Websoft University

www.radiomakalu.com || 021-522512


नयाँ संरचना अनुसार यस्ताे बन्दैछ माेरङ



मोरङ,फागुन २७ गते । स्थानीय तह पुनर्संरचनाअनुसार मोरङ जिल्लामा १ उपमहानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिका निर्धारण गरिएको छ ।
नयाँ संरचना अनुसार जिल्लामा विराटनगर उपमहानगरपालिका, ८ नगरपालिकामा उर्लाबारी, लेटाङ, पथरीशनिश्चरे, बेलबारी, सुन्दरहरैचा, रतुवामाई, सुनबर्षि र रंगेली रहेको छ । यस्तै, ८ गाउँपालिकामा मिक्लाजुङ, ग्रामथान, केराबारी, कानेपोखरी, जहदा, बुढीगंगा, धनपालथान र कटहरी रहेको छ । नयाँ संरचनाअनुसार विराटनगर उपमहानरपालिकालाई १९ वटामा विभाजन गरिएको छ भने केराबारी र मिक्लाजुङबोहकका गाउँपालिकालाई ७ वडामा विभाजन गरिएको छ ।


केराबारी र मिक्लाजुङमा भने क्रमशः १० र ९ वटा वडा रहेका छन् । क्षेत्रफलको आधारमा केराबारी सबैभन्दा ठूलो गाउँपालिका रहेको छ भने सबैभन्दा सानो कटहरी गाउँपालिका रहेको छ । यस्तै, सबैभन्दा बढी जनसंख्या जहदामा रहेको छ भने सबैभन्दा कम मिक्लाजुङमा रहेको छ । नगरपालिकातर्फ सबैभन्दा ठूलो लेटाङ र सबैभन्दा सानो उर्लाबारी रहेको छ । यस्तै, जनसंख्याको आधारमा सबैभन्दा बढी सुन्दरहरैचामा र सबैभन्दा कम लेटाङमा रहेको छ । यस्तै, सुन्दरहरैचामा १२, बेलबारीमा ११, पथरी र रतुवामाइमा १०÷१० र अन्य नगरपालिकामा ९ वटा वडा विजाजन गरिएको छ ।

उर्लाबारी नगरपालिका

स्थानीय तह पुनर्संरचना अनुसार उर्लाबारी नगरपालिका, राजघाट गाविस र मधुमल्ला ७, ८ र ९ मिलाएर उर्लाबारी नगरपालिकालाई ९ वटा वडा बनाइएको छ । नयाँ संरचनाअनुसार मधुमल्लाको ७, ८ र ९ लाई उर्लाबारीको १ नं. वडा कायम गरिएको छ । यस्तै राजघाटलाई पनि दुई वटा वडामा सीमित बनेको छ । राजघाटको १, २, ३, ४ र ९ लाई वडा नं. ८ र ५, ६, ७ र ८ लाई वडा नं. ९ कायम गरिएको छ । उता उर्लाबारीको ७, ८ र ९ लाई २ नं. वडा, ६ लाई ३ नं., १ र ५ लाई ४ नं., २ लाई ५ नं., ३ लाई ६ नं. र ४ लाई ७ नम्बर वडा कायम गरिएको छ ।

उर्लाबारी नगरपालिकालाई केन्द्र कायम गरिएको संरचनाअनुसार उर्लाबारीको क्षेत्रफल ७४.६२ वर्ग किलोमिटर रहेको छ । पूर्वमा दमक नगरपालिका, उत्तरमा मिक्लाजुङ गाउँपालिका, दक्षिणमा रतुवामाइ नगरपालिका र पश्चिममा पथरीशनिश्चरे र लेटाङभोगटेनी नगरपालिका रहेको छ । नयाँ संरचनाअनुसार उर्लाबारी नगरपालिकामा २१ किमि सडक कालोपत्रे अवस्थामा छ भने ७८ किमि कच्ची र ५१ किमि ग्राभेल सडक छन् ।



पथरीशनिश्चरे नगरपालिका

साविकको पथरीशनिश्चरे नगरपालिका र हसन्दह गाविस समावेश गरेर पथरीशनिश्चरे नगरपालिका बनाइएको छ । ७९.८१ वर्ग किमि क्षेत्रफल रहेको यस नगरपालिकालाई १० वडामा विभाजन गरिएको छ । ६२ हजार ४ सय ४० जनसंख्या रहेको यस नगरपालिकाको केन्द्र साविकको पथरीशनिश्चरे नगरपालिकाको कार्यालयलाई प्रस्ताव गरिएको छ । २२ किमि सडक कालोपत्रे, २९० किमि ग्राभेल र १४५ किमि कच्ची सडक रहेको यस नगरपालिका भौगोलिक रुपमा तराई क्षेत्रमा अवस्थिति छ ।

रतुवामाइ नगरपालिका

साविकको इटहरा, महादेवा, झुर्किया, सिजुवा, गोविन्दपुर (१,३,४,७) र वरडंगाको (१,४,५,७) समावेश गरेर रतुवामाइ नगरपालिका बनाइएको हो । १० वडामा विभाजन गरिएको यस नगरपालिकाको क्षेत्रफल १४२.१५ वर्ग किलोमिटर रहेको छ । साविकको सिजुवा कार्यालयलाई केन्द्र प्रस्ताव गरिएको यस नगरपालिकाको जनसंख्या ५५ हजार ३ सय ८० रहेको छ ।

मिक्लाजुङ गाउँपालिका

साविकको रमितेखोला, टाँडी, मधुमल्ला (१ देखि ६) र जाँते (३,४) गाविस समावेश गरेर मिक्लाजुङ गाउँपालिका निर्धारण गरिएको हो । १५८.९८ वर्ग किमि क्षेत्रफल रहेको यस गाउँपालिकालाई ९ वडामा विभाजन गरिएको छ । साविकको मधुमल्ला गाविस कार्यालयलाई केन्द्र प्रस्ताव गरिएको यस गाउँपालिकाको जनसंख्या २८ हजार ७ सय ८ रहेको छ । यस गाउँपालिकामा १३ किमि सडक कालोपत्रे, ५२ किमि ग्राभेल र १०४ किमि कच्ची रहेको छ ।

लेटाङ नगरपालिका

साविकको लेटाङभोगटेनी नगरपालिका २ देखि ११, जाँते गाविस १, २, ५, ६, ७, ८ र ९ र वारंगी गाविस समावेश गरेर लेटाङ नगरपालिका प्रस्ताव गरिएको हो । २१९.२३ वर्गकिमि क्षेत्रफल रहेको यस नगरपालिकालाई ९ वटा वडामा विभाजन गरिएको छ । साविकको लेटाङभोगटेनी नगरपालिका कार्यालयलाई केन्द्र प्रस्ताव गरिएको यस नगरपालिकाको जनसंख्या ३२ हजार ५६ रहेको छ । यस नगरपालिकाको पूर्वमा मिक्लाजुङ गाउँपालिका, पश्चिममा केराबारी गाउँपालिका, उत्तरमा धनुकटा जिल्ला र दक्षिणमा पथरी नगरपालिका, बेलबारी नगरपालिका र कानेपोखरी गाउँपालिका रहेको छ । ६ किमि सडक कालोपत्रे, ६७ किमि ग्राभेल, १४१ किमि कच्ची रहेको यस नगरपालिका भौगोलिक रुपमा पहाडी क्षेत्रमा पर्दछ ।

केराबारी गाउँपालिका

साविकको लेटाङभोगटेनी नगरपालिका १ र केराबारी, याङशिला, पाटीगाउँ र सिंहदेवी गाविस समावेश गरेर केराबारी गाउँपालिका प्रस्ताव गरिएको हो । २१९.८३ वर्गकिमि क्षेत्रफल रहेको यस गाउँपालिकालाई १० वटा वार्डमा विभाजन गरिएको छ । साविकको केराबारी गाविस कार्यालयलाई केन्द्र प्रस्ताव गरिएको यस गाउँपालिकाको जनसंख्या ३० हजार ४ सय ३१ रहेको छ ।
पूर्वमा लेटाङ नगरपालिका, पश्चिममा सुनसरी जिल्ला, उत्तरमा धनकुटा र दक्षिणमा सुन्दरहरैचना नगरपालिका रहेको यस गाउँपालिकामा ११ किमि सडक कालोपत्रे, ८६ किमि ग्राभेल र ९२ किमि कच्ची रहेको छ ।

विराटनगर उपमहानगरपालिका

विराटनगरलाई बैजनाथपुर र बुधनगरको १, ३, ४ र ५ समावेश गरेर उपमहानगरपालिकाको नयाँ संरचना बनाइएको छ । नयाँ संरचनाअनुसार उपमहानगरपालिकाको क्षेत्रफल ७७ वर्गकिलोमिटर रहेको छ । यस्तै, १९ वडामा विभाजन गरिएको विराटनगरमा २ लाख १४ हजार ६ सय ६३ जनसंख्या रहेको छ । उपमहानगरपालिकामा १ सय १६ किलोमिटर सडक कालोपत्रे, २ सय ४ किलोमिटर ग्राभेल र १ सय ३० किलोमिटर सडक कच्ची रहेको छ ।

रंगेली नगरपालिका

साविकको रंगेली नगरपालिका (१ देखि ८), दर्बेसा र बबियाविर्ता गाविस समावेश गरेर रंगेली नगरपालिका निर्धारण गरिएको छ । १११.७८ वर्ग किमि क्षेत्रफल रहेको यस नगरपालिकाको जनसंख्या ५२ हजार १३ रहेको छ । साविकको रंगेली नगरपालिका कार्यालयलाई केन्द्र प्रस्ताव गरिएको यस नगरपालिकाको पूर्वमा सुनवर्षी नगरपालिका, पश्चिममा धनपालथान, कटहरी र ग्रामथान गाउँपालिका, उत्तरमा कानेपोखरी गाउँपालिका र बेलबारी नगरपालिका र दक्षिणमा भारत रहेको छ । ९ वटा वडामा विभाजन गरिएको यस नगरपालिकामा ९.३ किमि सडक कालोपत्रे, ५७.९ किमि ग्राभेल र ४४ किमि कच्ची सडक रहेको छ ।

सुनवर्षी नगरपालिका

साविकको रंगेली नगरपालिका (९,१०,११), अमरदह, गोविन्दपुर (२,५,६,८,९), वरडंगा (२,३,६,८,९) र डाइनिया गाविस समावेश गरेर सुनवर्षि नगरपालिका निर्धारण गरिएको हो । साविकको डाइनिया गाविस कार्यालयलाई केन्द्र प्रस्ताव गरिएको यस नगरपालिकाको जनसंख्या ५० हजार ७ सय ५८ रहेको छ । ९ वटा वडामा विभाजन गरिएको यस नगरपालिकाको क्षेत्रफल १०६.४ वर्ग किलोमिटर रहेको छ ।

सुन्दरहरैचा नगरपालिका

साविकको सुन्दरदुलारी र कोशीहरैचा नगरपालिकालाई समावेश गरेर सुन्दरहरैचना नगरपालिका बनाइएको हो । १२ वडामा विभाजन गरिएको यस नगरपालिकाको क्षेत्रफल ११०.१६ वर्गकिलोमिटर रहेका छ । साविकको कोशीहरैचा नगरपालिका कार्यालयलाई केन्द्र प्रस्ताव गरिएको यस नगरपालिकाको जनसंख्या ८० हजार ५ सय १८ रहेको छ ।

बेलबारी नगरपालिका

साविकको बेलबारी नगरपालिका, डाँगीहाट र बाहुनी गाविस समावेश गरेर बेलबारी नगरपालिका बनाइएको हो । ११ वडामा विभाजन गरिएको यस नगरपालिकाको क्षेत्रफल १३२.७९ वर्ग किमि र जनसंख्या ६५ हजार ८ सय ९२ रहेको छ । साविकको बेलबारी नगरपालिका कार्यालयलाई केन्द्र प्रस्ताव गरिएको यस नगरपालिकाभित्र २४ किमि सडक कालोपत्रे, ६७ किमि ग्राभेल र ९८ किमि कच्ची सडक रहेको छ । पूर्वमा कानेपोखरी गाउँपालिका र पश्चिममा सुन्दरहरैचा नगरपालिका र ग्रामथान गाउँपालिका रहेको यस नगरपालिकाको उत्तरमा केराबारी गाउँपालिका र लेटाङ नगरपालिका र दक्षिणमा रंगेली नगरपालिका रहेको छ ।

बुढीगंगा गाउँपालिका

साविकको टंकिसिनवारी, हात्तिमुडा, शिसवनी बडहरा र डंग्राहा गाविस समावेश गरेर बुढीगंगा गाउँपालिका निर्धारण गरिएको हो । ७ वटा वार्डमा विभाजन गरिएको यस गाउँपालिकाको क्षेत्रफल ५६.४१ वर्ग किमि रहेको छ । ४१ हजार ५ सय ८६ जनसंख्या रहेको यस गाउँपालिकालाई साविकको हात्तिमुडा गाविस कार्यालयलाई केन्द्र प्रस्ताव गरिएको छ । यस गाउँपालिकाको पूर्वमा ग्रामथान गाउँपालिका, पश्चिममा सुनसरी जिल्ला, उत्तरमा सुन्दरहरैचना नगरपालिका र दक्षिणमा विराटनगर उपमहानगरपालिका रहेको छ । बुढीगंगामा ७ किमि सडक कालोपत्रे, ७४ किमि ग्राभेल र ३४ किमि कच्ची सडक रहेको छ ।

धनपालथान गाउँपालिका

साविकको दारबैरिया, सोराभाग, अमाहिबरियाती, नोचा र कदमाहा गाविस समावेश गरेर धनपालथान गाउँपालिका बनाइएको हो । ७०.२६ वर्ग किमि रहेको यस गाउँपालिकालाई ७ वडामा विभाजन गरिएको छ । ३९ हजार ३ सय ९४ जनसंख्या रहेको यस गाउँपालिकाको केन्द्र साविकको सोराभाग गाविसको कार्यालयलाई प्रस्ताव गरिएको छ । पूर्वमा रंगेली नगरपालिका पश्चिममा कटहरी र जहदा गाउँपालिका, उत्तरमा कटहरी गाउँपालिका र रंगेली नगरपालिका र दक्षिणमा जहदा गाउँपालिका र भारत रहेको यस गाउँपालिकामा ९.५ किमि सडक कालोपत्रे, ८३ किमि ग्राभेल र ६८ किमि कच्ची रहेको छ ।

ग्रामथान गाउँपालिका

साविकको झोराहाट, मोतिपुर तेतरिया, सिद्राहा, बनिगामा र लखन्तरी गाविसलाई समावेश गरेर ग्रामथाम गाउँपालिका बनाइएको हो । ७१.८४ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस गाउँपालिका ७ वार्डमा विभाजन गरिएको छ । ३२ हजार ७ सय १७ जनसंख्या रहेको यस गाउँपालिकाको पूर्वमा बेलबारी र रंगेली नगरपालिका, पश्चिममा बुढीगंगा गाउँपालिका, उत्तरमा सुन्दरहरैंचा नगरपालिका र दक्षिणमा विराटनगर उपमहानगरपालिका र कटहरी गाउँपालिका रहेको छ । साविकको तेतरिया गाविस कार्यालयलाई केन्द्र प्रस्ताव गरिएको यस गाउँपालिकामा ५ किमि सडक कालोपत्रे, ७७ किमि सडक ग्राभेल र ४२ किमि सडक कच्ची रहेको छ ।

जहदा गाउँपालिका

साविकको भाथिगछ, मझारे, शिशवनी जहदा, पोखरिया र बुधनगर (२,६,७,८,९) गाविस समावेश गरेर जहदा गाउँपालिका बनाइएको हो । ६२.३८ वर्ग किमि क्षेत्रफल रहेको यस गाउँपालिकालाई ७ वडामा विभाजन गरिएको छ । साविकको मझारे गाविस कार्यालयलाई केन्द्र प्रस्ताव गरिएको यस गाउँपालिकाको जनसंख्या ४१ हजार ८ सय १९ रहेको छ । पूर्वमा धनपालथान गाउँपालिका र भारत, पश्चिममा विराटनगर उपमहानगरपालिका, उत्तरमा कटहरी गाउँपालिका र दक्षिणमा भारत रहेको यस गाउँपालिकामा ०.५ किमि सडक कालोपत्रे, ३८ किमि सडक ग्राभेल र ६७ किमि सडक कच्ची रहेको छ ।

कानेपोखरी गाउँपालिका

साविकको बयरवन, केरौन र होक्लाबारी गाविस समावेश गरेर कानेपोखरी गाउँपालिका बनाइएको हो । ८२.८३ वर्गकिमि क्षेत्रफल रहेको यस गाउँपालिकाको जनसंख्या ३८ हजार ३३ रहेको छ । ७ वार्डमा विभाजन गरिएको यस गाउँपालिकाको केन्द्र साविक वयरवन गाविस कार्यालय लाई प्रस्ताव गरिएको छ । पूर्वमा पथरीशनिश्चरे नगरपालिका, पश्चिममा बेलबारी नगरपालिका, उत्तरमा लेटाङ नगरपालिका र दक्षिणमा रंगेली
नगरपालिका रहेको यस गाउँपालिकामा ८ किमि सडक कालोपत्रे, ४६ किमि ग्राभेल रहेको छ ।

कटहरी गाउँपालिका

साविकको कटहरी, थलाहा, भौडाहा गाविस समावेश गरेर कटहरी गाउँपालिका बनाइएको छ । ५१.५९ वर्ग किमि क्षेत्रफल रहेको यस गाउँपालिकालाई ७ वार्डमा विभाजन गरिएको छ । ३९ हजार ७ सय ७५ जनसंख्या रहेको यस गाउँपालिकाको केन्द्र साविककको कटहरी गाविस कार्यालयलाई प्रस्ताव गरिएको छ । पूर्वमा धनपालथान र जहदा गाउँपालिका, पश्चिममा विराटनगर उपमहानगरपालिका, उत्तरमा ग्रामथान गाउँपालिका र दक्षिणमा जहदा गाउँपालिका रहेको यस क्षेत्रमा ६ किमि सडक कालोपत्रे, ४५ किमि ग्राभेल र २५ किमि कच्ची रहेको छ ।-पुर्बेलीन्युजको

  

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget