युवराज गौतम
मोहनशमशेर 'बेबी किङ' ज्ञानेन्द्र शाहका प्रधानमन्त्री थिए । २००७ साल पुस २४ गते मोहन शमशेरले देशवासीका नाममा दिएको सन्देशमा भनेका छन्, 'जंगीका हाम्रा प्यारा भाइहरूलाई पनि म यस मौकामा एक विशेष सन्देश दिन चाहन्छु । देशको खतरनाक र कठिन काममा तिमीहरूले देशप्रेम र बहादुरीको आफ्नो पुख्यौली सुनाममा कुनै धब्बा आउन नदिई कायम राखेका छौं ।' तरल राजनीतिक अवस्थामा प्रधानमन्त्रीले पनि सेनाप्रति नै भरोसा गर्थे भन्ने यो एउटा उदाहरण हो ।
Image may contain: 1 person, closeup२००७ साल कात्तिक २२ गते राजा त्रिभुवनले राजदरबारबाट सिकार खेल्न जाने बहानामा भारतीय दूतावासमा शरण लिएपछि प्रधानमन्त्री मोहन शमशेरको मुटुमा ढ्यांग्रो बज्न थाल्यो । उनले अर्जुन शमशेर र विजय शमशेरलाई त्रिभुवनसँग संवाद गर्न पठाए । राजा त्रिभुवनले भेट गर्न मानेनन् । युवराज महेन्द्रलाई राजगद्दीमा राख्न खोजे मोहन शमशेरले । उनी पनि बुबासँग गएकाले त्यो सम्भव भएन ।
अन्त्यमा ज्ञानेन्द्र शाहलाई २००७ साल कात्तिक २३ गते वसन्तपुरको राजगद्दीमा राखेर विधिपूर्वक राज्याभिषेक गरियो । कतिपय चाकडीबाजले मोहन शमशेरलाई राजा बनाउन खोजे । कात्तिक २३ गते बिहान सात बजेको भारदारी सभामा मोहन शमशेरले तर्क गरे, 'परम्परादेखि मानी आएको वंशलाई खारिज गर्न मनासिब हुँदैन ।' त्रिभुवनको अनुपस्थितिमा ज्ञानेन्द्र शाहलाई गद्दीमा राखेर मोहन शमशेरले परम्परा र इतिहासको रक्षा गरे ।
सो घटनाको ५१ वर्षपछि नारायणहिटी राजदरबारमा २०५८ साल जेठ १९ गते शुक्रबार राति राजा वीरेन्द्रको हत्या हुँदा रानी ऐश्वर्यसहित उनका तीन सन्तान पनि मारिए । प्रत्यक्षदर्शीहरूले बयान दिए, 'युवराज दीपेन्द्रको जस्तो अनुहार भएका (मुखुन्डो लगाएका ? ) अरू पनि थिए । उनीहरू अत्याधुनिक हतियार लिएर घुमिरहेका थिए । दीपेन्द्रको हत्या (आत्महत्या ? ) पछि पनि गोली चल्दै थियो ।' त्यसबारे केही साक्षीले भयाक्रान्त भएर घटनाबारे वर्णन गरेका छन् । तत्सम्बन्धमा छानबिन गर्न गठित आयोगले 'घटना विवरण' मात्र सार्वजनिक गर्यो । गहिराइसम्म पुगेर तहकिकात गरेन । त्यसैले घटना झन् रहस्यमय बन्यो ।
२०५९ साल असार ६ गते राजा वीरेन्द्रको पुण्यतिथिमा पंक्तिकारको सम्पादनमा वीरेन्द्र स्मृति ग्रन्थ प्रकाशन भयो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सभाकक्ष (हाल संसद् भवन) मा ग्रन्थको लोकार्पण गरेका थिए । वरिष्ठ राजनीतिज्ञ, कूटनीतिज्ञ, लेखक, पत्रकार, दरबारका उच्च पदस्थ कर्मचारीदेखि लिएर विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थितिले हल खचाखच भरिएको थियो । मीरा राणा, ज्ञानु राणालगायतका कलाकाहरूले चाँदनी शाह (ऐश्वर्य शाह) द्वारा रचित गीतहरू गाए ।
पृष्ठभूमिमा राजा वीरेन्द्रको स्वदेश तथा विदेश भ्रमणको वृत्तचित्र प्रदर्शन भइरहेको थियो । दुई केजी चार सय ग्राम तौलको ५०७ पृष्ठ (ए फोर साइज) मोटो स्मृति ग्रन्थमा राजा वीरेन्द्रका निकटतम् सहयोगीदेखि उनका निजी चिकित्सक, सहयोगी, बालसखा, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तिका लेख, संस्मरण र घटनाक्रम समेटिएका छन् ।
आज पनि सरकार राष्ट्रको बैरीजस्तो छ । गाउँ र नगरको अधिकार कटौती गरेर विदेशीलाई पोस्न खोजिएको छ । राष्ट्रको सुखसुविधामा पौडी खेलेर अराष्ट्रिय काम गर्नेहरू शक्तिशाली पदमा बसेका छन् । राष्ट्रलाई विखण्डन गर्ने षड्यन्त्र रोकिएको छैन ।
यो लेखको उद्देश्य पुस्तकको चर्चा गर्नु होइन, राजा वीरेन्द्रका शत्रु नै नेपालका परम शत्रु हुन् भन्ने कुरा युवा पुस्तालाई बुझाउने प्रयास मात्र हो । दरबार हत्याकाण्डबारे धेरै युवाका मनमा आज पनि अनेक खुल्दुली छन् । 'राजा वीरेन्द्रका शत्रु को थिए ? कसले मार्यो उनलाई ? किन मारिए वीरेन्द्र ? त्यसपछि राष्ट्र किन कमजोर हुँदै गयो ? राजतन्त्र समाप्त पार्ने खेलमा कस्ताकस्ता षड्यन्त्र भए ? ' युवा वर्गमा यस्ता प्रश्नबारे चर्चापरिचर्चा हुने गर्छ ।
चीनका प्राध्यापक वाङ चुङले नेपालको सुरक्षात्मक रणनीति पुस्तकमा अमेरिका र भारतको षड्यन्त्रमा राजा वीरेन्द्र मारिएको खुलासा गरेका छन् । पूर्व परराष्ट्रमन्त्री चक्रप्रसाद बाँस्तोलाले सोही कुराको समर्थन र पुष्टि गर्दै एउटा दैनिक पत्रिकामा लेख लेखेर धेरैलाई चकित तुल्याए । राजा वीरेन्द्रका छोरा दीपेन्द्र र भाइ ज्ञानेन्द्र शाहलाई दोषी ठहर गर्नेहरू नै आज रहस्य त अर्कै रहेछ भन्न थालेका छन् । गाउँघरमा पनि मध्यरातमा 'चोर-चोर' भन्दै चोरले नै गाउँलेहरूलाई एकातिर कुँदाउँछ र आफू खुसुक्क अर्कोतिर भाग्छ । दरबार हत्याकाण्डमा त्यस्तै भएको पाइन्छ ।
राजा वीरेन्द्रले भारतको दबाब मानेनन् । चीनसँग मिलेर राष्ट्रलाई आत्मनिर्भर बनाउन केही प्रयास गरे । २०२८ साल माघ १७ गते राजा भएपछि उनले विकास र शान्ति जस्ता महत्वपूर्ण कुरामा जोड दिए । नेपाललाई स्वावलम्बी बनाउन धेरै कार्यक्रम ल्याए । भारतले आफ्नो सुरक्षा छातामुनि नेपाललाई राख्न खोजेको चाल पाएपछि उनले नेपाली सेनालाई अत्याधुनिक हतियार र उपकरणले सुसज्जित तुल्याउन २०४५ सालमा चीनबाट एन्टी एयरक्राफ्ट गनलगायतका आधुनिक हतियार झिकाए ।
दुर्भाग्यको कुरा, तीन हजारभन्दा बढी फौजको घेरामा ढुक्कले बसेका राजा (सेनाका परमाधिपति) दरबारभित्रै मारिएपछि तत्कालीन सेनापति प्रज्ज्वलशमशेर राणाले दिएको अभिव्यक्ति भन्दै पत्रपत्रिकामा छापियो, 'राजाको रक्षा गर्ने काम सेनाको होइन ।' यसको अर्थ नेपाली सेना नै पंगु रहेछ भन्ने होइन, तर सेनापतिले त्यति गैरजिम्मेवार अभिव्यक्ति दिँदा सहरमा अनेकौं हल्ला फैलियो । दरबारको सुरक्षा हेर्ने जिम्मेवार व्यक्तिहरूले पश्चिमा राष्ट्रका आईएनजीओसँग मिलेर काम गरेको, केही अधिकृतहरू विदेश भागेको र सुरक्षाबारे चरम लापरबाही गरिएका धेरै टिप्पणी पत्रपत्रिकामा आए । सेनापति राणा ती सबै आरोपमा मौन बसे ।
भारतीय जनता पार्टीका पुराना नेता अशोक सिंघलले भनेका थिए, 'नेपाल दरबारमा कुनै अप्रिय घटना हुन सक्छ भन्ने संकेत पाएपछि दरबारका एकजना सचिवलाई फोन गरेर मैले तीन महिना पहिल्यै सतर्क गराउन खोजेको थिएँ । राजा वीरेन्द्र असल र प्रजातान्त्रिक चरित्रका हिन्दु राजा भएकाले उनीप्रति मेरो विशेष सम्मान थियो । मेरो सन्देश राजासमक्ष पुर्याइएन भन्ने थाहा पाएपछि म दुःखी भएँ । राजा वीरेन्द्रको हत्या भएको सुनेपछि म शोकमा डुबें।'
सो काण्डमा राजा ज्ञानेन्द्रको संलग्नता रहेको कुनै प्रमाण फेला पारेको भए उनले कठोर सजाय पाउन सक्थे । अन्तर्र्राष्ट्रिय संघसंस्थामार्फत पनि त्यसबारे छानबिन हुन सक्थ्यो, तर उनको संलग्नता नभएको बुझेपछि गणतन्त्रवादी नेताहरू र अन्तर्राष्ट्रिय समुदाय पनि मौन बसे । तथ्य, प्रमाण वा आधारबिना कुनै व्यक्तिलाई हत्यारा वा अपराधी भन्न मिल्दैन । हजारौं व्यक्तिको हत्यामा संलग्न व्यक्तिहरूले चलाएका निराधार, मिथ्या र कल्पित आरोपहरू पुष्टि गर्ने पर्याप्त प्रमाण छन् भने आज पनि त्यो सार्वजनिक गर्न सक्छन् ।
आज नेपाल पश्चिमाहरूका साथै चीन र भारतको प्रतिस्पर्धा गर्ने थलो बनेको छ । 'चाइना-इन्डिया राइभल्री ओभर चाइनिज आम्र्स सेल्स' (सन् १९९१) पुस्तकमा जेडब्लू गार्भरले गिरिलाल जैनले भन्दा खतरनाक संकेत गरेका छन् । सन् ३०६ मा चीनका विद्वान् सेन-साईले नेपाल भ्रमण गरेदेखि नै नेपाल-चीन सम्बन्ध सुरु भएको हो । नेपाललाई आधार इलाका बनाएर चीनलाई खरानी तुल्याउने गुप्त योजनाअन्तर्गत पश्चिमा शक्तिले नेपाललाई सधैं अस्थिर बनाउन भारतको सहयोगमा काम गरिरहेको बुझ्न सकिन्छ । तसर्थ राजा वीरेन्द्रको हत्यालाई सतही ढंगले विश्लेषण गर्नु अपरिपक्व ठहरिनेछ । उनको हत्या राजतन्त्र र राष्ट्रियता दुवै समाप्त पार्ने खेलको पहिलो कडी थियो ।
कतिपय दुर्दान्त, दुर्दमनीय र कल्पनातीत घटना अप्रत्यासित जस्तो लागे पनि पृष्ठभूमिमा कैयन् पात्र, घटना, योजना र षड्यन्त्रका कथा अवश्य हुन्छन् । राजनीतिशास्त्री डा. देवराज दाहालले एकपल्ट घतलाग्दो तर्क गरेका थिए, 'परिवर्तनका नाममा केही वर्षयता नेपाल धेरै कमजोर भइसकेको छ । राष्ट्रलाई एकीकृत गर्ने वा जोड्ने शक्तिभन्दा तोड्ने शक्तिहरू प्रबल हुँदै गएका छन्, यसबारे हामीले सूक्ष्म अध्ययन गर्न आवश्यक छ ।'
राजा वीरेन्द्रका शत्रु अनेकौं भेषमा घाँसमा विषालु सर्प लुके झैं लुकेका रहेछन् । सेना, प्रहरी, गुप्तचर, पत्रकार, लेखक, कानुनविद्, राजनीतिज्ञ, समाजसेवी, उद्योगपति आदिको भेषमा विदेशीका निम्ति काम गर्नेहरू २०६३ सालपछि छिचिमिरा झैं सतहमा देखिए । माओवादी र विदेशीलाई गुप्त सूचना दिनेहरूले सांसदलगायतका उच्च पद र आईएनजीओकर्मी भएर वास्तविक रूप देखाए । 'दिल्लीमा नेपाल-भारतबीच उद्योग-व्यापारबारे छलफल हुँदा नेपालका एकजना अर्बपति उद्योगपति भारतीय पक्षको प्रतिनिधि भएर बसेको देखेपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला आश्चर्यचकित भएका थिए ।' पत्रकार युवराज घिमिरे भन्छन् ।
राजदरबारदेखि सिंहदरबारसम्म राजा र राष्ट्रका शत्रु भएका कारण दिनप्रतिदिन राष्ट्रको पतन हुँदै गयो । आज पनि सरकार राष्ट्रको बैरीजस्तो छ । गाउँ र नगरको अधिकार कटौती गरेर विदेशीलाई पोस्न खोजिएको छ । राष्ट्रको सुखसुविधामा पौडी खेलेर अराष्ट्रिय काम गर्नेहरू शक्तिशाली पदमा बसेका छन् । राष्ट्रलाई विखण्डन गर्ने षड्यन्त्र रोकिएको छैन ।
२०४७ सालको सविधानमा नेपालको राष्ट्राध्यक्ष हिन्दु नै हुनुपर्ने व्यवस्था थियो । त्यो इसाईहरूलाई मन परेको थिएन । युरोप र अमेरिकाले माओवादी नामको पल्टनलाई मद्दत गरेर भारतको सहयोगमा तालिम, पैसा र हतियार उपलब्ध गराउँदै नेपाली सेनाविरुद्ध युद्धको ऐलान गरे । नेपालका प्राकृतिक स्रोतसाधनबारे संसदको उपस्थित दुईतिहाई सदस्यले निर्णय गर्ने कुरा सो संविधानको धारा १२६ ले स्पष्ट गरेको थियो । सो धाराले शान्ति र मैत्री सन्धि, सुरक्षा र सामाजिक सम्बन्ध, नेपाल अधिराज्यको सिमाना र प्राकृतिक स्रोत र त्यसको उपयोगको बाँडफाँट जस्ता विषयमा संसदको दुवै सदनको संयुक्त बैठकमा उपस्थित सदस्यहरूको दुईतिहाई बहुमतले निर्णय गर्ने सर्त राखेकाले नेपालको प्राकृतिक स्रोत र राष्ट्रिय सुरक्षामा हस्तक्षेप गर्न चाहने भारतका निम्ति २०४७ सालको संविधान नै 'समस्या' बन्न पुग्यो । यस्तै संविधानले भाग २ मार्फत नागरिकतामा गरेको कडाइ पनि भारतलाई मन परेको थिएन । यस्तै सोही संविधानको धारा १९ (१) मा 'कसैले कसैको धर्म परिवर्तन गराउन पाउने छैन' भनिएकोमा हिन्दु-बौद्ध जस्ता प्राचीन धर्म मास्न षड्यन्त्र गर्नेहरूले धर्म निरपेक्षताको एजेन्डा ल्याएर पुरानो संविधानलाई समाप्त तुल्याए ।
तसर्थ राजा वीरेन्द्रको हत्या गरेपछि राजा ज्ञानेन्द्रलाई गद्दीच्युत गराउने खेलमा सक्रिय तत्वहरू नै आज राष्ट्र टुक्र्याउने मिसनमा लागेको बुझिन्छ । गणतन्त्र 'संस्थागत' गर्ने भनेकै त्यही हो भन्ने यथार्थ जनताले विस्तारै बुझिरहेका छन् ।
२०३० साल जेठ २८ गते (१० जुन १९७३) मा नेपाली कांग्रेसले विमान अपहरण गरेर भारु ३० लाख भारतमा पुर्याउने कृत्यको यथार्थ विवरण समेटेर सो काण्डका योजनाकारमध्येका एक मदनप्रसाद अर्यालले लेखेको पुस्तकमा नेपाली कांग्रेस आज झन् पथभ्रष्ट भएको उल्लेख छ । कांग्रेसका धेरै नेता-कार्यकर्ताले पार्टीको चारतारे झन्डाको अर्थ बिर्सेका छन् । सिद्धान्त, दर्शन र आदर्श बिर्सेका छन् । २०४७ सालको संविधानको स्वामित्व लिने कांग्रेसले सो संविधानको रक्षा गर्ने कुनै प्रयत्न नगरी माओवादीमार्फत विदेशीले ल्याएका एजेन्डामा दौडिएपछि राष्ट्रियता र प्रजातन्त्र दुवै कमजोर बन्दै गयो ।
यो अवस्थामा पार्टीले गणतन्त्र संघीयता र धर्म निरपेक्षता परित्याग गर्ने साहस एवं विवेक देखाएन भने नेपाली कांग्रेस 'कोमिन्ताङ' बन्ने निश्चित छ । राष्ट्रियता, प्रजातन्त्र, राजसंस्था र समाजवादको सिद्धान्त नबुझ्ने कांग्रेसका धेरै नेता-कार्यकर्ताले चार तारा भन्नाले सुरा, सुन्दरी, सत्ता र सम्पत्ति मात्र बुझ्ने गरेका छन् । कतिपय पदलोलुपहरू त इस्लामिक उग्रवादीले नेपाल कब्जा गरे भने आईएस एजेन्ट बन्न पनि तयार देखिन्छन् । कतिपय वामपन्थी दल र 'सत्तामा गणतन्त्र र सडकमा राजतन्त्र, हाम्रो मूलमन्त्र' ठान्ने राप्रपा झैं कांग्रेस पनि सिद्धान्तहीनहरूको बथान बनेको छ ।
अथर्ववेदमा भनिएको छ, 'भोग गर्ने जीवात्मा मात्र हो तर तटस्थ बस्ने परमात्मा हुन्छ ।' (आत्मा सूक्त ।।२०।।) दधीचिका हड्डीले बनेका बज्रले उनान्सय प्रकारका वृत्र नामका असुरलाई बध गरेको प्रसंग आउँछ शास्त्रमा । जनताले असल र खराब पात्र, प्रवृत्ति, दृश्य र पाश्र्व -निर्देशकका चक्रव्युह बुझेर सत्य बोल्ने साहस गरे भने राष्ट्र ठूलो संकटबाट बच्न सक्ने सम्भावना बाँकी छ । तर तटस्थ बसेर सत्य बोल्ने साहस कतिजनाले गर्छन् ? प्रश्न जटिल छ ।
नेपालमा खम्पा विद्रोह चर्काएर फाइदा लिन अमेरिकाले ताप्लेजुङ, संखुवासभा, दोलखा, सोलुखुम्बु, रोल्पा, मुस्ताङ, मनाङ, सिन्धुपाल्चोक, रसुवा, धादिङ, हुम्ला, मुगु, बझाङ र दार्चुला जिल्लामा हजारौं खम्पा छापामारहरूलाई प्रशस्त हतियार, तालिम र पैसा दिएर सक्रिय गरायो । त्यसबेला भैरहवामा भारतबाट प्रवेश गरेका खम्पाहरूलाई पक्राउ गर्दा गृहमन्त्री सूर्यप्रसाद उपाध्यायले भारत र अमेरिकाको दबाबमा ती छापामारलाई मुक्त गरिदिए । नेपाली कांग्रेसको सरकार विदेशीका सामु लाचार बन्यो । अमेरिका तथा भारतले त्यसैबेलादेखि नेपालको राजसंस्थालाई विदेशी षड्यन्त्र निस्तेज पार्ने अन्तिम शक्ति भन्ने बुझेका थिए । राजसंस्था र सेनालाई तहसनहस पार्ने खेलहरू त्यसै बेलादेखि हुँदै आएको बुझिन्छ । सन् १९७४ तिरै रकेट लन्चर, एम सिक्सटिन बन्दुकलगायतका हतियार उपलब्ध गराउनेहरूले आज तराईमा विभिन्न रहस्यमय व्यक्ति र संस्थालाई सक्रिय गराएर अर्को विद्रोह गराउने तयारी गरिरहेको देखिन्छ ।
तराईका गतिविधि सूक्ष्मरूपमा अध्ययन गरेर विखण्डनकारीका अभिलेख तयार गर्नु मात्र पर्याप्त हुँदैन । प्रभाकरणलगायतका पृथकतावादीहरूलाई श्रीलंकाको सेनाले खरानी बनाए झैं समयमै तराईमा ट्याक्टिकल हेडक्वार्टर स्थापना गरेर नेपाललाई सुडान बनाउने खेल रोक्ने काम राष्ट्रिय सुरक्षाका अंगहरूको हो । राष्ट्रघातलाई सहज बनाउने खेलमा सरकारै लागेको देखिएकाले सेनाले 'सरकारको आदेश' पर्खिरहँदा देश नै भष्म भइसक्ने अवस्था आउन सक्छ । राजा वीरेन्द्रका हत्यारा नै राष्ट्र विखण्डन गराउने खेलमा सक्रिय छन् भन्ने कुरा स्पष्ट भइसकेको छ । तसर्थ यो रमिता हेर्ने बेला हँदै होइन ।- अन्नपूर्ण बाट
Post a Comment