Websoft University

www.radiomakalu.com || 021-522512


फुटबलमा क्रान्ति गर्दै चीन


फुटबलमा क्रान्ति गर्दै चीन

चिनियाँ क्लबहरूले यो वर्ष स्पेनी क्लब बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीलाई अनुबन्धको अपत्यारिलो प्रस्ताव गरे । रियल म्याड्रिडका पोर्चुगिज स्ट्राईकर क्रिस्टियानो रोनाल्डोका लागि पनि उनीहरूको त्यस्तै प्रस्ताव आयो ।अन्तर्राष्ट्रिय फुटबलमा निक्कै कम चर्चा हुने चिनियाँ सुपर लिगका क्लबहरूबाट आएको प्रस्ताव आफैंमा अपत्यारिलो त थियो, ती खेलाडीका लागि उनीहरूले गरेको प्रस्तावित रकम अझ अविश्वासिला थिए ।
चिनियाँ क्लबहरूले अन्तर्राष्ट्रिय फुटबलमा अहिलेका सफलमध्येका दुई खेलाडी मेसी र रोनाल्डोलाई भित्र्याउन त सकेनन्, तर अर्जेन्टिनी फुटबलर कार्लाेस टेभेजलाई सांघाई सेनहुवाले अनुबन्ध गरी छाड्यो । टेभेजको अनुबन्धले पनि अन्तर्राष्ट्रिय फुटबल बजारमा चिनियाँ फुटबलको राम्रै बहस चलायो।अर्जेन्टिनी राष्ट्रिय टोलीका साथै इङ्लिस प्रिमियर लिग र इटालियन सिरी ए जस्ता युरोपकै ठूला लिगहरूमा चम्किएका टेभेजले एसियन लिग रोज्नु र उनका लागि प्रस्ताव गरिएको रकम बहसको दुई विषय बने ।
टेभेजलाई भित्र्याउन सेनहुवाले कीर्तिमानी सात करोड १६ लाख पाउन्ड (नौ अर्ब १७ करोड ९८ लाख ३६ हजार नेपाली रुपैयाँ) रकम खर्चियो । दुई वर्षका लागि अनुबन्ध भएका टेभेजलाई सेन्हुवाले प्रतिसाता ६ लाख १५ हजार पाउन्ड (सात करोड ८८ लाख ६७ हजार नेपाली रुपैयाँ) रकम तिर्ने सम्झौता गरेको छ । यो सम्झौतापछि टेभेज विश्वकै छैटौं महँगा खेलाडी बने । सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीमा पनि उनि नै अघि देखिए।
यो सिजन युरोपको प्रतिष्ठित र ठूला लिग छाडेर भर्खरै अघि बढ्न सुरु गरेको चिनियाँ फुटबलसँग जोडिन आइपुग्ने टेभेज एक्ला युरोपेली स्टार हैनन् । उनको अनुबन्धको केही दिनअघि मात्रै इङ्लिस क्लब चेल्सीका पूर्वब्राजिलियन खेलाडी ओस्कारले पनि चिनियाँ क्लब रोजेका थिए । ब्राजिलियन राष्ट्रिय टोलीबाट समेत खेल्दै आइरहेका ओस्कार ६ करोड पाउन्ड (सात अर्ब ६७ करोड, ९४ लाख नेपाली रुपैयाँ) रकममा सांघाई सिआईपिजीसँग अनुबन्ध भए । ओस्कारसँगै ब्राजिलियन राष्ट्रिय टोलीबाट खेलिसकेका हल्कले पनि यसै सिजन चिनियाँ क्लब रोजिसकेका थिए । युरोपेली फुटबलमा चलेका दक्षिण अमेरिकी स्टार खेलाडीलाई भित्र्याएसँगै चीनले आफ्नो फुटबललाई कम्तीमा अन्तर्राष्ट्रिय स्तरमा चर्चाको विषय बनायो ।
चिनियाँहरू युरोपेली फुटबलमा जमेका स्टार खेलाडीलाई आफ्नो देशमा भित्र्याएर फुटबलको माहोल बनाउन अर्बौं रकम खर्चनमात्रै होइन, देशभित्रै ‘ग्रासरुट लेवल’देखि फुटबलको विकासका लागि पनि लागिपरेका छन् ।
चीनले पछिल्लो समय फुटबलमा खुलेर लगानी गर्न थालेको छ । त्यसको विशेष कारण अन्तर्राष्ट्रिय प्रतियोगितामा चिनियाँ राष्ट्रिय फुटबल टोलीको कमजोर प्रदर्शन नै हो । चीन खुल्ला राजनीतिक परिवेशमा प्रवेश गरेपछि अन्य क्षेत्रमा जस्तै खेलकुदमा पनि निक्कै प्रगति गर्‍यो । खेलकुदको सबैभन्दा ठूलो मेला ओलम्पिकलाई आधार बनाउँदा सन् १९८४ यता चीनले खेलमा आफूलाई सशक्त रूपमा प्रस्तुत गरेको छ ।
पछिल्लो ३३ वर्षमा चीन सन् १९८८ मा दक्षिण कोरियाको सोलमा आयोजना भएको ओलम्पिकबाहेकका सबै संस्करणमा चौथो स्थानभन्दा तल झरेको छैन । नौ वर्षअघि आफ्नै देशमा आयोजित बेइजिङ ओलम्पिकमा त चीनले अमेरिका, बेलायत, जर्मनी, रुसजस्ता राष्ट्रलाई पछि पार्दै शीर्ष स्थान नै हात पा¥यो । मार्सल आर्ट र अन्य खेलकुदमा चीनले विश्व खेलकुदमा एकछत्र राज गर्न थालेको छ ।
तर, त्यही फुटबल हो जसमा चीनले अहिलेसम्म अन्तर्राष्ट्रिय सफलता चुम्न सकेको छैन । सफलता अझ परको विषय भयो, चिनियाँ फुटबलको घरेलु संरचना नै निक्कै कमजोर रह्यो, जसले अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत नतिजा दिलाउन सकेन । एसियाली प्रतियोगितामै पछि पर्ने गरेको चीनका लागि विश्वकपको सपना अझ मुस्किल बन्यो । आर्थिक समृद्धि र अन्य खेलकुदको सशक्त प्रदर्शनसँगै अन्तर्राष्ट्रिय मञ्चमा शक्ति राष्ट्रको रूपमा अघि बढेको चीनलाई फुटबलको कमजोर प्रदर्शनले केही धक्का दिएको हुनुपर्छ । त्यसको महसुस चिनियाँ राष्ट्रपति सी जिनपिङलाई नै भएको छ । त्यसैले राष्ट्रपति जिनपिङको निर्देशनमा चीन यतिखेर फुटबलको विकासमा लागेको छ । अर्थात् चिनियाँहरू फुटबल क्रान्तितर्फ लागेका छन् ।
राष्ट्रपति जिनपिङले चिनियाँ फुटबलमा नयाँ नारा तय गरिदिएका छन्, निकट भविष्यमा चीनले फुटबलको विश्वकप खेल्नेमात्रै होइन, त्यसको आयोजना गर्ने र विश्वकपको ट्रफी नै जित्न सक्षम हुनेछ । त्यसका लागि यतिखेर चिनियाँहरू युरोपेली फुटबलमा जमेका स्टार खेलाडीलाई आफ्नो देशमा भित्र्याएर फुटबलको माहोल बनाउन अर्बौं रकम खर्चनमात्रै होइन, देशभित्रै ‘ग्रासरुट लेवल’देखि फुटबलको विकासका लागि पनि लागिपरेका छन् ।
राष्ट्रपति जिनपिङको सो नीतिअनुसार चीनले आगामी २०२५ सम्म देशभित्र ५० हजार फुटबल स्कुल स्थापना गर्ने अभियान सुरु गरेको छ । प्रत्येक विद्यालयमा एकैपटक एक हजार बालबालिकाले फुटबल सिक्नेछन् । त्यसरी सन् २०२५ सम्म चीनले पाँच करोड प्रतिस्पर्धी फुटबलर उत्पादन गर्नेछ । त्यसपछि सम्भवतः चीनले विश्वकपको आयोजना र सहभागितामात्रै होइन उपाधि नै जित्न सक्षम हुने राष्ट्रपति जिनपिङको उद्देश्य पनि पूरा हुनेछ ।चीनले त्यसबेलासम्म आफ्नो लिगलाई युरोपेली लिगको दाँजोमा पुर्‍याउनेछ । अहिले युरोपेली फुटबलमा देखिएका क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीजस्ता स्टार खेलाडीले चाँडैै नै चिनियाँ मैदानमा फुटबल खेलिरहेको दृश्य पनि देखिनेछ ।
रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले हालै दुई वर्षपछि आफ्ना मुख्य खेलाडी रोनाल्डोलाई चिनियाँ क्लबलाई बेच्ने घोषणा गरिसकेका छन् । त्यसमा पेरेजले फाइदा देखेका छन् । युरोपेली खेलाडी भित्र्याउन चिनियाँ क्लबले जति रकम अन्य क्लबले दिन सक्ने छैन ।त्यसैले रोनाल्डोलाई चिनियाँ क्लबलाई बेच्दा सन् २००९ मा इङ्लिस क्लब म्यान्चेस्टर युनाइटेडबाट उनलाई किन्दा खर्च भएको आठ करोड पाउन्ड (१० अरब २५ करोड २८ लाख नेपाली रुपैयाँ) रकम पनि उठ्नेछ र सो रकमले रियलले अर्काे स्टार खेलाडी किन्नेछ । साथै मेसी र अन्य युरोपेली स्टार खेलाडी पनि चिनियाँ क्लबहरूको अर्बौं रकमको प्रस्तावबाट लोभिनेछन् ।
हालै इङ्ल्यान्ड तथा इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका स्ट्राइकर वायन रुनीलाई चिनियाँ क्लबहरूले प्रतिसाता १० लाख पाउन्डको प्रस्ताव गरेको थियो, जसमा रुनी सकारात्मक देखिएका थिए । सोही कारण रुनी र प्रशिक्षक जोसे माउरिन्होबिचको सम्बन्धसमेत चिसिएको थियो । चीनले पछिल्लो समय अर्जेन्टिनी फुटबल हस्ती म्याराडोनालाई समेत फुटबल सिकाउनका लागि ठूलो रकमको प्रस्ताव गरेको छ । चिनियाँ फुटबल संघले म्याराडोनालाई विद्यालय फुटबल परियोजनाको प्रमुख बनाउने प्रस्ताव गरेको उनका वकिल माटियास मोर्लाले जनाएका छन् । यस प्रस्तावमा म्याराडोनाले सकारात्मक संकेत देखाएको मोर्लाले जानकारी दिएका छन् ।
सम्झौता सम्भव भएको अवस्थामा अबको केही समयमा अर्जेन्टिनालाई १९८६ मा आफ्नो एकल प्रदर्शनमा विश्वकपको उपाधि दिलाएका म्याराडोना पनि चिनियाँ विद्यालयहरूमा फुटबल सिकाइरहेका हुनेछन् । चीनले ती विद्यालय एकेडेमीमार्फत निकट भविष्यमा रोनाल्डो र मेसी उत्पादन गर्ने उद्देश्य बनाएको छ । सन् २०१० मा दक्षिण अफ्रिकामा भएको फिफा विश्वकपमा मेसीको कप्तानीमा रहेको अर्जेन्टिनी टोलीलाई प्रशिक्षण दिएका म्याराडोनाको नेतृत्वमा चीनले त्यो उद्देश्य पनि हासिल गर्नेछ ।
(एजेन्सीको सहयोगमा)

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget