Websoft University

www.radiomakalu.com || 021-522512


एमाले र राप्रपाबीच काठमाडौंमा तालमेल, काठमाडौंलाई विश्वकै नमुना शहर बनाउने

 



काठमाडौं , वैशाख १९ गते । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगरपालिकाको निर्वाचनमा तालमेल गरेको छ । नेकपा एमालेका तर्फबाट मेयरमा विद्यासुन्दर शाक्य र उपमेयरमा राप्रपाका राजाराम श्रेष्ठले उमदेवारी दर्ता गराएका छन् ।
नेकपा एमालेले उपमेयरको टुंगो लगाउन नसकेको अवस्थामा राप्रपालाई तालमेल गर्ने प्रस्ताव राखेको थियो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका अध्यक्ष कमल थापाबीच एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको वार्तापछि मेयरमा एमाले र उपमेयरमा राप्रपाले उमेदवारी दिने निर्णय भएको थियो । त्यसअघि दुवै दलले छुट्टाछुट्टै तयारी गरेका थिए ।

एमाले नेतृ अष्टलक्ष्मी शाक्यले काठमाडौंको मेयरमा एमाले र उपमेयरमा राप्रपाले उमेदवारी दिने सहमतिअनुसार नै उमेदवारी दिइएको बताइन् । उनले ललितपुर र पोखरासहित मुलुकका विभिन्न स्थानमा तालमेलको प्रयास भैरहेको बताउँदै उमेदवारी दर्ता भैसकेका स्थानमा पनि मिलाएर लैजान सकिने धारणा राखिन् ।
उमेदवारी दर्तापछि मेयरका उमेदवार विद्यासुन्दर शाक्यले सबैसँग समन्वय गरेर आफूहरु अघि बढ्न तयार रहेको बताए ।
उनले काठमाडौंलाई विश्वकै नमुना शहरको रुपमा रुपान्तरण गर्ने पनि धारणा राखे ।

“हामीले सबैसँग समन्वय गरेर हामी काम अघि बढाउँछौं,” शाक्यले पत्रकारहरुसँग भने, “काठमाडौंमा कर व्यवस्थापनको समस्याको मात्रै हो । हामी व्यवस्थापन गर्न सक्छौं । जीवन्त शहर, २४ सै घण्टा खुला शहर बनाउँछौं ।”

उनले धुलो र धुवाँ पनि व्यवस्थित गर्ने गुरुयोजना बनाएर अघि बढ्ने बताए । “धुलो धुवाँ पनि व्यवस्थित गर्छौं । गुरुयोजना बनाएर अघि बढाउँछौं ।
तालमेल अहिलेको आवश्यकता थियो । राजनीतिक दलबीच समन्वय गरेर जाँदा काम गर्न सकियोस् भनेर तालमेल गरेका हौं । महानगरपालिकालाई समृद्ध शहर बनाउने हाम्रो सपना छ । पार्टीभित्र कुनै पनि खालको समस्या छैन । धेरै आकांक्षी भए पनि पार्टीको निर्णय सबैले मानेका छौं ।”

उपमेयरका उमेदवार राजाराम श्रेष्ठले पनि एमालेले नै प्रस्ताव ल्याएकोले तालमेल गरिएको बताए । “एमालेले नै तालमेल गर्ने प्रस्ताव ल्यायो,” उनले भने, “हामीले त्यसलाई मान्यौं । एउटा मात्रै दलले देश बनाउन नसकेको अवस्था छ । यो तालमेललाई हामीले सकारात्मक लिएका छौं । संकट समाधान गर्नुपर्ने अवस्था छ । संकट समाधानको लागि राजनीतिक दल मिल्न नसक्दा मुलुक दर्दनाक भएको छ । ”

उनले फरक राजनीतिक विचार भए पनि विकासका लागि आफूहरु एक भएको बताए । “फरक राजनीतिक विचार भएको भए पनि काठमाडौं शहरको व्यवस्थापन गर्न दलीय एकता र कार्यगत एकता गर्दै अघि बढेका हौं,” उनले भने,“यो अन्तर्राष्ट्रिय स्तरको शहर बनाउँछौं । जुन प्रकारको समृद्धि पाउनुपर्ने हो त्यो नपाएकाले हामी मिलेर अघि बढेका हौं । यसमा राजनीतिक कारण केही छैन । दलीय आधारमा स्थानीय तहको उमेदवार हुनुहुँदैनथ्यो भन्ने पक्षको हुँ म । यहाँको शहरलाई रुपान्तरण गर्ने हाम्रो योजना पनि छ । हामीले यो शहरलाई नमुना शहर बनाउन सक्छौं ।” - बाह्रखरीबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget