Websoft University

www.radiomakalu.com || 021-522512


नेपालमै निःशुल्क मिर्गाैला प्रत्यारोपण सुरु



काठमाडौँ, वैशाख ४ गते । सरकारले घोषणा गरेको निःशुल्क मिर्गौला प्रत्यारोपण कार्यक्रम आइतबार भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट सुरु भएको छ । मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले आइतबार मात्रै केन्द्रमा दुई जनाको मिर्गौला निःशुल्क प्रत्यारोपण भएको जानकारी दिनुभयो ।
डा. श्रेष्ठले आइतबार निःशुल्क मिर्गौला प्रत्यारोपण भएका बिरामी क्रमशः पोखराका ३० वर्षीय दीपक गुरुङ र काठमाडौँ नाङ्लेभारेकी २६ वर्षीया लक्ष्मी ढकाल रहेको जानकारी दिनुभयो । गुरुङलाई उहाँकी ६० वर्षकी आमा सुनमाया गुरुङले मिर्गौला दिनुभएको हो भने ढकाललाई पनि उहाँकी आमा ४८ वर्षीया चण्डिका ढकालले मिर्गौला दान गर्नुभएको हो ।
कार्यकारी निर्देशक डा. श्रेष्ठले निःशुल्क मिर्गौला प्रत्यारोपणको लागि पाँच लाख रुपियाँ र अन्य औषधिसमेत बचत हुने जानकारी दिनुभयो । मन्त्रालयले पठाएको बजेटबाट खर्च हुने गरी मिर्गौला प्रत्यारोपण गरिएको जानकारी दिँदै उहाँले प्रक्रिया मिलाएर आएका बिरामीको लागि अब केन्द्रमा निःशुल्क मिर्गौला प्रत्यारोपण हुने स्पष्ट गर्नुभयो । चालु आर्थिक वर्षका लागि मिर्गौला प्रत्यारोपण गर्न सरकारले एक करोड ५० लाख रुपियाँ छुट्याएको छ ।
गुरुङले दुई वर्षअघि भारतमा प्रत्यारोपण गर्नु भएकोमा मिर्गौला फेल भएको थियो भने ढकालले दुई वर्षदेखि मिर्गौला डायलासिस गराउँदै आउनुभएको थियो ।
स्वास्थ्य मन्त्री गगनकुमार थापाले मानव अङ्ग प्रत्यारोपण केन्द्रसहित वीर अस्पताल र शिक्षण अस्पताल महाराजगञ्जबाट पनि निःशुल्क मिर्गौला प्रत्यारोपणको तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले अब मिर्गौला प्रत्यारोपणका लागि कुनै खर्च पनि नलाग्ने जानकारी दिँदै मिर्गौला रोगीहरूका लागि निःशुल्क प्रत्यारोपण ठूलो सफलता भएको बताउनुभयो ।
डा. श्रेष्ठका अनुसार प्रत्यारोपणका लागि अस्पतालमा भर्ना भएको दिनदेखि शल्यक्रिया गरेर सात दिनसम्मको औषधि सरकारले व्यवस्था गर्नेछ ।
नेपालमा मिर्गौला प्रत्यारोपण नहुँदा केही वर्षअघिसम्म नेपालीहरू भारत, थाइल्यान्ड, सिङ्गापुर, जापानजस्ता देशमा गएर लाखौँ खर्चेर मिर्गौला प्रत्यारोपण गर्ने गर्दथे ।
कसरी हुन्छ निःशुल्क मिर्गौला प्रत्यारोपण ?
बिरामीको स्थायी वतन रहेको गाविस (गाँउपालिका)बाट आर्थिक स्थिति कमजोर रहेको भन्ने सिफारिससाथै जिल्लाबाट पनि सिफारिस ल्याएर निवेदनसहित मिर्गौला प्रत्यारोपण सेवा सञ्चालन तथा व्यवस्थापन समितिमा पेस गर्नुपर्ने हुन्छ । त्यसपछि उक्त समितिको बैठक बसी त्यसले अन्तिम निर्णय गरेको खण्डमा मात्र निःशुल्क मिर्गौला प्रत्यारोपण गर्न पाइने व्यवस्था छ । समितिले जिल्लाको सिफारिस ल्याएको खण्डमा निःशुल्कका लागि सिफारिस गर्ने व्यवस्था छ । त्यसपछि निःशुल्क मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ ।
२०७३ मा ११६ जनाको प्रत्यारोपण
सरकारले मानव जातिका सम्पूर्ण अङ्ग प्रत्यारोपण गर्ने उद्देश्यले चार वर्षअघि भक्तपुरमा सञ्चालनमा ल्याएको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा २०७३ सालमा मात्रै ११६ जनाको मिर्गौला प्रत्यारोपण भएको छ । स्थापनाको छोटो समयमा नै केन्द्रले वार्षिक एक सय जनाभन्दा बढीको मिर्गौला प्रत्यारोपण गरेर ठूलो सफलता हासिल गरेको बताउँदै उहाँले आउँदो वर्ष १५० जनाको मिर्गौला प्रत्यारोपण गर्ने लक्ष्य लिइएको जानकारी दिनुभयो । -सरोज ढुङ्गेल

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget