Websoft University

www.radiomakalu.com || 021-522512


तीन शीर्ष नेता, कसले के भने मंगलबार संसदमा ?


तीन शीर्ष नेता, कसले के भने मंगलबार संसदमा ?

संविधान कार्यान्वयन आफ्नो चुनाती : ओली
काठमाडौं : प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलको सहमति एवं राष्ट्रिय आवश्यकता दृष्टिगत गरी सदनको अवरोध खुलेको बताउनुभएको छ । उहाँले भन्नुभयो,'असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचन, माघ ७ भित्र प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्नुपर्ने चुनौती रहेकाले संसद् खोल्नुको विकल्प रहेन ।'
व्यवस्थापिका संसद्को मंगलबार बसेको पहिलो बैठकमा देशमा विद्यमान राजनीतिक परिस्थिति र केही समययता अवरुद्ध संसद्बारे धारणा व्यक्त गर्दै ओलीले पहिलो चरणको स्थानीय तह निर्वाचन सम्पन्न भए पनि दोस्रो चरणको निर्वाचन अगाडि बढाउने र प्रदेश तथा केन्द्रीय संसद्को निर्वाचन गराउने लक्ष्यसहित सबै पक्ष सहमतिमा आएको बताउनुभयो । पूर्वप्रधानमन्त्री ओलीले स्थानीय तहको पहिलो चरणमा सत्ता पक्षबाट भएका धाँधली, बुथ कब्जा, मतपत्र च्यात्नेजस्ता कार्य रोकिनुपर्ने एमालेको माग कायमै रहेको जानकारी दिनुभयो ।
'स्थानीय तह निर्वाचनको दोस्रो चरण सम्पन्न हुनुअघि प्रधानमन्त्रीले किन राजीनामा दिनुपर्‍यो प्रश्न गर्दै ओलीले भन्नुभयो,'निर्वाचनको बीच बाटोमा नै प्रधानमन्त्रीले किन छाड्नुपरेको हो, संसद्लाई जानकारी गराए राम्रै हुन्छ ।' स्थानीय तहको पहिलो चरण निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिकाको वडा नं १९ को मतगणना भइरहेका बेला मतपत्र च्यातेको विषयमा प्रायोजित तवरले सत्ता पक्षले व्यवहार गरेको आरोप लगाउँदै ओलीले मतपरिणाम स्वीकार नगर्ने र जित्नैपर्ने बाध्यता सत्ता पक्षलाई किन आइपरेको हो सोध्दै भन्नुभयो,'फलानो ठाउँमा हाम्रो मान्छे जित्नै पर्छ भनेको भए सहयोग पनि हुन सक्थ्यो ।'
भरतपुरमा मतगणनास्थल कब्जा नभएको जिकिर गर्दै नेता ओलीले उम्मेदवारका प्रतिनिधिले गरेको गलत काममा अभियुक्तलाई कानुनअनुसार कारबाही गरेर मतगणना नियमित हुनुपर्नेमा त्यसो नभएर पुनः निर्वाचन गराउने मनसाय राखिएकामा आपत्ति प्रकट गर्नुभयो । मतपत्र च्यातिँदा भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृतले नै गलत कार्यलाई संस्थागत गर्न सहयोग पुर्‍याएको र निर्वाचन आयोगको निर्णय निष्पक्ष र स्वतन्त्र नभएको आरोप ओलीले लगाउनुभयो । च्यातिएको मतपत्र बदर गरी बाँकी रहेको मतगणना गर्नुपर्नेमा त्यसो नगरिएकामा आपत्ति प्रकट गर्दै उहाँले निर्वाचन हार्ने भएपछि गरिएको गलत कार्यले जनमतको उपहास गरेको र अस्वीकार गर्ने काम भएको आक्रोश व्यक्त गर्नुभयो ।
निर्वाचनमा अनुचित काम भए उम्मेदवारी नै खारेज हुने कानुनी प्रावधान छ भन्दै उहाँले मतपत्र च्यातिँदा कांग्रेस र माओवादी केन्द्रको धारणा सार्वजनिक नहुनु दुःखद रहेको बताउनुभयो । मतपत्र च्यात्नेलाई खादा ओढाएर सम्मान गरिएको र महान् काम गरेझैँ गरी सम्मान गरिएकोमा आक्रोश व्यक्त गर्दै उहाँले राज्यका अंगहरूलाई तानाशाही रूपमा प्रभावित गर्ने काम लोकतन्त्रको आधारभूत मूल्यमान्यताविपरीत रहेको धारणा व्यक्त गर्नुभयो ।
आयोगले भरतपुर प्रकरणमा उचित फैसला दिन नसकेपछि सर्वोच्च अदालतमा मुद्दा पुगेको, राष्ट्रिय आवश्यकतानुसार प्रधानमन्त्री चयन हुनुपर्ने र स्थानीय तहको निर्वाचन पनि गर्नुपर्ने भएकाले आफूहरू सहमतिमा आएको उहाँले स्पष्ट पार्नुभयो ।
एमालेलाई मधेसविरोधी भनेर हल्ला चलाइएकोमा रोष प्रकट गर्दै एमाले राष्ट्रिय पार्टी हो, क्षेत्रीय पार्टी होइन, जातीय पार्टी होइन भन्दै ओलीले भन्नुभयो,'हिमाल, पहाड र तराई सबैको साझा पार्टी हो, एमाले । यसमा सबै वर्ग-क्षेत्र अटाउँछ ।' राजविराज घटनामा सरकारले गोली चलाउनुपर्ने आवश्यकता किन परेको भन्ने विषयमा हालसम्म कुनै जानकारी नदिइएको बताउँदै उहाँले सो घटनामा एमालेमाथि दोष थोपरिएकोमा आपत्ति प्रकट गर्नुभयो । राष्ट्रिय समस्या समाधानका लागि आफ्नो पार्टी सबैसँग मिलेर काम गर्न चाहेको ओलीले बताउनुभयो।
चुनाव सम्पन्न भएकोमा धन्यवादको सट्टा दम्भ देखाउनु अनुचित : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले विपक्षी दलका नेता केपी शर्मा ओलीले आफूलाई धन्यवाद दिनुको साटो दम्भ देखाएको आरोप लगाउनुभएको छ । उहाँले संसदको बैठकमा भन्नुभयो,'तपाईंले भन्नु भो, हामीले ठिक्क गरिदियौं, जुगाँमा ताउ अलि धेरै दम्भ भयो भन्ने लागेको छ । प्रतिपक्षी दलका नेतासँग यति धेरै दम्भ आवश्यक छैन ।' ओलीले सम्बोधनका क्रममा बारम्बार जुँगामा ताउ लगाउँदै आफ्नो नेतृत्वको सरकारले चुनावको सबै तयारी गरेको तर जस भने दाहालले लिएको बताउनुभएको थियो ।
त्यसको जवाफ दिँदै प्रधानमन्त्री दाहालले ओलीसँग प्रश्न गर्नुभयो,'सबै हामीले ठिक्क पारेको टुटी मात्र खोल्यो भन्नुभयो । टुटी मात्र खोलेको हो त ? यस्तो यस्तो (जुगाँमा ताउ लगाएझैं गर्दै) गरेर देखाउनुभयो । मैले त त्यसो गर्न चाहेको छैन ।' आफूलाई त प्रतिपक्षी नेताबाट पोहोर गरिएका सबै प्रतिबद्धता कार्यान्वयन भएकोमा धन्यवाद भन्नु होला भन्ने लागेको तर सबै आफू (ओली)ले गरेको र टुटी मात्र खोलेको भन्ने सस्तो लोकप्रियताबाट ओलीलाई राजनीतिक फाइदा नहुने ठोकुवा प्रधानमन्त्री दाहालले गर्नुभयो ।
'भरतपुरमा मतपत्र च्यात्नु गलत भएको निष्कर्षमा त मै छु', भन्दै प्रधानमन्त्री दाहालले भन्नुभयो,'कुनै एउटा घटनालाई सामान्यीकरण र सैद्धान्तिकीकरण नगर्नुहोस् ।' घटनाको भोलिपल्ट आफूले निर्वाचन आयोगका पदाधिकारी बोलाएर भरतपुर घटना गलत भएको भन्दै जे ठीक लाग्छ त्यही गर्न भनेको उहाँंले बताउनुभयो । भरतपुर घटनाको केही दिनअघि मात्र आफूले छोरीसमेत रहेकी मेयर उम्मेदवार रेणुलाई फोन गरेर'जिते पनि जित्यौ, हारे पनि जित्यौ ढुक्कसँग बस्नु' भनेको सुनाउँदै उहाँले भन्नुभयो,'त्यसपछि तीन दिन कुनै कुराकानी भएको छैन ।'
प्रधानमन्त्री दाहालले अत्यन्त भावुक हुँदै भन्नुभयो,'ओलीजीले भन्नुस् सबै कुरा भन्नुस् । यति भनेपछि अरू के बाँकी छ, त्यो पनि भन्नुस् । सबै सामना गर्न तयार छु ।' लुकिछिपी छ भन्ने लाग्छ भन्ने भन्नुस् भन्दै उहाँले ओलीतिर औल्याउँदै भन्नुभयो,'तपाईंलाई त भन्न के लाज भयो र । गर्नेलाई हुने हो नि लाज । तर, तपाईंले इमान्दारीपूर्वक यो सदनलाई भन्ने हो भने मैले भनेको छु, पर्सनली त मलाई तपार्इंले सोचेको ठीकै हो कि भन्ने लागेको छ । तर, नियम कानुन सबै छ ।'
ओलीले लोकतान्त्रिकरणको इमान्दारीमाथि नै प्रश्न उठाएकोमा प्रधानमन्त्री दाहालले आक्रोश पोख्दै भन्नुभयो,'दोस्रो संविधानसभामा पार्टीले नराम्रो हार बेहोरेपछि पार्टीकै केही नेताले मतपत्र च्यातौं र जलाऔं भन्दा आफूले रोकेको उदाहरण ओलीजी र सिंगो राष्ट्रसामु छ ।' गणतन्त्रप्रतिको निष्ठाका कारण सेना र हतियार समायोजनजस्ता जोखिमपूर्ण काम सहजतापूर्वक गरेको, कति प्रमाण चाहियो इतिहासदेखि वर्तमानसम्मको ? , १२ बुँदेदेखि राजीनामा दिने समयसम्मको कति प्रमाण चाहियो लोकतान्त्रिकरणप्रति इमानदारीको ? ओलीजी भन्दै प्रधानमन्त्रीले दुःख व्यक्त गर्नुभयो ।
'तपाईंहरूले आफ्नै इतिहास हेर्नुभयो भने कति वर्ष लाग्यो लोकतान्त्रिकरण हुन ? तपाईंहरूले के-के गर्नुभएको थियो, इतिहास त सबैले हेरेकै छन् । न्यायालयविरुद्ध के-के भएका थिए भन्ने पनि बुझिएको छैन', प्रधानमन्त्री दाहालले भन्नुभयो । भरतपुर घटना अपवादका रूपमा घटेको भन्दै प्रधानमन्त्रीले एउटा घटनालाई यति धेरै सामान्यीकरण र सैद्धान्तीकरण नगर्न एमालेलाई चेतावनीसमेत दिनुभयो । दोस्रो चरणको चुनाव असारमा निर्णय गर्दा ओलीले अब स्विमिङ कस्ट्युम लगाएर भोट हाल्न जानुपर्ने भयो भनेको स्मरण गर्दै उहाँले भन्नुभयो,'डुंगा चढे पनि, स्विमिङ कस्ट्युम लगाए पनि भोट हाल्न जाने नै हो, गइन्छ ।'
राष्ट्रियता, प्रजातन्त्र र समाजवादमा कसैसँग सम्झौता हुँदैन : देउवा
कांग्रेस सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपलिकाको मतगणना क्रममा भएको अस्वाभाविक घटनामा निर्वाचन आयोगले गरेको निर्णय स्विकार्ने बताउनुभएको छ । उहाँले मतगणना कि मतदान भन्ने विषय अदालतमा प्रवेश गरिसकेकाले आफ्नो थप केही धारणा नरहेको उल्लेख गर्नुभयो । आगामी असार १४ गते स्थानीय तहको दोस्रो चरण निर्वाचन सम्पन्न गराउन आफू र नयाँ गठन हुने सरकार प्रतिबद्ध रहने बताउँदै उहाँले आगामी माघभित्र तीनै चरणको निर्वाचन सम्पन्न हुने र गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
राष्ट्रियता, प्रजातन्त्र र समाजवादसम्बन्धमा आफ्नो पार्टीलाई कसैले पाठ सिकाउन आवश्यक नभएको बताउँदै देउवाले भन्नुभयो,'कांग्रेसले आफ्नो सिद्धान्तमा कहीं कसैसँग सम्झौता गर्दैन ।' उहाँले सार्वभौमसत्ता र अखण्डतामा कोही-कसैसँग सम्झौता हुनै नसक्ने धारणा व्यक्त गर्नुभयो । संविधान कार्यान्वयनको पहिलो सर्त स्थानीय तहको निर्वाचन हो भन्दै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले असहज अवस्थामा पनि राष्ट्रिय दायित्व पूरा गर्नुभएकामा धन्यवाद दिनुभयो । उहाँले देश र जनताका आवश्यकता ध्यानमा राखी देश अघि बढेको बताउँदै अब राष्ट्रिय दायित्व पूरा हुने र गरिने विश्वास व्यक्त गर्नुभयो ।- अन्नपूर्ण बाट ,चिरञ्जीवी ढुंगाना

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget