Websoft University

www.radiomakalu.com || 021-522512


सुरु भयो एपी वान

सुरु भयो एपी वान

                               पहिलो एचडी टीभी नियमित प्रसारणमा 


काठमाडौ, चैत १९ गते ।   बहुप्रतीक्षित एपी वान टेलिभिजनले शुक्रबारदेखि नियमित प्रसारण सुरु गरेको छ । नेपालको पहिलो हाई डेफिनेसन (एचडी) टेलिभिजनको शुक्रबार साँझ काठमाडौंस्थित होटेल ह्यातमा आयोजित विशेष समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका हुन् ।
‘सूचनाप्रविधिमा भएको क्रान्ति र राजनीतिक जागरणले मिडिया क्षेत्रमा क्रान्तिकारी परिवर्तन भएको छ', प्रधानमन्त्री दाहालले एपी वान टेलिभिजनको उद्घाटनपछि भने, ‘संसारभर छरिएका नेपालीलाई एकताबद्ध गर्दै एपी वान टेलिभिजनले भविष्यमा आफ्नो आवश्यकता र औचित्य पुष्टि गर्न सक्ने सम्भावना देखेको छु ।'
देश राजनीतिक संक्रमण र आर्थिक समृद्धिको संघारमा रहेको बेला सबैलाई एकताबद्ध गर्न मिडिया महत्ववपूर्ण भएको प्रधानमन्त्री दाहालले बताए । ‘इतिहासदेखि हाम्रा पुर्खाले निकै संघर्ष र बलिदान गरेर निर्माण गरेको यो राष्ट्रलाई के तराई मधेस, के हिमाल पहाड, के जातजाति र भाषाभाषी सबै क्षेत्र, वर्ग र समुदायलाई एकताबद्ध गर्ने उद्देश्य राखी अगाडि बढाउनुपर्छ', प्रधानमन्त्री दाहालले भने, ‘सबै मिडियाको उद्देश्य राष्ट्रलाई एकताबद्ध गर्ने हुनुपर्छ ।' समारोहमा प्रधानमन्त्री दाहालले एपी वान टेलिभिजनले युवाहरूको भावना र चाहनालाई प्राथमिकतामा राख्नु स्वागतयोग्य कदम भएकोसमेत बताए ।
समारोहमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले मास र क्लासको रुचिअनुसार सुरु भएको एपी वान टेलिभिजनले नेपाली सञ्चार क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे । अन्नपूर्ण मिडिया नेटवर्कका अन्य माध्यमजस्तै एपी वान एचडी पनि स्वस्थ मनोरञ्जन, सही सूचना र प्रस्ट दृष्टिकोणसाथ प्रस्तुत हुने उनले स्पष्ट पारे । ‘मैले भन्नुभन्दा पनि टेलिभिजनको प्रस्तुतिले यी कुरा पुष्टि गर्दै जानेछ', प्रस्ट दृश्य र दृष्टिकोणमाथि जोड दिँदै थापाले भने, ‘टेलिभिजनमा कन्टेन्ट मात्र होइन, सफा स्क्रिन पनि आवश्यक छ ।'
लगभग साढे दुई दशक लामो व्यावसायिक हेलिकोप्टर उडानका क्रममा ७५ वटै जिल्ला र अधिकांश गाउँमा पुग्दा देखेको, बुझेको नेपालको अवस्थाले आफूलाई सञ्चार क्षेत्रमा लाग्न प्रेरित गरेको क्याप्टेन थापाको भनाइ थियो । ‘काठमाडौंमा बसेर बुझेको नेपाल र दूरदराजमा पुगेर बुझेको वास्तविक नेपालमा मैले धेरै फरक पाएँ', थापाले भने, ‘सञ्चार यस्तो क्षेत्र हो जसले मुलुकको अवस्था रूपान्तरण गर्न पुलको माध्यमका रूपमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ । एपी वान एचडी त्यसैको पछिल्लो कडी हो ।' थापाले राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई केन्द्रमा राखेर अगाडि बढ्ने पनि स्पष्ट पारे । एपी वान टेलिभिजन विश्वका ४० देशमा चौबीसै घन्टा प्रत्यक्ष हेर्न सकिन्छ ।
‘संसारभर छरिएका नेपालीलाई एकताबद्ध गर्दै एपी वान टेलिभिजनले भविष्यमा आफ्नो आवश्यकता र औचित्य पुष्टि गर्न सक्ने सम्भावना देखेको छु ।'
पुष्पकमल दाहाल, प्रधानमन्त्री
टेलिभिजनका प्रबन्धनिर्देशक लक्ष्मीप्रसाद पौडेलले एपी वान नयाँ प्रविधि र दक्ष प्राविधिकका साथ सुरु भएको जानकारी दिँदै सही सूचना सम्प्रेषण र दर्शकको अभिरुचिलाई केन्द्रमा राखेर अगाडि बढ्ने जानकारी दिए । ‘एपी वान टेलिभिजन नेपालमा सबभन्दा द्रुत प्रत्यक्ष प्रसारण गर्न सक्ने अत्याधुनिक प्रविधिसहित प्रसारणमा आएको हो', पौडेलले भने । अन्नपूर्ण मिडिया नेटवर्कका निर्देशक सचन थापाले लाखौं नेपाली विदेशमा रहेको उल्लेख गर्दै भने, ‘पहिलोपटक नेपाली समाचार र मनोरञ्जन देशको सीमाबाहिर वास्तविक समयमा पुगेको छ ।'
उनले एपी वान टेलिभिजनमा लामो अनुभव सँगालेका व्यावसायिक एवं प्रतिभावान् युवा रहेकाले स्तरीय सामग्री प्रस्तुत हुने बताए ।नियमित प्रसारण सुरुआतसँगै नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय फ्रेन्चाइज सो ‘नेपाल आइडल' को प्रसारण पनि सुरु भएको छ । यस टेलिभिजनमा सञ्चारक्षेत्रका चिरपरिचित हस्ती कार्यरत छन् । नियमित प्रसारण शुभारम्भमा अमेरिकाबाट मम्पी घोष, युरोपेली देश पोर्चुगलबाट वासु सत्याल, अस्ट्रेलियाबाट रोवर्ट चापागाईं, दक्षिणकोरियाबाट विकास श्रेष्ठ र भारतको नयाँदिल्लीबाट आशा थपलियाले प्रत्यक्ष प्रसारण गरेका थिए ।
कार्यक्रममा मन्त्रीहरू, संवैधानिक आयोगका प्रमुख तथा आयुक्तहरू, सचिवहरू तथा सरकारी निकायका अन्य उच्चपदस्थ कर्मचारीहरू, सुरक्षा निकायका प्रमुखहरू, व्यावसायिक घरानाका प्रमुख र कलाकारहरूको उल्लेख्य उपस्थिति थियो । अन्नपूर्ण मिडिया नेटवर्कका यसअघि अन्नपूर्ण पोस्ट् दैनिक, अन्नपूर्ण टुडे म्यागेजिन, रेडियो अन्नपूर्ण, अन्नपूर्ण पोस्ट डटकम र अन्नानोट डटकमलगायत प्रकाशन र प्रसारण माध्यम सञ्चालित छ । एपी वान टेलिभिजनबाट दिशानिर्देश, तमसोमा ज्योतिर्गमय, मह टाइम, सिस्टम चेक, टेन टु फाइभ, रणभूमि, गुड मर्निङ नेपाललगायत विभिन्न कार्यक्रम प्रसारण हुनेछ ।- अन्नपूर्णपोस्टबाट


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget