Websoft University

www.radiomakalu.com || 021-522512


कस्तो होला देउवाको चौथो कार्यकाल




कस्तो होला देउवाको चौथो कार्यकाल
काठमाडौं, जेठ २४ गते ।  कांग्रेस सभापति शेरबहादुर देउवा १२ वर्षपछि मुलुकको ४० औँ प्रधानमन्त्रीका रूपमा सिंहदरबार प्रवेश गर्नुभएको छ ।विगत १२ वर्षमा धेरै उतारचढाव खेप्नुभएका देउवा अघिल्लो वर्ष पार्टीको सभापति हुँदै मंगलबार दुई तिहाइ बहुमतबाट प्रधानमन्त्री निर्वाचित हुनुभएको हो ।

स्थानीय तहको दोस्रो चरण चुनाव तथा माघसम्म केन्द्रीय संसद् र प्रदेश संसद्को चुनाव गराएर संविधान कार्यान्वयन गर्ने मुख्य जिम्मेवारीसाथ प्रधानमन्त्री बन्नुभएका देउवालाई यो कार्यकालमा अवसर र चुनौती दुवै छन् । यसअघि तीनपटक प्रधानमन्त्री बने पनि देउवा अहिलेको जस्तो सहज रूपमा सत्तामा पुग्नुभएको थिएन । यसअघिका तीनै पटक प्रधानमन्त्री हुँदा पार्टीभित्र उहाँले चर्को दबाब खेप्नुपरेको थियो । तर, अहिले उहाँ पार्टीभित्र सुविधाजनक बहुमतमा भएकाले पनि सरकारलाई पार्टीको छाया बनाउनुपर्ने बाध्यता छैन । देउवा आफैं पनि विगतको लामो अनुभवबाट खारिएकाले यो चौथो कार्यकाल देश र जनताका लागि केही गरेर देखाउने दृढ देखिनुभएको छ ।

देउवालाई संविधानका विषयमा असन्तुष्टि राख्ने पक्षको पनि सहमतिमा संविधान संशोधन गरेर तीन तहको चुनाव समयमै गराउनु मुख्य चुनौती छ । यद्यपि, उहाँसँग झन्डै दुई तिहाइको समर्थन भएकाले त्यसको सदुपयोग गर्न सक्नुभयो भने उहाँ सफल प्रधानमन्त्रीका रूपमा उदाउनुहुनेछ ।

७१ वर्षीय देउवा सुदूरपश्चिमको अतिविकट डडेलधुराको असिग्राम गाविसको रुवाखोलामा जन्मिनुभएको हो । किशोरदेखि नै विद्यार्थी राजनीतिमा होमिनुभएका उहाँले लामो जेलनेल र तत्कालीन राज्यपक्षबाट यातनासमेत भोग्नुभएको छ । देउवाले यसअघि प्रधानमन्त्री हुँदा पनि विरोधकाबीच केही महत्वपूर्ण निर्णय गर्नुभएको थियो, जसको अहिले प्रशंसा हुने गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अधिकार सम्पन्न बनाउनेगरी ऐन ल्याउने, नेपालमा मूल्यअभिवृद्धि कर लागू गर्नेजस्ता दीर्घकालीन महत्वका निर्णय देउवाकै सक्रियतामा उहाँ प्रधानमन्त्री हुँदा भएका हुन् ।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुन र मानविकीमा स्नातक गर्नुभएका देउवाले सन् १९८९÷९० मा बेलायतको प्रतिष्ठित विश्वविद्यालय लन्डन स्कुल अफ इकोनोमिक्समा रिसर्च फेलोको रूपमा एक वर्ष अध्ययन गर्नुभएको थियो । पिछडिएको सुदूरपश्चिमाञ्चल क्षेत्रबाट राजनीतिमा उदाउनुभएका देउवाले मुलुकको पिछडिएका भूभाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेसलाई राष्ट्रिय विकास-प्रक्रियाको मूलधारमा ल्याउन कर्णाली-दलित-महिला-जनजाति-मधेस (कदमजम) को अवधारणा ल्याई ती वर्ग र समुदायलाई प्रत्यक्ष लाभ हुने विभिन्न कार्ययोजना लागू गर्नुभएको थियो । देउवाले आफू प्रधानमन्त्री हुँदा कमैया मुक्तिको घोषणा गरी मुक्त कमैयालाई पुनःस्थापित गर्नुभएको थियो ।

०२२ सालमा सुदूरपश्चिमाञ्चल विद्यार्थी संघको संस्थापक सदस्य भई प्रजातान्त्रिक आन्दोलनमा होमिनुभएका देउवा ०२३ सालमा गठित तरुण-सभाको अध्यक्ष भई राजनीति आरम्भ गर्नुभएको हो । उहाँ २०२८ असोज १ गतेदेखि २०३६ फागुन २९ गतेसम्म नेपाल विद्यार्थी संघको अध्यक्ष हुनुहुन्थ्यो । पहिलोपटक ०४८ सालमा कांग्रेस केन्द्रीय सदस्य बन्नुभएका देउवा ०४८ देखि अहिलेसम्म आफ्नो निर्वाचन क्षेत्र डडेलधुराबाट लगातार चुनाव जित्दै आउनुभएको छ । ०४८ को तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषद्को गृहमन्त्री बन्नुभएका देउवा ०५२ देखि ०६१ सम्मको एक दशकको छोटो अवधिमै तीन पटक प्रधानमन्त्री हुनुभएको थियो ।

गत वर्ष भएको कांग्रेसको तेह्रौं महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित हुनुभएको हो । ०५२ सालमा पहिलोपटक प्रधानमन्त्री हुँदा देउवाले बहुचर्चित र विवादास्पद बनेको टनकपुर सन्धिलाई प्रतिपक्ष एमालेको समेत सहयोगमा दुई तिहाइ बहुमतले पारित गराएर आफ्नो क्षमता देखाउनुभएको थियो । देउवाले ०५८ सालमा प्रधानमन्त्री हुँदा भूमिसुधार कार्यक्रममा समयानुकूल सुधार गरी जमिनको दोहोरो स्वामित्वको प्रथालाई अन्त्य गर्नुभएको थियो । देउवाले नै संसद्ले मुलुकी ऐनको ११औं संशोधन गरेर महिलालाई समान अधिकार र सम्पत्तिमाथिको हक सुनिश्चित गराउनुभएको थियो ।

उहाँले आफू प्रधानमन्त्री हुँदा राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोगजस्ता आयोग गठन गरेर ती समुदायको अधिकार सुनिश्चितताको सुरुवात गर्नुभएको थियो।
शपथ आज पौने २ बजे
प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार अपराह्न पौने दुई बजे पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । उहाँका निजी सचिव केशवराज जोशीका अनुसार बुधबार दिउँसो पौने दुई बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ कार्यक्रम राखिएको छ । देउवाले राष्ट्रपति भवन शीतल निवासमा शपथ लिएलगत्तै बुधबारै प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पद बहाली गर्ने कार्यक्रम तय भएको छ ।
आज सानो मन्त्रिमण्डल
प्रधानमन्त्री देउवाले बुधबार सात सदस्यीय मन्त्रिमण्डल बनाउने तयारी गर्नुभएको छ । स्रोतका अनुसार देउवाले शपथलगत्तै सात सदस्यीय मन्त्रिमण्डल पनि बनाउनुहुनेछ । स्रोतका अनुसार कांग्रेस र माओवादी केन्द्रबाट बुधबार तीन÷तीन जना मन्त्रीले शपथ लिनेछन् भने फोरम लोकतान्त्रिकबाट विजयकुमार गच्छदारले शपथ लिनुहुनेछ । कांग्रेस र माओवादीबाट मन्त्रीको नाम टुंगो लागिसकेको छैन । स्रोतका अनुसार बुधबार कांग्रेसबाट गोपालमान श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की र फरमुल्ला मन्सुरले शपथ लिन सक्ने सम्भावना छ । माओवादी मन्त्रीको नाम भने बुधबार बिहान बस्ने पार्टी बैठकले टुंगो लगाउने बताएको छ ।- अन्नपूर्ण बाट ,गोविन्द परियार

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget