Websoft University

www.radiomakalu.com || 021-522512


सीताजीको रौद्र रूप



आदित्यमान श्रेष्ठ 

आजभोलि जीटीभीमा एउटा धार्मिक कार्यक्रम चल्दै छ । हुन त यसको नामाकरण जय हनुमान भनेर गरिएको छ, तर नेपालको सन्दर्भमा सीताजीको रौद्र रूपको एउटा घतलाग्दो कथा जोडिएको छ । लंकाका राजा रावणले सीताजीको हरण गरेको कथा सबैलाई थाहा छ । सीताको मुक्तिको लागि लंकामा हमला गरिएको र युद्धमा रावणको मृत्यु भएको पनि ज्ञातै छ । तर त्यसपछि पनि राममाथि अरू संकट आइलागेको कुरा भने धेरैलाई थाहा नहुन सक्छ । रावणको देहावसान भइसकेपछि सदानन्द नाम गरेका उनका एक भाइ राममाथि जाइलागेको कथा यसमा जोडिएको छ ।
सदानन्द रावणभन्दा बलिया र रणनीति कौशल देखाइएको छ । उनले रामका सबैजसो सेना र सेनापतिहरूलाई हराएर उनीहरूको प्राण हरण गरेको देखाइएको छ । रामलाई पनि बेहोस पारेको छ । सदानन्दको मृत्यु एक विशेष हतियारबाट र एक विशेष व्यक्तिको हातबाट मात्र हुने बताइएको छ । कसैको कोखबाट नजन्मिएका व्यक्तिबाट मात्र उनको मृत्यु हुने बताइएको छ ।
त्यो व्यक्ति सीतासिवाय अरू कोही हुन नसक्ने पनि खुलाइएको छ । रामायणमा सीताको जन्म मानिसको कोखबाट नभएर पृथ्वीको कोखबाट जन्मेको वर्णन गरिएको छ । जसरी रामको हातबाटै रावणको बध हुनेमा विश्वास गरिन्छ उसरी नै सीताको हातबाट सदानन्दको बध हुनुपर्ने बाध्यता देखाइएको छ।
समस्या कहाँ पर्न गएको छ भने सीताजस्तो एउटा शालीन, सुशील र शान्तिप्रिय नारीले कसरी एउटा वीर राक्षसको बध गर्ने ? सदानन्दको बध गर्ने अवस्थामा पुर्‍याउन सीताको भयंकर रूपलाई जागृत गर्नुपर्ने आवश्यकता पर्दछ । तबसम्म त्यो मुद्रा जागृत हुँदैन, जबसम्म तिनले आफ्नो पति रामको सुषुप्त अवस्था देख्दैन । एक सौम्य प्राणीमा कसरी रौद्र रूप जागृत हुन सक्छ भन्ने विस्तारमा देखाइएको छ । नारीमा सुषुप्त अवस्थामा ठूलो बल र साहस लुकेको हुन्छ भन्ने हाम्रा प्राचीन ग्रन्थहरूमा जनाइएको छ ।
जब त्यो मुद्रामा तिनी पुग्छिन्, त्यतिबेला तिनी एक भयंकर देवीका रूपमा रूपान्तरित हुन्छिन् । सदानन्दको बध तिनीले सजिलैसित गर्न पुग्छिन् । यो एउटा पौराणिक कथा हो । सत्य हुन पनि सक्छ नहुन पनि सक्छ । तर यो आजको नेपालको एउटा प्रतिबिम्ब भएको संकेत पाइन्छ । सीता नेपाली नारी नै थिइन् । यसमा कसैलाई शंका छैन । जानकी सीताको मन्दिर आज पनि जनकपुरमा अवस्थित छ र रामायणमा वर्णन गरिएका घटना-परिघटनाहरूको सिंहावलोकन गर्दै त्यहाँ हरेक वर्ष उत्सव, समारोह र नाटक आदि गरिन्छ।
आजको नेपालको परिवेशमा कतै सीताको कथा अर्कै रूपमा प्रकटीकरण हुने त होइन भन्ने झझल्को यो कार्यक्रमले दिने गरेको छ । सीता एक अपहरणमा परेकी नारी थिइन् । आज नेपाली जनताले पनि आफू अपहरणमा परेको महसुस गरिरहेका छन् । नेपालीहरूलाई अनेक सुन्दर सपना देखाएर १० वर्षसम्म हिंसा र हत्या बेहोर्न लगाइएको हो । क्रान्तिकारी परिवर्तनबाट केके न लाभ पाइन्छ भनेर लोभ्याइएको हो । त्यसको फलस्वरूप गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको उपलब्धि देखाइएको छ ।
आजभोलि सत्तामा बसेकाहरू रौद्र रूपको लागि जिम्मेवार भएकाले लाचार मात्र देखिन्छन् । न एमालेलाई सम्झाउन सक्छन्, न त मधेसी मोर्चालाई सन्तुष्ट पार्न सक्छन्, न सत्ता साझेदार नेपाली कांग्रेसलाई चित्त बुझाउन सक्छन्, न त भारतीय नेताहरूलाई दिएको वचन पूरा गर्न सक्छन् । कुनै दिन आफैं ज्वालामुखी भएका नेता आज आफैं ज्वालामुखीको सिकार बनेर बसेका छन् ।
तर नेपाली जनताले धोका पाएको, अपहरित भएको र भ्रममा परेको महसुस गरेका छन् । फलस्वरूप उनीहरू आक्रोशित भएका छन् । उनीहरूको रौद्र मुद्रा पनि बन्दै गएको छ । सरल, सीधा र शान्तिप्रिय जनता कुनै दिन यस्तो रूपमा बदलिन सक्छन् । नबदलिएका पनि होइनन् । २०४६ सालमा नेपाली जनताले आफ्नो रौद्र रूप देखाएकै हुन् । त्यसको पछाडि देशी-विदेशी अनेक कारण र हातहरू भएको तथ्य बाहिर आइरहेका छन् । तर जे भए पनि त्यसबेला नेपालीहरूले गुनासो गर्ने धेरै कारण थिए ।
त्यसैगरी २०६३ सालमा पनि नेपाली जनताले रौद्र रूप देखाएकै हुन् । त्यो त सबैको स्मरणमा ताजै छ । जुन संख्यामा नेपालीहरू त्यसबेला सडकमा ओर्लिए, त्यसले सारा संसारलाई नै चकित पारिदियो । नेपालीहरू त्यसरी आन्दोलनमा ओर्लिन सक्छन् भनेर कसैले कल्पना गरेको थिएन । न राजाले नेपालीहरू कति रिसाएका रहेछन् भनेर थाहा पाए, न त आन्दोकारी नेताहरूले नै जनता त्यो रूपमा निस्कन्छन् भन्ने नै कल्पना गरेका थिए । नेपालीको आन्दोलन देख्दा अरू मुलुकका मानिसहरू पनि प्रभावित भएका थिए । अहिले पनि नेपाली जनता उत्तिकै असन्तुष्ट र आक्राशित भएका छन् । कसैले सलाई कोर्न मात्र बाँकी छ । आगोको ज्वाला निस्कने भएको छ । २०७४ साल माघ ८ गते त्यो ज्वाला निस्कने डरले सबै राजनीतिक नेताहरू तर्सिएका छन् ।
त्यही ज्वालाबाट बच्न उनीहरूले जसरी भए पनि संविधानले तोकेको तीन तहको निर्वाचन गराउन तम्सिएका छन् । तर निर्वाचन विवादले सबै नेताहरू पनि आक्रोशित छन् । संसद्मा विचाराधीन संविधान संशोधनबिना परिमार्जन पारित गर्न खोजेको भनेर महन्थ ठाकुरजस्तो शान्त प्रकृतिको नेता पनि आक्रोशित देखिन्छन् । उनी बोलेको देख्दा उनी पनि रौद्ररूप धारण गर्ने अवस्थामा पुगेका छन् । त्यसैगरी मधेसी मोर्चाका उनका अरू सहयोगीहरू पनि उत्तिकै रिसाएका छन् । अर्कोतिर संविधान संशोधनका कट्टर विरोध गरिरहेको एमालेका नेताहरू पनि आक्रामक र आक्रोशित भएका छन् । सप्तरीमा उनीहरूमाथि भएको हमला र उनीहरूको सामूहिक हत्या गर्ने योजना रहेको कुराले उनीहरू पनि रौद्र रूप धारण गरिरहेका छन् । सुरक्षाकर्मीहरूको हाथबाट मोर्चाका पाँचजना कार्यकर्ताहरूको ज्यान गएकोमा उनीहरू अरू रौद्र रूप धारण नगर्ने कुरै भएन ।
आजको अवस्थामा त्यो रूपमा नदेखिएको नेता एउटा मात्र छ । त्यो हो प्रधानमन्त्री पुष्पकमल दाहाल । युद्धकाल र शान्ति प्रक्रियाकालमा छिनछिनमा जसरी रौद्र रूप लिने गरेका थिए । आजभोलि सत्तामा बसेकाहरू रौद्र रूपको लागि जिम्मेवार भएकाले लाचार मात्र देखिन्छन् । न एमालेलाई सम्झाउन सक्छन्, न त मधेसी मोर्चालाई सन्तुष्ट पार्न सक्छन्, न सत्ता साझेदार नेपाली कांग्रेसलाई चित्त बुझाउन सक्छन्, न त भारतीय नेताहरूलाई दिएको वचन पूरा गर्न सक्छन् । कुनै दिन आफैं ज्वालामुखी भएका नेता आज आफैं ज्वालामुखीको सिकार बनेर बसेका छन् । हुन त नाउँअनुसार त प्रचण्डको रूप धारण गर्न प्रचण्डलाई नै सुहाउने हो । त्यसैले उनीलाई यो नाउँमा विशेष लगाव भएको पनि हो । तर परिस्थिति उल्टो घुम्न लागेकोले उनीमाथि पनि उल्टै असर पर्न गएको देखिन्छ ।
नेपालको आधुनिक इतिहासले के देखाएको छ भने हाम्रा नेताहरू राज्यसत्तामा पुग्न सिपालु छन् र त्यसको लागि जनतालाई जगाउन र उक्साउन पनि माहिर छन् । तर सत्तामा पुगेपछि उनीहरूको भावना र आकांक्षा बुझ्न र सम्झन सक्दैनन् । त्यसैकारण उनीहरू देश र जनताको लागि ठोस काम गर्न असफल भएका छन् । विदेशीहरूको आदेश-निर्देश पालन गर्न भने सिपालु छन् । चाहिने-नचाहिने सिद्धान्त र आन्दोलन गर्न पनि सिपालु छन् । नेपाली जनतालाई भ्रममा पार्न पनि सिपालु छन् । तर जनआकांक्षा र भावना बुझ्न भने सक्दैनन् । फलस्वरूप नेपाली जनतामा उम्लिरहेको क्रोधको आभास उनीहरूलाई परिरहेको छैन । तर जब सीताजीको भयंकर रूपमा नेपाली जनता प्रकट हुनेछन्, त्यसबेला उनीहरूको गति पनि उही सदानन्दको जस्तो हुनेछ।

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget