Websoft University

www.radiomakalu.com || 021-522512


पेचिलो बन्दै प्रदेश नाम





दमक, साउन २८ गते । १ नम्बर प्रदेशको नामकरणको विषयमा बहस सुरु भएको छ । केही दिनअघि नेकपाका अध्यक्षसमेत तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किराँत राज्य नामकरणका लागि करिब सहमति नजिक पुगिएको बताएपछि यसले यहाँ तरङ्ग पैदागरेको छ । सरकारका मन्त्रीले कसैले यसको समर्थन र कसैले विरोध गर्न थालेपछि यो बहस सुरु भएको हो ।
प्रदेश सरकारका दुई तिहाईभन्दा बढी मत रहेको नेकपाका मन्त्रीसमेत यसमा विभाजित देखिएका छन् । सार्वजनिक भाषण तथा कार्यक्रममा मन्त्रीका भनाइ नै फरक–फरक आउन थालेपछि प्रदेशको नामकरणको विषय पेचिलो बन्दै गएको छ । एक महिना भित्रमा प्रदेशको नामकरण र स्थायी राजधानी तोकिने गृहकार्यमा रहेको १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बताउनुभयो । हामी यो विषयमा अहिलेको बर्खे अधिवेशनमा नै टुङ्गो लगाउँछौँ –मन्त्री कार्कीले भन्नुभयो ।
उहाँले सबैलाई मान्य हुने नाम नै प्रदेश सभाले सर्वसम्मत वा सर्वसम्मत नभए दुई तिहाई मतद्वारा छिनोफानो गर्ने बताउँदै सगरमाथा, कोसी, पूर्वाञ्चल, मेची, किराँत, लिम्बुवान् लगायतका नाम छलफलमा रहेको बताउनुभयो । उहाँले आफूले सुरुवातदेखि नै यस क्षेत्रको पहिचानका रूपमा रहेको सगरमाथा, कोसी वा सप्तकोसी केही राख्न सकिने व्यक्तिगत सुझाव राख्दैआएको पनि जनाउनुभयो ।
प्रदेश सरकारका प्रवक्ता मन्त्री कार्कीले किराँतको विषयमा भने विमति जनाउँदै आउनुभएको छ । यस प्रदेशको नामकरण हाम्रो अधिकार क्षेत्र भित्रको कुरा भएकाले यो हामी आफैँ टुङ्गो लगाउँछौँ –मन्त्री कार्कीले भन्नुभयो । प्रदेशको राजधानीको विषयमा समेत अहिले तीव्र बहस भइरहेको छ । विराटनगर, गोठगाउँ, धरान र धनकुटाको सबैभन्दा बढी दाबी रहेको छ ।
यता १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले १ नम्बर प्रदेशको नाम किराँत हुनसक्ने बताउनुभयो । ऐतिहासिकताका आधारमा किराँत राज्य नामकरण हुनसक्ने जनाउँदै सार्वजनिक कार्यक्रममा समेत उहाँले यस विषयमा सहमतिको प्रयास भइरहेको बताउँदै आउनुभएको छ । झापाको गौरादहमा किराँत राज्य नामकरणको विषयमा सरकारका प्रवक्ता कार्कीले असन्तुष्टि व्यक्त गरिरहँदा मोरङको बेलबारीमा मन्त्री आङ्वोले किराँत राज्य नामकरण हुनसक्ने आधार पेस गरिरहनुभएको थियो ।
पल्लो किराँत माझ किराँत र वल्लो किराँत पुरानो किराँतकालीन राज्य नै हो पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि पल्लो, वल्लो, माझ किराँत भनेर नै स्वीकार गरेका थिए –मन्त्री आङ्वो भन्नुहुन्छ । किराँत राज्य जातीय नामकरण नहुने उहाँको तर्क रहँदै आएको छ ।
किराँतकालीन सभ्यता प्राचीन सभ्यता हो किराँत नितान्त जातीय नाम होइन यो प्राचीन सभ्यता, संस्कृति हो । प्रदेशको विकास र समृद्धिका लागि पहिचानलाई सम्बोधन गरे मात्र सहज हुन्छ –उहाँ भन्नुहुन्छ । आङ्वोले अब चाँडै नै प्रदेशको नामकरण हुने भन्दै यस क्षेत्रका जनताको अभिमत स्वीकार्य हुने दाबी गर्नुभयो । किराँत नाममा पनि विमति नहरने उहाँको तर्क छ । प्रदेशको नामकरण किराँत राख्दा इतिहास सभ्यता संस्कृति र यहाँको बहुसङ्ख्यक जनताको मनोविज्ञान सम्बोधन हुन्छ, सबैको समझदारीमा नै किराँत प्रदेश नामकरण हुन्छ –आङ्वोले भन्नुभयो ।- विष्णुप्रसाद पोखरेल, गोरखापत्र दैनिकबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget