Websoft University

www.radiomakalu.com || 021-522512


ठूला सुन तस्करको संरक्षणमा नेता र मन्त्री नै सक्रिय, अनुसन्धानका धेरै कुरा लुकाइए

Image result for sun taskari

काठमाडौं , चैत्र २ गते । साढे २ महिनाअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ३३ किलो सुन समातियो । यसअघि सिन्धुपाल्चोकको तातोपानी भन्सार छली गरेर नेपाल ल्याउँदै गरेको ३५ किलो सुन पनि बरामद भएको थियो । यसबाट पनि प्रष्ट हुन्छ, विमानस्थल भन्सारका कर्मचारीदेखि सुरक्षा निकायका व्यक्तिलाई समेत सेटिङ मिलाएर सुन ठूलै गिरोह छ नेपालमा ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करीका बारेमा गहन अनुसन्धान भइरहेको बताएको छ । तर, अहिलेसम्म सुन कसले पठायो र कसको हो भन्ने तथ्य खुल्न सकेको छैन ।

सुन बोक्ने, रिसिभ गर्ने र बजारमा लैजानेलाई भने सीआईबीले पक्राउ गरेको छ ।
विमानस्थलमा बरामद भएको सुनमा नेपालका ठूलै व्यापारीको संलग्नता देखिएको प्रहरी अनुसन्धानबाट खुल्न आए पनि यो कुरालाई प्रहरीले बाहिर ल्याएका छैनन् ।

प्रहरीले दुई महिनाको अनुसन्धानपछि प्रतिवेदन तयार पारेर बुझाएको छ । प्रतिवेदनमा अहिलेसम्म पक्राउ परेका व्यक्तिहरुलाई नै मुख्य दोषी ठहर्याइएको छ ।
“ब्युरोले पक्राउ परेको सुनले ठूलै हलचल मच्चाउला भन्ने थियो तर बीचैमा तुहियो । पक्राउ परेका कामदारलाई भित्र हाल्ने र सुनका मुख्य तस्करलाई पहिचान समेत नगर्ने खेल भयो,” एक उच्च प्रहरी अधिकारीले बाह्रखरीसँग भने, “अनुसन्धानका क्रममा दुबईमा रहेका किसन अग्रवालमार्फत नेपालका एक मिडिया मालिकले समेत काम गरेको देखियो । तर के गर्नु ! यो नेपाल हो, पावर हुनेहरू उम्किन्छन् अनि भरियाहरू फस्छन् ।”
प्रहरी उच्च स्रोतका अनुसार किसन र ती नेपालका मिडिया मालिकको राम्रै उठबस छ । अग्रवाल नेपाल आउँदा उनैको घरमा बस्छन् । भन्सार छलीको सुन उनीमार्फत नै भारत जाने गरेको खुलेको छ ।

स्रोत भन्छ, “सुनमा ती व्यापारीले लगानी गर्ने हैन, भन्सार छलेर आएको सुन किनेर फेरि भारत लैजाने उनको काम थियो । ती व्यापारी केही मन्त्री र सत्ता पक्षका ठूला नेताहरुको संगतमा छन् । लहरो तान्दा पहरो आउने भएका कारण नेता र मन्त्रीहरुकै दबाबमा भरियाहरुलाई भित्र हालेर आफू उम्कने दाउमा लागेका छन् ।”

केही मन्त्री, नेता र उनीहरुले संरक्षण गरेका व्यापारीको नाम बाहिर आउने डरले पक्राउ परेकाहरुलाई मुख्य दोषी र उनीहरुसँग अन्य कारणले सम्पर्कमा रहनेलाई पनि दोषी देखाएर आफूहरु उम्कने दाउमा रहेको स्रोत बताउँछ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सुन काण्डमा दोषी ठहराएका मध्ये न्युरोडस्थित आरके ज्वेलर्स, शालीमारलगायत केही सुन पसले पनि परेका छन् । उनीहरुका सञ्चालक फरार छन् । तर उनीहरुका पसल भने अहिले पनि पहिलेकै जस्तो गरी सामान्य रूपमा चलिरहेका छन् । नाम चलेका मानिसहरुलाई केही प्रमाण भेटिन्छ कि भन्दै प्रहरीले खोजी गरे पनि केही नभेटिएपछि उनीहरुलाई सम्पत्ति छानबिनको मुद्दा दायर गरेर दोषीलाई उम्काउने र निर्दोषलाई भित्र हाल्ने काम प्रहरीको माथिल्लो निकायबाटै भएको ब्युरो स्रोत दाबी गर्छ । - डिल्ली पाण्डे , बाह्रखरीबाट 
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget