Websoft University

www.radiomakalu.com || 021-522512


छ हजार भूकम्पपीडितले पहिलो किस्ता पाएनन्


nepal_earthquake
दोलखा, चैत ६ गते ।  दोलखाका छ हजार भूकम्प पीडितले आवास निर्माणको पहिलो किस्ताबापतको ५० हजार रुपियाँ अझैसम्म पाउनसकेका छैनन् ।  सरकारी निकायबीच आपसी समन्वयको अभावका र कर्मचारीले गरेका सामान्य गल्तीका कारण कतिपय भूकम्पपीडितले पहिलो किस्ताको रकम पाउन नसकेका हुन् ।
लामीडाँडा–६ का मानबहादुर बस्नेतले अझै पहिलो किस्ता नै पाउन सक्नुभएको छैन ।  सदरमुकाम चरिकोटमा भेटिनुभएका उहाँ भन्नुहुन्छ, कर्मचारीले गरेको त्रुटिका कारण मैले अझै पहिलो किस्ता पाउन सकिँन ।  नागरिकताको प्रतिलिपिसमेत बुझाएर विवरण भरिए पनि लाभग्राहीको सूचीमा नाम आउँदा थर ‘बस्नेत’ हुनुपर्नेमा ‘श्रेष्ठ’ भएर आएछ ।  त्यो सच्याउन दसौँ पटक चरिकोट धाउँदा थकित भइसके, अझै हप्ता दिनको समय दिएका छन्, हुन्छ कि हुँदैन अन्योलमा छु ।  छरछिमेकीले घर बनाउन थालेर दोस्रो किस्ता लिन तयार भइसक्दा पनि उहाँ भने विभिन्न कार्यालयमा रुमल्लिइरहनु भएको छ ।  खातामा रकम आउला र घर बनाउँला भन्दा भन्दै टहरोमै हुरी–बतास, वर्षा खेपेर बस्न बाध्य भएको उहाँले बताउनुभयो ।  त्यसै ठाउँका बालकुमारी अधिकारीले धेरै पटक चरिकोट धाएपछि बल्ल पहिलो किस्ताको ५० हजार रुपियाँ पाउनुभएको छ ।  सरकारी कर्मचारीले सही सूचना नदिएका कारण धेरै पटक धाएपछिमात्र रकम पाएको उहाँले बताउनुभयो ।  उहाँले भन्नुभयो, कर्मचारीपिच्छे छुट्टाछुट्टै नियम बनाएकाले हामी जस्ता एकल महिलाले बढी दुःख पायौँ । nepal_earthquake
लामिडाँडा–९ का भवानी पाठकको घर निर्माणको काम सकिएको चार महिना भइसक्यो ।  कहिले गाविस सचिव नहुने, कहिले प्राविधिक नहुने गर्दा उहाँले दोस्रो किस्ता पाउन सक्नुभएको छैन ।  उहाँ भन्नुहुन्छ, प्राविधिकले दुई÷तीन पटक फोटो लिनुभएको छ ।  अझै अर्को फोटो लिएर सिफारिस गर्नु पर्छ रे ! भ्यागुताको धार्नी पुग्नै गाह्रो भने झैँ अब कहिले दुवै कर्मचारी जम्मा हुने र हामीले रकम पाउने होला ? सरकारी काम सारै जटिल र झञ्झटिलो हुनेरहेछ ।  लोकराज पाठकले पनि यस्तै झञ्झटले दोस्रो किस्ता पाउनुभएको छैन ।  उहाँ भन्नुहुन्छ, सबै काम गाविसले नै गरेको छ, प्राधिकरण थप झञ्झटिलो निकाय जस्तो भएको छ ।
केन्द्रबाट आवश्यक निर्देशनका साथै कागजात समयमै प्राप्त हुन नसक्दा काम कारबाहीमा ढिला भएको त्यस भेगमा खटिनुभएका इन्जिनियर उपेन्द्र यादवको भनाइ छ ।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका प्रमुख सागर आचार्यका अनुसार, लाभग्राही सूचीमा परेका यहाँका ५१ हजार ९४० मध्ये ४६ हजार ६९३ ले पहिलो किस्ता पाएका छन् ।  दोस्रो किस्ता ३२८ र तेस्रो किस्ता ६७ जनाले पाएका छन् ।  गुनासो सुनुवाइबाट आठ हजार २२२ जना थपिका छन् ।  आठ हजार ६२२ जनाको पुनः सर्वेक्षण गर्नुपर्ने देखिएको छ । -बाबुराम शर्मा



Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget