Websoft University

www.radiomakalu.com || 021-522512


निर्वाचन आयोगमै दाहाल–भट्टराईबीच भनाभन

भट्टराई–सत्तामा बस्ने अनि युद्धमा जस्तो हिंसात्मक काममा सहभागी हुने ?, दाहाल– उहाँको आरोप सत्य होइन




काठमाडौं , वैशाख २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईबीच गोरखाको घटनालाई लिएर भनाभन भएको छ ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता सम्बन्धी बुधबार गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीको पार्टीकै संलग्नतामा अत्यन्त आपत्तिजनक घटनाहरु भइरहेको आरोप लगाए ।

हालै गोरखामा माओवादी केन्द्रका कार्यकर्ताले आफ्नो पार्टीका कार्यकर्तामाथि गरेको आक्रमणतर्फ संकेत गर्दै भट्टराईले सरकार पक्ष नै हिंसात्मक गतिविधिमा संलग्न हुँदा निष्पक्ष निर्वाचन हुन्छ भन्नेमा आशंका पैदा भएको बताए ।

“मैले यो कुरा त्यत्तिकै भनेको होइन । म गोरखामा जाँदा देखेको प्रत्यक्ष घटनाको कुरा गर्दैछु,” भट्टराईले कुराको सुरुवात गर्दै भने, “विभिन्न घटना मध्ये केही उदाहरण भन्न चाहन्छु । यही २३ गते गोरखाको लक्ष्मी बजारमा प्रधानमन्त्रीकै पार्टीका कार्यकर्ताले नियोजित ढंगले नै आक्रमण गरेका छन् । त्यो रिपोर्ट प्रशासनसँग पनि छ । प्रधानमन्त्रीकै ठाडो आदेशमा त्यो अपराधमा संलग्न कार्यकर्तालाई छोड्न आदेश दिइयो ।”

उनले प्रशासनले यो घटनाको छानबिन गर्नुपर्छ भन्दा प्रधानमन्त्रीको ठाडो आदेशमा सशस्त्रका डीएसपी राजेन्द्र श्रेष्ठलाई सरुवा गरिएको आरोप लगाए ।
“यस्तो प्रकारले सत्तामै रहेर अपराधीलाई संरक्षण गरिन्छ भने निष्पक्ष निर्वाचन कसरी हुन सक्छ ? म अन्य गाउँमा पुगेँ त्यहाँ पनि पुरै आतंक मच्चाइएको छ,” उनले भने, “जनयुद्धको बेला हामी घोषित रुपमै यस्तो कुराको विद्रोह गरेका थियौं । तर, अहिले माथि सरकारमा बस्ने र तलबाट युद्धकालिन ढंगले नै आतंक मच्चाउन कसरी मिल्छ ? कि सरकार छोड्न प¥यो र घोषित ढंगले युद्धमा जानुप¥यो ।”

उनले यसरी सरकारमै रहेको दल हिंसात्मक गतिविधिमा संलग्न हुँदा निष्पक्ष निर्वाचन हुन नसक्ने भएकाले आयोगको ध्यानाकर्षण गराए ।
भट्टराईले सरकारले निर्वाचन आचारसंहिता लागू भइरहेको अवस्थामा विभिन्न नयाँ कार्यक्रम घोषणा गरेकोमा आपत्ति जनाए ।

जवाफमा प्रधानमन्त्री दाहालले भने, “नयाँ शक्तिका संयोजक भट्टराईजीले गोरखाकै घटनाको कुरा गर्नुभयो । सरकारबाट ठाडो हस्तक्षप भयो भन्ने कुरा सत्य होइन । केही हिंसात्मक गतिविधि गर्न गएको टोलीलाई नरोक्न डिएसपी श्रेष्ठले आफ्नो संयन्त्रलाई लगाएको भन्ने गृहको रिपोर्टका आधारमा सरुवा गरिएको हो ।”

उनले डिएसपी श्रेष्ठकी श्रीमती गोरखाको पालुङटार नगरपालिकामा उमेदवार भएका कारण पनि सरुवा गरिएको बताए । श्रेष्ठकी श्रीमती चेतनकुमारी श्रेष्ठ कांग्रेसको तर्फबाट उपमेयरकी उमेदवार छिन् ।

“श्रीमती उमेदवार भएको ठाउँमा उनलाई राख्न मिलेन भनेर सरुवा गरिएको हो,” दाहालले भने ।

यसको जवाफ भट्टराईले तत्कालै फर्काइहाले र भने, “डीएसपीको श्रीमती हुँदैमा उमेदवार बन्न नपाउने भन्ने त होइन होला । त्यही पनि उहाँ कांग्रेसको उमेदवार हो । उक्त घटना र उमेदवारको कुनै सम्बन्ध छैन । त्यसो हो भने प्रधानमन्त्रीजीका पनि आफन्त उमेदवार बन्न भएन ।”
त्यसैगरी प्रधानमन्त्री दाहालले सरकार र आफूले निर्वाचन आचारसंहिता उल्लंघन नगरेको र छुटफट घटना भएको ठाउँमा दोषीमाथि कारबाहीका लागि छानविन भइरहेको बताए ।

“आचारसंहिता कतिपय ठाउँमा सरकारले र राजनीतिक दलहरुले नै उल्लंघन गरेको कुरा आएका छन् । सरकारले अहिले कुनै पनि निर्णय लिँदा निर्वाचन आयोगको अनुमतिमा गरेको छ,” दाहालले भने, “आयोगले मन्त्रीहरु चुनावी कार्यक्रममा सहभागी हुन नपाउने भन्ने आयोगको कुरालाई सरकारी साधन स्रोतको प्रयोग नगरी भन्ने भएको छ । यसमा आयोगले लचकता देखाएको छ ।” दाहाल सरकारी सुविधा प्रयोग गरेर पार्टीको कार्यक्रममा सहभागी भएको भन्दै प्रतिपक्षी पार्टीहरुले आरोप लगाइरहेका छन् । बिहीबार पनि उनी चितवनको भरतपुर महानगरपालिकामा चुनावी सभामा सहभागी हुने बताइएको छ । यद्यपी उनले सरकारले आचारसंहिता उल्लंघन नगरेको दाबी गरे । - अशोक पौडेल , बाह्रखरीबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget