Websoft University

www.radiomakalu.com || 021-522512


सगरमाथा आधारशिविरमा छैनन् कोही सम्पर्क अधिकृत


सगरमाथा आधारशिविरमा छैनन् कोही सम्पर्क अधिकृत



सगरमाथा आधारशिविर ।
काठमाडौं, जेठ ६ गते । तीन दिनअघि सगरमाथा आरोहणका लागि हिँडेका आरोही दल र गाइडहरू सम्पर्कविहीन छन् । आधारशिविर र हिमालमा दुर्घटना भए मुचुल्का उठाउने सरकारी प्रतिनिधि नहुँदा उनीहरूको अवस्था थाहा हुनसकेको छैन ।सम्पर्क अधिकृत नभएकोमा सम्बद्ध एजेन्सी र तिनका अधिकारीहरूले आक्रोश व्यक्त गरेका छन् । आधारशिविरमा रहेका हिमालयन उद्धार संघका बेसक्याम्प मेनेजर लाक्पानुर्बु शेर्पाले आरोहीहरूको अवस्थाबारे जानकारी लिन खोज्दा नपाएको भन्दै आपत्ति जनाउनुभयो । '६० जनाभन्दा बढी सम्पर्क अधिकृतमध्ये एकजना पनि उपस्थित नहुनुलाई के भन्ने ? ' उहाँको प्रश्न छ ।

हिमाल र आधारशिविर सरकारविहीन रहेको आरोप उहाँले लगाउनुभयो । 'कानुनले तोकेका काम भएका छन् कि गैरकानुनी काम भइरहेका छन् भन्ने अनुगमन भएको छैन । के हिमाललाई सुरक्षा दिनु राज्यको कर्तव्य हैन ? ' शेर्पाले आक्रोश पोख्नुभयो ।सगरमाथा प्रदूषण नियन्त्रण समितिको आधारशिविरस्थित क्याम्पमा शुक्रबार चारजना गाइडले हिमालबाट फर्किएर हाजिरी जनाए । सगरमाथाका लागि ४२ आरोहण दलका झन्डै पाँच सयभन्दा बढी आरोही र ल्होत्सेका लागि ९ आरोहण दलका दुई सयभन्दा बढी आरोही तथा गाइड हिमालतर्फ हिँडेको जानकारी उहाँले दिनुभयो । तर आधारशिविरमा उनीहरू कसैसँग सम्पर्क नभएको दाबी उहाँले गर्नुभयो।

आधारशिविर र हिमालमा दुर्घटना भए मुचुल्का उठाउने सरकारी प्रतिनिधि नहुँदा सगरमाथा आरोहणमा गएका आरोहीको अवस्था अज्ञात ।

साताअघि एक विदेशी पर्यटक अनुमतिबिना सगरमाथा आरोहणका लागि जाने क्रममा लाक्पानुर्बु शेर्पाकै नेतृत्वमा आधारशिविर काट्न लाग्दा पक्राउ गरी सम्पर्क अधिकृतमार्फत फिर्ता गराइएको थियो । कति पर्यटक अनुमतिबिनै आउने रहेछन् भन्ने यो उदाहरण हो । त्यसैले पनि सम्पर्क अधिकृतको खाँचो पर्छ । आधारशिविर पुगेर काठमाडौं फर्केका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठ, सुवीर श्रेष्ठ र तिलकराज पाण्डेले खराब मौसमले आधारशिविर जान नसकेको बताउनुभयो ।

पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले तोकिएका सम्पर्क अधिकृत नहुनु दुःखद् विषय भएको बताउनुभयो । आधारशिविर जाँदैनजाने, गएका पनि बिरामी परी बीच बाटोबाटै फर्कने, एक दिन पनि आधारशिविरमा नबसी फर्कने गरेको पाइएकाले निगरानी सुरु गरेको उहाँले बताउनुभयो ।

आरोही र गाइड चुचुरोमा पुगे वा मौसम खराबले बीचैमा रोकिएका छन्, कुनै जानकारी छैन । पर्वतारोहण नियमावली २०५९ को ८ नम्बर बँुदामा सम्पर्क अधिकृत खटाउने व्यवस्था छ भने ९ नम्बरमा काम, कर्तव्य र अधिकार तोकिएको छ । सम्पर्क अधिकृतको जिम्मेवारीमा आरोहण दलका सदस्यसँग सम्पर्कमा बस्ने र कानुनविपरीत गतिविधि गर्नेलाई कारबाही गर्ने, पर्यटक र गाइडबीच सम्बन्ध सुमधुर बनाउन सहयोग गर्ने, बिरामी दुर्घटना भए मन्त्रालयमा जानकारी र रेस्क्यु गराउन सहयोग गर्नेजस्ता काम तोकिएका छन् ।

यता दुई हजार पाँच सय अमेरिकी डलर अधिकृतलाई सम्बन्धित आरोहण दलका एजेन्सीले उपलब्ध गराउनुपर्ने, आउने–जाने, बस्नेजस्ता सम्पूर्ण व्यवस्था गर्नुपर्ने नियम भएकाले काठमाडौंमा बसेर यी सुविधा भोग गर्ने र नदिए दुःख दिने गरेको आरोपसमेत एजेन्सीहरूले लगाएका छन् । यता अरोहीहरूका तर्फबाट पाँचजना सम्पर्क अधिकृत तोके पनि उनीहरूसमेत आधारशिविरमा रहेका छैनन् ।

सगरमाथा प्रदूषण नियन्त्रण समितिको तथ्यांकअनुसार ३५ जना सम्पर्क अधिकृत नाम्चेमा सम्पर्कमा आएका छन् । तीमध्ये पाँचजना आधारशिविरमै बसेर काठमाडौं फर्केको बुझिएको छ । सगरमाथाका लागि ४२ जना, ल्होत्सेका लागि ९ जना र नुप्सेका लागि आधा दर्जन गरी करिब ६० जना सम्पर्क अधिकृत हाल आधारशिविरमा छैनन् । नियममा आरोहण सम्पन्न गरेको प्रमाणपत्र दिँदा सम्पर्क अधिकृतको प्रतिवेदनको आधार पनि मुख्य हुने व्यवस्था छ ।- अन्नपूर्ण बाट -छेटु शेर्पा

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget