Websoft University

www.radiomakalu.com || 021-522512


सुजाता म्याम शीघ्र स्वास्थ्य लाभ होस् तपाईंलाई



सानो घटना हुनुहुँदैन सामाजिक सञ्जालमा पक्ष विपक्षका मत अभिमत जाहेर भइहाल्छन् । सामाजिक सञ्जालका सबै आफूलाई न्यायाधिश नै सम्झन्छन् । सामाजिक सञ्जाल अहिले वेदना पोख्न, खुसी साट्न, कसैको आलोचना गर्न, फुर्काउन वा उचाल्ने र पछार्नेलाई कार्यमा धेरै सक्रिय छन् । वर्तमान सरकारकी प्रथम महिला सीता दाहाल प्रधानमन्त्रीसँग भारत भ्रमणमा जाँदा उनको निकै आलोचना भयो ।

यमुना अर्याल

भलै उनले यसबारेमा मुख खोलिनन् । उनले त्यस्तो केही नराम्रो व्यवहार गरेकी थिइनन् जुन व्यवहारका कारण राज्यले नोक्सानी व्यहोर्नुपरेको होस् । उनले देशको बेइज्जत गरेको, कूटनीतिक संस्कार नै नसिकेको भन्दै खुब आलोचना भयो । आलोचनामा पनि दुई धार खडा भए । सञ्जालमा कतिपयले थाहा नभएर भने भने कतिपयले जानाजान गरेको भने, जे भए पनि त्यो घटना केही समयपछि साम्य भयो ।

सुशील कोइरालाका पालामा प्रथम महिला घोषणा गरेर सार्क सम्मेलनमा छाति उचो बनाएकी पूर्व परराष्ट्रमन्त्री भइसकेकी काङ्ग्रेस नेतृ सुजाता कोइरालाको चर्चाले चिसो मङ्सिरलाई निकै ततायो । सेलाउने छाँटकाँट देखिएन । एउटी पूर्व प्रथम महिला अर्की वर्तमान प्रथम महिला आखिर यी दुइृ महिलाको बारेमा यति विघ्न आलोचनाका शब्द खर्च गर्न के कुराले बाध्य पार्यो होला हामीलाई ? यसको उत्तर स्पष्टै छ, सीता सोझी गाउँकी महिला जस्तो बनिन् । तडकभडक देखाउन सकिनन् अथावा जानिनन् । अन्जानमा गरेका ती गल्ती कमजोरीलाई फेशबुकेले उडाउने खुराक बनाए, उडाए, मौका मिले अझैँ उडाइरहन्छन् ।
अर्की पात्र सुजाता सम्पन्न परिवारकी छोरी, सम्पन्न परिवारकी बुहारी । जो आफैले जोडेको सम्पत्ति विवरणमा अरबपतिको सूचीमा पर्न योग्य छिन् । पचास हजारको सारी, असी हजारको चस्मा, अनेकौँ विलाशी सामान किन्न सक्नै हैसियतकी शौखिन हैसियतवाली भएर पनि आफूलाई लागेको रोगको उपचार आफै गर्न नसकेर सरकारसँग हात थापिन र सरकारले उनले मागेको भन्दा आधा रकम कटौती गरेर विदेशमा उपचार गर्न पठायो । सामान्य पहिरनमा हिँड्ने सीतालाई पाखे भन्नेहरु आधुनिक तडकभडकमा रमाउने सुजातालाई विलाशी भन्दै होच्चाइरहेका छन् ।
सीता म्यामलाइ पाखे भनेर आलोचना गर्नेले सुजाता म्यामलाई विलाशी भएर पनि राज्यको ढुकुटी सोहोरेको आरोप लगाएर आलोचना अझै गरिरहेका छन् । अरबपति सुजाता कोइरालालाई राज्यको ढुकुटीबाट आधा करोड रकम थमाउनु हुँदैन थियो । यो सर्वथा गलत छ तर त्योभन्दा गलत कार्य सामाजिक सञ्जालमा पोखिएका आपत्तिजनक शब्दहरुमा छ । सुजाता एउटी नारी हुन्, जो उमेरले हाम्रा आमा सरहकी, त्यसमा दुई मत छैन । उनलाई दिइएको रकम गलत हो भन्ने त सबैलाई थाहा छ । तर यति तल्लो स्तरमा पुगेर आलोचना गर्दा त्यसबाट हामीले के पाउँछौँ । सुजातको बारेमा गरिएका कतिपय टिप्पणी पढ्न पनि लाज लाग्ने खालका छन् । त्यति हदसम्म गिरेर एउटी महिलाले अर्की महिलाको विरुद्धमा लेख्न हुँदैन थियो । अश्लील र अपाच्य शब्द प्रयोग गरेर आमा सरहकी बिरामीको बदनाम नगरौँ । उनले राज्यको ढुकुकीको दुरुपयोग गरेको साँचो हो, सरकारले दियो, उनले लिइन् । लिनेदिनेको मिलोमतो छ, हामीले टाउकै फुटाए पनि केही हुनेवाला त रहेनछ आखिर ।
हामीले अदालतमा उजुरी गर्न सक्थ्यौँ, कानुनी प्रक्रिया अपनाउन सक्थ्यौँ तर ‘जर्मनीले मोज गरेर विगारेको सामान हाम्रो करमा मर्मत गर्ने…’ यस्ता खालका शब्द खर्चेर किन आफैलाई कमजोर बनाउँछौँ । रोग जसलाई पनि लाग्छ । रोगको पक्ष र विपक्षमा आवाज उठाउने होइन । हामीले राज्यको ढुकुटी दुरुपयोग हुन नदिन खबरदारी गर्ने हो । भोलि हाम्रा आमा, हजुुर आमा, काकी, माइजु, भाउजु जो कसैलाई पनि सुजातालाई लागेको जस्तो रोग लाग्न सक्छ । त्यो बेलामा जवानीमा जसले मस्ती गरेको हो, उसैेले मर्मत गर्छ भन्न सक्छौँ हामी ? एउटी महिलाले यही शैलीमा फेसबुकमा कमेन्ट गरेको पाइयो । उनलाई पछ्याएर धेरैले उक्त प्रतिक्रियालाई सेयर गरे । यस्तो शैलीमा किन बदनाम गर्ने ? रोगभन्दा बदनाम सुजाताको नाम भइसक्यो । राज्यको ढुकुटी बटुल्ने सुजाता पछिल्लो पात्र हुन् तर उनिभन्दा अघि धेरैले करोडको हाराहारीमा रकम कुम्ल्याएका छन् । हैसियत नभएका कोही पनि थिएनन्, तर पनि सरकारी ढुकुटीको भएपछि कसैले छोड्ने कुरा भएन र छोडेनन् पनि र आगामी दिनमा पनि छोड्ने छैनन् ।

धेरै समय भएको छैन सुजाताकै शैलीमा प्रचण्ड पत्नी सीताको निकै आलोचना भयो । सोमत नभएकी, संस्कार नसिकेकी आदिआदि शब्दावली जोडेर । ठीकै छ, सीताले विदेशमा गएर कूटनीतिक शैलीको हाउभाउ अवलम्बन गर्न जानिनन् । त्यो ठाउँमा हाम्रा आमा, हजुरआमा भएको भए र त्यस्तै व्यवहार गरेको भए हामी के भन्थ्यौँ होला ? मान्छेले गल्ती नजानेर एक पटक गर्छ, जानीजानी हजार पटक गर्छ । हामी त्यही नजानेर थाहा नपाएर गरेको गल्तीलाई लिएर नानाथरी भन्छौँ । अर्कोपटक भारत जाँदा सीताले धेरै सुधार गरिन् तर ब्याग राख्ने शैली भएन भन्ने आलोचना सुनियो । यस्ता आलोचना खोज्दै जाने हो भने हाम्री मानवता भन्दा धेरै तल पुग्छौँ ।

उमेरले मेरी आमा समानकी नारी हुन् सुजाता कोइराला । सात वर्ष पहिले मेरी आमाको पनि पाठेघरमा समस्या देखिएर अप्रेसन गरियो । गाउँको मान्छे काठमाडौँ आउने कुरा नै हाम्रा लागि विदेशभन्दा टाढाको लाग्थ्यो । मामाहरुको सहयोगले डा. शान्ति माया दलीको अथक प्रयासले अप्रेसन सफल भयो र आमा तन्दरुस्त हुनुहुन्छ । आमालाई काठमाडौँ ल्याएर उपचार गराई निको गराउँदाको त्यो क्षण म विर्सन सदिनँ । के हुने हो के, ….बाच्न त बाचिन्छ होला नि…, अप्रेसन थिएटरमा गाउन लगाएर छिरेकी आमाले पुलुक्क छोराछोरीलाई मलिन अनुहारले हेर्दै पोखेका कारुणिक शब्दले अहिले पनि चहर्याउँछ । त्यो बेलामा कसैले मेरी आमालाई पनि यस्तै तुच्छ वचन भनिदिएको भए त्यो चोट अहिलेसम्म पनि आलै बस्थ्यो ।

सुजाता म्याम शीघ्र स्वास्थ्य लाभ होस् तपाईंलाई । एउटा शुभचिन्तकको नाताले योभन्दा अर्को शब्द मसँग छैन । तपाईंलाई लागेको रोग नेपालमै पहिलो पटक देखएको पक्कै होइन र तपाईलाई मात्रै लागेको पनि होइन । तपाईंका खानदानका कुनै न कुन सदस्य कुनै न कुनै क्यान्सरको सिकार भएको इतिहास साक्षी छ । त्यसैले कोइराला खानदानमा क्यान्सरलाई खानदानी रोग भन्नेहरुको पनि कमी छैन । तपाईंले अपनाएको शैली गलत भयो, जसका कारण निकै बदनाम हुनुभयो । तपाईंले आफूप्रति खन्याइएका शब्द एक पटक मात्र हेर्नुभयो, पढ्नुभयो भने रिसको झोकमा पचास लाख फिर्ता गरिदिनुहुन्छ जस्तो लाग्छ ।
तपाईंले नेपालकै अस्पतालमा चेक गराएको भए यतिठूलो आलोचनाको विषय बन्ने थिएन । यहाँ चेकगर्दा नहुने भएकाले विदेश जानुपर्ने भयो भनेको भए सायद सहानुभूतिका शब्द पनि तपाईंको पक्षमा पोखिनेथिए होला । तर एकतिर तपाईं स्तन क्यान्सरको रोग लिएर विदेश जानु भएको छ, अर्कातिर तपाईंको रोगबन्दा बढी आलोचना र बदनामको शिकार भइरहनुभएको छ । नाम होस्, बदनाम होस तर गुमनाम नहोस् भन्ने उखान चरितार्थ गराउनुभयो सुजाता म्याम ।
राजनीतिमा पछिल्लो समयमा खासै जम्न सक्नु भएको थिएन । चर्चा थिएन, रोग र रोगका लागि लिएको पैसाले यति विवादको घेरामा पार्यो कि खर्चिने शब्दै छैन । सुजाता म्यामपछि अर्को यस्तो पात्र ननिस्कियोस्, जो हैसियत हुँदाहुँदै राज्यको ढुकुटीको दोहन गरेर विदेशमा उपचार गर्न जाने खालको । यस कान्डले सरकार चलाउने र फेसबुकमा अभियान चलाउनेर्लाइ चेतना होस्, देशमा जनता पनि छन्, नेता मात्रै रोगी छैनन् । जनताको पनि मन छ, नेताको जस्तै । जनताका पनि आफन्त, घरपरिवार छन् नेताका जस्तै ।
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget