Websoft University

www.radiomakalu.com || 021-522512


ऐतिहासिक पदक विजेतालाई जनही एक लाख


ऐतिहासिक पदक विजेतालाई जनही एक लाख 
पहिलो अन्तर्राष्ट्रिय पदक जित्न सफल नेपाली पुरुष भलिबल टोलीका प्रत्येक सदस्यलाई एक/एक लाख रुपैयाँबाट पुरस्कृत गरिने भएको छ । माल्दिभ्समा बिहीबार सम्पन्न एसियन भलिबल संघ (एभीसी) सेन्ट्रल जोन भलिबल प्रतियोगितामा कांस्य पदक जितेर स्वदेश फर्किएको नेपाली भलिबल टोलीका सदस्यहरूलाई सरकारले नगदसहित पुरस्कृत गर्ने घोषणा गरेको हो ।
खेलाडीको स्वागतका लागि विमानस्थल पुगेका युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले खेलाडीलाई पुरस्कृत गरिने घोषणा गरेका हुन् । ‘नेपाली भलिबल टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको लामो समयपछि पहिलो अन्तर्राष्ट्रिय पदक जित्न सफल भएको छ । यो सुखद अवसरमा म टोलीका सबै खेलाडीलाई जनही एक लाख रुपैयाँबाट पुरस्कृत गर्ने घोषणा गर्छु', मन्त्री श्रीपाइलीले भने । शुक्रबार अबेर राति स्वदेश फर्किएको नेपाली टोलीको स्वागतका लागि खेलकुद मन्त्री श्रीपाइलीसहित नेपाल भलिबल संघका पदाधिकारीहरू विमानस्थल पुगेका थिए ।
नेपाली टोलीका कप्तान इम रानामगरले ऐतिहासिक पदक जित्ने कल्पना नगरे पनि सबै खेलाडीको मेहनतले कांस्य पदक जित्न सफल भएको बताए । ‘नेपालको टोली राम्रो छैन, कम्तीमा कांस्य पदक जित्न सकिन्छ भनेर आयोजक माल्दिभ्सले रणनीतिक रूपमा टाइसिट बनाएको थियो', कप्तान रानामगरले भने, ‘तर हामीले उनीहरूको रणनीतिलाई विफल तुल्याइदियौं ।'
नेपाली टोलीका प्रमुख प्रशिक्षक वीरेन्द्र चौधरीले भलिबल संघको सक्रियताका कारण ऐतिहासिक पदक सफल भएको बताए । ‘भलिबल संघको सक्रियताकै कारण यो उपलब्धि हासिल भएको हो', उनले भने, ‘यो सफलताले नेपाली भलिबललाई नयाँ उचाइमा पुर्‍याउनेछ ।'
नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले संघ स्थापना भएको ४० वर्षपछि ऐतिहासिक उपलब्धि हासिल गरेको बताउँदै स्वदेशमा भएका लगातारको प्रतियोगिता र विदेशको अनुभवकै कारण सम्भव भएको बताए । ‘पदकले संघलाई थप चुनौती थपेको छ । आगामी दिनमा योभन्दा पनि उत्कृष्ट नतिजा कसरी दिने भन्ने चुनौती हाम्रो काँधमा आएको छ', महासचिव चन्दले भने ।
तुर्कमिनिस्तान र किर्गिस्तानसहित चार टोली सम्मिलित प्रतियोगितामा आयोजक माल्दिभ्सले सबै खेलमा पराजय बेहोरेपछि नेपालको कांश्य पदक सम्भव भएको थियो, जुन नेपाली पुरुष भलिबलले जितेको पहिलो अन्तर्राष्ट्रिय पदक हो । यस्तै नेपाली भलिबलले एभीसी र अन्तर्राष्ट्रिय भलिबल महासंघ (फिभ)बाट आयोजित तथा मान्यताप्राप्त प्रतियोगिताबाट पदक जितेको पनि यो नै पहिलो हो । नेपाली महिला भलिबलले साग खेलकुदको तीन संस्करणमा पदक जितेपनि एभीसी र फिभले सागलाई मान्यता दिएको छैन ।
सेटर इम रानामगरको कप्तानीमा रहेको नेपाली टोलीमा दिल सुनार, हरि अधिकारी, दुर्गा महतो, राजकुमार निरौला, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, कुलबहादुर थापा, महेन्द्र श्रेष्ठ, भैरव बम, नरेन्द्र गिरी र ईश्वर थापामगर रहेका थिए । नेपाली टोलीको प्रमुख प्रशिक्षकमा वीरेन्द्र चौधरी र सहायक प्रशिक्षकमा जगदीश भट्ट थिए । प्रतियोगिताका लागि नेपालले एक महिनाको तयारी गरेको थियो । गत पुसमा पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका २२ खेलाडीबाट १४ दिनको प्रशिक्षणपछि १२ खेलाडी छनोट गरिएको थियो ।- अन्नपूर्णबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget