Websoft University

www.radiomakalu.com || 021-522512


नेतृत्वमा धमाधम छानिँदै महिला


नेतृत्वमा धमाधम  छानिँदै महिला




जाजरकोटको भेरी नगरपालिकामा वडा सदस्य निर्वाचित महिला शुक्रबार नगरप्रमुखबाट शपथ लिँदै । तस्बिर : राजेन्द्र कार्की
काठमाडौं,  जेठ ६ गते   ।  पहिलो चरणमा निर्वाचन भएका २ सय ८३ स्थानीय तहमध्ये झन्डै एक दर्जन स्थानमा विभिन्न दलका नेत्रीले प्रमुख पदमा जित हासिल गरेका छन् । उपप्रमुख पदमा भने अधिकांश स्थानमा महिला चुनिएका छन् ।माओवादी केन्द्रकी उम्मेदवार प्रधानमन्त्री पुष्पकमल दाहालपुत्री रेणुको निर्वाचन क्षेत्र भरतपुर महानगरमा अन्तिम परिणाम आइनसके पनि देशभरका विभिन्न नगरपालिका र गाउँपालिकामा एक दर्जन महिला नगरप्रमुखमा चुनिइसकेका छन् ।
जुम्ला चन्दननाथ नगरपालिकामा २८ सय ६ मत हासिल गरेर कान्तिका सेजुवालले नेपालकै पहिलो महिला नगरप्रमुखको परिचय बनाउनुभएको छ । कांग्रेसकी कान्तिकाले एमालेका शान्तिलाल महतलाई सात सय ११ मतले पराजित गर्नुभएको हो । करिब दुई वर्षअगाडि भएको विमान दुर्घटनामा पति गुमाएपछि उहाँ राजनीतिमा लाग्नुभएको हो ।
टिकट पाएपछि आलोचित हुनुभएकी कान्तिकालाई यो जितले खुसीसाथै चुनौती पनि थपेको छ । उहाँले आफ्नो नगरलाई ‘स्मार्ट सिटी’ बनाउने लक्ष्यले पाँचबर्से अल्पकालीन र २० बर्से दीर्घकालीन योजना तयार पार्नुभएको छ । उज्यालो, हराभरा र स्वच्छ–स्वस्थ नगर निर्माण गर्नु मुख्य उद्देश्य रहेको उहाँ बताउनुहुन्छ । संविधानले महिलालाई अधिकार दिए पनि महिलाका लागि विभेदमुखी सामाजिक संरचना तोड्न उहाँले महिलालाई सशक्त ढंगले अगाडि बढाउने लक्ष्य राख्नुभएको छ । शिक्षा क्षेत्रमा २६ वर्षको अनुभव भएकी कान्तिका सबै अभिभावकका लागि छोराछोरीलाई स्कुल पठाऊँ भन्ने अभियान सुरु गर्दै हुनुहुन्छ । अहिलेको निर्वाचनमा महिलाको सहभागितालाई उत्साहजनक मान्नुहुने उहाँ राजनीतिमा महिलालाई सशक्त बनाउन उनीहरूलाई तालिम, एक्स्पोजर भिजिट र नेतृत्व विकासको अवसर दिनुपर्नेमा जोड दिनुहुन्छ ।
नवलपरासी कावासोती नगरपालिकाबाट प्रमुख पदमा विजयी हुनुभएकी एमालेकी चन्द्रा पुनलाई जितसँगै जिम्मेवारीबोध पनि भएको छ । समृद्ध नेपाल र सुखी नेपाली आफ्नो दलकै नारा भएकाले यही भावमा रहेर आफूले काम गर्ने उहाँले बताउनुभयो । आफूले स्थानीय घोषणापत्रमा उल्लेख गरेका विषयलाई पनि कार्यान्वयन गरेर देखाउने प्रतिबद्धता उहाँको छ । आर्थिक स्रोतसाधनले भ्याएसम्म आफ्नो नगरमा शिक्षा, बाटो, पुललगायत पूर्वाधार विकासका साथै कृषिलाई आधुनिकीकरण गर्नेमा विशेष ध्यान दिने उहाँको योजना छ ।
आफ्नो नगरमा अझै पनि धेरै महिला असाध्यै पिछडिएको वर्गमा पर्ने भएकाले विभिन्न सीपमूलक र आयआर्जनमूलक तालिम सञ्चालन गरेर उनीहरूलाई आत्मनिर्भर बनाउने उहाँको लक्ष्य छ । झन्डै ३५ वर्षअगाडि राजनीतिमा लाग्नुभएकी उहाँ हाल एमालेको ४ नं प्रदेश समिति सदस्य हुनुहुन्छ । राजनीतिलगायत अन्य क्षेत्रमा महिलालाई नेतृत्व तहमा पु¥याउनुपर्छ भन्नेमा कटिबद्ध उहाँले आफूले नगरप्रमुख जितेर मात्रै होइन, पार्टीमा लागेदेखि नै महिला सशक्तीकरणमा जोड दिँदै आएको प्रस्ट पार्नुभयो । स्थानीय तहमा महिलाको ४० प्रतिशत सहभागिता संविधानले नै दिएको अधिकार भएको उल्लेख गर्दै उहाँले अहिलेकै निर्वाचनमा नपुगे पनि यसलाई प्राप्त गर्ने प्रयासमा निरन्तर कार्यरत रहने विश्वास दिलाउनुभयो ।
स्याङ्जाको पुतलीबजार नगरपालिका प्रमुखमा निर्वाचित सीमा क्षेत्री शिक्षकबाट अवकाश भएपछि राजनीतिमा लाग्नुभएको हो । एमालेकी प्रदेश समिति सदस्य सीमाले कांग्रेस नेता तुलसीराम रेग्मीलाई पराजित गर्नुभएको हो । हालसम्मको नतिजाअनुसार नगरपालिका मात्रै नभई केही गाउँपालिकामा पनि महिलाले नेतृत्व हातपारेका छन् । एमालेका तर्फबाट रसुवाको कालिका गाउँपालिका प्रमुखमा सीताकुमारी पौडेल र म्याग्दीको धौलागिरि गाउँपालिकामा थमसरा पुन विजयी हुनुभएको छ भने कांग्रेसका तर्फबाट नवलपरासीको हुप्सेकोट गाउँपालिका अध्यक्षमा लक्ष्मी पाण्डेले जित्नुभएको छ ।
माओवादी केन्द्रका तर्फबाट सिन्धुली सुनकोसी गाउँपालिकाको प्रमुखमा दीपा दाहाल बोहरा विजयी हुनुभएको छ । सल्यानको कुमाखमालिका गाउँपालिकामा पनि एमालेका भैरवबहादुर शाहलाई एक हजार पाँच सय ४५ मतको फराकिलो अन्तरले माओवादी केन्द्रकै दिलमाया बुढामगरले जित्नुभएको छ । माओवादी युद्धताका जनसरकार प्रमुख रहनुभएकी उहाँ ६ नं प्रदेशमै गाउँपालिका अध्यक्ष चुनिनेमा एक्ली महिला हुनुहुन्छ ।
स्थानीय तह निर्वाचन ऐन २०७३ ले राजनीतिक दलले उम्मेदवारी मनोनयन गराउँदा नगरप्रमुख वा अध्यक्ष, उपप्रमुख वा उपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनुपर्ने व्यवस्था गरेको छ । वडा सदस्यका लागि ४० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने व्यवस्था गरेकोमा एक दलित महिलासहित २ महिला कोटा पनि आरक्षण गरिएको छ । निर्वाचन आयोगका अनुसार कुल उम्मेदवारमध्ये ३९ प्रतिशत महिला छन् । पहिलो चरणको निर्वाचनमा ३० हजार पाँच पुरुष र १९ हजार तीन सय ३२ महिलाले उम्मेदवारी दिएका थिए ।
कानुनले नै बाध्यकारी बनाइदिएका कारण यस निर्वाचनमा महिलाको उम्मेदवारी मात्र नभई जित पनि उत्साहजनक भएको बागलुङ गल्कोट नगरपालिकाकी उपप्रमुख रेणुका काउचामगर बताउनुहुन्छ । चर्चामा रहेका युवा उम्मेदवारमध्येकी ३० वर्षीया रेणुकाले अवसर नपाएरै नेपाली महिला र युवती ठाउँमा आउन नसकेका रहेछन् भन्ने निर्वाचनले प्रमाणित गरिदिएको बताउनुभयो । २०६५ सालमा सरस्वती क्याम्पसको स्ववियु कोषाध्यक्ष हुँदै राजनीतिक जीवन सुरु गर्नुभएकी उहाँले एमबीएस सक्नुभएको छ भने कानुनमा स्नातक अध्ययनरत हुनुहुन्छ । राजनीतिलाई पेसा बनाउनु हुँदैन भन्ने अभियानसाथ नौजना युवा मिलेर खोलेको संस्था उदाउँदो शक्ति नेपालकी उहाँ अध्यक्ष हुनुहुन्छ ।

निर्वाचित जनप्रतिनिधिले यही काम गर्ने हो भनेर सरकारले स्पष्ट नीति निर्देशन नदिइसकेकाले पहिले आफूले काम गर्ने वातावरण नै तयार पार्ने कांग्रेसकी रेणुकाले बताउनुभयो । त्यसपछि स्थानीय स्रोत र साधन जुटाएर समृद्ध गल्कोट निर्माणको सपना उहाँको छ ।
नेपाली राजनीतिमा युवा नेतृत्वका लागि अवसरका साथै चुनौती पनि भएको तर्क राख्नुहुन्छ सिन्धुपाल्चोक सुनकोसी गाउँपालिकाकी उपप्रमुख लक्ष्मी पौडेल । पत्रकारिताबाट राजनीतिमा लाग्नुभएकी ३२ वर्षीया लक्ष्मी राजनीतिमा युवा महिलालाई ल्याउन आफू प्रेरक बन्ने कोसिस गर्ने बताउनभयो । आजभन्दा पहिलेको कुनै पनि निर्वाचनमा सहभागी हुन नपाउनुभएकी लक्ष्मीले स्नातकोत्तर उत्तीर्ण गर्नुका साथै कानुनसमेत अध्ययन गर्नुभएको छ । आफ्नो अध्ययन र क्षमता प्रयोग गरेर काम गर्दै जाने क्रममा कसैलाई पनि अन्याय हुन नदिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।
निर्वाचनमा विभिन्न पदमा भएको एकल महिलाको जितले समाजमा एकल महिलालाई हेरिने दृष्टिकोणमा पनि परिवर्तन ल्याएको छ । जुम्लास्थित चन्दननाथ नगरपालिकाकी नगरप्रमुख कान्तिका हुन् वा तनहुँ म्याग्दे गाउँपालिकाकी प्रमुख माया राना, सबैले एकल महिलाको सक्षमता साबित गर्नुभएको छ ।सुर्खेतको वीरेन्द्र नगरपालिकाबाट ‘एकल महिलाहरू’ रामकुमारी थापा, नुवाकोटको बेलबोट नगरपालिकाबाट इन्दिरा लोहनी, पवित्रा नेपाल, गंगा ढुंगाना र माइली दर्जीले जित हासिल गरेको मानवअधिकारका लागि एकल महिला समूहले जनाएको छ ।
रुकुमको मुसीकोट नगरपालिकामा माओवादी केन्द्रबाट चुनाव लडेकी प्रेमकुमारी सुनार केसी उपमेयरमा विजयी हुनुभएको छ भने उहाँका पति गोप्यश्वर केसीले वडा नं १० को अध्यक्ष पद जित्नुभएको छ । सार्की परिवारमा जन्मिएकी २६ वर्षीया दन्ता नेपाली (दर्शना) ले कालीकोटको तिलागुफा नगरपालिकामा चुनावी प्रतिस्पर्धामा उत्रिएर सबैभन्दा कान्छी उपप्रमुख बन्ने सौभाग्य पाउनुभएको छ । माओवादी केन्द्रले चुनावमा उठाएकी दर्शना हाल स्नातक तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । कांग्रेस उम्मेदवारलाई हराउँदै गोरखाको पालुङटार नगरपालिकाको उपप्रमुख पदमा २९ वर्षीया पम्फा बसेलले जित्नुभएको छ । उहाँ माओवादीकी पूर्वछापामार हुनुहुन्छ ।
पहिलो चरणको निर्वाचनमा विभिन्न पदमा महिलाको जितलाई उत्साहजनक मान्नुहुन्छ महिला अधिकारकर्मी बन्दना राणा । संयुक्त राष्ट्रसंघीय सिड कमिटीकी सदस्य राणाले दक्षिणएसियामै राजनीतिमा महिला प्रतिनिधित्व बढी भएको देशका रूपमा नेपालको तथ्यांक सिडमा प्रस्तुत गर्दा गर्वानुुभूति हुने बताउनुभयो । यस निर्वाचनमा पार्टीले महिलालाई प्रमुखमा धेरै नउठाए पनि उपप्रमुखमा जित्ने महिला आफ्नो क्षमता विकास गरेर अर्को निर्वाचनमा प्रमुख उठ्न आफैं सक्षम हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।- अन्नपूर्ण बाट -रामकला खड्का

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget