Websoft University

www.radiomakalu.com || 021-522512


राजपाको आन्दोलन फिर्ता

राजपाको आन्दोलन फिर्ता

काठमाडौं, जेठ १८ गते  ।  शीर्ष नेताहरूले भारतीय राजदूत मञ्जीवसिंह पुरीलाई भेटेको २४ घन्टा नबित्दै राष्ट्रिय जनता पार्टीले यसअघि घोषणा गरेको निर्वाचन बहिष्कारजस्ता कार्यक्रमहरू फिर्ता लिएको छ । राजपाको बुधबार बसेको बैठकले लिएको यस्तो निर्णयलाई ऊ दोस्रो चरणको निर्वाचनमा सहभागी हुनसक्ने संकेतका रूपमा हेरिएको छ । यसअघि राजपाले दोस्रो चरणको स्थानीय निर्वाचनका लागि उम्मेदवार मनोनयन गर्ने दिनमा आमहडताल आह्वान गरेको थियो ।
सरकारले दोस्रो चरणको निर्वाचन असार १४ गतेका लागि सारेपछि राजपाले आमहडतालजस्ता विरोधका कार्यक्रम फिर्ता लिएको हो । राजपाका महासचिव केशव झाले उम्मेदवार मनोनयन हुने दिनका लागि आह्वान गरिएको आमहडताल कार्यक्रम तत्कालका लागि स्थगन गरिएको जानकारी दिनुभयो । ‘उम्मेदवारी मनोनयन कार्यक्रम अवरुद्ध गर्न आमहडताल आह्वान गरेका थियौं, चुनाव मिति सरेपछि हडताल स्थगन गरिएको हो’, झाले भन्नुभयो । राजपाले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिकामा अन्तरक्रिया गरी आन्दोलनबारे जागरण गराउने, ती निकायमा विरोधसभा गर्ने, मधेस/थरुहट/लिम्बुवान क्षेत्रमा चक्काजाम गर्नेजस्ता कार्यक्रम तय गरेको छ ।
यसअघि मंगलबार राजदूत पुरीले राजपाका शीर्ष नेताहरूलाई स्थानीय निर्वाचनमा जान सुझाव दिनुभएको थियो । लैनचौरस्थित भारतीय राजदूतावास पुगेका राजपाका अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, शरत्सिंह भण्डारी, महेन्द्रप्रसाद यादव र अनिलकुमार झालाई मंगलबार राजदूत पुरीले यस्तो सुझाव दिनुभएको हो । राजदूत पुरीले राजपा नेताहरूसँग दोस्रो चरणको स्थानीय चुनावमा सहभागिताबारे जिज्ञासा राख्नुभएको थियो ।
‘तपाईंहरू स्थानीय निर्वाचनमा के गर्दै हुनुहुन्छ भन्ने मेरो जिज्ञासासम्म हो, कुनै निर्देशन वा तपाईंहरूको काम कारबाहीमा कुनै प्रकारको सुझाव दिनु होइन', भेटमा राजदूत पुरीले राखेको धारणा उद्धृत गर्दै सहभागी एक नेताले अन्नपूर्णलाई जानकारी दिए ।
राजदूत पुरीले राजपा नेताहरूलाई भेटेलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्नुभएको ती नेताले बताए ।
भारतीय राजदूत पुरीसँग करिब दुई घन्टा भएको छलफलमा राजपाका शीर्ष नेताहरूले आफूहरू स्थानीय निर्वाचनविरोधी नभए पनि सत्ता पक्षले ०६४ फागुनमा गरेको आठ बुँदे सम्झौता एवं गत साउनमा भएको तीन बुँदे सम्झौता कार्यान्वयन नगरेकाले आफूहरू आन्दोलनमा जान बाध्य भएको बताएका थिए । भेटमा राजपा नेताहरूले निर्वाचन मिति सारिनु नौलो कुरा नभएको उल्लेख गर्दै आफूहरूको प्रमुख चासो सहमति कार्यान्वयन नै भएको औंल्याएका थिए ।
‘संविधान संशोधन, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण र झुटा मुद्दा खारेज नभएसम्म निर्वाचनमा जान नसक्ने आफूहरूको बटमलाइन राजदूत पुरीलाई स्मरण गरायौं, ती नेताले भेटबारे जानकारी दिँदै भने ।
मधेस आन्दोलनका क्रममा भएको जनधनको क्षति, राहत र उद्धारका लागि पनि संविधान संशोधन अपरिहार्य रहेकोमा मधेसी नेताले जोड दिएका थिए ।
राजपा नेता एवं सांसद नरसिंह चौधरीले राजपा नेताहरूले राजदूत पुरीसँग मधेस र मधेसीको मागमा सरकार गम्भीर नभएकाले आफूहरू चुनावमा सहभागी हुन नसकेको धारणा व्यक्त गरेको जानकारी दिनुभयो । उहाँले अन्नपूर्णसँग भन्नुभयो, ‘राजदूत पुरीले हामीलाई चुनावमा सहभागी हुन आग्रह गर्नुभयो ।'-अन्नपूर्ण बाट ,  चिरञ्जीवी ढुंगाना

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget