Websoft University

www.radiomakalu.com || 021-522512


प्रशिक्षकले भरिएको युभेन्टसको त्यो टोली



प्रशिक्षकले भरिएको युभेन्टसको त्यो टोली

इटालियन सिरी एको सन् २००१ को सिजनमा युभेन्टस उपाधिबाट निक्कै नजिक पुगेर रोकीयो । पार्मालाई अन्तिम खेलमा ३-१ गोलअन्तरले पराजित गरेपछि रोमाले उपाधि जित्यो । युभेन्टसमा त्यस बेला जिनेदिन जिदानसहित चलेका खेलाडी थिए । तैपनि उपाधि सम्भव भएन ।इटालियन सिरी एको ३२ पटक उपाधि जितेको युभेन्टस सर्वाधिक सफल टोली हो । सन् २००१ को त्यो टोली भने युभेन्टसको उपाधि इतिहासमा कतै जोडिँदैन । तर, जिदानसहितको त्यो टोलीले आफूलाई इतिहासमा फरक कारणले सुरक्षित बनाएको छ ।

सन् २००१ को युभेन्टसको टोलीमा समावेश २७ खेलाडीमध्ये १४ खेलाडी प्रशिक्षक बनेका छन्, जसको चर्चा अहिले भइरहेको छ । १४ मध्ये केहीले युरोपका ठूला लिगमा सफलतासमेत हात पारिरहेका छन् । उनीहरू युरोपेली फुटबलमा ठूला र सफल प्रशिक्षकसमेत बनिसकेका छन्, केही भने त्यसतर्फ अग्रसर छन् ।

अलेस्सिओ टाचिनार्डी

एटलान्टाबाट आफ्नो करिअर सुरु गरेका पूर्व डिफेन्सिप मिडफिल्डर टाचिनार्डीले युभेन्टसमा १३ वर्ष बिताए । युभेन्टसबाट उनले १७ उपाधिसमेत जिते । युभेन्टसले आफ्नो नयाँ स्टेडियममा अन्य ४९ महान् फुटबलरसहित उनको पनि नाम कुँदेको छ । युभेन्टसपछि इटालीकै ब्रेस्सियाबाट खेल्दै सन् २००८ मा आफ्नो खेल जीवन टुंग्याएका टाचिनार्डीले त्यसपछि प्रशिक्षणको बाटो समाते । उनले इटालीकै डी डिभिजन खेल्ने टोली परगोलेटेसीलाई दुई वर्ष प्रशिक्षण दिए । उनले गत वर्ष आफ्नो पद त्यागेका थिए ।

जिनेदिन जिदान

फ्रान्सेली चर्चित फुटबलर जिदान खेलाडीका रूपमा जति सफल रहे, प्रशिक्षकका रूपमा पनि उनी सफलतातर्फ अग्रसर छन् । सन् २००१ मा युभेन्टसमा रहेका उनले स्पेनिस क्लब रियल म्याड्रिडबाट पनि खेले । उनी अहिले रियलकै मुख्य प्रशिक्षक बनेका छन् । टोलीले निकै खराब प्रदर्शन गरेपछि गत सिजन रियलले तत्कालीन प्रशिक्षक राफा बेनेटिजलाई बर्खास्त गरी एकेडेमी प्रशिक्षक जिदानलाई कमचलाउ प्रशिक्षक नियुक्त गरेको थियो । तर, रियलले जिदानकै नेतृत्वमा युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेपछि क्लबले उनलाई नै मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ । जारी सिजनमा जिदानकै प्रशिक्षणमा रियलले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । सिजनको सुरुआतमा उनकै नेतृत्वमा क्लबको लगातार १६ खेलको जित यात्राको कीर्तिमान बराबरी गर्यो । भिल्लारियलसँग बराबरीमा रोकिएपछि नयाँ कीर्तिमान भने तय गर्न सकेन । रियल यो सिजन च्याम्पियन्स लिग र घरेलु स्पेनिस ला लिगाको उपाधि जित्ने योजनामा रहेको छ । रियल यो सिजन सन् २०१२ पछि स्पेनिस ला लिगाको उपाधिको निकै नजिक पुगेको छ ।

एन्टोनियो कोन्टे

इटालियन कोन्टे युभेन्टसको सन् २००१ कै टोलीका सदस्य हुन् । सायद उनी खेलाडीका रूपमा भन्दा पनि प्रशिक्षकका रूपमा बढी सफल छन् । खेल जीवनबाट बिदा लिएपछि उनले आफ्नो पूर्वक्लब युभेन्टसको प्रशिक्षणको जिम्मेवारी सम्हाले । उनले युभेन्टसलाई इटालियन सिरी एको तीन उपाधि दिलाएका थिए । त्यसपछि इङ्लिस प्रिमियर लिगतर्फ लागेका उनले त्यहाँ पनि टोलीलाई सफलता दिलाइरहेका छन् । आफ्नो पहिलो कार्यकालमै कोन्टेले चेल्सीलाई उपाधिनजिक पुर्याएका छन् । प्रिमियर लिगमा १०औं चरणको खेल बाँकी रहेको बेला चेल्सीले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ । चेल्सी कोन्टेको नेतृत्वमा यो सिजन सर्वाधिक अंकका साथ उपाधि जित्ने योजना नजिक पनि पुगेको छ ।
कोन्टेले इटालीको राष्ट्रिय टोलीको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । उनको नेतृत्वमा इटालीले सन् २०१६ को युरोकपको क्वार्टरफाइनल सम्मको यात्रा तय गरेको थियो । उनले सन् २००९ मा बारीलाई इटालीको दोस्रो डिभिजनको च्याम्पियनसमेत बनाएका थिए ।

इगोर टुडोर

टुडोरले सन् २००१ मा युभेन्टसलाई उपाधि दिलाउन सकेनन् । तर, त्यसपछि पनि युभेन्टसमै बसेका उनले सन् २००३ र २००४ मा टोलीबाट लिग उपाधिको स्वाद चाखे । ३८ वर्षीय उनले पनि अन्य सहकर्मीले जस्तै खेल जीवनबाट बिदा लिएपछि व्यवस्थापकीय जिम्मेवारी रोजे । उनी अहिले टर्किस क्लब गालातासारेको मुख्य प्रशिक्षक छन् । टर्कीको सफल मध्येको क्लब गालातासारेले उनको नेतृत्वमा उत्कृष्ट प्रदर्शनसमेत गरिरहेको छ । उनले गत फेब्रुअरीमा गालातासारेसँग डेढ वर्षको सम्झौता गरेका थिए । त्यसअघि टुडोरले क्रोएसियन क्लब हाजदुक स्प्लाइटको समेत प्रशिक्षकको भूमिकामा थिए।

फिलिप्पो इन्जाघी

स्ट्राइकर इन्जाघी खेलाडीका रूपमा जति सफल रहे, प्रशिक्षणको सफलता भने त्यो स्तरमा पुग्न सकेको छैन । इन्जाघीले आफ्नो सक्रिय खेल जीवनपछि इटालीकै अर्का सफल क्लब एसी मिलानको प्रशिक्षणको जिम्मेवारी लिए । एसी मिलानलाई एक वर्ष प्रशिक्षण दिएका उनले मात्रै १४ खेलमा जित हात पारे । इटालियन राष्ट्रिय टोलीबाट विश्वकपसमेत जितेका इन्जाघी अहिले उत्तरी इटालीको क्लब भेनेजियाको प्रशिक्षकका रूपमा कार्यरत छन् । भेनेजिया इटालीको तेस्रो डिभिजनको लिग खेल्ने टोली हो ।


सन् २००१ को युभेन्टसको टोलीमा समावेश २७ खेलाडीमध्ये १४ खेलाडी प्रशिक्षक बनेका छन्, जसको चर्चा अहिले भइरहेको छ । १४ मध्ये केहीले युरोपका ठूला लिगमा सफलतासमेत हात पारिरहेका छन्।

जियनलुका जामब्रोट्टा

जामब्रोट्टाले युभेन्टससहित युरोपका बार्सिलोना, एसी मिलानलगायत चर्चित क्लबबाट खेलेका छन् । पूर्वडिफेन्डर जामब्रोट्टा पनि युभेन्टसलाई सन् २००१ मा प्रतिनिधित्व गरेर अहिले प्रशिक्षण पेसामा जमेका मध्येका हुन् । अहिले उनी इन्डियन सुपर लिग (आईएसएल) मा दिल्ली डाइनामोका मुख्य प्रशिक्षक छन् । चेल्सीका पूर्वखेलाडी फ्लोरेन्ट मलाउडालगायत खेलाडी रहेको दिल्लीले यो सिजन तेस्रो स्थानमा सक्काएको छ ।

इडगर डेभिडस

युभेन्टसमा सुखद करिअर बिताएका इडगर प्रशिक्षकका रूपमा भने त्यति जम्न सकेनन् । अज्याक र टोट्टनहामबाट समेत फुटबल खेलेका उनले सन् २०१२ र २०१४ को बीचको समयमा पहिलोपटक प्रशिक्षणको जिम्मेवारी सम्हालेका थिए । इङ्लिस क्लब बार्नेटको प्रशिक्षणको जिम्मेवारी सम्हालेका उनले क्लबलाई सफलता दिलाउन सकेन । उनको दोस्रो वर्षको कार्यकालमा बार्नेट डिभिजन दुईबाट रेलिगेसनमा पर्यो । त्यसयता उनी फेरि व्यवस्थापकको जिम्मेवारीमा फर्किएका छैनन् ।

पाओलो मोन्टेरो

मोन्टेरोले युभेन्टसबाट चार लिग उपाधिसहित महत्वपूर्ण १२ उपाधि जिते । उनी उपाधिसँधै खेलका क्रममा प्राप्त रेड कार्डबाट पनि उत्तिकै चर्चामा रहे । उनले आफ्नो खेल जीवनमा २१ रातो कार्ड पाएका थिए । उरुग्वेका उनले राष्ट्रिय टोलीबाट ६१ क्यापसमेत जितेका छन् । उनी सन् २००२ को विश्वकपमा उरुग्वेयन टोलीमा पनि समावेश थिए । अहिले उनी आफ्नो खेल जीवनको अनुभव प्रशिक्षकका रूपमा बाँडिरहेका छन् । उनी अहिले लियोनल मेसीको सहरको क्लब रोसारियोको प्रशिक्षकका रूपमा कार्यरत छन् । यद्यपि उनको नेतृत्वमा टोलीले भने सशक्त प्रदर्शन दिन सकेको छैन । अर्जेन्टिनी प्रिमेरा डिभिजनमा १६ खेल खेलिसकेका उनको टोली रोसारियो २१औं स्थानमा छन् ।

सिरो फेरारा

युभेन्टसहित अर्को इटालियन क्लब नापोलीबाट फुटबल खेलेका फेरारा अहिले सफल प्रशिक्षकका रूपमा अघि बढिरहेका छन् । उनी सन् २००६ मा इटालीले विश्वकपको उपाधि जित्दा फेरारा पनि प्रशिक्षण टोलीमा समावेश थिए । उनी त्यसपछि युभेन्टसको प्रशिक्षण टोलीमा पनि सहभागी भए । सन् २००९ मा युभेन्टसले प्रशिक्षक क्लाउडियो रानिएरीलाई बर्खास्त गरेपछि फेराराले टोलीको प्रशिक्षणको जिम्मेवारी लिएका थिए । यद्यपि उनी युभेन्टसमा एक वर्षभन्दा बढी बसेनन् । उनी सन् २०१० मा बर्खास्तमा परेका थिए । त्यसपछि उनले इटालीको यू-२१ राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाले । त्यसपछि सन् २०१२ साम्पडोरियाको प्रशिक्षक बने । अहिले भने उनी चिनियाँ क्लब युहान जालको प्रशिक्षक छन् ।

जियनलुका पेस्सोट्टो

पेस्सोट्टो युभेन्टसबाट खेलाडीका रूपमा सफल मानिन्छन् । टोलीबाट इटालियन सिरी एको ६ उपाधि जितेका पेस्सोट्टोले सन् १९९६ मा युरोपियन च्याम्पियन्स लिगको समेत उपाधि जितेका थिए । प्रशिक्षकका रूपमा भने उनको कथा केही दुःखद छ । उनलाई युभेन्टसले मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो । तर, सन् १९९६ मा युभेन्टसले खेल मिलेमतोको आरोपको सामना गर्नु केही दिनअघि उनी दुर्घटनामा परेका थिए । उनी अहिले युभेन्टसको युथ एकेडेमीका खेलकुद निर्देशकका रूपमा कार्यरत छन् ।

मिचेलङगेलो रामपुल्ला

पूर्वगोलरक्षक रामपुल्ला पनि युभेन्टसबाट खेलेर प्रशिक्षक बन्नेमध्येका हुन् । उनी पनि अहिले चिनियाँ क्लबको जिम्मेवारी सम्हालिरहेका छन् । उनी अहिले चिनियाँ क्लब ग्वान्झाउ इभारग्रान्डीको प्रशिक्षकका रूपमा कार्यरत छन् । सन् १९९२ देखि २००२ सम्म क्लबका लागि १० वर्ष खेलेका रामपुल्ला यसअघि युभेन्टसकै प्रशिक्षण टोलीमा थिए । उनले केही समय इटालियन सिरी एको डी डिभिजनको टोली डर्थोनालाई समेत प्रशिक्षण दिएका थिए ।

मार्का जान्ची

जान्ची सन् २००१ मा युभेन्टसमै थिए । यद्यपि उनीले आफ्नो करिअरको महत्वपूर्ण समय युभेन्टसमा भन्दा पनि ऋणमा विभिन्न क्लबमा रहेर बिताए । उनले युभेन्टसबाट थोरैमात्र खेल खेलेका छन् । उनी पनि खेल जीवनबाट टाढा भएपछि अहिले प्रशिक्षणमा छन् । जान्चीले इटालीकै भिसेन्जिया र युनियन भेनेजियासहित उनीहरूको युवा टोलीको प्रशिक्षणको जिम्मेवारी सम्हालिसकेका छन् ।

एथिर्सन

एथिर्सनले पनि युभेन्टससँग निकै थोरै समय बिताएका छन् । युभेन्टसका लागि निकै कम खेलेका छन् । यद्यपि उनले पनि आफ्नो खेल जीवनपछि प्रशिक्षणको पेसा अँगालेका छन् । यद्यपि उनको खेल र प्रशिक्षणको कार्यकाल त्यति सफल बन्न सकेको छैन । उनले ब्राजिलियन क्लब स्पोर्टस् क्लब फ्लेमेङगोलाई केही महिना प्रशिक्षण दिए । यद्यपि त्यसयता उनले अन्य प्रशिक्षणको जिम्मेवारी लिएका छैनन् ।

जुआन स्नेइडर

स्नेइडरले युभेन्टससहित युरोपका अन्य ठूला क्लबहरूबाट समेत खेले । उनी सन् २००१ मा युभेन्टसबाट खेलेर प्रशिक्षक बन्नेमध्येका पूर्वखेलाडी हुन् । यद्यपि उनको पनि प्रशिक्षणको कार्यकाल त्यति सफल हुन सकेको छैन । उनले गेटाफेबाट आफ्नो प्रशिक्षण यात्रा सुरु गरेका थिए । उनी गत अप्रिलमा गेटाफेको प्रशिक्षण नियुक्त भएका थिए । यद्यपि टोलीको प्रदर्शनमा सुधार नआएपछि उनी जिम्मेवारी सुरु गरेको ६ महिनाभित्रै बर्खास्तगीमा परेका छन् । एजेन्सीको सहयोगमा

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget