Websoft University

www.radiomakalu.com || 021-522512


त्रिविमा क्रान्तिकारीका सभापति उम्मेदवार उपाध्याय, नेविसंघ र अखिलको को ?







तिलकप्रसाद उपाध्याय
काठमाडौं,माघ २७ गते । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले स्ववियु सभापतिको उम्मेदवार छनोट गरेको छ । तर, नेविसंघ र अखिलमा भने कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लागिसकेको छैन ।

अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयमा तिलकप्रसाद उपाध्यायलाई स्ववियु अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । गएराति बसेको त्रि.वि.समितिको बैठकले उपाध्यायलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

उपाध्याय क्रान्तिकारीका केन्द्रीय सदस्य तथा त्रि.वि.समितिका सचिव हुन् । कालिकोटमा जन्मिएका २७ वर्षीय उपाध्याय कैलाली टिकापुर निवासी हुन् ।

त्रिविको अर्थशास्त्र विषयमा दोस्रो सेमेस्टरका नियमित विद्यार्थी उपाध्यायले अस्कल क्याम्पसबाट विएस्सी गरेका थिए । यसअघि अस्कल क्याम्पसमा उनले अखिल क्रान्तिकारीको अध्यक्ष र सचिवको जिम्मेवारी निभाइसकेका छन् ।

उपाध्याय त्रिविमा आफ्नो जीत सुनिश्चित रहेको दावी गर्छन् । उपाध्यायले स्ववियु जितेपछि त्रिविलाई अन्तर्राष्ट्रिय स्तरको ‘सेन्टर फर एक्सिलेन्स’ बनाउने बताए ।

नेविसंघ आफ्नै नेताबाट अप्ठ्यारोमा, पदाधिकारीको बैठक बोलाइयो

केन्द्रीय क्याम्पस कीर्तिपुर विद्यार्थी संगठनहरुको प्रतिष्ठाको विषय बन्ने गरेको छ । अघिल्लो चुनावमा त्रिभुवन विश्वविद्यालयमा अखिल क्रान्तिकारीका हिमाल शर्मा नेतृत्वको प्यानल विजयी भएको थियो ।

यसपटक पनि त्यो साख जोगाउनुपर्ने चुनौति अखिल क्रान्तिकारीलाई छ । तर, नेविसंघ र अनेरास्ववियु पनि केन्द्रीय क्याम्पसलाई आफ्नो पक्षमा पार्न भरमुग्दर प्रयासमा छन् ।

नेविसंघका केन्द्रीय उपाध्यक्ष डिल्लीराम सुवेदीले त्रिभुवन विश्वविद्यालयमा उम्मेदवार छनोट गरिनसकेको बताए । उम्मेदवार छनोटलगायतका विषयमा छलफल गर्न नेविसंघले बिहीबार केन्द्रीय पदाधिकारीको बैठक बोलाएको छ ।

उपाध्यक्ष सुवेदीले भने, ‘कुन क्याम्पसमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा छलफल चलिहरहेको छ । आजको पदाधिकारी बैठकमा पनि यसबारे छलफल हुन्छ ।’

तर, २८ वर्षे उमेर हद र मिश्रति चुनाव प्रणालीको विरोधमा नेविसंघकै अर्को पक्ष आन्दोलनमा रहेकाले नेविसंघ अहिले अप्ठ्यारोमा परेको छ । रामचन्द्र पौडेल र प्रकाशमान सिंह निकटका नेविसंघ नेताहरुले उमेर हद हटाउन माग गर्दै क्याम्पसहरुमा तालाबन्दी गरेका छन् ।

नेविसंघ काठमाडौं जिल्ला समिति अध्यक्ष मनोज वैद्यले उमेर हद नहटाए स्ववियु चुनाव हुन नदिने चेतावनी दिए ।

अखिलको उम्मेदवार को ?

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा अखिलका सुष्मा पराजुली, आरसी काफ्ले लगायत सभापतिको दाबेदार छन् । उम्मेदवार भने छनोट गरिएको छैन ।

समयमै विद्यार्थीहरु भर्ना नभएको, केही चर्चामा रहेका पनि उमेर हदका कारण सहभागी हुन नपाएको र चरम गुटबन्दी भएकाले टियूमा अखिललाई उम्मेदवार छनोट गर्न अप्ठ्यारो छ ।

तर, अध्यक्ष नविना लामाले भने आफूहरुलाई उम्मेदवार छनोटमा कुनै अप्ठ्यारो नभएको बताइन् । फागुन एक गतेभित्रै उम्मेदवारहरु सार्बजनिक गर्ने उनले बताइन् ।

‘छलफल जारी रहेकाले कसलाई उम्मेदवार भन्ने निश्चित छैन,’ लामाले अनलाइनखबरसँग भनिन्, ‘फागुन १ गतेभित्र जित्ने व्यक्ति छानेर उम्मेदवार बनाउँछौं ।’ उनले ठूला क्याम्पसहरुमा महिलाहरुलाई उम्मेदवार बनाउने बताइन् ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget