Websoft University

www.radiomakalu.com || 021-522512


किबी जोन छनोटको काम सुरु





इलाम, साउन २७ गते । पहाडका किसानहरूलाई आम्दानीको भरपर्दो स्रोत हुन थालेपछि सरकारले पनि किबी खेतीलाई ‘किबी जोन’ का रूपमा काम गर्ने भएको छ । चालू आर्थिक वर्षमा सरकारले इलाममा किबी जोनको विकास गर्ने कार्यक्रम तय गरेपछि किबी जोनको काम सुरु हुन लागेको हो । किबीका लागि करिब दुई करोड बजेट छ, अब भदौको पहिलो सातादेखि किबी जोनको काम सुरु हुने जानकारी आएको छ, इलामका वरिष्ठ कृषि विकास अधिकृत रामस्वगारथ साहले बताउनुभयो ।
प्रधानमन्त्री आधुनिक कृषि परियोजनाअन्तर्गत सुरु हुने किबी जोनका लागि सर्वप्रथम सञ्चालक समिति गठन हुन्छ, साहले भन्नुभयो, केन्द्रीय तहबाट भएको त्यससम्बन्धी योजना तर्जुलाई तल किसानसँगको छलफलपछि कार्यान्वयनको चरणमा जान्छ । किबीका लागि कुन स्थानलाई जोनकै रूपमा विकास गर्ने भन्ने स्पष्ट खाका भई नसकेको साहले बताउनुभयो । किबी जोनका लागि एक सय हेक्टर जमिनमा किबी खेती भएको हुनुपर्ने उहाँले बताउनुभयो । साहका अनुसार औद्योगिकीकरण गर्दै प्रोसेसिङ, मार्केटिङ र व्यावसायिकीकरणमा किबी जोनको कार्यक्रमले किसानलाई सहयोग गर्नेछ ।
नेपालको एक हजार दुई सय मिटरदेखि दुई हजार पाँच सय मिटरसम्मको उचाइमा खेती गर्न सकिने किबीको उत्पादन इलाममा भने निकै राम्रो रहेको किसानहरू बताउँछन् । एक बोटमा ५० किलोसम्म किबी फल्ने हुँदा
किसानका लागि यसको खेती फाइदाजनक रहेको इलाम माइमझुवाका किसान पुरण गुरुङले बताउनुभयो ।



आफूले पनि तीन सय बोट किबी खेती गरेको जानकारी दिँदै गुरुङले गत सिजनमा बजारको खासै समस्या नभएको बताउनुभयो । घरबाटै गाडी–गाडीमा व्यापारीले लान्छन्, गुरुङले भन्नुभयो । छाँटकाँट मिलाउन र मल पानी मिलाउन सक्दा एकपटक रोपिसकेपछि वर्षौंसम्म अन्य लगानी गर्नुपर्दैन, सजिलो खेती छ ।
गुरुङको मात्र होइन साँखेजुङका टेकबहादुर विष्टको किबी खेती अझ हेरिरहुँ लाग्दो छ । विष्टले आफ्नो चियाबारीमा किबी लगाएर चिया टिप्न छाडेको तीन वर्ष भएको छ । घरमा खानलाई अलि–अलि चिया टिपिन्छ, चियाको भन्दा किबीका लागि लगानी थोरै र आन्दानी राम्रो हुने भएकाले चियाको स्याहार नै छाडिदिएको टेकबहादुरकी श्रीमती यामकुमारीले बताउनुभयो ।
विष्ट परिवारले करिब १५ रोपनीमा २३० बोट किबी लगाएका छन् । एउटै बोटमा राम्रो फल्दा दुई सय किलोसम्म उत्पादन हुन्छ । एक किलोमा १४ देखि २० दाना चढ्छ । यसबाट वार्षिक ४० देखि ४५ लाख रुपियाँ आम्दानी हुने गरेको यामकुमारी बताउनुहुन्छ ।
२०६४ सालमा जागिर छाडेर जिल्लामा किबी खेती थालेका सुलुबुङस्थित तालगाउँका तारामणि खतिवडाले सरकारले सञ्चालन गर्ने भनेको किबी जोन कार्यक्रम राम्रो भए पनि यो विषयमा किसानलाई भने खासै जानकारी नआएको बताउनुभयो । इलाममा चारवटा क्षेत्रलाई विभाजन गरि किबी जोनको प्रस्ताव हामीले पठाएका थियौँ, कसरी कार्यक्रम आयो भन्ने चाहिँ थाहा भएको छैन, खतिवडाले भन्नुभयो, सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाका केही वडालाई मिलाएर एउटा, मङ्गलबारे र नयाँबजार तथा साँखेजुङलाई किबी जोनको प्रस्ताव गरिएको थियो । इलाममा करिब २५ हजार किबी किसान रहेको खतिवडाको भनाइ छ ।
यता इलामका वरिष्ठ कृषि विकास अधिकृत साह भने किबी किसानले प्रतिकिलो ३० देखि ४० रुपियाँले मात्र बिक्री गर्न पाए भने पनि किबीबाट घाटा नहुने बताउनुहुन्छ । सुरुमा खेती लगाउन लगानी अलि हुन्छ, उत्पादन हुनथालेपछि खासै लागनी गर्नुपर्दैन, किबी बारीमा अलैँचीसहित अन्य खेती पनि गर्न सकिन्छ, साहले भन्नुभयो । जिल्लाका, सुलुबुङ, माइमझुवा, साँखेजुङ, मङ्गलबारे, पञ्चकन्यालगायतका क्षेत्रका किसानले किबी खेतीभित्र अलैँची, तरकारी र जडीबुटीजस्ता खेती गर्दै आएका छन् । - कोकिला ढकाल , गोरखापत्र दैनिकबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget