्यसलाई कडाइ गर्नुपर्ने बताउँछन् डाक्टर रिजाल ।



अहिले निजी अस्पतालले कुल संख्याको ९३ प्रतिशतसम्म अपरेसन गरी बच्चा जन्माउनुको अर्को कारण डाक्टर र अस्पतालको असुरक्षा पनि हो । सुत्केरी गराउँदा हुन सक्ने दुर्घटनामा डाक्टर तथा अस्पतालमाथि दोष आउने गरेकाले कुनै पनि डाक्टरले जोखिम लिन नचाहँदा अपरेसनको दर बढिरहेको छ ।

नेपालमा अहिले पनि एक हजार महिलाको सुत्केरी गराउँदा १७ जना सुत्केरीको मृत्यु हुने गरेको तथ्यांक छ । त्योबाहेक शिशु मृत्युदर उस्तै बढी छ । यदि सुत्केरी गराउँदा आमा वा बच्चालाई केही भएमा अस्पताल र डाक्टरलाई दोषी देखाई तोडफोड र प्रदर्शन तथा विरोधमा उत्रने मानसिकताले गर्दा डाक्टरले कुनै जोखिम मोल्न चाहँदैनन् । जसकारण अहिले सिजेरियन सेक्सनको दर बढिरहेको छ ।

कति पैसा लिन्छन् अस्पतालले ?

अहिले निजी अस्पतालले अपरेसन गरी बच्चा जन्माएबापत ५० हजारदेखि तीन लाख रुपैयाँसम्म पैसा लिने गरेका छन् । राजधानीको भ्याली मेटरनिटी अस्पताल, ओम अस्पताल, कान्तिपुर अस्पताल, हिमाल अस्पताल आदिले अपरेसन गरी बच्चा जन्माएबापत ५० हजारदेखि १ लाख ५० हजारसम्म पैसा असुल्ने गरेका छन् । त्यसैगरी बयोधा अस्पताल, ग्रिनसिटी अस्पताल, काठमाडौँ मोडल अस्पताल आदिको अपरेसन र अन्य शुल्क गरी १ लाख ५० हजारदेखि २ लाखसम्म शुल्क लिने गरेका छन् । सुविधासम्पन्न भनिएको नर्भिक अस्पतालले त अपरेसन गरी बच्चा जन्माइदिएपछि विभिन्न शीर्षकमा ३ लाख रुपैयाँसम्म शुल्क लिने गरेको छ ।

यसरी अहिले राजधानीमा आवश्यकताभन्दा पनि गर्भवती वा उनको आफन्तका माग, पैसाको लोभ, जोखिम नलिने मानसिकता आदिका कारण दिनानुदिन अपरेसन गरी बच्चा जन्माउने विधि विकास भइरहेको छ । जसले आमा र बच्चा दुवैलाई असर गरिरहेको छ ।

काठमाण्डौ, जेष्ठ १९ गते मुलुकमा सबैभन्दा बढी अर्थमन्त्री हुने भाग्यवानी नेतामा पर्छन्, कांग्रेस नेता रामशरण महत । खुला अर्थतन्त्रका हिमायती मानिने महत कांग्रेसबाट ६ पटक मन्त्री भए । कांग्रेसमा महेश आचार्यपछि निरन्तर अर्थमन्त्री बन्ने अवसर पाए पनि महतले पार्टीभित्र भने कहिल्यै लोकप्रिय छवि बनाउन सकेनन् ।



‘महतले खुला अर्थतन्त्रको नाममा समाजवाद उन्मुख कार्यक्रम दिन नसकेको पार्टीभित्रै आलोचना छ,’ महतको अर्थमन्त्री कालको अनुभव सुनाउँदै कांग्रेसका एक नेताको तिखो टिप्पणी छ, ‘उहाँले आफ्नो कार्यकालभर मुलुकको अर्थमन्त्री आफैंमात्रै भइराख्छु र आफ्नै ढुकुटीबाट रकम बाँड्नुपर्ने हो जस्तो व्यवहार देखाउनुभयो । जसका कारण पार्टीभित्र आलोचना हुने गरेको हो ।’

यतिखेर उनी अर्थमन्त्री छैनन् । तर, पार्टीभित्र उनै आलोचनाका प्रमुख पात्र बनिरहेका छन् । एमाले नेतृत्वको गठबन्धन सरकारका अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटप्रति कांग्रेस नेताहरूको सैद्धान्तिक रूपमा विरोध छ । तर, वास्तविक विरोधको प्रहार भने पार्टीको पूर्ववर्ती सरकारका अर्थमन्त्री महतप्रति बढी लक्षित देखिएको छ ।
आइतबारको काग्रेस संसदीय दलको बैठकमा उनै महतप्रति धेरै सांसद खनिएका थिए । कांग्रेस नेतृत्वको सरकारका बेलामा सामाजिक सुरक्षाका कार्यक्रमप्रति असहिष्णु भएको भन्दै महतको आलोचनामा धेरै सांसदले लामो समय खर्चिए । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले समेत सामाजिक सुरक्षामा तत्कालीन सरकारको ध्यान नपुगेको भन्दै महतको आलोचना गरे । ‘मृगौला, क्यान्सर जस्ता गम्भीर प्रकृतिका रोगको उपचार नि:शुल्क गर्ने व्यवस्था गरांै भनेर मैले भन्दा महतजीले मान्नु भएन,’ सिटौलाको भनाइ थियो ।

सांसद रामहरि खतिवडाका अनुसार बाहिर बजेटलाई यस्तो र उस्तो भनेर विरोध गरे पनि आफ्नै सरकारका बेला तत्कालीन अर्थमन्त्रीको असहिष्णु नीतिका कारण पार्टी र सांसदहरू नै अप्ठ्यारोमा पर्ने गरेको धारणा कांग्रेसका अधिकांश सांसदहरूको छ । ‘सामाजिक सुरक्षामा दिएको बजेटको जनतामाझ विरोध गर्न अप्ठ्यारो पर्छ,’ खतिवडाले भने, ‘वरिष्ठ त्यसमा पनि अनुभवी नेता अर्थमन्त्री भएका बेला पनि किन असफल भइयो भन्नेबारे पार्टीभित्र जवाफ दिनुपर्छ भनेर आवाज उठेको हो ।’

अर्का सांसद कमल पंगेनीले सामाजिक सुरक्षा भत्ता बढाउँ भन्दा तत्कालीन अर्थमन्त्री महतले नमान्दाको परिणाम अहिले पार्टीले बेहोर्नुपरेको बताए । ‘अहिलेको बजेटले मुद्रास्फीति बढाएर महँगी बढाउँछ भनेर विरोध गर्न गाह्रो भएको छ,’ उनले भने, ‘जनतालाई प्राविधिक कुराको मतलब हुँदैन । राहत कति पाइयो/पाइएन भन्ने चासो हुन्छ ।’

पार्टीभित्रै व्यापक आलोचना बढेपछि महतले मंगलबार व्यवस्थापिका संसदमा प्रस्टीकरण दिएका थिए । पार्टीभित्रै आफ्नै साथीहरूले कुरा नबुझेको भन्दै महतले संसदमा बजेटलाई बेलुनको संज्ञा दिए । अहिले बढाइएका सामाजिक सुरक्षा र केही कल्याणकारी नीतिहरू आफ्नै कार्यकालमा सुरु भएको भन्दै बचाउसमेत गरे । ‘आफनै पार्टीभित्रका साथीहरूले सोधे, उहाँहरूले कुरा बुझ्नु भएको छैन । बजेटका कतिपय व्यवस्था मेरै पालामा आएका हुन् । अहिलेको सरकारले निरन्तरता दिएको मात्रै हो,’ पूर्वअर्थमन्त्री महतले भने, ‘वृद्धा भत्ता बढाउने, सांसद कोषको रकम वृद्धि गर्ने, डाक्टरलाई छात्रवृत्ति दिनेजस्ता विषय मेरै पालामा आएका हुन् ।’
  • कान्तिपुर समाचारबाट

काठमाण्डौ, जेष्ठ १९ गते संसदीय अभ्यासमा प्रतिपक्षले आलोचना गर्नु र सत्तापक्षले बचाउ गर्नु सामान्य र औपचारिक प्रक्रिया हो । तर बजेटबारे प्रतिपक्षभन्दा सत्ता साझेदार दलका नेताहरु आक्रामक रुपमा प्रस्तुत भएका छन् ।



बजेटलाई ‘महत्वाकाक्षी, वितरणमुखी र हावादारी’ संज्ञादिदै आक्रमक देखिएको प्रमुख प्रतिपक्षी कांग्रेस सदनमा भने संयमितरुमा प्रस्तुत भएको छ । सदनमा बजेट पेस गर्नु अगाबै सार्वजनिक सञ्चारमाध्यम मार्फत महत्वपूर्ण सूचना चुहिएको विषयमा छानविन गर्न ‘संसदीय विशेष समिति’ गठन पछि मंगलबार सुरु सैद्धान्तिक छलफलमा प्रतिपक्षी कांग्रेस नेताहरुको अभिब्यक्ति बजेट कार्यान्वयनका चुनौतीमा केन्द्रीत देखिएको हो ।

सत्तारुढ राप्रपा नेपाल र फोरम लोकतान्त्रिकका नेताहरुले भने बजेटप्रति असन्तुष्टि जनाएका छन् । लक्ष्य अनुरुपको राजश्व संकलन हुँदापनि त्यसले साधारण खर्च धान्न नसक्ने अवस्थालाई सत्तापक्ष र प्रतिपक्ष दुबैले बजेटको चुनौतीका रुपमा चित्रित गरेका छन् ।

‘बजेटमा धेरै कर्णप्रिय कुरा छन्, त्यसमा मेरो सहमति छ,’ पूर्व अर्थमन्त्री समेत रहेका कांग्रेस नेता रामशरण महतले भने– ‘तर यसमा विगतको निरन्तरताका रुपमा आएका कार्यक्रमलाई पनि आफ्नै जस्तोगरी पेस गरिएको छ । मेरा आफ्नै साथिहरुले अर्थमन्त्री विष्णु पौडेलले ल्याएजस्तो कार्यक्रम हिजो तिमिले किन ल्याएनौ भन्नुभयो । मैले बुझाउनु पर्‍यो ।’

स्वाथ्यविमा, छात्रवृत्तिमा अध्ययन गर्ने चिकित्सकले गाउँमा सेवा गर्नुपर्ने प्रावधान, मृगौला, क्यान्सर, मुटु जस्ता रोगको उपचारमा सरकारी सहयोग जस्ता कार्यक्रम आफुले पहिलेनै सुरु गरेको उल्लेख गर्दै पूर्वमन्त्री महतले बजेटमा ती कार्यक्रमलाई विगतको निरन्तरता नभनिएकोमा चित्त दुखाएका हुन् ।

गाउपालिका/नगरपालिकालाई दिइनु अनुदान, वृद्धभत्ता जस्ता सामाजिक सुरक्षा कार्यक्रमलाई अनुत्पादक र वितरणमुखी भन्दै आएका पूर्वमन्त्री महतले यसपटक तीनको विरोध गरेनन् । ‘वृद्धभत्ता विगतमा पनि दोब्बर गरेको हो । अहिले गरिएको पनि ठीक छ । गाविस, जिविसमा जाने रकमलाई कस्ले अनुचित भन्छ ? उनले भने– ‘तीन वटा गाविस एउटै सचिवले हेर्नुपर्दा यसको कार्यान्वयनमा समस्या छ । स्थानिय निकायमा जाने दुरुपयोग नहोस भन्नेमा बजेटले होसियारी अपनाएको छैन ।’

कृषिक्षेत्रका लागि प्रस्तावित ७ अर्व अनुदान चित्त नबुझे पनि उनले विरोध गरेनन् । ‘कृषिमा आधुनिकिकरणको योजनालाई कसैले नाई भन्न सक्दैन,’ उनले भने– ‘तर एक वर्षमा तरकारी र दुई वर्षमा खाद्यान्हमा आत्मनिर्भर सहितका लक्ष्य पुरा हुन सक्यो भने म दश पटक स्यालुट गर्छु ।’ बजेटको आकार ठूलो भएको, योजना आयोगले दिएको सिलिङ्ग बढाएर वित्तिय अनुशासन तोडेको, आर्थिक वृद्धि र मुद्रास्फितिको आकलन परस्पर विरोधी प्रक्षपण गरिएको विषयमा भने उनले अर्थमन्त्री पौडेलको आलोचना गरे ।

६ पटक अर्थमन्त्री भएका महतलाई विगतका बजेटबारे पार्टीका आन्तरिक बैठकहरुमा आफ्नै सहकर्मीले र्‍याखर्‍याखती पारेका कारण उनले सदमा रक्षात्मकरुपमा प्रस्तु भएका हुन् । उनले छलफलको प्रारम्भनै बजेट वक्तव्यमा लोकतन्त्रका लागि योगदान गरेका नेताहरुको नाम उल्लेखगर्ने सन्दर्भमा बीपी कोइराला लगायका कांग्रेस नेतालाई पुष्पलाल श्रेष्ठ, मदन भण्डारी र मनमोहन अधिकारी लगायका कम्युनिष्ट नेता पछि उल्लेख गरिएको, पूर्वप्रधानमन्त्रीद्वय कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको नाम उल्लेख नगरिएकोबाट सुरु गरेका थिए । कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रतिष्ठान गठन गर्ने पूर्ववर्ती सरकारको योजना छुटाएकोमा पनि उनले आपत्ति जनाए । रसुवागढी, काठमाडौ, लुम्बिनी रेलमार्ग, पानी जहाज खरिद जस्ता योजना विना अध्ययन बजेटमा समावेस गरिएको उल्लेखगर्दै संभाव्यता अध्ययन र विस्तृत परियोजना निर्माणबिना ती महत्वाकाक्षी योजना आजको भोली संभव नहुने बताए ।

प्रमुख सत्तारुढ दल एमालेले बजेटको पूर्ण बचाउ गरेको छ भने सत्तासझेदार एमाओवादीले ‘आमरुपमा सकारात्मक दिशामा केन्द्रीत’ रहेको टिप्पणी गरेको छ । ‘निकै राम्रो, सन्तुलित र हिम्मतिलो बजेट आएको छ,’ पूर्वअर्थमन्त्री समेत रहेका एमाले नेता भरतमोहन अधिकारीले भने– ‘महतजीको कुरा नकारात्मक छैन । बजेटमा एउटा समझदारी बन्न सक्छ । सहमतिबाटै कार्यान्वयनमा जाऔ ।’

संविधान र संघीयता कार्यान्वयनमा केन्द्रीत रहेर सकारात्मक सारतत्वको बजेट आएको उल्लेखगर्दै माओवादी केन्द्रका सांसद धनीराम पौडेलले द्वन्द्वपीडितलाई दिईने राहतमा अस्पष्ट रहेको भन्दै आलोचना गरे । ‘शान्ति प्रक्रियाका बाँकी कामबारे समयसीमा सहितको सैद्धान्तिक कार्यक्रम अघि सारिनु सकारात्म हो,’ उनले भने– ‘यसलाई अझ प्रष्टसंग बजेटमा समावेस गरिनुपर्छ ।’ पूर्ववर्ती माओवादी नेतृत्वको सरकारले द्वन्द्वपीडितलाई दिने भनेको दश लाख रुपैयाँ मध्ये ५ लाख बराबरको तामाकोशी जलविद्युत परियोजनाको शेयर दिइनुपर्ने उनको भनाई थियो ।

राप्रपा नेपालले भने प्रमुख दलका स्वर्गिय नेताहरुको नाममा स्थापित प्रतिष्ठानहरुलाई बिनियोजन गरिएको ५० करोड रुपैयाँ दिने प्रस्तावको तिब्र विरोध गरेको छ । यसरी रकम दिदा व्यवस्थाप्रतिनै नकारात्मक सन्देश जाने उल्लेखगर्दै राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले त्यस विषयमा सत्तारुढ दलहरुबीच पर्याप्त छलफल नभएको बताए । प्रष्ठिानहरुलाई रकम दिन नहुने तर दिनै पर्ने भए पूर्व पञ्चका नाममा स्थापित प्रतिष्ठानहरु पनि छुट्न नहुने उनको भनाई थियो । त्यसका लागि उनले पहिलो संविधानसभामा राप्रपा संसदीय दलका नेता चन्द्रबहादुर गुरुङ्ग, पूर्व प्रधानमन्त्रीद्वय मरिचमान श्रेष्ठ र सूर्यबहादुर थापा तथा पूर्वमन्त्री पद्सुन्दर लावतीको नाम प्रस्ताव गरेका छन् ।

सत्तारुढ फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देवले बजेटलाई सुन्दर चुनावी घोषणापत्रको संज्ञ दिए । स्थानिय र प्रदेश निर्वचनमा एमालेलाई फाइदा हुनेगरी बजेट आएको उनको भनाई थियो ।
५२ अर्ब रुपैयाँको घाटा बजेटमा प्रस्तावित सामाजिक सुरक्षा कार्यक्रमलाई देबले ‘ऋण बोकाएर ध्यू खाने’ प्रवृत्ति भएको बताए । पुर्ननिर्माण, जलविद्युत र कृषिलाई बजेटले दिएको प्राथमिकताको समर्थनगर्दै उनले हुलाकी राजमार्गका लागि ८० करोड रुपैयाँ थप गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।


विराटनगर, जेष्ठ १९ गते । राप्रपा नेपाल मोरंग जिल्ला क्षेत्र नं २ मा भेलाको उदघाटन गर्दै प्रमुख अतिथी सहमहामन्त्री प्रहलाद साहले यो देशमा उत्तरपन्थी र दक्षिणपन्थीको शासनलाई अस्विकार गर्दे राष्ट्रवादी शासनको आवश्यक्ता नेपाली जनतालाई महुशुश भैसकेको छ र त्यो राष्ट्रवादी शक्तिको नेतृत्व राप्रपा नेपालले गरीरहेको छ बताउनु भएको छ ।




सहमहामन्त्री प्रहलाद साहले  राप्रपा नेपालको संगठन विस्तार गाँउ र नगरका वडामा मात्र  सिमित नराखी टोल टोल सम्म विस्तार गर्दै लानुुपर्ने आवश्यक्ता देखिएको छ ।  जसबाट आउँदो स्थानिय निकायको निर्वाचनमा हामी सफल हुनेछौ  भन्नुभयो ।



उक्त कार्यक्रममा राप्रपा नेपाल कोशी अञ्चल समितिका सचिव श्याम कार्की, जिल्ला उपाध्यक्ष भरत पोखरेल, जिल्ला सचिव माधव आचार्यले पार्टीको सिद्धान्त प्रति अडिग रहि अगाडी बढनु पर्ने आवश्यक्ता औल्याउनु भयो । उक्त परिषदबाट क्षेत्रीय कार्यसमितिमा अध्यक्षमा पुष्प बहादूर चुहान निर्वाचित हुनुभयो साथै सदस्यहरुमा रमेश विष्ट, उर्मिला आचार्य, सयर बहादुर राई, छविलाल लम्साल , धु्रव आचार्य, नारायण खडका, चक्र ब गुरुङ , रिक्कु साक्य, राधिका आचार्य, वेद प्रसाद प्रसाई निर्वाचित हुनुभयो । उक्त कार्यक्रमको अध्यक्षता नवनिर्वाचित अध्यक्ष पुष्प बहादुर चुहानले गर्नुभएकोे थियो ।

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget