Websoft University

www.radiomakalu.com || 021-522512


मेलम्चीको उम्मेदवार छनोटः कांग्रेस–एमालेका आकांक्षी धेरै, माओवादी, राप्रपाले छान्यो



सिन्धुपाल्चोक ,वैशाख ७ गते । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा नेपाली काँग्रेस र नेकपा (एमाले) बाट मेयर पदमा १४ आकाङ्क्षी रहेका छन् भने नेकपा (माओवादी केन्द्र) र राप्रपाबाट भने एक–एकजनाको सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।

नेपाली काँग्रेस मेलम्ची नगरपालिकाको बुधबार साँझसम्मको बैठकबाट मेयर र उपमेयर पदको आकाङ्क्षीको नाम सार्वजानिक गरेको हो भने अन्य तीन ठूला पार्टीले भने यसअघि नै नाम सार्वजनिक गरिसकेका छन् ।


नाम सार्वजनिक भएसँगै नगरपालिकामा चुनावी माहोल बढेको छ । जिल्लाको पश्चिम क्षेत्रको मुख्य नगरपालिका रहेकाले यसलाई विभिन्न दलले आफ्नो पक्षमा पार्न लागिपरेका छन् । साविकका ११ गाविस मिलेर बनेको यस नगरपालिकामा जिल्लाभरका नौ गाउँपालिका र दुई नगरपालिकाको तुलनामा मेलम्चीमा चुनावी चहलपहल निकै बढेको छ ।

नजिकिँदै गरेको निर्वाचनमा नेतृत्व आफ्नो पोल्टामा पार्नको निमित्त जिल्लामा क्रियाशील ठूला दलले आफ्नो सङ्गठन बलियोे बनाउनका लागि भेला, घरदैलो अभियान तथा कार्यकर्ता भेटघाटलाई धेरै बाक्लो बनाउन थालेका छन् ।

नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट मधुसूदन सिग्देल, आइतमान तामाङ, विकास लामा, चेतप्रसाद घोरसैनी, भरत खड्का, माधव सिग्देल, डम्बर अर्याल र सागर श्रेष्ठ मेयर पदमा क्षेत्रीय समितिले सिफारिस गरेको छ ।

त्यसैगरी, नेकपा (एमाले) बाट बालकृष्ण देउजा, डम्बर अर्याल, घननाथ पराजुली, मित्रलाल चौलागाईं, उपेन्द्र तामाङ र धर्मकृष्ण श्रेष्ठलाई सिफारिस गरिएको छ ।

अन्य दुई पार्टी राप्रपाबाट फणिन्द्र दाहाल र माओवादी केन्द्रबाट श्याम खड्काको सर्वसम्मत उम्मेदवार घोषणा भइसकेको छ ।

अहिले जिल्लामा विभिन्न पार्टी परित्याग गरेर नयाँ पार्टीमा प्रवेश गर्ने होड नै चलेको छ भने पार्टी प्रवेश कार्यलाई नै दलले आफ्नो पकड बनाउने मुख्य कार्य मान्ने गरेका छन् ।

विशेष गरेर ठूला दल काँग्रेस, एमाले र माओवादी केन्द्र तथा राप्रपाका नेतालाई चुनावी चटारोले छोपेको छ । मतदाता सङ्ख्या हेरेर दलले मतदाता नामावलीमा नाम भएकाको हिसाब गरी समीकरण बनाउनसमेत सुरु गरिसकेका छन् । देशको ठूलो दल नेपाली काँग्रेस अहिले जिल्लाको विभिन्न क्षेत्रको कार्यकर्ता भेटघाटमा व्यस्त छ । आफ्नो मतदाता कमजोर भएको वडा र नगरपालिकामा अहिले सुधार भएको भन्दै आफ्नो पक्षमा राम्रो मत आउने मेलम्ची नगरपालिकाका नगर सभापति मधुसूदन सिग्देल बताउँछन् ।

उनका अनुसार नगरपालिकाभित्रका शिखरपुर, दुवाचौर, तालामाराङ, सिन्धुकोट, बाँसबारीलगायतका गाउँमा सुधार भएको छ । कांग्रेसले वडा जित्ने पक्का भएको उनले बताए । जनप्रिय उम्मेदवारलाई चुनावी मैदानमा पठाउन हाम्रो कसरत हुनेछ । पहिलाको स्थानीय निकायको निर्वाचनको तुलनामा यसपटक निकै राम्रो नतिजा आउने एमालेका तर्फबाट मेयरका आकाङ्क्षी बालकृष्ण देउजाले विश्वास व्यक्त गरे ।

नेकपा (माओवादी केन्द्र) मा पनि निर्वाचनको माहोल बढेको छ । माओवादी केन्द्रबाट यस नगरपालिकाको उम्मेदवार घोषणा भएका श्याम खड्का यसपटक नेतृत्व आफ्नो हातमा आउनेमा कुनै शङ्का नरहेको बताउँछन् । नगरपालिकामा राप्रपा पनि ठूलो प्रतिस्पर्धी हो । पूर्वअध्यक्षसमेत रहेका पशुपतिशम्शेर जबराको निर्वाचन क्षेत्रभित्र मेलम्ची नगरापालिका पर्ने भएकाले पनि राप्रपाले सजिलै जित हासिल गर्नेमा राप्रपा ढुक्क छ ।

जिल्लामा चुनावी प्रतिस्पर्धामा २० दलले भाग लिन पाउनेछन् । त्यसमध्ये चार ठूला दलबीचको प्रतिस्पर्धा भने रोचक हुने देखिएको छ । मेलम्ची नगरपालिकाभित्र १३ वडाको १४ स्थानमा मतदान केन्द्र तोकिएको छ । नगरपालिकाभित्र जम्मा ३१ हजार नौसय ८७ मतदाता रहेका छन् ।
रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget