यदि छाला रुखो र सुख्खा भयो, तौल बढ्यो, निन्द्रा लागेन वा धेरै निन्द्रा लाग्यो भने त्यसले शारीरिक रुपमा केहि न केहि गडबढी भएको संकेत गर्छ । खासगरी हर्मोन्सको असन्तुलनले यस्तो गडबडी देखिन सक्छ ।
हर्मोन्स के हो ?
यो शरीरको केमिकल म्यासेन्जर हो, जुन रक्त प्रवाहद्वारा टिश्युज वा अन्य अंगमा पुग्छ । यसले बिस्तारै-बिस्तारै शरीरमा काम गर्छ र धेरै कुरालाई प्रभावित तुल्याउँछ ।
– शरीरको विकास वा निर्माण
– मोटाबोलिज्म, हामी जुन खाना खान्छौ, त्यसलाई शरीरमा उर्जाको रुपमा रुपान्तरण गर्ने ।
– यौनक्रिया
– रिप्रोडक्सन
– मुड
हर्मोन्स असन्तुलनको सामन्य लक्षण
तौल बढ्नु- स्वास्थ्य रहनका लागि स्वास्थ्य जीवनशैली आवश्यक हुन्छ । तर, सबैमा यो लागु हुन्छ भन्ने छैन । हर्मोन्सको असन्तुलनले गर्दा स्वास्थ्य जीवनशैलीमा पनि तौल बढ्न सक्छ । यस्तोमा प्रोसेस्ड फुड, चिनी, गहु आदि सेवन नगरौं ।
पेटमा बोसो लाग्नु- जब एन्डोक्राइन सिस्टममा विपरित असर पर्छ, शरीरले भविष्यका लागि फ्याट (बोसो) संचय गर्न थाल्छ । यहि कारण पेटमा बोसो बढ्छ । जबकी शरीरमा थकान रहन्छ ।
यौनइच्छामा कमी- यसको सुरुवात निन्द्रामा कमी भएसँगै हुन्छ । किनभने गुणस्तरिय निन्द्राबिना सेक्स हर्मोन्स कम निर्माण हुन्छ । यो महत्वपूर्ण लक्षण हो, हर्मोन्समा असन्तुलनको ।
थकान- धेरै काम गर्दा थाकिन्छ, जो स्वभाविक हो । तर, हरेक समय थकान महसुष हुनु ठीक होइन । यसले हर्मोनको सन्तुलन ठीक छैन भन्ने जनाउछ । यस्तो अवस्थामा तपाइले डाइटमा परिवर्तन गर्नुपर्छ, जस्तो गहुँ वा अनज सेवन त्याग्नुहोस् ।
चिन्ता, चिडचिडापन- मन अशान्त हुनु, चिन्ता लाग्नु, बेचैन हुनुले पनि हर्मोन्समा सन्तुलन छैन भन्ने देखाउँछ । यस्तो अवस्थामा हेल्दी डाइट लिने, व्यायाम गर्ने, योग गर्ने अभ्यास गरौं ।
पसिना धेरै आउनु- राती धेरै गर्मी महसुष भयो वा पसिना आयो भने हर्मोनल परिवर्तनको संकेत हो ।
पाचन सम्बन्धी समस्या- चिन्ताको कारण जुन हर्मोन्समा बदलाव हुन्छ, त्यसमा केहि समस्या हुन्छ । जस्तो कि, पाचनसँग जोडिएको समस्या पनि एक हो । कब्जियत, ग्याष्ट्रिक जस्ता समस्याले हर्मोनल परिवर्तनको जनाउ दिन्छ ।
कसरी सन्तुलित राख्ने ?
– उच्च ओमेगा-६ पोली अनसेचुरेटेड फ्याट्स नलिने । हाम्रो शरीरलाई एकदमै कम मात्रामा यस्तो फ्याट्स जरुरी हुन्छ । जब शरीरमा यसको मात्रा बढी हुन्छ, हर्मोन्स निर्माणको काममा प्रयोग हुन थाल्छ । त्यसैले यसबाट बच्न भेजिटेबल आयल प्रयोग गर्न सकिन्छ । जस्तो कि, बदाम, सोयाबिन, ओलिभ आयलको प्रयोग गर्न सकिन्छ । एनिमल फ्याट्सको प्रयोग कम गरौं ।
– कफिनको मात्रा कम गरौं । चिया, कफी सीमित मात्रामा सेवन गरौ । यसको मात्रा बढी भयो भने एन्डोक्राइन सिस्टममा विपरित असर गर्छ ।
– शरीरको बिकारयुक्त पदार्थ वाहिर निस्कन पाएन भने पनि हर्मोनल परिवर्तन हुन्छ । कीटनासक, प्लास्टिक, कोटेड भाँडा वर्तनको प्रयोग नगरौ । किनभने यसमा बढी केमिकल हुन्छ । यसले प्राकृतिक हर्मोन निर्माणलाई अवरोध गर्छ । त्यसैले स्टिल वा काँचको बर्तन प्रयोग गरौं । ननस्टिकबाट टाढै रहनुपर्छ र प्लाष्टिकमा स्टोरेज गरेको खानेकुरा पनि ठीक हुदैन ।
– नरिवलको तेललाई आफ्नो डाइटमा सामेल गरौ, यसले हर्मोन्सलाई सन्तुलित बनाउँछ ।
– हल्का व्यायाम गरौ । किनभने हेभी व्यायाले पनि समस्या बढ्न सक्छ । सर्बोत्तम चाहि के हुन्छ भने, योग प्रणायम गर्नुहोस् । वकिङ र जगिङ गर्नुहोस् ।
– हेल्दी डाइट लिनुहोस् । गाजरमा अलग किसिमको फाइबर हुन्छ, जसले अतिरिक्त एस्ट्रोजेनको शरीरबाट बाहिर निकालेर डिटक्सीफिकेसनमा मद्दत गर्छ । गाजर खानुहोस् । ब्रोकाउली, बन्दा, फूलगोभीमा फाइटोन्यूटि्रएट्स भरपुर हुन्छ, जसले टक्सिनलाई नियन्त्रण गरेर हर्मोनलाई सन्तुलित राख्छ ।
– ग्रीन टि पिउनुहोस् । यसले मेटाबलिज्मलाई राम्रो गर्छ र फ्याट बर्न गर्छ । ग्रीन टिमा पाइने थिनाइन नामको नेचुरल कम्पाउन्डले हर्मोन्सलाई सन्तुलित बनाउँछ ।
– ड्राइफुड, ताजा फलफूलको सेवन गरौ । पानी उचित मात्रामा पिउने गरौ ।
– दही एकदमै हेल्दी हुन्छ । यसले शरीरमा हेल्दी ब्याक्टेरियालाई सन्तुलित राख्न मद्दत गर्छ। - अनलाइनखबर
Post a Comment