Websoft University

www.radiomakalu.com || 021-522512


दशैंमा नयाँ नोट छाप्दा ७९ करोड स्वाहा

Image result for new nepali rupees

काठमाडौं , कार्तिक ५ गते । नेपाल राष्ट्र बैंकले यस वर्ष दशैं अघिसम्म मात्रै करिब ७९ करोड रुपैयाँ खर्च गरेर ६१ अर्ब रुपैयाँ बढीका नयाँ नोट छपाइ गरेको छ ।

राष्ट्र बैंकले ठूलो रकम खर्च गरेर आर्थिक वर्ष ०७५/७६ को पहिलो त्रैयमासमा ४६ करोड ५५ लाख प्रति नयाँ नोट छपाई गरेको हो । राष्ट्र बैंकले अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५ करोड प्रति बढी नोट छापेको हो ।

चालु आर्थिक वर्षको साउनदेखि असोजसम्मको तीन महिनामा ४१ करोड ५४ लाख प्रति विभिन्न दरका नयाँ नोट छापिएको राष्ट्र बैंकले जनाएको छ । यसै अवधिमा ५ रुपैयाँ दरका ९ करोड ४२ लाख ५० हजार थान, १० रुपैयाँको ९ करोड ७२ लाख थान, २० रुपैयाँको ६ करोड ९६ लाख ५० हजार थान, ५० रुपैयाँ दरका १० करोड १५ लाख थान र १ सय रुपैयाँ दरका ३ करोड ८३ लाख थान नयाँ नोट छापिएको छ ।

यसैगरी ५ सय रुपैयाँ दरका २ करोड ८९ लाख ५० हजार थान र १ हजार रुपैयाँ दरका ३ करोड ५६ लाख थान नयाँ नोट छापिएका छन् ।

७९ करोड खर्चिएर नयाँ नोट

चालु आर्थिक वर्षको पहिलो त्रैयमासमा राष्ट्र बैंकले ६१ अर्ब ८१ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको विभिन्न दरका नयाँ नोट छपाइ गरेको छ । जसमा ५० अर्ब ७ करोड ५० लाख रुपैयाँको भुक्तानी भएको छ भने दशैंका बेला मात्रै ११ अर्ब ७४ करोड ३७ लाख रुपैयाँको नयाँ नोट सटही गरेको छ ।

राष्ट्र बैंकले यति परिमाणमा नयाँ नोट छाप्दा खर्च पनि ठूलै भएको छ । यति नोट छाप्दा करिब ७९ करोड रुपैयाँ राज्यको ढुकुटीको रकम खर्च भएको छ । यस अवधिमा ७८ करोड ९० लाख २८ हजार ७ सय ८१ रुपैयाँ नयाँ नोट छाप्दा मात्रै खर्च भएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

राष्ट्र बैंकले दशैंका लागि भन्दै ५, १०, २०, ५० र १ सय रुपैयाँ दरका नयाँ नोट सटही सुविधा प्रदान गर्यो । वितरण गरिएका यि दरका नोटका लागि मात्रै राज्यको ६२ करोड २८ लाख ६६ हजार ३ सय २२ रुपैयाँ खर्च बेहोरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा ६५ अर्ब ४२ लाख ५० हजार रुपैयाँ बराबरका विभिन्न दरका नयाँ नोट छपाइ गर्दा राष्ट्र बैंकले ७२ करोड ११ लाख ७५ हजार ७५ रुपैयाँ खर्च बेहोर्नुपरेको थियो ।

दशैंमा नयाँ नोट : राज्यलाई घाटा

एकातर्फ छपाईमै यतिधेरै खर्च भएको छ भने दशैंमा वितरण गरिएका धेरै नोटहरु विग्रने तथा नष्ट हुने कारणले पनि राज्यकोष ठूलो रकम नयाँ नोटमा खर्च हुने गरेको छ ।

दशैंकै बेला नयाँ नोट वितरण गर्ने चलनले गर्दा सर्वसाधारणहरुले दशैमा पुराना नोट प्रयोग गर्न छाडिसकेका छन् । दशैंमा जे-जसरी हुन्छ नयाँ नोट नै चाहाने सर्वसाधारणको चाहनाले गर्दा मुलुकलाई थप व्ययभार बढेको छ । दशैंमा नयाँ नोट प्रयोग गर्दा अबीर तथा टीका लाग्छ । अझ दक्षिणाको रुपमा दिँदा त अबीर टीका दलेर दिने प्रचलन छ । नोटमा अबीर तथा टीका थप्दा नोटको आयु कम हुने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

कुनै नोट विग्रिए राष्ट्र बैंकले त्यस्तो नोट खिचेर नयाँ नोट दिने गरेको छ । त्यो खिचेको नोटको सट्टा राष्ट्र बैंकले अर्को नयाँ नोट छपाउने गरेको छ । यसरी फेरी नोट छपाउँदा राज्यलाई व्यवभार थप हुने गर्दछ । अर्कोतर्फ दशैंमा मादक पदार्थ सेवन गर्नेहरुले नोट च्यात्ने तथा जलाउने साथै तास खेल्दा समेत नोटको जतन नगरी प्रयोग गर्दा च्यातिने गरेका घटनाहरु आउने गरेका छन् ।
दशैंमा वितरण गरिएका धेरै नोटहरु विग्रने तथा नष्ट हुने कारणले पनि राज्यकोष ठूलो रकम नयाँ नोटमा खर्च हुने गरेको छ ।

यसरी दशैंमा वितरण गरिएका नयाँ नोटमा अबीर र टीकाको माध्यमबाट होस् या जुवातास खेल्दा हुने क्षतिका कारण मुलुकको ढुकुटीबाट नै खर्च गर्नुपर्ने अवस्था आउँछ ।

राज्यलाई यसरी वर्षेनी व्यवभार बढ्दै जाने हुँदा दशैंका बेला नयाँ नोट वितरण बन्द गर्ने हो कि भन्ने बहस राष्ट्र बैंकमै शुरु भइसकेको छ । राष्ट्र बैंक स्रोतका अनुसार दशैंकै बेला नयाँ नोट छाप्दा खर्च सँगै व्यवस्थापनको समेत चुनौती सामाना गर्नुपर्ने भएकाले नयाँ नोटका विषयमा नयाँ निर्णय गर्ने गरी छलफल शुरु भएको छ ।

दशैंका बेला नयाँ नोट वितरण गर्दा खर्च दिनप्रतिदिन बढ्दै गएको र व्यवस्थापनको चुनौतीसमेत सामाना गर्नुपर्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला बताउँछन् । दशैंमा नयाँ नोट पुरै बन्द नगरे पनि यसमा केही नयाँ निर्णय गर्नु पर्ने उनको भनाइ छ । दशैंका बेला सबै नोट बन्द नगरी कुनै दुई दरका नयाँ नोट वितरण गरे धेरै समस्या कम हुने कार्यकारी निर्देशक निरौला बताउछन् ।

कर्मचारीदेखि सर्वसाधारणलाई सास्ती

नयाँ नोट दशैंका बेला वितरण गर्दा खर्चसँगै व्यवस्थापनमा समेत ठूलो चुनौती देखिएको छ । यस वर्ष राष्ट्र बैंकले दशैंका लागि भन्दै ७ दिनसम्म नयाँ नोट वितरण गरेको थियो ।

राष्ट्र बैंकले वितरण गर्ने भनेको ७ दिनै बैंकिङ कार्यालय थापाथलीमा सर्वसाधारणको घुईचो लागेको थियो । सर्वसाधारणहरु बिहान ३ बजेदेखि समेत नयाँ नोट सटहीका लागि थापाथलीमा लाइन लाग्न पुगेका थिए । यस वर्ष राष्ट्र बैंकले विभिन्न वाणिज्य बैंकहरुमा समेत सटही सुविधा हसने व्यवस्था मिलाएको थियो ।

राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैंक लगायतका वाणिज्य बैंकहरुमा समेत नयाँ नोट सटही हुने भए पनि सर्वसाधारणलाई सहज भएको थिएन । प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म सटही सुविधा लिनका लागि सर्वसाधारणहरुले ३ देखि ७ घण्टासम्म लाइनमा बस्नुपर्ने बाध्यता देखिन्थ्यो ।

सर्वसाधारणलाई मात्रै होइन, कर्मचारीहरुलाई समेत सास्ती उस्तै हुन्छ । बिहान १० बजेदेखि नयाँ नोट वितरण शुरु हुने भए पनि बिहानै सर्वसाधारणको घुँइचो बढेकाका कारण कर्मचारीहरु अझ विहानै गएर व्यवस्थापन गर्नुपर्ने हुन्छ । बिहान १० बजेदेखि कार्यालय समय भए पनि बिहान सबेरै नोट व्यवस्थापनका लागि जानुपर्ने र साझ पनि ढिलामात्रै घर र्फकन पाउने कर्मचारीहरुको अवस्था रहेको थियो ।

निरुत्साहित गर्नैपर्छ : पूर्वगभर्नर क्षेत्री

राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षत्री दशैंमा हुने नयाँ नोट वितरणको कार्यलाई निरुत्साहित गर्नु पर्ने बताउछन् । नगदरहित कारोबारलाई प्रोत्साहन गर्दै जाने हो भने पनि दशैंमा हुने नयाँ नोटको प्रयोग घट्दै जानै पूर्व गभर्नर क्षत्रीको विस्वास छ ।

दशैंमा हुने नयाँ नोट वितरणका बारेमा जिज्ञासा राख्दा पूर्व गभर्नर क्षत्रीले ब्यूटीपार्लरको उदाहरण दिदै भने, ‘शहरमा जति ब्यूटीपार्लरको संख्या बढ्दै गयो उति मान्छेलाई नक्कल पार्नै पर्ने अवस्था हुँदै गयो । ब्यूटी पार्लर भएपछि मान्छेलाई नक्कल नपारी नहुने भयो । हो त्यस्तै दशै आएपछि नयाँ नोट चाहिन्छ भन्ने बानी बस्यो ।’

नयाँ नोट र पुराना नोटको मूल्य एउटै हुने हुँदा नयाँ नोट नै चाहिन्छ भन्ने मानसिकता त्याग्नुपर्ने उनको भनाइ छ । दशैंका बेला रक्सी खाएर नोट पोल्ने समेत गरेको भन्दै नोट जतन गर्नुपर्छ भन्ने विषयको ज्ञान सर्वसाधारणमा हुनुपर्ने उनले बताए ।

दशैंकै समयमा नयाँ नोट वितरण नगर्ने हो भने राज्यले खर्च तथा व्यवस्थापनको चुनौती सामना गर्नु पर्ने थिएन । राष्ट्र बैंकका एक उच्च अधिकारी भन्छन्- ‘पहिले पहिले नयाँ नोट दिने चलन थिएन, दशैंका बेला यस्तो समस्या आउँदैनथ्यो, नयाँ नोट कुनै निश्चित समय तोकेर बाँड्नु नै गलत हो ।’- रोयल आचार्य , अनलाइन खबरबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget