Websoft University

www.radiomakalu.com || 021-522512


ग्याष्ट्रिकका विरामीको खानपिन कस्तो हुनुपर्छ ?




ग्याष्ट्रिकका विरामीको पहिलो प्रश्न नै कस्तो खाने कुरा खानुपर्छ भन्ने हुन्छ । यो प्रश्न को उत्तर एकदमै जटिल छ । विभिन्न चिकित्सकको भिन्ना भिन्नै सुझाव हुन सक्छ । जसले गर्दा विरामीहरु झन् दोधारमा पर्ने हुन्छ । कसैले गोलभेँडा, अमिलो जातको फलफूल नखाने, अदुवा प्याज, लसुन नखाने, कसैले चिल्लो अमिलो पिरो त कसैले मासु खानु हुँदैन भन्ने विभिन्न प्रकारमा उत्तरहरु हुन सक्छ । यिनै विषयबस्तुलाई समेटेर विरामीहरुको हितका लागि केहि सुझावहरु दिन चाहन्छु ।

पहिला-पहिला चिकित्सकको सुझाव सकेसम्म पिरो,अमिलो चिल्लो मसला नभएको खाने कुरा खानु हुँदैन भन्ने थियो । तर अनुसन्धानहरुले यस्तो किसिमको खाने कुरा खाँदा त्यस्तो हानि हुने देखाएको छैन । यद्यपि अनुशासित खानपिन अनि जीबन शैलीको परिवर्तनले केही मात्रामा ग्याष्ट्रिकका लक्षणहरु कम गर्न सकिन्छ ।

यी सबै कुराहरु सरल रुपमा बुझ्नको लागि ग्याष्ट्रिकका कारणहरु बुझ्नु जरुरी छ । सबैभन्दा महत्वपूर्ण कारण एच पाइलोरी व्याक्टेरीयाको संक्रमण हो । त्यसैगरी पेन किलर औषधि, स्टेरोइड, इन्फ्लामेटरी आन्द्राको रोग हुन् । त्यस्तै धुमपान, मद्यपान, कोल्ड ड्रिङ्क्स, चिया, कफी, अनिन्द्रा लगायतले पनि ग्याष्ट्रिक बढाउँछ ।

कस्तो खानपिन गर्ने ?पौष्टिक खानपीनको निकै महत्व हुन्छ । ग्याष्ट्रिकको विरामीलाई पेट आन्द्रामा भएको संक्रमणलाई ठीक बनाउनको लागि यो कुरा बुझ्न जरुरी छ ।
महत्वपूर्ण खानेकुराहरु फाइवर युक्त भिटामिन युक्त होलग्रेन्स खाना, क्याल्सियम, एन्टी अक्सीडेन्ट, चिकेन, माछा, हरियो सागपात गेडागुडी अण्डा पोषणमा धनी हुन्छन् ।
अमिलो जातका फलफुल, गेडागुडी, पिडालु, प्याज काउलीमा पाइने फ्लेमोन्वाइडस अनि स्याउ, बेसार, ग्रीन टी, अंगुरमा पाइने पोलीफिनोल्सले पेटको संक्रमण गर्ने एच पाइलोरी व्याक्टेरीया फैलिनबाट जोगाउँछ । यसकारण यी खानेकुराहरु धेरै लाभदायक हुन्छन्।
प्रचुर मात्रामा प्रोटिन युक्त खाना जस्तै माछा, मासु, कुखुरा, गेडागुडीले पनि एच पाइलोरी क्रोनिक ग्यास्ट्राइटिसको संक्रमणबाट जोगाउने नयाँ अनुसन्धानहरुले देखाएका छन् ।
दहीमा हुने प्रोबायोटिक बटर मिल्कले पनि ग्याष्टिकलाई ठीक गर्न सहयोग गर्छ ।


डा. विवेक शर्मा

कस्तो खानपिन कम गर्ने ?
मैदाबाट बनेको खानेकुरा जस्तै पास्ता, सेतो ब्रेड, कुकिज केक, चिनी
कोल्ड ड्रिङ्क्स, चिया, कफी
धुमपान, मध्यपान, पोलेका खानेकुराहरु
बढी चिल्लो स्याचुरेडेट बोसो भएको खाना
कुनै तरकारी, फलफुल माछा र बोसो रहीत मासुले ग्याष्ट्रिकको को विरामीलाई असर गर्दैन ।
तर कुनै खास खाने कुराले विरामी लाई असर गर्छ भन्ने त्यो खाने कुरामा ध्यान दिनु आवश्यक हुन्छ । सबै विरामीलाई त्यही खानाले ग्याष्ट्रिक बढाउँछ भन्ने छैन ।
खाना राम्रोसँग चपाएर खानाले पनि ग्याष्ट्रिकको लक्षण कम हुन सक्छ ।

महत्वपूर्ण बुँदाहरु
हरियो सागपात, सबै प्रकारका तरकारी , फलफुलहरु, माछा, बोसो रहित मासु ग्याष्ट्रिकका विरामीको लागी महत्वपूर्ण खाना हुन् । यी खानामा प्रशस्त मात्रामा पौष्टिक तत्व पाइने हुनाले पेट र आन्द्रामा भएको संक्रमणलाई समेत कम गर्छन् ।
कुनै खास किसिमका खानेकुरा खाँदा बिरामीलाई असर गर्छ भने त्यस्ता खानेकुरालाई डायरीमा नोट गरेर राख्ने अनि चिकित्सकसँग परामर्श गर्नु उपयुक्त हुन्छ ।
मैदाबाट बनेका खानेकुराहरु, कोल्ड ड्रिङ्कस्, चिया, कफी सकेसम्म नखाँदा उचित हुन्छ ।
अनावश्यक रुपमा दुखाई कम गर्ने पेन किलर औषधिहरु सेवन नगर्ने ।
सेकुवा लगायतका पोलेका खानेकुरा, मद्यपान र धुमपान नगर्ने ।
खाना एकैपटक धेरै खानुभन्दा थोरै-थोरै पटक-पटक गरेर खाने ।
नियमित समयमा सुत्ने र नियमित समयमा उठ्ने कुरालाई इमान्दार भएर पालन गर्ने ।
समयमा नै एच पाइलोरी किटाणुको जाँच अनि उपचार गर्ने जसले अल्सर र क्यान्सर जस्तो ठूलो रोगबाट जोगाउँछ ।
आफन्त, छिमेकी र साथिभाइको कुरा सुनेर प्रमाणित नभएका बिभिन्न औषधिहरु र जडिबुटीको सेवन नगर्ने । बिशेषज्ञ डाक्टरसँग जँचाएर उनको सल्लाह अनुसार औषधि सेवन गर्ने र अनुशासित जीबनशैली अपनाउने गरेमा ग्याष्ट्रिकको समस्याबाट पीडित हुनु पर्दैन ।

(डा. शर्मा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका कन्सल्ट्यान्ट ग्याष्ट्रोइन्टेरोलोजिष्ट तथा हेपाटोलोजिष्ट हुन् ।)

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget