Websoft University

www.radiomakalu.com || 021-522512


६ मधेसी दल एक



६ मधेसी दल एक
काठमाडौं  वैशाख ८  गते ।   तराई-मधेसमा क्रियाशील ६ मधेसकेन्द्रित दल बिहीबार एउटै दलका रूपमा संगठित भएका छन् । नयाँ दलको नाम ‘राष्ट्रिय जनता पार्टी' राखिएको छ भने निर्वाचन चिह्न छाता छ । महन्थ ठाकुर अध्यक्ष रहेको तराई मधेस लोकतान्त्रिक पार्टी, शरत्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, अनिलकुमार झा नेतृत्वको नेपाल सद्भावना पार्टी, महेन्द्र राय अध्यक्ष रहेको तराई मधेस सद्भावना पार्टी र राजकिशोर यादव अध्यक्ष रहेको मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) मिलेर एउटै पार्टी बनेको हो । ६ वटा दल मिलेपछि एकीकृत दलको सांसद संख्या २५ पुगेको छ ।
पार्टी एकीकरण गर्दा सामूहिक नेतृत्वको सिद्धान्तलाई आत्मसात गर्ने र अध्यक्ष मण्डलीय प्रणालीअनुसार सञ्चालन गर्ने सहमति भएको छ । अध्यक्ष मण्डल नै पार्टीको सर्वाेच्च निकाय हुने नेतृत्वबीच सहमति भएको छ । बुधबार राति अबेरसम्म चलेको बैठकमा भएको ६ बुँदे सहमति पत्रमा ६ वटै दलका अध्यक्षले सामूहिक हस्ताक्षर गरी पार्टी घोषणा गरेका हुन् । अध्यक्ष मण्डलको नेतृत्व महन्थ ठाकुरले गर्ने सहमति भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नवगठित पार्टीलाई शुक्रबार वार्तामा बोलाउनुभएको छ ।
पार्टी एकीकरण घोषणा सभामा सुरुमा पाँच पार्टीबीच एकता भई राष्ट्रिय जनता पार्टी नामकरण गर्ने भनिएको थियो । पाँचै दलका शीर्ष नेताको फोटो राखिएको ब्यानर टाँगिएको थियो । कार्यक्रम सकिन लाग्दा नेपाल सद्भावना पार्टीका अनिलकुमार झा पनि एकीकरण प्रक्रियामा सहभागी हुनुभएको थियो । एकीकृत राष्ट्रिय जनता पार्टीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध सात दलको महत्ववपूर्ण घटक संघीय समाजवादी फोरम नेपाललाई पनि आफूमै एक हुन आग्रह गरेको छ । एकीकृत भइसकेपछि पार्टीले यो मधेसी जनताको एकीकरण भएको उल्लेख गर्दै यसले पहिचान, सम्मान र स्वाभिमान स्थापित गर्ने दाबी गरेका छन् ।
पार्टी नेतृत्वले मधेसमा रहेका अन्य पार्टी र राजनीतिक शक्तिलाई पनि एकीकरण प्रक्रियामा स-सम्मान सहभागी हुन आग्रह गरेको छ । एकीकरण सभामा महन्थ ठाकुरले धेरै नेता मात्रै हुँदा मुद्दा ओझेलमा परेको उल्लेख गर्दै अब साँचो मधेस बन्ने दाबी गर्नुभयो । आन्दोलन र क्रान्तिद्वारा स्थापित उपलब्धिलाई रक्षा गर्न पार्टी एकीरण गर्नुपरेको उहाँले बताउनुभयो । ‘संविधान निर्माण विधि प्रक्रिया मिचेर फास्ट ट्र्याकबाट बनाउँदा अहिले समस्या आएको हो', उहाँले भन्नुभयो, ‘मधेसीले अधिकार र सम्मान नपाउँदा सीमाको कुरा उठेको हो ।'

Yamaha
उहाँले मधेसका मुद्दा सम्बोधनका लागि संविधान संशोधन हुनुपर्ने र मधेसलाई छुट्याएर सरकारले निर्वाचन गर्न खोजेको हो भने निर्वाचन हुन नदिने उद्घोषसमेत गर्नुभयो । घोषणा सभामा राजकिशोर यादवले एकीकरणले मधेसको आन्दोलनलाई उचाइमा पुर्‍याएर जनतालाई अधिकार दिने बताउनुभयो । उहाँले महन्थ ठाकुरलाई महाभारतका युधिष्ठिरको संज्ञा दिनुभयो । ‘विगतमा हामीले फुटेर गल्ती गर्‍यौं, अब मिसन पूरा गरिछाड्छौं', उहाँले भन्नुभयो ।
नेता महेन्द्र यादवले फुट्ने र गल्ती नगर्ने संकल्प गरेको बताउनुभयो । ‘यो एकीरणले एकल राष्ट्रवादलाई बहुल राष्ट्रवादमा परिणत गर्नेछ', उहाँले भन्नुभयो । नेता राजेन्द्र महतोले मधेसवादी पार्टीको एकीरणले संसद्का अरू ठूला दललाई झस्काएको पनि दाबी गर्नुभयो । लोकतन्त्रवादी पार्टी भएकाले चुनावमा भाग लिने तर सरकारले मधेसलाई बाइपास गरेर निर्वाचन गर्छ भने त्यसको परिणाम राम्रो नहुने पनि उहाँको चेतावनी थियो ।
घोणणा सभामा शरत्सिंह भण्डारी, अनिलकुमार झा, महेन्द्र राय यादवले समेत अधिकार प्राप्तिको लडाइँलाई उचाइमा पुर्‍याएर छाड्ने उद्घोष गर्नुभएको थियो । नवगठित राष्ट्रिय जनता पार्टीमा तपलोपाका ११, राष्ट्रिय समाजवादी पार्टीका तीन, नेपाल सद्भावना पार्टीका एक, सद्भावना पार्टीका ६, तपसपाका तीन तथा फोरम गणतान्त्रिकका एकजना गरी २५ सांसद छन् ।
‘यो नामको पार्टी आयोगमा पहिल्यै'
नवगठित पार्टी राष्ट्रिय जनता पार्टीसँगको नाम मिल्ने एक पार्टीले निर्वाचन आयोगमा एक महिनाअगाडि नै दर्ताका लागि निवेदन दिएको स्रोतले बताएको छ । नेत्रबहादुर लिम्बूले उक्त नामको पार्टी दर्ताका लागि निवेदन दिएको स्रोतले बतायो । निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले अन्नपूर्णसँग भन्नुभयो, ‘अभिलेख नहेरी म भन्न सक्दिनँ तर दर्ताका लागि पहिले कुनै दलले निवेदन दिएको रहेछ भने त्यही नाममा अर्को पार्टी दर्ता गरिन्न ।'-  गोविन्द लुइँटेल

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget