Websoft University

www.radiomakalu.com || 021-522512


के चाहन्छन् राजधानीका महिला मतदाता ?

के चाहन्छन् राजधानीका महिला मतदाता ?


काठमाडौं,   वैशाख २७ गते ।  चुनाव नजिकिँदै जाँदा मतदातामा उत्साह बढेको छ । कुन दल वा कुन व्यक्तिलाई भोट हाल्ने भन्ने बहस टोलटोलमा मात्रै नभई घरघरमा हुन थालेको छ । आफूले जिताएका जनप्रतिनिधिले टोल, गाउँ वा नगरका लागि धेरै काम गरिदिऊन् भन्ने अपेक्षा सबैमा छ । यसै क्रममा जनप्रतिनिधिप्रति सर्वसाधारणले राखेका आशा र अपेक्षाबारे हामीले विभिन्न ठाउँका महिला मतदातासँग कुराकानी गरेका छौं । प्रस्तुत छ उनीहरूको विचार :
सुशासन कायम होसस्थानीय तह स्थानीय सरकार भएकाले सबैभन्दा पहिले सरकारको तल्लो निकायमा सुशासन होस् र जितेर आउने प्रतिनिधि जनताप्रति उत्तरदायी होऊन् भन्ने मेरो चाहना छ । भ्रष्टाचारमुक्त समाज र टोल तथा नगरलाई विकासको बाटोमा डोर्‍याउने आधारसहितको भिजन भएका मानिसले जितून् । समाजमा महिला र पुरुष समान हुन् भन्ने अनुभूत गराउन सकून् । यसका लागि जनप्रतिनिधिले महिलाका लागि छुट्ट्याइने बजेटलाई महिलाकै समस्या समाधान र नेतृत्व विकासमा खर्च गर्नुपर्छ ।
- गीता पाण्डे, मध्यपुरठिमी नगरपालिका, वडा नं ३, गट्ठाघर
निःशुल्क तालिम दिइयोसहाम्रो टोलमा जितेर आउने प्रतिनिधिसँग हामीले धेरै आशा गरेका छौं । तर आशा गरेअनुसार पूरा पनि हुने हो कि आशामै बित्ने हो, थाहा छैन । गल्लीगल्लीमा खनेर बिजोग बनाइएको छ । सबैभन्दा पहिले त बाटो राम्रो होस् । सडक बत्तीको व्यवस्था गरियोस् र राति पनि ढुक्कले हिँड्न पाइयोस् । टोलवासीलाई सुरक्षाको प्रत्याभूति दिइनुपर्छ । टोल र वडाका बेरोजगार महिलालाई निःशुल्क तालिम दिनुपर्छ । लगानी गर्न नसक्ने दिदीबहिनीलाई लगानी पनि गरिदिनुपर्छ । कति दिदीबहिनीले सीप जानेका हुन्छन् । तर घरबाहिर काममा जान दिइँदैन । जनप्रतिनिधिले त्यस्ता महिलालाई घरबाहिर पनि काममा जाने वातावरण तयार गरिदिऊन् भन्ने चाहन्छु ।
- मञ्जु मलेकु, ललितपुर महानगरपालिका वडा नं ३, पुल्चोक
घरघरमा धारा होसहामीलाई पानीको धेरै दुःख छ । त्यसैले हाम्रा प्रतिनिधिले घरघरमा धाराको व्यवस्था गरिदिऊन् । बाटो नभई विकास सम्भव नहुने हुनाले गाउँको बाटो अलि फराकिलो बनाएर पिच गरिदिए हुन्थ्यो । छोराछोरीलाई पढाउने राम्रा विद्यालय र कलेज खुलून् । भएका विद्यालयको शुल्क व्यवस्थापन गरियोस् । गाउँका दिदीबहिनीलाई आयआर्जनको बाटो खुलाउनका लागि सीपमूलक तालिम र रोजगारीको अवसर सिर्जना गरिदिनुपर्‍यो ।
- दुर्गा कायस्थ, सूर्यविनायक नगरपालिका, सिरुटार

हेल्थपोस्टका डाक्टरले राम्रो व्यवहार गरूनगाउँमा कुनै रोग लागेर हेल्थपोस्टमा जँचाउन जाँदा डाक्टरहरूले गर्ने व्यवहारले मन दुख्छ । बिरामीलाई डाक्टरले राम्रो व्यवहार गरून् भन्ने चाहन्छु । गाउँका महिलाको स्वास्थ्यलाई ध्यानमा राखेर महिला स्वास्थ्यका कार्यक्रम गाउँमा भित्याइयोस् । महिला प्रायः खेतबारीको काम र मेलापातामा व्यस्त हुन्छन् । फुर्सद भए एकअर्कासँग कुरा गरेरै समय बिताउँछन् । यस्ता महिलालाई सीप सिकाएर व्यवसाय सञ्चालन गर्न स्थानीय सरकारले सहयोग पुर्‍याइदेओस् । बालबालिकालाई शिक्षा मात्रै दिएर पुग्दैन, उनीहरूको समग्र विकासमा टेवा पुर्‍याउने खालका खेलकुद, मनोरञ्जनलगायत कार्यक्रम गाउँमा ल्याइयोस् ।
- गायत्री लामिछाने, नागार्जुन नगरपालिका, वडा नं ७
खानेपानी समस्या समाधान होसस्थानीय चुनावमा हामीले उम्मेदवार चुन्दा विचार पुर्‍याउनुपर्छ । भविष्यमा हाम्रो टोल र नगरको आर्थिक, भौतिक र सबै क्षेत्रको विकास गर्ने व्यक्तिलाई हामीले चुन्नुपर्छ । हामीले भोट दिएर जिताएपछि उनीहरूले हाम्रो क्षेत्रको बाटो, ढल, विद्यालय, कलेज र अस्पतालमा अझै राम्रो सुविधा दिलाइदिऊन् । हाम्रो नगरमा खानेपनीको अभाव छ । अब यो समस्या सधंैका लागि समाधान होस् भन्ने चाहन्छु । हाम्रो नगर अझै समृद्ध र पर्यटकीय दृष्टिले पनि उत्कृष्ट होस् ।
- केशरी श्रेष्ठ, मध्यपुरठिमी नगरपालिका, वडा नं ४, ठिमी
रोजगारी सिर्जना गरियोसजोसुकैले जितेर आए पनि आफ्नो टोल र नगर मात्रै नभई देशकै विकासका लागि जुट्नुपर्छ । देशमा बेलाबेलामा हुने आन्दोलन बन्द गर्नुपर्छ । विद्यालय र कलेजलाई राजनीतिक गतिविधिबाट टाढै राख्नुपर्छ । दिदीबहिनीको उच्च शिक्षामा प्राथमिकता दिनुपर्छ । पढेलेखेका युवाले समेत बेरोजगार बस्नुपरेको छ । त्यसैले उनीहरूलाई रोजगारीको अवसर सिर्जना गरिदिनुपर्छ । युवा जमातलाई अझै सक्षम बनाउन सरकारले नै सीपमूलक तालिम दिनु जरुरी हुन्छ ।
- प्रियंका सिंह, कामपा, वडा नं १०, बानेश्वर
प्रदूषणबाट मुक्ति पाइयोसजित्ने उम्मेदवारले महानगर र वडाको समस्या समाधान गर्दै विकास गरून् । अहिले सबैतिर भताभुंग पारिएको सडक चाँडै मर्मत गरेर आवतजावतमा सुविधा र प्रदूषणबाट मुक्ति दिलाइयोस् । हाम्रो टोलमा खानेपानीको समस्या छ । यसको चाँडै नै समाधान होस् । सहरभित्रको अव्यवस्थित बस्तीलाई व्यवस्थित बनाइयोस् । जथाभाबी पार्किङ गर्ने पद्धति हटाइयोस् ।
- ज्योति बस्नेत, कामपा, वडा नं ३२, त्रिदेवीनगर, कोटेश्वर

फोहोर व्यवस्थापन गरियोसमेरो टोलमा धेरैले घर भाडामा लगाएका छन् । बहालवालाजति धेरैले मेरो घरमुनि ल्याएर फोहोर फाल्छन् । मैले त्यहाँ फोहोर फाल्न मनाही छ भनेर साइनबोर्ड पनि राखेकी छु । यसो हुँदा पनि एकदुईजना गर्दै धेरैले त्यहीं फोहोर थुपार्छन् । यही कारणले गर्दा प्रायः सधैं छिमेकीसँग झगडा परिरहन्छ । यसको गुनासो लिएर धेरैपटक वडामा जाँदा पनि समाधानको पहल भएको छैन । जितेर आउने प्रतिनिधिले आफ्नो टोल मात्रै नभई वडा र सहरकै फोहोर व्यवस्थापनमा ध्यान दिऊन् भन्ने मलाई लागेको छ । चुनावअगाडि धेरै आश्वासन दिने र पछाडि नचिनेझैं गर्ने संस्कृति अब नदोहोरियोस् । जनप्रतिनिधिले आफूलाई जिताउने जनताकै लागि काम गरून् ।
- विजयलक्ष्मी श्रेष्ठ, कामपा, वडा नं १७, ठँहिटी

आकासे पुल हालिदिऊनहाम्रो टोलका नेताहरूबाट हामीले धेरै अपेक्षा गरेका छौं । गल्लीगल्लीको बाटो भत्काएर अलपत्र पारिएको छ । खानेपानीको पाइपका लागि खन्ने क्रम जारी छ । यसलाई तुरुन्तै बनाउन नसके पनि पानी छम्केर धुलो कम गर्ने वा अस्थायी रूपमा ब्लकहरूले टालेर धुलो कम गरिदिए हुन्थ्यो । गैरीगाउँमा जेब्रा क्रसिङ छैन । तीनकुने वा सिनामंगलनिर पुग्नुपर्छ । बाटो काट्न गाह्रो हुने भएकाले गैरीगाउँ ओरालोमा आकासे पुल हालिदिऊन् ।
- कला दाहाल, कामपा, वडा नं. ९, गैरीगाउँ
सस्तो ब्याजमा ऋण मिलोसमेरो टोलबाट जित्ने व्यक्तिले महिलाका लागि सीपमूलक तालिम उपलब्ध गराइदिनुपर्‍यो । केही गर्छु भन्ने महिलाका लागि सस्तो ब्याजदरमा ऋण दिएर उनीहरूलाई सक्षम बनाउने कार्यक्रम ल्याउनुपर्‍यो ।
- दुर्गा श्रेष्ठ, कामपा, वडा नं ३२, नरेफाँट  . ।  अन्नपूर्ण बाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget